डा जुगल भूर्तेल
गत महिना बुटवलमा सम्पन्न एमाले महाधिवेशनमा कार्ल मार्क्सलाई साथ दिन सधैं झैं भ्लादिमिर लेनिन को तस्विर थिएन । मुलुकको सबैभन्दा पुरानो कम्युनिष्ट पार्टीको सर्वोच्च भेलामा लेनिनको तस्विर नहुनुलाई महासचिव कामरेड ईश्वर पोखरेलले “संजोगवश विर्सिएर घटेको” घटना भनेर खारेज गर्ने प्रयास गरेपनि त्यसमा कुनै संयोग थिएन । महाअधिवेशनमा गरिएको आन्तरिक लोकतन्त्रको बृहत अभ्यास र जबजप्रतिको पुनर्प्रतिवद्धताले पनि एमालेले लेनिनको लिगेसीबाट मुक्ति र साँचो अर्थमा समाजवादी दल हुन चाहेको संकेत दिन्छ ।
रुसमा एउटा भनाई छ ‘संसारमा बाइवल पछि सबै भन्दा बढि लेनिनका पुस्तकहरु छापिएका छन् ।’ पढिने लेखकका रुपमा लेनिनको जनप्रियता शंकास्पद भएपनि सोभियत कम्युनिष्ट पार्टीले लेनिनलाई ‘भेलिकी भोझ्द भ्सेख भ्रेम्योन इ नारोदफ’ (सबै जाति र समयको महानायक) र उनका विचारलाई नयाँ धर्म कै रुपमा स्थापित गराउन उनका लेखहरुको सँगालोलाई विश्वका प्राय सबै भाषामा अनुवाद गरेर कति प्रति नि:शुल्क वितरण गरेकोछ त्यसको कुनै लेखाजोखा छैन । तर कुनै एउटा देशमा भएपनि साम्यवाद ल्याएर विश्व सर्वहारा क्रान्तिको प्रणेता बनिहाल्ने लहडमा मार्क्सका सिद्धान्तलाई अवसरवादी ढङ्गले तोडमरोड गरेर मानव त्रासदीको जुन श्रृङ्खला लेनिनले सुरु गरे त्यसले उनलाई मार्क्सको हैन हिटलरको समकक्षी बनाएकोछ । मार्क्ससँगै लेनिनको मात्र नभएर स्तालिन र माओका समेत तस्विरहरु झुण्ड्याउनु इतिहासको अनभिज्ञताको प्रदर्शन मात्र नभएर मार्क्सप्रति निकै ठूलो अन्याय पनि हो ।
मार्क्सले दुनियालाई मुक्तिको सपना देखाए । सामाजिक र आर्थिक असमानतालाई पूर्णरुपले अस्विकार गर्दै प्रकट भएको मार्क्सवादले सामाजिक, आर्थिक तथा राजनैतिक समानता, द्वन्द र शोषणविहिन एउटा यस्तो समतामूलक स्वावलम्बी समाजको परिकल्पना गर्छ, जहाँ व्यक्ति र समुदायको उत्थान एकअर्काका परिपुरक बन्छन्, हरेकलाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको माम मिल्छ । यस्तो आदर्शलोकको प्रस्तावनाले कसलाई आकर्षित नगर्ला? निजी सम्पत्तिलाई अस्विकार गर्दै, शोषण र दमनमा आधारित परम्परागत सामाजिक संरचनाका विरुद्धमा ठूलो विद्रोहको शंखनाद गरेर आएको मार्क्सको प्रगतिशील विचारधाराले उन्नाइसौं शाताब्दिको अन्त्यतिर असंख्य सामाजिक र राजनैतिक विरोधाभासले ग्रस्त युरोपमा यति अनुकूल वातावरण भेट्टायो कि हेर्दा हेर्दै त्यो शोषित-पीडित श्रमजीवी जनताको विशाल आन्दोलनलाई हाँक्ने शक्ति भयो । मानवजातिको मुक्तिप्रति प्रतिवद्ध मानवतावादी सिद्धान्तको रुपमा मार्क्सवादले त्यस समयका ठूलाठूला विचारकहरुको सहानुभूति हाँसिल गरेको थियो । तर अन्तत: घृणा र प्रतिशोधलाई नै विद्रोह ठान्ने उन्मादी क्रान्तिकारीहरुको हातमा पुगेर त्यो दर्शन मानवजातिको चरम शोषण र भयानक अपराध गर्ने आधार बन्यो । किन यति सहजै मार्क्सवादी दर्शन कठोर तानाशाहहरुको प्रिय हतियार बन्यो ? विसौं शताव्दीको मध्यदेखि आजपर्यन्त यही प्रश्नले विश्वभरिका धेरै राजनीतिशाष्त्रीहरुलाई चकित तुल्याइ रहेकोछ ।
अरु दार्शनिकहरुका विपरित मार्क्स मानवजगतको व्याख्या हैन त्यसलाई परिवर्तन गर्ने महत्वाकांक्षा राख्दथे । त्यसैले आफ्ना विचारलाई उनले वैज्ञानिक सत्य कै रुपमा प्रस्तुत गरे । तर जीवनको कठोर यथार्थसँग सात्क्षातकार भएपछि लेनिन र स्तालिनले देखाएको सपनाको भ्रान्तिवाट मुक्त भएका सोभियत नागरिकहरु ‘वैज्ञानिक मार्क्सवाद’ माथि यसरी परिहास गर्थे:
-के मार्क्सवाद विज्ञान नै हो त ?
-खै । विज्ञान भएको भए त सुरुमा जनावरमाथि प्रयोग गर्थे होलान् नि !
यी ती मान्छेहरुको क्रन्दन हो, जसमाथि लेनिनले मार्क्सवादको प्रथम प्रयोग गरेर ‘सबै जाति र समयको महानायक’ बनेका थिए । वास्तवमा जतिसुकै ‘वैज्ञानिकता’ को जलप लगाएपनि मार्क्सवादी दर्शन थुप्रै नैतिक संकटले ग्रस्त छ । मार्क्स र एंगेल्सद्वारा लिखित कम्युनिष्ट पार्टीको मेनिफेष्टोमा क्रान्तिको उद्घोषसँगै सुनिने विध्वंसको आह्वान नै अन्तत: तिनका अनुयायीहरुद्वारा मार्क्सवादलाई आफू अनुकुल व्याख्या र दुरुपयोग गर्ने आधार बन्यो । वर्गसंघर्षको नाममा आर्थिक सम्वन्ध मात्र हैन विवाह, परिवार, नैतिकता, धर्म, राष्ट्र जस्ता मानव चेतनामा स्थापित हरेक संरचनालाई बुर्जुवाको विशेषण भिराएर ध्वस्त पार्ने मध्ययुगीन आह्वानले मार्क्सले सोचेजस्तो वैज्ञानिक समाजको निर्माण त कतैपनि भएन । तर त्यही वैज्ञानिकताको भ्रमले उद्भ्रान्त युरोपका लेनिन, स्तालिन हुन् कि एसियाका माओ, पोलपोट वा अफ्रिकाका मुगाबे, उनका सबै अनुयायीहरुले एकअर्का भन्दा ‘शुद्ध’ साम्यवादी समाज निर्माण गर्ने प्रतिस्पर्धामा लाखौं निर्दोष मान्छेको निर्मम दमन गर्ने सैद्धान्तिक औजार भने अवश्य भेट्टाए ।
तात्कालीन सोभियत सुरक्षा प्रमुख लाभरेन्तिइ बेरियाका अनुसार स्तालिनको मार्क्सवादप्रतिको आस्था कट्टरपन्थी मुसलमानको धर्मान्धतासँग तुलनायोग्य थियो । त्यसैले होला मार्क्सको शिक्षाप्रति अनास्था देखाएको शंका कै भरमा पनि उनले थुप्रै रुसी वुद्धिजीवीहरुको दमन गरेका थिए । स्वाभिमानपूर्वक वाँच्ने नैसर्गिक अधिकारको खोजिमा पूर्वी र पश्चिमी जर्मनीको पर्खाललाई नाघ्ने अदम्य साहसको प्रदर्शन गर्ने सयौं पूर्वेली जर्मनहरुको तात्कालिन शासनले मार्क्सवाद कै नाममा गोली हानेर शिकार खेल्ने गर्थ्यो । समृद्धिको शिखरतिर लम्किरहेका दक्षिणका आफ्नै दाजुभाई देखेर उत्तर कोरियाका गरिवी र भोखमरीले पिडीत लाखौं जनताले आफ्नो चरम अकिन्चनतालाई मार्क्सवादी वैज्ञानिकताको संज्ञा दिनेहरुलाई के भन्दा हुन् ? त्यो कस्तो विज्ञान हो जसलाई जसले जसरी चाह्यो त्यसैगरि व्याख्या गर्न सक्छ ? मार्क्सले सयौं वर्ष पछि हुने क्रान्तिको ‘भविष्यवाणी’ त गर्न सके तर अवसान भएको केही दशक भित्रै आफ्नो दर्शन अकल्पनीय मानवीय क्षतिको कारण हुनेछ भन्ने आभास भने पाउन सकेनन् ।
सारांशमा मार्क्सवाद आफैं विकराल समस्याले ग्रस्त छ तर लेनिनवादको पुच्छर जोडिएपछि त त्यो विकृत नै हुन्छ । लेनिनवाद अर्थात बोल्शेभिज्मले आफूलाई मार्क्सवादकै सन्तति मानेपनि लेनिनका आर्थिक, सामाजिक र राजनैतिक विचारमा मार्क्सले प्रतिपादन गरेको सिद्धान्तको अतिवादी धार मात्र भेटिन्छ । मार्क्सका अनुसार वर्गसंघर्ष भनेको राजनैतिक अर्थात राज्यसत्ताकोलागि हुने संघर्ष हो, जुन एउटा वर्गले अर्को वर्गलाई हिंसात्मक ढङ्गले समाप्त नपारुन्जेल चलिरहन्छ । सर्वहारावर्गको विजयपछि वर्गसंघर्ष समाप्त हुन्छ र साम्यवादी समाजको निर्माण हुन्छ । लेनिनको क्रान्तिकारी चेतनाले मार्क्सको वर्गसंघर्ष र विशेषगरि सर्वहाराको अधिनायकवादलाई जुन ढङ्गले बुझ्यो त्यही नै मार्क्सवादको त्रासदीको कारण बनेकोछ । मार्क्सवादले उनलाई संगठित हिंसाको माध्यमले सत्ता कब्जा गर्न सिकाए ता पनि लेनिनले त्यसको एक कदम अगाडि बढेर त्यही हिंसाको बलमा मात्र सर्वहाराले आफ्नो अधिनायकवादलाई कायम राख्न सक्छन् भन्ने देखाइदिए । अर्थात लेनिनवादमा हिंसा राज्यसञ्चालनको साधन हो, जसको वकालत मार्क्सको लेखनमा कतै पनि भेटिँदैन । लेनिनले आफू जारशाही विरुद्ध संघर्षरत रहुन्जेल राज्यसत्तालाई “श्रमजीवी वर्गको झन् शोषण गर्ने औजार” को रुपमा व्याख्या गरेका थिए । तर जारशाहीको अवसानपछि उनैले स्थापना गरेको सोभियत सत्ताले जस्तो आफ्नै जनताको र विशेषगरी सर्वहारावर्ग कै शोषण र दमन शायद अर्को कुनै मुलुकमा भएको आधुनिक इतिहास छैन ।
तात्कालीन रुसको औद्योगिक बिकासको चरणलाई हेर्दा त्यहाँ मार्क्सले भने झै सर्वहारा क्रान्तिको बस्तुगत अवस्था सृजना भएको थिएन । बेलायत, जर्मनी जस्ता मार्क्सले चाँडै त्यस्तो क्रान्ति हुनसक्ने सम्भावना देखेका मुलुकमा पनि उनको भविष्यवाणी विपरित पूँजिवादको बिकाससँगै कथित सर्वहाराको सामाजिक हैसियत र आर्थिक अवस्थामा पनि क्रमिक सुधार आएको थियो । पूँजीवादको त्यो उन्नत अवस्थामा वर्गीय विरोधाभास तीव्र भएर सर्वहाराको क्रान्ति सम्पन्न हुन्छ भन्ने ठूलो आश गरेर बसेका लेनिनको धैर्यको वाँध तोडियो । उनलाई विश्वक्रान्तिको प्रवर्तक बनिहाल्ने हतार थियो र त्यसैले उनले साम्राज्यवादलाई पूँजीवादको उच्चतम तहको रुपमा व्याख्या गर्दै विश्व सर्वहारा क्रान्ति सम्भव भइसकेको मनोगत विश्लेषण गरे । त्यसपछि उनको नेतृत्वमा रुसमा सैनिक कू द्वारा सत्ता कब्जा गरियो र आदेशको भरमा बोल्सेभिकहरुले समाजवाद ल्याएको घोषणा गरे । अनि मार्क्सले सपनामा पनि नचिताएको एकदलीय अधिनायकवादको उदय भयो । पुँजिवादी अर्थतन्त्रले जरो सम्म पनि गाढ्न नसकेको चीन, उत्तर कोरिया, कम्बोडिया जस्ता मुलुकमा तथाकथित 'सर्वहाराको अधिनायकत्व' को प्रयोग हुनु वा पेरु र नेपाल जस्ता मुलुकमा साम्यवादी चिन्तन हावि हुनुलाई लेनिनकै विचारको विकास मान्नु पर्दछ ।
वास्तवमा मार्क्सले प्रयोग गरेको ‘सर्वहारावर्गको अधिनायकवाद’ एउटा आलंकारिक पदावली थियो जसलाई लेनिनले सशब्द बुझेर लागु गर्ने दुस्साहस गरे । जतिसुकै ठूलो भएपनि समग्रमा कुनै वर्गले शासन गर्न संभव छैन । त्यो वर्गको नाममा साम्यवादी दलले र अझ त्यसका नेताले शासन गरिदिन्छन् भन्ने यथार्थको सबै भन्दा ठूलो प्रमाण सोभियत संघ हो । लेनिनका अनुसार सर्वहारावर्ग आफैं क्रान्तिकालागि तयार हुँदैन । तिनमा क्रान्तिको चेतना बाहिरबाट भरिदिनु पर्छ । रुसमा त्यो काम उनको नेतृत्वमा बोल्सेभिकहरुले गरेका थिए र त्यसैले सर्वहारावर्गको नाममा त्यहाँ तिनैको शासन सुरु भयो । कम्युनिस्ट पार्टीका नोकरशाहहरुको नयाँ वर्ग जन्मियो, जसको हातमा राज्यसत्ताका सबै अंगहरुको केन्द्रीकरण भयो । राज्यले असिमित शक्ति हाँसिल गरेपछि जनतामाथि दमन हुनु स्वभाविक नियति हो । बोल्शेभिक विप्लवको विश्लेषण गर्दै समाजवादी नेतृ रोजा लक्जेम्बर्गले भनेकी थिइन् “स्वतन्त्र निर्वाचन, वाक् स्वतन्त्रता, वैचारिक संघर्ष आदि बिना हरेक नागरिक संस्था प्राणहीन हुन्छ, त्यहाँ नोकरशाही मात्र सक्रिय रहन्छ……।त्यस्तो वातावरणमा सर्वहाराको होइन केही मुठ्ठिभर नेताहरुको बुर्जुवा अधिनायकवादको जन्म हुन्छ ।” मानव अधिकारको संरक्षण, व्यक्तिको स्वतन्त्रता र स्वाभिमानको सम्मान जस्ता अप्ठ्यारा विषयमा ‘बाइबल पछि सबै भन्दा पढिएका’ भनिएका लेनिन मौन छन् । बरु “स्वतन्त्रता नहुन्जेल मात्र राज्य रहने” घोषणा गर्ने लेनिनको नेतृत्वमा बोल्शेभिकहरुले आलिंगनमा बाँधेर सर्वहारावर्ग र सम्पूर्ण सोभियत समाजको सास रोकिदिएको इतिहास हाम्रो अगाडि छ ।
मार्क्सवादको नाममा लेनिनद्वारा अवसरवादी जातीय राजनीतिको सुरुआत अर्को विडम्वना हो । विश्वका सबै सर्वहारालाई एक हुन आह्वान गर्ने मार्क्सले सर्वहाराको आधिपत्यसँगै सहअस्तित्वमा आधारित आदर्श समाजको निर्माण भएपछि जातीय द्वन्द स्वत: समाप्त भएर जाने निष्कर्ष निकालेका थिए । जातीय आत्मनिर्णयको अवधारणा एउटा राजनैतिक हतियार थियो जसलाई लेनिनले बोल्शेभिक आन्दोलनको समयमा विभिन्न जातिलाई बन्दुक बोकाउन प्रयोग गरेका थिए । रोजा लक्जेम्बर्गले त्यसको खुलेर बिरोध गर्दै वर्गीय समाजमा हरेक जातिभित्र विपरित स्वार्थ र ‘अधिकार’ भएका वर्गहरु रहने र त्यस भित्रको बुर्जुवा वर्गले आफ्नो प्रतिक्रान्तिकारी वर्गीय स्वार्थकालागि आत्मनिर्णयको अधिकारको दुरुपयोग गर्ने हुँदा बोल्शेभिकहरुको जातीय आकांक्षालाई उचाल्ने नीतिले अन्तत: समाजवादी आन्दोलनलाई पथभ्रष्ट गर्ने ठहर गरेकी थिइन् । उनको निष्कर्ष थियो “पूँजीवादमा कुनै जातिको आत्मनिर्णयको अधिकार हुँदैन र समाजवादमा त्यस्तो अधिकारको आवश्यकता नै रहँदैन ।” सर्वहाराको के जाति र कस्तो देश ! उनको दावी मार्क्सको दर्शन भन्दा भिन्न थिएन । केन्द्रीय सत्ता कमजोर भएको कुनै कालखण्डमा आत्मनिर्णयको अधिकार पाएको जातिमा स्वतन्त्र राष्ट्र बनाउने स्वाभाविक चाहना मुखरित भएर आउँछ भन्ने सामान्य सोचको अभावमा अन्तत: लेनिनको त्यो हातियार दशकौं सम्म विभिन्न राजनैतिक द्वन्द, मानवीय त्रासदी एवं सोभियत संघको विखण्डनको एउटा महत्वपूर्ण कारण बन्यो । लेनिनका अतिउत्साही अनुयायीहरुद्वारा नेपालमा फैल्याइएको त्यही जातीय शिक्षा अहिले हाम्रो मुलुकलाई गलपाशो बनेकोछ । विडम्वना त के छ भने आफ्नै आँखा अगाडि पतन भएको सोभियत संघको इतिहासबाट शिक्षा लिनुको सट्टा नेपालमा आफूमात्र मार्क्सका ‘विशुद्ध’ विद्यार्थी हौं भनेर दावी गर्नेहरु नै सबैभन्दा चर्को स्वरमा जातीय राजनीति मार्क्सवादसम्मत छ भनेर प्रमाणित गर्ने आश्चर्यजनक प्रयास गरिरहेकाछन् । मार्क्सले त्यस्तो समाजवादको वकालत गरेका थिएनन् ।
यद्यपी लेनिन र उनका अनुयायीहरुले आफ्नै ढङ्ले विकृतिकरण गरेर मार्क्सवादको प्रतिष्ठालाई घटाएपनि मार्क्सले पूँजिवादलाई सच्चिने बाटो देखाएर मानवजातिलाई ठूलो गुन लाएकाछन् । आजको पूँजीवाद अब उनको समयमा जत्तिकै घिनलाग्दो छैन । सर्वहारा शब्दले समेत त्यो क्रान्तिकारी अपिल गुमाइसकेकोछ । मार्क्सले वर्गसंघर्षको परिकल्पना गरेको बेला वेलायत लगायतका युरोपेली मुलुकमा श्रमिकहरुले १६ घण्टा सम्म पसिना वगाउँदा पनि राम्ररी दुई छाक खान पाउने अवस्था थिएन। रोजगारी नभए त भोकभोकै मर्नु पर्ने अवस्था थियो। तात्कालीन समाजको त्यो अन्तरविरोधलाई समाप्त गर्न मार्क्सलाई हिंसाको आवश्यकतावोध हुनु स्वभाविकै मान्नु पर्छ । तर विश्वव्यापिकरणतिर उन्मुख आधुनिक समाजका जटिल समस्याहरु जति नै क्रान्तिकारी भएपनि एउटा वर्ग, एउटा पार्टी र एउटा सिद्धान्तको भरमा समाधान हुन सक्दैनन् । त्यसैले आजको मानवसमाज सहअस्तित्व र सहकार्यतिर उन्मुख छ ।
वास्तवमा भोक, रोग, शोक र शोषणविहिन स्वतन्त्र एवं समतामूलक मानवसमाज नै सबै जसो राजनैतिक दर्शनका घोषित लक्ष हुन । त्यस्तो आदर्श समाज सम्म पुग्ने मार्क्सले देखाएको बाटोसँग सबै सहमत छैनन् तर त्यो वृहद सपनालाई विश्वव्यापिकरण गर्ने, लोकप्रिय बनाउने र पूँजिवादलाई मानवीय पक्षको आवश्यकतावोध गराउने श्रेय भने उनलाई नै दिइन्छ । लोकले कुनै कालपछि लेनिनलाई त बिर्सेला तर स्वप्नद्रष्टा दार्शनिकका रुपमा मार्क्सलाई भने सधैं सम्झिरहनेछ । एमालेको सम्मेलनबाट लेनिनको तस्विर हट्नुले त्यही प्रवृत्तितिर नै संकेत गर्छ।
(लेखको मूलपाठ साभार: हिमाल, पूर्णाङ्क २३६, २०६५)