डा. जुगल भूर्तेल
आउँदो जुन २७ तारिख बेलायतको प्रधानमन्त्री पदत्याग गर्ने टोनी ब्लेयरको वहुप्रतिक्षित निर्णयले अमेरिकी राष्ट्रपति बुसलाई केही समयका लागि युरोप र अमेरिका भित्रै आफ्ना नीति अनिकुलको जनमत निर्माण गर्न सघाइरहने विश्व स्तरको एउटा प्रतिष्ठित नेताको अभाव खट्कने छ । सन् १९९९ मा सिकागो आर्थिक क्लबलाई संबोधनको क्रममा भूमण्डलिकरणको प्रभावले परिवर्तित परिस्थितिमा अन्तर्राष्ट्रिय समुदायले सार्वभौमतालाई उपेक्षा गर्दै संसारको जुनसुकै तानाशाहीमाथि कारबाही गर्न सक्छ भन्ने नयाँ ‘ब्लेयर डक्ट्रिन’ लाई अघिसारेर शक्तिसम्पन्न राष्ट्रहरुलाई आफ्नो परराष्ट्र नीतिमा पुनरावलोकन गर्न आह्वान गरे देखि टोनी ब्लेयर बेलायतको मात्र प्रधानमन्त्रीमा सीमित रहेनन् । त्यसैले धेरै देशका जनताले उनलाई निर्वाचित नगरेपनि उनको दश वर्ष लामो कार्यकालको मूल्याङ्कन अवश्य गर्नेछन् ।
सवैलाई कायल गराइदिन सक्ने वाक्पटुता भएका र सधैं फरासिला स्वाभावका लेबर पार्टीका नेता टोनी ब्लेयर दुई दशक देखि बेलायतमा एकछत्र शासन गरिरहेको कन्जरभेटिभ दललाई परास्त गर्दै सन् १९९७ मा त्यहाँको प्रधानमन्त्रीमा निर्वाचित हुँदा विश्वको लोकतान्त्रिक समाजवादी समुदाय एउटा करिश्मायुक्त युवा नेतृत्वको उदयले उत्साहित भएको थियो । शित युद्धको समाप्तिपछि खतरनाक ढङ्ले बढिरहेको अमेरिकी आधिपत्यलाई संयमित तुल्याउन सक्ने अन्तर्राष्ट्रिय स्तरको सहजकर्ताको अभाव खट्किरहेको पृष्ठभूमिमा बेलायतमा ब्लेयर जस्ता समाजवादी नेताको आगमन आशलाग्दो थियो । तर दश वर्ष पछि अमेरिकासँगको अति घनिष्ठ सम्बन्ध नै प्रधानमन्त्री ब्लेयरको असामयीक अवकासको कारण र उनको शासनको असहज ‘लिगेसी’ बनेकोछ ।
जनतालाई प्रीतिकर नलागे पनि कालान्तरमा मुलुकलाई फाइदा हुन्छ भने जस्तो सुकै अलोकप्रिय निर्णय लिएर जोखिम उठाउन तयार नेता नै अन्तत: राजनेतामा परिणत हुन्छ भन्ने भनाइले प्रभावित भएर नै हुन सक्छ लाखौं जनताको तीव्र विरोधका बाबजुद अमेरिकाको नेतृत्वमा इराक युद्धमा होमिने निर्णय गर्दा ब्लेयरले त्यस्तै महत्वाकांक्षा देखाएका थिए । तर सेप्टेम्बर ११ पछि हठात् बदलिएको अन्तर्राष्ट्रिय परिस्थितिमा ‘आतंकवाद विरुद्धको युद्ध’ को नाममा उनले बेलायतको विदेशनीतिलाई आफ्ना अभिन्न मित्र अमेरिकी राष्ट्रपति बुसलाई समर्पित गरिदिए पछि बेलायतको अन्तर्राष्ट्रिय शाख त गिर्यो नै उनले पनि ‘बुसको पुडल’ बनेको अपमानजनक उपाधि पाए । खुम्चिएर एउटा सानो टापुमा सीमित हुँदा पनि आफू ‘ग्रेट’ नै रहेको भ्रमलाई कायम राख्न ब्रिटेनलाई अमेरिकासँग टाँसिएर ठूलो देखिनु जरुरी छ र त्यही भू-राजनीतिक बाध्यताले बेलायतको परराष्ट्रनीतिलाई निर्देशित गरेकोछ ।
नयाँ ‘ब्लेयर डक्ट्रिन’ लाई स्थापित गराउने क्रममा उनले युगोस्लाभियामाथि नाटोद्वारा हस्तक्षेप गर्न संयुक्त राष्ट्र संघ र अमेरिकालाई प्रेरित गरेका थिए । कोसोभोको हस्तक्षेपलाई मानवोचित नै माने पनि बेलग्रेडमाथि भएको युरेनियमयुक्त बमको अविवेकी वर्षा, त्यहाँका रासयनिक कारखानालाई ध्वस्त गरेर उत्पन्न भएको पर्यावरणीय क्षति आफैंमा मानवताविरोधी अपराध थियो । अझै पनि अन्तर्राष्ट्रिय भू-राजनीतिमा पर्न सक्ने दूरगामी प्रभावलाई वास्तै नगरी कोसोभोलाई सर्बियाबाट छुट्याउने प्रयास भइरहेकोछ । तर युगोस्लाभियालाई यसरी तहसनहस पारिँदा पनि विश्व समुदाय मौन रहेकोले अमेरिका-बेलायत गठबन्धनले आफूलाई मन नपर्ने शासनमाथि एकलौटी ढङ्गले अतिक्रमण गर्ने अन्तर्राष्ट्रिय स्वतन्त्रता पाए झैं भएकोछ । संयुक्त राष्ट्र संघलाई उपेक्षा गर्दै इराकमाथिको गरिएको आक्रमण त्यसको सवै भन्दा ज्वलन्त उदाहरण हो ।
‘इराकी जनतालाई मुक्त गर्न’ गरिएको युद्धले इराकमा अपेक्षा गरे झैं शान्ति त स्थापित भएको छैन तर त्यसले मध्यपूर्वमा बढाइदिएको राजनैतिक अस्थिरताले संसार र स्वयं बेलायत नै असुरक्षित बनेकोछ । र, बेलायतका जनताले युद्धप्रति देखाएको अरुचि आफ्ना नेताको महत्वाकांक्षी निर्णय भन्दा बढी दूरदर्शी ठहरिएकोछ । त्यहाँको जनताले उसको नेतामा संकटको मुल्याङ्कन गर्न सक्ने अन्तरज्ञानको अभाव रहेछ भन्ने त बुझ्यो नै, सद्दामसँग ४५ मिनेट भित्र मानवतालाई समाप्त गर्ने आणविक र जैविक हतियार बनाउने क्षमता भएको प्रतिवेदन कपटपूर्ण ढङ्गले आक्रमण गर्न सृजना गरिएको पनि सावित भएपछि त ब्लेयरप्रतिको जनविश्वास धरासयी भयो । त्यस अर्थमा अनन्त संभावना बोकेर अन्तर्राष्ट्रिय जगतमा उदाएका टोनी ब्लेयर पनि सेप्टेम्बर ११ को आतंक कै अर्का सिकार हुन् भन्दा अत्युक्ति हुँदैन ।
विश्लेषकहरु उत्तरी आयरल्याण्डमा शान्ति स्थापनामा पाएको आंशिक सफलता र बेलायतको अर्थतन्त्रमा देखिएको गतिशिलतालाई उनको शासनका सकारात्मक पदचिन्ह मान्छन् । उनको शासनकालमा रोजगारीमा बृद्धि, अपराध नियन्त्रण, शिक्षा, स्वास्थ्य, आर्थिक बृद्धिदर र बेलायती मध्यम बर्गीय जनताको जीवनस्तरमा आएको सुधार आदि तथ्यले ब्लेयरलाई घरेलु इतिहासमा एउटा सफल प्रधानमन्त्रीको रुपमा स्थापित गर्न सक्ने दाबी गरिन्छ । सन् १९८३ मा ३० वर्षको कलिलो उमेरमा पहिलो पटक लेबर पार्टीको तर्फवाट सासंदमा निर्वाचित हुँदा उनको दलले उद्योगको राष्ट्रियकरण तथा एकतर्फी आणविक निशःस्त्रीकरण गर्ने जस्ता क्रान्तिकारी घोषणा गरेको थियो । तर उनको उत्कर्षसँगै दलका समाजवादी अवधारणाहरु बजार अर्थतन्त्रको चेपुवामा पर्दै गए र ‘नयाँ लेबर’ को जन्म भयो । “सामाजिक न्याय सहितको आर्थिक प्रगति” को ‘तेस्रो बाटो’ रोजेर आएका प्रधानमन्त्रीले आर्थिक बृद्धीदरमा उल्लेखनीय उपलब्धी हाँसिल गर्न सके पनि बेलायतभित्रै जन्मिएका आतंकवादी समुह, जातीय सद्भावनामा आएको ह्रास तथा धनी र गरिबविचको निरन्तर बढेको खाडलले सामाजिक न्यायको क्षेत्रमा भएका प्रगतिपनि शंकास्पद देखिन्छन् ।
“स्वच्छ भन्दा पनि स्वच्छ शासन” दिने दाबी गर्दै सत्तामा आएका ब्लेयरले लेबर पार्टीको कोषाध्यक्षलाई समेत थाहा नदिई चन्दा स्वरुप ठूलो रकम लिएर धनीव्यक्तिहरुलाई हाउस अफ लर्डस् मा मनोनयन गर्न खोजेको आरोपमा स्कटल्याण्ड यार्डद्वारा सोधपुछ गरिने बेलायतको पहिलो प्रधानमन्त्री हुने संदेहास्पद गौरव पनि प्राप्त गरे । इराक युद्धसँग सम्वन्धित छानविनको क्रममा सरकारका सुरक्षा सल्लाहकार डेभिड केलीले गरेको आत्महत्या प्रकरणले पनि उनलाई पछ्याइरहनेछ । पछिल्लो जनमत अनुसार ब्लेयरको कार्यसम्पादनवाट २६% बेलायतीहरुमात्र सन्तुष्ट देखिन्छन् । सन् १९६० पछि लेबर पार्टीका अरु कुनै प्रधानमन्त्रीको जनसमर्थन त्यसरी गिरेको थिएन । तीन-तीन पटक कन्जरभेटिभ पार्टीलाई परिजित गरेर इतिहास बनाएका नेताको दलले यसै महिना लण्डन लगायत अन्य ठाउँमा भएको स्थानीय निर्वाचनमा ठूलो पराजय भोग्नु पर्यो ।
यसरी घरेलु र अन्तर्राष्ट्रिय दुवै मोर्चामा अपेक्षित सफलता हात नलागेपछि ब्लेयरको पलायन स्वभाविक थियो । इतिहासले इराकको सम्झना गर्दा जर्ज बुससँगै उनलाई पनि सम्झने छ । दुवैको संयुक्त प्रयासले वर्तमान शाताव्दी झन् असुरक्षित, हिंसक र असहिष्णु भएकोछ । अन्तर्राष्ट्रिय जगतमा सकारात्मक छाप छोड्ने अन्तिम अवसर उनलाई यही जुन महिनामा जर्मनीमा हुने जी-८ शिखर बैठकले दिनेछ । ब्लेयर कै अथक प्रयासले पछिल्लो समयमा चीन, भारत, ब्राजिल, मेक्सिको र दक्षिण अफ्रिकालाई शिखर बैठकमा आमन्त्रित गर्न थालिकोछ । आगामी बैठकमा यी पाँच विकासोन्मुख राष्ट्र र अमेरिकालाई समेत संलग्न गरी वातावरण परिवर्तनलाई नियन्त्रण गर्न नयाँ बृहत सम्झौता हुने अपेक्षा गरिएकोछ । त्यसो हुन सक्यो गयो भने विश्व समाजवादी आन्दोलनका उनका पुराना मित्रहरुले उनको बिचलन केही हदसम्म बिर्सेलान् की?
(साभार: कान्तिपुर दैनिक)
Wednesday, June 25, 2008
टोनी ब्लेयरको एक दशक
अनुभूतिको छालमा रुसको जाडो, यल्तसिन र गिरिजा बाबु
डा. जुगल भूर्तेल
म धेरै बर्ष भयो विदेशिएको, तर नेपाली माटोमा खै कस्तो आकर्षण छ कुन्नि त्योसँग छुट्टिने बेला सँधैं मलाई नरमाइलो पीडाले गाँजेर ल्याउँछ । यस पटक त झन् म हिँड्ने क्षण त्रिभूवन विमान स्थलमा झलमल्ल लागेको पुषको न्यानो घामले मुलुक र परिवारसँग बिछोडिनुको पीडालाई ज्यादै चर्काइदियो । मस्कोमा अझै तीन-चार महिना ‘घामका पाइलाहरु’ देखिने छैनन् भन्ने मलाई राम्ररी थाहा थियो । नोभेम्वर वाट नै आक्कल-झुक्कल देखिने सूर्य भगवानको दर्शन डिसेम्वर तिर आइपुग्दा दुर्लभ घटना नै बन्छ । आकाशवाट एकनाशले फुस-फुस झर्ने हिउँले ढाकेर सेतै फूलेको दृष्टिभ्रम दिने बृक्षहरुले अनौठो सौन्दर्यको आभाष दिलाए पनि निरन्तर हिमपात हुन थालेपछि सहरको कुरुपता बढ्दै जान्छ । सडकवाट हिउँ सफा गर्दा गर्दा आजित भएको नगरपालिकालाई एक्कासि बढ्ने सडक दुर्घटनाले झन् ठूलो समस्या थपिदिन्छ । बाक्ला लुगा लगाएर मरुभूमीको बालुवा झैं असरल्ल थुप्रिएको हिउँमा हिँड्नु पर्ने वाध्यताले साधारण मान्छे पनि लखतरान परिसकेको हुन्छ । जमेको हिउँमा चिप्लेटी खेलेर रमाउने बालक पनि त्यो पग्लिएर हरियाली छाउने दिन गन्न थाल्छ । सवै गृष्म ऋतुको आगमनको ब्यघ्रतापूर्वक प्रतीक्षा गर्न थाल्छन् । हिउँ सुक्दै गएपछि रुखमा पलाउने टुसाहरुले जीवनको निरन्तरताको संदेश दिन्छन् । शरीरमा लगाएका लुगाहरु क्रमश: घट्दै जान्छन्, मानिस छिटो-छरितो हुन्छ र सहर बिस्तारै शीतनिष्क्रयतावाट मुक्त हुँदै आउँछ । मस्को गए पछि मलाई बोध भयो हरियाली वास्तवमै जीवनको प्रतिक रहेछ ।
तर ऐले त म काठमाण्डौ वरिपरिका हरिया डाँडाहरु र न्यानो घामलाई छोडेर हिँउको सेतो मरुभूमीमा फर्कदै थिएँ । त्यसैले शरीर उडेर मस्को गइरहेको भएपनि मन भने घरिघरि नेपाल नै फर्किरहेको थियो । मन र शरीरको यही उहापोहबीच आएको सूचनाले म झसंग भएँ “विमान मस्कोमा अवतरण गर्न लागेकोछ । ऐले स्थानीय समय अनुसार बिहानको आठ बजेकोछ । वायुको तापक्रम माइनस ३२ डिग्रिसेन्टिग्रेड भएकोले जाडोवाट बँच्नु होला । तपाईंको मस्को यात्रा सुखद रहोस् ।” “माइनस ३२!?” मेरो आतंक र विस्मय मिश्रित प्रश्न सुनेर रुसी परीचारिकाले मुस्कुराउँदै भनिन् “दा, भ’एतम गादु ओचिन खोलद्ना (हो, यो बर्ष धेरै जाडो छ)।” तर त्यो क्षण म उनको मुस्कानको सौन्दर्यले मुग्ध हुने मनस्थितिमा थिइन । आफ्नो शरीरको एकसरो लुगालाई छामेर म ज्यादै त्रसित भएको थिएँ । रुसको जाडो विश्व प्रशिद्ध भए पनि मस्कोमा विरलै यति चिसो हुने गर्छ । जसोतसो आफूलाई विमानस्थलमा लिन आएको गाडीमा चढेर सहरतिर गुड्दा पन्ध्र वर्ष अघि एक पटक यसरी नै माइनस ३५ डिग्रिसेन्टिग्रेडलाई झेलेको सम्झना आयो ।
म त्यस बेला गरीव बिद्यार्थी थिएँ र मस्कोको एउटा थोत्रो छात्रावासमा बस्थेँ । भरखरै सोभियत संघको अस्त भएर स्वतन्त्र राष्ट्रको रुपमा उदाएको रुस महासंघको हालत त्यो अकिञ्चन छात्रावास भन्दा गतिलो थिएन । एउटा राज्य-ब्यवस्थाको पतन भएर अर्को बनिनसकेको हुँदा सम्पूर्ण आर्थिक र सामाजिक संयन्त्रहरु तासको घर झैं एक पछि अर्को गर्दै धरासायी हुँदै थिए । हिजो सम्म बेच्ने सामानले खचाखच भरिने पसलहरु अचानक खाली भएका थिए । हामी भिँडसँग कुस्ति खेलेर पाउरोटी किन्थ्यौं र चामल पाएको दिन साथीहरु बोलाएर भोज खान्थ्यौं । सरकारले बजेट दिन छाडेर छात्रावासको आवश्यक मरमत संभार हुनसकेको थिएन । पानीको पाइप फुटेर ट्वाइलेट, बाथरुम हुँदै करिडोर नै छताछुल्ल हुने घटनासँग हामी अभ्यस्त भइसकेका थियौं । कोठाहरु तताउन प्रयोग हुने तातोपानी युक्त केन्द्रीय हिटिङ् प्रणालीको मरमत नभएको पनि शायद बर्षौं भएको थियो, तर त्यसले अझै आफ्नो धर्म नछाडेको हुँदा कोठामा चाहीँ जनवरी महिनामा पनि न्यानो नै हुन्थ्यो । तर एकदिन हठात् थर्मामिटरले माइनस ३५ देखायो । हिटिङ् पाइपको मनतातो पानी नै जमिदियो र सम्पूर्ण प्रणाली काम नलाग्ने भइदियो । सवैले इलेक्ट्रिक हिटर बाल्न थालेपछि एक्कासी ह्वात्तै बढेको मागलाई धान्न नसकेर होस्टलको बिजुली पनि बन्द भयो, हाहाकार नै मच्चियो । केही दिन सम्म हामी यस्तै अस्तब्यस्तता बीच बाँच्न बाध्य भयौं । एयरपोर्टवाट घरतिर फर्कंदा पुन: त्यस्तै अवस्था झेल्नु पर्ने सम्भावना भएको बेला नेपाल छोडेर आएकोमा म आफूलाई धिक्कारी रहेको थिएँ ।
तर मेरो गाडी जति जति मस्को सहर भित्र छिर्दै गयो उति उति म सुखद आश्चर्यले ओतप्रोत हुँदै गएँ । सहरमा कतै पनि हिउँ थुप्रिएर आवागमनमा असुविधा भएको थिएन । सहर सफा गर्ने संयत्रले आफ्नो काम चुस्तरुपले गरिरहेको संकेत थियो त्यो । मानिसको चहल-पहलमा कुनै कमी देखिएन । न स्कुल बन्द थिए, न त कार्यालयहरु नै । जीवन त्यति नै ब्यस्त थियो जति डेढ करोड जनसंख्या भएको सहरमा हुनु पर्छ । पन्ध्र बर्ष अघि झैं अपार्टमेन्टमा बिजुली गएको र हिटिङ् सिस्टम जमेर घरै हिउँमय भएकोछ कि भनेर म डराइ डराइ भित्र छिरे । तर अचम्म ! पुर्ण क्षमतामा काम गरिरहेको हिटरले गर्दा कोठामा गर्मी पो रहेछ । मैले अलिकति झ्याल खोलेर चिसो हावा पस्न दिएँ ।
एक हप्ता सम्म जाडोले घट्नै मानेन । स्वभाविक रुपले विद्युत खपत झन्-झन् बढ्दै गयो । एक दिन टीभीमा सुने मस्को सहरको विद्युत आपुर्ति दोब्बर बढेर १६ हजार मेगावाट पुगेछ । “सोह्र हज्जार मेगावाट!!” फेरि अर्को संख्याले मलाई विस्मित बनायो । छ सय मेगावाट बिजुली उत्पादन गर्न नसकेर लोडसेडिङ् झेलिरहेको मुलुकवाट भरखरै आएको हुँदा मलाई एउटा सहरको त्यो अजंङ्गको विद्युत आपुर्ति र माग दोब्बर हुञ्जेल पनि सहजै धान्न सकिरहेको विद्युत प्रणालीले आश्चर्यचकित बनाउनु स्वभाविक थियो । नेपालका १८% जनताले मात्र बिजुलीको उपयोग गर्न पाएका छन् । त्यो पनि सवै भन्दा अत्यावश्यक क्षणमा घरि-घरि निभ्ने गर्छ । बिकसित मुलुकमा बिजुली विनाको राष्ट्रिय जीवनको कल्पना पनि गर्न सकिन्न । विद्युत र बिकासको अन्योन्याश्रित सम्वन्धलाई विचार गरेर नै लेनिनले रुसको विद्युतिकरणलाई योजनाबद्ध बिकासमा मुख्य प्राथमिकता दिएका थिए । विद्युतिकरण कार्यक्रमको अभूतपूर्व सफलताले ठूला ठूला कारखानाहरुको निर्माणमा सहयोग पुग्यो, राष्ट्रिय उत्पादनमा ब्यापक बृद्धिभयो र देश विस्तारै बिकसित भयो । हाम्रो देश जलश्रोतमा त्यति धनी भएर पनि हामीले असाध्यै महँगो बिजुली उपयोग गर्नु परिरहेकोछ । रुसमा झैं झण्डै नि:शुल्क र सर्वसुलभ भए नेपालमा पनि उद्योग धन्दा खुल्थे होलान्, रोजगारीका अवसर बढ्थे होलान् । केही नभए पनि जाडोमा मान्छेले निर्धक्क भएर हिटर ताप्न त पाउँथे । अब त द्वन्दले गर्दा नयाँ सृजना अवरुद्ध मात्र भएको छैन भएका संरचनाहरु पनि क्रमश: ध्वस्त हुँदै छन् । मुलुकको बिकास यति पर धकेलिएकोछ की अझैं केही दशक सम्म हरेक पुष-माघमा हाम्रा मुटुहरु यसरी नै कामिरहने निश्चित छ ।
पन्ध्र बर्ष अघि म विद्यार्थी छँदाको र ऐलेको मस्कोमा आएको अन्तरलाई यस पटकको जाडोले राम्रैसित उजागर गरिदियो । रुस र नेपालमा लगभग एकै समयमा प्रजातन्त्र आएको थियो । प्राकृतिक श्रोतमा तुलना गर्न नमिले पनि अधिनायकिय ब्यवस्थाको प्रहारले निस्तेज भएको अर्थतन्त्र तथा राजनैतिक अन्योलले दिशाहीन भएका दुवै मुलुकमा भरखर आएको प्रजातन्त्रका चुनौतिहरु समान थिए । भ्रष्टाचार, आतंकबाद, बेरोजगारी, जनताका असीमित आकांक्षाहरु र सर्वब्यापी ‘मिसम्यानेजमेण्ट’ रुसका प्रथम राष्ट्रपति बरिश यल्तसिनले पुश्तैनी सम्पतिको रुपमा पाएका थिए । टाटउल्टिसकेको साम्यवादी अर्थतन्त्रलाई पुँजीवादी अर्थतन्त्रमा परिवर्तन गर्ने इतिहासमा कहिल्यै नभएको नौलो प्रयोग गर्नु पर्ने ठूलो चुनौति थियो उनलाई । पुँजीवादको सुक्षमतासँग अनभीज्ञ रुसीहरुलाई विश्व बैंक र विशेषगरी अन्तर्राष्ट्रिय मुद्रा कोषका ‘कन्सल्ट्याण्ट’ ले जे सिकाए त्यही गर्दै जाने बाध्यता थियो । त्यसमाथि पटक-पटक लिएको ऋणले रुसलाई तिनीहरुको दाश जस्तै बनाइ सकेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले ‘सफ्ट लोन’ रुपी हतियारले विकासोन्मुख देशको सार्वभौमसत्ता कै घाँटी रेट्ने गरेको हामी आफैंले पनि अनुभव गरेका छौं । मुद्रा कोषका हारवार्ड ‘ट्रेण्ड’ बिशेषज्ञहरुलाई निजिकरणको मन्त्रले ब्रेजनेभको पालादेखि गतिहीन भएको अर्थतन्त्रका सम्पूर्ण रोगहरुको निवारण हुने भ्रम थियो । उनीहरु येल्त्शिनलाई दशकौं देखि सरकारी स्वमित्वमा रहेका उद्योग-धन्दाहरु निजी क्षेत्रलाई नदिए पश्चिमी विश्ववाट पुँजी र राजनैतिक समर्थन नआउने त्रास देखाइरहन्थे । फलस्वरुप राष्ट्रिय सम्पतिलाई रातारात निजिकरण गर्ने अत्यन्तै अदूरदर्शी निर्णयहरु भए । मुलुकका गौरवको रुपमा चिनिने कल-कारखानाहरु या त बन्द गरिए या ब्रम्हलुटमा परे । तर राष्ट्रिय सम्पतिको असमान बितरणले आर्थिक बृद्धि हुनुको सट्टा राजनैतिक र सामाजिक द्वन्दको स्थिति आयो । अन्तर्राष्ट्रिय मुद्रा कोषको दबावमा अर्बौं डलर ऋण लिएर रुवलको भाउलाई स्थिर राख्न गरिएको प्रयासको असफलताले अन्तत १९९८ मा रुवल सँगै रुसको अर्थतन्त्र पनि धरासायी भयो । नोवेल पुरस्कार बिजेता अर्थशाष्त्री जोसेफ स्टिगलिट्जले आफ्नो ‘ग्लोवलाइजेशन एण्ड इट्स डिसकन्टेन्टस्’ भन्ने पुस्तकमा अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसमा गरेका रुपान्तरणका प्रयासहरुलाई यस शताब्दी कै सबै भन्दा असफल आर्थिक प्रयोग भन्दै “मार्कसिज्मलाई प्रतिस्थापन गर्न अघि सारिएको ‘मार्केट फण्डामेन्टलिज्म’ पनि पूर्णरुपले असफल सिद्ध” भएको घोषणा नै गरिदिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अर्थशाष्त्रीहरुले रुसले आर्थिक सुधार मात्र हैन सामाजिक रुपान्तरण पनि खोजेकोछ भन्ने कुराको भेउ पाउनु अगावै राष्ट्रिय बैभव तहसनहस भएर देश आर्थिक र सामाजिक दुवै क्षेत्रमा अत्यन्त कमजोर भइसकेको थियो । मार्कसिज्मलाई समाप्त गर्ने एकोहोरो प्रयासले ‘सबैका लागि शिक्षा र स्वास्थ्य’ जस्ता सकारात्मक समाजवादी अवधारणाहरु पनि क्षतिग्रस्त भए । भरखरै सर्वहाराको अधिनायकवादबाट मुक्त भए पनि कम्युनिष्टहरुको जनतामा अझै राम्रै पकड रहेकोले स्वतन्त्र रुसको संसदमा उनीहरुकै बोलवाला थियो । उनीहरुले यल्तसिनको सरकारलाई असहयोग मात्र गरिरहे, कामै गर्न दिएनन् । घरि-घरि प्रधानमन्त्री फेरिइरहन्थे । संसद भवनमा तोपले हानेर बिद्रोहलाई दबाउने आपराधिक काम पनि भयो । यल्तसिनको दोस्रो कार्यकालमा सामाजिक असन्तुष्टी झन् बढ्दै गयो । राजनैतिक दलहरु एकअर्कालाई ‘प्रजातन्त्रवादी’ भनेर गाली गर्थे । सामाजिक असन्तुष्टी, राजनैतिक बिरोध, चिचेन आतंक, क्षेत्रिय बिखण्डन, संसदको महाभियोग, अर्थतन्त्रको गहिरिँदो संकट आदिलाई झेल्दा झेल्दा एकातिर यल्तसिनको स्वास्थ्य बिग्रन थाल्यो भने अर्कातिर उनको ब्यक्तिगत लोकप्रियता लगभग शुन्यमा झर्न पुग्यो । अनि एक दिन उनले आफ्ना सवै असफलताकोलागि रुसी जनतासँग क्षमा याचना गर्दै आफ्नो पदवाट राजिनामा दिने ऐतिहासिक घोषणा गरे । मृत्यु भएर वा अपदस्त गरिएर मात्र राष्ट्र प्रमुखहरु परिवर्तन हुने परम्परामा बानी परेका रुसी जनताको लागि त्यो एउटा अनौठो घटना थियो । भरखरै ७५ औं जन्मदिवस मनाएका यल्तसिनको राजनैतिक ‘लिगेसी’ को मुल्याङ्कन गर्दा सामाजिक र आर्थिक संकटका जम्मै प्रहारलाई साहसपूर्वक सामना गरेर उनले आफ्ना उत्तराधिकारीको निम्ति मुलुक चलाउन सहज स्थितिको सृजना गरिदिएको कुरालाई ठूलो महत्व दिइएकोछ । यस अर्थमा यल्तसिनले स्वतन्त्रतालाई रुसी जनताको जीवन पद्धति र मुलुकलाई बिखण्डनको संघारवाट जोगाउँदै पुन: एउटा समृद्ध महाशक्ती राष्ट्र बनाउने दिशा तिर डोहोर्याएर इतिहासले आफूलाई सुम्पेको भूमिकालाई इमान्दारिपूर्वक निभाएको मानिनेछ ।
यल्तसिनको तुलनामा २०४६ पछिको प्रजातान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका समस्याहरु थोरै र सहजै समाधान गर्नसकिने खालका देखिन्थे । उहाँले पनि प्रजातन्त्रको पहिल्यै चरणमा यल्तसिनले झैं विश्व बैंक जस्ता संस्थाहरुको दबावमा पार्टीको समाजवादी एजेण्डालाई परित्याग गरेर अलोकप्रिय आर्थिक निर्णय गर्नु पर्यो, बामपन्थीहरुको जगजगी भएको संसदलाई झेल्नु भयो । उहाँ प्रधानमन्त्री हुन नपाउँदै कर्मचारीहरु भद्रकालीमा भोकहडताल भनेर लम्पसार परिदिन्थे, पचास-पचास दिन सम्म संसदको कार्यवाही ठप्प हुन्थ्यो । तर यल्तसिनसँग उहाँको तुलना त्यहीँ समाप्त हुन्छ । मुलुकका समस्याको त कुरै छोडौं गिरिजा बाबुले आफ्नै दलको व्यवस्थापन पनि गर्न सक्नु भएन । थुप्रै पुस्ताको बलिदानको गौरबशाली इतिहास बोकेको र ‘बीपीको सपनाले’ बाँधिएको नेपाली काँग्रेसले दु:खदायी बिभाजनलाई भोग्नु पर्यो, जुन कालान्तरमा प्रजातन्त्र खोसिने एउटा प्रमुख कारण बन्यो । आफू अलोकप्रियताको शिखरमा भएर पनि परिवारका चाटुकारहरु र भ्रष्ट कार्यकर्ताको साँघुरो घेरावाट बाहिर निस्किएर गिरिजा बाबुले येल्त्शिनले झैं राजनीतिवाट सन्यास लिएर आफू भन्दा सबल नेतालाई नेतृत्व हस्तान्तरण गर्ने साहस देखाउन सक्नु भएन । फलस्वरुप शेर बहादुरले ‘बिद्रोही युवा नेता’ बन्ने मौका पाए र प्रजातन्त्रको ‘टर्च’ लाई उहाँको हातवाट खोसेर दरबारमा बुझाइ दिए । त्यो अब कति पुस्ताको बलिदानले फिर्ता हुने हो कसलाई थाहा ?
हामी भन्दा ठूला-ठूला राजनैतिक घटना र सामाजिक उतार-चढाव भोगेर रुस ऐले कहाँ पुगेकोछ । तेलको भाउ बढेर अर्थतन्त्रले अनपेक्षित नयाँ श्रोत पाएको भए पनि देशलाई हाँकेर लैजान सक्ने आत्मविश्वास, चिन्तन र इतिहासको विवेक भएका राजनेताहरु नभएका भए रुसमा सबै क्षेत्रमा यति चाँडै बिकासका सकारात्मक संकेत देखिने थिएनन् । भरिँदै गएको राष्ट्रिय ढुकुटी र ६.५% को आर्थिक बृद्धि दरले देशको आत्मविश्वास बढेकोछ । अन्तर्राष्ट्रिय मुद्रा कोषको मात्र हैन बिदेशी ऋणबाट नै मुक्त हुन आँटेको रुसले विश्व मञ्चमा आफ्नो पुरानो प्रतिष्ठा हाँसिल गर्दै गएको यथार्थ कसैवाट लुकेको छैन । इस्लामिक संसारसँगको अन्तरक्रियामा पश्चिमले अब रुसलाई समावेश नगरी नहुने स्थिति छ ।
डेढ दशक पछि हाम्रा समस्याहरु भने झन् बिकराल भएर गएका छन्, मुलुक गरीवी, द्वन्द र प्रतिगमनको दलदलमा नराम्ररी फँसेकोछ । सपना त हामीले पनि शान्ति र समृद्धी कै देखेका थियौं तर खै कहाँ के गडबड भयो ? यस पटक जाडो भरि मस्कोको मेरो कोठामा त न्यानो नै हुनेछ तर मातृभूमीले भोगिरहेको पीडाले आहत भएर मन भने यसरी नै घरि-घरि कठ्याङरिरहने छ ।
(वातावरणविद डा. भूर्तेल मस्कोमा बसोबास गर्छन् )
साभार: कान्तिपुर दैनिक
दक्षिणतिरका आतंकवादी
डा. जुगल भूर्तेल
पुर्खाहरुले नेपालीलाई अनुशासित, इमानदार र असाध्यै मेहेनती जातिको रुपमा संसार भरि चिनाइदिएका थिए । गोर्खा सेनाको बहादुरी र शेर्पाहरुको विलक्षण साहसका कथा सुनेका विदेशीहरु नेपालवाट आएको भन्नासाथ सुखद आश्चर्यले ओतप्रोत हुँदै आदर गरेजस्तो गर्थे । हङ्कङ्, जर्मनी लगायत धेरै देश जान नेपालीलाई भिसा नै चाहिँदैन थियो । स्वेच्छाले वा बाध्यताबस देश छोडेर हिँडेका नेपालीहरुको संख्या विदेशमा अहिले जति बढेको भएपनि तिनले शान्त र असल जातिको परिचयलाई अझै जीवन्त राखेका छन् तर विदेशीहरुको सहृदय व्यवहार अब बिरलै मात्र देख्न पाइन्छ । हालै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट भएर सिएनएन हङ्कङ्मा प्रड्युसरको जागिर पाएकी एउटी अक्सफोर्ड ग्य्राजुएट बहिनीलाई नेपाली भएकै कारण त्यहाँको श्रम स्विकृति लिन महिनौं संघर्ष गर्नु पर्यो । जर्मनीको भिसा पाउन झन् गाह्रो छ, दिए नै पनि नेपाल आएको दिन राजदुताबासमा ‘म फर्केर आएँ है’ भनेर रिपोर्ट गर्नु पर्ने । के जर्मनीको बिमानस्थलको रेकर्डले त्यो देश छोडेको देखाउँदैन र ? म पछिल्लो पटक ड्युसेलडर्फवाट सिधै मस्को उडेकोले काठमाण्डौ स्थित जर्मन दूतावासमा अझै हाजिर भएको छैन । हुन सक्छ त्यही कारणले मलाई फेरि भिसा नदिइयोस् ।
पहिलो पटक अमेरिका जाँदा काठमाण्डौंको अमेरिकी दूतावासकी महिलाले भनेकी थिई “तिमी ब्राउनवाट फर्कन्छौ भन्ने त मलाई विश्वास छैन तर पनि म तिमीलाई भिसा दिन बाध्य छु ।” ब्राउन अर्थात अमेरिकाको प्रतिष्ठित आइभी लिग युनिभर्सिटीमा प्रवेश गरेपछि एउटा साधारण नेपाली युवक फेरी घर फर्केर आउँदैन भन्ने अमेरिकी अनुमान आश्चर्यजनक नहोला तर म आफ्नो सम्पूर्ण परिबारलाई नेपाल मै त्यागेर अमेरिकी सपनाको खोजीमा उतै हराउँनेछु भन्ने उसको ठहर मलाई असाध्यै आपत्तिजनक लागेको थियो ।
आजकल नेपालीले कदाचित भिसा पाइहाले पनि हातले लेखेको नेपाली राहदानी देख्ने बित्तिकै पश्चिमी जुनसुकै मुलुकको अध्यागमन अधिकारीले अलिकति वक्रदृष्टिले हेरिहाल्छ “नक्कली पो हो की ?” बेलायतको गैरआवासीय नेपाली संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भागलिन जाँदा लण्डनको हिथ्रो बिमानस्थलमा अंग्रेजी मूलको अधिकारीले त मलाई “तिमी लण्डन किन आउँछौ ?” भनेर नै सोध्यो । ‘तिम्रो आफ्नै देश छँदैछ नि किन घरिघरि मेरोमा आउँछौ’ भने झैं लाग्ने त्यस्तो अनौठो सोधाइवाट मैले के अनुमान लगाएँ भने म लण्डन आएको उसलाई मन परेको थिएन । शायद त्यसै आसयको प्रश्नले त्यही कार्यक्रममा भाग लिन जानु भएका रामचन्द्र पौडेल, आनन्द ढुङ्गाना, डा. मिनेन्द्र रिजाल, प्रदीप नेपाल, गगन थापा, कृष्ण बहादुर महरा, शशी श्रेष्ठ आदि नेतागणको पनि आनादर गरियो की भन्ने सम्झेर मलाई बडो असहज लागिरह्यो ।
कम्युनिष्टहरुले सत्तरी वर्ष सम्म अन्तर्राष्ट्रियवाद सिकाएको दावी गरे पनि रुसमा अहिले देखिएको उग्रराष्ट्रवाद र बढ्दो ‘जेनोफोबिया’ ले उनीहरुको शिक्षा कति कमजोर रहेछ सिद्ध भएकोछ । त्यसैले माथिका जस्ता घटनाहरु रुसमा घटि नै रहन्छन् । हुन त सवै विमानस्थलमा रुसीहरुको हामी जस्ता दक्षीण एसियाली विदेशीप्रति उस्तै व्यवहार हुन्छ तर त्यस मामलामा शेरेमेत्येभाको अलि विशेष स्थान छ । एक पटक अमेरिकामा बसोवासरत गैरआवासीय नेपालीहरुको सिकागो सम्मेलनमा भागलिन उड्ने क्रममा म त्यो विमानस्थल स्थित लुफ्थान्साको चेक-इन काउन्टरमा पुगें । “ए, नेपालवाट ! तपाईंको मुलुकलाई विशेष ध्यान दिने आदेश भएकोले तपाईंको कागजात जाँच गर्न एकछिन पर्खनु पर्छ ।” माओवादी द्वन्दले हाम्रो देशको प्रशिद्धिलाई शिखरमा पुर्याइदिएकोले अमेरिकालाई आजकल म जस्ता मान्छे संभावित आतंकवादी झैं लाग्छन् र त्यही आधारमा विमानस्थलमा पनि व्यवहार हुन्छ । लुफ्थान्साको एउटा कर्मचारीले ‘किन अमेरिका जाने ? अमेरिकामा कहाँ बस्छौ ? भिसा कसरी पायौ ?’ आदि यावत प्रश्नले धेरैबेर हायल-कायल पारेर अन्तमा मलाई बोर्डिङ् पास दिइयो ।
अध्यागमनको अर्को परिक्षावाट गुज्रिनु थियो त्यसैले गह्रौं पाइला चाल्दै अध्यागमन डेस्ककी युवतीको अगाडी पुगें । “नेपालवाट !” मानौं कुनै आतंकवादीलाई सशरीर अगाडि देखे जस्तो गरेर आत्तिँदै उसले हाकिमलाई फोन गरी “सेर्गेइ, मेरोमा नेपाल आयो, के गरुँ ?” जहाजमा बोर्डिङ् सुरुहुन केही मिनेट मात्र बाँकी रहेकोले मलाई अलि हतार थियो तर सेर्गेइ नआई युवतीले केही नगर्ने लक्षण देखाई । ऊ बल्ल-बल्ल आयो र सोध्यो “अमेरिकामा के गर्छौ ?” मैले आफू नेपाली डायास्पोराको सम्मेलनमा भागलिन जानलागेको बताएँ तर उसले मलाई नपत्याए झैं गरेर भन्यो “निमन्त्रण-पत्र छ ? अंग्रजी बोल्न जान्दछौ ?” मैले अंग्रजी मै जवाफ दिन थाले पछि ऊ तिर हेरेर युवती मुस्कुराई । जसवाट मैले के बुझेँ भने ऊ आफैंलाई अंग्रजी आउँदैन थियो तर मेरो मानमर्दन गर्न मात्र ती सवै कुरा सोधिरहेको थियो । उसको सोधाइ, हाव-भावमा सूचनाको चाहाना भन्दा हेपाइको इच्छा धेरै देखिन्थ्यो । लामो केरकार पछि द्विविधायुक्त मनले मलाई जान दिने आदेश दिएर सेर्गेइ हिँडे पछि युवतीले छाप लगाएर मेरो राहदानी फर्काउँदै टर्रो स्वरमा भनी “अव जान सक्नु हुन्छ ।” म पछि थुप्रै विदेशी गोराहरु थिए तर तिनीहरुलाई न केरकार गरियो न त डकुमेण्ट नै मागियो । लुफ्थान्सा विमानमा छिर्ने वित्तिकै जर्मन परिचारिकाले मधुर मुस्कानले स्वागत गरी तर त्यसको कृतिमताले मलाई वितृष्णा पैदा भयो ।
म जस्तो शिक्षित ठानिने नेपालीले त विदेशमा अवहेलनाको यस्तो विष पिइरहनु पर्छ भने अल्पकालीन रोजगारिमा जाने श्रमिक दाजुभाइहरु, शरणार्थी भएर विदेशिएका नेपालीले झन् कस्तो विकराल परिस्थितिको सामना गर्नु पर्दो हो ? पश्चिमी देशको के कुरा कराँची र दिल्ली विमानस्थलमा समेत सोझा-सरल नेपालीले अकल्पनीय उत्पीडन सहनु पर्छ । यिनै कुराले मन दुखाउँदा दुखाउँदै जहाज सिकागोको ओ’हारे बिमानस्थलमा ओर्लियो । अव फेरी ‘किन अमेरिका आएको, कहिले फर्कन्छस्, तेरो सम्मेलन त दुई दिन मात्र हो फेरि किन त्यति दिन यहाँ बस्ने’ आदि प्रश्नको प्रहार हुने निश्चित नै थियो । यी संसार भरि जुन सुकै बिमानस्थलमा सोधिने सामान्य प्रश्न हुन् भन्ने जान्दा जान्दै पनि प्रश्नकर्ताको शंकालु स्वरले मलाई संवेदनशील बनाउँछ र अपमानवोधले क्रुद्ध भइहाल्छु । जस्तो सुकै कठिनाई भए पनि नेपाली पासपोर्ट, पहिचान र राष्ट्रियता प्रति ठूलो गौरव महसुस गर्ने स्वभाव भएर पनि म अतिसंवेदनशील भएको हुँ कि ? लामो केरकार पछि बाहिर निस्कँदा गैरआवासीय नेपाली साथीहरु हाँस्दै स्वागतमा आएको देखेर मन गर्वले भारि भयो । आफ्नो जातिको महत्व त्यस्तो बेला मात्र थाहा हुने रहेछ ।
सम्मेलन भरि असाध्यै रमाइलो गरियो । धेरै वर्ष पछि थाइल्याण्डमा एआइटी पढ्दा ताकाका साथीहरु भेटिए । थाइल्याण्डमा भारतीयहरु प्रति अलि बढि नै पुर्वाग्रह भएकोले घुन पिसिए झैं हामीले पनि जातिविभेदका थुप्रै घटनाहरु सहेका थियौं । नेपालवाट उपचारकोलागि आएको मौका छोपेर सुशील कोइराला पनि सम्मेलनमा भाग लिन आउनु भएको थियो, रामचन्द्र पोखरेल पनि भेटिनु भयो । विदेशमा त्यति धेरै नेपालीलाई भेट्दा हामी सवै हर्षित हुन्छौं, उहाँहरुलाई पनि खुशी लाग्नु स्वाभाविक थियो । उहाँहरुसँगको अन्तरक्रियामा सवैले नेपालको द्वन्द र शान्ति कै कुरा गरे । त्यति बेला मैले भने बिमानस्थलका तिरस्कारहरुलाई घरिघरि सम्झिरहेँ । हामीले माओवादी विद्रोह जस्तो बृहत् समस्याको समाधान देखि केही किलोमिटर सडक बनाउन समेत विदेशीहरुको मुख ताक्ने प्रवृत्तिलाई नबदलेसम्म ‘आफैंले केही गर्न नसक्ने जाति’ को रुपमा तिनीहरुले हाम्रो आत्मसम्मानमा ठूलो चोट पुग्नेगरी अपमानित र लज्जित गर्ने क्रम जारी नै रहनेछ । दूर क्षितिजमा देखिँदैगरेको नयाँ नेपालको आलोकमा विश्वले हामीलाई नयाँ ढङ्गले मूल्यांकन गर्ने विश्वासले एकअर्कालाई आश्वस्त पार्दै हामी सम्मेलनवाट बिदा भयौं ।
मस्को फर्कने बेला बिदाईकालागि अमेरिकाबासी मेरो ठूलोदाइ बिमानस्थलमा आउनु भएको थियो । धेरै वर्ष पछि हाम्रो भेट भए पनि मैले व्यस्तताको कारण उहाँसँग लामो समय बिताउन नपाएकोले हामी विदाइको क्षणलाई जति सक्दो तन्काउन खोजिरहेका थियौं । प्लेन उड्न केही समय मात्र बाँकी हुँदा म मन नलागी नलागी उहाँसँग छुट्टिएर सुरक्षा जाँच तिर लागेँ । म भन्दा अगाडि धेरै यात्रीहरु सरासर पार गरिरहेको देखेर खासै समय नलाग्ने रहेछ भन्ने लागेको थियो । तर मलाई र मेरो पासपोर्टलाई निकै बेर नियाले पछि सुरक्षाकर्मीले शंकालु स्वरमा भन्यो “तपाईंलाई विशेष जाँचकालागि चुनिएकोछ, संकेत चिन्हलाई पच्याउँदै त्यहाँ गएर उभिनुस् ।” मैले दाइतिर हेरें, टाढैवाट पनि उहाँका आँखामा सहानुभूति देखिन्थ्यो । यस्ता ‘र्याण्डम सेक्युरिटि चेक’ मा नबिराई परिरहनु हामी जस्ता दक्षीण एसियाली यात्रुहरुको नियति नै हो । त्यसपछि यसरी विस्तारपूर्वक सुरक्षा जाँच भयो कि मेरो शरीरको कुनै अंग छामछुमवाट बँच्न सकेन । ह्याण्डब्यागको पनि थरिथरिका ‘लिक्विड’ ले लेपेर त्यस्तै हविगत गरियो । अन्तत: केही पनि आपत्तिजनक सामान नभेटिए पछि मैले जाने अनुमति पाएँ । विशेष जाँच गर्ने गोरा मानौ हात आइसकेको ‘टेररिष्ट’ छुटेकोमा निराश भए झैं देखिन्थ्यो । सिसा पछाडिवाट दाइ अझै चिन्तित भएर हेरिरहनु भएको रहेछ । मैले निरिहताले खिन्न हुँदै विदाको हात हल्लाएँ । म पछि २०-२५ जना आउन्जेल पनि कसैलाई फेरि विशेष जाँचकालागि चुनिएन । स्पष्टै थियो ती मध्ये कोही पनि म जस्तो वर्ण र क्षेत्रका मान्छे नभएकाले ‘आकास्मिक सुरक्षा जाँच’ मा परेनन् ।
नेपालवाट आएको भए रुसको विमानस्थलमा अझै अर्को सास्ति खेप्नु पर्थ्यो तर अमेरिकावाट फर्केकोले खासै जाँच भएन । आजकल सवै विकसित देशमा आतंकवादीहरु दक्षिण तिरवाट मात्रै आउँछन् भन्ने मान्यता छ । उत्तर-दक्षिणको यो असहज सम्वन्धलाई यस वर्ष साहित्यमा नोबेल पुरस्कार विजेता टर्कीका लेखक अरहान पामुकको ‘हिउँ’ भन्ने प्रसिद्ध पुस्तकको एउटा कुर्दिस पात्रले मार्मिक ढङ्गले व्यक्त गरेकोछ । युरोपियनका बारे उसका भावहरु मेरो मानसपटलमा अक्सर आइरहन्छन् “तिनीहरु कुनै एउटा गरीबप्रति सहानुभुति दर्शाउँछन् होला तर जब सिङ्गो मुलुक नै दरिद्र हुन्छ सम्पूर्ण विश्वले के सोच्छ भने त्यस देशमा बस्ने सवै मान्छे मुर्ख, दिमागहीन, अल्छी, फोहोरी र ढङ्ग नभएका छन् । सहानुभूति दर्शाउनु सट्टा संसार तिनीहरु माथि हाँस्छ । तिनीहरुका संस्कृति, परम्परा र रीतिरिवाजहरु सवै हाँसउठ्दा लाग्छन्....जब त्यो देशका प्रवासी जनताहरु उनीहरुको आँगन बढार्छन् वा सवै भन्दा तुच्छ काम गर्छन्, त्यतिखेर ती प्रवासीहरुले असन्तोष व्यक्त नगरुन् भनेर तिनीहरुको संस्कृतिको बारेमा सुनेको झैं अभिनय गर्छन् ....गरिव देशको कुनै मान्छेलाई देख्दा युरोपियनको अन्तरमनमा सवै भन्दा पहिले शंकाको भाव पैदा हुन्छ –यो मान्छेको दिमाग पनि त्यही मुर्खता र तुच्छताले भरिएको हुनु पर्छ जसले यसको सम्पूर्ण मुलुकलाई नै अकिंचन बनाएकोछ...” त्यो पुस्तक ऐले लेखिएको भए कुर्द ठिटोले थप्ने थियो “आजभोलि गरीब देशको मान्छेलाई आफ्नो मुलुकमा देख्दा उनीहरु अर्को एउटा शरणार्थी वा आतंकवादी नै पस्यो कि भनेर सशंकित हुँदै हतार-हतार मूल ढोका बन्द गर्छन् ।”
(रुसमा बसोवासरत लेखक गैरआवासीय नेपाली संघका प्रवक्ता हुन् )
(साभार: कान्तिपुर दैनिक)
समृद्धितिर उन्मुख रुस र हाम्रो कुटनैतिक सुस्तता
सन् २००० मा जापानको ओकिनावामा भएको आठ औद्योगिक राष्ट्रहरुको शिखर बैठकमा भाग लिन जाँदा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जर्जर अर्थतन्त्र र चिचेन आतंकवादले बिखण्डनको संघारमा उभिएको एउटा निरिह मुलुकको प्रतिनिधित्व गरेका थिए । तहसनहस भएको अर्थतन्त्रले उनको देशलाई त्यति बेला अन्तर्राष्ट्रिय मुद्रा कोष र त्यसका अव्यवहारिक नीतिहरुलाई पृष्ठपोषण गर्ने ठूला मुलुकको दास झैं बनाएको थियो । बरिस यल्तसिनको कार्यकालमा हरेक उपयुक्त अवसरमा उनीहरु पुँजिवादमा निजीकरणको महत्वबारे रुसलाई लामो उपदेश सुनाउने गर्थे । त्यही दबावमा ठूलो मात्रामा अवमुल्यन गरेर देशका उद्योग धन्दाहरु निजी क्षेत्रलाई बेचिए । तर मुद्रा कोषले आश्वासन दिएर पनि कहिल्यै नपठाउने ऋणको अर्को ‘इन्सटलमेण्ट’ को प्रतिक्षामा रुसी जनताका आँखा भने टट्टाइ रहन्थे । समग्रमा, अन्तर्राष्ट्रिय जगतको ऋण र दयाको पात्र झैं बनेको पृष्ठभूमिमा पश्चिमी मिडियाले रुस समृद्ध र सभ्य सात राष्ट्रहरुको संभ्रांत क्लबको सदस्य हुन लायक छैन भनेर गरिरहने एकोहोरो प्रलाप अस्वभाविक थिएन ।
त्यो शिखर बैठक पछि भोल्गा नदीमा धेरै पानी बगिसकेकोछ । पुटिनका जी-८ का अन्य सहकर्मी जर्मनीका चान्सलर स्रोडर र इटालीका प्रधानमन्त्री बेर्लुसकोनी राजनैतिक इतिहासको पानामा सीमित भइसकेका छन् । राजनीतिक सन्यास तिर उन्मुख जापानका कोइजुमी, राष्ट्रपतिकालको अन्तिम दिन गनिरहेका फ्रान्सका बुढा शिराक र अदालतको फैसलाले इटालीका प्रधानमन्त्री बनेका प्रोदिमा आत्मविश्वासको स्पष्ट अभाव देखिन्छ । हरेक अमेरिकी दुस्साहस को अन्ध समर्थन गरेर राष्ट्रपति बुशको ‘पुडल’ भएको आरोप खेपिरहेका बेलायतका प्रधानमन्त्री ब्लेयरको प्रतिष्ठामा पनि निक्कै ह्रास आएकोछ । उता उनका परम मित्र बुश इराक युद्धको माकुरेजालमा झन्-झन् जेलिँदै गएर अन्तर्राष्ट्रिय अलोकप्रियताको नयाँ-नयाँ किर्तिमान हाँसिल गरिरहेका छन् । विश्वको राजनीतिलाई सहजै प्रभावित गर्न सक्ने सवै पश्चिमी नेताहरु कुनै न कुनै रुपले कमजोर भएका छन् तर रुसमा भइरहेको आर्थिक प्रगतिको तीव्र गतिले पुटिनलाई भने झन् प्रभावशाली बनाएकोछ ।
इराक युद्ध पछि आकासिँदै गएको तेलको भाउले मुलुकको अर्थतन्त्रलाई नयाँ जीवन नै दिएकोछ । सन् १९९८ को विश्वब्यापी आर्थिक संकट पछि लगभग धरासायी भएको रुसको कुल ग्राह्स्त उत्पादनमा सन् २००५ सम्म आइपुग्दा ५०% ले बृद्धि होला भनेर कसले सोचेको थियो ? सन् २००३ पछिको दुई वर्ष मै गरिवीको औसत २२% वाट १५% बिन्दु मा झरेकोछ । छ वर्ष अघि १२ अर्व अमेरिकी डलर रहेको राष्ट्रिय संचिति अहिले २५६ अर्व पुगेकोछ र हरेक महिना ४ देखि ५ अर्व डलरका दरले जम्मा हुने क्रम जारी नै छ । यस वर्षको अन्त्य सम्ममा सुन र बैदेशिक मुद्रा संचितिमा चीन र जापान पछि रुस तेस्रो स्थानमा हुनेछ । सन् १९९८ मा ८४% रहेको मुद्रा स्फिति यस वर्ष ९.६% मा झरेकोछ भने आधा दशक अघि सम्म कल्पना पनि गर्न नसकिने बचत अव रुसी बजेटको आम प्रवृत्ति भएकोछ ।
तर तेलको भाउमा आएको अनपेक्षित बृद्धिले भइरहेको डलरको वर्षा एकदिन निश्चय नै रोकिनेछ । त्यस्तो बेला अर्थतन्त्रलाई पर्न सक्ने सम्भावित नकारात्मक प्रभावलाई न्युनिकरण गर्न सरकारले ‘स्थिरिकरण कोष’ (स्टेविलाइजेसन फण्ड) को स्थापना गरेकोछ, जसमा हाल सम्म ७७ अर्व अमेरिकी डलर जम्मा भइसकेकोछ । त्यही फण्डवाटै अन्तर्राष्ट्रिय मुद्रा कोषको १८ अर्व र पेरिस क्लबको २२ अर्व डलर बराबरको सोभियत संघको पाला देखिको सवै ऋण समय भन्दा धेरै अगाडि चुक्ता गरेर रुसले भविष्यमा तिर्नु पर्ने ब्याजवाट त मुक्ति पायो नै राष्ट्रिय स्वाभिमान पनि पुनर्स्थापित गरेकोछ । अव वासिङ्टनका शक्तिशाली संस्थाहरुले रुसको आर्थिक नीति निर्धारण गर्ने दिन समाप्त भएका छन् । रुसको वार्षिक ६.५% को आर्थिक बृद्धि दर अमेरिका र विश्वको औसत आर्थिक बृद्धि दर भन्दा दुई गुणा तथा युरोपको भन्दा तीन गुणा बढी छ । यसवाट उत्साहित भएर सरकारले सन् २०१० सम्ममा बृद्धि दरलाई ‘डबल डिजिट’ पुर्याउने महत्वाकांक्षी लक्ष राखेकोछ । परिणाम स्वरुप पछिल्लो समयमा विदेशी कम्पनीहरु रुस आउने क्रम निक्कै बढेकोछ । गत वर्ष मात्र १६ अर्व डलर विदेशी पुँजी आकर्षित गरेको देशले हाल सम्म ११४ अर्वको वैदेशिक लगानी भित्र्याइसकेकोछ । राजनैतिक र आर्थिक स्थितिमा आएको सकारात्मक परिवर्तनले नागरिकमा खर्च गर्ने प्रबृत्ति र स्रोत दुवैको बृद्धि भएकोछ । सन् २००५ मा पर्यटनका लागि विदेश जाने रुसीहरुको संख्या ६८ लाख पुगेको थियो, जसले विदेशमा १५ अर्ब डलर भन्दा धेरै खर्च गरको अनुमान गरिएकोछ, जुन २००३ को अनुपातमा ३३% ले बढी छ ।
खाडी क्षेत्रमा बढ्दो राजनैतिक अस्थिरताले उत्पन्न भएको उर्जाको संकटले रुसलाई पुन: एक पटक महाशक्ती राष्ट्र बनाएकोछ - उर्जाको महाशक्ती । संसारमा सवैभन्दा धेरै प्राकृतिक ग्यास र दोस्रो ठूलो तेलको भण्डार भएकोले विश्वका धेरै मुलुकहरु र विशेषगरी युरोपेली राष्ट्रहरु इन्धनकोलागि रुसमाथि निर्भर छन् । जसले गर्दा आफ्नो राजनैतिक प्रभाव क्षेत्र बढ्दै गएको कुरा रुसले राम्ररी बुझेको छ र विगतको हीनभावनावाट मुक्त हुँदै गएकोछ। यसको टढ्कारो उदाहरण यस पटक रुसको भूतपूर्व राजधानी सेन्ट पिटर्सबर्गमा आयोजित आठ औद्योगिक राष्ट्रहरुको शिखर बैठकमा देखियो । पहिलो पटक आयोजक बनेको रुसका थुप्रै चुनौति थिए । अझै पनि शित युद्धको धङ्धँगीमा बाँचिरहेका केही अमेरिकी सिनेटरहरु तथा सोभियत संघको पतन पछि बेरोजगार बनेका पश्चिमी सोभियतविद्हरुले रुसमा मानव अधिकार र प्रजातन्त्रको बिग्रँदो अवस्था, इरान र सिरियासँगको सम्वन्ध आदि कारण देखाई ब्लेयर र बुशले शिखर बैठकलाई बहिष्कार गर्नु पर्ने र रुसलाई जी-८ वाटै निष्कासन गर्नु पर्ने माग राख्तै आएका छन् । अमेरिकी र बेलायती मिडियालाई पुटिनले शिखर बैठकमा भाग लिएकै मन परिरहेको थिएन, झन् त्यहाँ त उनले यस वर्षको अध्यक्षता नै गर्दै थिए । त्यसैले यस पटक प्रजातन्त्र र मानव अधिकारको कुराले नै पिटर्सबर्ग बैठकलाई प्रभावित गर्ने स्वभाविक अनुमान गरिएको थियो । तर बर्तमान जी-८ मा मिडियासँगको अन्तरक्रियामा पुटिनलाई मात गर्न सक्ने कुनै नेता देखिँदैन । उनले केही महिना अघि मात्र क्रेमलिनमा एक हजार राष्ट्रिय-अन्तर्राष्ट्रिय पत्रकारलाई भेला गरेर साढे तीन घण्टा लामो अन्तरवार्ता दिएका थिए । यावत विषयको गहिरो ज्ञान र प्रस्तुतिकरणको तिखो शैलिले उनले सवैलाई चकित बनाइदिए ।
सेन्ट पिटर्सबर्गमा पनि त्यही भयो । अमेरिकी राष्ट्रपतिसँगको संयुक्त पत्रकार सम्मेलनमा एक जना पत्रकारले रुसको प्रजातान्त्रिकरणको विषयमा पुटिनसँग चर्चा भयो की भएन भनेर बुशलाई सोध्दा उनले भने “भ्लादिमिरलाई अमेरिकाले संसारभरि लोकतन्त्रको बिस्तार गर्न चाहेको कुरा थाहा छ । जस्तो की इराकमा अहिले प्रेस र धार्मिक स्वतन्त्रता छ । हामी चाहान्छौं रुसमा पनि त्यस्तै होस् ।” मानो पहिलै ‘होमवर्क’ गरे जस्तो गरी पुटिनले फ्याट्ट जवाफ दिए “इमान्दारिपूर्वक भन्छु, हामीलाई इराकमा जस्तो लोकतन्त्र चाहिएको छैन ।” हलमा भएका अरु सवैसँग बुश पनि हाँसे तर थाहा छैन बुझेर हाँसे की नबुझी हाँसे । लर्ड लेवी प्रकरणका कारण आफैं राजनैतिक संकटमा फँसेका टोनी ब्लेयरले पुटिनसँग सिधा टक्कर लिने जोखिम नै उठाएनन् । उसै पनि चिचेन आतंकवादीहरुलाई राजनैतिक शरण दिएर बेलायतले रुसमा मानव अधिकारको मुद्दालाई उठाउने नैतिक अधिकार गुमाइ सकेकोछ ।
राष्ट्रपति भएदेखि नै लगातार ७०% भन्दा धेरै रहेको पुटिनको राष्ट्रिय लोकप्रियतालाई यस पटकको शिखर बैठकको अभुतपूर्व सफलताले अन्तर्राष्ट्रिय स्तरमा पुर्याएकोछ । उनले बैठकलाई आफ्नो मुलुकको अन्तर्राष्ट्रिय छबी सुधार गर्न र रुसलाई पुन: एक पटक विश्व मञ्चमा महत्पूर्ण राजनैतिक खेलाडिको रुपमा स्थापित गराउन प्रभावशाली ढङ्गले उपयोग गरेका छन् । जसले जी-८ का उनका बाँकी सात सहयात्रीहरुको असहजतालाई निक्कै बढाएको हुनु पर्छ ।
सेन्ट पिटर्सबर्ग शिखर बैठकको सफलताले के संकेत दिन्छ भने रुसमा पुन: एक पटक विश्व राजनीतिलाई प्रभावित गर्ने महत्वाकांक्षा र क्षमता दुवै देखिएकोछ । नेपालले पनि आर्थिक समृद्धितिर उन्मुख उदयिमान त्यस शक्तिको सम्भावनालाई बेलैमा बुझेर मुलुकको परराष्ट्र नीतिमा केही समयोचित सुधार गर्नु जरुरी देखिन्छ । सोभियत कालदेखि नै रुसी जनताले नेपालमा थुप्रै उद्योगहरुको स्थापना गरिदिएर हाम्रो विकासमा महत्वपूर्ण योगदान दिएका छन् तर नेपालको कुटनीतिक सुस्ततालाई हेर्दा लाग्छ भारत, बेलायत, अमेरिका र अप्ठ्यारो पर्दा कहिलकाहीं चीन भन्दा परको विश्व हाम्रालागि मानो औचित्यहीन छ । रुसको राजनैतिक बृत्तमा न नेपालको कहिल्यै चर्चा हुन्छ, न त खर्चालु रुसी पर्यटक बिदा मनाउन जाने ४० प्रमुख देशको लाममा हाम्रो देशको नाम छ । लामो अन्तराल पछि गत अक्टुबरमा भएको रमेशनाथ पाण्डेको भ्रमण निरङ्कुश राजालाई समर्थन जुटाउन गरिएको राष्ट्रिय कोषको निर्लज्ज दुरुपयोग सिवाय केही थिएन । यो वर्ष रुस र नेपालको मैत्री सम्बन्ध स्थापना भएको स्वर्ण जयन्ति मनाईंदैछ । हाम्रा दुई देशबीचको सम्बन्धको पुनर्निर्माण आरम्भ गर्ने यो भन्दा उपयुक्त अवसर अरु के हुन सक्छ ? खाली रहेको राजदूत पदमा आर्थिक कुटनीतिमा दक्ष ब्यक्तिको नियुक्ति र अर्थ वा परराष्ट्र मन्त्री स्तरीय भ्रमणवाट त्यसको सुरुआत गर्न सकिन्छ ।
(लेखक रुसमा बसोवास गर्छन्।)
(साभार: कान्तिपुर दैनिक, २००७)
बरिस यल्तसिनको ‘लिगेसी’
डा∙ जुगल भूर्तेल
रुसका प्रथम राष्ट्रपति बरिस निकोलाइभिच यल्तसिनको निधन पछि संसारभरि उनको देनबारे छलफल हुँदैछ। गएको शताव्दीमा संसार कै राजनैतिक दिशालाई प्रभावित गर्ने खालका दुईवटा ठूला-ठूला आर्थिक प्रयोग भए । संयोगवश परस्पर विपरित ध्रुवका ती दुवै प्रयोगलाई रुसी जनताले नै झेल्नु पर्यो- एउटा भ्लादिमिर लेनिनको समयमा सन् १९१७ मा सुरु भएको मार्क्सवादी अर्थतन्त्रको निर्माण र अर्को त्यसको सात दशक पछि यल्तसिनको पालामा भएको त्यस व्यवस्थाको पुँजिवादी रुपान्तरण । अक्टोबर क्रान्तिले स्थापित गरेको रुसको त्रासद इतिहासमाथि धेरै चर्चा भइसकेकोछ तर यल्तसिनको कदमको अझै वस्तुगत विश्लेषण हुन बाँकी छ।
बिद्रोही र संघर्षशील स्वभावका यल्तसिन अन्तर्ज्ञानले शासन गर्थे, उनको कुनै निश्चित राजनैतिक लाइन थिएन । रुसका एकजना वरिष्ठ पत्रकारले सन् १९९० तिर उनलाई “के तपाईं लोकतन्त्रवादी हो” भनेर सोध्दा उनले इमानदारीपूर्वक भनेका थिए “हिजो सम्म कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेको मैले आफूलाई कसरी लोकतन्त्रवादी भन्न सक्छु ? म लोकतन्त्र बुझ्ने प्रयास गरिरहेको एउटा विद्यार्थी मात्र हुँ ।” तर उदारवादी व्यवस्थाप्रतिको उनको विश्वास इमानदार थियो । गोर्वाचोवको बिरुद्धमा गरिएको ‘कु’ असफल भएपछि त्यसलाई खुलेर सहयोग गर्ने रुसको कम्युनिष्ट पार्टीमाथि सदाकालागि प्रतिबन्ध लगाउने जनसमर्थन तथा प्रसस्त नैतिक र कानूनी आधारहरु थिए । सैनिक बिद्रोह गरेर उनको भौतिक सफाया गर्न उद्दत आफ्नै उप-राष्ट्रपति अलेक्सान्द्र रुच्कोईलाई पनि आजीवन बन्दी बनाइदिन सक्थे । तर साँचो राजनेतालाई अनुदारता सुहाउँदैन भन्ने उखानलाई चरितार्थ गर्दै उनले कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्धलाई तुरन्तै फुकाइदिए । रुच्कोईलगायतका बिद्रोहीहरुलाई उनले आममाफी मात्र हैन नयाँ राजनैतिक करियर बनाउने अवसर समेत दिए । तर सात दशकको एकछत्र शासन पछि यल्तसिनकालमा हठात् सत्ताच्युत भएका कम्युनिष्ट पार्टीका सासंदहरुले उनको जीवनभरि रचनात्मक प्रतिपक्षको भूमिका त निर्बाह गर्न सकेनन् नै उनको मृत्यु पछि पनि संसदको मौनधारण कार्यक्रममा कुर्सीवाट उठ्न नमानेर सभ्य समाजलाई नसुहाउने विद्वेषको लज्जास्पद प्रदर्शन गरे । उनको आठ वर्षे शासनकालमा रुसमा एकजना पनि राजनैतिक बन्दी थिएन । त्यहाँको इतिहासमा त्यस्तो कहिलै भएको थिएन । लोकतन्त्र बिना रुस एउटा समृद्ध युरोपेली मुलुक बन्न सक्दैन भन्ने कुरामा उनको दृढ विश्वास थियो । त्यसैले उनले आफ्नो सक्रिय राजनैतिक जीवनको उत्तरार्धलाई एउटा महत्वपूर्ण लक्ष्य प्राप्तिकालागि समर्पित गरेका थिए- रुसमा अधिनायकवादको जरालाई यसरी काटिदिने की त्यो फेरी कहिल्यै मौलाउन नसकोस् । त्यस उद्देश्यमा भने उनी सफल भएको मेरो ठहर छ । संक्रमणकालका असीमित चूनौतिको सामना गर्दै एउटा राष्ट्रको रुपमा स्थापित, सुदृढ र बिकसित हुँदै गएको रुस नै राष्ट्रपति यल्तसिनको ‘लिगेसी’ हो । उनले बनाएको लोकतान्त्रिक संविधानले पहिलो पटक व्यक्तिको आर्थिक र राजनैतिक स्वतन्त्रतालाई संस्थागत गर्यो र मास मिडियालाई स्वतन्त्र र स्वावलम्बी बनायो । रुसको ऐलेको द्रुत आर्थिक प्रगतिको आधार अर्थात बजार अर्थतन्त्रको विकासका पहिला साह्रै अप्ठ्यारा पाइलाहरु यल्तसिन कै कार्यकालमा चालिए । लाखौं जनताले आफू बसिरहेको सरकारी अपार्टमेण्टलाई सस्तो मूल्यमा निजिकरण गर्ने मौका पाए । सोभियत संघको अन्तिम समयमा देखिएको खाद्यान्नको अभाव पूर्णरुपले समाप्त भयो, खालि भएका पसलहरु सामानले भरिए । पश्चिमसँगको सम्बन्धमा आएको सुधारले रुसको सैन्य खर्चमा कटौती संभव भयो । इगोर गैदार देखि भ्लादिमिर पुटिन सम्म थुप्रै युवानेताहरुलाई राज्यसंचालनमा संलग्न गराएर उनले नयापुस्तालाई राजनीतिमा आकर्षित गरे, जसको सकारात्मक असर अहिले देखिएकोछ । राष्ट्रप्रमुखहरु कुर्सी मै मर्ने वा अपदस्त गरिने सोभियत परम्परालाई तोड्दै अस्वस्थ भएपछि आफ्ना सवै असफलताकोलागि जनतासँग क्षमा याचना गर्दै आफू भन्दा सक्षम युवालाई स्वेच्छाले सत्ता हस्तान्तरण गरेर उनले नौलो इतिहासको सुरुआत गरे । सोभियत संघको विखण्डन पछि रुस महासंघका स-साना जातिय गणराज्यमा देखिएको विखण्डनको लहरलाई प्रजातान्त्रिक ढङ्गले समाधान गर्दै रुसलाई अर्को युगोस्लाभिया बन्नवाट बचाएर पुन: एक पटक शान्त, समृद्ध तर लोकतान्त्रिक ढाँचाको महाशक्ति राष्ट्रको रुपमा विकसित हुने आधारको निर्माण नै बरिस यल्तसिनको सवै भन्दा ठूलो योगदान हो । अझै इतिहासको धङ्धङिमा बाँचिरहेको रुसले जुन दिन आफूलाई सोभियत साम्राज्यको भग्नावशेष नभएर युरोपेली सभ्यताको एउटा विशाल अंगको रुपमा ग्रहण गर्न सक्छ त्यसै दिन मात्र बरिस यल्तसिन जस्ता राजनेताको सही मुल्याङ्कन हुनेछ ।