Monday, February 2, 2026

नेपाली कांग्रेसका साथीहरूलाई विद्रोहको आह्वान !


म नेपाली कांग्रेस पार्टीको क्रियाशील राजनीतिमा छैन। तर लोकतान्त्रिक आन्दोलनमा समर्पित परिवारको सदस्य हुनुको नाताले यो पार्टीसँग मेरो भावनात्मक सम्बन्धको लामो इतिहास छ।

२००४ सालमा शिक्षा सुधारका लागि गरिएको 'जयतु संस्कृतम्' आन्दोलनमा भाग लिएका कारण श्रीभद्र शर्मा, राजेश्वर देवकोटा लगायतसँगै मेरा स्वर्गीय पिताजी रामप्रसाद भुर्तेललाई सजाय स्वरूप काठमाडौंबाट 'डाँडा कटाइएको' थियो। त्यसपछि उहाँले वनारस पुगेर आन्दोलनलाई निरन्तरता दिनुभएको थियो।

२०२‍८ सालतिर व्यवस्थाको सामान्य विरोधको अभियोगमा काका दिव्य भुर्तेलले तीन वर्ष र स्वर्गीय दाइ शिव भुर्तेलले एक वर्ष जेलमा बिताउनुपरेको थियो। 

२०३५–०३६ सालको सेरोफेरोमा बलबहादुर केसी, विमलेन्द्र निधि, मीनेन्द्र रिजाल, दिलबहादुर घर्ती, पूर्णबहादुर खड्का लगायत सहकर्मी युवालाई बागडोर हस्तान्तरण गर्दै नेबिसंघको राजनीतिबाट शेरबहादुर देउवाले बिदा लिँदै गर्दा शिव दाइ संघको महामन्त्री हुनुहुन्थ्यो।

यो विगतको सम्झना कांग्रेसका लागि जीवन अर्पण गर्नुभएका तपाईंहरूजस्ता निष्ठावान् साथीहरूमाझ आफ्नो योग्यता प्रमाणित गर्न नभएर कांग्रेसप्रति मेरो मनमा पनि उत्तिकै स्नेह, सहानुभूति र चासो छ भन्ने बुझाउन मात्र हो।

पथभ्रष्ट भएर स्थापनाकालीन सपना बिर्सिएको पार्टीको नेतृत्व र संगठनमा आमूल परिवर्तन नभए देश संकटमा फस्ने लक्षण देखिइसक्दा पनि भागबण्डाका लागि दलभित्र स्थापित नेता, गुट, समूहमा विभाजन मेटिएन भने इतिहासले हामीलाई माफ गर्ने छैन।

यही चिन्ताले म यसरी सोझो संवाद गर्न हतारिएको हुँ।

 मुलुकको राजनीतिमा सभापति शेरबहादुर देउवाको उत्थान र पतनको कथा जगजाहेर छ।

सत्ता, शक्ति र वैभवबाट टाढा काठमाडौंको अभाव पुलिस, प्रशासनको प्रताडना, जेलजीवन आदिले भरिएको संघर्षपूर्ण विद्यार्थीकालमा उनको मनमा समाज बदल्ने आँट बाहेक अरू केही थिएन। दरबारका लागि ती 'अराष्ट्रिय तत्व' भए पनि समाजमा आदरणीय थिए।

 पञ्चायती व्यवस्थाको अवसानपछि भने उनमा आश्चर्यजनक परिवर्तन आयो। उनको यो परिवर्तनले 'मुक्त भएको दासले मालिककै नक्कल गर्छ' भन्ने दर्शन पुनः प्रमाणित गरिदियो। चरम सत्ता र द्रव्यमोहले बदलिएका देउवासँगै कांग्रेसको लोकतान्त्रिक चरित्र पनि ह्रास हुँदै पार्टीमा 'सत्ताबाहेक अरू सबै भ्रम' ठान्ने प्रवृत्ति हावी भयो। 

गत भदौ २४ गते सांघातिक आक्रमणमा परेर रक्ताम्य लडेका वयोवृद्ध देउवाको कारूणिक तस्बिर देख्दा मैले गणबहालको गल्लीमा लखरलखर हिँड्दा पनि सम्मान पाउने त्यो 'समाज बदल्न हिँडेको' जोसिलो युवकका बरालिएका पाइलाहरू सम्झिँदै गएँ।

मन्दिर धाएजस्तो एकबिहानै 'प्रभावशाली' दाइहरूलाई 'जय नेपाल टक्र्याउन', आशीर्वाद थाप्न घरघर पुग्ने, अहोरात्र सामाजिक सञ्जालमा विरूदावली गाउने अवसरवादीहरू अहिले गायब छन्।

त्यो संस्कृतिबाट टाढा, देशैभरि छरिएर पार्टीका लागि यथाशक्य दिने तपाईंहरूजस्ता बफादार कांग्रेसजनलाई त्यो दिन देउवाको वृद्ध शरीरसँगै कांग्रेस पनि ढलेको अनुभूतिले व्याकुल बनाएको हुनुपर्छ।

दशकौंदेखि जीवनलाई एक सुरमा हिँडाइरहेको दलीय परम्परा र एउटा अज्ञात सम्भावना बोकेर हठात छोप्न आइपुगेको नौलो यथार्थले तपाईंहरूको हृदयमा स्वाभाविक द्वन्द्व सिर्जना गरेको बुझ्न सकिन्छ।

तर नेपाली युवा र समग्र समाजभित्र विष्फोट भइरहेको आक्रोश र अनिश्चितताले देशकै भविष्य संकटमा परेका बेला तपाईंहरूलाई अनिर्णयको बन्दी बन्ने सुविधा छैन। त्यसैले यो व्याकुल भएर अलमलिने समय होइन। भदौ २३ गते कांग्रेस समेत संलग्न सरकारको गोलीले ढालिएका कलिला भाइबहिनीको बलिदान स्मरण गर्दै देशलाई पार्टीभन्दा धेरै माथि राखेर संकल्प गर्ने बेला हो।

यो पृष्ठभूमिमा आगामी असोज २६ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। त्यसले लिने निर्णयले मुलुक, पार्टी र स्वयं तपाईंहरूकै राजनीतिक भविष्य निर्धारण गर्नेछ। त्यसैले यस पटक केन्द्रमा नेताहरूले निर्णय लिँदै गर्दा सदाझैं हेपेर आम कार्यकर्ताका धारणा उपेक्षा गर्ने दुस्साहस गरे भने सुदूर क्षितिजमा देखिएको उज्यालो फेरि मुस्लो बन्नबाट कसैले रोक्न सक्दैन।

अहिले मुलुक असाध्यै ठूलो विद्रोह र हिंसाको चरणबाट गुज्रिएर परिवर्तनको सँघारमा उभिएको छ। क्षितिजमा देखिएको त्यो उज्यालो हाम्रो सुनौलो भविष्यको सूर्योदय हो। यो सुनिश्चित गर्न तपाईंहरूले अब विधानप्रदत्त अधिकारको ब्रह्मास्त्र चलाउनुपर्छ। यावत विकृतिले मक्किएको पार्टीसत्ता अब ढल्नैपर्छ।

दुई दिनको आन्दोलनले कांग्रेस लगायत सबै दल र तिनका नेतृत्वलाई एकै पटक अस्वीकार गरिदिएको छ। हामीले गुमाएको समय सम्झिए मात्र पनि त्यसको कारण पत्ता लाग्छ।

सोचौं त, राणा शासनको पतन हुँदा जनताको जुन अपेक्षा थियो, आजका युवाको अपेक्षा पनि ठ्याक्कै त्यही नै छ — देशले एउटा लय समात्यो भने हाम्रो जीवनमा पनि गतिशीलता आउँछ। हामी अगाडि बढ्छौं। 

तर हरेक परिवर्तनले जति ठूलो आशा जगायो, उति ठूलो निराशाको खाडल खनेर गएको छ। महाराजा होस् कि विप्लवी, नेता होओस् कि प्रशासक, मुलुक हाँक्छौं भनेर ड्राइभिङ सिटमा बसेका मानिसको लालच, ढंग र आचरणका कारण देश एउटा अन्तहीन गोलचक्करमा फसेको छ।

सकिनसकी फेरि प्रधानमन्त्री बन्न ठेलमठेल गरिरहेका वृद्ध पूर्वप्रधानमन्त्रीहरूको ताँती हामीले सहेको धेरै भइसक्यो। तर अहिले अभिभावकले झैं 'अब युवालाई अगाडि  बढाऔं' भन्नुपर्ने राष्ट्रपति, उपराष्ट्रपतिजस्तो सर्वोच्च पदमा पुगिसकेका मानिसहरू समेत महत्वाकांक्षा बोकेर मैदानमै भिड्न आएका छन्। नेतृत्वको यस्तो अमर्यादित लिप्साले यो व्यवस्थाप्रति अनास्था जगाउँदैन र?

केपी ओली–देउवा–प्रचण्ड (पुष्पकमल दाहाल) को साँठगाँठमा फसेको नेपाली राजनीतिले तिनमा अपराजेयताको भ्रम सिर्जना गरिदिएको थियो। आफ्नो निर्विकल्पताको मातले ग्रस्त 'शीर्ष' नेताहरू न आफ्ना देशका नागरिकलाई नक्कली शरणार्थी बनाएर अन्य देश पठाउन हिचकिचाए, न त्यसरी शरणार्थी भएर जान तयार निरीह र विकल्पहीन मान्छे बनाएको तिनमा आत्मग्लानी छ।

ठगहरू मसिहा बनेर उदाएका छन्। सर्वहाराको गीत गाउनेहरूको त झन् के कुरा गर्नु! उनीहरूको पाखण्ड थाहा थियो, तर यति दुर्गन्ध फैलाऊलान् भनेर कसले सोचेको थियो!

यो तहको स्खलित मूल्य–मान्यताको झोला बोकेर जब तिनै मानिस विकास र समृद्धिका झुटा सपना बाँड्दै भोट माग्न नमस्कार गर्छन्, तिनको निर्लज्ज आँटले एउटा तन्नेरीको मनमा घृणा र गहिरो वितृष्णा जगाउने रहेछ।

यसरी निरन्तर एउटै चक्रपथमा कछुवा गतिमा घिस्रिरहेको देशमा अनन्त उडान भर्ने चाहना भएको युवा अडिन्छ र?

हाम्रा सन्तानलाई देश छाड्ने हतार छ र हाम्रो विडम्बना — उनीहरूलाई 'नजाओ, यहीँ सब ठीक हुन्छ' भनेर रोक्ने आधार पनि छैन।

यद्यपि, सुनौलो भविष्यको खोजीमा विदेशिने विकल्प पनि क्रमशः साँघुरिँदै छ। पपुलिजमको आँधीले संसार बदलिएको छ। जेनोफोबिया, मानवताबिरोधी हिंसा र ठूलो युद्धको सम्भावना झन् बढेर गएको छ। संसारका कुनै पनि विकसित देशलाई अब 'बाहिरका मानिस' चाहिएको छैन। त्यसैले गए नै भने पनि विदेशमा अब हाम्रा छोराछोरीहरू निरापद छैनन्, न तिनको जीविकोपार्जन पहिले झैं सहज हुनेछ।

आँखा अगाडि यस्तो विकल्पहीन भविष्यको दृष्य देखिरहेको युवालाई आशा जगाउन कांग्रेसले भन्यो, 'एमालेसँग गठबन्धन गरेर हामी संविधान परिवर्तन गर्छौं, सब ठीक हुन्छ।' 

त्यो दिशामा कांग्रेसले एउटा सिन्को भाँचेन। तर देउवालाई छैटौं पटक प्रधानमन्त्री बनाउने 'उद्देश्य' मा तलमाथि नहोस् भन्ने हेतुले, ओलीको दम्भी शासनका हरेक कृत्यको ढाकछोप मात्र होइन, स्वामित्व नै लिँदै गयो।

केन्द्रीय वा कार्यसम्पादन समिति लगायत औपचारिक मञ्चमा यो गठबन्धनविरूद्ध वा सरकार सञ्चालनको सन्दर्भमा गहकिला फरक मत आएका थिए। तर संख्याको बलमा सभापतिको कब्जामा रहेका सबै ठाउँमा विपरीत विचार प्रस्फुटित हुनै पाएनन्।

पार्टीका महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईंहरूको तहसम्म त त्यस्ता विषयमाथि कहिल्यै छलफल गराइएको थाहै छैन।

ललिता निवास, गिरीबन्धु चिया बगान, नक्कली भुटानी शरणार्थी, टेरामक्स खरिद, भिजिट भिसा आदि घोटालामा भएका व्यापक नीतिगत निर्णयमा एक–दुई अपवाद बाहेक कुनै 'प्रभावशाली' नेताले जेल जानुपरेको छैन। हरेक राजनीतिक वा प्रशासनिक नियुक्ति, आयोग वा समितिका पद, आकर्षक लाइसेन्स मोलमोलाइमा बेचिनु स्वाभाविक जस्तो हुँदै गयो। ठेकेदारहरू आफ्नै व्यावसायिक क्षेत्रका मन्त्री बनाइए। जनताले रूचाएका कर्मचारीहरू लखेटिए।

बालकोट, बुढानीलकण्ठ, खुमलटार 'निवासहरू' बिचौलियाहरूको बाक्लो आवतजावतले गुलजार भइरहँदा सभापतिको दुई–तिहाई हालिमुहाली रहेको केन्द्रीय समिति यस्तो लसपसको तीव्र प्रतिवाद गर्नेलाई दबाउने र उनका जायज–नाजायज इच्छाहरूको औपचारिक अनुमोदन गर्ने लाचार संस्था बन्दै गयो।

सोच्नुस् त, दम्भी केपी ओलीका सबै कृत्यमा उनीसँगै साझेदारी गरेका शेरबहादुर देउवा भावी प्रधानमन्त्री बन्ने कुराले कुनै युवाको मनमा उत्साह सञ्चार गर्न सक्थ्यो?

कुनै पत्रकारले यस्तै जिज्ञासा राख्दा एक जना 'ठूला' कांग्रेसी नेता टिभीमा बम्किँदै थिए, 'कति युवा युवा गरेको? के नेपालमा युवा मात्रै छन्?'

तिनलाई थाहा नहुन सक्छ, तर नेपाल १६ देखि ४० वर्षका तन्नेरीहरूकै देश हो। तिनको जनसंख्या लगभग आधा छ। प्रयोग गर्न सकिएको भए यस्तो जनसांख्यिकीय लाभ देशका लागि वरदान हुन्थ्यो। तर समग्रमा युवा बेरोजगारी दर करिब २१ प्रतिशत छ र शिक्षित युवामा त त्यो निकै धेरै छ। 

त्यसैले मुलुकको समुन्नतिमा योगदान दिन तयार भइसकेका हजारौं किशोरकिशोरी र युवा मनमा गहिरो वितृष्णा बोकेर कामको खोजीमा विदेशिएका छन्। तीमध्ये अधिकांश जोखिमपूर्ण र न्यून आय हुने काम गर्न बाध्य छन्। नत्र भाषा, संस्कृति वा राजनीति केही नबुझेको रूस–युक्रेन युद्धको अग्रपंक्तिमा ज्यानको बाजी लगाउँदै ती किन पुग्छन्?

जो देश बाहिर निस्किन सक्दैनन्, तिनले सामाजिक वा आर्थिक उन्नतिका लागि थोरै अवसर पाउँछन्।

किनकि, २०४६ सालदेखि अहोरात्र घोटिइरहेको हाम्रो नेतृत्वको प्रतापले नेपाल एसियाका गरिबतम देशभित्र पर्छ। थोरै उपलब्ध अवसरमा राजनीतिक वर्ग र त्योसँग पारस्पारिक सम्बन्धले मौलाएको आपराधिक गिरोहको कति हालिमुहाली छ भन्ने यथार्थ जेनजीले अभियान नै चलाएर डिजिटल्ली उजागर गरिदिएका छन्।

शक्ति, सत्ता र स्रोतमा पहुँच भएका केही सीमित परिवारको विशिष्ट जीवनशैली र साधारण मानिसहरूको दुःखान्तबीच देखिएको भयंकर खाडलले नेपालको कहालीलाग्दो आर्थिक असमानता र भ्रष्टाचारको सम्बन्ध छर्लंग पारिदियो। युवा आक्रोश विस्फोटनपछि भ्रष्टाचारको विषयमा हामीलाई अब कुनै ट्रान्सपरेन्सी इन्टरनेसनलले बताइरहनु पर्दैन। 

केही छोटेमोटे बाहेक भ्रष्टाचारमा आरोपित 'ठूलो' नेताले अदालतै पुग्नुपर्दैन, पुगे पनि दोषी प्रमाणित हुँदैन। न्यायालय, अख्तियार वा अन्य सबै संवैधानिक निकायमा दलीय भागबण्डा भएकाले नेपालको न्याय प्रणालीको निष्पक्षता शंकास्पद हुँदै गएको छ। प्रचण्ड–देउवा–ओलीको शासकीय 'म्युजिकल चेयर' ले 'मुलुक निर्माणमा दिएको योगदान र राखेका कीर्तिमान' को फेहरिस्त अझै धेरै लामो छ। खासमा हामी विद्रोहको टाइम–बममाथि सुतिरहेका थियौं।

गत भदौ २३ मा त्यो टाइम–बम पड्कियो। निराशा र विकल्पहीनताले क्रोधित युवा यसरी रिसाए, दुर्भाग्यवश उनीहरूले आफ्ना लागि निषिद्ध संसद, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यसत्ताका सबै प्रतीक एकैचोटि भष्म बनाइदिए। उनीहरूले स्पष्ट बताइदिए कि, आजसम्म शासन गरिरहेका मानिसहरू नालायक थिए, अब तिनको सत्ता उनीहरूलाई स्वीकार्य छैन।

हाम्रो पुर्खाको धरोहर सिंहदरबार माओवादी–कांग्रेस–एमाले सबैको सबै किसिमको शासकीय दुराचारले भ्रष्ट र असक्षमहरूको क्रीडास्थलजस्तो बनिसकेको थियो। नेताहरूको मनोमानी र समानुपातिक निर्वाचन प्रणालीको दुरूपयोगका कारण संसदको प्रभाव र गरिमा घटेको पनि थियो। 

संसदमा सबै जातजाति, वर्ग र क्षेत्रका प्रतिभाहरूको समान पहुँच र समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने त्यति गतिलो लोकतान्त्रिक प्रबन्ध पार्टी नेतृत्वको स्वार्थवश लोकरञ्जनको विषय बन्यो।

समान पहुँच र समावेशिताको विकासका लागि दल वा समाजमा दिएको योगदानको आधारमा वितरण गर्नुपर्ने समानुपातिक सांसद पद हाकाहाकी बेचिएको वा नेताका आफ्ना आफन्तलाई दिइएको देख्दा तपाईंहरूजस्ता योग्य कार्यकर्ताको चित्त दुखेको थिएन र? 

दलित, उत्पीडित जाति र क्षेत्रको प्रतिनिधित्व गर्ने समानुपातिक सांसद पदमा घरिघरि शेरबहादुर 'दाइ' कै 'चाटुकार भाइहरू' ल्याइरहँदा के त्यसले ती समुदायमाझ पार्टीको लोकप्रियता वृद्धि गरायो?

आफै चुनाव लड्न सक्षम डा. आरजु राणा वा मञ्जु खाणजस्ता महिलालाई उत्पीडित महिलाको कोटाबाट सांसद बनाउने निर्णयमा सबै कांग्रेसजनको सहमति थियो?

निश्चय नै थिएन।

तर गुटहरूलाई मिलाएपछि वैचारिक मतभिन्नता जसरी पनि पेलेर जान सकिन्छ भन्ने विश्वास नै देउवाको कार्यशैली बन्यो।

हुन त, 'प्रभावशाली नेता' र 'नाथे कार्यकर्ता' को सामन्ती प्रवृत्तिले वडा तहैसम्म गाँजेको पार्टीमा तलका निष्ठावान् कार्यकर्ताको विचार बुझ्न कसले आवश्यक ठान्यो होला र? विधान अनुसार हरेक वर्ष गरिनुपर्ने महासमितिको बैठक कति पटक बसेको छ?

यति कमजोर आन्तरिक लोकतन्त्र भएको पार्टीलाई पनि 'कांग्रेस नभए लोकतन्त्र सकिन्छ' भनेर भोट मागिरहन तपाईंहरूलाई कति असहज थियो, अनुमान लगाउन सकिन्छ।

दक्षिणपन्थी अतिवादको जोखिम

विश्वभरि अर्थ–राजनीतिका जानकारहरू भन्न थालेका छन्, 'कुनै पनि मुलुकका जनतालाई आफ्नो वर्तमान कुरूप र भविष्य निराशाजनक लाग्छ भने त्यो वैचारिक गतिहीनताको लक्षण हो। यस्तो अवस्थामा पपुलिजम र जनद्वेषी जातिवादको मिश्रण नयाँ विचारको रूपमा समाजमा स्थापित हुन्छ।' 

नेपालमा त्यसको लक्षण देखिइसकेको छ। जातीय द्वन्द्वको सम्भावना एवं कहिल्यै नदेखिएको प्रतिशोध र व्यक्तिलक्षित हिंसा बढ्दै गएको छ। वर्तमान अन्तरिम सरकारले निर्धारित समयमा निर्वाचन सम्पन्न गर्न सकेन वा शान्ति सुरक्षा दिन असफल भएर बीचैमा राजीनामा दियो भने संविधान र मुलुकले सामना गर्नुपर्ने संकटको कसैले अनुमान गर्न सक्दैन।

के त्यस बेला हुने बहुआयामिक बाह्य शक्तिको चलखेल हामीले थेग्न सकौंला?

सौभाग्यवश, जनताले बनाएको संविधानको सास बाँकी नै भएकाले आन्दोलित युवासँग संवाद र सहकार्य गर्दै यो उथलपुथलबाट कुनै अतिवाद स्थापित हुन नदिई एउटा सार्थक परिवर्तन जन्माउन कांग्रेसले तत्काल अग्रसरता लिनुपर्छ।

तर त्यो भूमिकाका लागि योग्य हुन पहिले कांग्रेस स्वयं युवाका लागि स्वीकार्य राजनीतिक शक्तिका रूपमा रूपान्तरित हुनुपर्छ। यो मुलुकको हरेक युगान्तकारी परिवर्तनको नेतृत्व गरेर कांग्रेसले पटक पटक आफूलाई एउटा दल मात्र नभएर राजनीतिक शक्ति हो भन्ने प्रमाणित गरेको छ। तर देशको संकट मोचन गर्ने त्यस्तो गौरवशाली शक्ति आज नेतृत्वको आचरण र सत्तालिप्साका कारण स्वयं संकटको सर्जक बनेको छ।

त्यसैले, शेरबहादुर देउवाको बहिर्गमन बिना अब कांग्रेस पार्टी राष्ट्रिय राजनीतिको मियो बन्न असम्भव छ।

के आफ्नो गुट, नेता, समूह र व्यक्तिगत स्वार्थ बिर्सेर तपाईंहरू कांग्रेसको आमूल रूपान्तरणका लागि तयार हुनुहुन्छ?

बिपीको 'भुइँफुट्टा वर्ग' वा प्रदीप गिरिको 'गिरोह'

महान रूसी लेखक माक्सिम गोर्कीको कालजयी कविताको एउटा अंश छ — जो घिस्रिन जन्मिएको छ, त्यो कहिल्यै उड्न सक्दैन।

पार्टीको गौरवशाली इतिहासलाई बिपीले इंगित गरेको 'भुइँफुट्टा वर्ग' वा प्रदीप गिरिले ठोकुवा गरेको 'गिरोह' को कब्जाबाट कठोरतापूर्वक मुक्त गर्ने यो अवसर खेर गयो भने वर्षौंदेखि घिस्रिरहेको पार्टीसँगै तपाईं स्वयंको राजनीतिक अस्तित्व पनि निख्रिएर सकिने छ। हामीले जसलाई नायक ठानेर आफ्नो मत र विश्वासको पखेटा लगाइदियौं, देशलाई सबभन्दा चाहिएको बेला ती पद, प्रतिष्ठा र पैसाको संकीर्ण चाहनाभन्दा एक इन्च माथि उड्न नसक्ने अत्यन्त साधारण भुइँफुट्टा प्रमाणित भए।

कांग्रेस पार्टीमा 'शीर्ष' र 'प्रभावशाली' विशेषणधारी सात–आठ जना स्वघोषित 'ठूला' नेता र तिनका गुटहरूको कार्टेल नै बिपीले संकेत गरेको 'भुइँफुट्टा वर्ग' हो।

यद्यपि पार्टीको धरोहर धमिराले खाइरहेको गिरोहजस्तो त्यो वर्गको प्रभाव समाप्त पार्न अब धेरै परिश्रम गर्नुपर्दैन। रिसाएको युवाले हल्लाइदिएको तिनको गुट–साम्राज्यको जग अब एउटा सानो धक्काले पनि गर्ल्यामगुर्लुम ढल्छ।

वास्तवमा, आफ्नो कुनै विशेष क्षमता वा प्रतिभाले ती 'ठूला' भएका होइनन्। तिनले पार्टीको क्रियाशील सदस्यताको व्यवस्थालाई 'आफूलाई चुन्ने मतदाता छान्ने' अत्यन्त विकृत पद्धतिको रूमा विकसित गरेका छन्, जसले पार्टीमा तिनको लोकप्रियता र नक्कली अपरिहार्यताको भ्रम सिर्जना गरिरहन्छ। पार्टीका सबै सदस्यले देशैभरिबाट सर्वोच्च नेता चुन्न पाउने व्यवस्था भएको दिन यो कसिंगर एकैचोटि बढारिन्छ।

त्यस बाहेक आफ्नो राजनीतिक अस्तित्वलाई 'ठूलो' र 'प्रभावशाली' देखाउन उनीहरूले अर्को चतुर फर्मूला आविष्कार गरेका छन् — महाधिवेशनमा पहिलो चरणमा 'देउवाले कांग्रेस ध्वस्त बनाएको' ठहर गरी उनीविरूद्ध सभापतिमा लड्ने र निर्वाचनमा लज्जाजनक पराजय बेहोर्ने। एकक दिनपछिको दोस्रो चरणमा तिनै 'देउवाबाहेक अरू कसैले कांग्रेस र लोकतन्त्रको रक्षा गर्नै नसक्ने' अनौठो बुद्धत्व प्राप्त गर्दै आफूले पाएको एक–दुई सय भोट खन्याएर उनलाई सभापति बनाउने। त्यसबापत् पद, प्रतिष्ठा, अथाह पैसा र आफ्नो सानो गुटको निरन्तरताका लागि चाहिने अन्य सबथोक प्राप्त गर्ने।

आफ्नो अतिशय सत्तामोह साकार तुल्याइदिने यिनै नेताहरूको पालन पोषणका लागि पनि कांग्रेस नेतृत्वलाई जुलुसैले लुट्दा पनि नसकिएको नगद पैसा चाहिएको हो।

पैसाको कुरा गर्दा, मैले एक पटक माओवादीका एक जना इमानदार ठानिने नेतालाई सोधेको थिएँ, 'दाइ, प्रचण्डलाई यतिविधि पैसा किन चाहिएको?'

उनले दिएको जबाफ मेरा लागि नितान्त नौलो थियो, 'त्यो त सिम्पल छ नि! हाम्रा नेतालाई बासी पैसा चल्दैन!'

मैले अवाक हुँदै 'बुढानीलकण्ठ निवास' सम्झिएँ। देशका कुख्यात 'फिक्सर' हरूसँगको बाक्लो उठबसले एकपछि अर्को भ्रष्टाचार काण्डमा नबिराई नाम आउन थालेपछि कांग्रेस नेतृत्वबारे लोकले गरेको अनुमान क्रमशः सत्य साबित हुँदै गयो। तिनले जतनले सञ्चित गरेको 'बासी' पैसासँगै पार्टीको भविष्य खरानी हुँदै गर्दा के तपाईंहरू पनि त्यो सबैलाई 'एआई जेनेरेटेड भिडिओ' ठानेर आत्मरतिमा रमाउन सक्नु हुन्छ?

अमानवीय अपमान सहेका घाइते सभापतिविरूद्ध अहिले नै आलोचना गर्नु वा अभियान चलाउनु अशोभनीय र असंवेदनशील हुन्छ भनेर भावनात्मक 'ब्ल्याकमेल' गर्ने नेताहरू तिनै हुन्, जसलाई घाइते सभापति स्वयं एकपछि अर्को गर्दै उत्तराधिकारी तोक्न व्यस्त हुनुहुन्छ।

यसरी 'उत्तराधिकार' प्राप्त गरिरहेका 'प्रभावशाली' नेतागण थरीथरीका भूराजनीतिक षड्यन्त्रको भाष्य तयार गर्दै यस्तो बेला नेतृत्वलाई बलियो बनाउनुपर्ने नक्कली रोदनमा व्यस्त छन्। घाइते र अशक्त हुनुको मर्यादा सभापति स्वयंले तोडिसकेपछि, अरू कसैले संवेदनशील भएर संकोच मान्न जरूरी छैन। 

खासमा कांग्रेसको सभापति यति निर्बलियो किन भए, त्यसको लेखाजोखा गर्ने समय अहिले नै हो। अब देउवा जति दिन कांग्रेसको नेतृत्वमा रहन्छन्, कांग्रेस पार्टी उति नै कमजोर र असान्दर्भिक हुँदै जानेछ। र, मुलुकमा अतिवादी राजनीति हावी हुँदै जानेछ।

भदौ २३ को जेनजी विद्रोहलाई सहानुभूतिपूर्वक बुझ्ने प्रयास गर्दैगर्दा भदौ २४ को अत्यधिक लुटपाट, हिंसा र आगजनीमा भएको घुसपैठ र आतंकको तीव्र भर्त्सना गर्दै दोषीलाई कडाभन्दा कडा सजाय दिने माग कांग्रेस पार्टीले गरिसकेको छ। निर्दोष कार्यकर्ताका घर, व्यवसाय आदिमा व्यापक क्षति पुगेको छ। स्थानीय सरकारका संरचना ध्वस्त भएका छन्। निजी क्षेत्र अझै त्रासमा बाँच्न बाध्य छ। समग्र अर्थतन्त्र नै घाइते भएर लडेको छ।

आन्दोलनपछि अपराधका प्रमाण संकलन गरिरहेको प्रशासनलाई गृह मन्त्रालयको निर्देशनले अपराधीहरूलाई त्राण दिएर अतिवाद र दण्डहीनता प्रोत्साहन गरेको आभास हुन्छ। यस्तोमा आतंकमा संलग्न कसैले उन्मुक्ति पाउँदैन भन्ने सुनिश्चितताका लागि पनि कांग्रेसले पहल गर्न जरूरी छ।

तर फेरि पनि आफ्नो दलभित्रको अलमलबाट मुक्त नभई त्यो अभियानको नेतृत्व लिन सक्ने अवस्थामा कांग्रेस पार्टी छैन।

अन्त्यमा, यो पृष्ठभूमिमा आगामी असोज २६ गते हुने केन्द्रीय समिति बैठकमा मुलुकको वर्तमान अवस्था, आसन्न निर्वाचन, पार्टीको आगामी महाधिवेशन र नेतृत्व परिवर्तनका एजेन्डामा छलफल हुने निश्चित छ।

पार्टीलाई तत्काल युवाको भाषा र आकांक्षा बुझ्ने नयाँ नेतृत्व चाहिएको छ। तर विगतको अनुभवका आधारमा केन्द्रीय समितिको वर्तमान समीकरणले त्यसको तिखो प्रतिवाद गर्ने पनि उत्तिकै निश्चित छ। त्यसको सम्बोधन नेतृत्व परिवर्तनको एकल एजेन्डामा केन्द्रित विशेष महाधिवेशनले मात्र गर्न सक्छ। 

त्यसैले प्रतिनिधि साथीहरू, तपाईंहरूकै मतले चुनिएका केन्द्रीय सदस्यलाई फोन वा सामाजिक सञ्जालमार्फत यो वास्तविकताको बोध गराउनुस्। फेसबुक, टिकटक, इन्स्टाग्राम, एक्समा सार्वजनिक अपील गरेर दबाब दिनुस्।

केन्द्रीय समितिले विशेष महाधिवेशन गर्ने निर्णय गरेन भने विधानमा तपाईंहरूजस्ता ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर बाध्य गराउने व्यवस्था छ। नेतृत्व स्वेच्छाचारी भयो भने तह लगाउनै विधानले तपाईंलाई यो अधिकार दिएको हो।

विधिवतः हस्ताक्षर बुझाउँदा पनि माथि व्याख्या गरिएको भुइँफुट्टा वर्गले केन्द्रीय समितिमा अझै जालझेल गरेर विशेष महाधिवेशनको प्रस्ताव पारित हुन दिएन भने तपाईंहरूजस्ता हजारौं कांग्रेसजनको मुठ्ठिदानले निर्मित बिपी स्मृति भवनको प्रांगणमा ऐतिहासिक महाधिवेशन आयोजना गरेर नेतृत्व परिवर्तन गर्दै पार्टी कब्जा गर्नुस्!

पार्टीको आवरणमा वर्षौंदेखि टाँसिएर कटकटिएको मयलरूपी गिरोहले कांग्रेसको इतिहास, आदर्श, विधान र मुलुककै संविधान एवं अन्तर्राष्ट्रिय प्रतिष्ठालाई कुरूप बनाएको छ। त्यसलाई धोएर पार्टीलाई सफा गर्ने यो अवसर खेर गयो भने फेरि अर्को नआउन पनि सक्छ।

तिनलाई बढारेर पार्टीको गौरव पुनर्स्थापना गर्ने उद्यम महत्वकांक्षा हो भने, अब त्यो महत्वकांक्षा देखाउने आँट गर्नुहोस्।

तपाईंहरूलाई नियतिले आफ्नो जीवनभरको राजनीतिक निष्ठालाई सार्थक तुल्याउँदै एउटा सुनौलो इतिहास रच्ने अवसर दिएको छ।

सफलताको कामना!

तपाईंहरूको शुभचिन्तक, 

जुगल भुर्तेल

झापा

***

सेतोपाटी, असोज २१, २०८२

https://www.setopati.com/opinion/371059


Wednesday, September 14, 2022

मेरा बच्चा तिनीहरू जस्ता नहून् (भिडिओ)

 


रूसी युवा पुस्ताकी चर्चित कवि याना एमकाएर (Яна Мкр) को ‘आनी उछात माइख…’ शीर्षकको कवितामा आधारित भावानुवादः

तिनीहरू मेरा बच्चालाई
एक टुक्रा हड्डीको लागि
प्रतिस्पर्धामा दौडाइरहेछन्
लक्ष्यबिनै हावामा अनाहक
बन्दुक पड्काउन सिकाइरहेछन्
‘जित्यौं’ भनेर उन्मादमा
नारा घन्काउन लगाइरहेछन्
 
तिनले मेरा सन्तानलाई
न हृदयले हेर्न सिकाउँछन्,
न स्पर्शले महसुस गर्न लगाउँछन्
निधारको रेखाले पनि बोल्न सक्छ,
तर घाँटीमा निरर्थक शब्दहरूको सञ्चय गराउँछन्
तिनै शब्दको ध्वनीमा गफ चुट्न सिकाउँछन्
 
तिनले मेरा छोराछोरीलाई
सम्पत्तिमा जीवनलाई तौलिन सिकाउँछन्
धर्म र भाषाको चयन गर्न लगाउँछन्
आँसुलाई आफूभित्र लुकाउने,
कला सिकाउँछन्
दौडेर पहिले कुर्सी ओगट्ने,
खेला सिकाउँछन्
 
मेरा छोराछोरीलाई तिनले
न धान रोप्न सिकाउँछन्
न पिठो मुछ्न लगाउँछन्
बरू धूलोमैलोबाट तर्किन सघाउँछन्
सधैं चिटिक्क देखिन अह्राउँछन्
सपक्क कपाल कोर्न सिकाउँछन्
मौन र शान्त हुन लगाउँछन्
 
ती मेरा नानीहरूलाई
आँगनमा लड्न रोक्छन्

ती मेरा बाबुहरूलाई
छानामा चढ्न छेक्छन्

 
तर म भने तिनलाई 
खेतमा पठाउँथेँ
रूखमा चढाउँथेँ, 
फूलहरूसँग खेलाउँथेँ,
म तिनलाई प्रेम गर्न सिकाउँथेँ,
सपना बुन्न सघाउँथेँ
जितको एउटा गरिमा हुन्छ,
जुनसुकै मूल्यमा पनि 
जित्न हुन्न है भनेर बुझाउँथेँ
 
म चाहन्छु…
म चाहन्छु मेरा सन्तान
अप्ठ्यारै रहून्, सजिला नहून्
 
ती मुसलधारे वर्षामा रूझ्न नडराऊन्
उज्यालोलाई पछ्याउँदा बाटैमा नहराऊन्
तिनले सुनको गजुर जत्तिकै
आँगनको ढुंगालाई पनि
पूजनीय ठानून्
राजा र प्रजा दुवैसँग, उत्तिकै 
समान हुन जानून्
 
न झुकेर धेरै, तिनको ढाड कुप्रियोस्
न मात्तिएर आत्मश्लाघाले, 
तिनको छाती फुलोस्
 
हाम्रा बाबुहरू, उदास सिनेमा हेरेर रून सकून्
बहादुर देखिन निहुँ खोज्दै 
कहिल्यै अघि नसरून्,
 
हाम्रा नानीहरू,
मन्दिरको घण्टी बजेजस्तै
गलल्ल हाँस्न सकून्

बिना कुनै बन्धन,
उन्मुक्त नाँच्न सकून्

तिनको घुँडामा घाउको खत होस्,
जसले कहिल्यै नदिओस् बिर्सन,
कि कसैको छातिमा टेकेर
जीवनको यात्रा सुरू गर्नु हुन्न
 
तिनले मेरा नानीबाबुलाई 
त्यही बाटो देखाइरहेछन्
आफू जीवनमा जसरी हिँडे 
त्यसरी नै हिँड्न सिकाइरहेछन्
 
तर म छोराछोरीको कपाल
साहसको काइँयोले कोरिदिन्छु

म तिनको दूधमा उदारता घोलिदिन्छु
निधारमा शुभरात्रीको म्वाइँसँग
तिनमा इमान भर्नेछु
मेरा बच्चा तिनीहरूजस्ता नहून्
हरदम प्रयास गर्नेछु।
 
(साभारः सेतोपाटी, भदौ २८, २०७९ (Setopati.com, 13 September 2022)
https://www.setopati.com/literature/282294

 


Tuesday, August 30, 2022

 

          एक क्रान्तिकारी फकिर

- जुगल भुर्तेल

कहिले दार्शनिकजस्तो, कहिले फकिरजस्तो सदैव प्रतिपक्षी, सदैव विद्रोही छवि भएका प्रदीप दाइलाई राजनीतिक नेता नै कसले मानेको थियो र ? विनयशीलता, ज्ञान र कथावाचनको त्यस्तो अद्भुत संगम भएको मान्छे फेरि कहिले जन्मिएला ?


मलाई थाहा छ– प्रदीप दाइले मलाई अतिरिक्त स्नेह गर्नुहुन्थ्यो । तर, मलाई यो पनि त्यत्तिकै थाहा छ कि उहाँसँग नजिक रहेर वैचारिक सहकार्य गरेका सबैलाई यस्तै लाग्छ । अध्ययन र अनुभवको निचोडबाट निस्केको विचार र त्यसलाई अभिव्यक्त गर्न सक्ने विलक्षण प्रतिभाले विराट बनेको प्रदीप दाइको व्यक्तित्वले सम्मोहित नहुने को होला र ? त्यसैको आकर्षणले तानिएर आफ्नो छेउमा आइपुगेको जोकोहीलाई पनि बराबर ज्ञान, प्रेम र प्रोत्साहन बाँडेर उसभित्र ‘म पनि केही हुँ’ भन्ने भावना र अगाडि बढ्ने उत्साह जगाइदिने अद्भुत क्षमता थियो, उहाँमा ।
अन्तिम यात्रामा प्रस्थान गर्नु केही दिनअघि उहाँलाई भेट्दा आँखा खोलेर टाउको हल्लाउनुभयो, तर दुनियाँलाई मोहित बनाउने त्यो आवाज भासिइसकेको थियो । संगत गर्ने ‘ठूला’ मान्छेलाई ठाडो अवज्ञा, तर कहिल्यै संगतै नगरेका शोषित र उत्पीडितलाई अथाह प्रेम गर्ने प्रदीप दाइको कमजोर काया जीवन र मृत्युको दोसाँधमा कठोर संघर्ष गरिरहेको देखेर मन विचलित भयो । उहाँलाई खासै विश्वास नभए पनि हजारौं मानिसलाई प्रार्थना र ईश्वरीय चमत्कारको आस थियो र आ–आफ्ना भगवानको स्मरण गर्दै धेरैले हृदयदेखि नै उहाँको जीवनका लागि पुकारा गरेका थिए । जनताको त्यति धेरै आदर र माया पाउने सायद अन्तिम नेता हुनुहुन्छ, प्रदीप दाइ । हुन त कहिले दार्शनिकजस्तो, कहिले फकिरजस्तो सदैव प्रतिपक्षी, सदैव विद्रोही छवि भएका प्रदीप दाइलाई राजनीतिक नेता नै कसले मानेको थियो र ?
करिब डेढ दशकको मस्को बसाइका क्रममा म ‘हिमाल’ खबरपत्रिका, ‘कान्तिपुर’ दैनिक, ‘नेपाल’ पाक्षिक र पछि ‘नयाँ पत्रिका’ मा नियमितजसो लेखिरहन्थेँ । संसारभरिका विप्लवीहरूले सोभियत प्रयोगलाई अत्यधिक रोमान्टिसाइज गर्छन् । त्यसैले मेरो लेखनीको केन्द्रमा मूलतः विश्वभरिका कम्युनिस्ट आन्दोलनलाई थुप्रै भ्रमको आपूर्ति गरेर दशकौंदेखि जनतालाई दिग्भ्रमित गर्ने ऊर्जा प्रदान गरिरहेको सोभियत इतिहास नै थियो । मेरो आफ्नै सोभियतकालीन र पछि रुस बसाइको अनुभव, अध्ययन, रुसी भाषा र साहित्यमा केही पहुँचले लेखनीको सेरोफेरो त्यहीँको इतिहास, साहित्य, संस्कृति र परिवेश हुने नै भयो । म विशेषगरी लेनिनको देवत्वकरण गर्ने प्रवृत्तिको कठोर आलोचना गरेर लेख्थेँ । सोभियत व्यवस्थाको भोगाइले नै हुन सक्छ, ‘पुँजीवादी लोकतन्त्रका स–साना त्रुटिलाई पनि पहाड बनाइदिने, तर अमूर्त सिद्धान्तका नाममा भएका जतिसुकै ठूला अपराधलाई पनि सहजै पचाइदिने’ मार्क्सवादी बौद्धिक परम्परासँग मेरो गम्भीर असहमति छ । बन्दुकको बलमा सत्ताको कब्जा र निरन्तर बन्दुकै तेर्स्याएर ‘नयाँ असल मान्छे’ बनाउने क्रान्तिकारी रोमाञ्चकता त झन् अमानवीय र अनैतिक लाग्छ ।
लेनिनका प्रशंसक मात्र होइन, उनीबारे पुस्तक नै लेखेका र सबै पत्रपत्रिकाको नियमित अध्ययन गर्ने आदत भएका प्रदीप गिरिका नजरमा ती लेखहरू परिहाले । लेखपढ गर्ने रुचि भएको अध्ययनशील युवाहरूको संगत गर्न मन पराउने प्रदीप दाइले ‘सोभियत इतिहासका बारेमा यसरी लेख्ने यो केटो को हो ?’ भन्ने कौतूहलवश मेरो खोजी गर्नुभयो । यसरी बौद्धिक जिज्ञासाले जुराएको हाम्रो सम्बन्ध चाँडै नै घनिष्ठ भयो र हामीबीचको विमर्श झन्झन् घनीभूत हुँदै गयो । उहाँको भ्रातृत्वपूर्ण सद्भाव र सैद्धान्तिक बहसलाई प्रोत्साहित गर्ने उदार स्वभावका कारण निःसंकोच आफ्ना भावना व्यक्त गर्न न मलाई अप्ठ्यारो थियो, न त अवसरको कमी नै । यद्यपि समाजवादप्रति उहाँको अटल आस्था र विलक्षण ज्ञानको बौद्धिक प्रकाशमा आफ्नो अध्ययन र सूचनाको सीमितताले भने मलाई सधैं असहज बनाउँथ्यो ।
उहाँ मूलतः क्रान्तिकारी विश्वदृष्टि भएको असल मानिस हुनुहुन्थ्यो । त्यसैले हरेक क्रान्ति, विप्लव र विद्रोहलाई उहाँ सहानुभूतिपूर्वक हेर्नुहुन्थ्यो, अनुचित नै लाग्ने गरी तिनलाई शंकाको सुविधा दिनुहुन्थ्यो । संसारको व्याख्या होइन, त्यसलाई बदल्ने कार्ल मार्क्सको महत्त्वाकांक्षी आह्वानले उहाँ अत्यधिक प्रभावित हुनुहुन्थ्यो कि जस्तो लाग्छ । त्यसैले नै होला फ्रान्सेली क्रान्ति, रुसी अक्टोबर विप्लव मात्र होइन, हाम्रै घरेलु माओवादी आन्दोलनलाई हेर्ने उहाँको दृष्टिकोण पनि निकै उदार थियो । म त्यसको तीव्र प्रतिवाद गर्थें । लेनिनले मार्क्सवादलाई कसरी आफूअनुकूल प्रयोग गरे र कसरी मार्क्सवाद क्रमशः मार्क्सवाद–लेनिनवाद हुँदै सहजै संसारभरिका क्रूर तानाशाहहरूको हातमा पुगेर लाखौं मान्छेको नरसंहार गर्ने भयंकर हतियार बन्यो भनेर तर्क गर्थें । उहाँ भने सोभियत शासनमा भएको गरिबी निवारण, बेरोजगारी समस्याको समाधान, स्वास्थ्य र शिक्षामा आम जनताको पहुँच आदिबाट लोकतान्त्रिक सरकारले लिन सक्ने शिक्षामा जोड दिनुहुन्थ्यो । म सोभियत तथ्याङ्क र साधारण जनताको जीवनका बीचमा रहेको खाडल र लोकतान्त्रिक अधिकारविहीन समाजका त्रासदीबारे बताउँदै प्रतितर्क गर्थें । उहाँ भने क्रान्तिका विभिन्न चरणमा हुन सक्ने कमीकमजोरी ठानेर तिनलाई शंकाको सुविधा दिनुहुन्थ्यो । स्तालिनको सत्ताले गरेको अमानवीय दमनका विषयमा मात्र हाम्रा कुरा मिल्थे । त्यहाँनेर फेरि उहाँभित्रको हिंसाविरोधी गान्धीवाद जीवन्त हुन्थ्यो । प्रदीप दाइ जीवनपर्यन्त यो वैचारिक दुविधामा बाँच्नुभयो । उहाँका विचारमा घरी गान्धी आउँथे र घरी मार्क्स आउँथे । त्यो ऊहापोहमा अहिंसाको माध्यमबाट न्यायपूर्ण आदर्श समाजको निर्माण गर्ने उहाँको आकांक्षा प्रतिविम्बित भएझैं लाग्थ्यो । यो सायद साध्य मात्र होइन, साधन पनि उत्तिकै पवित्र हुनुपर्छ भन्ने गान्धीवादी दर्शनको प्रभाव थियो । जीवनको उत्तरार्द्धमा शास्त्रीय मार्क्सवादले सम्बोधन गर्न नसकेको हाम्रो समाजका कतिपय अन्तर्विरोधलाई उहाँ गान्धीका माध्यमबाट विश्लेषण गर्ने प्रयास गरिरहनुभएको हो कि जस्तो लाग्थ्यो । कम से कम मैले उहाँलाई त्यसरी बुझेँ र सधैं पुस्तक नै लेखेर बहस चलाउन अनुरोध गरिरहेँ । त्यो पुस्तक नलेखिए पनि उहाँका असंख्य लेखको संग्रहमा अध्ययन, अनुसन्धान गरेर भावी पुस्ताले अवश्य उहाँको दार्शनिक मूल्याङ्कन गर्नेछ ।
जस्तोसुकै लोकतान्त्रिक जलप लगाए पनि मार्क्सवाद–लेनिनवादसँग अविच्छिन्न बन्धनमा बाँधिएको ‘समाजवाद’ ले घोषित समुन्नत समाजको निर्माण होइन, समाजलाई उल्टो हिंसा–प्रतिहिंसा र दमनको चक्रमा फसाउँछ भन्ने आफ्ना अनुभवजन्य संशयलाई म दोहोर्‍याइरहन्थें । उता प्रदीप दाइ भने समर्पित समाजवादी चिन्तक । तर, आफूलाई चित्त नबुझे पनि उहाँले मलाई हरदम लेखिरहन प्रेरित गर्नुभयो । साँचो अर्थमा बहुलवादी समाजका पक्षधर प्रदीप गिरिको गहिरो मान्यता थियो– स्वतन्त्रता, अहिंसा, लोकतन्त्र र वैचारिक विविधताबिनाको समाजवाद औचित्यहीन हुन्छ । ‘त्यसोभए त्यसलाई किन घरीघरी मार्क्सलाई सम्झाउने समाजवाद भनिराख्नुपर्‍यो, अरू नै वैकल्पिक नाम खोजौं’ भन्ने मेरो सुझावलाई उहाँ केटौले हठ ठानेर हावामा उडाउनुहुन्थ्यो ।
इन्जिनियरिङको विद्यार्थी भएकाले दार्शनिक ज्ञानका मेरा आफ्नै सीमा छन् भन्ने प्रदीप दाइले बुझिहाल्नुभयो । त्यसैले सायद आफ्ना धारणाको सैद्धान्तिक आधार भेट्टाउन सकोस् भनेर करुणावश उहाँले मलाई धेरै विचारहरूसँग परिचय गराउन थाल्नुभयो । तीमध्ये भारतीय विचारक जयप्रकाश नारायण विशेष उल्लेखनीय छन् । त्यतिबेलासम्म मैले जेपीका बारेमा ‘दिनमान’ लगायत भारतीय पत्रपत्रिकामा आएका अखबारी लेखनबाहेक गम्भीरतापूर्वक पढेको थिइनँ । मार्क्सवाद, समाजवाद र प्रचलित संसदीय लोकतन्त्रकै मान्यताप्रति गहिरो मोहभंग भएर समतामूलक समाजको खोजीमा स्वशासित ग्रामीण सत्ताको गान्धीवादी गोरेटो पहिल्याउँदै हिँडेका जयप्रकाश नारायणले मेरो अन्तरकुन्तरमा रहेको समाजवादको रहलपहललाई पनि धोइपखाली गरिदिए । सबै मानिस सुखी र खुसी हुने आदर्श समाजको निर्माण गर्न पुँजीवाद र शास्त्रीय समाजवादकै वैचारिक द्वन्द्वमा फसिरहनु नपर्ने मेरो मान्यतालाई जेपीले सहभागी लोकतन्त्रको सैद्धान्तिक आधार दिए, हिँड्ने बाटो थोरै स्पष्ट भएजस्तै भयो । मैले हाँस्दै प्रदीप गिरिलाई सुनाएँ, ‘दाइ, म त अझै कम समाजवादी पो भएँ ।’ मानौं मेरो अज्ञानतामा हैरान भएझैं उहाँ मुसुक्क मुस्कुराउनु मात्र भयो । समाजवादी दर्शनमा विश्वभरि कसरी क्रमशः रूपान्तरण भइरहेको छ, आजको समाजवाद हिजोभन्दा कति भिन्न छ भन्ने बुझाउन उहाँले मलाई बेलायती समाजवादी चिन्तक एन्थनी क्रसल्यान्डको किताब ‘द फ्युचर अफ सोसलिजम’ पढ्ने सुझाव दिनुभयो, जसले त्यहाँको लेबर पार्टीको दृष्टिकोणमै आमूल परिवर्तन ल्याइदिएको थियो । मैले हाम्रै कम्युनिस्ट पार्टीहरूको पनि त्यसरी नै कायापलट हुँदै गएकाले कांग्रेसलाई बीपीको ‘समाजवाद’ तिनको भन्दा पृथक् हो भन्ने बुझाउन अझ गाह्रो हुँदै जाने जिकिर गरेँ । तसर्थ, कांग्रेसजस्ता लोकतान्त्रिक शक्तिले अन्ततः उदार लोककल्याणकारी वैकल्पिक सिद्धान्तको खोजी नगरी नहुने परिस्थिति सृजना भइसकेको मेरो बहसमा उहाँ सहमत नै देखिनुहुन्थ्यो । तर, त्यो वैचारिक पुनर्व्याख्याको दायित्व अब पार्टीको युवा पुस्ताले लिनुपर्ने उहाँको आग्रह थियो ।
युवा पुस्ताले पार्टीको वैचारिक जागरणको अभियान चलाउने त हो, तर ती युवालाई त्यो गहन जिम्मेवारीका लागि प्रदीप गिरि स्वयंले उत्प्रेरित नगरे अरू कसले गर्ने ? यो तिखो प्रश्नलाई मैले सार्वजनिक ढंगले उठाउने निर्णय गरेर ‘नयाँ पत्रिका’ मा ‘प्रदीप दाइ, विकल्प छ’ शीर्षकको एउटा खुला पत्र लेखेँ । कांग्रेस पार्टीमा आबद्ध युवाहरू ‘हद निराशा र किंकर्तव्यविमूढता, दिशाहीनता र व्यामोहबाट गुज्रेर शनैःशनैः आत्मघातको बाटोमा लाग्न सक्ने’ उदास मनोदशाको मार्मिक चित्रण गर्दै उहाँले जेलबाट करिव पाँच दशकअघि भीमबहादुर तामाङ दाइलाई ती युवालाई संगठित गरेर वैचारिक जागरण दिन गम्भीर अपिल गर्दै एउटा पत्र लेख्नुभएको रहेछ । मैले त्यसैलाई आफ्नो खुला पत्रको आधार बनाएर अनुरोध गरेँ, ‘आज फेरि कांग्रेस पार्टीमा आबद्ध युवाहरू त्यसरी नै निराशा र अकर्मण्यताको सिकार भएका छन्... विगतमा गिरिजाप्रसाद कोइरालाको अहंकार, महत्त्वाकांक्षा र अन्यायका विरुद्ध भिड्दै गर्दाका बखत एउटा छुट्टै समूहको निर्माण गर्नु न्यायोचित राजनीतिक लडाइँ थियो । तर, कालान्तरमा उद्देश्यच्युत भएर थुप्रै विकृतिको जननी बनेको त्यो आन्दोलन नै पार्टीमा स्थायी गुटहरू ठड्याउने कारक बनेर धमिराजस्तो पार्टीलाई खाइरहेको छ । पार्टीको त्यस्तो दयनीय अवस्थामा आफ्ना सारा प्रतिभा, ममता र प्रज्ञालाई कतै केन्द्रित नगरी कम्तीमा अब त तपाईं गुटगत राजनीतिको गौणताबाट माथि उठेर सबैको अभिभावक नेता हुनुपर्ने होइन र ?’ मैले अझ थपेर लेखेँ, ‘कांग्रेसले हिँड्ने अबको बाटो पहिल्याउन वैचारिक पुनर्जागरण र पुनर्चिन्तनको महाअभियानको खाँचो छ । के तपाईं सबैका प्रति न्याय र समभावका साथ पार्टीलाई समेट्दै त्यो महान् अभियानको नेतृत्व गर्ने सर्वमान्य नेता बन्न सक्नुहुन्छ ?’ निश्चय नै त्यो प्रश्न चुनौतीपूर्ण थियो, तर कांग्रेसजनका सर्वमान्य नायक बीपीलाई समेत असहज प्रश्न गर्ने साहस र प्रतिभा भएको प्रदीप गिरि स्वयं प्रश्नहरूबाट भाग्ने कुरै थिएन । त्यो लेख छापिनुअघि नै पढेर सुनाउन खोजेको थिएँ, तर उहाँले सुन्न मान्नुभएन । भन्नुभयो, ‘नैतिक रूपले त्यसो गर्न मिल्दैन, तपाईंलाई म अखबारबाटै उत्तर दिउँला ।’ केही समयपछि हाँस्दै बताउनुभयो, ‘तपाईंलाई उत्तर दिँदादिँदै सात हजार शब्द पो लेखिसकेछु । यसलाई अब कता छाप्ने ?’ मैले त्यसलाई सानो पुस्तिकाको रूप दिएर गाउँ–गाउँका कांग्रेसजनमाझ वितरण गर्दै वैचारिक पुनर्जागरणको सुरुआत गर्न आग्रह गरेँ । उहाँ सहमत हुनुहुन्थ्यो, तर त्यसपछि बिस्तारै उहाँको स्वास्थ्य खस्किँदै गयो, त्यो काम गर्न सकिएन । यद्यपि त्यो लेख कुनै कम्प्युटरमा बाँचेको भए एक दिन छापिने विश्वास छ ।
मैले त्यही पत्रमा ‘बीपीसम्बन्धी थुप्रै पुस्तकको सम्पादन र संकलन गरेर अतुलनीय योगदान गरे पनि समकालीन नेपालका लागि सान्दर्भिक प्रदीप गिरिका विचारहरूको संगालोबाट कांग्रेसजन कहिल्यै लाभान्वित हुन पाएनन्’ भन्ने असन्तोष जनाउँदै आफ्नो अपार सम्भावनाको यसरी अपव्यय नगर्न अनुनय नै गरेको थिएँ । स्वयं पात्र बनेर आफूले देखेको र भोगेको कांग्रेसको इतिहास अर्थात् कांग्रेस पार्टीको इतिहाससँग एकाकार भएर आफ्नो ‘आत्मकथा’ लेख्ने मेरो सल्लाहलाई उहाँले सहर्ष स्विकार्नुभयो । तत्काल प्रकाशक ‘फाइन प्रिन्ट’ सँग सम्झौता पनि भयो । आफूले सधैं गर्न चाहेको, तर समय र परिस्थितिले हुन नदिएको महत्त्वपूर्ण कर्म आरम्भ भएकोमा उहाँ निकै उत्साहित देखिनुहुन्थ्यो । त्यसको करिब एक महिनापछि नै मलाई बोलाएर आफ्नो बाल्यावस्थाको सेरोफेरोमा आधारित पहिलो अध्याय पनि पढेर सुनाउनुभयो । दाइले यति चाँडै पुस्तक लेख्न थालिहाल्नुहोला भन्ने मैले कल्पना गरेको थिइनँ । म खुसी त भएँ, तर फेरि किताबलाई आफ्नै आत्मकथा नबनाउन सचेत पनि गरेँ किनकि प्रदीप दाइले आत्मकथा लेख्न सक्नुहुन्न भन्ने मलाई थाहा थियो । रत्तीभर आत्मश्लाघा नभएको र अप्रिय वचनले भरसक अरूको चित्त दुखाउन नचाहने दयाभावले भरिएको मानिसले कस्तो आत्मकथा लेख्नु ? त्यसैले मैले उहाँलाई कांग्रेस पार्टीमा आफूले खेलेको भूमिका र उहाँसँगै पार्टी कसरी वयस्क हुँदै गयो, त्यसैमा मात्र लेखनीलाई केन्द्रित गर्न आग्रह गरिरहेँ ।
वर्ष दिन पनि नपुग्दै करिब नब्बे हजार शब्द लेखिइसकेको सुनेर म आश्चर्यमिश्रित खुसीले स्तब्ध भएँ । तर, त्यो अझै खेस्रा नै रहेकाले मलाई देखाउन मान्नुभएन । त्यसको केही समयपछि फेरि बोलाउनुभयो र निराश पार्दै भन्नुभयो, ‘जुगलजी, म पैंतीस–छत्तीस सालसम्म पुगेँ । तर, मैले जे लेखेको छु, त्यो मलाई मन परेन । पूरै पुनर्लेखन नगरी तपाईंलाई समेत देखाउन मलाई मन छैन ।’ आखिर मैले जे सोचेको थिएँ, त्यही नै भयो होला । म अनुमान गर्न सक्छु– उहाँको लेखाइ क्रमशः आत्मकथातिर ढल्किँदै गयो । उहाँलाई आफ्नो धेरै नै बढाइचढाइ गरेँ कि भन्ने संकोच भयो होला । अथवा जीवित पात्रहरूका बारेमा लेख्नैपर्ने कुरा लेखिहाल्न मन नलागेको पनि हुन सक्छ । कारण जे भए पनि उहाँले करिब नब्बे हजार शब्दको खेस्रालाई रद्दीको टोकरीमा फालेर फेरि नयाँ ढंगले लेख्ने जुन निर्णय गर्नुभयो, त्यसको सम्मान गर्दै मैले पुनः एकचोटि पार्टीको इतिहासमा केन्द्रित रहँदा सहज हुने सुझाव दिएँ । उहाँले कहिले काठमाडौं र लहानमा, कहिले दिल्लीमा त्यसको पुनर्लेखन गरेको मलाई सुनाए पनि अझै देखाउनुभएको थिएन । उहाँका स्वकीय सचिव कृष्ण खनाल भाइबाट थाहा पनि भयो– खेस्राको आकार बढेर करिब एक लाख बीस हजार शब्द पुगेछ । मैले कुनै व्यावसायिक सम्पादकसँग सल्लाह गरौं न त भन्दा पनि अझै पढ्न मिल्ने गरी तयार भएको छैन भनेर टारिरहनुभयो र त्यो पुस्तक त्यत्तिकै कतै अड्कियो । पछिल्लो समय उहाँले प्रायः दोहोर्‍याइरहने महाभारतका पात्रहरूका बारेमा ‘सेतोपाटी’ मा सुन्दर लेखहरू आउन सुरु भएको थियो । त्यसलाई पनि निरन्तरता दिँदै एउटा संकलित पुस्तकको आकार दिने योजना थियो । तर, हठात् त्यसको प्रकाशन पनि रोकियो । बीपीको व्यक्तित्वमा आधारित एउटा उपन्यास लेख्ने पनि उहाँको सोच थियो । तर, शरीर कमजोर हुँदै गएपछि बौद्धिक कर्म पनि बोझिलो र झन्झटिलो हुँदै गएको बुझ्न सकिन्छ । उहाँको बिग्रँदो स्वास्थ्यका कारण यी महत्त्वपूर्ण कामहरू त्यत्तिकै थाती रहेकोमा मलाई ठूलो थकथकी छ ।
प्रदीप गिरिको स्वभाव र दृष्टिकोणसँग अनभिज्ञ केही मानिस उहाँले कुनै कार्यकारी पद पाउन नसकेको र गफ गर्ने कर्म मात्र गरिरहेको भनेर आलोचना गर्छन् । आफ्नो दोस्रो कार्यकालमा कृष्णप्रसाद भट्टराईले सिरहामै गएर उहाँलाई परराष्ट्रमन्त्री बनाउने सार्वजनिक घोषणा गर्नुभएको थियो । चुनाव जित्नुभएको भए किसुनजीजस्ता आफ्ना अत्यन्त प्रिय अग्रजको आदेशलाई अस्वीकार गर्न सायद उहाँलाई गाह्रो हुन्थ्यो, तर २०५६ को निर्वाचनमा सिरहाबाट उहाँ पराजित हुनुभयो । प्रदीप दाइले त्यस दिन भन्नुभएछ, ‘भगवानले मलाई मन्त्री हुनबाट बचाए !’ पछि राष्ट्रिय सभामा ल्याएर पनि मन्त्री बनाउने किसुनजीको सदाशयतालाई उहाँले विनम्रतापूर्वक अस्वीकार गरेको थाहा भयो । उहाँले कहिल्यै कुनै पदका लागि प्रयत्न गरेको थाहा छैन । रहर र प्रयास गरेको भए प्रदीप गिरिलाई कसले मन्त्री बनाउँदैन थियो होला ? तर, दर्शन, साहित्य, कला, संगीतजस्ता बहुआयामिक क्षेत्रमा गहिरो रुचि, ज्ञान र त्यो ज्ञानलाई बाँड्ने हुटहुटी भएका प्रदीप गिरि स्वच्छन्द विचरण गर्ने पन्छी हुनुहुन्थ्यो, उहाँलाई कुनै किसिमको बन्धन स्वीकार्य थिएन ।
सायद शेरबहादुर देउवाको कुनै एउटा कार्यकालमा हुनुपर्छ, मन्त्रिमण्डल गठन हुँदै गर्दाको एक साँझ म उहाँसँगै बात मारिरहेको थिएँ, मोबाइलको घण्टी बज्यो । उताबाट कसले के भन्यो थाहा छैन, तर जवाफमा ‘जहिले पनि त्यही कुरा दोहोर्‍याएर किन दिक्क लगाएको, आजसम्म पनि तपाईंले मलाई बुझ्न सक्नुभएन’ भन्दै प्रदीप दाइ निकै कडा स्वरमा झर्किनुभयो । मलाई अचम्म लागेर सोधेँ, ‘कोसँग यसरी रिसाउनुभएको ?’ उहाँका काका पूर्वप्रधानमन्त्री तुलसी गिरिले ‘मन्त्रिमण्डल गठन हुँदै छ किन मन्त्री हुने प्रयास नगरेको ?’ भनेर सोध्नुभएको रहेछ । मैले पनि ठट्टा गर्दै भनेँ, ‘राजनीतिक नेतालाई त्यस्तो सल्लाह दिनु ठीकै त हो नि, त्यसमा किन रिसाउनु ?’ उहाँले व्यंग्यात्मक हाँसो हाँस्दै जवाफ फर्काउनुभयो, ‘जुगलजी, कुनै दिन उथलपुथल भएर युनाइटेड स्टेट्स अफ साउथ एसिया भएछ भने त्यसको प्रत्यक्ष निर्वाचित राष्ट्रपति हौंला, तपाईंलाई पनि मन्त्री बनाउँला । अब त खुसी हुनुभयो ?’ मैले चिनेका प्रदीप दाइमा कुनै राजकीय पदको अभिलाषा थिएन, तर आफ्नो बौद्धिक सत्ताको अथाह शक्ति उहाँलाई थाहा थियो । त्यसको भरपूर उपभोग गरेर दाइले आफ्नो सर्तमा कसैसँग कुनै सम्झौता नगरी एउटा लोभलाग्दो जीवन बिताएर जानुभयो । त्यो जीवन कति सार्थक र अर्थपूर्ण थियो हामीले आर्यघाटमा देखिहाल्यौं ।
नेपाली कांग्रेस पार्टीको गत महाधिवेशनका क्रममा प्रदीप दाइ मुम्बईमा उपचाररत हुनुहुन्थ्यो । महाधिवेशनको केही दिनअघि उहाँले फोन गर्नुभयो । उहाँलाई सायद अब धेरै बाँचिन्न भन्ने थाहा थियो । क्यान्सरको उपचारले स्वर मलीन भइसके पनि भावना निकै दृढ रहेछ । मलाई सल्लाह दिँदै भन्नुभयो, ‘रोगले मलाई यो महाधिवेशनमा सहभागी हुन दिएन । गगन, विश्वप्रकाशजस्ता युवा साथीहरूलाई जिताएर पार्टीमा परिवर्तनका लागि तपाईंहरूले जुन प्रयत्न गरिरहनुभएको छ, त्यो सही छ । पार्टी बिग्रिएको छ, त्यसलाई ठीक बाटोमा फर्काउने यो अवसरलाई खेर नफाल्ने मेरो आग्रह र शुभकामना सबै साथीहरूलाई सुनाइदिनुहोला ।’ उहाँलाई केही समयदेखि आफूसमेतको संलग्नतामा दुई दशकअघि कांग्रेस पार्टीमा गिरिजाप्रसादको निरंकुश सत्ताविरुद्ध गरिएको राजनीतिक प्रयोगले स्थापित गराएको आफ्नै साथीहरूको नयाँ सत्ता औचित्यहीन मात्र होइन, झन् पथभ्रष्ट भइसकेको बोध थियो । पार्टीको महाधिवेशनले त्यसलाई भत्काओस् भनेर धेरै कांग्रेसजन सहकार्य गरिरहेका थिए, नयाँ सम्बन्धहरू बन्ने र पुराना ढल्ने क्रम जारी थियो । क्रान्ति र आमूल परिवर्तनका हिमायती प्रदीप गिरिलाई त्यस्तो निर्णायक क्षणमा आफूचाहिँ सुदूर देशको अस्पतालको शय्यामा सीमित हुनुपर्दा कति पीडा भयो होला ? त्यो उदासीलाई मैले उहाँको आवाजमा महसुस गरेँ । यता महाधिवेशनमा परिवर्तनको एजेन्डामा लडेकाहरूलाई पनि प्रदीप दाइको अनुपस्थिति बेस्सरी खट्कियो ।
बौद्धिक विमर्शलाई उपेक्षा गर्ने मात्र होइन, उपयोगीसमेत नठान्ने आजको राजनीतिक परिवेशमा आफूलाई पच्छ्याउँदै आइरहने सारा पद र प्रतिष्ठालाई लत्याएर निरन्तर ज्ञानको खोजीमा भौंतारिइरहने प्रदीप गिरिको अवसान मुलुकका लागि वास्तवमै एउटा अपूरणीय क्षति हो । विनयशीलता, ज्ञान र कथावाचनको त्यस्तो अद्भुत संगम भएको मान्छे फेरि कहिले जन्मिएला ? मलाई थाहा छ, ‘जुगलजी कहाँ हुनुहुन्छ, एक छिन आउनुस् त एउटा छलफल गरौं’ भनेर अब फेरि कहिल्यै उहाँको फोन आउनेछैन । तर, संसारलाई अलि बढी बुझोस् भनेर उहाँले स्नेहवश मलाई छाडेर गएका आफ्ना असंख्य पुस्तकका पानामा कैद उहाँको न्यानो स्पर्शको सुवासले प्रदीप दाइ यहीँ कहीँ मेरै छेउमा हुनुहुन्छ भन्ने आभास दिलाइरहनेछ ।
(कान्तिपुर कोशेली, भाद्र ११, २०७९  ।  २७ अगष्ट, २०२२) 




Sunday, September 15, 2019

प्रदीप दाइ, विकल्प छ !

 
प्रिय प्रदीप दाइ,
 
तपाईंले करिब ५० वर्षअघि जेलबाट भीमबहादुर तामाङ दाइलाई लेखेको पत्र ‘नेपालखबर’ले खोजेर प्रकाशित गरेपछि निकै खुसी हुँदै मलाई देखाउनुभएको थियो
 । युवा अवस्थामा पार्टीमा व्याप्त निराशा र अकर्मण्यता चिर्न आफूले गरेको एउटा बौद्धिक प्रयत्नको रहस्योद्घाटनले तपाईंलाई रोमाञ्चित बनाएको प्रस्टै देखिन्थ्यो । गुटग्रस्त प्रतिस्पर्धाको भयंकर भासमा फसेको वर्तमान कांग्रेसको प्राथमिकतामा स्वर्गीय भीमबहादुर तामाङजस्तो असल र सिद्धान्तनिष्ठ मानिसको स्मृति नपर्नुलाई म उति अस्वाभाविक ठान्दिनँ ।

यस्तो वेला गम्भीर आग्रहका साथ तपाईंले उहाँलाई लेखेको पुरानो पत्रले धेरै कांग्रेसजनलाई कति क्षमतावान् मानिसलाई गुमाइएछ भन्ने अभाव महसुस गराएको हुनुपर्छ । समर्पण, सदाचार र विद्वताका प्रतिमूर्ति भीमबहादुर दाइलाई ४६ सालपछि कांग्रेस पार्टीको नैतिक क्षयीकरणको निरीह साक्षी हुनुपर्दा कुन स्तरको पीडा भयो होला ? थुप्रै चुनौती झेलेर उहाँले जोगाएको पार्टीप्रतिको अटुट आस्था र पार्टी बचाउन उहाँले गरेको त्यागका कथा नयाँ पुस्ताका निम्ति एउटा किंवदन्तीजस्तो प्रेरणाको स्रोत हुने नै छ । मैले तपाईंलाई भनेको थिएँ, त्यो पत्रले हजारौँ समर्पित कांग्रेसजनलाई तपाईंकै नाममा खुला पत्र लेख्न प्रेरित ग-यो भने भीमबहादुर दाइप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । यो सार्वजनिक संवाद त्यही प्रेरणाको परिणाम हो ।

तपाईंको भ्रातृत्वपूर्ण सद्भाव र सैद्धान्तिक बहसलाई प्रोत्साहित गर्ने उदार स्वभावका कारण निसंकोच आफ्ना भावना व्यक्त गर्न न मलाई अप्ठ्यारो छ, न अवसरको कमी । समाजवादप्रति तपाईंको अटल आस्था र विलक्षण ज्ञानको बौद्धिक प्रकाशमा आफ्नो अध्ययन र सूचनाको सीमितताले मलाई सधैँ असहज बनाउँछ । त्यसका बाबजुद मार्क्सवाद ­लेनिनवादसँग अविच्छिन्न बन्धनमा बाँधिएको ‘समाजवाद’ले घोषित समुन्नत समाजको निर्माण होइन, समाजलाई उल्टो हिंसा­प्रतिहिंसा र दमनको चक्रमा फसाउँछ भन्ने आफ्ना अनुभवजन्य संशयलाई प्रस्ट राख्ने गरेकै छु ।

पार्टी जीवनका विविध आयाममाथि खरो छलफल पनि भएकै छन् । त्यसैले यी गन्थन–मन्थनलाई सार्वजनिक गर्नुको सट्टा व्यक्तिगत भेटमै टुंग्याउन पनि सकिन्थ्यो । तर, माफ गर्नुहोला, म आफ्ना भावना आमनेपाली र विशेषगरी चरम निराशाको जीवन बाँचिरहेका लाखौँ कांग्रेसजनले पनि सुनून् र तपाईंसँग यस्तै आग्रह गरिरहून् भन्ने चाहन्छु ।

तपाईंले भीमबहादुर दाइसँग परिवर्तनको आवेगका साथ कांग्रेस पार्टीमा आबद्ध युवाहरू ‘हद निराशा र किंकर्तव्यविमूढता, दिशाहीनता र व्यामोहबाट गुज्रेर शनैःशनैः आत्मघातको बाटोमा लाग्न सक्ने’ जुन उदास मनोदशाको मार्मिक चित्रण गर्नुभएको छ, के आजका कांग्रेसी युवाको मनस्थिति त्यसभन्दा भिन्न छ र ? हिजो आत्मघातको मार्ग संघर्षशील राजनीतिबाट पलायन वा पञ्चायती प्रलोभनजस्तै केही हुन सक्थ्यो ।

हाम्रै दाइ पुस्ताले त्यही बाटो समाउँदा कांग्रेसलाई पुगेको अपुरणीय क्षतिको तपाईं प्रत्यक्षदर्शी मात्र हुनुहुन्न, तिनको हाताशाको मर्मलाई बुझ्न सक्ने सायद एक मात्र नेता पनि हुनुहुन्छ । आजको परिवर्तित सन्दर्भमा त्यो आत्मघातले राजनीतिलाई समाज सेवाको माध्यम होइन, भद्दा व्यक्तिगत लाभको पेसा बनाइरहेको देखेर आमनेपालीझैँ तपाईं पनि दुःखी हुनुहुन्छ ।

पार्टीमा आबद्ध युवामा फेरि पनि राजनीतिको मूल उद्देश्य समाज परिवर्तनका लागि भीमबहादुर दाइले जस्तै जीवन समर्पण गर्ने उत्प्रेरणा कसले भर्ने ? तपाईंकै शब्द सापटी लिएर भन्नुपर्दा ‘सतही र छिपछिपे बहसमा, छोटा र साना कलह र व्यक्तिगत लाभबाट हटेर आधारभूत समस्यासँग इमानदारीपूर्वक परिचय गरेर तदनुरूप कदम चाल्ने प्रयत्न’ कसले गर्ने ?त्यो गहन भूमिकाका लागि पार्टीप्रति बफादार देशैभरिका लाखौँ कांग्रेसजनको नजरमा कांग्रेसको धमिलो क्षितिजमा प्रदीप गिरिबाहेक अन्य कुनै पात्र देखिँदैन । तर, पार्टीको संघर्षमय इतिहासले पटक–पटक ‘अद्वितीय र ऐतिहासिक भूमिका’को अवसर दिँदा वा अपेक्षा गर्दा पनि प्रचुर सम्भावनाका बाबजुद तपाईं भने अचम्मसँग असंलग्न बसिरहनुभएको छ ।

गत संसदीय निर्वाचनलगत्तै कांग्रेस कार्यकर्ता र शुभचिन्तकमा व्याप्त पराजित मानसिकताले उत्पन्न गरेको चरम बेचैनीको क्षणमै यो पत्र लेखिनुपथ्र्यो । तर, पार्टीका निर्वाचित सभापति, महामन्त्रीलगायत पदाधिकारीले कांग्रेसलाई ‘बचाउने’ वा कांग्रेसजनको आत्मबल बढाउने जिम्मा लिइहाल्लान् कि भन्ने झिनो आशा गर्दागर्दै यति विलम्ब भयो ।

कांग्रेसको पुनर्जागरणको प्रस्थान बिन्दु पराजयको निर्मम समीक्षा र नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिएर हुन सक्थ्यो । तर, त्यसो हुन त सकेन नै, पार्टीलाई धमिराजस्तो खाइरहेका गुटाधीशहरूले रहे÷सहेको सत्ताको लुछाचुँडी गर्ने प्रतिस्पर्धामा समेत लगाम लगाउन सकेनन् । यदि कुनै कांग्रेसजन अझै पार्टीको शीर्षासनमा विराजमानहरूबाटै कांग्रेसले पुनर्जीवन पाउने आशा गरिरहेको छ भने ऊ बिपीको अवसानअघि नै निदाएको कुम्भकर्ण मात्र हुन सक्छ । यद्यपि मेरो तर्क कुनै अमुक पदाधिकारी, शीर्ष, मध्यम वा छोटा कदका नेताभन्दा पनि पार्टीमा मौलाएको विचारशून्यता र मूल्यहीनताको राजनीतिमाथि लक्षित छ ।

आधा दशकअघि तात्कालीन राजनीतिक दुर्दशाको निदान गर्दै तपाईंले भीमबहादुर दाइलाई लेख्नुभएको छ, ‘एसिया र अफ्रिका सम्पूर्णको नै मौजुदा दुर्दशाको मुख्य जिम्मेवारी त्यहाँको नेतृत्व र बुद्धिजीवी वर्गको टाउकोमा छ । ती सब यति काहिल, कमजोर र चरित्रहीन नभएका भए सायद हाम्रो अनुहार नै अर्को हुने थियो ।’ दुर्भाग्यवश यी कठोर वाक्यहरू नेपालका सन्दर्भमा आजपर्यन्त कालजयी छन् ।

विचार गर्नुस् त, त्यो वेला नेपाली राजनीतिको र विशेषगरी कांग्रेसको शिखरमा आफैँ अत्यन्त अध्ययनशील बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता स्वनामधन्य राजनेता एवं उहाँहरूको बौद्धिक प्रखरतासँग प्रतिस्पर्धा गर्न सक्ने ईश्वर बराल, केदारमान व्यथित, बालकृष्ण सम, महेशचन्द्र रेग्मी, गणेशराज शर्माप्रभृत्ति निर्भीक बौद्धिकहरू थिए । लोकतन्त्र स्थापनाको क्रान्तिकारी लक्ष्यले जस्तोसुकै अँध्यारोमा पनि अगाडि बढ्ने ऊर्जा दिएको थियो र राजनीतिकर्मीका लागि समाजमा स्नेह, सहानुभूति र प्रतिष्ठा थियो । त्यसवेला त नेतृत्वप्रति तपाईंजस्ता प्रखर युवामा त्यो स्तरको वितृष्णा रहेछ ।

आज कांग्रेसको भव्य केन्द्रीय कार्यालयमा बिपीको उदास फोटो त झुन्डिएको छ, तर गन्तव्यको होस हराएर पथभ्रष्ट भएको पार्टीलाई बाटो देखाउने जिउँदो मानिस छैन । वर्तमान राजनीतिका नायकहरूको असंगत व्यवहार र उद्गारलाई महान् सिद्धान्त बनाइदिन हरदम आतुर दलतन्त्रका सिपाहीजस्ता बुद्धिजीवीबाट त नेपाली समाजले नै आशा गर्न छाडेकै धेरै भयो ।

यो अभाव र त्रासदीलाई झेलिरहेको पार्टीभित्रको आजको पुस्ता कति निरास होला ? त्यो निराशा पार्टीका तल्ला फोरमहरूमा समेत ‘थाम्नै नसकिने’ आक्रोश बनेर पोखिइरहेको धेरै नेताले आफैँ अनुभव नगरेका होइनन्, तर काठमाडौं फर्केपछि पुनः आ–आफ्ना गुट सुदृढीकरणमै लागिरहनु तिनको बाध्यता र व्यसन दुवै बनेको छ । सिंगो पार्टीका बारेमा फिटिक्कै नसोची एउटा सानो गुट चलाएर बस्दा पनि पार्टीको सभापति र देशकै प्रधानमन्त्री हुन सक्ने सत्तामुखी राजनीतिमा त्यसलाई अनुचितभन्दा सायद अव्यावहारिक ठहरिन्छ ।

लोकतान्त्रिक संस्थाहरूमा विचारको विविधता हुन्छ र त्यसैअनुरूप गतिशील वैचारिक समूह हुन सक्छन्, जसले पार्टीलाई जीवन्त बनाइराख्छ । तर थाहै छ, दलभित्र स्थापित गुटहरू कुर्सी र सत्ताका खातिर जोडिएका व्यक्तिहरूको स्वार्थसमूह र देशका सबै पार्टीमा भित्रिएको यावत् विकृतिका जड हुन् । तपाईंकै शब्दमा ती गुट पनि होइनन्, ‘गिरोह’ हुन् । तिनको असर वडादेखि सिंहदरबारसम्म, निर्वाचन आयोगदेखि अदालतसम्म जताततै देख्न सकिन्छ । तपाईंसमेतको संघर्षले पार्टी र देशमा राजनीतिक व्यवस्थाको आवरणमा यो के लिएर आयो ? राजनीतिमा त्यो गिरोहतन्त्रलाई भित्र्याउन र स्थापित गर्नमा के तपाईंहरूको कुनै भूमिका छैन र प्रदीप दाइ ?

आफ्ना भावना, व्यवहार, पार्टीभित्रको सर्वस्वीकार्यता एवं सार्वजनिक वृत्तमा स्वतन्त्र समाजवादी पहिचान र पार्टीइतर तप्कामा समेत ठूलो लोकप्रियता हुँदाहुँदै तपाईं स्वयं कुनै अज्ञात परिबन्दवश गुटरूपी गिरोहमा अझै बाँधिइरहनु असोचनीय विषय हो । के तपाईंलाई त्यस्तो लाग्दैन ? विगतमा गिरिजाप्रसाद कोइरालाको अहंकार, महत्वाकांक्षा र अन्यायका विरुद्ध भिड्दै गर्दाका बखत एउटा छुट्टै समूहको निर्माण गर्नु न्यायोचित राजनीतिक लडाइँ थियो ।

त्यो आन्दोलन अन्ततः जसरी विसर्जित भए पनि त्यसवेला आत्मसम्मान र न्यायका लागि जस्तोसुकै शक्तिशाली सत्ताविरुद्ध पनि नैतिक लडाइँ लड्न सकिन्छ भन्ने साहस देखाएर तपाईंहरूले कांग्रेसको एउटा सिंगो पुस्तालाई प्रोत्साहित गरेकै हो । कालान्तरमा उद्देश्यच्युत भएर थुप्रै विकृतिको जननी बनेको त्यो आन्दोलन नै पार्टीमा स्थायी गुटहरू ठड्याउने कारक बन्यो । त्यसैले आफ्ना सारा प्रतिभा, ममता र प्रज्ञालाई कतै केन्द्रित नगरी कम्तीमा अब त तपाईं गुटगत राजनीतिको गौणताबाट माथि उठेर सबैको अभिभावक नेता हुनुपर्ने होइन र ?

कांग्रेस पार्टीमा तपाईं अकल्पनीय स्वतन्त्रताको उपभोग गरिरहनुभएको छ । तपाईं स्वयंका शब्दमा पार्टीले तपाईंलाई ‘निर्बाध रूपले अराजक हुनसमेत अधिकार दिएको छ ।’ तपाईंले भोटसमेत नमागी निरन्तर केन्द्रीय समितिमा निर्वाचित गरिरहने स्नेही कार्यकर्ताको कुनै ठूलो अपेक्षा हुँदैन । ती चाहन्छन्, तिनले मुखरित गर्न नसक्ने विद्रोही आवाज पार्टीका विभिन्न फोरममा उठाइदिएर तपाईंले आफ्नो ‘अराजकता’को सदुपयोग गरिदिनुहोस् ।

हिजो पञ्चायतविरुद्धको कठोर संघर्षका वेला पार्टी संगठनलाई जुझारू र स्वच्छ बनाइराख्न सिर्जना गरिएको ‘क्रियाशील सदस्यता’ अब ‘सुरुमा आफ्ना भोटर आफैँले छान्ने र पछि तिनैबाट निर्वाचित भएर आउने’ अलोकतान्त्रिक र अनैतिक व्यवस्थामा रूपान्तरित भइसकेको छ । यो राजनीतिक ‘सिन्डिकेट’ले नौला विचार लिएर आउने नयाँ मानिसका लागि कुनै स्थान नै नदिएर कांग्रेसलाई उही पुरानो वृत्तमा फनफनी घुमाइरहेको तपाईंले देख्नुभएकै छ ।

पार्टीमा कुनै नवीन विचार दिने मानिस नै छैनन् भनेर तपाईंले सिकायत गरेको त धेरै सुनिन्छ, तर सिर्जनात्मक विचार प्रवाहित हुन नदिने गिरोहतन्त्रको तगारोलाई भत्काउन पनि कुनै सार्थक कोसिस गरेको देखिएको छैन । ‘क्रियाशील सदस्यता’को वितरणमा हुने गुटबन्दी र मनपरीतन्त्रलाई जरैदेखि उखेल्ने प्रयासस्वरूप तलैदेखि ठूलो आवाज उठेपछि विधान संशोधन गर्ने प्रपञ्च त भयो, तर अन्ततः गुट निर्माण हुने संरचना धराशयी हुन सकेन ।

त्यही क्रममा पार्टीको नेतृत्व, संगठन र राजनीतिलाई नै फरक पार्ने अरू कैयन् व्यवस्थाका लागि देशैभरिबाट आएका रचनात्मक सुझावलाई रद्दीको टोकरीमा फ्याँकियो । धेरै केन्द्रीय सदस्यले सुधारको एजेन्डामा एकजुट भएर लामै लडाइँ लडेका थिए । तिनको प्रस्तावसँग सैद्धान्तिक रूपले सहमत रहँदारहँदै ठूलो अपेक्षाविपरीत तपाईंले केन्द्रीय समितिबाट त्यस्तो प्रस्तावको पक्षमा निर्णय गराउने पहल गर्नुभएन ।

राजादेखि इन्दिरा गान्धीसम्मबाट चौतर्फी घेरिएर थाकेका, तर निष्ठाको राजनीति नहारेका कांग्रेसजनका नायक बिपीलाई समेत प्रश्न गर्ने साहस र प्रतिभा भएको प्रदीप गिरि कर्पोरेट हाउसजस्तै बनेको आजको कांग्रेसमाथि औँलो ठड्याउन यति उदासीन किन ? पार्टीको वास्तविक रूपान्तरणका सवालमा आजसम्म उपयोग गर्न नसकिएको तपाईंको ‘अराजकता’ सामाजिक प्रियतावादमा भने भरपुर प्रयोग भइरहेको देख्दा अस्वाभाविक लाग्ने रहेछ ।

विगत धेरै वर्षदेखि नेपाली कांग्रेसलाई सबैभन्दा अलमल्याएको विषय समाजवाद हो । कांग्रेसको समाजवाद के हो, कसैले आजसम्म जनताले बुझ्ने भाषामा व्याख्या गरेको छैन । बिपीको छिटपुट लेखनीमा देखिने गन्तव्य पनि धमिलो र अस्पष्ट छ । प्रतिस्पर्धी दल नेपाल कम्युनिस्ट पार्टीलाई आफ्नो सिद्धान्त र रणनीतिमा कुनै द्विविधा छैन– वर्तमान व्यवस्थाबाट यथाशक्य लाभ लिँदै मार्क्सले देखाएको असम्भव सपनालाई पच्छ्याइरहने वा पच्छ्याएको भ्रम छरिरहने ।

मार्क्सको दुई सयौँ जन्म दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीद्वारा एउटा अभियानकै रूपमा मार्क्सवादमाथि व्यापक बहस र स्कुल सञ्चालन भइरहेको छ, जसको उद्देश्य छ– कम्तीमा १० हजारजनालाई मार्क्सवादको प्रशिक्षण दिएर कम्युनिस्ट पार्टीको नयाँ क्याडर सिर्जना गर्ने । ती कार्यक्रममा प्रवचन दिन तपाईंलाई पनि आमन्त्रित गरिन्छ । ‘पुँजीवादी लोकतन्त्रका स–साना त्रुटिलाई पनि पहाड बनाइदिने, तर अमूर्त सिद्धान्तका नाममा भएका जतिसुकै ठूला अपराधलाई पनि सहजै पचाइदिने’ मार्क्सवादी बौद्धिक परम्पराबाहिरको तपाईंजस्तो व्यक्तिले मार्क्स र उनको दर्शनका बारेमा के बोल्नुभयो होला भन्ने जिज्ञासा अझै अनुत्तरित छ ।

मार्क्सको देवत्वकरण गरिरहँदा लेनिनले हाइज्याक गरेको मार्क्सवादी दर्शनका नाममा मारिएका करोडौँ मानिसका बारेमा कमसे कम तपाईंले श्रद्धाञ्जलीका दुई शब्द बोल्नुभयो होला नै । अत्यन्त मानवतावादी दाबी गरिएको त्यही दर्शन नै संसारका दुर्दान्त तानाशाहरूको हातमा अमानवीय दमन गर्ने दुईधारे हतियार कसरी बन्यो ? तपाईंले कम्युनिस्ट पार्टीको भावी क्याडरलाई, मार्क्सवादी दर्शनलाई कुनै धर्मजस्तो अन्धविश्वास बनाएर हिंसाको बलमा सत्ताको कब्जा र हिंसाकै सहारा लिएर ‘नयाँ मान्छे’ बनाउने रोमाञ्चकतामा नफस्न दीक्षित तुल्याउनु भयो होला नै ।

खैर, फ्रेन्च विचारक रेमन्ड आरोनले ‘बौद्धिकहरूको अफिम’ ठहर गरेको मार्क्सवादका बारेमा फेरि छुट्टै आलेखमा तर्क–वितर्क गरौँला, अहिलेलाई कांग्रेसको समाजवादमै केन्द्रित होऔँ । माथि नै भनियो, यो कांग्रेसलाई घोर अलमलमा फसाउने विषय बनेको छ । कांग्रेसको परिकल्पनाको समाजवादका बारेमा हाम्रा नेता वा बौद्धिकले अर्थपूर्ण बहस नै गरेका छैनन् । आजसम्म भएका छिपछिपे विमर्श तपाईंले भीमबहादुर दाइलाई लेखेझैँ ‘समाजवाद भन्ने शब्दको गिल्ला’ मात्र साबित भएको छ । त्यसैले समाजवादको उच्चारण गर्नेबित्तिकै कुरो घुमिफिरी उनै मार्क्समा गएर ठोकिन्छ ।

हामीलाई सधैँ के भ्रम रह्यो भने बिपीले हाम्रा लागि प्रशस्त लेखपढ गरिदिनुभएको छ । तर, पछि बुझ्दै गएँ, एउटा क्रियाशील राजनीतिज्ञका नाताले उहाँसँग समयको अभाव त थियो नै, सन्दर्भअनुसार सिद्धान्तको व्याख्या गर्ने दबाब पनि थियो । फलस्वरूप उहाँको चिन्तनको तीव्र्र गतिशीलताले ठाउँ–ठाउँमा हामीलाई अवाक् बनाउँछ । सुरुआतमा बिपी मार्क्सवाद र सोभियत मोडेलसँग प्रभावित देखिनुहुन्छ । उहाँ सरकारी पुँजीवाद र वितरणको कुरा गर्नुहुन्छ । फेरि गरिबीको वितरण गरेर केही हुन्न, उत्पादनमा जोड दिनुपर्छ भन्ने निष्कर्षमा पुग्नुहुन्छ । ‘स्मल इज ब्युटिफुल’का पक्षधर बिपी नै हामीले सबैभन्दा चिनेका बिपी हुनुहुन्छ ।

तानाशाही व्यवस्थामा गान्धीवादको न्यून उपादेयता देख्ने बिपी कालान्तरमा गान्धीको ठूलो प्रशंसक बन्नुहुन्छ । राष्ट्रियताका बारेमा उहाँका धारणा तीन दशकमा तीनपटक फेरिएका छन् । राजतन्त्रका बारेमा पनि उहाँका परस्परविरोधी विचारले आजपर्यन्त हाम्रो समाजलाई उद्वेलित गरिरहेको छ ।

तथापि बिपीले जति चिन्तन गर्न भ्याउनुभयो, त्यसले हामीलाई मूलतः लोकतन्त्र र अहिंसाको बाटो समातेर यहाँसम्म आउन समर्थ बनायो । आज समय, सन्दर्भ र आवश्यकता फेरिएका छन् । आज पार्टीको ध्येय स्थापनाकालीन होइन, आजको समाजतिर मुखरित हुनुपर्छ । न्यायपूर्ण र लोकतान्त्रिक समाज निर्माणको बिपीकालीन अभिलाषा त उस्तै छ, तर समय बदलिएको छ र त्यो लक्ष्य प्राप्तिका लागि नयाँ सैद्धान्तिक अन्वेषणको माग गरिरहेको छ ।

यो गहिरो चासो र चिन्तनको विषय भए पनि कांग्रेसमा कुनै हलचल छैन । यद्यपि विचारका सन्दर्भमा कुरा गर्दा तपाईंले भीमबहादुर दाइसँग उही वेला स्विकारिसक्नुभएकै छ– ‘मुलुकबाट राजनीति र राजनीतिबाट चिन्तनको निष्काशनको दोहोरो चाल सफल भएको छ ।’ पाँच दशकअघि नै सफल भएको त्यो षड्यन्त्रले पार्टीको वैचारिक फाँटलाई बन्जर धर्तीमा परिणत गरिदिएको छ ।

तपाईंकै शब्दमा ‘विचारको विनाश’ भएको छ । यस्तो संकटकालमा पार्टीको सबैभन्दा विचारवान् ठानिएको समाजवादी चिन्तक प्रदीप गिरिचाहिँ १० हजार कम्युनिस्ट क्याडर जन्माउन यति व्यस्त हुनुहुन्छ कि पार्टीको वैचारिक पुनरुत्थानका लागि उहाँलाई फुर्सदै छैन । कांग्रेसमा विचारको पालुवा लागेन भने पार्टीका युवाले ती १० हजार नवकमरेडहरूको कसरी सामना गर्लान् ?

मुलुकको सबैभन्दा प्रखर समाजवादी चिन्तक लगभग ६ दशकदेखि पार्टीको सक्रिय राजनीतिमा हुनु, तर पार्टी स्वयं भने आफ्नो समाजवादी गन्तव्यकै बारेमा यसरी अलमलमा रहनु आश्चर्य र विडम्बनाको विषय हो । तपाईं गिरोह सञ्चालनमा लिप्त पुरानो नेतृत्व वैचारिक ‘ब्यांक्रप्ट्सी’मा गइसकेको ठहर गर्नुहुन्छ, तर फेरि केही न केही बौद्धिक कर्मबाट सिर्जित नयाँ आवाजलाई पनि विचारविहीन कोलाहल मात्र हो भन्ने निष्कर्ष निकाल्नुहुन्छ ।

माओवादीले हिंसाको भरमा समाज परिवर्तन गर्न गरेको असफल र कतिपय अवस्थामा अमानवीय प्रयत्नको तपाईं यदाकदा प्रशंसा गर्नुहुन्छ, तर बन्दुक नबोकी संघर्षरत आफ्नै पार्टीभित्रको उदाउँदो नेतृत्वलाई विचारहीन जमात ठह-याउँदै ‘डिसमिस’ गर्नुहुन्छ । पार्टीमा पाएको सर्वोच्च बौद्धिक स्थानबाट तिनको वैचारिक यात्रालाई आलोकित गर्नु र ‘सत्य चिन्ने क्षमता’लाई नष्ट हुन नदिनु के तपाईंको कर्तव्य होइन र ? तिनलाई उत्साहित तुल्याउँदै क्रमशः अर्थपूर्ण भविष्यको नेतृत्व गर्ने दिशातिर तपाईंबाहेक अरू कसले डोहो-याउन सक्छ ?

तपाईंले धेरै वर्षदेखि आर्थिक वृद्धि र वितरण सँगसँगै जान नसक्ने तथा नेपालको आर्थिक उत्थान कृषिमा आधारित उद्यमशीलताको विकासबाट मात्र सम्भव हुने तर्क गर्दै आउनुभएको छ । यी विचारमा प्रशस्त छलफल गर्न नसकिने होइन, तर तिनलाई कांग्रेसको घोषणापत्र वा कुनै आधिकारिक दस्ताबेजमा प्रवेश गराएर बहस सिर्जना गर्ने प्रयास तपाईंले कहिल्यै गर्नुभएन ।

दुर्भाग्यवश कांग्रेसको घोषणापत्रमा तपाईंको परिश्रमी किसानका सपनाको प्रतिविम्ब होइन, समृद्धिको त्यही भद्दा रेल नै देखिन्छ । तपाईंले बिपीसम्बन्धी थुप्रै पुस्तकको सम्पादन र संकलन गरेर अतुलनीय योगदान गरे पनि समकालीन नेपालका लागि सान्दर्भिक प्रदीप गिरिका विचारहरूको सँगालोबाट कांग्रेसजन कहिल्यै लाभान्वित हुन पाएनन् । अपार सम्भावनाको यस्तो भीषण अपव्यय बुझेर बुझिनसक्नु छ ।
सारांशमा, कांग्रेस पार्टीमा विचारको संकट छ भन्ने विषयमा हाम्रो मतैक्य छ । सधैँ एकपछि अर्को संक्रमणबाट गुज्रिरहन अभिशप्त अनेक विविधताको नेपाली समाजका लागि कांग्रेसजस्तो उदार लोकतन्त्रमा विश्वास गर्ने पार्टीको उपादेयता तत्काल समाप्त हुँदैन भन्ने कुरामा पनि सायद हाम्रो विमति छैन । तर, हाम्रो नेतृत्वको दुर्बलताले सिर्जित जटिलताका अलावा मोदी, ट्रम्प र बोल्सोनारो प्रवृत्तिको उत्थानको यो विश्वव्यापी दक्षिणपन्थी आँधीमा उदार लोकतन्त्रको आफ्नै अस्तित्व निकै संकटग्रस्त छ ।

निरन्तर उग्रवामपन्थी प्रहार त छँदै छ, पछिल्लो समय फरक पहिचानप्रति आशंका, जातीय विद्वेष र उग्र राष्ट्रवादको बढ्दो लोकप्रियताले उदारवादी दलहरूमा द्विविधा उत्पन्न गरिदिएको छ– झन् जुझारू प्रगतिशील बाटोमा लाग्ने कि अरूले झैँ जनरञ्जनको सजिलो राजनीतिलाई अँगाल्ने ! यो द्विविधाको असर अहिल्यै कांग्रेसमा देखिइसकेको छ ।
आगामी महाधिवेशनसम्म भारतमा घनीभूत हुँदै गएको धार्मिक उन्मादको रोग कांग्रेस पार्टीमा पनि सर्ने सम्भावना प्रबल छ । यस्तो वेला पार्टीभित्र र बाहिर पनि मानवतावादी उदार लोकतन्त्रको प्राण जोगाउन कांग्रेसका युवालाई एउटा बौद्धिक हस्तक्षेप चाहिएको छ, जसले तिनको हृदयमा परिवर्तनको आगो सल्काओस्, उग्रवामपन्थी रोमाञ्चकता र दक्षिणपन्थी फासिवादसँग जुध्ने शक्ति सञ्चार गरोस् ।

तसर्थ कांग्रेसले हिँड्ने अबको बाटो पहिल्याउन वैचारिक पुनर्जागरण र पुनर्चिन्तनको महाअभियानको खाँचो छ । के तपाईं समूह, गुट र गिरोहभन्दा माथि उठेर सबैका प्रति न्याय र समभावका साथ पार्टीलाई समेट्दै त्यो महान् अभियानको नेतृत्व गर्ने सर्वमान्य नेता बन्न सक्नुहुन्छ ?

स्वभावतः यस्तो बृहत् अभियानको नेतृत्वककर्ता पार्टीको सभापति नै हुनुपर्ने हो । तर, आफ्नो युवावयमा समेत नखोजेको वा नचाहेको कुनै कार्यकारी पद लिन तपाईंलाई उक्साउनु अर्थहीन छ । त्यस्तो दायित्व तपाईंको उमेर, स्वभाव र रुचिअनुकूल त छैन नै अनिवार्यजस्तो बनेको पैसा र शक्तिको त्यो डरलाग्दो संयोजन तपाईंको बौद्धिकताका लागि खतरनाक पनि छ ।

तर, पार्टीमा व्याप्त निराशालाई चिर्दै उग्रवामपन्थी र दक्षिणपन्थी धावालाई सामना गर्न जुन स्तरको वैचारिक जागरणको पार्टीमा खाँचो छ, त्यो तपाईंको क्षेत्र, क्षमता र दायित्वभित्रै पर्छ । तपाईंले आफूमा थप आत्मविश्वास भर्नुपर्दैन, खालि आफ्नो पार्टी र राष्ट्रिय राजनीतिले निर्धारण गरेको कर्मबोध मात्र गरे हुन्छ ।

प्रदीप दाइ, कांग्रेसका तमाम ठूला पदाधिकारीभन्दा कता हो कता धेरै बौद्धिकता, कांग्रेस पार्टीको ऐतिहासिक भूमिकाको बोध एवं पार्टीभित्र र बाहिरको लोकप्रियता र आमस्वीकार्यता तपाईंको पुँजी हो । आफ्नो यो लोभलाग्दो कदका बारेमा तपाईं अनभिज्ञ हुनुहुन्न, तर सबै किसिमका दायित्वबाट मुक्त ‘निर्लिप्त जोगी’ भइरहन बुझ पचाइरहनुभएको छ । दायित्वमुक्त भइरहने तपाईंको नितान्त निजी रुचिको सम्मान गर्दागर्दै इतिहासमै सायद सबैभन्दा संकटग्रस्त अवस्थामा रहेको पार्टीको वैचारिक पुनर्जागरण र पुनरोत्थानको गहन जिम्मेवारी अब तपाईंले कर्तव्यबोधका साथ स्विकार्नैपर्छ ।

अन्यथा अटुट निष्ठाका साथ पार्टीको सेवामा समर्पित लाखौँ कांग्रेसजनका प्रति असाध्यै ठूलो अन्याय हुनेछ । कुनै दिन पार्टीले तपाईंबाट अपेक्षा गरेको थियो होला, तर आज तपाईंको समन्वयकारी बौद्धिक भूमिका अपेक्षित होइन, अपरिहार्य भइसकेको छ । तपाईंले गम्भीरतापूर्वक यो विकल्पलाई आत्मसात् गर्नुभयो भने निश्चय पनि पार्टीको ‘टिना’ (देयर इज नो अल्टरनेटिभ) युगको अन्त्य हुनेछ ।

अन्त्यमा, तपाईंले भीमबहादुर दाइलाई लेखेकै शब्द सापटी लिएर यो लामो गन्थन टुंग्याउँछु, ‘साँच्चै भन्नुहुन्छ भने मेरो यो आग्रह र आतुरताको मूलमा एउटै कारण छ– त्यो हो, तपाईंको व्यक्तित्व, जसलाई मैले अति नै महत्व दिएको छु । तपाईंले विकल्प सोचेर जे गर्नोस्, तर आफ्ना सम्भावनाको पूर्ण उपयोग गर्नुस् भन्ने मेरो मनसाय हो ।’

प्रकाशित: नयाँ पत्रिका, २०७६ भदौ २४ मंगलबार (September 10, 2019)