एक क्रान्तिकारी फकिर
- जुगल भुर्तेल
कहिले दार्शनिकजस्तो, कहिले फकिरजस्तो सदैव प्रतिपक्षी, सदैव विद्रोही छवि भएका प्रदीप दाइलाई राजनीतिक नेता नै कसले मानेको थियो र ? विनयशीलता, ज्ञान र कथावाचनको त्यस्तो अद्भुत संगम भएको मान्छे फेरि कहिले जन्मिएला ?
मलाई थाहा छ– प्रदीप दाइले मलाई अतिरिक्त स्नेह गर्नुहुन्थ्यो । तर, मलाई यो पनि त्यत्तिकै थाहा छ कि उहाँसँग नजिक रहेर वैचारिक सहकार्य गरेका सबैलाई यस्तै लाग्छ । अध्ययन र अनुभवको निचोडबाट निस्केको विचार र त्यसलाई अभिव्यक्त गर्न सक्ने विलक्षण प्रतिभाले विराट बनेको प्रदीप दाइको व्यक्तित्वले सम्मोहित नहुने को होला र ? त्यसैको आकर्षणले तानिएर आफ्नो छेउमा आइपुगेको जोकोहीलाई पनि बराबर ज्ञान, प्रेम र प्रोत्साहन बाँडेर उसभित्र ‘म पनि केही हुँ’ भन्ने भावना र अगाडि बढ्ने उत्साह जगाइदिने अद्भुत क्षमता थियो, उहाँमा ।अन्तिम यात्रामा प्रस्थान गर्नु केही दिनअघि उहाँलाई भेट्दा आँखा खोलेर टाउको हल्लाउनुभयो, तर दुनियाँलाई मोहित बनाउने त्यो आवाज भासिइसकेको थियो । संगत गर्ने ‘ठूला’ मान्छेलाई ठाडो अवज्ञा, तर कहिल्यै संगतै नगरेका शोषित र उत्पीडितलाई अथाह प्रेम गर्ने प्रदीप दाइको कमजोर काया जीवन र मृत्युको दोसाँधमा कठोर संघर्ष गरिरहेको देखेर मन विचलित भयो । उहाँलाई खासै विश्वास नभए पनि हजारौं मानिसलाई प्रार्थना र ईश्वरीय चमत्कारको आस थियो र आ–आफ्ना भगवानको स्मरण गर्दै धेरैले हृदयदेखि नै उहाँको जीवनका लागि पुकारा गरेका थिए । जनताको त्यति धेरै आदर र माया पाउने सायद अन्तिम नेता हुनुहुन्छ, प्रदीप दाइ । हुन त कहिले दार्शनिकजस्तो, कहिले फकिरजस्तो सदैव प्रतिपक्षी, सदैव विद्रोही छवि भएका प्रदीप दाइलाई राजनीतिक नेता नै कसले मानेको थियो र ?
करिब डेढ दशकको मस्को बसाइका क्रममा म ‘हिमाल’ खबरपत्रिका, ‘कान्तिपुर’ दैनिक, ‘नेपाल’ पाक्षिक र पछि ‘नयाँ पत्रिका’ मा नियमितजसो लेखिरहन्थेँ । संसारभरिका विप्लवीहरूले सोभियत प्रयोगलाई अत्यधिक रोमान्टिसाइज गर्छन् । त्यसैले मेरो लेखनीको केन्द्रमा मूलतः विश्वभरिका कम्युनिस्ट आन्दोलनलाई थुप्रै भ्रमको आपूर्ति गरेर दशकौंदेखि जनतालाई दिग्भ्रमित गर्ने ऊर्जा प्रदान गरिरहेको सोभियत इतिहास नै थियो । मेरो आफ्नै सोभियतकालीन र पछि रुस बसाइको अनुभव, अध्ययन, रुसी भाषा र साहित्यमा केही पहुँचले लेखनीको सेरोफेरो त्यहीँको इतिहास, साहित्य, संस्कृति र परिवेश हुने नै भयो । म विशेषगरी लेनिनको देवत्वकरण गर्ने प्रवृत्तिको कठोर आलोचना गरेर लेख्थेँ । सोभियत व्यवस्थाको भोगाइले नै हुन सक्छ, ‘पुँजीवादी लोकतन्त्रका स–साना त्रुटिलाई पनि पहाड बनाइदिने, तर अमूर्त सिद्धान्तका नाममा भएका जतिसुकै ठूला अपराधलाई पनि सहजै पचाइदिने’ मार्क्सवादी बौद्धिक परम्परासँग मेरो गम्भीर असहमति छ । बन्दुकको बलमा सत्ताको कब्जा र निरन्तर बन्दुकै तेर्स्याएर ‘नयाँ असल मान्छे’ बनाउने क्रान्तिकारी रोमाञ्चकता त झन् अमानवीय र अनैतिक लाग्छ ।
लेनिनका प्रशंसक मात्र होइन, उनीबारे पुस्तक नै लेखेका र सबै पत्रपत्रिकाको नियमित अध्ययन गर्ने आदत भएका प्रदीप गिरिका नजरमा ती लेखहरू परिहाले । लेखपढ गर्ने रुचि भएको अध्ययनशील युवाहरूको संगत गर्न मन पराउने प्रदीप दाइले ‘सोभियत इतिहासका बारेमा यसरी लेख्ने यो केटो को हो ?’ भन्ने कौतूहलवश मेरो खोजी गर्नुभयो । यसरी बौद्धिक जिज्ञासाले जुराएको हाम्रो सम्बन्ध चाँडै नै घनिष्ठ भयो र हामीबीचको विमर्श झन्झन् घनीभूत हुँदै गयो । उहाँको भ्रातृत्वपूर्ण सद्भाव र सैद्धान्तिक बहसलाई प्रोत्साहित गर्ने उदार स्वभावका कारण निःसंकोच आफ्ना भावना व्यक्त गर्न न मलाई अप्ठ्यारो थियो, न त अवसरको कमी नै । यद्यपि समाजवादप्रति उहाँको अटल आस्था र विलक्षण ज्ञानको बौद्धिक प्रकाशमा आफ्नो अध्ययन र सूचनाको सीमितताले भने मलाई सधैं असहज बनाउँथ्यो ।
उहाँ मूलतः क्रान्तिकारी विश्वदृष्टि भएको असल मानिस हुनुहुन्थ्यो । त्यसैले हरेक क्रान्ति, विप्लव र विद्रोहलाई उहाँ सहानुभूतिपूर्वक हेर्नुहुन्थ्यो, अनुचित नै लाग्ने गरी तिनलाई शंकाको सुविधा दिनुहुन्थ्यो । संसारको व्याख्या होइन, त्यसलाई बदल्ने कार्ल मार्क्सको महत्त्वाकांक्षी आह्वानले उहाँ अत्यधिक प्रभावित हुनुहुन्थ्यो कि जस्तो लाग्छ । त्यसैले नै होला फ्रान्सेली क्रान्ति, रुसी अक्टोबर विप्लव मात्र होइन, हाम्रै घरेलु माओवादी आन्दोलनलाई हेर्ने उहाँको दृष्टिकोण पनि निकै उदार थियो । म त्यसको तीव्र प्रतिवाद गर्थें । लेनिनले मार्क्सवादलाई कसरी आफूअनुकूल प्रयोग गरे र कसरी मार्क्सवाद क्रमशः मार्क्सवाद–लेनिनवाद हुँदै सहजै संसारभरिका क्रूर तानाशाहहरूको हातमा पुगेर लाखौं मान्छेको नरसंहार गर्ने भयंकर हतियार बन्यो भनेर तर्क गर्थें । उहाँ भने सोभियत शासनमा भएको गरिबी निवारण, बेरोजगारी समस्याको समाधान, स्वास्थ्य र शिक्षामा आम जनताको पहुँच आदिबाट लोकतान्त्रिक सरकारले लिन सक्ने शिक्षामा जोड दिनुहुन्थ्यो । म सोभियत तथ्याङ्क र साधारण जनताको जीवनका बीचमा रहेको खाडल र लोकतान्त्रिक अधिकारविहीन समाजका त्रासदीबारे बताउँदै प्रतितर्क गर्थें । उहाँ भने क्रान्तिका विभिन्न चरणमा हुन सक्ने कमीकमजोरी ठानेर तिनलाई शंकाको सुविधा दिनुहुन्थ्यो । स्तालिनको सत्ताले गरेको अमानवीय दमनका विषयमा मात्र हाम्रा कुरा मिल्थे । त्यहाँनेर फेरि उहाँभित्रको हिंसाविरोधी गान्धीवाद जीवन्त हुन्थ्यो । प्रदीप दाइ जीवनपर्यन्त यो वैचारिक दुविधामा बाँच्नुभयो । उहाँका विचारमा घरी गान्धी आउँथे र घरी मार्क्स आउँथे । त्यो ऊहापोहमा अहिंसाको माध्यमबाट न्यायपूर्ण आदर्श समाजको निर्माण गर्ने उहाँको आकांक्षा प्रतिविम्बित भएझैं लाग्थ्यो । यो सायद साध्य मात्र होइन, साधन पनि उत्तिकै पवित्र हुनुपर्छ भन्ने गान्धीवादी दर्शनको प्रभाव थियो । जीवनको उत्तरार्द्धमा शास्त्रीय मार्क्सवादले सम्बोधन गर्न नसकेको हाम्रो समाजका कतिपय अन्तर्विरोधलाई उहाँ गान्धीका माध्यमबाट विश्लेषण गर्ने प्रयास गरिरहनुभएको हो कि जस्तो लाग्थ्यो । कम से कम मैले उहाँलाई त्यसरी बुझेँ र सधैं पुस्तक नै लेखेर बहस चलाउन अनुरोध गरिरहेँ । त्यो पुस्तक नलेखिए पनि उहाँका असंख्य लेखको संग्रहमा अध्ययन, अनुसन्धान गरेर भावी पुस्ताले अवश्य उहाँको दार्शनिक मूल्याङ्कन गर्नेछ ।
जस्तोसुकै लोकतान्त्रिक जलप लगाए पनि मार्क्सवाद–लेनिनवादसँग अविच्छिन्न बन्धनमा बाँधिएको ‘समाजवाद’ ले घोषित समुन्नत समाजको निर्माण होइन, समाजलाई उल्टो हिंसा–प्रतिहिंसा र दमनको चक्रमा फसाउँछ भन्ने आफ्ना अनुभवजन्य संशयलाई म दोहोर्याइरहन्थें । उता प्रदीप दाइ भने समर्पित समाजवादी चिन्तक । तर, आफूलाई चित्त नबुझे पनि उहाँले मलाई हरदम लेखिरहन प्रेरित गर्नुभयो । साँचो अर्थमा बहुलवादी समाजका पक्षधर प्रदीप गिरिको गहिरो मान्यता थियो– स्वतन्त्रता, अहिंसा, लोकतन्त्र र वैचारिक विविधताबिनाको समाजवाद औचित्यहीन हुन्छ । ‘त्यसोभए त्यसलाई किन घरीघरी मार्क्सलाई सम्झाउने समाजवाद भनिराख्नुपर्यो, अरू नै वैकल्पिक नाम खोजौं’ भन्ने मेरो सुझावलाई उहाँ केटौले हठ ठानेर हावामा उडाउनुहुन्थ्यो ।
इन्जिनियरिङको विद्यार्थी भएकाले दार्शनिक ज्ञानका मेरा आफ्नै सीमा छन् भन्ने प्रदीप दाइले बुझिहाल्नुभयो । त्यसैले सायद आफ्ना धारणाको सैद्धान्तिक आधार भेट्टाउन सकोस् भनेर करुणावश उहाँले मलाई धेरै विचारहरूसँग परिचय गराउन थाल्नुभयो । तीमध्ये भारतीय विचारक जयप्रकाश नारायण विशेष उल्लेखनीय छन् । त्यतिबेलासम्म मैले जेपीका बारेमा ‘दिनमान’ लगायत भारतीय पत्रपत्रिकामा आएका अखबारी लेखनबाहेक गम्भीरतापूर्वक पढेको थिइनँ । मार्क्सवाद, समाजवाद र प्रचलित संसदीय लोकतन्त्रकै मान्यताप्रति गहिरो मोहभंग भएर समतामूलक समाजको खोजीमा स्वशासित ग्रामीण सत्ताको गान्धीवादी गोरेटो पहिल्याउँदै हिँडेका जयप्रकाश नारायणले मेरो अन्तरकुन्तरमा रहेको समाजवादको रहलपहललाई पनि धोइपखाली गरिदिए । सबै मानिस सुखी र खुसी हुने आदर्श समाजको निर्माण गर्न पुँजीवाद र शास्त्रीय समाजवादकै वैचारिक द्वन्द्वमा फसिरहनु नपर्ने मेरो मान्यतालाई जेपीले सहभागी लोकतन्त्रको सैद्धान्तिक आधार दिए, हिँड्ने बाटो थोरै स्पष्ट भएजस्तै भयो । मैले हाँस्दै प्रदीप गिरिलाई सुनाएँ, ‘दाइ, म त अझै कम समाजवादी पो भएँ ।’ मानौं मेरो अज्ञानतामा हैरान भएझैं उहाँ मुसुक्क मुस्कुराउनु मात्र भयो । समाजवादी दर्शनमा विश्वभरि कसरी क्रमशः रूपान्तरण भइरहेको छ, आजको समाजवाद हिजोभन्दा कति भिन्न छ भन्ने बुझाउन उहाँले मलाई बेलायती समाजवादी चिन्तक एन्थनी क्रसल्यान्डको किताब ‘द फ्युचर अफ सोसलिजम’ पढ्ने सुझाव दिनुभयो, जसले त्यहाँको लेबर पार्टीको दृष्टिकोणमै आमूल परिवर्तन ल्याइदिएको थियो । मैले हाम्रै कम्युनिस्ट पार्टीहरूको पनि त्यसरी नै कायापलट हुँदै गएकाले कांग्रेसलाई बीपीको ‘समाजवाद’ तिनको भन्दा पृथक् हो भन्ने बुझाउन अझ गाह्रो हुँदै जाने जिकिर गरेँ । तसर्थ, कांग्रेसजस्ता लोकतान्त्रिक शक्तिले अन्ततः उदार लोककल्याणकारी वैकल्पिक सिद्धान्तको खोजी नगरी नहुने परिस्थिति सृजना भइसकेको मेरो बहसमा उहाँ सहमत नै देखिनुहुन्थ्यो । तर, त्यो वैचारिक पुनर्व्याख्याको दायित्व अब पार्टीको युवा पुस्ताले लिनुपर्ने उहाँको आग्रह थियो ।
युवा पुस्ताले पार्टीको वैचारिक जागरणको अभियान चलाउने त हो, तर ती युवालाई त्यो गहन जिम्मेवारीका लागि प्रदीप गिरि स्वयंले उत्प्रेरित नगरे अरू कसले गर्ने ? यो तिखो प्रश्नलाई मैले सार्वजनिक ढंगले उठाउने निर्णय गरेर ‘नयाँ पत्रिका’ मा ‘प्रदीप दाइ, विकल्प छ’ शीर्षकको एउटा खुला पत्र लेखेँ । कांग्रेस पार्टीमा आबद्ध युवाहरू ‘हद निराशा र किंकर्तव्यविमूढता, दिशाहीनता र व्यामोहबाट गुज्रेर शनैःशनैः आत्मघातको बाटोमा लाग्न सक्ने’ उदास मनोदशाको मार्मिक चित्रण गर्दै उहाँले जेलबाट करिव पाँच दशकअघि भीमबहादुर तामाङ दाइलाई ती युवालाई संगठित गरेर वैचारिक जागरण दिन गम्भीर अपिल गर्दै एउटा पत्र लेख्नुभएको रहेछ । मैले त्यसैलाई आफ्नो खुला पत्रको आधार बनाएर अनुरोध गरेँ, ‘आज फेरि कांग्रेस पार्टीमा आबद्ध युवाहरू त्यसरी नै निराशा र अकर्मण्यताको सिकार भएका छन्... विगतमा गिरिजाप्रसाद कोइरालाको अहंकार, महत्त्वाकांक्षा र अन्यायका विरुद्ध भिड्दै गर्दाका बखत एउटा छुट्टै समूहको निर्माण गर्नु न्यायोचित राजनीतिक लडाइँ थियो । तर, कालान्तरमा उद्देश्यच्युत भएर थुप्रै विकृतिको जननी बनेको त्यो आन्दोलन नै पार्टीमा स्थायी गुटहरू ठड्याउने कारक बनेर धमिराजस्तो पार्टीलाई खाइरहेको छ । पार्टीको त्यस्तो दयनीय अवस्थामा आफ्ना सारा प्रतिभा, ममता र प्रज्ञालाई कतै केन्द्रित नगरी कम्तीमा अब त तपाईं गुटगत राजनीतिको गौणताबाट माथि उठेर सबैको अभिभावक नेता हुनुपर्ने होइन र ?’ मैले अझ थपेर लेखेँ, ‘कांग्रेसले हिँड्ने अबको बाटो पहिल्याउन वैचारिक पुनर्जागरण र पुनर्चिन्तनको महाअभियानको खाँचो छ । के तपाईं सबैका प्रति न्याय र समभावका साथ पार्टीलाई समेट्दै त्यो महान् अभियानको नेतृत्व गर्ने सर्वमान्य नेता बन्न सक्नुहुन्छ ?’ निश्चय नै त्यो प्रश्न चुनौतीपूर्ण थियो, तर कांग्रेसजनका सर्वमान्य नायक बीपीलाई समेत असहज प्रश्न गर्ने साहस र प्रतिभा भएको प्रदीप गिरि स्वयं प्रश्नहरूबाट भाग्ने कुरै थिएन । त्यो लेख छापिनुअघि नै पढेर सुनाउन खोजेको थिएँ, तर उहाँले सुन्न मान्नुभएन । भन्नुभयो, ‘नैतिक रूपले त्यसो गर्न मिल्दैन, तपाईंलाई म अखबारबाटै उत्तर दिउँला ।’ केही समयपछि हाँस्दै बताउनुभयो, ‘तपाईंलाई उत्तर दिँदादिँदै सात हजार शब्द पो लेखिसकेछु । यसलाई अब कता छाप्ने ?’ मैले त्यसलाई सानो पुस्तिकाको रूप दिएर गाउँ–गाउँका कांग्रेसजनमाझ वितरण गर्दै वैचारिक पुनर्जागरणको सुरुआत गर्न आग्रह गरेँ । उहाँ सहमत हुनुहुन्थ्यो, तर त्यसपछि बिस्तारै उहाँको स्वास्थ्य खस्किँदै गयो, त्यो काम गर्न सकिएन । यद्यपि त्यो लेख कुनै कम्प्युटरमा बाँचेको भए एक दिन छापिने विश्वास छ ।
मैले त्यही पत्रमा ‘बीपीसम्बन्धी थुप्रै पुस्तकको सम्पादन र संकलन गरेर अतुलनीय योगदान गरे पनि समकालीन नेपालका लागि सान्दर्भिक प्रदीप गिरिका विचारहरूको संगालोबाट कांग्रेसजन कहिल्यै लाभान्वित हुन पाएनन्’ भन्ने असन्तोष जनाउँदै आफ्नो अपार सम्भावनाको यसरी अपव्यय नगर्न अनुनय नै गरेको थिएँ । स्वयं पात्र बनेर आफूले देखेको र भोगेको कांग्रेसको इतिहास अर्थात् कांग्रेस पार्टीको इतिहाससँग एकाकार भएर आफ्नो ‘आत्मकथा’ लेख्ने मेरो सल्लाहलाई उहाँले सहर्ष स्विकार्नुभयो । तत्काल प्रकाशक ‘फाइन प्रिन्ट’ सँग सम्झौता पनि भयो । आफूले सधैं गर्न चाहेको, तर समय र परिस्थितिले हुन नदिएको महत्त्वपूर्ण कर्म आरम्भ भएकोमा उहाँ निकै उत्साहित देखिनुहुन्थ्यो । त्यसको करिब एक महिनापछि नै मलाई बोलाएर आफ्नो बाल्यावस्थाको सेरोफेरोमा आधारित पहिलो अध्याय पनि पढेर सुनाउनुभयो । दाइले यति चाँडै पुस्तक लेख्न थालिहाल्नुहोला भन्ने मैले कल्पना गरेको थिइनँ । म खुसी त भएँ, तर फेरि किताबलाई आफ्नै आत्मकथा नबनाउन सचेत पनि गरेँ किनकि प्रदीप दाइले आत्मकथा लेख्न सक्नुहुन्न भन्ने मलाई थाहा थियो । रत्तीभर आत्मश्लाघा नभएको र अप्रिय वचनले भरसक अरूको चित्त दुखाउन नचाहने दयाभावले भरिएको मानिसले कस्तो आत्मकथा लेख्नु ? त्यसैले मैले उहाँलाई कांग्रेस पार्टीमा आफूले खेलेको भूमिका र उहाँसँगै पार्टी कसरी वयस्क हुँदै गयो, त्यसैमा मात्र लेखनीलाई केन्द्रित गर्न आग्रह गरिरहेँ ।
वर्ष दिन पनि नपुग्दै करिब नब्बे हजार शब्द लेखिइसकेको सुनेर म आश्चर्यमिश्रित खुसीले स्तब्ध भएँ । तर, त्यो अझै खेस्रा नै रहेकाले मलाई देखाउन मान्नुभएन । त्यसको केही समयपछि फेरि बोलाउनुभयो र निराश पार्दै भन्नुभयो, ‘जुगलजी, म पैंतीस–छत्तीस सालसम्म पुगेँ । तर, मैले जे लेखेको छु, त्यो मलाई मन परेन । पूरै पुनर्लेखन नगरी तपाईंलाई समेत देखाउन मलाई मन छैन ।’ आखिर मैले जे सोचेको थिएँ, त्यही नै भयो होला । म अनुमान गर्न सक्छु– उहाँको लेखाइ क्रमशः आत्मकथातिर ढल्किँदै गयो । उहाँलाई आफ्नो धेरै नै बढाइचढाइ गरेँ कि भन्ने संकोच भयो होला । अथवा जीवित पात्रहरूका बारेमा लेख्नैपर्ने कुरा लेखिहाल्न मन नलागेको पनि हुन सक्छ । कारण जे भए पनि उहाँले करिब नब्बे हजार शब्दको खेस्रालाई रद्दीको टोकरीमा फालेर फेरि नयाँ ढंगले लेख्ने जुन निर्णय गर्नुभयो, त्यसको सम्मान गर्दै मैले पुनः एकचोटि पार्टीको इतिहासमा केन्द्रित रहँदा सहज हुने सुझाव दिएँ । उहाँले कहिले काठमाडौं र लहानमा, कहिले दिल्लीमा त्यसको पुनर्लेखन गरेको मलाई सुनाए पनि अझै देखाउनुभएको थिएन । उहाँका स्वकीय सचिव कृष्ण खनाल भाइबाट थाहा पनि भयो– खेस्राको आकार बढेर करिब एक लाख बीस हजार शब्द पुगेछ । मैले कुनै व्यावसायिक सम्पादकसँग सल्लाह गरौं न त भन्दा पनि अझै पढ्न मिल्ने गरी तयार भएको छैन भनेर टारिरहनुभयो र त्यो पुस्तक त्यत्तिकै कतै अड्कियो । पछिल्लो समय उहाँले प्रायः दोहोर्याइरहने महाभारतका पात्रहरूका बारेमा ‘सेतोपाटी’ मा सुन्दर लेखहरू आउन सुरु भएको थियो । त्यसलाई पनि निरन्तरता दिँदै एउटा संकलित पुस्तकको आकार दिने योजना थियो । तर, हठात् त्यसको प्रकाशन पनि रोकियो । बीपीको व्यक्तित्वमा आधारित एउटा उपन्यास लेख्ने पनि उहाँको सोच थियो । तर, शरीर कमजोर हुँदै गएपछि बौद्धिक कर्म पनि बोझिलो र झन्झटिलो हुँदै गएको बुझ्न सकिन्छ । उहाँको बिग्रँदो स्वास्थ्यका कारण यी महत्त्वपूर्ण कामहरू त्यत्तिकै थाती रहेकोमा मलाई ठूलो थकथकी छ ।
प्रदीप गिरिको स्वभाव र दृष्टिकोणसँग अनभिज्ञ केही मानिस उहाँले कुनै कार्यकारी पद पाउन नसकेको र गफ गर्ने कर्म मात्र गरिरहेको भनेर आलोचना गर्छन् । आफ्नो दोस्रो कार्यकालमा कृष्णप्रसाद भट्टराईले सिरहामै गएर उहाँलाई परराष्ट्रमन्त्री बनाउने सार्वजनिक घोषणा गर्नुभएको थियो । चुनाव जित्नुभएको भए किसुनजीजस्ता आफ्ना अत्यन्त प्रिय अग्रजको आदेशलाई अस्वीकार गर्न सायद उहाँलाई गाह्रो हुन्थ्यो, तर २०५६ को निर्वाचनमा सिरहाबाट उहाँ पराजित हुनुभयो । प्रदीप दाइले त्यस दिन भन्नुभएछ, ‘भगवानले मलाई मन्त्री हुनबाट बचाए !’ पछि राष्ट्रिय सभामा ल्याएर पनि मन्त्री बनाउने किसुनजीको सदाशयतालाई उहाँले विनम्रतापूर्वक अस्वीकार गरेको थाहा भयो । उहाँले कहिल्यै कुनै पदका लागि प्रयत्न गरेको थाहा छैन । रहर र प्रयास गरेको भए प्रदीप गिरिलाई कसले मन्त्री बनाउँदैन थियो होला ? तर, दर्शन, साहित्य, कला, संगीतजस्ता बहुआयामिक क्षेत्रमा गहिरो रुचि, ज्ञान र त्यो ज्ञानलाई बाँड्ने हुटहुटी भएका प्रदीप गिरि स्वच्छन्द विचरण गर्ने पन्छी हुनुहुन्थ्यो, उहाँलाई कुनै किसिमको बन्धन स्वीकार्य थिएन ।
सायद शेरबहादुर देउवाको कुनै एउटा कार्यकालमा हुनुपर्छ, मन्त्रिमण्डल गठन हुँदै गर्दाको एक साँझ म उहाँसँगै बात मारिरहेको थिएँ, मोबाइलको घण्टी बज्यो । उताबाट कसले के भन्यो थाहा छैन, तर जवाफमा ‘जहिले पनि त्यही कुरा दोहोर्याएर किन दिक्क लगाएको, आजसम्म पनि तपाईंले मलाई बुझ्न सक्नुभएन’ भन्दै प्रदीप दाइ निकै कडा स्वरमा झर्किनुभयो । मलाई अचम्म लागेर सोधेँ, ‘कोसँग यसरी रिसाउनुभएको ?’ उहाँका काका पूर्वप्रधानमन्त्री तुलसी गिरिले ‘मन्त्रिमण्डल गठन हुँदै छ किन मन्त्री हुने प्रयास नगरेको ?’ भनेर सोध्नुभएको रहेछ । मैले पनि ठट्टा गर्दै भनेँ, ‘राजनीतिक नेतालाई त्यस्तो सल्लाह दिनु ठीकै त हो नि, त्यसमा किन रिसाउनु ?’ उहाँले व्यंग्यात्मक हाँसो हाँस्दै जवाफ फर्काउनुभयो, ‘जुगलजी, कुनै दिन उथलपुथल भएर युनाइटेड स्टेट्स अफ साउथ एसिया भएछ भने त्यसको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हौंला, तपाईंलाई पनि मन्त्री बनाउँला । अब त खुसी हुनुभयो ?’ मैले चिनेका प्रदीप दाइमा कुनै राजकीय पदको अभिलाषा थिएन, तर आफ्नो बौद्धिक सत्ताको अथाह शक्ति उहाँलाई थाहा थियो । त्यसको भरपूर उपभोग गरेर दाइले आफ्नो सर्तमा कसैसँग कुनै सम्झौता नगरी एउटा लोभलाग्दो जीवन बिताएर जानुभयो । त्यो जीवन कति सार्थक र अर्थपूर्ण थियो हामीले आर्यघाटमा देखिहाल्यौं ।
नेपाली कांग्रेस पार्टीको गत महाधिवेशनका क्रममा प्रदीप दाइ मुम्बईमा उपचाररत हुनुहुन्थ्यो । महाधिवेशनको केही दिनअघि उहाँले फोन गर्नुभयो । उहाँलाई सायद अब धेरै बाँचिन्न भन्ने थाहा थियो । क्यान्सरको उपचारले स्वर मलीन भइसके पनि भावना निकै दृढ रहेछ । मलाई सल्लाह दिँदै भन्नुभयो, ‘रोगले मलाई यो महाधिवेशनमा सहभागी हुन दिएन । गगन, विश्वप्रकाशजस्ता युवा साथीहरूलाई जिताएर पार्टीमा परिवर्तनका लागि तपाईंहरूले जुन प्रयत्न गरिरहनुभएको छ, त्यो सही छ । पार्टी बिग्रिएको छ, त्यसलाई ठीक बाटोमा फर्काउने यो अवसरलाई खेर नफाल्ने मेरो आग्रह र शुभकामना सबै साथीहरूलाई सुनाइदिनुहोला ।’ उहाँलाई केही समयदेखि आफूसमेतको संलग्नतामा दुई दशकअघि कांग्रेस पार्टीमा गिरिजाप्रसादको निरंकुश सत्ताविरुद्ध गरिएको राजनीतिक प्रयोगले स्थापित गराएको आफ्नै साथीहरूको नयाँ सत्ता औचित्यहीन मात्र होइन, झन् पथभ्रष्ट भइसकेको बोध थियो । पार्टीको महाधिवेशनले त्यसलाई भत्काओस् भनेर धेरै कांग्रेसजन सहकार्य गरिरहेका थिए, नयाँ सम्बन्धहरू बन्ने र पुराना ढल्ने क्रम जारी थियो । क्रान्ति र आमूल परिवर्तनका हिमायती प्रदीप गिरिलाई त्यस्तो निर्णायक क्षणमा आफूचाहिँ सुदूर देशको अस्पतालको शय्यामा सीमित हुनुपर्दा कति पीडा भयो होला ? त्यो उदासीलाई मैले उहाँको आवाजमा महसुस गरेँ । यता महाधिवेशनमा परिवर्तनको एजेन्डामा लडेकाहरूलाई पनि प्रदीप दाइको अनुपस्थिति बेस्सरी खट्कियो ।
बौद्धिक विमर्शलाई उपेक्षा गर्ने मात्र होइन, उपयोगीसमेत नठान्ने आजको राजनीतिक परिवेशमा आफूलाई पच्छ्याउँदै आइरहने सारा पद र प्रतिष्ठालाई लत्याएर निरन्तर ज्ञानको खोजीमा भौंतारिइरहने प्रदीप गिरिको अवसान मुलुकका लागि वास्तवमै एउटा अपूरणीय क्षति हो । विनयशीलता, ज्ञान र कथावाचनको त्यस्तो अद्भुत संगम भएको मान्छे फेरि कहिले जन्मिएला ? मलाई थाहा छ, ‘जुगलजी कहाँ हुनुहुन्छ, एक छिन आउनुस् त एउटा छलफल गरौं’ भनेर अब फेरि कहिल्यै उहाँको फोन आउनेछैन । तर, संसारलाई अलि बढी बुझोस् भनेर उहाँले स्नेहवश मलाई छाडेर गएका आफ्ना असंख्य पुस्तकका पानामा कैद उहाँको न्यानो स्पर्शको सुवासले प्रदीप दाइ यहीँ कहीँ मेरै छेउमा हुनुहुन्छ भन्ने आभास दिलाइरहनेछ ।
(कान्तिपुर कोशेली, भाद्र ११, २०७९ । २७ अगष्ट, २०२२)