Sunday, April 20, 2008

म पहाडे-मधेसी-खस-नेपाली

डा. जुगल भुर्तेल
लहानको घटनाले एउटा राष्ट्रको रुपमा हाम्रो रुपान्तरण असहज हुने संकेत दिए पछि आफ्नो पहिचान पहिल्याउने प्रयत्‍न गर्दा माथिको शिर्षक तयार भयो, जुन मैले ठूलो गर्व गर्ने मेरो भावनात्मक परिचय हो । एसएलसी पास गरेर काठमाण्डौं जानु अघि सम्म मैले कहिल्यै नजीकबाट पहाड नदेखेको भए पनि हजूरबा भोजपुरवाट झर्नु भएकोले मेरो अनुहारमा ‘पहाडे’ को छाप लाउने असफल प्रयास गरिन्छ तर म जन्मे, हुर्के, बढे र पढेको ठाउँ मधेस भएकोले म ‘मधेसी’ हुँ । मेरो नाममा समेत पाहाडेपन छैन । भोजपुर भन्दा अघिको इतिहास हाम्रो परिबारलाई थाहा छैन । अज्ञानतावश खस राज्य कहाँ छ म अनभिज्ञ छु र ‘खस’ शव्दले भुगोल वा जाति केलाई बुझाउँछ मलाई थाहा छैन तर मधेसमा पनि बाहुन हुने भएकोले जातिय आन्दोलनका नेताहरुले मलाई ‘खस बाहुन’ बनाइदिएका हुनसक्छन् । त्यही नै मेरो पहिचान पनि होला तर काठमाण्डौंको सामन्ती शासनलाई बुझाउने क्रममा जातिय मानमर्दनकालगि त्यसको व्यापक दुरुपयोग हुनेगरेको मेरो अनुभूति छ। खैर जे होस्, मेरो सम्पूर्ण अस्तित्व जोडिएको मूलघर र मातृभूमी झापा भएकोले म ‘झापाली’ हुँ । मलाई मान्छे मात्र हैनन् हावा, पानी, माटो, रुख सवै त्यहीँका प्रिय लाग्छन् । तर म नेपालमा हुञ्‍जेल मात्र ‘झापाली’ हुँ । यहाँ विदेशमा त मेरा अरु सवै विशेषणहरु गौण हुन्छन् र म केवल ‘नेपाली’ हुन्छु । हिजो सम्म त्यही मेरो मौलिक पहिचान र जातिय स्वाभिमानको सर्वोच्चता थियो । तर आज सवै जातिले आ-आफ्नो ठाउँ खोज्न थाले पछि नेपाली मात्रको मेरो परिचय क्रमश: अमूर्त हुँदै गएकोछ र “म को हुँ” भनेर आफैंसँग अप्ठ्‍यारो प्रश्‍न सोध्न बाध्य भएकोछु ।

मैले आफ्नै आखाँ अघि सोभियत साम्राज्यलाई धरासयी भएको देखेकोछु अनि देश गुमाएर विक्षिप्त झैं भएका प्यालेष्‍टिनीहरुको संगतले जीवन-जगतलाई अलि नजिकबाट बुझ्ने प्रयास गरेकोछु । अन्तर्राष्ट्रिय वातावरणमा अध्ययन गर्नुको सवै भन्दा ठूलो फाइदा नै थरिथरिका विदेशी मित्रहरुको अनुभवमा उद्‍घाटित जीवनका नौला पाटासँगको साक्षात्कारमा हुने रहेछ । म सोभियत संघमा अध्ययन गर्दा मेरो कक्षामा एउटा प्यालेष्‍टिनी साथी थियो- अहमद । छात्राबासमा पनि ऊ मेरो छिमेकी भएकोले हामी प्राय: सँगै हुन्थ्यौं । उसको आफ्नो देश नभएकोले पढाइ सकेर फर्केर जाने उसको कुनै ठाउँ थिएन । निराशाको चरम उद्वेलनमा ऊ कहिलेकाँही अध्यारो कोठामा एक्लै बसेर रुने गर्थ्यो र मलाई भन्थ्यो “तँ कति भाग्यमानी, तेरो आफ्नै देश छ ।” त्यस्तो बेला मलाई आफ्नो देश भएको र उसको नभएकोमा अलिकति ग्लानीबोध पनि हुन्थ्यो । हरेक शनिबार मस्कोमा अध्ययनरत उसका थुप्रै साथीहरु उसलाई भेट्न आउँथे । उनीहरु राति अबेर सम्म यासेर अराफातका भाषणका क्यासेट सुनेर उत्तेजित हुन्थे, राष्ट्रप्रेमले ओतप्रोत गीत गाएर हामीलाई सुत्‍न दिँदैन थिए । ती सवै शरणार्थी थिए । कोही जोर्डनबाट आएका, कोही लेवनानबाट र कोही सिरियाबाट । अध्ययन पछि ऊ शायद जोर्डन फर्कियो र हाम्रो सम्पर्क पनि टुट्यो । तर स्वतन्त्रताको मूल्यलाई चिनाएर नेपाललाई माया गर्न सिकाएकोमा म जहिले पनि अहमदप्रति कृतज्ञ रहनेछु । तराईमा बढ्दो हिंसाले उसलाई फेरी सम्झाइदिएकोछ ।

के हामी अब नेपालको अस्तित्वलाई निमिट्यान्न पार्ने उद्योगमा लागिसकेका हौं ? झट्‍ट हेर्दा भयावह र लामो मानवीय संकट निम्त्याउने समस्या जस्तो देखिए पनि टुक्रिनु र फुट्नुको ‘डोमिनो’ असर हुन्छ – एक पटक सुरु भए पछि तीव्र गतिमा सबै ढलाउँदै लैजाने । नत्र अपराजेय ठानिने सोभियत संघ १५ टुक्रामा त्यति सहजै परिणत हुने थिएन । साम्प्रदायिक रक्तपातले एक समयको शक्तिशाली युगोस्लाभिया झन् झन् खुम्चिएर सर्बियामा मात्र सीमित हुँदा पनि कोसोभोको रुपमा अझै चोइटिने क्रम जारी छ । वातावरणमा जातिविद्वेषको बिष घोलिए पछि सामाजिक सद्‍भाव र निश्छलता सवै भन्दा पहिले घाइते हुन्छन् । मैले कोसोभोवाट ज्यान जोगाएर भागेको एउटा शरणार्थी सर्ब ट्‍याक्सी ड्राइभरलाई भेटेको थिएँ । हिजो सम्म आफन्त झैं लाग्ने अल्बेनियन छिमेकीहरुले उसको घरमा आगो लगाइदिएका थिए । नङ-मासुझैं रहेका छिमेकीहरु कसरी एक्‍कासी सर्ब र अल्बेनियनमा परिणत भएर एक-अर्कालाई समाप्‍त पार्ने घृणित खेलमा सामिल भए ? हातेमालो गरेर नयाँ नेपाल बनाउने बेला हामी पनि खस, जनजाति, मधेसी, पहाडी हुँदै टुक्रा-टुक्रामा बिभक्त हुँदैछौं । एक दशक लामो द्वन्दले जर्जर भइसकेको हाम्रो जस्तो देशलाई झर्‍याम-झुरुम हुन कति समय लाग्ला र ?

तराईका घटनाहरुले मलाई मात्र हैन कुनै समय थाइल्याण्डमा सँगै अध्ययन गरेकी एउटी श्रीलंकाली साथीलाई पनि छक्‍क पारेकोछ । माओवादी समस्यालाई राम्ररी बुझ्नु अघि नै त्यो समाधानको दिशातिर उन्मुख भएको देखेर उसले खुशी हुँदै इमेल पठाएकी थिई “हामीले पनि नेपालबाट शिक्षा लिन सकेको भए !” ऐले जातिय द्वन्दका संकेतहरु देखिएका छन् र उसले चिन्तित हुँदै फेरि लेखेकी छे “हिंसाले जातिय समस्यालाई बढाउने मात्र काम गर्छ भन्ने कुराको उदाहरण श्रीलंका भन्दा अर्को कुन देश हुन सक्छ ?” नेपालीले उसको देशबाट ठीक उल्टो शिक्षा लिइसकेको कुरा लेखेर मैले उसको आत्मसम्मानमा चोट पुर्‍याउन चाँहिन ।

संसदमा पुगेर अपराधीहरुसँग वार्ता गर्नु हुन्‍न, ती प्रतिगामी शक्ति हुन् भन्दै विजयको आत्मश्‍लाघामा लीन अर्काथरिलाई हतियारको भरमा टिकेको शक्ति कति क्षणभंगुर हुन्छ भन्‍ने कुराको यथेष्‍ट प्रमाण मधेसले दिइसकेको हुँदा उनीहरुको अहंकारी ध्वाँस हिजोको बन्दुकको गर्जन झैं कुरुप सुनिन्छ । राजाको निरंकुश शासनमा उग्रराष्ट्रवादीधारले प्रोत्साहन पाएर मधेसको सधैं उपेक्षा भएको सत्य हो । आज तराईका नागरिकले राज्य सञ्‍चालनमा समान अधिकार खोजे र संविधानसभामा सवैको न्यायोचित प्रतिनिधित्व होस् भने त्यो कसरी नाजायज भयो ? असंख्य विरोधाभासले भरिएको कागजको मुठोलाई अन्तरिम संविधान भनेर हतारहतार थोपर्दा अन्याय भएन तर त्यसमा आवश्यक संशोधन होस् भन्दा प्रतिगमन मानिने ? बरु देशभरि जातिय विखण्डनको अंकुरण गरेर र विध्वंसले मात्र नयाँ सृजना हुन सक्छ भन्‍ने भयानक पाठ सिकाएर माओवादीले जुन भुल गरेका छन् त्यसको सजाय मुलुकले हैन तिनले नै पाउनु पर्छ भन्ने मलाई लाग्छ तर उनीहरु झैं हतियार उठाउने हिंसाका कुरालाई भने म कहिल्यै समर्थन गर्दिन । संविधानसभाको निर्वाचनलाई मैले उनीहरुलाई दण्डित गर्ने एउटा माध्यमको रुपमा हेरेकोछु । तराईमा उर्लिएको जनचेतनाको भेलले प्रचण्डपथलाई बगाइदिएपछि पहाडमा समेत पथमा पहिरो जाने सम्भावना त उसै पनि बढेकै छ । हो, अहिले मधेसी आन्दोलनले चाहे झैं त्यो निर्वाचन समावेशी र न्यायपूर्ण हुनुपर्छ । 'पहाडे खस' भनेर जतिसुकै अलग्याउन खोजे पनि म मधेस कै अंग हुँ र त्यो मेरो पनि माग हो ।

अढाईसय वर्षको शाही सामन्तवादको जंजिरलाई विस्तारै तोडेर उन्मुक्तितिर लम्केको मुलुकका शोषित, पीडित सवै वर्गका नेपालीसँग अन्तत: आफ्नो पक्षमा शान्तिपूर्ण ढङ्गले राज्यको समावेशिकरण गर्न सक्ने एउटा अबसर आएकोछ । तर निरंकुश राजा र विद्रोही शक्तिको आतंकवाट मुक्तिको सास फेर्न नपाउँदै मुलुकमा फेरि अर्को डढेलो लाग्ने संकेत देखिएका छन् । संविधानको संशोधन गरेर त्यो आगोलाई बेलैमा नियन्त्रण गरिएन भने त्यसले सर्वनाश निम्त्याउने त निश्‍चितै छ । त्यसबेला म जस्ता पहाडे मधेसी मात्र हैन सम्पूर्ण नेपाली जाति कै पहिचान लोप हुन सक्छ । त्यसबेला म पनि पहाडे-मधेसी-खस-बाहुन-झापाली-नेपालीको समग्र परिचयवाट एकएक गरी मुक्त हुँदै मेरो प्यालेष्टिनी साथी झैं केवल ‘शरणार्थी’ हुनेछु । तर शायद एकचोटि गुमेको देश फेरि फिर्ता नहुने अहमदको जीवनवाट सिकेको पाठले नेपाली पहिचान बिनाको आफ्नो अस्तित्वको म कल्पना समेत गर्न सक्तिन ।

(साभार: कान्तिपुर दैनिक, ५-२-२००७)

No comments:

Post a Comment