Saturday, July 28, 2012

कठोर समयका कोमल कवि: एसेनिन


सोभियत इतिहासको पानाबाट
कठोर समयका कोमल कवि: सेर्गेइ एसेनिन  

'आत्महत्याको मामलामा सन् १९२५ असामान्य रूपले समृद्ध थियो । लेनिनग्रादमा दिनको १० देखि १५ वटा आत्महत्या भइरहेका थिए... सबैथरीका सोभियत नागरिकहरूलाई चरम निराशाले छोपेको थियो.. निर्माण गर्ने श्रमिकहरू गोली हानेर मरिरहेका थिए.. बेरोजगारहरू त्यसैगरी आफैंलाई मारिरहेका थिए.. विशेष उद्वेलित अवस्थामा विघटित लालसेनाका जवान थिए, जसले गृहयुद्धको समाप्तिपछि कुनै काम पाएका थिएनन्..।' सन् १९१७ को अक्टोबर विप्लवपछि सुरु भएको भयानक गृहयुद्धबाट मुक्त भएर तंग्रिंदै गरेको रुसको तत्कालीन सामाजिक अवस्थालाई इतिहासकार निकोलाई स्भानिद्जेले आफ्नो 'इतिहासको वृत्तान्त' नामक डकुमेन्ट्रीमा यसरी चित्रण गरेका छन् ।  'क्रान्ति'पछि सोभियत कम्युनिस्ट पार्टीमा नोकरशाहीले बिस्तारै घर जमाउँदै जाँदा पार्टीमा नवप्रवेशी कम्युनिस्टहरू हावी भएर पुराना कमरेडमा पनि निराशाको स्थिति थियो । आत्महत्या गर्नेहरूमा ती पनि थिए र स्भानिद्जेका अनुसार 'गृहयुद्धमा तिनले प्रयोग गरेको हतियार अझै बुझाई नसकेको हुँदा तिनलाई आत्महत्या कसरी गर्ने भन्ने द्विविधा थिएन ।' यो आफैंलाईं सिध्याउने आममान्छेको भीडमा एउटा असाधारण मान्छे पनि मिसिन आइपुग्यो­- त्यो जमानाको सम्भवतः सबैभन्दा ठूलो रुसी कवि सेर्गेई अलेक्सान्द्रोभिच एसेनिन ।

सन् १८९५ मा रुसको किसान परिवारमा जन्मिएका एसेनिन युवा उमेरमै शक्तिशाली कविता लेखेर लोकप्रिय बनिसकेका थिए । लयात्मक शैलीमा लेखिएका उनका रचनाले 'रुसी' आत्मालाई उजागर गरेर अलेक्सान्द्र पुस्किनको परम्परालाई निरन्तरता दिएको मानिन्छ । एकपटक दरबारमा कविता सुनाउँदा रानीले 'तपाईंका कविताहरू सुन्दर भए पनि सारै उदास छन्' भनेर टिप्पणी गर्दा उनले 'अहिले सारा रुस नै त्यस्तै छ' भन्ने जवाफ दिएका थिए रे । सन् १९१७ मा लेनिन र अर्का बोल्सेभिक लेभ त्रोत्स्की (लियोन ट्रट्स्की) को नेतृत्वमा भएको अक्टोबर 'क्रान्ति' प्रति निकै आशावादी देखिएका कविले ६ वर्षपछि सोभियत सत्ताबाट मोहभंग भएको झैं लाग्ने गरी 'दुष्टहरूको देश' जस्तो सिर्जना गरेर 'मार्क्सको नाममा बोसो बढाउने' माथि आफ्नो तिखो आक्रोश पोखे । त्यसैले केही समय उनीमाथि सत्ताको निगरानीसमेत बढेको थियो । आफू मर्नु एक वर्षअघि लेनिनको मृत्युले द्रवित बनेर उनैप्रति समर्पित 'लेनिन' शीर्षकको कविता कोरे पनि एसेनिनभित्रको भावुक स्रष्टा 'क्रान्तिकारी' थिएन । रोगले उनी निकै थला परेपछि सोभियत कम्युनिस्ट पार्टीका नेता ख्रिस्तिआन राकोभ्स्कीले तत्कालीन क्रान्तिकारी सरकारका गृहमन्त्रीलाई 'सोभियत संघको निःसन्देह सबैभन्दा प्रतिभाशाली कवि एसेनिनको प्राणरक्षा गर्न' अनुरोध गर्दै पत्र लेखेका थिए । गृहमन्त्रीले त्यसमा आवश्यक कारबाही गर्न आदेश पनि दिएका रहेछन्, तर जीवनसँगै विद्रोह गर्दै हिँडेका कविलाई प्रहरीले भेट्न नसकेको दस्ताबेजमा उल्लेख छ ।

धेरै 'सेलेब्रिटी' कविझैं एसेनिनको व्यक्तिगत जीवन पनि निकै अराजक र अस्तव्यस्त थियो । सुनौलो कपाल भएको आकर्षक व्यक्तित्वका युवा कवि एकपछि अर्को गर्दै तीनपटकसम्म विवाह र थुप्रै अन्तरंग सम्बन्धहरूले बाँधिएर पनि जीवनपर्यन्त कुनै अमूर्त खुसीको खोजीमा भट्की नै रहे । पत्रपत्रिकामा उनलाई मद्यपान, व्यभिचार, झगडाजस्ता असामाजिक क्रियाकलापमा संलग्न रहेको आरोप लाग्नु सामान्यजस्तै थियो । अत्यधिक मद्यपानले उनको मानसिक र शारीरिक स्वास्थ्यमा घातक असर पार्न थालेपछि सहृदयी साथीभाइले उनलाई कहिले मस्को त कहिले लेनिनग्रादका मानसिक अस्पतालमा भर्ती गराइदिने गर्थे । अन्ततः सन् १९२५ मा तीस वर्षको अल्पायुमै लेनिनग्रादको एउटा होटेलमा उनको अत्यन्त हृदयविदारक मृत्यु भयो । एसेनिनको निधन रहस्यमय भए पनि औपचारिक दस्ताबेजमा जीवन र कविता दुवैबाट थाकेर चरम डिप्रेसनको अवस्थामा उनले आत्महत्या गरेको उल्लेख छ । मृत्युको एक दिनअघि बाँच्नु र मर्नु दुवै कुनै नौला कुरा होइनन् भन्ने आशयको 'फेरि भेटौंला मित्र..' शीर्षकको अन्तिम कविता उनले आफ्नै रगतले कोरेका थिए । मृत्युको प्रथम पुण्यतिथिमा एसेनिनकी एक प्रेमिकाले पनि उनको चिहानमै गएर आत्महत्या गरेकी थिइन् ।
 
**
एसेनिनले निकै महिनाको अमेरिका यात्रापछि सन् १९२४ मा रोचक संस्मरण लेखेका छन्, जसले उनी गद्यमा पनि समान रूपले दक्ष रहेको प्रमाणित गर्छ । त्यो यात्रा संस्मरणमा रुसी जनताको अमेरिकाप्रतिको जुन मानसिकता प्रतिविम्बित भएको छ, त्यो आजपर्यन्त सान्दर्भिक छ  । उनी भ्रमणमा निस्कँदा अक्टोबर विप्लवका नायक त्रोत्स्कीले 'अब एसोनिन अर्कै मान्छे भएर र्फकनेछन्' भनेर लेखेका रहेछन् । सायद उनी पुँजीवादी समाजको अतिरिक्त प्रभाव बोकेर आउलान् कि भन्ने आशंका थियो । तर अमेरिकाको भौतिक प्रगति र विशेषगरी बिजुलीको झिलिमिलीमा नुहाएको न्युयोर्कको ब्रोडवेबाट किञ्चित प्रभावित भए पनि त्यहाँको सांस्कृतिक दरिद्रतामाथि उनले तिखो व्यङ्ग्य गरेका छन् । उनको मूल्यांकनमा 'कंक्रिटको शक्ति र विशाल अट्टालिकाले अमेरिकी मान्छेको दिमागलाई थिचेको र दृष्टिलाई संकीर्ण बनाएको छ ।' त्यसैमा एउटा रोचक प्रसंग उल्लेख गर्दै उनी अगाडि लेख्छन्, "मलाई एउटा अमेरिकीले भन्यो­ 'मलाई पनि युरोपका बारेमा धेरै थाहा छ । म इटाली र ग्रिस घुमेको छु । र, 'पार्थेनन (प्राचीन ग्रिक मन्दिर)' पनि देखेको छु । यो मेरो लागि कुनै नौलो कुरा होइन । तपाईलाई थाहा छ, हाम्रो टेनेसी राज्यमा पनि पार्थेनन छ, जुन युरोपको भन्दा धेरै नयाँ र राम्रो छ ?' यस्ता शब्दले एकैचोटि रुन र हाँस्न मन लाग्छ । यी शब्दहरू अमेरिकाको सांस्कृतिक चरित्रलाई सम्पूर्णतामा वर्णन गर्न पर्याप्त छन् । युरोपले धूमपान गरेर जुन ठुटाहरू फ्याँक्छ, अमेरिका तिनलाई टिपेर जम्मा गर्छ । तर ती ठुटाबाट कुनै भव्य चिजको निर्माण भइरहेको छ ।" पुस्किन, दोस्तोएभ्सकी, तोल्स्तोई, चेखवजस्ता महान् साहित्यकार, चाइकोभ्स्की, सोस्ताकोभिच प्रभिति संगीत शिल्पी र बोल्सोई थिएटरजस्तो कलाको विलक्षण केन्द्र भएको रुसको भूमिपुत्रले साहित्य, कला र संस्कृतिको कुरा आउँदा वास्तविक युरोपमाथि त नाक खुम्च्याउन पछि पर्दैन भने युरोपको नक्कल गरेर, अर्थात् ठुटा टिपेर, भरखर भरखर देश बन्न लागिपरेको उ बेलाको अमेरिकाको कृत्रिम तडकभडकले एउटा प्रसिद्ध कविलाई कहाँ प्रभावित पार्न सक्थ्यो र ?
**

एसेनिनको अत्यन्त असामयिक अवसानले आहत हुँदै तिनै त्रोत्स्कीले यसरी आफ्नो श्रद्धाञ्जलि व्यक्त गरेका छन्, 'हामीले एउटा उत्कृष्ट, निर्मल र मौलिक कविलाई गुमायौं.... हाम्रो समय कठोर समय हो । हुन सक्छ कथित सभ्य मानव जातिको इतिहासको सबैभन्दा कष्टकर समय हो, यो । यी दशकहरूका लागि जन्मिएको एउटा क्रान्तिकारी आफ्नो कालखण्ड र पितृभूमिप्रतिको प्रखर समर्पणका कारण समयको कठोरतामाथि विजय प्राप्त गर्न सक्छ । एसेनिन भने क्रान्तिकारी थिएनन्, मधुर काव्यका श्रष्टा थिए । तर हाम्रो समय काव्यात्मक समय होइन । एसेनिनले हामी र आफ्नो समयलाई स्वेच्छाले यति चाँडै छाड्नुको प्रमुख कारण यही नै हो । द्वन्द होइन मित्रता, प्रेम र कोमलताको साम्राज्य भएको मैत्रीपूर्ण, सुखी र गीतसँगै वाँच्ने समाजमा मात्र एसेनिनको काव्यात्मक प्रतिभाले उत्कर्षता पाउन सक्थ्यो ।'

विडम्बना के भने मान्छेको स्वतन्त्रता निसास्सिएको सोभियत संघमा 'यो देशमा झैं यति उन्मुक्त भई, सास फेर्ने मान्छे अरू होला कहाँ' टाइपका प्रोपोगन्डा गीत त धेरै रचिए र गाइए, तर लेनिन, त्रोत्स्की आदि बोल्सेभिकहरूले मञ्चन गरेको अक्टुबर विप्लवले हृदयका 'गीतसँगै बाँच्ने' कोमल समाज भने कहिल्यै निर्माण हुन दिएन । स्तालिनकालसम्म आइसक्दा रुसको समय झन् कठोर र अनुदार बन्दै गयो, साहित्यिक सिर्जनाका मुहानहरू सुक्दै गए । 'सर्वहारा'ले ठूला ठूला स्रष्टाका पुस्तकलाई 'सेन्सर' गर्ने जिम्मेवारी पाए र 'सोभियत जीवनको यथार्थ'मा भिज्न नसक्ने लेखकहरू 'परजीवी आवारा' भएको आरोपमा श्रम शिविर पठाइए । 'उन्मुक्त सास फेर्न चाहने' धेरै साहित्यकार, कलाकारलाई स्वेच्छाले वा बलात् निर्वासनमा पठाइयो, जो बाँकी रहे ती पनि सत्ता र स्व­नियन्त्रणको सिकार भएर कुण्ठित बने वा सुदूर साइबेरियाको श्रम सिविरको दुरुह जीवन बाँच्न बाध्य बनाइए । एसेनिनको मृत्युमा शोकगीत गाउने स्तालिनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी त्रोत्स्की र उनको सिर्जनात्मक प्रतिभालाई सम्मान गर्ने राकोभ्स्कीजस्ता कम्युनिस्ट नेताको समेत षड्यन्त्रकारी ढङ्गले स्तालिनद्वारा निर्मम हत्या गरियो । उनको पहिलो विवाहबाट जन्मिएका छोरा युरीलाई पनि स्तालिनको हत्याको योजनामा संलग्न भएको आरोपमा गोली हानेर मारियो । मरिसकेका कवि स्वयं यो दमनबाट अछुतो रहेनन् । उनका सिर्जनाविरुद्ध स्तालिन शासनले अभियान नै चलायो ।

सन् १९२७ मा सोभियत कम्युनिस्ट पार्टीमा त्यसबेला स्तालिन खेमाका पोलिटब्युरो सदस्य निकोलाई बुखारिनले एसेनिन एउटा कविमात्र नभएर व्यक्तिको पतन हुने प्रवृत्तिका प्रतिनिधि पात्र भएको दाबी गर्दै लेखे 'एसेनिन प्रवृत्तिले रुसी ग्रामीण समाज र कथित 'राष्ट्रिय चरित्र'का सर्वाधिक नकारात्मक विशेषताको प्रतिनिधित्व गर्छः झगडा, अनुशासनहीनता र सामाजिक जीवनका सबैभन्दा पिछडिएका परम्पराको देवत्वकरण ।' उनी यसरी पार्टीको गुटगत द्वन्दमा आफ्ना तत्कालीन शत्रु तथा एसेनिनको मृत्युले भावविह्वल त्रोत्स्कीलाई कविको सिर्जनामा होइन उनको व्यक्तित्वमाथि प्रहार गरेर जवाफ दिन चाहन्थे । सर्वशक्तिमान् कम्युनिस्ट पार्टीको जिम्मेवार नेताले यस्तो फैसला सुनाएपछि एसेनिनका पुस्तकहरू बुक स्टोर र पुस्तकालयबाट 'हराउनु' स्वाभाविक थियो । पछि १९६० को दशकमा मात्र तिनको पुनर्मुद्रण भयो । नियतिले बुखारिनसँग भने भद्दा मजाक गर्‍यो । पुँजीवादलाई पुनर्स्थापना गर्ने दक्षिणपन्थी षड्यन्त्रमा सहभागी भएको आरोपमा स्तालिनले उनको पनि गोली हानेर हत्या गराए ।

'मलाई स्वर्ग होइन मातृभूमि देऊ' भनेर ईश्वरसँग अनुनय गर्ने राष्ट्रवादी कविको लोकप्रियतालाई सोभियत अवरोधले कसरी छेक्न सक्थ्यो ? मृत्युपश्चात् उनको प्रसिद्धि झन् बढेर गयो । पछि १९६५ मा कविको जन्मभूमिमा स्थापना गरिएको संग्रहालयमा रहेको स्मृति पुस्तकमा उनका केही प्रशंसकहरूले यस्तो लेखेका छन्, 'हामी निर्माण गर्ने श्रमिक हौं र नयाँ उद्योग, कारखाना, स्कुल आदि बनाउँछौं.... र एसेनिनले श्रम गर्दा प्रयोग गरेको भन्दा नितान्त फरक सामान प्रयोग गर्छौं । तर हामी दुवैलाई जोड्ने चिज के हो भने उनी जनतालाई चाहिएको नयाँ लयको निर्माण गर्छन् र हामी निर्माण गर्छौं­ भोलिको नयाँ र सुखी संसार, जसको नाम साम्यवाद हो । एसेनिनको आत्माको शुद्धताले हामीलाई विज्ञान र निर्माणमा अपूर्व साहसका लागि प्रेरित गर्छ ।'

**
सन् १९२४ मा आफ्नो थकित र दयनीय जिन्दगीको अन्तिम समयतिर सेर्गेइ एसेनिनले लेखेको ‘आमालाई पत्र’ शिर्षकको लोकप्रिय कविताको नेपाली भावानुवाद ।

आमालाई पत्र
सेर्गेइ एसेनिन  

जिउँदै त हौली, मेरी बुढी आमा ?
नियास्रोले तिम्रो, लगाउँछ कहाली
झुपडीको तिम्रो, आकाशमा हरदम
संध्यामा छाओस्, अद्‍भुत लाली 

सँगालेको चिन्ताले, हृदय जलाई
सुकेकी छौ रे', भइ जीर्ण बोट  
मेरो बाटो हेर्छौं रे', घरबाट निस्की 
लगाएर थोत्रो, त्यही ओभरकोट  

घरिघरि संध्याको, उदास पलमा
सपना झैं देख्छौ रे', एउटै कुरा
भट्टीको अप्रिय, झगडामा मेरो
छाती मै कसैले, हानेको छुरा 

व्याकुल नहोऊ, त्यो तुच्छ भ्रमले
पतित भइ के, म त्यसरी गिरुँला
पिएपनि त्यस्तो, कपुत कहाँ हुँ 
नभेटी तिमीलाई, कसरी मरुँला?

अझैपनि उस्तै, म विनम्र नै छु
अब मात्र एउटा, सपना छ बाँकी
त्यही न्यानो घरमा, चाँडै म फर्कौं
अतिरेक यस्तो, उदासीलाई त्यागी  

म फर्कनेछु, जब आउला बसन्त
बगैंचालाई ढाक्लान्, फूल र पात
तर प्रात:काल, अब झिस्मिसेमा
नजगाउनु फेरि, मलाई निँदबाट

बितेका कुरालाई, सम्झाऊ फेरि
अप्राप्तलाई सोचेर, नजलाऊ प्राण
यौवनका थुप्रै, विफलताहरु लाई
भोगेर जीवन, छ लखतरान

नसिकाऊ गर्न, देवस्तुति भो'
अब फर्कंदैन, भएको हरण
तिमी मात्र मेरो, सहारा र चैन 
तिमी मात्र मेरो, अद्वीतीय किरण

त्यसैले भुलाऊ, सबै फिक्रि चिन्ता
अकारण हृदयमा, नलगाऊ चोट
निस्किनू धेरै, मेरो बाटो हेर्दै 
लगाएर थोत्रो, त्यही ओभरकोट

(अनु. जुगल भूर्तेल)

साभार: कान्तिपुर दैनिक, २०६९ श्रावण १३ (28 July 2012) 
http://kantipuronline.com/kantipur/news/news-detail.php?news_id=275993  

No comments:

Post a Comment