Monday, August 26, 2013

एक पाइला अगाडि, दुई पाइला पछाडि


मस्को स्थित क्रेमलिन दरवारको आँगनमा एउटा सानो घर छ, जहाँ सन् १९२४ मै निर्जीव बनेको लेनिनको शवलाई सार्वजनिक प्रदर्शनीका लागि राखिएको छ । त्यसरी लामो समयदेखि मानवोचित मृत्युसंस्कारको प्रतीक्षामा कठ्याँग्रिएर विश्वभर छरिएका आफ्ना असंख्य अनुयायीको क्रान्तिकारी उत्थान र चरम पतनको ज्वारभाटा झेल्न बाध्य कामरेडको बेचैन आत्माले माफ गरोस्, वर्तमान नेपालको वास्तविकतालाई केही शब्दमा व्यक्त गर्न उनको एउटा प्रसिद्ध लेखको यो शीर्षक जति सटीक अरु केही भेटिएन । सबै किसिमका रंगीबिरंगी लेनिनवादी-माओवादी दल भित्रको पदलोलुप भाँडभैलोलाई द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका आधारमा अणु र परमाणुसँग जोडेर 'वैज्ञानिक' व्याख्या गर्न सिद्धहस्त 'वाम' बुद्धिजीवीका लागि त्यो लेख अहिले निकै सान्दर्भिक र उपयोगी हुनसक्छ । हामी भने लेनिनवादलगायत थरीथरीका उग्र विचारधारा र स्वार्थको चेपुवामा परेर निरन्तर दुई पाइला पछाडि फर्किन बाध्य बनाइएको मुलुकको दुर्दशाको बारेमा अलिकति चिन्तन गरौँ।
'जस्ता जनता, उस्तै नेता' भत्रे उखान हाम्रो हकमा असान्दर्भिक जस्तो सुनिन्छ । आफू सधैँ अशिक्षा, गरिबी र उत्पीडनले पिल्सिएर पनि नेपाली जनताले यस देशलाई कहिल्यै पराधीन हुन नदिएर अग्रगमनका गौरवशाली पाइला चाल्दैआएका छन् । तर कहिले सुनियोजत ढङ्गले त कहिले लज्जास्पद पदलोलुपतावश किस्ता किस्तामा मुलुकको स्वाधीनताको सौदा गर्दै कुनै अमूर्त 'बाध्यता' को मुखुण्डोले अनुहार छोपेर शासन गर्ने नेताले मुलुकलाई जहिल्यै दुई पाइला पछाडि सार्दा जनताको बलिदानको अपमान हुँदै आएको छ । तिनै जनताको वर्षौं लामो संघर्षद्वारा आर्जित शक्ति पृथकीकरण र बहुदलीयताको सिद्धान्तजस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई नै तिलाञ्जली दिएर निर्वाचन प्रयोजनको नाममा प्रधान न्यायाधीशको नेतृत्वमा गैरदलीय सरकार गठन गर्ने चार दलीय शक्तिकेन्द्रको प्रतिगामी कदमले मुलुकलाई कति पाइला पछाडि सार्‍यो, त्यसको हिसाबकिताब हुन अझै बाँकी छ ।
ठूलो संघर्षपश्चात् जहानियाँ राणा शासनबाट मुक्त भएर वास्तविक अग्रगमनको ऐतिहासिक पाइला चाल्न नपाउँदै २०१७ सालको प्रतिगामी कदमले मुलुकलाई तीस वर्ष लगातार उल्टो दिशामा दौडायो । विसं २०४६ मा प्रजातन्त्रको पुनर्स्थापनासँगै देश शान्ति र समृद्धिको दिशामा पुनः एक कदम अगाडि हिँड्नमात्र के लागेको थियो विदेशीको आश्रयबाट रक्ताम्य पारेर कथित परिवर्तनकारी शक्तिले घुँडा टेकाई हाले । घिस्रिनसमेत नसक्ने गरी घाइते देशलाई २०६३ को ऐतिहासिक जनआन्दोलनले पुनर्जीवन दिलायो र नेपाली जनताले आफ्नो संविधान बनाउने अधिकार पाए । त्यो हामीले अगाडि बढाएको अर्को ऐतिहासिक पाइला थियो । तर राजसंस्थाको अवसानसँगै विपरीत सिद्धान्तले निर्देशित राजनीतिक पार्टीलाई एकजुट बनाइदिने शक्तिशाली प्रतिद्वन्द्वी पनि मैदानमा रहेन । त्यसपछि जाति, नस्ल, सम्प्रदाय आदि मान्छेका आदिम भावनालाई ब्युँझाएर सत्ताप्राप्तिको चोर बाटोलाई राजनीतिको मूलधार बनाउने चेष्टा भइरहेको छ । त्यसले स्वयं राजनीतिक सिद्धान्तको अवसान भएको आभास हुन्छ । मुलुकको बहुभाषिक र बहुसांस्कृतिक विशेषता एवं विलक्षण भौगोलिक विविधतालाई पूर्णतया खारेज गर्दै एकल जातीय संघीयताको साम्प्रदायिक द्वन्द्व खडा गर्नु एवं एक मधेस प्रदेश जस्तो अत्यन्त बदनियतपूर्ण अडान राखेर संविधानसभालाई पंगु बनाउनु र अन्ततः 'क्रान्तिकारी' हातबाट त्यसको निर्मम हत्या हुनु मुलुकका लागि दुई पाइला पछि सर्नुजस्तै हो । यसरी समाजका अतिवादी आकाक्षांहरुलाई गिजोलेर एउटा संविधानसभालाई जातीय द्वन्द्वको खतरनाक केन्द्र बनाएका 'प्रगतिशील' राजनीतिक दलहरुले मुलुकलाई धेरै पाइला पछाडि धकेलिसकेका छन् । निर्वाचनको नाममा अब फेरि त्यस्तै संविधानसभाको निर्माण भयो वा चार दलीय दम्भका कारण भाग लिने र बहिष्कार गर्नेमा मुलुक विभाजित भयो भने अझ पछाडि सर्दा पाइला टेक्न नेपाली भूमि नहुन पनि सक्छ ।
केही 'विद्वान'ले यस्तो चिन्तालाई 'गणतन्त्रप्रति अविश्वास सिर्जना गर्ने राजावादी वा प्रतिक्रयावादीको षड्यन्त्र', 'पुरानो सत्ताबाट लाभान्वित कुलीनको प्रलाप' आदि यस्तै थोत्रा आरोप लगाएर प्रतिकार गर्ने निश्चितै छ । तर 'प्रतिक्रयावादीहरुको षड्यन्त्र' भत्रे शब्दावलीको टालो प्रयोग हुँदाहुँदा यसरी धुजा परिसक्यो कि त्यसले अब अतिक्रान्तिकारी प्रयोगकर्ताको नक्कली आँसुसमेत सोस्न सक्दैन । नयाँ सत्ताका कुलीनहरुको तुलनामा पुरानो सत्ताका कुलीनहरु नर्सरीका बालकजस्ता निरीह लाग्छन्, जसलाई देखाएर जनतालाई तर्साउन पनि अब सम्भव छैन । जहाँसम्म राजावादीको कुरा छ, विद्वत्वर्गलाई बताइदिउँ अपदस्थ राजा, रानी तथा तिनका पाँच सन्तानको क्रुर हत्या र हरेक किसिमका वैकल्पिक विचारलाई पूर्णतः दमन गरेर बोल्सेभिकहरुले सात दशक निरंकुश सत्ता सञ्चालन गर्दा पनि सोभियत संघ ढलेको दिन रुसमा राजतन्त्रका पक्षधरहरु अझै बाँकी नै थिए । राजतन्त्र समाप्त भएको आधा दशक पनि नभएको हाम्रो बहुलवादी समाजमा राजावादी रहनु कुनै आश्चर्यको कुरा होइन । यथार्थमा राजा वीरेन्द्रको वंशनाश भएकै दिन नेपालको राजतन्त्र कहिल्यै मौलाउन नसक्ने गरी मरिसकेको हो । यद्यपि, वाह्यशक्तिको साथ र सहयोगले आफू प्रधानमन्त्री हुनुपर्ने देशका नेतालाई पूर्वराजाले पनि त्यही कार्ड प्रयोग गर्लान् भत्रे भयले घरीघरी चर्को ज्वरो आउनु अस्वाभाविक भने होइन ।
यावत् कमजोरी हुँदाहुँदै पनि नेतृत्ववर्गलाई सधैं शंकाको लाभ दिइरहने लोकतन्त्रवादी नागरिक अहिले 'निर्वाचनमा हराउनै पर्ने नेताहरुको सुची' तयार पार्दैछन् । बहुदलीय व्यवस्थामा दलीय राजनीति र त्यसको नेतृत्वप्रति यो स्तरको वितृष्णाको परिणाम के हुन सक्छ ? ठ्याक्कै हाम्रै बारेमा जस्तो गरी रुसी विश्लेषक एमिल पाइनले लेखेका छन्, 'कुनैपनि मुलुकका जनतालाई आफ्नो वर्तमान कुरुप र भविष्य निराशाजनक लाग्छ भने त्यो वैचारिक गतिहीनताको लक्षण हो । यस्तो अवस्थामा 'पपुलिज्म' र जनविद्वेषी जातिवादको मिश्रण नयाँ विचारको रुपमा समाजमा स्थापित हुन्छ ।' कथित परिवर्तनकारी र क्षेत्रीय शक्तिहरुको जनविद्वेषी राजनीतिले नयाँ राष्ट्र निर्माणको मधुर लय होइन विखण्डनवादी र विदेशी शक्तिको चरम चलखेल मात्र सिर्जना गरिरहेको हाम्रो भद्दा वर्तमानले पनि आगामी दिनप्रति आशावादी हुने कुनै आधार दिएको छैन । यसैले पनि नेपाली समाजको व्याकुलता बढ्दै गएको हो । दिल्लीका जासुसी संस्थाको बुई चढेर काठमाडौंको टाउकोमा एक दशक लगातार गरिएको सुनियोजित 'क्रान्तिकारी' प्रहारले जातीय द्वन्द्वका चतुर अभियन्ताको अग्राधिकार सुनिश्चित गरेपनि देशले भने स्थापनाकाल देखि अविच्छित्र रहेको आत्मनिर्णयको अधिकार गुमाउँदै गएको छ । लेनिनवादीका लागि 'प्रगतिशील' शब्द सबै पाप पखाल्ने गहुँतजस्तै रहेछ । त्यसैले यो स्तरको लम्पसारवाद अब 'प्रगतिशील' जस्तो भारिभरकम विशेषण जोडिएको राष्ट्रवाद हो रे' र हामीलाई बताइएअनुसार यो अंगुर निकै गुलियो छ । त्यही स्वादिष्ट अंगुरको अत्याधिक सेवनले मातेको सुरमा हाम्रा 'प्रगतिशील राष्ट्रवादीहरु'ले राजासँग खोसेर लिएको जनताको अधिकार, अथवा कामरेड बाबुरामका शब्दमा 'देशको चाबी', बाह्य शक्तिलाई उदारतापूर्वक सुम्पिदिएका छन् । यसबीचमा खेर गएको अवसर, समय, हजारौं निर्दोष ज्यान र धेरै पिँढीको अन्धकार भविष्यप्रति अपराधबोधजस्तो 'निम्न पुँजीवादी' भावनाको तिनमा कुनै गुञ्जायस छैन ।
नेपाली राष्ट्रियताका हरेक पक्षमाथि सुनियोजित प्रहार गर्नुलाई अहिले परिवर्तन मानिन्छ । न्याय र समानताको नाममा विश्वभर लाखौं निर्दोष मानिसको हत्या र दुर्भाग्यको कारण बनेका लेनिनको सालिक सुदूर युरोपमा उखेलिँदा यहाँ अरण्यरोदन गर्ने 'वामपन्थी'हरु लेनिन जन्मनुभन्दा दुई वर्ष अघि नै मरेका भानुभक्तले 'वधुशिक्षा' लेखेर समाजमा सामन्ती पितृसत्तालाई जरो गाड्न सघाएको आरोपमा उनका सालिक फुट्न सक्ने घुर्की लाउँछन् । किनभने, तिनलाई राम्ररी थाहा छ, भानुभक्त वा पृथ्वीनारायणको सालिक नफुटाई यहाँ 'साम्यवाद' आउँदैन । मुलुकलाई पश्चिमी दाताको हरेक किसिमको सनकको प्रयोग स्थल बनाइएको छ । हाम्रो देशमा यही संविधानमा छुट्टिएर जानेसम्मको जातीय आत्मनिर्णयको अधिकार चाहिने बेलायतीहरु आफ्नो देशका स्कटल्यान्ड र उत्तर आयरल्यान्डका जनताको आत्मनिर्णयको आकांक्षालाई किन उपेक्षा गर्छन् ? जातीय संघीयताले टुक्रा टुक्रामा आफैँ विभक्त हुँदै गएर सामाजिक विष्फोटका लागि तयार भएको भारतलाई गोर्खाल्यान्ड त चाहिएको छैन तर नेपालमा कति र कुन आकारको प्रदेश चाहिन्छ भत्रे उसलाई कण्ठै थाहा छ ।
'परिवर्तकारी' क्षेत्रीय शक्तिहरुमा 'आन्तरिक उपनिवेश'बाट मुक्त भएर यो देशैलाई उपनिवेश बनाइदिने प्रतिशोधको भावना ति तीव्र छ कि उनीहरु थोकका भाउमा गैरनागरिकलाई नागरिकता दिलाउन लागेका लाग्यै छन् । त्यसरी थपिएको कृत्रिम नागरिकता र मुलुकको भौगोलिक विविधता, बाध्यता र भावी संघीयतालाई पूर्णतः अस्विकार गर्ने गरी सधैँ निर्वाचन क्षेत्र बढाउनु पर्ने मागको अन्तर्य बुझ्न कठीन छैन । त्यसो गर्दा आफ्नै स्थानीय मधेसी जनता अल्पमतमा परी दीर्घकालीन पीडा र द्वन्द्वको स्थिति उत्पन्न हुने चिन्तामात्र व्यक्त गरियो भने पनि 'फिजीकरणको सिजोफ्रेनिया' प्रदर्शन गरेको आरोप लगाएर विवेकशील आवाजलाई अरिंगाल झैं डस्न प्रखर बुद्धिजीवीको गोलो नै तयार छ । तिनलाई कसैले राष्ट्रियता, सामाजिक सद्भाव, जातीय सहिष्णुताजस्ता शब्द उच्चारण गरेमात्र पनि 'पुरानो एकात्मवादी शासनका सुकिलामुकिला भुईफुट्टाहरुको शब्दजाल' जस्तो लागिहाल्छ ।
उता ठूलाठूला 'प्रगतिशील राष्ट्रवादी' कामरेडहरु अहिले मधेसप्रतिको 'लभ' मा यति लठ्ठ छन् कि तिनलाई नागरिकता जस्तो झिनामसिना कुरामा लागेर नयाँ नेपाल निर्माणको महान् यात्रामा तगारो हाल्ने कुनै चाहना छैन । एउटा भयंकर लेनिनवादी दलमा प्रेम र करुणा जस्ता कोमल मानवीय भावनाको प्रष्फुटन हुनुमात्र पनि समाजका लागि निकै सकारात्मक कुरा हो । तर सत्ता स्वार्थको अन्धो प्रेममा व्याकुल भएर प्रणय याचना गरिरहेको माओवादीका लागि गैरनागरिकको हातहातमा पुगेको नेपाली नागरिकता होइन कि गणतन्त्र दिवस मनाउन बानेश्वरमा भेला भएका नागरिक सबैभन्दा ठूलो समस्या भएका छन् । तिनले संविधानसभाको निर्वाचनमा सबै दललाई समेट्नुपर्छ भत्रे अडान राखेर वैद्यलाई भाग लिने वातावरण बनाइदेलान् भत्रे पीरले माओवादीको निदहराम भएको छ । त्यसैले घरीघरी रुक्माङ्गत कटवालको स्मरण गराएर लोकतन्त्रमा विश्वास गर्ने नागरिकको आस्थामाथि संदेह गर्नु अहिलेको नयाँ 'वामपन्थी' प्रवृत्ति बनेको छ । आफ्नो दलको निजी लडाकु दस्तालाई कायमै राखी राष्ट्रिय सेनालाई ध्वस्त बनाएर सत्ताकब्जा गर्ने षडयन्त्रअनुरूप कटवाल काण्ड गराएको कुरा लाल मसी नहालेका सबै कलमले लेखी नै सकेका छन् । तर पनि जरसा'बले साम्यवादसम्म पुग्ने बाटै छेकिदिएको भ्रम फैलाउन माओवादीले असफल प्रयत्न गरेकोगर्‍यै छ र त्यसलाई समर्थन नगरेकोमा 'कुलीन नागरिक समाज'प्रति ऊ असाध्यै क्रोधित छ । त्यो दुर्वासा क्रोधलाई लालित्यपूर्ण वाणी दिन 'प्रगतिशील' बुद्धिजीवीमा तँछाडमछाड छ, जसका लागि यतिखेर 'कुलीन' शब्दको प्रयोग 'वाम' बौद्धिकताको मौसमी मानक बनेको छ । उत्तराखण्डमा कुल्ली बनेर 'इतिहासमा उत्पीडन गरेको ऋण तिरिरहेका' कालिकोटका शासक जातिको मानमर्दनको सिजन अब सायद सकियो ।
नेपाली समाजमा क्रमशः विकसित हुँदैगएको यस व्यग्रताले सबै राजनीतिक दलको कार्यशैली र आचरणमा आमूल परिवर्तनको माग गरेको छ । सले पार्टीभित्र नयाँ नेतृत्वको खोजीलाई उत्प्रेरित गर्नेछ । पार्टीका युवा नेताहरु र सचेत कार्यकर्ताका लागि यो एउटा सुनौलो अवसर पनि हो । हुनसक्छ, सबै शक्तिहरु सहभागी भएको निष्पक्ष संविधानसभाको निर्वाचनमै त्यो नयाँ नेतृत्व प्रकट होस् । तर माथि भनिए झैँ पुरानै संविधानसभाको भाग दुईको आयोजना उपचार नभएर झन् ठूलो संकटको निमन्त्रणामात्र हुनेछ । कामरेड रामबहादुर थापा 'बादल'ले यसको सानो ट्रेलर खुल्ला मञ्चमा ब्यालेट बक्समाथि अजंगको घनले ठोकेर देखाइसके । हुन त काल्पनिक नै भए पनि जनताको मतको त्यो स्तरको अनादर सभ्य समाजका लागि स्वीकार्य हुँदैन तर कुनै पनि उग्र वामपन्थी दलबाट सभ्यताको अपेक्षा गर्नु झन् वस्तुगत हुँदैन । किनभने, अराजक भइरहनु र समाजलाई अशान्त पारिरहनु तिनको सैद्धान्तिक वाध्यता हो । विडम्बना के छ भने जो नम्र र भद्रजस्ता देखिन्छन्, तिनका अडानपनि वैद्यका मागभन्दा कम अतिवादी छैनन् । रेग्मी सरकारको विघठन सम्भव छैन भत्रे मानेपनि प्रधान न्यायाधीशको पदबाट उनले राजीनामा गर्न नहुने कारण के हो ? शक्ति पृथकीकरणका लागि आन्दोलनरत नागरिक समाज, बार एसोसिएसन, ३३ दल, अशोक राईलगायतको तीव्र असन्तुष्टिको सिकार गर्न सक्ने यो तीर चलाउँदा वा चार दलीय संयन्त्रजस्तो गैरसंवैधानिक शक्तिकेन्द्रलाई विघटन गर्दा कस्तो प्रलय जान्छ ? लिने र दिने दुवै ठाउँमा लेनिनवादी कामरेडहरुको हालिमुहाली भएकाले वार्तामा कांग्रेस र एमालेको उपस्थिति प्रभावकारी देखिएको छैन । कुनामा पारेर चुट्दा कमजोरजस्तो लाग्ने बिरालोले त आक्रमण गर्छ भने पार्टी फुट्दा 'खोलाले बगाएका' थुप्रै हतियार र 'अयोग्य' लडाकुको समूह लिएर हिँडेका वैद्यलाई निरीह कामरेड ठान्नु निकै घातक हुने यथार्थलाई मनन गरेर राष्ट्रपति स्वयंले मध्यस्थता गर्न अविलम्ब अघि सर्नु आवश्यक भइसकेको छ । दशक अघि एकथरी 'क्रान्तिकारी'लाई तुच्छ ठान्दा विदेशी आलिंगनमा पुगेर उनीहरुले आफ्नो सिद्धान्तअनुसार मुलुकलाई अर्धऔपनिवेशिक बनाई छाडे । अब फेरि अर्कोलाई दुत्कार्दा तिनले पूर्णऔपनिवेशिक नबनाई देलान् भन्ने विश्वासको आधार के छ र ?

अन्त्यमा,
आफ्ना १९ वर्षीय छोरा कृष्णप्रसादको हत्यामा मुछिएका माओवादी कार्यकर्तालाई कारबाहीको माग गर्दै गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारी अहिले आमरण अनशनमा छन् । उज्जनको हत्यामा संलग्नहरूलाई उन्मुक्त देखेर दिदी सावित्री श्रेष्ठ पनि न्यायको लागि विक्षिप्त झैं दौडिरहेकी भेटिन्छिन् । डेकेन्द्र थापा, मुक्तिनाथ अधिकारी, माडी वा दोरम्बाका निर्दोष आत्माका आफन्तजनको आँसु अझै सुक्न सकेको छैन । यद्यपि, यी सबै अमानवीय घटनाको एउटा सुन्दर पक्ष पनि छ । न्यायको मन्दिरबाट दोषीलाई सजाय हुने सम्भावना न्यून भइसक्दा पनि मृतकका प्रियजन अझै कानुनी लडाइँ नै लडिरहेका छन् । माओवादीलाई हिंसा अत्यधिक फापेको देख्दादेख्दै पनि तीमध्ये कसैले पनि कानुनलाई आफ्नो हातमा लिने आशयसमेत व्यक्त गरेको सुनिएको छैन । तर दोषीलाई कानुनअनुसार सजाय हुनुपर्छ भनेर आग्रह गरिरहेको पीडित पक्ष र तिनलाई सहयोग गरिरहेका मानव अधिकारवादी संघसंस्थाको यति संयमित प्रतिक्रियाप्रति जननेताको उचाइमा उठेर सहानुभूति र सहिष्णुता देखाउनुको साटो 'विद्वान्' माओवादी नेता तिनमाथि उल्टो व्यंग्य गर्छन्, 'रगत नचुहाईकन मासु काटेर खान खोज्ने मध्यमवर्गीय आदर्शवादीहरु !' जीवनजगतको बुझाई लेनिनवादी भएर हुनसक्छ रगत चुहाउने र मासु खाने कुरा गर्दा कामरेडले मान्छे र पशुबीच फरक नछुट्याएको प्रष्टै देखियो । मुलुक अझै कामरेडले चाहेको 'साम्यवाद' सम्म पुगेको छैन, जहाँ आमाबाबु, छोराछोरी, लोग्नेस्वास्नी, विवाह, आदि जस्ता 'रुढिवादी सम्बन्धका पुराना साङ्लाहरु' तोडिएर व्यक्ति शोषणमुक्त हुनेछ । अहिले त हामी बडो प्रारम्भिक चरणको 'असभ्य' पुँजीवादी समाजमा छौँ, जहाँ सत्ताको अनुहार नयाँ र पुरानो हुनसक्ला तर व्यक्तिका प्रियजनसँगको आत्मीय सम्बन्ध भने त्यसरी नफेरिने रहेछ । 'पुरानो सत्तामा पो डेकेन्द्र थापा तिम्रा पति थिए, अब नयाँ सत्तामा केको पुरानो सम्बन्धलाई सम्झेर रुवाबासी गरिरहेको' भनेर सम्झायो, तर लक्ष्मी थापाले माने पो ! 'पुरानो सत्तामा मात्र मैना सुनार तिम्री छोरी थिई, अब नयाँ सत्तामा त्यो सम्बन्ध सिद्धियो' भनेर जति बुझाएपनि मैनाकी आमाले बुझ्न सकेकी छैनन् । 'मध्यमवर्गीय आदर्शवादी' अधिकारी दम्पतिको 'मार्क्सवादी' चेतनाको स्तर कमजोर भएकाले होला पुरानो सत्तामा सफाया गरिएको आफ्नो छोरो 'सुराकी' भएकाले 'महान् क्रान्ति'का क्रममा उसमाथि भएको सजायकाप्रति तिनले गर्व गर्नुपर्छ भन्ने मात्र तयारै छैनन् । 'विद्वान्' कामरेडको साथ र सहयोगले हामी 'साम्यवाद'सम्म पुग्न अवश्य मेहनत गरौंला, तर त्यतिन्जेलसम्म सत्ताको रुप जस्तोसुकै भएपनि लक्ष्मी थापा, सावित्री श्रेष्ठ, अधिकारी दम्पति वा राज्यपक्षको अमानवीय दमनमा परेका पीडितका असंख्य साहसी प्रियजनहरु न्यायपूर्ण समाज निर्माणको दिशामा मुलुकलाई एक पाइला अघि बढाउन 'नयाँ' सत्तासँग निरन्तर लडिरहने छन् । मान्छेको रगत चुहाएर लेनिनका अनुयायीहरुले रुसमा सात दशक निष्कण्टक शासन गरेको 'नोस्टाल्जिया'मा बाँचेका कामरेडहरुलाई सुन्दा अप्रिय लाग्ला तर क्रेमलिन दरबारको आँगनमा कठ्याँग्रिएको लेनिनको शवजस्तै लेनिनवादको आश र त्रासपनि अब इतिहासको कुनै चिसो कुनामा कठ्याँग्री सकेको छ ।

साभार: नागरिक दैनिक, १८ अगष्ट २०१३
http://nagariknews.com/opinion/story/5999/5999#sthash.lgU5Lygl.dpuf

Tuesday, May 28, 2013

अनुवाद: शाश्वत क्रान्तिकारी र अस्थायी क्रान्तिकारी


(विश्वप्रसिद्ध रुसी साहित्यकार माक्सिम गोर्कीले ‘आमा’ जस्तो प्रेरक आख्यान लेखेर संसारभरिका धेरै युवालाई कम्युनिष्ट बनाएका छन् । तर अधिकांश पाठक उनको लेखनिसँग त्यतिमात्र परिचित छन् जति सोभियत सत्ताले चिनाउन चाहेको थियो । सन् १९१७ को अक्टुबर ‘कू’ पछि बोल्शेभिकहरुले रुसका कुनाकाप्चामा मञ्चन गरेको अद्भूत ‘क्रान्तिकारिता’ले विस्मित र क्रुद्ध गोर्की हामीले जानेबुझेको भन्दा नितान्त भिन्न लेखकको रुपमा देखिन्छन् । अक्टुबर ‘क्रान्ति’का नायकहरु सहज सत्ताकब्जा पछि जुन प्रचण्ड स्वरुपमा प्रकट भए त्यसले अत्यन्त मोहभंग भएका गोर्कीले रुसको तात्कालीन राजधानी पेत्रोग्रादबाट प्रकाशित हुने साहित्यिक पत्रिका नयाँ जीवन (नोभाया झ्ज्नि) मा सन् १९१७-१८ तिर नियमित स्तम्भ मार्फत कठोर आलोचना गरेका छन् । लोकतन्त्र, समानता, सामाजिक न्याय जस्ता समाजवादी विचारधारालाई आत्मसात गरेको एउटा बामबुद्धिजीवीले क्रान्तिका नाममा हिंस्रक र सर्वसत्तावादी चरित्र देखाइरहेको बोल्शेभिक सत्ताको तीव्र प्रतिवाद गर्दै आफ्नो समयको विवेक बोल्नु स्वभाविक नै थियो । उनको तिखो आलोचनालाई थेग्न नसकेर बोल्शेभिकहरुले नयाँ जीवन पत्रिका नै बन्द गराइ दिए  । सन् १९६८ मा पहिलो पटक अनटाइमली थट्स् (निस्भाइयोभ्रेमेन्निय म्विस्ली) नाममा तिनै स्तम्भलाई संकलित र अनुदित रुपमा अमेरिकामा प्रकाशित गरियो । ‘क्रान्तिकारी’ उन्मादमा नुहाइरहेको वर्तमान नेपालमा समेत सान्दर्भिक उक्त संग्रहको एउटा निबन्धको मूल रुसीबाट जुगल भूर्तेलद्वारा गरिएको नुवाद तल प्रस्तुत छ ।)

*************

हाम्रो समयका क्रान्तिकारीहरुको कामलाई अवलोकन गर्दा तिनलाई स्पष्टत: दुई वर्गमा विभाजन गर्न सकिन्छ: एउटा शाश्वत (इटरनल) क्रान्तिकारी र अर्को – अस्थायी (प्रो टेम्पोरे) अर्थात आजको लागि क्रान्तिकारी । 

पहिलो, आफूभित्र प्रमिथियसको जस्तो क्रान्तिकारीदर्शलाई समाहित गरेको, मानवजातिलाई पूर्णतातिर लैजाने यावत ज्ञानहरुको आत्मिक (स्पिरिचुअल)  उत्तराधिकारी हो । यी विचारहरुले उसको चेतना मात्र होइन, भावना र अझ अवचेतनकै तहपनि ओतप्रोत ऊ गतिशील विचारहरुको अनन्त श्रृङ्खलालाई जोड्ने जीवन्त र कोमल कडी हो । आफ्ना भावना र विचारको समग्रतामा ऊ जुनसुकै सामाजिक संरचनामा पनि जीवनभरि असन्तुष्ट नै रहन अभिशप्त छ, किनकि उसलाई थाहा छ र विश्वास पनि छ कि मानवजातिमा राम्रो बाट झन् राम्रो सृजना गर्ने अपरिमित सामर्थ्य छ ।

सदैव तरुण सत्यप्रति उसको उत्कट प्रेम छ, तर यति दैहिक र वासनाशिक्त पनि होइन कि त्यो सत्यलाई मुड्कीको बलमा ती मान्छेहरुको हृदय र शिरमा घुसाओस्, जो अतीतमै मरेको सत्यले वसिभूत छन् वा विगतलाई असाध्यै माया गर्छन् । सामान्यतया उसका लागि मान्छे अविनाशी, जीवन्त र बेचैन शक्ति हो, जसले हरदम नयाँ संवेदना, चिन्तन, धारणा, वस्तु र जीवनका संरचनाहरुको सृजना गर्छ ।  ऊ संसारभरिका मानवका टाउका भित्र रहेको समग्र मस्तिष्कलाई नै सजीव र उत्प्रेरित तुल्याउन चाहान्छ, तर आफ्नो य अद्वितीय एवं वास्तवमै क्रान्तिकारी लक्ष्यलाई पच्छ्याउने क्रममा पनि ऊ मान्छेमाथि कुनैपनि प्रकारको हिंसात्मक विधिको सहारा लिन असमर्थ छ र अपवादजन्य विशिष्ट अवस्था आएमा पनि ऊ हरेक प्रकारको हिंसाप्रति जैविक घृणाभावका साथ मात्र त्यसलाई प्रयोग गर्छ । 

एक महान रुसी चिन्तकको सत्यवाणीमा भनिए झैं उसलाई स्पष्ट थाहा छ कि ‘इतिहासको त्रासदी र बृहत्तम दुर्भाग्य नै के हो भने मानिसलाई क्रुरतापूर्वक अपमानित गरिएको छ ।’ ऊ अपमानित भएको छ प्रकृतिबाट, जसले उसलाई सृजना गरेर बंजर धरतिमा एउटा पशु झैं अन्य पशुहरुको माझमा फ्याँकि दिएको छ र आफ्नो विकास र पूर्णताका लागि उसलाई त्यही वातावरण दिइएको छ, जुन कुनै अर्को पशुलाई प्राप्त छ । ऊ अपमानित भएको छ ईश्वरहरुबाट, जसलाई प्रकृतिको शक्तिका अगाडि हर्ष र बिस्मातवश आफैंले अत्यन्त हतारमा र भद्दा ढंगले 'आफ्नै बिम्ब र प्रतिरुप' जस्तै देखिने गरी रचना गरेको छ । धुर्त वा शक्तिशाली छिमेकीबाट ऊ सधैं अपमानित भएको छ र, सबैभन्दा कटु चाहीं, अपमानित भएको छ ऊ स्वयं भित्रको आदिम पशुत्व र नयाँ मान्छेबीचको अनिर्णयबाट  ।  

तर शाश्वत क्रान्तिकारीको हृदयमा मानिसका प्रति कुनै व्यक्तिगत विद्वेष हुँदैन । ऊ सधैं आफ्नो अहं भन्दा माथि उठेर विगतमा आफूलाई दिइएको यातना र कष्टको बदला लिने दुष्ट र संकीर्ण चाहनाको प्रतिरोध गर्न सक्छ ।

उसको आदर्श हो मान्छे, शारिरिक शक्ति र सुन्दरताले युक्त प्राणी तर यो बाह्य सौन्दर्य आत्माको शक्ति सौन्दर्यसँग पूर्णरुपले लयबद्ध मानवीय भनेको त्यो आत्मकुरा हो, जुन चैतन्यले निर्माण गर्छ । चैतन्य बाटै सृजित हुन्छ -विज्ञा, कला क्रमश: धेरै भन्दा धेरै मान्छेहरुले महसुस गर्दैगएको लक्ष्य हितको एकत्वबोध । शाश्वत क्रान्तिकारी आफ्नो आत्माको सम्पूर्ण शक्ति लगाएर यही ज्ञानलाई गहिर्‍याउन र फैल्याउन प्रयत्न गर्छ ता कि त्यसले सम्पूर्ण मानवजातिलाई नै प्रभावित गरोस् । यसरी फैलँदै र बढ्दै जाँदा त्यो चेतनाले मानिसलाई नश्ल, जाति र वर्गमा विभाजन गर्ने सबैकुरालाई ध्वस्त पार्दै आफ्ना लागि जीवनका यावत सम्पन्नता र सुखको सृजना गर्ने श्रमिक-मालिकहरुको विश्वमा एउटै परिवारको निर्माण गरोस् ।

सामाजिक अवस्थामा सुधार गर्ने कुरा शाश्वत क्रान्तिकारीका लागि मानवजातिलाई उचित शिखरमा पुर्‍याउने अन्तहीन सिढीको एउटा खुट्किलो मात्र हो । र, यसैमा त्यो ऐतिहासिक प्रक्रियाको महत्व छ र स्वयं ऊ त्यस प्रक्रियाको असंख्य आवश्यकताको एउटा अंश मात्र हुँ भन्ने कुरा बिर्सिंदैन । 

शाश्वत क्रान्तिकारी मानिसको दिमाग र स्नायु प्रणालीलाई उत्तेजित गरिरहने मर्चा जस्तै हो । अथवा ऊ त्यस्तो प्रतिभा हो, जो आफू भन्दा अघि सृजना गरिएका सबै सत्यलाई भत्काएर नयाँ सत्यको निर्माण गर्छ; वा, आफ्नो सामर्थ्यमा धैर्यतापूर्वक विश्वस्त एवं मन्द र यदाकदा झण्डै अदृष्य ज्वालामा प्रज्जवलित हुँदै भविष्यतिरको बाटोलाई प्रकाशित गरिरहेको ऊ विनीत मानव हो

अस्थायी अर्थात आजको लागि क्रान्तिकारी त्यस्तो व्यक्ति हो, जो मान्छेहरुले दिएको सामाजिक तिरस्कारदुर्व्यवहारमा तीक्ष्ण पीडाबोध गर्छ । समयले प्रभावि क्रान्तिकारी विचारलाई दिमागमा ग्रहण गरेकोले ऊ आफ्नो भावनाका सम्पूर्ण बनोट बाट नै अनुदार छ । उदास र प्राय: दया र प्रहसनको पात्र झैं लाग्ने,क्रान्तिकारी विचारको सांस्कृतिक, मानवतावादी र सम्पूर्ण मानवीय अन्तर्वस्तुलाई नै विकृत, बदनाम, र हास्यास्पद, अश्लिल र अनर्थ लाग्ने किसिमले कमजोर बनाउने उद्धेश्यले नै मान्छेहरुको माझमा आएको झैं प्रतित हुन्छ

प्रथमत: ऊ आफ्नैलागि दु:खी छ, किनकि ऊ प्रतिभाशाली छैन, शक्तिशाली छैन, किनकि उसलाई अपमानित गरिएको छ । ऊ यस कारणपनि आहत छ कि कुनैबेला जेल परेको थियो, निर्वासित भएको थियो, परदेशको कष्टकर जीवनलाई भोगेको थियो । प्रतिशोधको भावनाले उसको कणकण व्याप्त छ र आफूलाई दु:खी बनाउनेलाई ऊ सयगुना बढि दु:ख दिन चाहान्छ । दिमागले मात्र स्विकारेका तर आत्मामा नगढेका विचारहरु उसको कृत्यसँग सिधै र मिल्नै नसक्ने गरी विरोधाभासपूर्ण छन् । शत्रुसँग लड्ने उसको तरिका तिनै छन्, जुन उसका शत्रुले उसमाथि प्रयोग गरेका थिए । उसभित्र अरु तरिकाका लागि कुनै स्थान छैन ।  

दण्ड र प्रतिशोधको ईश्वरको अस्थायी दास बनेकोले ऊ परोपकार, क्षमा र खुशीको श्वरको सौन्दर्यलाई महसुस गर्न सक्दैन । संसारको विगतसँगको स्वभाविक सम्वन्धको होश नगरी ऊ आफूलाई पूर्णत: उन्मुक्त भएको त ठान्दछ, तर उसको अन्तरात्मा पशुवृत्तिको गहिरो रुढिवादले ग्रस्त छ । क्षुद्र र उद्विग्न अनुभवको सघन जालोमा ऊ यसरी जेलिएको छ कि त्यसबाट मुक्त हुन उसँग कुनै उर्जा छैन । आफ्नो चिन्तनको प्रवृत्तिले उसलाई जीवन र मान्छेहरुमा मुख्यत: नकारात्मक तथ्य र विशेषतालाई मात्र खोज्न लाचार बनाउँछ । उसको आत्माको गहिराई तिनै मान्छेका प्रति घृणाको भावले भरिएको छ, जसका खातिर उसले एक वा सयौं पटक कष्ट उठाएको थियो । तर ऊ आफ्नै पीडाले यति पीडित छ कि अरुका पीडालाई देख्न वा महसुस गर्न असमर्थ छ । सामाजिक जीवनको बाह्य स्वरुपलाई परिवर्तन गर्ने प्रयत्नमा नयाँ आवरणभित्र नयाँ अवयव (कन्टेन्ट) भर्ने क्षमता नभएकोले आजको दिनको क्रान्तिकारी तिनमा उही पुराना भावनालाई भर्दै जान्छ, जसका बिरुद्ध विगतमा ऊ लडेको थियो । कुनै चमत्कार वा हिंसाको बलमा यदि ऊ नयाँ जीवनपद्धतिको निर्माण गर्न सफल भयो नै भनेपनि त्यहाँको नयाँ वातावरणमा अरु भन्दा पहिले ऊ आफैंले पराई र एकाकी महसुस गर्नेछ किनकि आफ्नो अस्तित्वको सारमा ऊ समाजवादी (सोसलिस्ट) त होइन नै, पूर्वसमाजवादी (प्रिसोसलिस्ट) पनि होइन । ऊ व्यक्तिवादी (इन्डिभिजुवलिस्ट) हो ।

ऊ मान्छेप्रति त्यस्तै व्यवहार गर्छ, जस्तो व्यवहार एउटा प्रतिभाहीन वैज्ञानिक क्रुर प्रयोगको लागि तयार गरिएका कुकुर र भ्यागुतोमाथि गर्छ । यद्यपि एउटा फरक के छ भने प्रतिभाहीन वैज्ञानिकले मान्छेकै भलाईका लागि जनावरहरुलाई त्यसरी व्यर्थको सास्ती दिएको हो, जबकि मान्छेमाथि गरिने आफ्ना प्रयोगमा आजको क्रान्तिकारी सधैं इमानदार नै हुन्छ भन्ने छैन ।  

उसका लागि मान्छे भनेको चेतनाको मात्रा जति कम भयो त्यति नै उपयोगी हुने वस्तु मात्र हो । यदि मान्छेको व्यक्तिगत र सामाजिक चेतनाको स्तर विशुद्ध आवरणको, औपचारिक क्रान्तिकारिताका बिरुद्ध बिद्रोह गर्ने तह सम्म पुग्यो भने आजको लागि क्रान्तिकारी निर्लज्जतापूर्वक बिद्रोहीहरुलाई सजाय दिने चेतावनी दिन्छ । माथि व्याख्या गरिएका जस्ता पात्रहरुले पहिले पनि यस्तै गरेका थिए र अहिले पनि गरिरहेकै छन् ।  

रुखो उन्मादवैरागी स्वभावको भएकोले उसले क्रान्तिकारी विचारको सृजनात्मक उर्जालाई निस्तेज तुल्याइदिन्छ । निश्चय नै नयाँ इतिहासको निर्माता घोषित हुने छैन र त्यसको आदर्श नायक पनि ऊ हुने छैन ।

शायद उसको योगदान नै यही होला कि आदिम हिंस्रक पशुलाई मानवको भिँडमा बिउँझाइदिएर उसले पाशविकताको मृत्युलाई अलिक वर ल्याइदियो ? 

हिंसाले थकाउँछ र अन्तत: आफ्नै बिरुद्धमा नैसर्गिक घृणाको भाव जगाउन सक्छ । यही घृणाभावमा नै त्यसको विनाश सुनिश्चित हुन्छ ।

यस्तो लाग्छ, सबै खूनी, बर्बर, भ्रष्ट कुराहरु प्रति हामी आफूभित्र यही शारीरिक घृणाको भाव विकसित गर्न थालेका छौं । यो घृणा बढ्नु पर्छ र बहुसंख्यक मान्छेको विशिष्टता बन्नु पर्छ ।


(नोभाया झिज्न, नं १०९ (३२४), मइ २४, १९१८) 
(नेपाली अनुवाद साभार: हिमाल खबर साप्ताहिक पत्रिका, अप्रिल २०१३)

Saturday, March 9, 2013

बाघ जिस्क्याइरहेको बुद्धिजीवी

हरेक बुद्धिजीवीमा केही न केही मात्रामा वाम रुझान (लेफ्ट लिनिङ) हुन्छ भन्ने मान्यता छ। सत्ताको चरित्र अधिकतर स्वतन्त्रता विरोधी हुने हुँदा उन्मुक्त वातावरणमा मात्र सृजना गर्न सक्ने बुद्धिजीवी प्रायः सत्ता­आलोचक र स्वाधीन हुन्छ र समाजमा व्याप्त अन्याय, विभेद, शोषण आदिले उद्वेलित भइरहन्छ। ऊ वस्तुतः लोकतान्त्रिक र न्यायपूर्ण समाज निर्माणका लागि मौलिक विचारको सृजना गर्ने गहन नागरिक दायित्वलाई बहन गर्ने आदरणीय व्यक्ति हो। मानवीय सहिष्णुता, वैचारिक उदारताजस्ता चारित्रिक विशेषताले उसले 'आफ्नो युगको नागरिक विवेक' लाई प्रतिनिधित्व गर्छ। यो त भयो, वास्तविक वाम बुद्धिजीवीको कुरा। 


तर वामपन्थी शब्द अपहरित भएर त्यसले कम्युनिस्ट भन्ने भ्रम पैदा गर्ने गरेको छ। सबै वामपन्थी लेनिन, स्तालिन र माओको हिंसात्मक राजनीतिका अनुयायी हुँदैनन्। यस लेखको प्रयोजनका लागि हामी तिनलाई उदार समाजवादी चिन्तनले ओतप्रोत 'लेफ्ट­ लिनिङ' र उग्रवामपन्थी विचारधाराले प्रेरित 'लेफ्टविङ' बुद्धिजीवी भनेर काम चलाऔं। सायद, 'ह्वाइ सोसलिजम' शीर्षकको विचारोत्तेजक लेखका रचनाकार विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइन पहिलो वर्गका प्रतिनिधि हुन्। दोस्रोको चर्चा तल विस्तारमा।
हाम्रो लेफ्टविङ बुद्धिजीवी लेनिनको सर्वसत्तावादसँग असहमत हुने जति सबैलाई 'मानव मुक्तिको गहन सूत्रलाई नबुझेर अज्ञानताको भवसागरमा गोता खाइरहेका' ब्रह्मान्डकै सबैभन्दा अभागी मानिस ठान्छ। अज्ञानी मात्र होइन परिवर्तनविरोधी, बुर्जुवा, दक्षिणपन्थी, डलरवादी र प्रतिगामी ठहर्यानएर 'असामाजिक' नै प्रमाणित गराउन चाहन्छ। अहो, दरबारका बुद्धिजीवीहरूले असहमत हुने सबैलाई 'अराष्ट्रिय तत्व' भनेर उठिबास लगाउने गरेको इतिहास झन् कुरूप स्वरूपमा पुनः प्रकट भएको त होइन? सन् १९१७ को अक्टुबर कूपछि लेनिनको नेतृत्वमा बोल्सेभिकहरूले रुसमा जुन ताण्डव मच्चाए त्यसले हतास, निराश र क्रुुद्ध हुँदै विश्वप्रसिद्ध सोभियत साहित्यकार र वाम चिन्तक माक्सिम गोर्कीले 'नयाँ जीवन' पत्रिकाको आफ्नो नियमित स्तम्भ 'असामयिक चिन्तन' मा लेखेका थिए, 'मान्छे त मरेर जान्छ, तर उसका विचार जीवितै रहन्छन्। विचारको यही अमरत्वले पनि आफ्ना अँध्यारा भावनालाई शब्द वा चिन्तनमा ढाल्दा मान्छेलाई संयमित हुन बाध्य बनाउनु पर्ने हो।' तर गोर्कीको संयम आग्रहविपरीत हाम्रो बुद्धिजीवी कामरेडले उग्रवामपन्थी शब्दकोशबाट सापटी लिएर समाज जोड्ने तन्तुलाई छियाछिया बनाउने आक्रामक शब्दावलीलाई आफ्नो बोलीचालीको भाषा बनाएको छ। ऊ र सत्ताधारीबीचको लक्ष्मणरेखा मेटिँदै गएकोले नेपाली समाज अब बिस्तारै गोयबल्स शैलीको खतरनाक बौद्धिकताले संक्रमित हुन थालेको प्रतीत हुन्छ। अन्यथा सत्ताधारीहरूले कसैलाई 'जनदुश्मन' ठहर्या उँदा ऊ झन् चर्को स्वरमा त्यही कर्कश गीत गाउन हतारिने थिएन। अन्यथा ऊ संक्रमणले निरास र भविष्यप्रति सशंकित दुःखी जनताको हृदयमा सान्त्वनाको मलम लगाउनुको सट्टा 'परिवर्तनकारी शक्तिले चाहे जस्तो नभए क्रान्तिको आँधीले उडाइदिने...विद्रोहको बाढीले बगाइदिने...' जस्तो विप्लवी भाषामा चेतावनी दिने थिएन। ऊ त बरु मार्क्सले 'महान संक्रमणमा रहेका मुलुकका बुद्धिजीवीले पनि कलम फालेर बन्दुक समाउनुपर्छ' भनेर नलेखिदिएकोमा निराश जस्तो पो देखिन्छ।
कामरेड पुष्पकमल दाहाल र बाबुराम भट्टराईले आ­आफ्नो प्रचण्ड र लालध्वज अवतारले वशिभूत भएको बेला दिने गरेको 'क्रान्ति' को भड्किलो प्रवचनले अब नेपाली समाजलाई दिग्भ्रमित तुल्याउन छाडेको छ। तर मार्क्सवादी क्रान्तिकारिता भनेकै 'टिट फर ट्याट' भन्ने भट्टराई थेसिसलाई प्रमाणित गर्न प्रचण्डले टुँडिखेलमा सृजना गर्ने 'जनताले चाँडै देखाइदिने' टाइपको राजनीतिक उत्तेजनालाई मार्क्सवादी सिद्धान्तको आकर्षक पोसाक लगाइदिन निरन्तर प्रतिस्पर्धा गरिरहने कम्युनिष्ट बुद्धिजीवीको ताँतीले भने मुलुकको बौद्धिक पूँजीमा डरलाग्दो ह्रास आएको अशुभ संकेत गर्छ।
हिजो निर्दोष नागरिक चरम हिंसाको शिकार हुँदैगर्दा प्रतिरोधमा एकै शब्द उच्चारण नगर्ने हाम्रो बुद्धिजीवी आज पीडितले न्याय पाउने झिनो आसामाथि तुषारापात गर्दै चेतावनीको स्वरमा उपदेश दिइरहेको छ 'द्वन्द्वका घाऊको पाप्रा नउप्काउ, नत्र...।' आफ्नै विरादरीका साथीहरूलाई दमन गर्ने बधशालाका हाकिमहरू धमाधम पुरस्कृत हुँदा पनि प्रतिवाद गर्ने साहस नदेखाउनेले विद्रोही पक्षको हतियारले प्रियजन र घरबार गुमाएका हजारौं नागरिकको आँसु पुछ्न मानवताको रुमाल अघि सार्ला भन्ने आशा गर्नु अतिशयोक्तिपूर्ण हुन्छ। तर, मानौं, आफू कायर छैन भन्ने प्रमाणित गर्न नै ऊ विद्रोही ताप अझै नसेलाएको सत्ताधारीलाई सोझो मुठभेडमा उकास्ने स्तरको हिंसात्मक आग्रह गर्छ­ 'आन्दोलनरत विपक्षलाई तह लगाउन माओवादी पनि जनतामा जानुपर्छ, फरक मत बोक्ने नागरिकहरूको संगठित प्रतिवाद गर्नुपर्छ।' यही हिंस्रक प्रवृित्तको तीखो आलोचना गर्दै गोर्कीले लेखेका छन्- 'मसँग ती मानिसको कठोर निन्दा गर्न पर्याप्त शब्द छैनन्, जो गोली, संगीन र मुड्कीको बलमा आफ्ना कुरा प्रमाणित गर्न चाहन्छन्। के यिनै कुराको विरुद्धमा हामीले विद्रोह गरेका थिएनौं र? के हाम्रो इच्छाशक्तिमाथि यिनै तरिकाको प्रयोग गरेर हामीलाई लज्जास्पद दासत्वमा राखिएको होइन र? बाह्य दासत्वबाट मुक्त भए पनि अन्तरमा हामी अझै दासकै भावना लिएर बाँचिरहेका छौं।' हिंसाले समाज खण्डित मात्र हुने रहेछ भन्ने एक दसक लामो असफल युद्धको त्रासद अनुभव भोगेको मुलुकका बुद्धिजीवीमा इतिहासको पुनरावृति झन् त्रासदीपूर्ण हुन्छ भन्ने हेक्का रहेको भए हामीले पनि यस्तै विवेकशील आवाज सुन्थ्यौं होला।
'भद्रगोलमै क्रान्तिको सम्भावना हुन्छ' भन्ने उन्मादी मान्यताले लेनिनवादी कम्युनिष्ट नेताहरू प्रेरित हुनु अस्वभाविक नहोला, तर उदाउँदा दुई शक्तिराष्ट्रको चेपमा अस्तित्वका लागि संघर्षरत हाम्रो मुलुकमा हरेक भद्रगोलले स्वाधिनतालाई अझ कमजोर पारेको ऐतिहासिक नजिर बनिसकेको छ। माओवादी 'सत्ताको साँचो' खोसिने डरले हाम्रो बुद्धिजीवीलाई अहिले राष्ट्रिय स्वाधीनताको विषय रुचिकर छैन। आर्थिक समृद्धिमार्फत 'आन्तरिक राष्ट्रवाद' लाई सुदृढ नगरी 'बाह्य राष्ट्रवाद' को कुरा गर्नु अर्थहीन हुने माओवादी ज्ञानोदय हुन्जेल मुलुकको डेढ दसक समय र १७ हजार निर्दोषको इहलीला समाप्त भइसकेको छ। हाम्रा सबै विमानस्थलको सुरक्षा व्यवस्था विदेशीलाई जिम्मा दिएर माओवादी कामरेडहरू 'बाह्य राष्ट्रवाद' लाई सुदृढ गर्न चाहन्छन् र हाम्रो बुद्धिजीवीलाई त्यो ग्राह्य छ। विगतमा राष्ट्रिय सिमानाको पवित्रताका खातिर जसरी ऊ समर्पित भएर टनकपुर मार्चपासमा दौडिएको थियो, आज तिनै सीमा विवाद समाधान गर्न जनमत संग्रह गराउने 'गौरवशाली' प्रस्तावमा पनि उसको त्यत्तिकै समर्थन छ। माओवादीले भारतविरोधी उग्रराष्ट्रवाद प्रदर्शन गर्दा हाम्रो बुद्धिजीवी जति चर्को स्वरमा विस्तारवाद, सीमा अतिक्रमण, सुस्ता, कालापानी, १९५० को सन्धि, नागरिकताको संवेदनशीलता जस्ता विषय उठाएर जनमानसलाई उद्वेलित गर्थ्यो, आज फेरि त्यति नै विश्वासका साथ तिनै विषयलाई 'महेन्द्रीय राष्ट्रवाद' भनेर दुत्कारी रहेको छ। प्रचण्ड­माओवादीका ४० बुँदामा छताछुल्ल भएको भारत विरोधको 'प्रगतिशीलता' माथि एक ठेली रचना गर्ने हाम्रो बुद्धिजीवी, वैद्य­माओवादीका ७० बुँदामा पोखिएको ठ्याक्कै त्यही भावनालाई भँडुवा राष्ट्रवाद ठान्छ। मुलुकको प्रधानमन्त्रीले 'देश कतै मर्ज हुन पनि सक्छ' भन्दा लाचार वाणीमा 'ठीकै त हो नि' भनिरहेको बुद्धिजीवी कामरेडले बाह्यशक्तिको स्नेह र आशीर्वाद सत्ताधारीको अनुकुल रहुन्जेल 'विदेशी हस्तक्षेप' भन्ने विषयलाई आफ्ना लागि वर्जित गरेको छ।
संक्रमणकालका जनता आफ्ना चाहनालाई आकार दिन नसकेर अत्यन्त व्याकुल छन्। समाज काँचुली फेर्ने महान प्रक्रियामा रहेको अनिश्चयको यो घडीमा आकांक्षा र आशंकाको तीव्र द्वन्द्व छ। परिवर्तनका केही अपेक्षाहरू स्वभाविक र वस्तुगत छन् भने केही असम्भव र अतिवादी छन्। त्यसैगरी नौलो परिवर्तनप्रतिका केही त्रास र द्विविधा मनोगत होलान्, तर केही उचित पनि छन्। सबै पुराना कुराहरू खराब हुने भए समाज रूपान्तरण गर्नु पर्छ भन्ने हाम्रो बुद्धिजीवीको प्रगतिशील ज्ञान त्यही पुरानो वातावरणमा कसरी टुसाउँथ्यो? त्यसैले ती संशयको निरुपण नगरी बलपूर्वक ल्याइने परिवर्तनले मुलुकलाई या त कुनै किसिमको अतिवादतिर ढकेल्छ, या डरलाग्दो गृहयुद्धतिर होमिदिन्छ भन्ने चिन्ता हुने सबै नागरिक 'दक्षिणपन्थी भयदोहनकर्ता' होइनन्। संसदवादी दलका समर्थक, लोकतन्त्रका हिमायती जनता, विगतको राज्य, घर्म, संस्कृति र जीवनपद्धतिप्रति निर्दोष सम्मोहन कायमै रहेका बहुसंख्यक नागरिकलाई निरन्तर 'कुलिनता', 'बुर्जुवा प्रतिगमन', 'संघीयता र समावेशीकरण विरोधी' आदि आरोप लगाएर लखेटिरहेको हाम्रो 'वाम' बुद्धिजीवी सुतिरहेको बाघको नाकमा सिन्का छिराएर जिस्क्याइरहेको उद्दण्ड बालक जस्तो लाग्छ। कुटिल राजनीतिको यस्तो अविवेकी खेलले अन्ततः मुलुकमा ठूलो भिडन्त र विनाश निम्त्याउने निश्चित छ। पछिल्लो समय आन्तोनियो ग्राम्सी उसको चल्तिका बुद्धिजीवी भएका छन्, तर उसले ग्राम्सीजस्ता महान् विचारकको चिन्तनशिलताबाट सिकेको भए बन्दुकको ताकत र विदेशी वात्सल्यको लिटोले हलक्क बढेर भीमकाय देखिएको शक्तिले बहुसंख्यक जनतामाथि आफ्नो 'उग्रवामपन्थी सत्य' को वर्चस्वलाई बलात् लाद्न त खोजेको छैन भनेर विवेचना गर्ने थियो। उसको बौद्धिकता अहिले 'मार्क्सवाद भनेको माओवाद, माओवाद भनेको 'जनयुद्ध' र 'जनयुद्ध' को लक्ष्य भनेको एकल जातीय पहिचान हो' भन्ने उपचार हुन नसक्ने भ्रान्तिले थला परेको छ।
विविधताले सिँगारिएको मुलुकका सबै जात, जाति, भाषा, वर्ग र लिंगको मुक्तिका लागि बहुलवादी समाजको निर्माण अपरिहार्य छ भन्ने इतिहासले प्रमाणित गरिसकेको सत्यका प्रति हाम्रो बुद्धिजीवीले आँखा नचिम्लिएको भए संविधानसभाको त्यो दुर्गति हुने थिएन। जातीय मुक्तिको उसको लेनिनवादी प्रेस्त्रि्कप्सनका गम्भीर त्रुटीलाई औंल्याउँदै समाजवादी चिन्तक रोजा लक्जेम्बर्गले एक शताब्दीअघि नै भनेकी थिइन् कि, वर्गीय समाजमा हरेक जातिभित्र विपरीत स्वार्थ र अधिकार भएका वर्गहरू हुने र कुनै जातिले आत्मनिर्णयको अधिकार पायो नै भने पनि त्यसभित्रको बुर्जुवा वर्गले आफ्नो प्रतिक्रान्तिकारी वर्गीय स्वार्थका लागि त्यो अधिकारको दुरुपयोग गर्ने हुँदा जातीय आकांक्षा उचाल्ने बोल्सेभिक नीतिबाट अन्ततः समाजवादी आन्दोलन नै पथभ्रष्ट हुन्छ। नागरिकका आधारभूत लोकतान्त्रिक अधिकार खोस्ने लेनिनवादी व्यवस्थामा आत्मनिर्णयको अधिकार अर्थहीन हुने भविष्यवाणी गर्ने रोजाका समाजवादी रचनाहरूमा जमेको धुलो ऊ अहिले टक्टक्याउन चाहँदैन। सोभियत सत्ताद्वारा 'सबै जाति र समयका महानायक' घोषित लेनिनले आफूलाई सिकाउने दुस्साहस गर्ने रोजालाई जसरी 'मूर्ख' ठहर गरे, ठीक त्यसैगरी समाजवादी दर्शनमा झोसिएको जातीय आत्मनिर्णयको आगोले रुसमा झैं उत्पीडित वर्गको मुक्तिका सपनाहरू भष्म हुन्छन् भन्ने आशंका व्यक्त गर्ने सबैलाई 'संघीयता र परिवर्तनका शत्रु हुन्' भनेर किटानी गर्न कटिबद्ध छ, हाम्रो बुद्धिजीवी। यसरी जनताको मुक्तिको आवरणमा जानी-नजानी उसले मूलतः रोजाले भनेझैं जातीय कुलीन वर्गकै सेवा गरिरहेको छ।
मुलुकको जनसंख्याको वासस्थान समग्र तराईलाई 'एक मधेस प्रदेश' बनाउने अत्यन्त अतार्किक प्रस्तावमा आश्चर्यजनक मौनता साँधिरहेको हाम्रो बुद्धिजीवी कामरेडलाई त्यहाँभित्र भुसको आगोझैं सल्किरहेको मैथिली, भोजपुरीजस्ता भाषिक-सांस्कृतिक आन्दोलनहरू परिवर्तनको वेगलाई रोक्न चाहने यथास्थितिवादीको षडयन्त्र लाग्छ। मैथिली भाषाको लागि जनकपुरमा शहीद भएका सबै आन्दोलनकारीहरू सायद 'यथास्थितिवादी' नै थिए, किनकि तिनले हिन्दी भाषाको कृत्रिम आँधीलाई रोक्ने उद्दण्डता देखाए। जनगणनाको परिणाममा तिनको हठले जितेको देखियो, तर जनगणनाको तथ्यांक र इतिहासको अध्ययन जस्तो नितान्त प्राविधिक र रुखो कुराले हाम्रो बुद्धिजीवीको हृदयको कठोरता पगाल्न सक्दैन। जाजरकोटको 'शासक जाति' सँग इतिहासको उत्पीडनको क्षतिपूर्ति माग्दै गर्दा त्यो अकिञ्चनसँग जीवनजल खान नपाएर हैजाले मरेका सन्तानको स्मृति सिवाय केही छैन भन्ने क्रुर सत्यलाई हाम्रो क्रान्तिकारी बुद्धिजीवीले बडो निर्दयतापूर्वक उपेक्षा गरेको छ। मुक्तिदाताको पपुलिस्ट छवि निर्माण गरेर राजनीतिक लाभ लिने अवसरवादी रणनीति माओवादीलाई सुहाउँछ किनकि ऊ राजनीतिक शक्ति हो। हिजो वर्गसंघर्षको बजार भाउ माथि हुँदा ऊ वर्गीय राजनीतिको प्रवक्ता थियो, आज सशक्त ढंगले जातीय ग्राफ चढाइएको बेला ऊ जातीय मुक्तिदाता भएको छ। सत्ता नै सर्वोपरि हुने राजनीतिक रंगमञ्चमा यस्तो नौलो जनवादी अभिनय सुपरहिट होला, तर नेपाली भूमिमा यसरी नै क्रान्ति हुनेछ भनेर स्वयं मार्क्सले मेनिफेस्टोमा लेखिदिएझैं दाबी गर्न बुद्धिजीवीले अघि सर्नु हुँदैन।
माओवादीले 'हामी अर्धऔपनिवेशिक हौं' भन्यो भने हामीलाई हुँदै नभएको 'अर्धऔपनिवेशिक' बनाउन बौद्धिक उद्योग गर्नु वा त्यसको एकै वर्षभित्र 'अब अर्धऔपनिवेशिक होइनौं' भन्दा फेरि त्यसैलाई स्थापित गर्न तँछाड मछाड गरिरहेका विद्वानहरूबाट नेपाली समाजको चेतना अपमानित भएको छ। इतिहासले दिएको गहन जिम्मेवारी पूरा गर्ने आवश्यक उदारता, साहस, संयम र दृढता देखाउन बारम्बार असफल भइरहँदा पनि हाम्रा शीर्ष नेताहरूलाई 'नेल्सन मण्डेला' बन्न जनताले गरिरहेको हतास आग्रहमा कमसे कम शान्तिको कामना देखिन्छ। तर माओवादी नेतागणलाई 'नागरिक पार्टी वा मण्डेला र गान्धी त कुनै हालतमा नबन्न' आश्चर्यजनक सल्लाह दिइरहँदा तिनको नजिकको बुद्धिजीवी स्वयं आफूमाथि विगतमा भएको कुनै अन्यायको प्रतिशोध लिन उद्दत उग्रवामपन्थी 'क्रान्तिकारी' जस्तो देखिन्छ। उसलाई फेरि पनि गोर्कीको स्मरण गराउँ, 'वास्तविक क्रान्तिकारीको हृदयमा मानिसका प्रति कुनै व्यक्तिगत विद्वेष हुँदैन। ऊ सधैं आफ्नो अहंभन्दा माथि उठेर विगतमा आफूलाई दिइएको यातना र कष्टको बदला लिने दुष्ट र संकीर्ण वासनाको प्रतिरोध गर्न सक्छ।' दुर्भाग्यवश, मौसमी क्रान्तिकारीको भिडमा यो मुलुकलाई उज्यालो भविष्यतिर डोहोर्याउने वीरता र विनीतता भएको गोर्कीको स्वप्नदर्शी क्रान्तिकारी कतै दृष्टिगोचर हुँदैन।
शेरबहादुर देउवाको मन्त्रीमण्डलको आकारलाई आधार बनाएर संसदीय व्यवस्थामा सन्निहित विसंगतिलाई उजागर गर्न जुन प्रसंशनीय कुशलताका साथ हाम्रो बुद्धिजीवीले कलम चलायो, त्योभन्दा ठूलो बाबुराम मन्त्रीमण्डललाई 'संक्रमणकालीन बाध्यताको परिणाम' सिद्ध गर्न आज उसको कलमले त्यही विलक्षण कौशल देखाइरहेको छ। बढ्दो महँगी र जनजीविकाका आधारहरू क्रमशः नष्ट हुँदै जानु पनि बाध्यताकै परिणाम जस्तो लागेको हुँदा ऊ वर्तमान सत्तालाई शंकाको लाभ दिने मुडमा छ। आफ्नो सत्तारोहण सहज हुन्छ भने जे प्रस्ताव पनि मौलिक, मार्क्सवादी र क्रान्तिकारी हुन्छ भन्ने माओवादी नेतृत्वको रणनीति नै हाम्रो 'वाम' बौद्धिकताको मानक हुनु बिडम्वनापूर्ण छ। विशुद्ध उपयोगितावादमा आधारित माओवादी मोडेलको सत्ताकब्जालाई नै 'मौलिक नेपाली क्रान्ति' ठहर्याउने लोकरञ्जन गर्न त पार्टीमै पर्याप्त आधिकारिक बुद्धिजीवी छँदै छन्, थप विद्वानहरू किन चाहियो?
सारांशमा, नातावाद, कृपावाद, भ्रष्टाचार, अवसरवाद, महँगी, हिंसा, बाह्य पराश्रयवाद जस्ता पुँजीवादका यावत विकृतिलाई नयाँ उचाइमा लिएर जाँदै गरेको माओवादी मोडेलको शासनलाई नै नयाँ नेपाली क्रान्तिको मौलिकता प्रमाणित गर्न परिश्रम गरेको देख्दा यस्तो लाग्छ, सत्तासँगको लसपसले हाम्रो बुद्धिजीवीलाई वाम विचारधारा बोक्दा प्राप्त हुने सामाजिक प्रतिष्ठाप्रति अझै केही सचेत तर पूँजीवादका यावत उपयोगिताप्रति अत्याधिक आशक्त द्वैध चेतनाको प्राणी बनाइदिएको छ। मुलुकको अग्रगमनका लागि बौद्धिक पूँजीको यो स्तरको स्खलन अत्यन्त पीडादायी दुर्घटना हो।
अन्त्यमा, संभवतः गोर्कीकै दीक्षाले कम्युनिष्ट बनेको हाम्रो अधीर बुद्धिजीवी कामरेडलाई फेरि एकपटक उनैका कालजयी शब्दहरूको स्मरण गराउँ, 'हामी स्वतन्त्रताका लागि भोकाएका छौं र हामीमा अन्तर्निहित अराजक प्रवृित्तका कारण हामी त्यो स्वतन्त्रतालाई सहजै खाइदिन सक्छौं।' आफ्नो 'सत्य' लाई जसरी पनि स्थापित गराइछाड्ने 'वाम' हठले गर्दा नेपाली जनताले ठूलो संघर्ष गरेर प्राप्त गरेको मुक्तिको पनि भक्षण हुन असम्भव छैन। जंगबहादुर बन्न सलबलाइरहेका चाहनाहरू त्यसको स्वाद चाख्न व्यग्र छन्।
Nagarik daily, 9 March 2013
http://nagariknews.com/news-highlights/139-highlights/54685-2013-03-09-04-05-41.html 

Wednesday, October 31, 2012

यसकारण चाहँदैन, एमाओवादी निर्वाचन


"दुई माओवादीबीचको द्वन्द्वको उत्कर्ष भविष्यको निर्वाचनमा देखिने भएकोले एमाओवादीलाई निर्वाचन होइन, पुनःस्थापना नै 'सहज' लागेको हो"

बहुभाषिक र बहुसांस्कृतिक चरित्र एवं भौगोलिक विविधताले सिँगारिएको हाम्रो मुलुकलाई जसरी टुक्र्याए पनि एकल जातीय संघीयता सम्भव छैन भन्ने प्रस्ट भइसक्दा पनि जातिवादी राजनीतिको अवसरवाद घरिघरि प्रकट भइरहन्छ, किनकि असंख्य मधेसकेन्द्रित दलहरूले यही द्रुतमार्गलाई प्रयोग गरेर सत्तासुख पाइरहेको दृश्यले धेरैलाई लोभ्याइरहेको छ । त्यसमाथि जातीय पहिचान जोडिएको जत्रो र जस्तोसुकै दललाई सिंहदरबारको करिडोरमा लाल कार्पेट स्वागत गर्न एकीकृत माओवादी पार्टी हरदम आतुर रहेकोले केही लोकतन्त्रवादी नेता पनि त्यही सहज बाटोतिर आकषिर्त हुनु अस्वाभाविक होइन । यही क्रममा कुमार राई र अशोक राई कांग्रेस र एमालेबाट बाहिरिएपछि केही बुद्धिजीवी कामरेडहरू ती दलको दारुण नियतिको पूर्वानुमानले द्रवित हुँदै दिनहुँ नेपाली छापालाई आफ्नो आँसुले भिजाइरहेका छन् । विद्वत् वर्गको यति व्याकुल हृदयमा करुणाको जुन सागर छ, सौभाग्यवश त्यसमा कांग्रेस र एमालेको उद्धारका लागि एक-दुई अँजुली अर्ति र उपदेश पनि छ । आफू प्रखर 'मार्क्सवादी' भए पनि बुद्धिजीवी मित्रहरूको नयाँ नेपाल सुहाउँदो उद्धारको सूत्रचाहिँ मार्क्सवादी जटिलताबाट मुक्त र निकै सरल छ । 'मुलुकको जातीय विविधता, बहुसंस्कृति र बहुपहिचान, वर्गीय र भौगोलिक विषमता आदि 'पश्चगामी' कुराको उच्चारण नगर !' 'नेपाली पहिचान र राष्ट्रिय एकताजस्ता भीषण 'परिवर्तन विरोधी' मान्यताको त स्मरणसमेत नगर !' 'साम्राज्यवाद र विस्तारवादका कुरा अब प्राचीन र औचित्यहीन भइसकेकोले नयाँ नेपालमा तिनको असान्दर्भिक प्रयोग गरेर बिप्पा युगमा प्रवेश गरेको मुलुकको अग्रगमनमा भाँजो नहाल !' सचिव नियुक्तिदेखि सरकार निर्माणजस्तो नेपालको नितान्त आन्तरिक मामिलामा समेत जतिसुकै हस्तक्षेप भए पनि 'विदेशी शक्तिको विरोध गरेर अव्यावहारिक 'उग्रराष्ट्रवाद'को प्रदर्शन नगर !' सर्वाधिक महत्वपूर्णचाहिँ 'मधेसमा भरसक एक वा जोडिएका दुई तर पहाडमा धेरैवटा एकल जातीय पहिचान र छुट्टएिर जानसक्ने आत्मनिर्णयको अधिकारसहितको प्रदेश हुने साम्प्रदायिक संघीयतामा सहमति गर !' अन्यथा बुद्धिजीवी कामरेडहरूको दैनिक भविष्यवाणी अनुसार, 'कांग्रेस र एमालेलाई जनजाति आँधीले उडाएर वा मधेसी बाढीले बगाएर इतिहासको कुनै निर्जन टापुमा पुर्‍याइदिने निश्चित छ !' तर ' मार्क्सवादी'को ज्ञानमा अलि कमजोर भएर होला, कांग्रेस र एमालेजन भने भविष्यदृष्टा विद्वान मित्रहरूले यसरी सहृदयतापूर्वक निरन्तर आसन्न महाप्रलयको पूर्वसूचना दिइरहँदा पनि खासै हतोत्साहित देखिँदैनन् ।

कांग्रेस र एमालेको सूक्ष्म छिद्रमाथि 'म्याग्निफाइङ ग्लास' बोकेर बहुआयामिक अन्वेषणमा ब्यस्त बुद्धिजीवीहरू एकीकृत माओवादी पार्टीमा मोहन वैद्य 'किरण' समूहले पारेको बडेमानको धाँजा देखेर भने पटक्कै चिन्तित नभएको उत्कृष्ट अभिनय देखाउँदैछन् । राईद्वयको बहिर्गमनले कांग्रेस र एमाले पार्टी नै सिध्याएको शोकगीत गाएर नेपालै रुवाइरहेका विश्लेषकहरूले मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापा, पम्फा भुसाल, नेत्रविक्रम चन्दजस्ता निकै प्रभावशाली नेताहरू चोइटिँदा पनि एमाओवादीको रौं पनि नझरेको विश्वास दिलाउन गरिरहेको प्रयत्न भने अरुचिकर 'ओभर एक्टिङ'जस्तो लाग्छ । 'सबै एजेन्डा एकीकृत माओवादीसँग भएकोले नाराविहीन 'ड्यास' माओवादीको पानीफोको चाँडै प्याट्ट हुने' टाइपका गहन ' मार्क्सवादी' विश्लेषण पढेर विस्मित भइरहनु अहिले हाम्रो दैनिकीको अंग भएको छ । हिजो तिनै बुद्धिजीवी मित्रको दाबीअनुसार नव्यन्यायदर्शन शास्त्री मोहन वैद्य माओवादी जनहरूको युद्धलाई सैद्धान्तिक आधार प्रदान गर्ने नेपालकै सबैभन्दा प्रखर मार्क्सवादी चिन्तक थिए । थापाको विलक्षण युद्धकौशल अथवा संगठन निर्माणमा चन्द र भुसालको युवा ऊर्जा नहुँदो हो त माओवादी विप्लवले त्यो उचाइ कदापि प्राप्त गर्ने थिएन भनेर कामरेडहरूले घरिघरि पस्किएको विश्लेषण प्रसाद ग्रहण गरी हामीले बुद्धिबर्धन गरेकै हो । यिनै नेताको अदम्य शौर्य र साहसको अतिरञ्जित बखानले रोमाञ्चित हुँदै कोरिएका युद्ध आख्यानको बाढीले नेपालको साहित्यलाई समृद्ध बनाउँदै लगेको देखेर हामी हषिर्त पनि भएकै हो ।
तर अहिले विश्लेषक कामरेडहरू आफैंले हिजो परिपक्व, विद्वान र बुद्धिमान 'हिरो' मानेका तिनै नेतालाई कुनै एजेन्डा र नाराबिना रहस्यमय लहडको भरमा पार्टी फुटाउने 'ड्यास खलनायक'मा परिणत गर्न टिठलाग्दो कसरत गरिरहेका छन् । यद्यपि कम्युनिष्ट परम्परामा 'नायक' 'गद्दार'बीच जम्मा एक पाइलाको दूरी हुन्छ भन्ने हामीले देख्दै आएकोले किरण समूहको आसुरीकरण गर्ने प्रतिद्वन्दी क्याम्पका विचार निर्माताहरूको प्रयत्न त्यही परम्पराकै निरन्तरता भएको बुझ्न कठिन छैन । अन्यथा शेरबहादुर देउवाजस्तो 'असक्षम' भनिएका नेताले त प्रशस्त आधार नभई पार्टी फुटाएका थिएनन् भने बूढा 'सिद्धान्तकार' मोहन वैद्यले कुनै अल्लारे उत्तेजनावश ठूलो समूहलाई साथ लिएर सत्तासीन एमाओवादी परित्याग गर्ने निर्णय लिए होलान् भन्ने ठान्नु आफ्नै विवेकको घोर अपमान गर्नु हो ।
वास्तवमा महाप्रलय कतै आएको छ भने त्यो किरण समूहको बहिर्गमनपछि एकीकृत माओवादीभित्रै आएको छ । कामरेड वैद्यले प्रधानमन्त्रीलाई बुझाएको ७० बुँदे मागपत्रले एमाओवादीको चरम सैद्धान्तिक स्खलन र पार्टी विभाजनको सैद्धान्तिक पक्ष दुवैलाई छर्लंग पारेको छ । छापामा आएअनुसार वैद्यको नेतृत्वमा करिब ३० प्रतिशत नेता र कार्यकर्ताले पार्टी परित्याग गरेका छन् र यो विभाजनको रेखा केन्द्रदेखि गाउँसम्मै कोरिने क्रम जारी छ । किरण पक्षको शक्ति सन्तुलन कमजोर भएको भए जिल्ला-जिल्लाबाट भिडन्तका घटना र 'सहमतिमा पार्टीको सम्पत्ति भागबन्डा गरिने' भन्ने खालका समाचार आउने नै थिएनन् । भोगेको तीतो यथार्थ र देखाइएको रंगिन सपना बीचको अपूरणीय खाडलमा यौवनका यावत् आकांक्षालाई त्यागेर गाउँ फर्किएका निराश र अपमानित लडाकुहरू स्वाभाविक रूपमा किरण पक्षको 'क्रान्तिकारी निरन्तरता'तिरै आकषिर्त होलान् । त्यसमाथि किरण समूहको नियन्त्रणमा पनि उल्लेख्य संख्यामा लुकाइएका हतियार रहेको अनुमान गर्न सकिन्छ ।
त्यसैले मोहन वैद्य लगायतका नेताको विद्रोहले एमाओवादी पार्टीमा ठूलै ज्वारभाटा उठेकोले अहिले ऊ आफैंले घोषणा गरेको निर्वाचनमा होइन, संविधानसभा पुनःस्थापनामा जोड दिइरहेको छ । अरु दलले निर्वाचनमै जाने ढिपी गरे राष्ट्रपतिको पनि सँगै चुनाव हुनुपर्ने उसको असंवैधानिक प्रस्ताव सम्पूर्ण निर्वाचन प्रक्रियालाई नै भाँड्ने र पुनःस्थापनालाई निर्विकल्प बनाउने रणनीति अन्तर्गत आएको स्पष्ट नै छ । हिजो निर्वाचनको घोषणा गर्दा दुई तिहाइ मत ल्याएर 'परिवर्तन र संघीयता विरोधी शक्तिलाई तह लगाउने' उसको आत्मविश्वास आज हठात् किन धर्मरायो ? बाह्य शक्तिको टेको र मधेसी मोर्चाको समर्थन अझै उत्तिकै सुदृढ रहँदा पनि एमाओवादीले निर्वाचनको सामना गर्न हिचकिचाउनुको कारण किरण पक्षले पार्टीको आत्मविश्वास नै हल्लाउनेगरी ल्याइदिएको विभाजन नै हुनुपर्छ ।
'परिवर्तनकारी शक्ति'को आवरणले छोपिएका बहुरंगी दलहरूसँगको सहवासले धराशायी भएको पार्टीको क्रान्तिकारी चरित्र पनि विभाजनको अर्को कारण रहेकोले वर्तमान सत्ता गठबन्धनको घातक असर एकीकृत माओवादीले एकचोटी बेहोरिसकेको छ । अब उसलाई निर्वाचनमा जानु नै परे आफ्नो सैद्धान्तिक अडानको ठीक विपरीतका एजेन्डा बोकेका र भू-सामन्तद्वारा सञ्चालित क्षेत्रीय र जातिवादी दलहरूसँग अझ घातक मोर्चाबन्दी गरेर मात्र जाने विवशता छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको रूपमा यसको औपचारिक तयारी पनि सुरु भइसकेको छ । त्यसपछि जनतामाझ एमाओवादीले बाध्यतावश घन्काउने जातिवादी एवं क्षेत्रवादी नाराले वर्गविहीन समतामूलक समाज निर्माणको हिजोको रोमान्टिक उद्घोष र राष्ट्रिय स्वाधीनताको विगतको आन्दोलन फगत सत्ता हासिल गर्ने रणनीति थियो भन्ने 'एक्पोज' त हुन्छ नै, समाजमा पनि जातिविद्वेषको कहिल्यै नमेटिने रेखा कोरिनेछ । च्याउजस्तै भर्भरी उम्रिएका मोर्चाका क्षेत्रीय र जातिवादी साथीसँग भागबन्डा गर्दा-गर्दा उब्रिएको शक्तिले ऊ अहिलेजस्तो संसदको सबैभन्दा ठूलो र निर्णायक दल हुने शौभाग्यबाट वञ्चित हुने लगभग पक्का छ । फेरि मित्रहरूको अवसरवादलाई सन्तुष्ट गर्न नसकेको क्षण त्यही मोर्चाको आड पनि रहला-नरहला ?
त्यसैले प्रभावशाली किरण समूहको बहिर्गमनपछिको यो जोखिम विचार निर्माता कामरेडहरूको अपेक्षा विपरीत पानी फोकोझैं प्याट्ट नफुटेर विध्वंसकारी सुनामीमा परिणत भएको छ, जसले एमाओवादीमा पारेको धाँजाले मुलुकमा दुई समानान्तर माओवादी शक्तिलाई अस्तित्वमा ल्याइदिएको छ । अब एउटै मैदानका ती दुई खेलाडीबीच हरेक क्षेत्रमा प्रतिस्पर्धा र द्वन्द्व अवश्यम्भावी छ । त्यसको उत्कर्ष भविष्यमा हुने निर्वाचनमा देखिने निश्चित भएकोले एमाओवादीलाई संविधानसभाको निर्वाचन होइन, पुनःस्थापना नै 'सहज' लागेको हो ।
अन्त्यमा, हिन्दी सिनेमा लगायत सबै भारतीय चिजमा प्रहार गरेर पुरानै इतिहासको पुनरावृत्ति गर्न उद्दत वैद्यपक्षमा पनि सिर्जनशीलताको अभाव प्रस्टै देखियो । विदेशी शक्तिको प्रत्यक्ष हस्तक्षेपले आजित भएका नेपाली जनतामाझ राष्ट्रिय स्वाधीनताको क्रान्तिकारी नाराले लोकप्रियता हासिल गर्ने कुरामा कुनै विवाद छैन, तर विगतमा झैं यो आन्दोलनले पनि दिल्ली सम्झौता हुँदै सम्पत्ति, सत्ता र शक्ति नै सर्वोपरी हुने अनैतिक र अमानवीय व्यवस्थाकै 'कस्मेटिक' पुनर्संरचनासम्म पुगेर विश्राम नलेला भन्ने के ग्यारेन्टी छ ? मुलुकको स्वाधीनताका लागि अहिले बलिउडका नक्कली 'स्टन्टम्यान' हरू होइन, योजनाबद्ध ढङ्गले जातिविद्वेषको विषवृक्ष रोपेर हिंसा र विखण्डनको आधार तयार गरिरहेका यहीँका वास्तविक शक्तिवानहरू कता हो कता खतरनाक छन् । त्यसैले क्रमशः सुदृढ हुँदै गएको तिनको मोर्चाबन्दीलाई परास्त गर्न वैद्यपक्षले आफ्नो 'क्रान्तिकारी दम्भ'लाई त्यागेर कांग्रेस र एमालेसँग राष्ट्रियता र लोकतन्त्रको साझा एजेन्डामा सहकार्य गर्ने साहस देखाउला ?
साभार: कान्तिपुर दैनिक, ३१ अक्टोबर २०१२