केही समयअघि कम्युनिष्ट पार्टीहरूको मृत्युको दर्शन खोतलेर मार्क्सवादी चिन्तक घनश्याम भुसालले विचारोत्तेजक बहसको आरम्भ गर्नुभएको
थियो । भ्लादिमिर लेनिनले कुनै कालखण्डमा गुरु
मानेका जर्मन विचारक कार्ल काउत्स्कीले 'आतंकवाद र कम्युनिज्म' शीर्षकको विश्लेषणमार्फत बोल्शेभिज्मले रूसमा विजय हासिल गरे पनि त्यहाँ समाजवाद
पराजित भएको निष्कर्ष निकालेर सन् १९१९ मै कम्युनिष्ट आन्दोलनलाई रूसी 'क्रान्ति'को भ्रान्तिबाट उद्धार गर्ने प्रयास नगरेका होइनन् । सोभियत
प्रयोग सुरु भए लगत्तै मार्क्सवादका ठेली बोकेर उनीसँग यसरी प्रतिवादमा उत्रेपछि लेनिनले 'सर्वहाराको क्रान्ति र गद्दार काउत्स्की' शीर्षकको लेख नै लेखे । जातीय आत्मनिर्णयको अधिकारलाई त्यस जातिभित्रको बुर्जुवा वर्गले
दुरूपयोग गरेर अन्ततः समाजवादी आन्दोलनलाई नै सिध्याउँछ भन्ने सटिक भविष्यवाणी गर्ने समाजवादी नेतृ रोजा लक्जेम्वर्गलाई उनले 'इदिओत्का' (मूर्ख) घोषित
गरिदिए । यद्यपि लेनिनको त्यस्तो अशोभनीय
दम्भ अनपेक्षित भने थिएन, किनभने त्यसबखत मानव इतिहासको नयाँ युगको प्रारम्भकर्ताका रूपमा उनको
सर्वत्र जयजयकार भइरहेको थियो । अर्का बोल्शेभिक नेता ट्रटस्कीले पनि उत्साहित हुँदै 'रूसी क्रान्तिले काउत्स्कीलाई
सदाका लागि समाप्त पारिदिएको' ठहर गरेका थिए । यसरी क्रान्ति-पुरुषहरूको असहिष्णु गर्जनमा रोजा, काउत्स्की आदिको दूरदर्शी आवाज त दबियो नै, मार्क्सवादी दर्शन पनि इतिहासको कुनै अँध्यारो कुनामा थन्किन अभिशप्त भयो । हुन त प्रतिरक्षात्मक
अवस्थामा पुगेको विश्व कम्युनिष्ट आन्दोलनमा लेनिनवादको आलोचनात्मक मूल्यांकन हुनथालेको दुई दशक वितिसक्दा पनि काउत्स्कीलाई अझै लेनिनकै दोषी
चस्माले हेरिरहने आश्चर्यजनक प्रवृत्तिको बिगबिगी भएको हाम्रो मुलुकका एकथरी कामरेडहरूले यस्तो बहसलाई पुँजीवादी यथास्थितिवादी वा 'पथभ्रष्ट' काउत्स्कीवादीको
कुतर्कमात्र हो भनेर तुरन्तै खारेज गरिदिने जोखिम छ ।
झापा विद्रोहमार्फत कुनै अमूर्त क्रान्तिको उद्घोष गर्ने
एमालेका कामरेडलाई अहिले माओवादी घोर दक्षिणपन्थी
ठान्छ । एमाले भने तिनलाई उग्रवामन्थी मान्छ । उता माओवादीभित्रकै वैद्यमण्डली प्रचण्डलाई 'रअ'को एजेन्ट बनेर दक्षिणपन्थी आत्मसमर्पणवादतिर ढल्केको आरोप
लगाइरहेको छ । प्रचण्ड पक्षचाहिं वैद्यहरू राजवादीसँग
मिलेर विसर्जनवादतिर लागेको आशंकाले त्रस्त छ । एक-अर्काभन्दा 'विशुद्ध कम्युनिष्ट' देखिने गौरवशाली प्रतिस्पर्धाको इतिहासमा हाम्रा आफ्नै पुष्पलाललाई 'गद्दार' ठहर्याउनेहरू स्वयं अहिले सबैभन्दा ठूला 'अन्तरघाती' मानिन्छन् । निरपेक्ष
दर्शकको चेतना कै अपमान हुने गरी ती सबै आफू मात्र 'विशुद्ध' मार्क्सवादी भएको दावी
गर्न भने छोड्दैनन् ।
अतिरञ्जित विद्रोहचेतको आवेगमा 'संसार बदल्ने' क्रान्तिमा होमिनु र कब्जा गरिएको
सत्ताको सौन्दर्यले वसिभूत भएर त्यही गतिमा 'पथभ्रष्ट' हुनु अधिकांश
क्रान्तिकारीको नियति हो, तर लेनिनवादी कम्युनिष्टहरूमा यो प्रवृत्ति करिव-करिव
सर्वकालिक र सर्वव्यापी छ । रूस, चीन, भारतदेखि नेपालसम्मैका 'विश्व बदल्न' हिंडेका कामरेडका सुदूर अतितको क्रान्तिका रोमाञ्चक 'गौरवगाथा' अन्ततः युवा कम्युनिष्ट जन्माउने रुमानी साहित्यमा
सीमित भएको हामीले घरिघरि देखिनै रहेका छौं । तर सबै समान हुने 'साम्यवादी' समाजको परिकल्पनामा यति सघन आकर्षण छ कि एउटा 'विचलित' कम्युनिष्टलाई
प्रतिस्थापन गर्न तुरुन्तै नयाँ कम्युनिष्ट जन्मिहाल्छ । पिढी-दरपिढी चलेको यही चक्रले कार्ल मार्क्सको सान्दर्भिकतालाई जीवितै राखेको भए पनि
लेनिनको नेतृत्वमा रूसमा मञ्चन गरिएको अक्टुबर विप्लवपछि मार्क्स स्वयंको स्थान भने रंगीविरंगी कम्युनिष्ट पार्टीका अफिसमा परम्पराको निरन्तरताका
खातिर स्तालिनसँगै झुण्ड्याइने एउटा उदास तस्विरमा सीमित भएको छ ।
मार्क्सका सबैभन्दा प्रतिभाशाली विद्यार्थी लेनिनको
अल्पायुमा मृत्यु नभएको भए कम्युनिष्ट आन्दोलनको दिशा पृथक
हुने धेरै वामपन्थीको विश्वास पूर्णतः निराधार छैन । तीक्ष्ण बुद्धि, गहन अध्ययन, तार्किक लेखनी, विलक्षण रणनीतिक कौशल र पेसेवर क्रान्तिकारी बुद्धिजीवीहरूलाई परिचालन गर्नसक्ने उनको चातुर्यले गर्दा अनपेक्षित गतिमा
रूसमा राजनीतिक परिवर्तन भयो र पुँजीवादी दुनियाँ स्तव्ध हुंदै उदाउँदो वैकल्पिक समाजको प्रत्यक्षदर्शी बन्यो । फ्रान्सेली 'क्रान्ति'का वाचाहरू
लेनिनको नेतृत्वमा अन्ततः पूरा हुनै लागेको विश्वासले उत्साहित श्रमिक वर्गले उनले देखाएको त्यही मार्गलाई पछ्याउँदै संसारका धेरै मुलुकमा
'क्रान्ति' सम्पन्न गरे । जसरी आएको भए पनि सोभियत सत्ताले निजी सम्पत्तिका सम्वन्धहरूलाई छिन्नभिन्न पारेर समाजको वर्गीय चरित्रमा आमूल
परिवर्तन ल्यायो र जारशाहीको शोषणबाट सिमान्तकृत जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीमा अवसरको सिर्जना गर्ने प्रयत्न गरियो । यस क्रममा थुप्रै गल्ती
भए, तर लेनिनमा क्रान्तिको आवेगमात्र होइन, ती गल्तीबाट सिकेर तुरुन्तै आत्मालोचना
गर्नसक्ने सामर्थ्य पनि रहेछ । सोभियत
व्यवस्थाका प्रारम्भिक वर्षको अनुभवले समाजवादी क्रान्तिलाई सम्पन्न गर्न अर्थतन्त्रको सम्पूर्ण
राष्ट्रियकरण फलदायी नहुने देखेपछि उनले शास्त्रीय मार्क्सवाद विपरीत सीमित निजी सम्पत्ति राख्न पाउनेगरी सन् १९२१ मा 'नयाँ आर्थिक नीति' लागु गराउने साहस गरे, जसको सकारात्मक असर एकै वर्षभित्र देखियो । तर निजी सम्पत्तिको यस्तो प्रभावकारिता 'शुद्ध' कम्युनिष्टहरूलाई
स्विकार्य भएन र लेनिनको मृत्युको केही वर्षभित्रै त्यसलाई खारेज गरेर राज्यले पूर्ण राष्ट्रियकरणको आत्मघाती बाटो समात्यो । तसर्थ क्रान्तिप्रति
लेनिनको हतार समाजलाई जतिसक्दो छिटो शोषणमुक्त गर्ने आग्रहले प्रेरित हुनसक्छ, तर त्यो हडबडमा उनी स्वयं समाजवादी क्रान्तिप्रति कति इमानदार रहे
भन्ने विषय चाहीँ निकै विवादास्पद छ ।
विद्यार्थीकालमा सोभियत संघमा हामीलाई भनिएको थियो कि 'संसारमा बाइबलपछि सबैभन्दा बढी लेनिन साहित्यलाई पढिएको छ' । त्यो असत्य नहुन पनि सक्छ, किनभने लेनिन स्वयं प्रखर लेखक त छँदै थिए, सोभियत व्यवस्था पनि उनलाई 'सबै जाति र समयको महानायक' बनाउन कम्मर कसेर लागेको थियो । त्यसैले
संसारमा सबैभन्दा धेरै फोकटमा बाँडिएको साहित्य
पनि सायद लेनिनका राजनीतिक दस्तावेज नै हुनुपर्छ । हरेक कम्युनिष्ट पार्टीको रणनीतिमा लेनिनको कार्यशैलीको छाप र संसारभरि कम्युनिष्ट आवरणमा जेजति शासन
आए वा आन्दोलन भए, ती सबैमा कुनै न कुनै ढंगले उनको गहिरो प्रभाव देखिन्छ । अझ विश्वभरि नै
कम्युनिष्ट नेतृत्वको आचरणमा समेत उनको
व्यक्तित्वलाई अनुकरण गर्ने फेसन छ । स्वाभाविक थियो, दुनियाँभरिका कम्युनिष्टहरूले आ-आफ्नो मुलुकमा क्रान्तिको नाममा जेजे गरे, उनैको शिक्षा मुताविक गरे । कदाचित् सन्
१९९१ मा सोभियत साम्राज्य धराशायी नभएको भए
लेनिनका विचारहरू मार्क्सवादसम्मत थिए कि थिएनन् भनेर प्रश्नसमेत उठ्ने थिएन ।
स्वप्नद्रष्टा मार्क्स भने मानव जगतको व्याख्या हैन, त्यसलाई परिवर्तन गर्ने महत्वाकांक्षा राख्थे । सामाजिक र आर्थिक असमानतालाई
पूर्णरूपले अस्विकार गर्दै प्रकट भएको उनको दर्शनले
द्वन्द्व र शोषणरहित एउटा यस्तो समतामूलक स्वावलम्बी समाजको परिकल्पना गर्छ, जहाँ हरेकलाई योग्यता अनुसारको काम र आवश्यकता अनुसारको माम मिल्छ र अन्ततः
व्यक्ति र समुदायको उत्थान एकअर्काका
परिपूरक बन्छन् । शोषण र दमनमा आधारित परम्परागत संरचनाका विरुद्धमा ठूलो विद्रोहको उद्घोष गरेर आएको मार्क्सको
प्रगतिशील विचारधाराले उन्नाइसौं शाताब्दीको
अन्त्यतिर असंख्य सामाजिक र राजनीतिक विरोधाभासले ग्रस्त युरोपमा यति अनुकूल वातावरण भेट्टायो कि हेर्दाहेर्दै त्यो शोषित-पीडित श्रमजीवी जनताको विशाल
आन्दोलन हाँक्ने प्रेरक शक्ति बन्यो ।
मार्क्सले सर्वहारा वर्गद्वारा गरिने समाजवादी क्रान्ति
पुँजीवादको चरम विकासको ऐतिहासिक अवस्थामा मात्र
स्वाभाविक र सम्भव हुने विश्लेषण गरेका छन् । त्यस्तो अवस्था सिर्जना भएको पूर्णतः औद्योगिकृत राष्ट्रमा केही सीमित नाफाखोर बुर्जुवाको हातमा पुँजीको
केन्द्रीकरण हुन्छ र जनसंख्याको अधिकतम भाग क्रमशः सर्वहारामा परिणत हुँदै जान्छ । सर्वहारा वर्गको सामूहिक शक्ति यति ठूलो भइसकेपछि तिनका लागि
पुरानो आर्थिक-राजनीतिक सम्वन्ध स्विकार्य रहँदैन । सम्पूर्ण परिवर्तनको त्यही आकांक्षा र संघर्षको क्रममा हुँदै जाने सर्वहाराको गुणात्मक उभारले
समाजवादी क्रान्तिको वस्तुगत अवस्था सिर्जना गर्छ । मार्क्सपछिको पुँजीवादी संसार अलग ढङ्गले विकसित भएकोले उनको यो थेसिस सही सावित हुन नसके पनि
क्रान्तिको वस्तुगत अवस्थाको सैद्धान्तिक चित्रण आफैंमा त्रुटिपूर्ण देखिंदैन । मार्क्सको 'विज्ञान'ले परिकल्पना गरेअनुसार हुने हो भने
सर्वहारा वर्गको विशाल आकारका कारण त्यस्तो क्रान्ति सायद अहिंसात्मक नै हुन्छ । विडम्बना, मार्क्सले सुदूर भविष्यको उन्नत साम्यवादी समाजको निर्माणका लागि हजारौं
वर्षपछि हुने रोमान्टिक क्रान्तिको भविष्यवाणी त
गर्नसके, तर आफ्नो अवसान भएको केही दशकभित्रै सर्वहाराको 'वर्गीय अधिनायवाद'को उनको प्रस्तावना घृणा र प्रतिशोधलाई नै विद्रोह ठान्ने उन्मादी क्रान्तिकारीहरूबाट अपभ्रंश भएर मानवजातिकै चरम शोषण र भयानक अपराध गर्ने
आधार बन्ला भन्ने आभास भने पाउन सकेनन् । मार्क्सको 'विज्ञान'बाट आफू अनुकूल क्रान्तिका लागि चाहिने हतियारको आविष्कार गर्ने श्रेय भने लेनिनलाई जान्छ । उनले पुँजीवादको उच्चतम विकास हुन्जेल पर्खिने धैर्य
नभएका क्रान्तिकारीलाई सत्ताकब्जाको सहज बाटो देखाइदिए । आखिर 'सत्ताबाहेक अरु
सबै भ्रम' न हो !
तत्कालीन रूसको औद्योगिक विकासको अवस्थालाई हेर्दा त्यहाँ मार्क्सले
भनेझै सर्वहारा क्रान्तिको वस्तुगत अवस्था
सिर्जना भएको थिएन । बेलायत, फ्रान्सजस्ता उनले
चाँडै त्यस्तो क्रान्ति हुनसक्ने सम्भावना देखेका मुलुकमा पनि उनको भविष्यवाणी विपरीत पुँजीवादको
परिमार्जनसँगै कथित सर्वहाराको
सामाजिक हैसियत र आर्थिक अवस्थामा पनि क्रमिक सुधार आएको थियो । पुँजीवादको त्यो उन्नत अवस्थामा वर्गीय
विरोधाभास तीव्र भएर सर्वहाराको क्रान्ति सम्पन्न हुने आशमा बसेका लेनिनको धैर्यको बाँध तोडियो । उनले साम्राज्यवादलाई पुँजीवादको उच्चतम
अवस्थाको रूपमा व्याख्या गर्दै क्रान्ति सम्भव भइसकेको मनोगत विश्लेषण गरे । त्यहींबाट मार्क्सको दर्शनलाई उनका सबै अनुयायीले आफू अनुकूल व्याख्या गर्ने
परम्परा र एक-अर्काभन्दा 'शुद्ध' साम्यवादी समाज निर्माण गर्ने प्रतिस्पर्धाको सुरुआत भयो ।
सामन्तवादप्रति मोहभंग हुने क्रममा रहेको र पुँजीवादको
सामान्य विकाससम्म नभएको कृषिमा आधारित रूसी समाज समाजवादी
क्रान्तिका लागि कुनै कोणबाट पनि परिपक्व थिएन । विभिन्न युद्धमा लगातार पराजयले थकित पीडित रूसको जारशाही भने अक्टोबर १९१७ मा विस्तारवादी जर्मन
शासनको भरमा स्थापित लेनिनको नेतृत्वमा थोरै भगौडा सैनिक र सहरी श्रमिक वर्गको अल्पकालीन हिंसाको सानै धक्काले धराशायी भइहाल्यो । यसरी
बोल्शेभिकहरूले रूसको तत्कालीन राजधानी पेत्रोग्रादमा मञ्चन गरेको अक्टोबर विप्लव मार्क्सको व्याख्या विपरीत विदेशी शक्तिको सहयोगमा अल्पमतद्वारा बलात्
सत्ताकब्जा गरिएको अत्यन्त अपरिपक्व 'क्रान्ति' थियो । लेनिनले
देखाइदिए- 'क्रान्ति' गर्न मार्क्सले भनेझैं पुँजीवादको गुणात्मक र सर्वहाराको संख्यात्मक विकास जरुरी
छैन, परिस्थिति अनुरूप रणनीतिक परिचालनको कौशल भए पुग्छ । सर्वहारा स्वयंकै
गुणात्मक विकास नभई क्रान्तिका लागि अधैर्य नहुन श्रमिक
वर्गलाई चेतावनी दिंदै मार्क्सले सन् १८५० मै लेखेका रहेछन्, 'तपाईंहरूले १५, २०, ५० वर्ष गृहयुद्ध र जनसंघर्ष आफ्नो परिस्थितिलाई परिवर्तन गर्नका लागिमात्र होइन कि आफू स्वयंलाई परिवर्तन गर्दै भविष्यको
राजनीतिक प्रभुत्व ग्रहण गर्नसक्ने क्षमताको विकास गर्नलाई पनि प्रयोग गर्नुपर्छ ।' स्तालिनसम्म पुगुञ्जेल प्रमाणित नै भयो कि त्यस्तो दक्षता नआई कब्जा गरिएको
सत्ताले राज्य सञ्चालनका लागि हिंशालाई सबैभन्दा सहज
साधन बनाउने रहेछ ।
लेनिनले आफ्ना अनुयायीहरूलाई सत्तापलट गर्ने सहज तरिकामात्र
होइन, त्यसलाई सुदृढ गर्ने उपाय पनि सिकाइदिए । मार्क्सले समाजवादी
क्रान्तिपछि साम्यवादसम्म पुगुन्जेलको संक्रमणकालमा 'सर्वहाराको क्रान्तिकारी अधिनायकवाद' हुने परिकल्पना गरेका छन् । माथि मार्क्सले भनेझैं मुलुकै सर्वहारामय भएर गरिएको क्रान्तिपछि त्यही
सिङ्गो वर्गको अधिनायकवाद हुनु अप्राकृतिक नहोला । तर लेनिनले जस्तो अल्पमतले सत्ता हत्याएपछि आउने 'अधिनायकवाद'को स्वरूप कस्तो हुन्छ ? लेनिनले माथिकै लेखमा काउत्स्कीलाई यसको स्वाभाविक उत्तर दिएका छन्, 'सर्वहाराको क्रान्तिकारी अधिनायकवाद भन्नाले सर्वहारा वर्गले बुर्जुआ वर्गबाट
हिंसाको बलमा जितेको र टिकाएको सत्ता हो, जो कुनै कानुनद्वारा बाँधिएको हुँदैन ।' यसको सिधा अर्थ 'जनतालाई प्रतिनिधित्व' गर्ने कथित एकाधिकार लिएको खास
वर्गद्वारा असीमित सत्ताको उपभोग । लेनिनका अनुसार
संक्रमणकालमा श्रमिक वर्गलाई क्रान्तिको प्रश्नमा शिक्षित तुल्याउन र शासन गर्न कम्युनिष्ट एलिटको आवश्यकता हुन्छ, किनभने 'केवल आफ्नैमात्र प्रयासले श्रमिक वर्गले आफूमा ट्रेड युनियन चेतनामात्र विकसित गर्ने क्षमता राख्छ ।' अर्थात् क्रान्तिको 'वैज्ञानिक' चेतना भर्न तिनलाई
जुन मार्गदर्शनको आवश्यकता हुन्छ, त्यो कम्युनिष्ट पार्टीले प्रदान गर्छ । कम्युनिष्ट
पार्टी नै वर्गसंघर्षको चेतनाको मालिक र क्रान्तिको अग्रदस्ता हो, जसले मात्र श्रमिक
आन्दोलनलाई समाजवादसँग एकाकार गराउने क्षमता राख्छ । अर्थात् कम्युनिष्ट पार्टीबाहेक अरुलाई शासन गर्ने अधिकार छैन । यही आत्मश्लाघा नै
कम्युनिष्टहरूले बहुलवादलाई नकार्ने मुख्य कारण हो । यस्तो उन्मादी आग्रहले परिचालित व्यवस्थाको नियति के हो भने त्यहाँ एउटा दल विशेषद्वारा राजनीतिक र आर्थिक
सत्ताको अतिकेन्द्रीकरण, राज्यको सर्वसत्तावाद र त्यही दलका
नोकरशाहहरूको नयाँ संकुचित जमातमार्फत सर्वहारा वर्गको नाममा दमनकारी सैन्यशासन स्थापित हुनपुग्छ । लेनिनवादका विशेषताहरू यिनै हुन्, जसको मार्क्सवादसँग कुनै सान्निध्य छैन ।
यसरी सर्वहारामा भविष्यको सत्ता उपभोग गर्ने क्षमताको विकास
भइनसकेको अवस्थामा कब्जा गरिएको सत्ताको वास्तविक
उपभोगकर्ता अग्रदस्ताको नाममा आएको कम्युनिस्ट पार्टीका बुद्धिजीवी र व्युरोक्रेसीको सानो जमात हुने रहेछ, जसलाई केही विश्लेषकहरूले राज्य
नियन्त्रित 'नोकरशाही पुँजीवाद'को संज्ञा दिएका छन् । यसैकारण 'रूसी क्रान्ति'को विश्लेषण गर्दै रोजाले 'स्वतन्त्र निर्वाचन, वाक् स्वतन्त्रता, वैचारिक संघर्ष आदि नभए हरेक नागरिक संस्था प्राणहीन हुन्छ, त्यहाँ नोकरशाहीमात्र सक्रिय रहन्छ' भनेर सचेत गराएकी थिइन् । जारशाहीले आफ्नो लेख्ने र संगठन गर्ने
स्वतन्त्रतामा बन्देज लगाउँदा अरण्यरोदन
गर्ने बोल्शेभिकहरूले सोभियत सत्ताको स्थापना भएपछि सबैभन्दा पहिले तिनै अधिकारलाई खारेज गरे । रूसी जनताको
वर्षौंको संघर्षपछि प्राप्त भएको
संविधानसभाको निर्वाचनमा आफ्नो दलको लज्जास्पद हार भएपछि सन् १९१८ मा सेनाको सहयोगमा त्यसैलाई विघटन गरेर लेनिनले रूसको लोकतान्त्रीकरणको मार्गलाई नै सदाका लागि
अवरुद्ध पारिदिए । उही जमानामा रूसी दार्शनिक मिखाइल बाकुनिनले 'जनताको माझमा मात्र क्रान्ति विशुद्ध, इमानदार र वास्तविक हुन्छ, केही शासन गर्ने व्यक्तिको हातमा केन्द्रित हुने बित्तिकै यो प्रतिगमनमा रूपान्तरित
भइहाल्छ' भनेर गरेको भविष्यवाणीलाई बोल्शेभिकले सत्य सावित गरिदिए ।
असन्तुष्ट जमातलाई भड्काएर राजनीतिमा ठूलै छलाङ मार्न सकिए
पनि आफ्नै नियमअनुसार चल्ने भएकोले अर्थतन्त्रको
विकासमा छलाङ मार्न नसकिने यथार्थलाई बुझ्न नसक्दा समाजवादको सोभियत मोडल व्यवहारमा ठूलो हिंसाको प्रयोग गर्ने संरचनामा परिणत भयो । असीमित शक्ति हासिल
गरेको राज्यले हिंसाको प्रयोगद्वारा हरेक
क्षेत्रमा जनसहभागिता जुटाउने अस्वाभाविक बाटो रोज्यो, जसको व्यापक प्रतिरोध हुनु स्वाभाविक
थियो । अल्पसंख्यकले सत्ताकब्जा गरेपछि मुलुक अक्सर गृहयुद्धमा फस्ने गर्छ, रूसमा पनि त्यही भयो । सत्ताकब्जा गर्नु एक वर्षअघि 'हाम्रो आदर्शमा मान्छेमाथि हुने हिंसाका लागि कुनै स्थान छैन' भन्ने दाबी गरेका लेनिनले क्रेमलिन
दरवारमा पुगेपछि आफ्ना विरोधीलाई 'गोलीले उडाइदिन' असंख्य हस्तलिखित आदेश दिएर निरर्थक सावित गरिदिए । 'प्रतिस्पर्धालाई कसरी सुव्यवस्थित गर्ने' शीर्षकको लेखमा उनले विपक्षीलाई तह लगाउन कम्युन, समुदाय आदिका
बीचमा कसरी प्रतिस्पर्धा हुनुपर्छ भनेर
विस्तारमा अत्यन्त हिंसक तरिकाहरू सिकाएका छन् । लेनिनले सत्तारोहण गर्ने बित्तिकै सोभियत शासनका आलोचक विरुद्ध 'लालआतंक' (क्रास्निइ तेरोर, १९१८-१९२३) नामै राखेर सोभियत सरकारले
दमनको औपचारिक घोषणा गरेको थियो । पछि स्तालिनको लामो
शासनकालमा सोभियत कम्युनिष्ट पार्टीले हिंसाको मानक नै स्थापित गर्यो । सोभियत गोलीको सिकार भएका निरपराध मान्छेको सूचीमा बोल्शेभिकहरूले
भूस्वर्गको सपना देखाएका सबै वर्ग, जाति र कम्युनिष्ट पार्टीकै नेता पनि परेका छन् । सन् १९२४
मा सेर्गेइ मेल्गुनोभले बोल्शेभिक हिंसाबारे आफ्नो
प्रसिद्ध पुस्तक 'लालआतंक'मा लेखेका छन्, 'बोल्शेभिकभन्दा अघि मानवहत्यालाई शासन गर्ने हतियारको रूपमा
कुनै पनि राज्यले यति पाशविक ढङ्गले प्रयोग
गरेको थिएन ।' त्यस समयमा भएको दमनको औचित्यलाई 'सर्वहारा वर्गद्वारा पुँजीवादी समयको मान्छेको पदार्थबाट कम्युनिष्ट मान्छेको सिर्जना गर्ने
प्रयास' भनेर लेनिनका प्रिय शिष्य निकोलाइ बुखारिनले पुष्टि गर्ने प्रयास
गरेका थिए । कालान्तरमा स्तालिनले त्यही हिंसाको प्रयोग गरेर बुखारिनसँगै कामेनेभ, जिनोभिएभ, ट्रट्स्की लगायत थुप्रै बोल्शेभिक नेताकै हत्या गरे ।
लेनिनको 'क्रान्तिकारी' आलोकमा विश्वभरिका कम्युनिष्ट पार्टीहरू
सोभियत सहयोग र प्रोपोगन्डाका सिकार बन्दै गए र मार्क्सवादलाई
लेनिनवादले क्रमशः विस्थापित गर्दै गयो । कम्युनिष्ट
इन्टरलेसनलको सदस्य हुन पनि तिनले 'क्रान्तिकारी' सोभियत सत्तालाई निःसर्त समर्थन गर्ने र आफ्नो पार्टी कार्यक्रमलाई त्यसैअनुरूप परिवर्तन गरी
मस्को केन्द्रित कार्यसमितिको अनुमोदन गराउनुपर्ने प्रावधान राखियो । लेनिनवादसँग असहमत मार्क्सवादीहरू कम्युनिष्ट आन्दोलनमा सिमान्तकृत हुँदै
गए । यसरी मस्को नियन्त्रित हुँदै गएर वास्तविक कम्युनिष्ट पार्टी अर्थात् 'मार्क्सवादी पार्टी'हरू गहिरो समाधिमा जान बाध्य गराइए । त्यसैले भ्लादिमिर लेनिन 'सबै जाति र समयका महानायक' नभएर मार्क्सले परिकल्पना गरेजस्तो
समाजवादी क्रान्ति र शोषणविहीन, स्वतन्त्र, न्यायपूर्ण एवं समतामूलक मानव समाज निर्माणका सारा सम्भावनालाई निस्तेज तुल्याउने इतिहासका
विवादास्पद पात्र हुन् ।
सन् १९९१ को परिवर्तनपछि मार्क्सका वास्तविक अनुयायीहरूको
जीवनमा नयाँ पालुवा लागेको छ र पुँजीवादी विश्वमा
देखिएको चरम आर्थिक संकटले समाजवादको सान्दर्भिकतालाई पनि पुनः उजागर गरेको छ । समाजवादको नाममा सेनाद्वारा धानिएको लेनिन प्रतिपादित सोभियत
कम्युनिजम असफल भयो भन्दैमा त्यही नै समाजवादको आदर्श मोडल थियो र सोभियत साम्राज्यको भग्नावशेषमा कतै पुरिएर हरायो भन्ने सोचाइ अनुचित प्रमाणित
भइसकेको छ । सोभियत प्रयोगको असफलताले निस्किएको निष्कर्ष के हो भने शान्तिपूर्ण लोकतान्त्रिक माध्यमबाट स्थापित हुनसक्दैन भने त्यस्तो व्यवस्था समाजवाद
हुँदै होइन । नेपालमा पनि बोल्शेभिकहरूको दुस्साहसलाई नै क्रान्ति ठान्ने तर आफूलाई ठाडै 'लेनिनवादी' भन्न नसकेर 'मार्क्सवादी -लेनिनवादी' भनिरहने सानो जमात त सधैं रहला, तर अधिकांश कम्युनिष्ट पार्टीहरूले समाजवादको नाममा लेनिनले
गरेको प्रयोगका खातिर विश्वले ठूलो सामाजिक र मानवीय
मूल्य चुकाएको इतिहासको अवश्य पुनर्मूल्याङ्कन गर्ने र लेनिनवादबाट क्रमशः मुक्त हुँदै जाने अवश्यम्भावी छ ।
बुटवल महाधिवेशनमा एमालेले मार्क्ससँगै झुन्डिएको लेनिनको तस्विरलाई हटाउने हिम्मत देखाएको
थियो । यदाकदा 'हामीले मार्क्सलाई भन्दा बढी लेनिनलाई पढ्यौं' भन्ने पूर्वमाओवादीका पश्चातापयुक्त स्वर पनि सुनिन थालेका छन् । नेपाली कांग्रेस पनि
सोभियत व्यवस्थाले उत्पन्न गरेको भ्रम र नवउदारवादी नशाबाट मुक्त भएर आफूलाई पुनः समाजवादी ठान्ने साहस जुटाउँदै गरेको देखिन्छ । यस्तै
सकारात्मक वातावरण विकसित हुँदै जाँदा मार्क्स लगायत समाजवादी दार्शनिकहरूले कल्पना गरेको प्रचुरता, समानता र सौहार्दताले भरिपूर्ण सुदूर भविष्यको उन्नत समाज नै जुनसुकै
चेतना र संवेदना भएको न्यायप्रेमी लोकतन्त्रवादी
मान्छेको अभीष्ट भएकाले कम्युनिष्टहरूमात्र
'वामपन्थी' र 'साम्यवादी' हुन् भन्ने त्रुटिपूर्ण मान्यताको पनि अन्त्य हुँदै जानेछ । त्यसबेला सबै नेपाली
अटाउन र फष्टाउन सक्ने मुलुक निर्माण गर्ने सामाजिक
लोकतन्त्रका साझा आधार भेट्टाउन हामीलाई अहिलेजस्तो सकस पर्ने छैन ।
कान्तिपुर दैनिक, २०६९ वैशाख २२ गते
http://www.ekantipur.com/nep/2069/1/22/full-story/347176.html