Sunday, April 24, 2011

सुनामीः अध्यात्म चिन्तनको अवसर

जुगल भूर्तेल

पुस्तौं पुस्तादेखिको अनुभवले गर्दा जापानका जनता प्रकृतिको विध्वंससँग बाँच्न अभ्यस्त मानिन्छन् । तैपनि २७ फागुन २०६७ को प्रकृतिको ताण्डवले उनीहरूको सतर्कता र पूर्वतयारीलाई समेत तहसनहस बनाइदियो । ९ रेक्टर स्केलको भूकम्पपछिको सुनामी विध्वंसका समाचार आउन थालेपछि मेरा जापानी प्रोफेसर मासाओ उकितालाई फोन गरें । तर कैयौं प्रयास गर्दा पनि सम्पर्क हुनसकेन । धेरै दिनपछि उहाँले मेरो इमेल जवाफ फर्काउनुभयो, “सहानुभूतिका लागि धन्यवाद । सुनामीले हाम्रो आर्थिक र राजनीतिक कठिनाई बढाइदिएको छ। तर पनि, अब जापानमा आध्यामिक चिन्तन शुरु हुनेछ भन्ने कुराले मलाई आशावादी बनाएको छ ।”

समुद्री आँधी (टाइफुन), भूकम्प र सुनामी जापानी जीवनका अभिन्न अङ्ग हुन् । जापानका विद्यालयमा बालबालिकालाई सानै उमेरदेखि तिनको प्रकोपबाट बच्ने तरिकाबारे सैद्धान्तिक ज्ञान दिइन्छ र लगातार अभ्यास गराइन्छ । तर तमाम तयारीका बाबजुद महाभूकम्प र त्यसले निम्त्याउने समुद्रका भीमकाय छालहरूको पूर्वानुमान गर्न जापान जस्तो अति विकसित मुलुकको लागि समेत सम्भव नहुने रहेछ । ठूला ठूला घर, सिङ्गै शहर र पानीजहाजलाई समेत सहजै सोहोरेर लैजाने समुद्री ज्वारभाटाको शक्तिका अगाडि मानव जीवन कति निरीह रहेछ भन्ने कुरा यसपटकको जापानको भोगाइले पुनः प्रकट गरिदिएको छ । प्रकृतिको अथाह शक्तिसँग साक्षात्कार भएपछि मात्र मानिसलाई आफू मानिस हुनुको आत्मश्लाघा अर्थहीन लाग्छ। त्यसैले भौतिक प्रगतिको चकाचौंधले दिग्भ्रमित र पथभ्रष्ट हुँदै गएको जापानी समाजलाई भूकम्प र सुनामीले ल्याइदिएको अकल्पनीय त्रासदीले आत्ममूल्याङ्कन गर्न महत्वपूर्ण अवसर दिएको धेरै जापानीको ठम्याइ छ । उकिता सेन्सेइ (गुरु)ले अपेक्षा गरेको आध्यात्मिक चिन्तनको पुनरावृत्तिलाई मैले त्यही अर्थमा बुझें । द्वन्द र गरिबीले आत्मविश्वास गुमाउँदै गएको एउटा अकिञ्चन मुलुकको म जस्तो नागरिकका लागि प्रगतिका हरेक कीर्तिमान स्थापित गरेको जापानी समाज स्वाभाविक ‘रोल मोडल’ लाग्छ । तर उकिता गुरुका धारणाहरू सधैं भिन्न रहेका छन् ।

सन् १९९८ मा ठूलो उत्साह बोकेर म विद्यावारिधिका लागि जापान पुगेको थिएँ । दक्षिणी जापानको ओगोह्री बुलेट ट्रेन स्टेशनमा मलाई लिन आएको दुब्लो, पातलो र असीम करुणाले भरिएका आँखा भएको मानिस नै उकिता गुरु हुन् भन्ने थाहा पाएपछि सुखद् आश्चर्यले ओतप्रोत भएको थिएँ । धनी देशका धनी जापानीहरूले मसँग घमण्ड, गर्व र दया मिश्रित व्यवहार गर्लान् भन्ने धारणा लिएर म त्यहाँ पुगेको थिएँ । त्यसैले प्रोफेसर उकिता मलाई लिन आफैं स्टेशन आउनुहोला भन्ने त सोचेको पनि थिइनँ । त्यति सरल प्रोफेसरको मार्गदर्शनमा मेरो अनुसन्धान निकै सहज हुने र चाँडै ‘डाक्टर’ बनेर घर फर्कने अनुमानले म तत्कालै चिन्तामुक्त भएको थिएँ ।

जापानमा प्रोफेसरहरू सामाजिक दायित्वलाई निकै गम्भीरतापूर्वक लिन्छन् । त्यसैले उनीहरू वर्षमा कम्तीमा एकचोटि सरकारी निकायलाई आफ्नो विषय वा विशेषज्ञताको क्षेत्रमा भएका पछिल्ला उपलब्धि र नयाँ आविष्कारका बारेमा जानकारी दिन्छन् । उकिता सरले त्यस दिन यामागुची प्रिफेक्चरका नगर र ग्रामपालिकाका प्राविधिक अधिकृतहरूलाई वातावरणका नौला चुनौती र अन्य मुलुकले अपनाएका पछिल्ला प्रविधिका बारे जानकारी दिनु रहेछ । त्यसैले हामी रेल्वे स्टेशनबाट सीधै त्यता लाग्यौं । बाटोभरि उहाँले वातावरणकै बारेमा कुरा गर्नुभयो । उहाँको चिन्तन मानवजातिको अविवेकपूर्ण (इर्‍यासनल) जीवनशैलीले निम्त्याएको वातावरण विनासमा केन्द्रित थियो । आफू जस्ता लाखौं वैज्ञानिकको निरन्तर प्रयासका बाबजुद प्रकृतिमा झन् झन् ह्रास हुँदै गएकोमा उहाँमा गहिरो निराशा झल्कन्थ्यो । यही क्रममा उहाँले मलाई रिचेल कार्सनको ‘साइलेन्ट स्प्रिंङ’ र थियो कोलबर्नको ‘आवर स्टोलन फ्युचर’ पढ्ने सल्लाह दिनुभयो । सन् १९६२ मा ‘साइलेन्ट स्प्रिंङ’ को प्रकाशनसँगै पर्यावरण संरक्षणको विश्व आन्दोलन आरम्भ भएको ठानिन्छ । करिब डेढ दशकअघि प्रकाशित कोलबर्नको पुस्तकमा मानव निर्मित रसायनले सबै प्राणीको हर्मन प्रणालीमा दूरगामी असर पुर्याशइरहेको जानकारी छ । “तिमीहरू जस्ता आशलाग्दा युवाहरूमा यो पृथ्वीको संरक्षणप्रति पर्यावरणीय चेतना र समर्पण जगाउन तथा त्यस्तो युवाशक्तिलाई मानव जीवनपद्धतिको सकारात्मक परिवर्तनका लागि प्रयोग गर्न सकियो भने मात्र हाम्रो भविष्य निरापद हुनसक्छ, नत्र त...” भनेर उहाँले आफ्नो भनाइ राखिसक्दा म भने आफ्नो अध्ययन सहज नहुने आभासले दुःखी हुँदैथिएँ । कहाँ आरामले पीएचडीको डिग्री लिने मेरो योजना, कहाँ यो मानव जीवनपद्धतिलाई परिवर्तन गरेर पृथ्वीलाई जोगाउने गहन दर्शन !

सानो देश र ठूलो जनसंख्या भएको जापानमा फोहोरमैला व्यवस्थापन निकै गम्भीर चुनौती मानिन्छ । ल्याण्डफिल साइटहरू भरिँदै गएपछि जताततै फोहोर जलाउने भट्टीहरू (इन्सिनरेटर) बनाइएका छन् । करिब ९० प्रतिशत फोहोर डढाएर ढुक्क परेका जापानी जनताको रगतमा खतरनाक मात्रामा डायोक्सिन जस्ता रसायनहरू देखिन थालेपछि विशेषगरी विभिन्न प्लाष्टिकयुक्त फोहोरमैलाको दहनबाट विषालु ग्यास उत्सर्जन हुने जनचेतना बढ्न थाल्यो । परिणामतः सन् १९९० को दशकमा जापानीहरूले फोहोरमैलाको व्यवस्थापन पद्धतिमा आमूल परिवर्तन ल्याए । सात आठ किसिमका फोहोरलाई घरमै वर्गीकरण गरेर पुनः प्रशोधन (रिसाइक्लिङ) गर्न स्थानीय सरकारको प्रयासलाई आम नागरिकका अतिरिक्त विश्वविद्यालय आदि सबैले उत्तिकै सघाएका छन् ।

जापानी जनताको वातावरणीय चेतनाबाट म प्रभावित भइरहँदा मेरा गुरु उकिता भने मानिसको आधुनिक जीवनशैली नै फोहोरमैलाको स्रोत भएकाले त्यसमै आमूल परिवर्तन नगरी समस्याको दिगो समाधान नभेटिने कुरामै चिन्तन गरिरहनुभएको थियो । उहाँले विषालु ग्यास उत्सर्जनमा केन्द्रित रहेर मैले अनुसन्धान गर्नुपर्ने निर्णय गरिदिनुभयो, जसलाई मैले असहजतापूर्वक स्विकारें । मलाई थाहा थियो मेरा आरामका दिन अब समाप्त भएका छन् । जापान पुगेको एक वर्षभित्र उहाँले मलाई यामागुची क्षेत्रका प्रायः सबै इन्सिनरेटर, रिसाइक्लिङ सेन्टर, गाउँ गाउँका प्राथमिक फोहोर वर्गीकरण केन्द्रहरूमा पुर्यापउनुभयो । उकिता सेन्सेइ आफ्नै हातले फोहोरका थुप्राबाट ‘स्याम्पल’ लिनुहुन्थ्यो, राति अबेरसम्म बसेर प्रयोगशालामा मैले काम गरे नगरेको निरीक्षण गर्नुहुन्थ्यो, मलाई ल्याबका भाँडा माझ्न र टेबल सफा गर्न समेत सिकाउनुहुन्थ्यो । विद्यावारिधि मेरा लागि भएकाले अनुसन्धानको जिम्मा पनि मेरो मात्र हो भन्ने उहाँले कहिल्यै ठान्नुभएन । आफ्नो प्रोफेसर हरदम आफूसँगै भएका कारण मलाई अनुसन्धानमा कुनै कठिनाई महसुस भएन।

अध्ययन नसकुञ्जेल मेरा हरेक सुख-दुःखमा उकिता सेन्सेइले सहभागिता जनाउनुभयो । हातमा एक झोला चामल लिएर एकदिन बिहानै उहाँ मेरो ढोका ढक्ढक्याउन आइपुग्नुभयो “यामागुची प्रिफेक्चरकै लोकप्रिय चामल हो यो । यो वर्षको पहिलो बाली” म कृतज्ञताले अवाक् भएँ । फेरि अर्को पटक त्यसैगरी बिहानै ढोकाको घण्टी बज्यो । खोलेर हेर्छु क्रोधले राता-नीला भएका उकिता सर “आज बिहानै फोहोरमैला स्याम्पल लिन रिसाइक्लिङ सेन्टर जाने भनेको होइन, मलाई कतिञ्जेल तिम्रो आँगनमा पर्खाउँछौ ?” मैले लज्जित हुँदै “सर, माफ गर्नुस् मैले बिर्सिए...” भनेको मात्र के थिएँ सरको क्रोध ह्वात्तै बढिहाल्यो, “यही उमेरमा यति सजिलै आफ्नो प्रतिबद्धता बिर्सियौ भने तिमीले जीवनमा के उन्नति गरौला ?” मैले एकबिहानै सेन्सेइलाई आँगनमा पर्खाएको घटना धेरै दिनसम्म उकिता ल्याबका जापानी विद्यार्थीबीच चर्चाको विषय बनिरह्यो ।
एकदिन ९ बजे ल्याब पुग्दा उकिता सेन्सेइ मलाई नै पर्खेर बसिरहनुभएको रहेछ “के हो अनुसन्धानतिर त्यति ध्यान छैन जस्तो छ नि हाम्रा नेपाली मित्रको ?” उहाँको अप्रत्यासित प्रश्नले म अलि दुःखी जस्तो भएँ ‘यति धेरै मिहिनेत गर्दा पनि बूढाको यस्तो हप्काई’ मैले हतप्रभ हुँदै सोधेँ, “किन र सेन्सेइ? म त काम गरिरहेकै छु जस्तो लाग्छ ।” “हिजो मैले खोजेको वेला त तिमी ल्याबमा थिएनौ”। बूढाले राति १२ बजे खोजेका रहेछन् ! अवकाशमा जाने उमेर भएका वृद्ध प्रोफेसर रात-रातभर काम गर्न सक्ने तर उनी भन्दा धेरै तन्नेरी म भने साँझ पर्योत कि हिँडिदिने बानीलाई मैले त्यही दिन तिलाञ्जली दिएँ । हरेक रात उकिता सेन्सेइको झ्यालको बत्ती निभेपछि मात्र म घर फर्कन्थें । यथार्थमा, जापानका प्रायः सबै प्रोफेसर यसरी नै लगनशील भएर काम गर्छन्, स्वयंको उदाहरणबाट विद्यार्थीलाई प्रेरित गर्छन् ।

उकिता सेन्सेइको सानो घरमा परिवारको सदस्य जस्तो भएर मैले धेरै छाक खाना पनि खाएँ । यसरी घरको सम्झनाले मेरो अध्ययन कमजोर नहोस् भनेर उहाँले सधैं मलाई पितृवत् स्नेहले सिञ्चन गरिरहनुभयो । म नेपाल फर्कने केही दिनअघि मात्र थाहा पाएँ मैले छात्रवृत्ति लिँदा तिर्नै नपर्ने कर तिरिरहेको रहेछु । त्यो कर फिर्ता लिन मसँग समय थिएन । सेन्सेइले “म प्रयास गरौंला” भनेर आफ्नै पैसा दिनुभयो, जुन शायद उहाँले सरकारबाट कहिल्यै पाउनु भएन ।

नेपाल फर्कने दिन मलाई बिदा गर्न उकिता सेन्सेइ बसबिसौनीमा नआउने कुरै थिएन । उहाँले मलाई राम्रो काम गरेर आफ्नो अध्ययनलाई जनउपयोगी बनाउन सधैं प्रयत्न गर्न सल्लाह दिनुभयो । म अश्रुपुरित नेत्रले उहाँलाई हेरिमात्र रहें केही बोल्न सकिनँ । जापानी जाति आफ्नो भावना अनुहारमा अभिव्यक्त हुन दिँदैनन् तर सेन्सेइको अन्तिम उपदेशले मेरो भने हिक्का छुटिहाल्यो, उहाँले साह्रै असहज मान्नुभयो।

जापानको शिक्षाले संसारमा जहाँ गए पनि सार्थक जीवन बाँच्न सक्ने सामर्थ्य र आत्मबल दिन्छ । म त्यस्तै आत्मविश्वास बोकेर रूसतिर लागें। केही वर्षपछि उकिता सेन्सेइले पनि विश्वविद्यालयबाट अवकाश पाउनुभयो । तर, उहाँको सक्रियता कहिल्यै कम भएन । आजभोलि पनि उहाँ स-साना बालबालिकालाई वातावरणको महत्वबारे गीत गाएर, नाचेर सिकाउनुहुन्छ । उहाँको वातावरण विज्ञानको चिन्तन अब प्रकृतिको सीमाभन्दा धेरै व्यापक भइसकेको छ । उहाँलाई जापानका युवामा बढेको मानसिक दबाबको चिन्ता छ । युवाहरुले योग्यता अनुरुपको काम पाउन छाडेको, मान्छेलाई मेसिनले प्रतिस्थापन गर्दै लगेको र तीव्र प्रतिस्पर्धाले युवाको खुशी खोसिएको स्थितिप्रति उहाँको असन्तुष्टि छ । त्यसैले कहिलेकाहीँ उहाँ जुनियर हाईस्कूलमा सामाजिक वातावरण पढाउन जानुहुन्छ, नैतिक शिक्षा दिनुहुन्छ, वातावरणलाई आदर गर्न र जीवनयापनलाई सरल बनाउन सिकाउनुहुन्छ । उपभोक्ता संस्कृतिले निम्त्याएको विकराल आर्थिक र सामाजिक समस्याका बारेमा सम्झाउनुहुन्छ । उहाँ जापानी युवाहरूलाई ‘हामी पनि तिमीहरूसँगै छौं’ भनेर ढाढस दिँदै तिनमा अनुशासन, दया, करुणा र भ्रातृत्व जस्ता जापानी समाजका चारित्रिक पहिचानलाई पुनर्स्थापित गर्न प्रयत्नरत हुनुहुन्छ । जापानमा शिक्षकलाई कहिल्यै कालोमोसो दलिँदैन, बरु तिनका विचारलाई आदरपूर्वक मनन गर्ने परम्परा छ । त्यसै भएर प्रा. उकिता र उहाँ जस्ता समर्पित गुरुहरूको विवेकशील नागरिक बनाउने प्रयत्न सफल हुने कुरामा मलाई कुनै सन्देह छैन ।

उकिता गुरुले जापानमा अपेक्षा गरेको ‘आध्यामिक चिन्तन’को अर्थ सरल जीवनशैली अपनाउँदै प्राकृतिक र सामाजिक पर्यावरणप्रति व्यक्तिगत दायित्वबोध गर्ने विवेकशील मानिस निर्माणको अभियान हो भन्ने मलाई लाग्छ । सुनामीका कारण धेरै मान्छेको असामयिक मृत्यु भएकोमा एकप्रकारको असफलताबोधले उहाँलाई अवश्य दुःखी तुल्याएको छ, तर थुप्रै जापानीहरू जस्तै उहाँ पनि हतास हुनुहुन्न । हतासा जापानी जातिको चारित्रिक विशेषता पनि होइन । सबै गुमाएर फेरि प्राप्ति र उपलब्धिको अभियानमा जुट्ने पटक-पटकको इतिहास बोकेको मासाओ उकिता सेन्सेइको मुलुक झन् ठूलो दृढता लिएर पुनः बिउँझिने कुरामा म ढुक्क छु ।

साभार : शिक्षक मासिक, वैशाख २०६८