(विश्वप्रसिद्ध रुसी
साहित्यकार माक्सिम गोर्कीले ‘आमा’ जस्तो प्रेरक आख्यान लेखेर संसारभरिका धेरै
युवालाई कम्युनिष्ट बनाएका छन् । तर अधिकांश पाठक उनको लेखनिसँग
त्यतिमात्र परिचित छन् जति सोभियत सत्ताले चिनाउन चाहेको थियो । सन् १९१७ को
अक्टुबर ‘कू’ पछि बोल्शेभिकहरुले रुसका कुनाकाप्चामा मञ्चन गरेको अद्भूत ‘क्रान्तिकारिता’ले
विस्मित र क्रुद्ध गोर्की हामीले जानेबुझेको भन्दा नितान्त भिन्न लेखकको रुपमा
देखिन्छन् । अक्टुबर ‘क्रान्ति’का नायकहरु सहज सत्ताकब्जा पछि जुन प्रचण्ड स्वरुपमा
प्रकट भए त्यसले अत्यन्त मोहभंग भएका गोर्कीले रुसको तात्कालीन राजधानी
पेत्रोग्रादबाट प्रकाशित हुने साहित्यिक पत्रिका नयाँ जीवन (नोभाया झ्ज्नि) मा सन्
१९१७-१८ तिर नियमित स्तम्भ मार्फत कठोर आलोचना गरेका छन् । लोकतन्त्र, समानता,
सामाजिक न्याय जस्ता समाजवादी विचारधारालाई आत्मसात गरेको एउटा बामबुद्धिजीवीले
क्रान्तिका नाममा हिंस्रक र सर्वसत्तावादी चरित्र देखाइरहेको बोल्शेभिक सत्ताको तीव्र
प्रतिवाद गर्दै आफ्नो समयको विवेक बोल्नु स्वभाविक नै थियो । उनको तिखो आलोचनालाई
थेग्न नसकेर बोल्शेभिकहरुले
नयाँ जीवन पत्रिका नै बन्द गराइ
दिए । सन् १९६८ मा पहिलो पटक
अनटाइमली थट्स् (निस्भाइयोभ्रेमेन्निय म्विस्ली) नाममा तिनै स्तम्भलाई संकलित र
अनुदित
रुपमा अमेरिकामा प्रकाशित गरियो । ‘क्रान्तिकारी’ उन्मादमा नुहाइरहेको वर्तमान
नेपालमा समेत सान्दर्भिक उक्त संग्रहको एउटा निबन्धको मूल रुसीबाट जुगल
भूर्तेलद्वारा गरिएको अनुवाद तल प्रस्तुत छ ।)
*************
हाम्रो समयका
क्रान्तिकारीहरुको कामलाई अवलोकन गर्दा तिनलाई स्पष्टत: दुई वर्गमा विभाजन गर्न
सकिन्छ: एउटा शाश्वत (इटरनल) क्रान्तिकारी र अर्को – अस्थायी (प्रो टेम्पोरे) अर्थात आजको लागि क्रान्तिकारी ।
पहिलो, आफूभित्र प्रमिथियसको जस्तो क्रान्तिकारी आदर्शलाई
समाहित गरेको, मानवजातिलाई पूर्णतातिर लैजाने यावत ज्ञानहरुको आत्मिक (स्पिरिचुअल)
उत्तराधिकारी हो । यी विचारहरुले उसको चेतना मात्र होइन, भावना र अझ अवचेतनकै
तहपनि ओतप्रोत छ । ऊ गतिशील विचारहरुको अनन्त श्रृङ्खलालाई जोड्ने जीवन्त र कोमल
कडी हो । आफ्ना भावना र विचारको समग्रतामा ऊ जुनसुकै सामाजिक संरचनामा पनि जीवनभरि
असन्तुष्ट नै रहन अभिशप्त छ, किनकि उसलाई थाहा छ र विश्वास पनि छ कि मानवजातिमा
राम्रो बाट झन् राम्रो सृजना गर्ने अपरिमित सामर्थ्य छ ।
सदैव तरुण सत्यप्रति उसको उत्कट प्रेम छ, तर
यति दैहिक र वासनाशिक्त पनि होइन कि त्यो सत्यलाई मुड्कीको बलमा ती मान्छेहरुको हृदय र
शिरमा घुसाओस्, जो अतीतमै मरेको सत्यले वसिभूत छन् वा विगतलाई असाध्यै माया गर्छन्
। सामान्यतया उसका लागि मान्छे अविनाशी, जीवन्त र बेचैन शक्ति हो, जसले हरदम नयाँ संवेदना, चिन्तन,
धारणा, वस्तु र जीवनका संरचनाहरुको
सृजना गर्छ । ऊ संसारभरिका मानवका टाउका
भित्र रहेको समग्र मस्तिष्कलाई नै सजीव र उत्प्रेरित तुल्याउन चाहान्छ, तर आफ्नो यो अद्वितीय एवं वास्तवमै
क्रान्तिकारी लक्ष्यलाई पच्छ्याउने क्रममा पनि ऊ मान्छेमाथि कुनैपनि प्रकारको
हिंसात्मक विधिको सहारा लिन असमर्थ छ र अपवादजन्य विशिष्ट अवस्था आएमा पनि ऊ हरेक
प्रकारको हिंसाप्रति जैविक घृणाभावका साथ मात्र त्यसलाई प्रयोग गर्छ ।
एक महान रुसी चिन्तकको
सत्यवाणीमा भनिए झैं उसलाई स्पष्ट थाहा छ कि ‘इतिहासको त्रासदी र बृहत्तम दुर्भाग्य नै के हो भने
मानिसलाई क्रुरतापूर्वक अपमानित गरिएको छ ।’ ऊ अपमानित भएको छ प्रकृतिबाट, जसले
उसलाई सृजना गरेर बंजर धरतिमा एउटा पशु झैं अन्य पशुहरुको माझमा फ्याँकि दिएको छ र
आफ्नो विकास र पूर्णताका लागि उसलाई त्यही वातावरण दिइएको छ, जुन कुनै अर्को
पशुलाई प्राप्त छ । ऊ अपमानित भएको छ ईश्वरहरुबाट, जसलाई प्रकृतिको शक्तिका अगाडि
हर्ष र बिस्मातवश आफैंले अत्यन्त हतारमा र भद्दा ढंगले 'आफ्नै बिम्ब र प्रतिरुप'
जस्तै देखिने गरी रचना गरेको छ । धुर्त वा शक्तिशाली छिमेकीबाट ऊ सधैं
अपमानित भएको छ र, सबैभन्दा कटु चाहीं, अपमानित भएको छ ऊ स्वयं भित्रको आदिम
पशुत्व र नयाँ मान्छेबीचको अनिर्णयबाट
।
तर शाश्वत
क्रान्तिकारीको हृदयमा मानिसका प्रति कुनै व्यक्तिगत विद्वेष हुँदैन । ऊ सधैं
आफ्नो अहं भन्दा माथि उठेर विगतमा आफूलाई दिइएको यातना र कष्टको बदला लिने दुष्ट र संकीर्ण चाहनाको
प्रतिरोध गर्न सक्छ ।
उसको आदर्श हो मान्छे, शारिरिक शक्ति र सुन्दरताले युक्त प्राणी । तर यो बाह्य सौन्दर्य आत्माको शक्ति र सौन्दर्यसँग पूर्णरुपले लयबद्ध छ । मानवीय भनेको त्यो आत्मीक कुरा हो, जुन चैतन्यले निर्माण
गर्छ । चैतन्य बाटै सृजित हुन्छ -विज्ञान, कला र क्रमश: धेरै भन्दा धेरै मान्छेहरुले
महसुस गर्दैगएको लक्ष्य र हितको एकत्वबोध । शाश्वत क्रान्तिकारी आफ्नो आत्माको सम्पूर्ण शक्ति लगाएर यही ज्ञानलाई गहिर्याउन र फैल्याउन प्रयत्न गर्छ ता कि त्यसले
सम्पूर्ण मानवजातिलाई नै प्रभावित गरोस् । यसरी फैलँदै र बढ्दै जाँदा त्यो चेतनाले
मानिसलाई नश्ल, जाति र वर्गमा विभाजन गर्ने सबैकुरालाई ध्वस्त पार्दै आफ्ना लागि
जीवनका यावत सम्पन्नता र सुखको सृजना गर्ने श्रमिक-मालिकहरुको विश्वमा एउटै परिवारको निर्माण
गरोस् ।
सामाजिक
अवस्थामा सुधार गर्ने कुरा शाश्वत क्रान्तिकारीका लागि मानवजातिलाई उचित शिखरमा पुर्याउने
अन्तहीन सिढीको एउटा खुट्किलो मात्र हो । र, यसैमा त्यो ऐतिहासिक प्रक्रियाको महत्व छ र स्वयं
ऊ त्यस प्रक्रियाको असंख्य आवश्यकताको एउटा अंश मात्र हुँ भन्ने कुरा बिर्सिंदैन ।
शाश्वत
क्रान्तिकारी मानिसको दिमाग र स्नायु प्रणालीलाई
उत्तेजित गरिरहने मर्चा जस्तै हो ।
अथवा ऊ त्यस्तो प्रतिभा हो, जो आफू भन्दा अघि सृजना गरिएका सबै सत्यलाई भत्काएर
नयाँ सत्यको निर्माण गर्छ; वा, आफ्नो सामर्थ्यमा धैर्यतापूर्वक विश्वस्त एवं मन्द र यदाकदा झण्डै अदृष्य ज्वालामा प्रज्जवलित
हुँदै भविष्यतिरको बाटोलाई प्रकाशित गरिरहेको
ऊ विनीत मानव हो ।
अस्थायी
अर्थात आजको लागि क्रान्तिकारी त्यस्तो व्यक्ति हो, जो मान्छेहरुले दिएको
सामाजिक तिरस्कार र दुर्व्यवहारमा तीक्ष्ण पीडाबोध गर्छ । समयले प्रभावित क्रान्तिकारी विचारलाई दिमागमा ग्रहण गरेकोले ऊ आफ्नो भावनाका सम्पूर्ण बनोट बाट नै अनुदार छ । उदास र प्राय: दया र प्रहसनको पात्र झैं लाग्ने, ऊ क्रान्तिकारी विचारको सांस्कृतिक, मानवतावादी र सम्पूर्ण मानवीय
अन्तर्वस्तुलाई नै विकृत, बदनाम, र हास्यास्पद, अश्लिल र अनर्थ लाग्ने किसिमले कमजोर बनाउने उद्धेश्यले नै मान्छेहरुको माझमा आएको झैं प्रतित
हुन्छ ।
प्रथमत: ऊ आफ्नैलागि दु:खी छ, किनकि ऊ प्रतिभाशाली
छैन, शक्तिशाली छैन, किनकि उसलाई अपमानित गरिएको छ । ऊ यस
कारणपनि आहत छ कि कुनैबेला ऊ जेल परेको थियो, निर्वासित भएको थियो, परदेशको कष्टकर जीवनलाई
भोगेको थियो । प्रतिशोधको भावनाले उसको कणकण व्याप्त छ र आफूलाई दु:खी बनाउनेलाई ऊ सयगुना बढि दु:ख दिन चाहान्छ । दिमागले मात्र
स्विकारेका तर आत्मामा नगढेका विचारहरु उसको कृत्यसँग सिधै र मिल्नै नसक्ने गरी
विरोधाभासपूर्ण छन् । शत्रुसँग लड्ने उसको तरिका तिनै छन्, जुन उसका शत्रुले उसमाथि प्रयोग गरेका थिए । उसभित्र अरु
तरिकाका लागि कुनै स्थान छैन ।
दण्ड र प्रतिशोधको ईश्वरको
अस्थायी दास बनेकोले ऊ परोपकार, क्षमा र
खुशीको ईश्वरको सौन्दर्यलाई महसुस गर्न सक्दैन । संसारको विगतसँगको स्वभाविक सम्वन्धको होश नगरी ऊ आफूलाई
पूर्णत: उन्मुक्त भएको त ठान्दछ, तर उसको अन्तरात्मा पशुवृत्तिको गहिरो रुढिवादले ग्रस्त छ । क्षुद्र र उद्विग्न अनुभवको सघन
जालोमा ऊ यसरी जेलिएको छ कि त्यसबाट मुक्त हुन उसँग कुनै उर्जा छैन ।
आफ्नो चिन्तनको प्रवृत्तिले उसलाई जीवन र मान्छेहरुमा मुख्यत: नकारात्मक तथ्य र विशेषतालाई मात्र
खोज्न लाचार बनाउँछ । उसको आत्माको गहिराई तिनै मान्छेका प्रति घृणाको भावले
भरिएको छ, जसका खातिर उसले एक वा सयौं पटक कष्ट उठाएको थियो । तर ऊ आफ्नै पीडाले यति पीडित छ कि अरुका पीडालाई
देख्न वा महसुस गर्न असमर्थ छ । सामाजिक जीवनको बाह्य स्वरुपलाई
परिवर्तन गर्ने प्रयत्नमा नयाँ आवरणभित्र नयाँ अवयव (कन्टेन्ट) भर्ने
क्षमता नभएकोले आजको दिनको क्रान्तिकारी तिनमा उही पुराना
भावनालाई भर्दै जान्छ, जसका बिरुद्ध विगतमा ऊ लडेको थियो । कुनै चमत्कार वा हिंसाको
बलमा यदि ऊ नयाँ जीवनपद्धतिको निर्माण गर्न सफल भयो नै भनेपनि त्यहाँको नयाँ
वातावरणमा अरु भन्दा पहिले ऊ आफैंले पराई र एकाकी महसुस गर्नेछ किनकि आफ्नो अस्तित्वको
सारमा ऊ समाजवादी (सोसलिस्ट) त होइन नै, पूर्वसमाजवादी (प्रिसोसलिस्ट) पनि होइन ।
ऊ व्यक्तिवादी (इन्डिभिजुवलिस्ट) हो ।
ऊ मान्छेप्रति त्यस्तै
व्यवहार गर्छ, जस्तो व्यवहार एउटा प्रतिभाहीन वैज्ञानिक क्रुर प्रयोगको लागि तयार
गरिएका कुकुर र भ्यागुतोमाथि गर्छ । यद्यपि एउटा फरक के छ भने प्रतिभाहीन
वैज्ञानिकले मान्छेकै भलाईका लागि जनावरहरुलाई त्यसरी व्यर्थको सास्ती दिएको हो,
जबकि मान्छेमाथि गरिने आफ्ना प्रयोगमा आजको क्रान्तिकारी सधैं इमानदार नै हुन्छ
भन्ने छैन ।
उसका लागि मान्छे भनेको
चेतनाको मात्रा जति कम भयो त्यति नै उपयोगी हुने वस्तु मात्र हो । यदि मान्छेको व्यक्तिगत र सामाजिक
चेतनाको स्तर विशुद्ध आवरणको, औपचारिक क्रान्तिकारिताका बिरुद्ध बिद्रोह गर्ने तह सम्म
पुग्यो भने आजको लागि क्रान्तिकारी निर्लज्जतापूर्वक बिद्रोहीहरुलाई सजाय दिने
चेतावनी दिन्छ । माथि व्याख्या गरिएका जस्ता पात्रहरुले पहिले पनि यस्तै गरेका थिए
र अहिले पनि गरिरहेकै छन् ।
रुखो उन्माद र वैरागी स्वभावको भएकोले उसले
क्रान्तिकारी विचारको सृजनात्मक उर्जालाई निस्तेज तुल्याइदिन्छ । निश्चय नै ऊ नयाँ इतिहासको निर्माता घोषित हुने छैन र त्यसको आदर्श नायक
पनि ऊ हुने छैन ।
शायद
उसको योगदान नै यही होला कि आदिम हिंस्रक पशुलाई मानवको भिँडमा बिउँझाइदिएर उसले
पाशविकताको मृत्युलाई अलिक वर ल्याइदियो ?
हिंसाले
थकाउँछ र अन्तत: आफ्नै बिरुद्धमा नैसर्गिक घृणाको भाव जगाउन सक्छ । यही घृणाभावमा
नै त्यसको विनाश सुनिश्चित हुन्छ ।
यस्तो लाग्छ, सबै खूनी, बर्बर, भ्रष्ट कुराहरु प्रति हामी आफूभित्र यही शारीरिक घृणाको भाव विकसित गर्न थालेका छौं । यो घृणा बढ्नु पर्छ र बहुसंख्यक मान्छेको विशिष्टता बन्नु पर्छ ।
(नोभाया झिज्न, नं १०९
(३२४), मइ २४, १९१८)
(नेपाली अनुवाद साभार: हिमाल खबर साप्ताहिक पत्रिका, अप्रिल २०१३)