Saturday, February 24, 2018

कांग्रेस : तलकाले चाहँदैनन्, माथिकाले सक्दैनन्

दुई कम्युनिस्ट जोडिएर मात्र कांग्रेसको यो हबिगत भएको होइन


राज्यसत्ताका सन्दर्भमा क्रान्तिको बस्तुगत अवस्थालाई ठ्याक्कै बुझाउने बोल्सेभिक विप्लवका शिल्पकार भ्लादिमिर लेनिनको रुसी भाषामा एउटा रोचक वाक्य छ– ‘निजी निखाच्यात, भेर्खी निमोगुत।’ अर्थात् ‘तलकाले चाहँदैनन्, माथिकाले सक्दैनन्।’ भनाइको तात्पर्य तलका जनताले पुरानै ढर्राको जीवन बाँच्न अस्वीकार गरिसकेको र माथिको सत्तासीन वर्गले पनि अब पुरानै ढंगले शासन गर्न सम्भव नभएको अवस्थामा परिवर्तनको अंकुरण हुन्छ।
नेपाली कांग्रेस पार्टीका बारेमा विमर्श गर्न पनि लेनिनकै उद्धरणको सहारा लिँदा मुलुकको ‘वाम’मय वातावरणले अल्लि बढी नै प्रभावित भएको आरोप लाग्ने जोखिम छ। तर, कांग्रेसजनले माफ गरून्, संघर्ष र सत्ताको उचित/अनुचित सबै किसिमका अनुभवले थाकेर लखतरान तिनको संगठनभित्र विकसित हुन खोजिरहेको ‘माथि’ र ‘तल’बीचको द्वन्द्व र परिवर्तनको सम्भावनाबारे चर्चा गर्न झट्ट अरू सान्दर्भिक प्रसंग भेटिएन।      
प्रभावहीन प्रभावशालीहरू
देशको वयोवृद्ध पार्टीको सबैभन्दा माथि ‘शीर्ष नेता’को भारी मुकुट लगाएर आआफ्नो गुटको सर्वोच्च आसनमा सर्वाधिक शक्तिशाली पुरुषहरू विराजमान छन्। करिब सात दशक पुरानो पार्टीभन्दा अलिकति जेठा उनै गुटाधिपति ‘दाइ’हरूको सक्रियता र मार्गदर्शनबिना कांग्रेस पथभ्रष्ट हुने झूटो प्रशंसा गरेर पार्टीको जिल्ला र प्रदेशको राजनीतिमा राज गर्ने आशीर्वाद पाइरहेका दोस्रो तहका नेतालाई आमकार्यकर्ता र नेपाली मिडियाले ‘प्रभावशाली’ मान्ने गरेका छन्।
छन त शीर्ष र प्रभावशालीहरूको पहिलो र दोस्रो पुस्ताले बाटो छेकेर अगाडि बढ्न नसकेको अलि आसलाग्दो तेस्रो पुस्ता पनि छ। तर, निर्णय प्रक्रियामा नितान्त उपेक्षित त्यो समूहलाई कांग्रेसको स्थापित मान्यता र परम्पराअनुसारै सिँढी चढ्दै जाने हो भने नेतृत्वमा पुग्न अझै केही दशक कपाल फुलाउनुपर्नेछ। यसरी कांग्रेसको सत्ता र शक्तिमा जसको नियन्त्रण छ, त्यो नेतृत्व झन्झन् बूढो हुँदै गएको छ।
तथापि, यस पटकको निर्वाचनमा बीपीको विचारले मात्र जिते पनि अर्को चुनावमा पार्टीले सिंहदरबारको सिंहासन फिर्ता लिएर आफैंलाई सुम्पने शीर्ष दाइहरूको विश्वासलाई बढ्दो उमेरले थोरै पनि हल्लाउन सकेको छैन। त्यो अविचलित आत्मविश्वास प्रसंशनीय भए पनि अर्को निर्वाचनसम्म तिनको उमेर करिब आठ दशक पुग्नेछ। उमेर कटाएर मात्र कुनै देङ स्याओ पिङ वा ली कुआन युको उदय हुने भएको भए त देशले व्यग्रतापूर्वक त्यो ‘माइलस्टोन’ को पनि प्रतीक्षा गर्ने थियो होला।
संघर्षको समृद्ध इतिहास बोकेर सत्ताको सुखभोग गर्न आइपुगेका हाम्रा नेताले ‘माथि’ बसेर गर्ने राजनीतिमा शक्ति छ र शक्तिको आशक्ति हुन्छ। पार्टी र देश दुवैको सत्ता र शक्तिले असाध्यै लठ्ठिएका कांग्रेसका शीर्ष नेताका लागि यथास्थितिको निरन्तरता निर्विकल्प बाटो हो। तानाशाहले सम्भावित सजायको भयले र प्रजातन्त्रवादी नेताले चाहिँ ‘मैलेबाहेक यो लठिभद्रलाई कसैले सम्हाल्न सक्दैन’ भन्ने विशुद्ध आत्मरतिका कारण पदत्याग गर्न सक्दैन भन्ने धारणा छ। गुटका खम्बाजस्ता आश्रितहरू आफ्नो विचल्ली हुने त्रासले पनि हाम्रा नेतागणलाई सक्रिय सार्वजनिक जीवनबाट शिष्टतापूर्वक निवृत्त हुन दिँदैनन्।
बीपी, गणेशमान, गिरिजाप्रसाद, सुशील कोइरालाजस्ता स्वनामधन्य अग्रजहरू पनि जीवनको अन्तिमसम्मै सक्रिय राजनीतिमा रहेकोले अहिलेका शीर्ष नेताले मात्र किन अवकाश लिने भन्ने तर्क पनि उठ्ने गरेको छ। त्यसैले तिनको राजनीतिक जीवनको निरन्तरताका लागि आदरवश कुनै नेताले ‘पार्टी ‘एज’ले होइन ‘एजेन्डा’ले चल्छ’ भन्ने कूटनीतिक जिकिर गरिदिन्छ भने त्यसलाई पनि नाजायजै मानिहाल्नु हुँदैन। तर, त्यो तर्कमा निहित गम्भीर समस्यालाई उजागर गर्दै अर्का नेताले भनिसके– ‘नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताको दृष्टिले कांग्रेस जमेको पोखरीजस्तो भएको छ ।’ अर्थात् ‘एज’सँगै कांग्रेसमा एजेन्डाको अभाव पनि बढ्दै गएको छ। हिजो संघर्षको युगमा त्यागको बजार हुँदा कांग्रेसको एकाधिकार जस्तै थियो। आज समृद्धिको उडान भर्न आतुर नयाँ युगको नयाँ पुस्तालाई विकासको नवीन एजेन्डा चाहिएको छ, तर कांग्रेसको शीर्ष नेतृत्वसँग यो वर्गलाई उत्प्रेरित गर्ने उमेर, सन्देश र गतिशीलता केही पनि देखिँदैन।
आजको नेपाल तन्नेरीहरूको देश हो। देशको करिब आधा जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहको छ। त्यो शिक्षित र सुसूचित ‘तन्नेरी नेपाल’ बाँकी विश्वको प्रगति र उन्नतिले बेचैन छ र आफ्नै जीवनकालमा विकास र समृद्धिको भरपूर उपभोग गर्न चाहन्छ। वृद्ध नेताहरूको त्याग, संघर्ष, जेल, आदिका कथाले ऊ द्रवित हुँदैन, बरु यो देश आज एसियाकै दरिद्रतम मुलुक हुनमा तिनै नेताको संकीर्ण कल्पनाशीलतालाई दोषी ठान्छ। ‘तन्नेरी नेपाल’ बीपीलाई चिन्दैन, त्यसैले उनको सपना र राजनीतिले जितेको दाबी उसका लागि बूढाहरूको निरर्थक गन्थनशिवाय अरू केही पनि होइन। लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानको निर्माणले ऊ उत्साहित छ भने पनि अब राजनीतिक स्थायित्वले समुन्नत नेपाल बन्ने बाटो खुल्ला कि भनेर उत्साहित भएको हो। नेपालको जनसंख्याको यही स्वप्नशील विशाल तप्का नयाँ नेपालको निर्णायक शक्ति हो। तर ‘एजेन्डा, विचार र क्षमताको दृष्टिले जमेको पोखरीजस्तो कांग्रेस पार्टी’का नेतासँग न त युवालाई सुनाउने कुनै प्रेरणाप्रद सन्देश छ, न तिनको परिकल्पना सदृश्य व्यक्तित्व नै।
लाखौं जनताले हेरिरहेको एउटा लोकप्रिय टीभी कार्यक्रममा कांग्रेस सभापतिले निरन्तर प्रश्न गरिरहेको युवकलाई ‘बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर हप्काए। उनैको शासनमा झाँगिएको बेथितिले आक्रान्त देशका युवाको व्याकुलतालाई बुझ्ने न उनमा क्षमता छ न त आश्वस्त पार्न सक्ने वाणी नै। त्यो क्षण देउवाले आफू जनताको अभिव्यक्ति स्वतन्त्रता र बहुलवादलाई सर्वोपरि ठान्ने र सामन्तवादविरुद्ध सबैभन्दा बढी लडेर आएको पार्टीको निर्वाचित सभापति हुँ भन्ने बिर्सिए। राजा र पञ्चायतको सत्तालाई उनले त्यसरी नै ‘बढ्ता बोल्दै’ चुनौती दिएर हल्लाइदिएको गर्विलो इतिहास एक क्षणको क्रोधले अर्थहीन बनाइदियो।
यो निर्वाचनमा ‘वाम’ गठबन्धनको निर्माणले स्तब्ध कांग्रेसका अधिकांश नेताले कम्युनिस्ट अधिनायकवादको उही पुरानो घिसेपिटे न्यारेटिभ दोहो¥याउनेबाहेक जनताको आशा जगाउने कुनै कथा सुनाउन सकेनन्। ‘कम्युनिस्ट सत्तामा आए भने रुन पनि पाइन्न’ भन्ने वैचारिक दरिद्रतालाई उजागर गर्ने वाक्य परिहासको विषय बनिरह्यो। इतर विचारको अस्तित्वलाई नै अस्वीकार गर्ने कम्युनिस्टहरू शक्तिशाली हुँदै गए भने अधिनायकवाद नआउला भन्न सकिन्न। तर, सत्तासुखका लागि संसदीय व्यवस्था नै असफल हुनेगरी माओवादी र एमालेसँग हजार लसपस गरेका कांग्रेसी नेताले ‘आधा जीवन अभिनय र बाँकी प्रायश्चितमा बिताउने’ तिनै नक्कली कम्युनिस्ट देखाएर तर्साएको जनताले कसरी पत्याउनु ? बरु ५० वर्ष ‘वाम’ गठबन्धनले देश चलाउने कांग्रेसी त्रासले जनतामा उल्टो लामो समयका लागि स्थायी सरकार बन्ने भ्रम छर्दियो।
निर्धारित समयभित्र तोकिएका सबै काम पूरा गरेको गत संविधानसभा/संसद् नेपालको संसदीय इतिहासमै सायद सबैभन्दा सफल विधायिका थियो। त्यहाँ कांग्रेसले बहुलवादमा आधारित लोकतान्त्रिक संविधान निर्माणको नेतृत्व मात्र गरेको थिएन, पहाडसँग सम्बन्धविच्छेद हुनेसम्मको उद्घोष गरिरहेका मधेसका आन्दोलनकारी शक्तिलाई समेत निर्वाचनमा सामिल गराएर सबैको सहभागितामा संविधानलाई कार्यान्वयनमा पनि लगेको थियो। त्यो चानचुने सफलता थिएन, तर कमजोर नेतृत्वका कारण पार्टीले त्यसको श्रेय लिन सकेन भनेर धेरै कांग्रेसजन चुकचुकाएको सुनिन्छ। कांग्रेसका शीर्ष नेताहरूमा जनतासँग संवाद गर्ने सीप त छैन नै, सिपालुलाई अगाडि बढाउने उदारताको पनि उत्तिकै अभाव रहेछ।
नवसामन्ती सत्ताको प्रतीकजस्तो बनेको बूढानीलकण्ठ दरबारको दाबी छ, ‘कांग्रेस पार्टीमा देउवा, कोइराला र पौडेल’ बाहेक अरूको ‘क्रेडिबिलिटी’ छैन। तर, उनै त्रिमूर्तिले तल्ला कमिटीको सुझावलाई लत्याएर आआफ्ना कोटरीका जुनजुन नेतालाई टिकट दिए, जनताले चुनावमा ती सबैलाई हराइदिएर ‘क्रेडिबिलिटी’वालाहरूको वास्तविकता उदांगो पारिदिए। बरु कांग्रेसका शक्ति केन्द्रहरूमा अझै आफ्नो हैसियत प्रमाणित गर्न बाँकी एक–दुई लोकप्रिय युवाले जितेर आएकोले कांग्रेसले ‘अनिकालको बीउ’ जोगाउन सकेको छ।
गत निर्वाचनमा पार्टी सभापति आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका लागि आइदेलान् कि भनेर कांग्रेसका जित्ने सम्भावना भएका धेरै उम्मेदवार भयभीत थिए। कतिले विभिन्न बहाना गरेर उनको आगमनलाई टारे। सरकारमा रहँदा गरेका थुप्रै गलत निर्णयका कारण कांग्रेसका ठूला नेता जनतासँग आँखा जुधाएर बोल्न सक्ने स्थितिमा छँदै थिएनन्। भूकम्पको त्रासदीबाट मुक्त हुन प्रयास गरिरहेका आफ्ना जनतामाथि क्रूरतापूर्वक लादिएको भारतीय नाकाबन्दीको प्रतिवाद त टाढाको कुरा उच्चारणसम्म गर्न नसक्ने पार्टीका निर्णयकर्ता कसरी लोकप्रिय हुन सक्थे ?
आफ्नै पार्टीको सात दशक लामो बलिदानले प्राप्त लोकतन्त्रलाई नै सिध्याएर समानान्तर सत्ता चलाउन हौसिएका लोकमानसँगको कांग्रेसी नेताको अनुचित साँठगाँठ कसलाई जँचेको थियो र ? धेरै कालपछि न्यायालयप्रति नागरिकको आस्थालाई जगाउन सफल सुशीला कार्कीलाई कदर गर्नुको सट्टा महाभियोग लगाउन कांग्रेसका नेताले देखाएको सक्रियताले जनताको चित्त दुखेको थियो। अहिलेको न्यायालयको अधोगति हेर्दा प्रस्टै बुझिन्छ, जनताको अप्रसन्नता कति जायज रहेछ। निर्वाचनको परिणामले देखायो, देशैभरिका मतदाता कांग्रेसलाई दण्डित गर्ने मौकाको प्रतीक्षामा रहेछन्। ‘प्रभावशाली’हरूले सफाइ दिएजस्तो दुई कम्युनिस्ट पार्टी जोडिएर मात्र कांग्रेसको यो हबिगत भएको होइन।
निर्वाचनको दयनीय प्रदर्शनले कांग्रेसका पुराना नेताहरूको अगाडि जोडिने ‘सर्वोच्च’, ‘शीर्ष’, ‘प्रभावशाली’आदि विशेषण कार्यकर्तालाई तर्साउने लौरोको रूपमा अझै केही उपयोगी भए पनि आम मतदातामा भने तिनको प्रभाव नगण्य भइसकेको देखाउँछ। पार्टीका गुटप्रमुखहरूप्रति जनताको यो स्तरको विकर्षण यसअघि कहिल्यै महसुस भएको थिएन। तसर्थ नेतृत्व कौशल, विचार र लोकप्रियता आदि सबै मापदण्डको कसीमा घोटेर हेर्दा कांग्रेसको सबैभन्दा ‘माथि’ रहेको वर्गले अब देश हाक्ने सामथ्र्य गुमाइसकेको छ। जनतामै चरम वितृष्णा पैदा गरेको नेतृत्वले चाहेर पनि पार्टीको पकडलाई कायम राख्न नसक्ने हुँदा लेनिनका शब्दलाई सापटी लिएर भन्ने हो भने कांग्रेसका ‘माथिकाले अब पार्टी चलाउन सक्दैनन्’। र, ‘माथिकाले नसक्ने’ अवस्था संगठनमा आमूल परिवर्तनको सबैभन्दा महत्वपूर्ण आधार हो।
निराश र रुष्ट आधार
‘तलकालै नचाहने’ अर्थात् पुरानै ढंगले चल्न अस्वीकार गर्ने अवस्था परिवर्तनको अर्को विशिष्ट पक्ष हो। अगाडि नै भनियो, गत निर्वाचनमा कांग्रेसका धेरै उम्मेदवारले पार्टी सभापतिलगायत नेतालाई आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गराउन चाहेनन्। उम्मेदवार हुने अवसर पाएका भाग्यमानीलाई नेतृत्वले दुई भोट बढाउने अपेक्षाभन्दा हजारौं भोट घटाउने डर थियो। आम जनताको उदासीनता र कार्यकर्ताको असहयोगले डराएका ठूला नेता स्वयं आफ्नो निर्वाचन क्षेत्र छाडेर पार्टीको प्रचारमा हिँड्न सकेनन्।
सत्तासुखका लागि संसदीय व्यवस्था नै असफल हुनेगरी माओवादी र एमालेसँग हजार लसपस गरेका कांग्रेसी नेताले ‘आधा जीवन अभिनय र बाँकी प्रायश्चितमा बिताउने’ तिनै नक्कली कम्युनिस्ट देखाएर तर्साएको जनताले कसरी पत्याउनु ? बरु ५० वर्ष ‘वाम’ गठबन्धनले देश चलाउने कांग्रेसी त्रासले जनतामा उल्टो लामो समयका लागि स्थायी सरकार बन्ने भ्रम छर्दियो।
कांग्रेसभित्र अन्तर्घात संस्थागतजस्तै भएर पार्टीले एउटा सिंगो राजनीतिक संगठनको रूपमा परिचालित हुने क्षमता गुमाउँदै गएको धारणा बलियो हुँदै छ। अन्तर्घात अनैतिक र अवैधानिक कृत्य त हो, तर पार्टीका सबै तहमा गिरोहजस्तै कब्जा जमाएर बसेका गुटपतिका अपारदर्शी निर्णयविरुद्ध लड्ने कुनै हतियार नभएको अवस्थामा कांग्रेसका कार्यकर्ताले अन्तर्घातलाई प्रतिरोधको माध्यम बनाएजस्तो देखिन्छ। गुटहरूको निर्माण नेतृत्वसँग पार्टी लाइनमा वैचारिक संघर्ष गर्न वा स्वेच्छाचारितालाई रोक्न होइन पद, प्रतिष्ठा र सम्पत्तिमा बढीसे बढी भाग खोज्नका लागि हुने हो। गिरिजाप्रसाद कोइरालाको राजदेखि नै पार्टीले आर्जन गरेको शक्तिको बाँडफाँटको सहज फर्मुला छ, कांग्रेसमा : संस्थापनले ६० प्रतिशत लिने र बाँकी अरूको भागमा ४० प्रतिशत। मुख्य गुट र गुटभित्रका उपगुटको व्यवस्थापन गर्दागर्दै पूर्ण समर्पण र निष्ठाका साथ कांग्रेसको उत्थानका लागि जीवन बिताएका पार्टीका सिपाहीहरू अवसरबाट वञ्चित भइहाल्छन्।
पिछडिएको जाति र क्षेत्रमा वैकल्पिक नेतृत्व विकास होस् भनेर व्यवस्था गरिएको अत्यन्त प्रगतिशील समानुपातिक निर्वाचन प्रणालीलाई कांग्रेसका नेताले कसरी विकृत बनाइदिए, कार्यकर्ताबाट छिपेको छैन। नेताको वरिपरि घुमेर यिनै चोरबाटोलाई प्रयोग गर्दै घरिघरिअवसरबाट लाभान्वित भएको व्यक्तिका कारण पार्टीलाई कुनै लाभ भएको छैन भने कार्यकर्ताको तहबाट स्वाभाविक प्रतिवाद हुन्छ नै। नेतृत्वले विरोध गर्नेलाई गम्भीरतापूर्वक नलिने, नसुन्ने, हेप्ने र दलमा विरोध दर्ता गर्ने पद्धतिको विकास नभएकोले अन्तर्घात असन्तुष्ट कार्यकर्ताको अस्त्र बनेको छ। त्यही कारण आफ्नो पुस्तैनी जमिनदारीजस्तो जिल्ला र अझ प्रदेशकै एकलौटी ठेक्का लिएर उम्मेदवार तोक्ने र भोट हाल्न आदेश दिने शीर्ष नेतृत्वका प्रिय ‘प्रभावशाली भाइ’हरू प्रायः सबै अन्तर्घातको शिकार बने। कुनै पनि पार्टीभित्र अन्तर्घात हुनु भनेको नेतृत्वको प्राधिकारलाई कार्यकर्ताले चुनौती दिनु नै हो।
कम्युनिस्टहरूको एकता हुने सम्भावनाले आम कांग्रेसजनमा अनिश्चित भविष्यको आशंका त छँदै छ, सँगसँगै पार्टीलाई अहिलेको अत्यन्त कमजोर अवस्थामा नेतृत्वले नै पुर्‍याएको हो भन्ने तीव्र आक्रोश पनि छ। त्यसैले अघिल्ला निर्वाचनभन्दा यस पटक कांग्रेसका धेरै कार्यकर्ता मौन बसिदिए, अर्थात् नेतृत्वको आदेशलाई शिरोपर गरेर पार्टीलाई जिताउन कुनै उत्साह देखाएनन्। तिनले आफ्ना युवा सन्तानलाई कांग्रेसमा भोट हाल्न प्रेरित नै गरेनन्। फलस्वरूप : लोकतान्त्रिक खेमाको राम्रै भोट वैकल्पिक राजनीतिक शक्तिहरूतिर गयो। वरिष्ठ मानिएका कांग्रेसका केही नेताले ‘क्रियाशील सदस्यसँगै भोट माग्नुपर्‍यो’, ‘कार्यकर्ताले पैसाबिना परिचालित हुन मानेनन्’ भन्ने गुनासो गरेको सुनियो।
तर, नेतृत्वले सत्ताको चरम दुरुपयोग गरेर आर्थिक लाभ गरिरहेको र क्षमतावान् कार्यकर्ताको अवमूल्यन गर्दै सीमित मानिसलाई मात्र प्रवद्र्धन गरिरहेको देखेर आहत भएको क्रियाशील सदस्य कतिञ्जेल भावनामा बगेर पार्टीको लागि खट्न सक्छ ? सामाजिक सञ्जालमात्र अध्ययन गर्‍यो भने पनि नेतृत्वप्रति कार्यकर्ताको वितृष्णा बुझिन्छ। ओलीको महिमामण्डन र स्तुति गर्नेको फौज छ, तर देउवाको प्रतिरक्षा गर्नसमेत कसैले जाँगर चलाउँदैन। आफ्नै अधिकांश कार्यकर्ता, क्रियाशील सदस्य आदिलाई नियन्त्रण र परिचालन गर्ने सामथ्र्य गुमाउनुको अर्थ पार्टीको तल्लो तहले पुरानो नेतृत्वको अवज्ञा गरिसकेको बुझ्नुपर्छ। न्याय, स्नेह र उत्प्रेरणा प्रदान गर्न नसक्ने नेताले कार्यकर्ताको बफादारी कसरी पाउँछ ?
आम मतदाताको स्तरमा त स्थिति झनै विकराल छ। कांग्रेसको पुनर्जीवनका लागि पार्टीको क्रियाशील सदस्यमाझ एउटा बहसको सिर्जना होस् भन्ने हेतुले केही साताअघि गगन थापाले ‘देशले खोजेको कांग्रेस’ शीर्षकमा बडो गम्भीर लेख प्रकाशित गरेका थिए। थाहा पाएदेखि सधैं रूखमा मात्र मतदान गरेको मेरो साथीलाई ‘त्यो लेख पढ्यौ’ भनेर सोधे“। ‘पढिनँ, देशले कहाँ कांग्रेस खोजेको छ र’ भन्ने ठाडो जवाफ दिएर उसले मलाई स्तब्धै पारिदियो। ऊजस्तै धेरै मान्छेलाई अहिले कांग्रेस मनपरेको छैन, तर ‘किन मन परेको छैन’ भनेर सोध्यो भने त्यसको कुनै सटिक जवाफ आउँदैन। अर्थात् कांग्रेस कुनै खास कारणबिनै त्यसै मनपरेको छैन। कुनै पार्टीका लागि जनताको त्यस किसिमको विरक्तिभावभन्दा डरलाग्दो स्थिति के हुन सक्छ ? समाजमा ‘अब कांग्रेस नै किन चाहियो’ भन्ने किसिमको अचम्मको बहस सिर्जना हुनुले आम जनताको तहमा कांग्रेस नेतृत्वप्रति कुन स्तरको मोहभंग भएको छ अनुमान लगाउन सकिन्छ।
यस्तो स्थितिमा कांग्रेस पार्टी हिमाल, पहाड, तराई सबैतिर नराम्ररी पछारिँदा के ताज्जुब भयो र ? मुलुक संघीयतामा प्रवेश गर्दैगर्दा, अर्थात् राज्यको जरैदेखि पुनःसंरचना हुँदै गर्दा यस पटकको चुनाव भएको थियो। यस्तो ऐतिहासिक समयमा कांग्रेसको उपस्थिति र प्रस्तुतिले उसको अस्तित्वकै उपादेयतामा प्रश्न ते¥स्याएको छ। थुप्रै आशा र जिज्ञासा लिएर आएको संघीयतालाई जनमुखी बनाउन र उद्देश्यअनुरूप स्थापित गराउन अब केही कालसम्म मुलुकको समय र स्रोत खर्च हुनेछ। कांग्रेसको नेतृत्वदायी वा कुनै गम्भीर भूमिका बिनासंघीय नेपालले जतिजति जरो गाड्दै जान्छ, उतिउति कांग्रेसको अस्तित्व संकट बढ्दै जान्छ। ऊ नभई पनि देश चल्ने रहेछ भन्ने स्थापित हुँदै जान्छ र कालान्तरमा जनतालाई त्यसैमा बानी पर्छ।
इतिहास साक्षी छ, समयको गतिमा चल्न नसक्ने पार्टीहरू असान्दर्भिक हुँदै जान्छन्। परिवर्तनको बेगलाई रोकेर बसिराख्यो भने कांग्रेसले पनि त्यो नियति नभोग्ला भन्न सकिन्न। तर, माथि विस्तारमा चर्चा गरिएको अवस्थाले कांग्रेस पार्टीमा नवजीवनको सम्भावना भने प्रशस्तै देखाउँछ। शीर्ष तहले ‘एज’, एजेन्डा, कार्यकर्ता र जनताको उपेक्षा आदि सबै कारणले अब पार्टी सञ्चालन गर्ने क्षमता गुमाइसकेको छ। सबैभन्दा तल्लो तहमा मोहभंग र गहिरो निराशाको स्थिति छ। परिवर्तनको संघारमा उभिएको देशको सबैभन्दा पुरानो पार्टीमा अब पनि बदलाव आएन भने त्यो आन्तरिक कलहमा फँसेर दुर्घटनामा पर्नेछ।
अब के गर्ने त ?
तलका कांग्रेसीको नेतृत्वप्रतिको मोहभंग नयाँ नभए पनि शीर्ष तहले पार्टी हाँक्न नसक्ने परिस्थिति कांग्रेसका लागि नौलो हो। परिवर्तनको यो अंकुरण वास्तविक परिवर्तन बनेर टुसाउन कांग्रेस पार्टीको सचेत तप्काले संगठित प्रयत्नहरू गरेको देखिनुपर्छ, जसले डिलमा उभिएर हेरिरहेको ठूलो जमातलाई तल ओर्लिएर संघर्षको कठीन अभियानमा सरिक हुन प्रेरित गरोस्।
पार्टीमा विद्यमान विकृतिहरूलाई समूल नष्ट गरी संगठनको व्यापक पुनर्गठन गर्ने महत्वाकांक्षी ध्येय त छँदै छ। तर, त्यो टाढाको लक्ष्यलाई हासिल गर्न तगारो बनिरहेको पहिलो पुस्ताको बिदाइ पहिलो चरणको मिसन हुनुपर्छ। यति ठूलो हारपछि पनि नेतृत्वले नैतिक जिम्मेवारी लिँदै बिदा लिने परम्पराको सुरुवात भएन भने फेरि कहिले हुन्छ ? गुटको सहमतिमा विधानविपरीत गरिएका यावत निर्णय खारेज गराउने अभियान चालिनुपर्छ। सम्पूर्ण विकृतिको जड बनेर पार्टीलाई सिद्धान्तच्यूत पार्ने गुटतन्त्रविरुद्ध सानै र सीमित भए पनि प्रत्यक्ष आन्दोलन र विद्रोहको प्रयास देखिनुपर्छ। पार्टीका केही सचेत युवा नेताको देशव्यापी पुनर्जागरण अभियानलाई एउटा संगठित आरम्भ मान्न सकिए पनि त्यसको विस्तार केही समय सुस्त रहनेछ। अथवा भनौं, अन्यायमा परेको कार्यकर्ता अझै केही समय डिलबाट उत्रिन धकाउने छ, किनकि ऊ विद्रोहमा निस्किएपछि भोलि पार्टीभित्र आवश्यक पर्ने सुरक्षा र संरक्षणको सुनिश्चितता चाहन्छ।
त्यस्तो सुनिश्चितता दिन सक्ने हैसियतधारी नेताको खोजी हुँदा कांग्रेसको परम्पराले प्रभावित धेरै मान्छेले शशांक कोइरालातिर आशावादी नजर लाउने गरेका छन्। महान् पिताका पुत्रमा केही न केही वंशाणुगत विशेषता सरेको होला भनेर अपेक्षा रहन्छ नै। आखिर त्यही अपेक्षा गरेरै कांग्रेसजनले भरोसापूर्वक उनलाई सभापतिलाई चुनौती दिन सक्ने हैसियत र पार्टीलाई संकटमुक्त पार्ने दायित्व बोकेको जिम्मेवार पदमा निर्वाचित गरेका हुन्। उनले पिताको सपना र प्रेरक इतिहासमा गर्व गरिराखेको र घरिघरि कांग्रेसलाई बचाउने कुरा गरेको सुनिन्छ, तर त्यसका लागि महत्वपूर्ण नीतिगत हस्तक्षेप गरेर पार्टीको संकट समाधानमा चाहिँ पटक्कै अग्रसरता लिएको देखिन्न।
देशमा यत्रा राजनीतिक उथलपुथल हुँदा उनी कहीँकतै देखिन्नन्, मानौं कांग्रेसमा महामन्त्रीको पदै छैन। लाग्छ, उनी देउवासँग सम्झौताको सजिलो राजनीति गरेर आरामले विरासत धान्ने सुरमा छन्। तर, यही गतिमा कांग्रेस असान्दर्भिक र अस्वीकृत हुँदै जाने अनि आम कांग्रेसजन झन्झन् निराश र आत्मबलहीन हुँदै जाने हो भने स्वयं बीपी इतिहासको कुनै उपेक्षित ‘फुटनोट’मा हराउनेछन्, त्यो पनि कम्युनिस्टहरूले त्यति ठाउँ दिए भने। वास्तवमा, कांग्रेसजनको वर्तमान निराशाको ठूलो दोष त महामन्त्री शशांकको आश्चर्यजनक अकर्मण्यतालाई पनि जान्छ। उस्तै महान् बाबुका अर्का चर्चित छोरा अहिले नेतृत्वको दाबी त गरिरहेका छन्, तर उनी स्थानीय राजनीतिमा यसरी संकुचित भएका छन् कि कांग्रेस पार्टीको वास्तविक आकार र उदार परम्पराको मानौं उनलाई कुनै हेक्का नै छैन।
नेतृत्वसँग सम्झौताको राजनीतिक प्रबन्धमार्फत पद, प्रतिष्ठा र निरीह कार्यकर्तामाथि हैकमको अधिकार हासिल गरेर पार्टीमा प्रभावशाली बनेका दोस्रो तहका कुनै नेतामा पनि परिवर्तनको अग्रसरता लिने नैतिक धरातल छैन। माथिको आशीर्वाद नरहने बित्तिकै तिनको कथित प्रभाव पनि स्वत : धराशयी हुन्छ। त्यसैले निर्वाचन हारेका कांग्रेसका मध्यम कदका नेताहरूमा कहिलेकाहीँ देखिने असन्तोष पार्टी ‘एलिट’हरूको तहमा विकसित हुन खोजिरहेको अन्तर्विरोधको संकेत नभएर आसन्न महासमिति बैठकमा थपिन सक्ने पदाधिकारी पद हत्याउने घुर्की मात्र हो। महाधिवेशमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेका शेखर कोइरालामा यदाकदा देखिने विद्रोह र नैतिक राजनीतिको झिल्को पनि शशांककहाँ बेलाबेला आयोजना गरिने कोइराला वंशको लन्च मिटिङमा निभ्ने गरेको छ।
विडम्बना नै भनौं, राजनीति असल मानिसका कामनाअनुसार सरल रेखामा हिँड्दैन। यावत कमीकमजोरीका बावजुद परिस्थितिले फेरि पनि यही दोस्रो पुस्ताका नेतालाई एउटा अवसर दिनेछ, देउवाको विद्रोही इतिहासबाट प्रेरणा लिएर सम्झौतापरस्त राजनीतिबाट मुक्त हुँदै नेतृत्वको दाबी गर्ने। कुनै ‘प्रभावशाली’ले त्यति आँट गरेर शीर्ष खुड्किलो उक्लिन पनि सक्ला, तर त्यो आवरणको रूपान्तरणमात्र हुनेछ, साँचो अर्थमा पार्टीले खोजेको पुनर्निर्माणको आरम्भ होइन। पार्टी आदर्शप्रति प्रतिबद्ध सक्षम, इमानदार र समर्पित मानिसहरू निर्णायक तहमा नपुगी कांग्रेसको पुनरुत्थान अब असम्भव छ। त्यस्तो नेतृत्व भएको कांग्रेस खोजी रहेको जनतासँग लोकतान्त्रिक फाँटमा अब थुप्रै विकल्प उपलब्ध छन्, जसरी चलेको भए पनि कांग्रेसै रोज्नुपर्ने बाध्यता समाप्त भइसकेको छ।
कसले गर्ला त उद्धार ?
देशैभरिका निष्ठावान् कांग्रेसजनको हृदयमा आक्रोश र असन्तोष भुसको आगोझैं सल्किएको छ। त्यो निभ्नुअघि नै तिनले फेरि एकचोटि बीपीलाई स्मरण गर्दै कांग्रेसलाई यो संकटबाट जोगाउने मिसनमा अग्रसर हुने समय आएको छ। बीपीले सायद यही दुर्दशाको पूर्वानुमान गरेर भनेका थिए- पार्टी सत्तामा आएपछि भुइँफुट्टाहरू हाबी हुनेछन्। त्यसबेला पार्टी शुद्धीकरणका लागि एकचोटि फेरि निष्ठावान् कांग्रेसजनले संघर्ष गर्नुपर्नेछ। हिजो पार्टीको स्थापनाकालदेखिको उद्देश्य बहुलवादमा आधारित लोकतन्त्रिक व्यवस्थाको प्राप्तिका लागि कांग्रेसजनले दलविहीन निरंकुश तानाशाहीदेखि उग्रवामपन्थी प्रवृत्तिजस्ता बाह्य शक्तिका विरुद्ध संघर्ष गर्नुपरेको थियो। पार्टीका समर्पित सिपाहीहरूले अब फेरि संगठनभित्रकै भुइँफुट्टा प्रवृत्तिलाई परास्त गर्ने अर्को लडाइँमा होमिनुपर्ने बेला आएको छ।
हिजो बाहिरका एक्ला राजाविरुद्धको संघर्षभन्दा पार्टीभित्र मौलाएको बहुआयामिक राजशाहीसँगको यो लडाइँ किञ्चित पनि सहज हुने छैन। तर, सच्चा कांग्रेसजनको हृदयको आगोले पार्टी पुनर्जागरणको अभियानमा हिँडेका युवा नेताहरूको अगाडि जाने बाटोलाई प्रज्जवलित गरेर लक्ष्यसम्म पुर्‍याउन सक्छ। तिनैबाट नयाँ नेतृत्व जन्माउन पनि सक्छ। हिजो गणतन्त्रको उद्घोष गर्दा पनि ती सानै थिए, आज पार्टीमा आमूल सुधारको माग गर्दा पनि तिनको हैसियत सानै लाग्छ।
तर, जसरी युवासुलभ एकोहोरो हठले तिनले पार्टीलाई गणतन्त्र स्वीकार्न बाध्य पारे, निरन्तरको प्रयत्नले कांग्रेसलाई पुनःजागृत गर्ने पनि तिनमा सामथ्र्य र सम्भावना छ भन्ने विश्वास किन नगर्ने ? आसन्न महासमिति बैठकमा आफ्नो त्यो भरोसालाई प्रकट गरेर कांग्रेसजनले पार्टीमा ऐतिहासिक हस्तक्षेप गर्न सक्छन्। महासमिति बैठकमा असन्तुष्ट देखिएका ‘प्रभावशाली’हरूको व्यवस्थापनका लागि केन्द्र र प्रदेश तहमा केही पद सिर्जना गरेर पार्टी पुनर्निर्माणको आम आकांक्षालाई समन गर्ने प्रयत्न हुन सक्छ, जसको कठोर प्रतिवाद गर्दै तिनले पार्टीलाई शीघ्र महाधिवेशनसम्म पुर्‍याउन सके भनेमात्र अपेक्षित परिवर्तनको जग खनिने छ।
‘माथि’का ठुल्ठूला नेताहरूले जतिसुकै अकिञ्चन ठाने पनि पार्टीमा कसैको हैसियत निर्धारण गर्ने अन्तिम अधिकार कसैसँग छ भने धरातलमा उभिएर पार्टीको उत्थानका लागि जीवन दिएका तिनै ‘तल’का कर्मठ कांग्रेसजनहरूसँग मात्र छ।
(अन्नपूर्ण पोस्ट, शनिवार, फागुन १२, २०७४ / 24 Feb, 2018)
http://annapurnapost.com/news-details/91764