Monday, September 7, 2015

गोलगमनमा बदलिएको अग्रगमन

नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने  दाइ चन्द्रगढीका युवाका लागि गौरव र प्रेरणाका स्रोत हुनुहुन्थ्यो । हतियारधारी झुण्डलाई पनि बात मारेर सम्झाउन सक्छु भन्ने साहस र आत्मविश्वास भएका तिनै प्रिय गाउँले दाइलाई टिकापुरको पाशविक आतंकमा अमानवीय ढंगले गुमाएपछि निराशाको क्षणमा मैले आफ्ना अनुभूतिका पानाहरु पल्टाएँ । छ वर्ष अगाडि मेरो एउटा लेखको सुरुआत यसरी भएको थियो, 'अन्तत: मुलुक पुन: एकपटक प्रत्यक्ष मुठभेडको स्थितिमा फर्किएकोछ । राजनीतिलाई पेशा बनाएर जीविका चलाउने कालिदासहरुले देशलाई जसरी हाँकिरहेका थिए, त्यसले कुनै न कुनै दुर्घटनालाई निम्त्याउनेछ भन्ने पूर्वानुमान हुँदाहुँदै पनि नयाँ भनिएको नेपालको राजनैतिक घटनाक्रम यति चाँडै यस्तो कुरुप होला भनेर कल्पना गरिएको थिएन ।'

छ वर्ष सम्म राष्ट्रको समय, साधन र स्रोत एवं मान्छेका संवेदना, सद्भाव र सहिष्णुताको भक्षण गर्दै एकफन्को मारेर नेपाली राजनीति  फेरि त्यही विनाशकारी प्रस्थानविन्दुमा आइपुगेको छ । यस बीचमा लक्ष्मण दाइ जस्ता थुप्रै वीरले शान्ति र संविधानका लागि शहादत दिइसकेका छन्, तर देशको राजनीति भने घुमिफिरी रुम्जाटार नै फर्किएको छ । वर्षौं देखि यसरी नै रुमल्लिएको राजनीतिको केन्द्रमा फेरिपनि उही पात्र र प्रवृत्तिकै हालिमुहाली छ । पुन: एक पटक चकनाचूर भएका हाम्रा रुपान्तरणका सपनाको टुक्राटाक्री जोड्ने टिठलाग्दो नाटक मञ्चन भइरहेको छ । यदि यो ‘अग्रगमन’ हो भने पश्चगमन चाहीँ कस्तो हुन्छ ?

क्रान्तिकारिताको भड्किलो आवरणमा सजिएका ढाँटहरुले चिच्याएर नथाक्ने कथित 'अग्रगमन' यथार्थमा यसरी फन्फनी घुमिरहने चक्रपथको 'गोलगमन' रहेछ । यो 'गौरवशाली गोलगमन' मा सहभागी हुँदाहुँदै हामी भित्रको अमानव अब यसरी जागृत भएको छ कि उसको प्रतिशोधको आगोमा दुई वर्षका बालकसम्म निरापद रहेनन् । र, प्रतिहिंसाको उन्मादमा निर्दोष छिमेकीको घरमा आगो झोस्दा अब हाम्रा हात काम्न छाडेका छन् । ‘शहीद हुनुस्, पचास लाख लिनुस्’ भन्ने आसयको दामै तोकेर बलिदानको आह्वान गर्ने निकृष्टतापनि अब हामीलाई पाच्य भइसको छ ! आफ्नो पक्षको जस्तो सुकै पाशविकतालाई पनि 'अग्रगामी' वा 'क्रान्तिकारी' गहुँत छर्किदिएर चोख्याउने प्रवृत्तिले मुलुकमा यति डरलाग्दो कित्ताकाट भएको छ कि अब हामी खुलेर आतंककारीलाई 'सजाय देऊ' भन्न समेत धक मान्छौं ।

टिकापुर काण्ड जस्तो जघन्य अपराधको आलोचना गर्दापनि आधा वाक्यपछि नै 'तर..किन्तु..परन्तु' जोडेर अमानवीय कृत्यलाई उचित सिद्ध गर्न चेष्टारत आक्रामक जमातका अगाडि हामी धक नमानी मित्रता र सद्भावको कुरा गर्न सक्दैनौ । रातोदिन अमूक जातिलाई सरापेर गुजारा चलाइरहेको 'उत्पीडीत' बाठाहरु र तिनको उग्रताको ज्वालामा घिऊ थपिरहने बुद्धिजीवीलाई के लाग्छ भने 'सद्भावना' कुनै पार्टीको नाम हुनसक्छ, तर पहाडी मान्छेको मानवीय भावना हुनै सक्दैन । तिनको धारणामा यति खेर सामाजिक सद्भावनाका सकारात्मक कुरा सामन्ती सत्तालाई निरन्तरता दिने षडयन्त्रकारी छल मात्र हो । सार्वजनिक स्थलमा राजनीतिक कार्यकर्तालाई दुधले आफ्ना खुट्टा धुवाएर ‘विभेदकारी’ काठमाण्डौंको दानापानी बन्दगर्ने धम्की दिने सदाबहार मन्त्रीज्यूहरु जातीय मुक्तिका मसिहा बनेको यो बेला सामन्तवादको परिभाषा निश्चय नै बदलिएको छ । 
   
रुसी भाषामा एउटा उखान छ- 'सिला एस्त, उमा नि नादा' अर्थात ‘शक्ति छ, बुद्धि चाहिँदैन’ ।  संविधान निर्माणको प्रसव वेदनाको यो निर्णायक घडीमा जातीय, क्षेत्रिय, धार्मिक, आदि सबै किसिमका मुढे उन्मादहरु पनि आफ्नो चरममै छन् । एकातिर जातिविद्वेषलाई भड्काएर भरसक रगतको खोलो बगाउँला, नत्र धीत मरुञ्जेल गाली त गरियो भनेर खुशी हुने कुण्ठाग्रस्त ‍उन्माद छ । अर्काथरिमा लाखौं हिन्दुहरुको धार्मिक आस्थाको आडमा राजनीतिमा स्थापित हुने यति ठूलो आशक्ति छ कि हिन्दुत्वको पहेंलो झण्डालाई जस्तो सुकै इतिहास र आचार भएको पात्रले बोकिदिए पनि तिनकालगि स्विकार्य छ, मात्र रामनामीको बर्को ओडेको हुनुपर्छ । निधारमा चन्दनको जतिनै गाढा धर्सा कोरेपनि तिनको वानेश्वर गर्जनमा अरु सबथोक भेटिन्छ, आध्यात्मिक विनम्रता र उदारता भेटिन्न । केही अरुलाई चाहीँ राष्ट्रनिर्माता पृथ्वी नारायण त मरेर गइगए, अब यो देश मैले नबचाए कसले बचाउला भन्ने आत्मश्लाघाले यसरी मत्याएको छ कि तिनको भाषा र व्यवहारमा अहंकारको दुर्गन्ध सिवाय केही छैन ।

यस्ता परस्पर विरोधी, उद्दण्ड र हिंस्रक आवेगको खतरनाक द्वन्दले राष्ट्रको अस्तित्वनै संकटमा परेको यो बेला नेपाली समाजलाई दिशानिर्देश गर्न सक्ने साहस, सामर्थ्य र स्विकार्यता भएको कुनै नायक सुदूर क्षितिज सम्मपनि नदेखिनु निकै निराशाजनक छ ।  हाम्रो यो स्तरको उन्मादी आवेश र अधोगतिको निदान भइसकेपछि चाँडै त्यसको निर्मम उपचार नगरे 'नयाँ' नेपाल अन्त्यहीन साम्प्रदायिक द्वन्दको चक्रब्युहमा फँस्ने प्रस्ट संकेत देखिइसकेका छन् । तर अर्थशाष्त्र देखि चिकित्साशाष्त्र सम्मका डाक्टरले भरिपूर्ण भएर पनि घरिघरि बल्झिने नेपालको राजनीतिको रोग विदेशै नपुर्‍याइ निको हुँदैन, नेताहरुलाई जस्तै । 

महान सोभियत लेखक माक्सिम गोर्कीको विचारमा 'जो घिस्रिन जन्मिएको छ, त्यो कहिल्यै उड्न सक्दैन'  हामीले जसलाई नायक ठानेर आफ्नो मत र विश्वासको पखेटा लगाइदियौं, देशलाई सबैभन्दा चाहिएको बेलापनि ती आफ्नो गुट र निर्वाचन क्षेत्रको संकीर्ण राजनिति भन्दा एक इन्च माथि उड्न सकेनन् । संघीयता जस्तो दूरगामी महत्वको सवालमा पनि तिनले निकट भविष्यको क्षेत्रगत चुनाव भन्दा माथि उठेर सोच्न नसक्ने कायरता देखाए, जसले देशैभरि विग्रहको आगो सल्काइ दियो । मुलुकलाई निकास दिएरै छाड्ने अठोटका साथ ठूलो राजनीतिक जोखिम मोलेर आफूसँग मिल्न आएको आदिवासी समुदायको एकमात्र नेतालाई समेत स्पेस दिन नसक्ने संकुचित मानसिकता भएका अदूरदर्शी व्यक्तिहरुलाई पनि शिर्ष स्थानमा राखेर ‘शंकाको सुविधा’ दिइरहन हामी अभिसप्त छौं ! प्रस्तावित भएपछि संविधान त आउला, तर त्यसले समाजमा रोपिएको अविश्वास र विद्वेषको विरुवाको फैलावटलाई रोक्न सक्ने छैन ।

हामीले जसलाई सर्वोच्च नायक ठान्यौं, ती सबै शक्ति, सत्ता र सम्पतिका लागि देशी-विदेशी शक्तिसँग उचित अनुचित जस्तो सुकै सम्झौता गर्न सक्ने दुस्साहसी खलनायक निस्किए । सत्ताका लागि घरेलु राजनीतिमा संकट सृजना गर्ने, अनि त्यसैको समाधानका लागि विदेशी राजधानीका दरबारमा याचक मुद्रामा घरिघरि प्रस्तुत हुने नेतृत्वबाट शासित देश जस्तो हुन्छ हामी त्यस्तै छौं- अकिंचन, अपमानित र अनिश्चित । दिल्लीका गल्लीगल्लीमा गुप्तचर संस्थाका प्रतिनिधी, विदेश मन्त्रालयका बाबु पुरातात्विक प्रोफेसर र पूर्व सैन्य अधिकृत, लगायतबै किसिमका 'नेपालविद'सँगको अपारदर्शी भेटघाटपछि देश फर्केर हामीलाई सुनाइने निष्कर्ष सधैं एउटै हुने गर्छ: ‘भारतको नेतृत्वसग नेपालको राजनीतिक वस्तुस्थितिबारे गम्भीर समसामयिक वार्ता भयो । तिनको चाहना सबै पक्षलाई स्विकार्य हुने संविधान बनोस् भन्ने नै छ ।’

मानौ, सिद्धार्थ गौतमले जस्तै उताको भूमिमा नटेकी हामीलाई सबै मिलिजुली संविधान बनाउनु पर्छ भन्ने बुद्धत्व प्राप्त हुनै सक्दैन ।  दिल्लीबाट हरेक चोटि एक थान पद बोकेर घर फर्किएको 'प्रभावशाली' नेताले आफ्नो प्रभावसँगै अलिकति देश त्यहीँ छाडेर आउने गरेको कसलाई थाहा छैन ! त्यसैले नेपाली राजनीतिका शिर्षस्थको हरेक विदेश यात्राले मुलुकको इज्जत, स्वाधीनता र स्वाभिमान अलिकति घट्ने गरेको छ । फेरि ‘षडयन्त्रको सिद्धान्त’ ल्यायो भनेर केहीले मुख खुम्च्याउन सक्छन् । तर कर्मचारीदेखि संवैधानिक निकायका प्रमुखको नियुक्तिमा समेत लैनचौर दरबारको दौडधुप देखेका नेपालीलाई ‘जे कुरामा पनि विदेशी हात देख्ने’ भनेर पन्छाउनु आत्मरतिमा रमाउनु मात्र हो ।

नतिजा के भने, अब हामीलाई जसले पनि हेप्न सक्छ । दिल्ली दरबारका बाबुहरु र हाम्रो देशको ‘माया’ले हरदम ‘चिन्तित’ भइरहने खास विशेषता बोकेका एसडी मुनी, श्यामशरण टाइपका ‘नेपालविज्ञ’ को उपदेश त बानी परिसकेकै कुरा भयो । त्यो लाममा अब संयुक्त राष्ट्र संघ र सुदूर युरोपका कुटनीतिज्ञ समेत उभिएका छन् । विनाशकारी भूकम्पले दीनहीन र घरबारविहिन भएपनि राहतको नाममा कुहिएको चामल खान अस्वीकार गरेकोमा युरोपियन युनियनकी राजदूतले अपमानजक टिप्पणी गरिन्- ‘स्वाभिमानले पेट भरिँदैन !’ हाम्रो सरकारलाई दाताको कुरो ठीकै जस्तो लागेर हुनसक्छ प्रतिवाद गर्न जरुरी ठानिएन ।

दिशाहीन र द्वन्दग्रस्त मुलुकलाई लोकतन्त्रको पहरेदार बनेर बाटो देखाउला भनेर अपेक्षा गरिने नागरिक समाजलाई पनि चालु गुटतान्त्रिक व्यवस्थामा सबै कुराको भागबण्डा लाग्छ भन्ने राम्ररी थाहा छ । त्यसैले साधन र सत्ताको सानो चोइटो उछिट्टिएर आफूतिर आइहाल्छ कि भनेर पर्खने सँस्कृतिले गाँजिएर रहेसहेको नागरिक समाजपनि सुस्त र प्रभावहीन भएको छ । मध्यस्थता गरिदेलान् कि भनेर आशा गर्न सकिने अधिकांश कहलिएका बुद्धिजीवी, लेखकहरुले पनि राजनीतिक दलका गुटै पिच्छेको पक्षधरता वा गुटरिझ्याँईंका कारण या त आफ्नो प्रभावकारिता गुमाइसकेका छन्, या आफ्नै विचारको उग्रताले भस्म हुने क्रममा छन् ।

यसरी विभिन्न स्वार्थ समुहको द्वन्दले मुलुकको स्थिति निकै विकराल भइसकेको छ । संविधान आएनै पनि त्यसमा चाँडै गुणात्मक सुधार हुने सम्भावना निकै क्षीण हुँदै गएको छ । त्यसलाई सम्हाल्न सक्ने नेतृत्वको अभावमा फेरिपनि विदेशी शक्तिकेन्द्रलाई गुहारिने छ । मुलुक अझै अलिकति कमजोर हुनेछ । हरेक दुईचार वर्षमा देशलाई यही गोलचक्करमा फन्फनी घुमाइरहेका पात्रहरुको अभीष्ट बुझ्न जवाहरलाल नेहरु विश्वविद्यालयबाट पिएचडी गर्नु पर्दैन । यद्यपि अहिलेको द्वन्दको पक्ष विपक्ष दुबै तिरको शिखरमा त्यहीँका 'भिजनरी' डाक्टरहरु प्रत्यक्ष संलग्न रहेकोले निश्चयनै तिनलाई हामीलाई भन्दा बढि थाहा छ ।

अन्त्यमा संघीयता,
नेपालका लागि संघियताको औचित्यका बारेमा छलफल गर्नु अब सान्दर्भिक हुँदैन, त्यो हाम्रो संवैधानिक संकल्प हो । तर त्यसका प्रवर्तकहरुको नियतलाई बुझ्ने प्रयास नगरे फेरिपनि समस्याको चूरोमा पुगिन्न । आज माओवादीका 'दुरद्रष्टा, वैज्ञानिक, चिन्तक' के सोच्छन् थाहा भएन तर तिनले दिल्लीको घनघोर जंगलमा एक दशक ‘तपस्या’ गरेर ल्याएको संघीयताको अवधारणा विशुद्ध जातिय मात्र थिएन, प्रतिशोधको उत्ताउलो आकांक्षाले ग्रस्त पनि थियो । पति-पत्नीको पारपाचुकेको उदाहरण दिएर तिनले हामीलाई आत्मनिर्णयको अधिकारका बारेमा बुझाउने हास्यास्पद प्रयास गरे । अग्राधिकार जस्तो पहिलो र दोस्रो दर्जाको नागरिक बनाउने अस्वभाविक मान्यताको वकालत गरेपछि मुलुकको ठूलो जनसंख्या सुरु देखि नै सशंकित हुनु स्वभाविक थियो ।
त्यसमाथि अनेकौं विविधताले भरिएको सम्पूर्ण तराईलाई नै एउटा सिङ्गो प्रदेश बनाएर अर्को केन्द्रिकृत इकाइ सृजना गर्नु पर्छ भन्ने कुनै सिद्धान्तले पुष्टी गर्न नसकिने हठ समेत स्थापित गर्ने जबरदस्त प्रयास भएपछि त्यो शंका विश्वासमा परिणत भयो । त्यसको कडा प्रतिवाद हुनु त अपरिहार्य नै थियो, जुन दोस्रो संविधानसभाको जनादेशमा अभूतपूर्व ढंगले अभिव्यक्त भयो । जिल्ला देखि विकास क्षेत्र सम्मका जनताले भारतसँग जोडिएको नाका सहितको अखण्डता चाहनुको अन्तर्यमा त्यही त्रास छ ।

यद्यपि देश संघीयतामा जाने भइसकेपछि पनि जिल्लालाई समेत टुक्र्याउन पाइँदैन भन्नु अर्को अतिवाद हो भनेर जनतालाई सम्झाउनु पर्ने 'प्रभावशाली' नेतागण नै त्यसको नेतृत्व गर्न थालेपछि परस्पर विरोधी एजेण्डाको भारले थिचिएर अलपत्र मृत्युवरण गरेको पहिलो संविधानसभाको नियतिबाट कसैले शिक्षा लिएको देखिएन ।

गत संविधानसभाको असफलताले पोल्टाको समेत खसेर चकनाचुर भएको दु:खद अनुभवबाट नसिक्ने हो भने इतिहास अझ क्रुरतापूर्व दोहोरिन सक्छ । यस पटकपनि संविधानसभा असफल भयो भने संविधान निर्माण गर्ने यो विधी र संघीयताको अवधारणा दुवै त्रुटिपूर्ण रहेछन् भन्ने मान्यता स्थापित भएर जानेछ । आजसम्मका यावत आन्दोलनका उपलब्धि समाप्त हुने सम्भावना बढ्ने छ । गोर्कीका शब्दलाई सापटी लिएर भन्नुपर्दा स्वतन्त्रताका लागि हामी यति भोकाएका छौं कि बल्लबल्ल पाएको त्यो स्वतन्त्रतालाई हामी आफैंले खाएर सिद्ध्याइ दिन सक्छौं । टिकापुर काण्डले त्यही अनिष्टतिर संकेत गर्छ ।

http://www.enayapatrika.com/2015/09/26485

नयाँ पत्रिका, २२ भदौ, २०७२ (8 Sep 2015)  

Saturday, July 11, 2015

म हिँडें लेनिनग्राद

-    इओसिफ उत्कीन

रिसाउँदै, ठुस्किँदै
छुट्टिँदैथ्यो एक जोडी
गर्दै थिए भनाभन
बाँकि केही नछोडी
तिमी त्यस्ती’,
तिमी नै त्यस्तो
तिमी खराब’,
तिमी झन् खराब
त्यसो भए लौ,
म हिँडें लेनिनग्राद...
...आनन्दै हुन्छ!
मलाई झन् हुन्छ!’ 

यही गृष्म ऋतुमा
यो विवाद देखियो
स्टेशनको आँगनमै
तिनको संवाद सुनियो
भन्ने कुरा सबै भने
भयो वारपार
टिकटपनि काटिवरी
हिँड्नलाई तयार
बाफ फाल्यो इन्जिनले
चक्का बज्न थाल्यो
अगाडिको मालगाडी
लिक फेर्न लाग्यो
त्यसो भए लौ,
म हिँडे लेनिनग्राद...
...आनन्दै हुन्छ!
मलाई झन् हुन्छ!’ 

तर स्टेशन मास्टरले,
जब झण्डा हल्लायो
रेलले फाल्यो सेतो मुस्लो
संकेत लाइट झल्मलायो
बाह्र बजेर बीस मिनेट
जब घडीले बजायो...
बिछोडको क्षण आयो
लौ! वियोगको क्षण आयो...
प्रिया...
प्रिय...
मै त्यस्ती...
हैन, मै त्यस्तो...
म खराब
हैन, म नै खराब
भयो, म..जान्न लेनिनग्राद...
...कस्तो आनन्द!
मलाई झन् आनन्द!’ 
 
(सन् १९३५ मा रुसी भाषामा लेखिएको कविताको भावानुवाद- जुगल भूर्तेल)
कान्तिपुर, कोशेली, १२.०७.२०१५
http://www.ekantipur.com/kantipur/2072/3/25/full-story/350135.html

Thursday, June 4, 2015

सकिन्छ जलविद्युतको विकास गर्न !

डा. जुगल भूर्तेल
'नेपाल जलस्रोतमा संसारकै दोस्रो धनी देश हो' भन्ने झुठमा वर्षौंवर्ष गर्व गरिरहँदा हामीले सत्ताको शिखरमा बस्नेहरुलाई 'त्यसो भए नेपाल यति अँध्यारो र गरीब किन छ' भनेर कहिल्यै प्रश्न गरेनौं । फलत: नेपालको जलस्रोत राष्ट्रिय गौरवको प्रतिक त बन्यो, तर सोह्र घण्टाको लोडसेडिङ राष्ट्रिय लज्जाको विषय बन्न सकेन । विश्वमै दोस्रो नभएपनि ठूलाठूला पहाडलाई चिर्दै उत्तरबाट दक्षिणतिर बगेका करिव छ हजार सानाठूला नदिनालामा रहेको अथाह शक्तिले हरेक नेपालीको घरमा बिजुलीको प्रकाशमात्र होइन समृद्धिको उज्यालो नै फैल्याउने क्षमता राख्छ । तर प्रकृतिले उदारतापूर्वक दिएको यस्तो वरदानलाई सदुपयोग गर्न नसकेर उत्पन्न भएको उर्जाको संकट अब विकराल राष्ट्रिय संकट भइसकेको छ ।
राष्ट्रिय संकट 
बिजुली जस्तो आधुनिक उर्जाबाट वञ्चित नेपाली जनताले एक्काइसौं शताब्दीमा पनि दाउरा, गुईंठा कै जोहो गर्नु पर्ने नियतिका प्रति मुलुकका नीतिनिर्मातामा कुनै ग्लानी देखिँदैन । ग्रामीण जनताले प्रयोग गर्ने पारम्पारिक इन्धनको कमसल गुणस्तरका कारण स्वास्थमा पर्ने नकारात्मक असरको आर्थिक-सामाजिक पक्ष त छँदैछ । देशका आधा घरपरिवार अझै राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छैनन् । जो जोडिएका छन्, तिनले पनि गुणस्तरीय बिजुली उपभोग गर्न पाएका छैनन् । यद्यपि यो संकटले जनतालाई सचेत तुल्याएकोले 'विद्युत' अब प्राविधिकहरु माझमात्र छलफल गरिने दुर्वोध्य विषय रहेन । फलस्वरुप नेपालका प्राय: सबै सरकारहरु आ-आफ्ना बजेट मार्फत 'तीन वर्षमा लोडसेडिङ अन्त्य गर्ने' घोषणा गरेर जनता झुक्याइरहन बाध्य छन् । प्राविधिकदृष्टिले त्यो असंभव लक्ष्य होइन, तर विद्युत विकास गर्ने जिम्मेबारी पाएको राज्यको संरचना 'बिजुली निकाले खेर जान्छ' भन्ने मान्यताले यसरी प्रभावित छ कि त्यसबाट मुक्त नभएसम्म हामीले त्यो 'तीन वर्ष' को कर्णप्रिय गीत अझै वर्षौं सम्म सुनिरहनु नपर्ला भन्न सकिन्न ।
सन् १९११ मा चन्द्र शमसेर शासनकालमा बनेको फर्पिङ विद्युतगृहबाट निकालिएको बिजुलीले काठमाण्डौका दरबार झलमल्ल हुँदा संसारका धेरै देश अझै लाल्टिन बालिरहेका थिए । तर अथाह प्राकृतिक क्षमता र विद्युत उत्पादनमा सय वर्ष भन्दा पुरानो इतिहास बोकेको मुलुकमा सरकारको ४७८ र निजी क्षेत्रको २९२ समेत गरी जम्मा ७७० मेगावाट मात्र उत्पादन हुनु अत्यन्त निराशाजनक तथ्याङ्क हो । स्पष्टै छ, जुन देशका जनताले बढि विद्युत खपत गर्छन् तिनै देश विकसित छन् । तर विश्वको प्रतिव्यक्ति उर्जा खपतको सूचिमा हामी लगभग पुछारमा छौं र उपभोग्य उर्जाको गुणस्तरपनि शायद पुछार मै होला । मुलुकको जनजीवन र औद्योगिक विकासलाई तहसनहस पारिदिएको यो नीतिगत र कार्यान्वयको असफलताका लागि कसैमा जिम्मेबारीबोध छैन । सरकारी प्रयास मात्र अपर्याप्त र विफल भएपछि अन्तत: सन् १९९० को राजनीतिक परिवर्तनपछि विद्युत उत्पादन गर्न निजी क्षेत्रलाई प्रवेश त दिइयो, तर दौडिन नसक्ने तागाराहरु सहित ।
निजी लगानीको पीडा
सरकारले नेपाल विद्युत प्राधिकरणलाई देशभित्रका सबै निजी र सार्वजनिक जलविद्युत परियोजनाको विद्युत खरिद सम्झौता गर्ने तथा विद्युत प्रसारण एवं बिक्री-वितरणमात्र होइन आफैं जलविद्युत आयोजनाको निर्माण गर्ने अधिकार समेत दिएको छ । अर्थात, बिजुलीको बजारमा उसको स्वच्छन्द एकाधिकार छ । प्राधिकरणद्वारा निर्माणाधीन आयोजनामा उत्पादन लागत र निर्माण अवधिपनि असामान्य ढंगले बढि हुने गरेको छ । तर राज्यले सुलभ दरमा स्वदेशी, विदेशी स्रोतबाट ऋण खोजिदिने भएकोले निजी क्षेत्रलाई जस्तो उसलाई पूँजीको चिन्ता भने छैन । उदाहरणका लागि सरकारले प्राधिकरणको माथिल्लो त्रिशुली ३ ए का लागि एक्जिम बैंक चीन र राहुघाट आयोजनाको लागि भारतीय एक्जिम बैंक मार्फत सहुलियत ऋण उपलब्ध गराएको छ । यस्तो ऋण सुविधा स्थानीय बैंक वा सरकारी संयन्त्र मार्फत निजी क्षेत्रलाई पनि दिने वातावरण बनेको भए तिनले पनि पूँजीको दवावबाट राहत पाउने थिए ।
निजी क्षेत्रले एकातिर प्राधिकरणसँग निर्माणमा प्रतिस्पर्धा गर्नु परेको छ भने, अर्कोतिर तिनले उत्पादन गरेको उर्जाको क्रेतापनि उही नै हो । आफ्नै उत्पादनसँग प्रतिस्पर्धा गर्दै आफैंलाई बेच्न आएको व्यवसायीप्रति प्राधिकरण अनुदार हुनु त स्वभाविकै भयो, तर विडम्वना त्यो अनुदारता प्राय: जनस्तरमा पनि प्रतिविम्वित हुन्छ र लाइसेन्स ओगट्ने र समर्पित प्रवर्धकबीच विभेद नगर्नाले जलविद्युतमा लगानी गर्ने सबै 'झोलामा खोला राख्ने जलमाफिया' हुन् भन्ने आम धारणा बनेको छ । निजी क्षेत्रमा देखिने अवांछित प्रवृत्तिका कारण यो समग्र उद्योगमा नै राजनीतिकरण र मुनाफाखोरीको जगजगी बढेको सत्य हो । तर अन्यत्र झैं जलविद्युतमा पनि राम्रो, नराम्रो अर्थात निर्माण गर्ने र लाइसेन्स ओगट्ने दुवै प्रवृत्ति छ । पछिल्लो समय खोला ओगट्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने थुप्रै कानूनी प्रावधान दृढतापूर्वक लागु हुन थालेपछि यो समस्या क्रमश: न्युन हुँदैछ र अझै कडाइ गरेर यसलाई निर्मूल पार्न सकिन्छ ।
जलविद्युत योजना निर्माण जस्तो जटिल कामलाई सहज बनाउन सरकारी संयन्त्रबाट इमानदारितापूर्वक काम गरिरहेका निजी लगानीकर्तालाई अपेक्षित प्रोत्साहन दिइएको देखिँदैन । इनर्जी लक, कनेक्सन एग्रिमेण्ट आदि जस्ता विद्युत खरिद प्रक्रियाको प्रारम्भिक चरणको प्राविधिक काममा वर्षौं लगाइदिने, प्राधिकरणले आफूले गरेको सम्झौता अनुसार प्रसारण लाइन नबनाएर बनिसकेका आयोजनाको बिजुली समेत उपयोग गर्न नसक्ने अवस्था सृजना भइ आयोजनाको लागत अत्याधिक बढ्ने अवस्था नसुध्रे सम्म नेपालको निजी क्षेत्रले क्षमता अनुसार विस्तार गर्न सक्दैन ।  
आफ्नो एकाधिकारका कारण प्राधिकरणले लिने नीतिगत निर्णयले निजी क्षेत्रका आयोजनालाई बेलाबेलामा ठूलै समस्या आउने गरेको छ । हालै प्राधिकरण बोर्डले १०० मे.वा. सम्मका आयोजनाबाट उत्पादित उर्जा विगतमा २५ मे.वा. सम्मका आयोजनालाई दिँदै आएको दर- अर्थात हिउँदको चार महिना प्रति युनिट ८ रुपियाँ ४० पैसा र बाँकि आठ महिना ४ रुपियाँ ८० पैसा-  मै खरिद गर्ने निर्णय गरेर ठूलो लगानीलाई निराश तुल्याएको छ । यो मूल्यमा निजी क्षेत्रका आयोजनाद्वारा उत्पादित उर्जाको औसत खरिद दर करिव ५ रुपियाँ ३४ पैसा पर्न आउँछ । जबकि प्राधिकरणले भारतसँग प्रति युनिट विद्युत औसत रु. ६.३२ देखि ८.७४ सम्म खरिद गरिनै रहेको छ । प्राधिकरणको आफ्नै चिलिमे आयोजनाले पनि निजी क्षेत्रको तुलनामा धेरै आकर्षक मुल्य पाइरहेको हुनाले नै उसमा ठूला प्रोजेक्ट गर्ने आत्मविश्वास पलाएको हो ।  
जलविद्युत आयोजनाको परिकल्पना र सर्वेक्षण देखि निर्माणको चरण सम्म लाग्ने अवधि अन्य क्षेत्रको तुलनामा अत्यन्त लामो हुन्छ । वन, वातावरण र निजी जमीन अधिग्रहण जस्ता धेरै समय लाग्ने काम त छँदैछन्, निर्माण स्वयंपनि अरु कुनै उद्योगको भन्दा कठीन छ । त्यो अवधिमा ब्याजको भारमा बृद्धि हुने, निर्माण सामाग्रीको भाउ बढी लागत बढ्ने, अप्रत्यासित भूगर्भीय संरचनाका कारण बिलम्व हुने, आयोजना स्थलमा प्राकृतिक वा सामाजिक अवरोध आउने जस्ता जोखिमको सामना गर्नु पर्ने हुन्छ । जलविद्युत आयोजना स्थल प्राय: बाटोघाटो नपुगेको निर्जन स्थानमा हुने भएकोले आधारभूत संरचनाको निर्माण नगरी आयोजना बनाउन सकिन्न । खोलासँग सम्बन्धित सरकारी तथ्याङ्क  नहुने भएकोले अध्ययनमा धेरै लामो समय खर्चिनु पर्ने बाध्यताका कारण ठूला आयोजनामा पाँच वर्षे सर्वेक्षण अवधि अपर्याप्त भई लाइसेन्स खारेज हुन सक्ने जोखिम पनि उत्तिकै हुन्छ । यस्तो अमैत्रिपूर्ण वातावरणमा पनि नेपालको विद्युत विकासमा निजी क्षेत्रले दिएको योगदानलाई उल्लेखनीय नै मान्नु पर्छ ।  
सम्भावना र सुधारको बाटो
कठिन राजनीतिक संक्रमणको यो बेला प्रत्यक्ष वैदेशिक लगानीका लागि अधिकतम प्रयास गर्दै अहिलेलाई आन्तरिक पूँजीबाट गर्न सकिने काममा केन्द्रीत हुनु बुद्धिमानी हुन्छ । प्राधिकरणद्वारा निर्माणाधीन ४५६ मे.वा. क्षमताको माथिल्लो तामाकोसी र सय मेगावाटभन्दा अधिक क्षमताका मध्य भोटेकोसी, रसुवागढी जस्ता आयोजनाले स्वदेशी पूँजीमै ठूलो काम गर्न सकिने आत्मविश्वास बढाएको छ । जलविद्युत विकासमा विगत दुई दशकको संलग्नताले नेपालको निजी क्षेत्रले पनि साना र मझौला परियोजना बनाउने सक्ने प्राविधिक र आर्थिक क्षमता हासिल गरिसकेको छ । हामीसँग अब यही उद्योगमा वर्षौं काम गरेको अनुभव भएका प्रसस्त इन्जिनियर, ठेकेदार र अन्य प्राविधिक छन्, जसको बृद्धि र तालिममा निजी लगानीका स-साना प्रोजेक्टहरुकै अहम भूमिका छ । नेपाली सर्वसाधारण र बैंकहरुपनि लगानी गर्न उत्सुक हुँदै गएको अवस्था छ । सन् २००० मा खिम्ती जलविद्युत आयोजना बनाएर भित्रिएको निजी क्षेत्रले डेढ दशक भित्रै मुलुकमा जडित क्षमताको करिव ३८ प्रतिशत विद्युत उत्पादन गरिसकेको छ । हाल निजी लगानीका ४३ परियोजना संचालनमा छन् । प्राधिकरणका निर्माणाधीन आयोजनाको कुल जडित क्षमता १०४४ मे.वा. को तुलनामा निजी क्षेत्रका त्यस्ता आयोजनाको क्षमता ११७० मे.वा. छ । त्यसबाहेक अध्ययनको विभिन्न चरण रहेका अन्य थुप्रै प्रोजेक्टपनि छन् ।  ती मध्ये केही आयोजनामा विभिन्न अवरोध आइरहने हुँदा अपेक्षित प्रगति नभएपनि आवश्यक नीतिगत हस्तक्षेप हुन सकेमा हामी चाँडै लोडसेडिङबाट मात्र मुक्त हुने छैनौ, औद्योगिक विकासको सूर्योदय हुने सम्भावनापनिस बढेको छ ।
माथि उल्लेख भए झैं जलविद्युत विकासमा केन्द्रीत हुन महत्वपूर्ण नीतिगत सुधार गर्नु पर्ने ठाउँ धेरै देखिन्छ । सबैभन्दा पहिले त कानूनी सुधार नै आवश्यक छ । असीमित समस्या र लामो प्रतिक्षापछि मात्र लाभांश प्राप्त हुनेहुँदा जलविद्युत लगानीकर्ताका जोखिम ठूला छन् । तर हाइड्रोपावरको प्रारम्भिक लगानी तुलनात्मक रुपमा केही बढि भएपनि थर्मल प्लाण्टमा जस्तो संचालन खर्च धेरै हुँदैन । त्यसैले बैंकको ऋण अवधि सम्म विभिन्न राहत दिएर लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ । प्राधिकरणसँग आज विद्युत खरिद सम्झौता गरेपनि ४-५ वर्ष निर्माण गरेपछि मात्र आम्दानी सुरु हुने भएकोले मुद्रास्फितिको जोखिम न्युनिकरण गर्न पिपिए कै मिति देखि खरिद दरमा बृद्धि हुने प्रावधान राख्नु पर्छ । उपकरणमा दिइएको भ्याट र भंसार राहत अन्य निर्माण सामाग्रीमा पनि दिएमा जलविद्युत परियोजनामा सबैभन्दा खर्च हुने सिभिल खण्डको लागतमा केही राहत हुन्छ । अन्यथा स्थिर दरमा लगानी अनुसार पुनर्मुल्याङ्कन गर्नु पर्ने हुन्छ । प्रतिस्पर्धात्मक वातवरण सृजना गर्न विद्युत प्राधिकरणको पुनर्संरचना मार्फत संरचनात्मक सुधारको प्रारम्भ गर्न सकिन्छ, जसका लागि हाल कार्यान्वयनको क्रममा रहेको प्रसारण र वितरणका लागि छुट्टै कम्पनी खोल्ने प्रक्रियालाई तीव्रता दिनु पर्छ ।   
अर्को महत्वपूर्ण पाटो सरकारको समन्वयकारी अग्रसरता हो । एकातिर स्थानीय जनताको अधिकार र कल्याणलाई सुरक्षित गर्नु पर्ने अवस्था छ भने, अर्को तिर मुलुकको औद्योगिक विकास र समृद्धिका लागि सक्दो उर्जा उत्पादन गर्नु पर्ने चूनौतिपनि छ । निजी र सार्वजनिक क्षेत्रले एक अर्काको पुरक भएर काम गरे यो चूनौतिको सहजै सामना गर्न सकिन्छ । सर्वेक्षण र उत्पादन अनुमति बापत ठूलो मात्रामा राजस्व लिइसकेपछि निजी लगानीकर्ता र स्थानीय जनताको बीचमा वा अन्य समस्या आइपरे सहजकर्ताको भूमिका निर्वाह गर्नु सरकारको दायित्व हो । पछिल्लो समयमा स्थानीय स्तरमा हाइड्रोले विकास ल्याउँछ भन्ने चेतना बढेकोले जलविद्युत आयोजनामा राजनीतिक अवरोध घट्दै गएको महसुस गर्न थालिसकिएको छ। तरपनि यदाकदा त्यस्तो अवरोधले द्वन्दको अवस्था सृजना हुँदा सरकार सहयोगी सहजकर्ता हुनुको सट्टा संक्रमणकालको बहाना बनाएर अत्यन्त निरिह ढंगले प्रस्तुत हुने गरेको पछिल्लो उदाहरण भोटेकोशी आयोजना प्रकरण हो । यस्तो परिस्थितिलाई बेलैमा रोक्न स्थानीय जनताको अधिकारका बारेमा नीतिगत प्रष्टता ल्याइ विशेषत: जमीन अधिग्रहणमा सरकारले अग्रसरता लिनु पर्छ । २०६५ सालदेखि संसदमा पालो पर्खेर बसेको बहुप्रतिक्षित विद्युत ऐनमा व्यापक समयसापेक्ष परिवर्तन गरी अविलम्व लागु गरेमा माथिका अधिकांश समस्याको निराकरण हुन सक्छ ।  अनिमात्र यो उद्योगले क्षेत्रिय बजारमा प्रवेश गर्ने आत्मविश्वास देखाउन सक्छ ।
क्षेत्रिय बजार
जलविद्युतलाई नविकरणीय, स्वच्छ र उर्जाका अन्य विकल्पका तुलनामा कम खर्चिलो मानिने हुँदा संसारभरि नै जलविद्युत परियोजना प्राथमिकतामा पर्छन् । हरितगृह ग्यास उत्सर्जनका कारण थर्मल र विकराल मानवीय जोखिमका कारण आणविक स्रोत अब लोकप्रिय विकल्प रहेनन् । हाइड्रोको तुलनामा वायु, सौर्य जस्ता नविकरणीय उर्जाको उत्पादन अझै महँगो नै छ । तसर्थ हाम्रो जलविद्युत क्षमतालाई  क्षेत्रिय स्तरमा प्रयोग गर्न सकिने प्रचूर संभावना छ । सौभाग्यवश, प्रकृतिले हामीलाई पानी मात्र होइन पहाडपनि दिएको हुँदा नेपालमा विद्युत उत्पादन गर्न ठूला बाँध बाँध्नु पर्ने बाध्यता छैन । तुलनात्मकरुपले न्युन पर्यावरणीय र सामाजिक क्षति पुर्‍याउने र सहजै निर्माण गर्न सकिने जलप्रवाहमा आधारित 'रन-अफ-रिभर' प्रविधिका परियोजना नेपालको पहाडी भेगका लागि निकै उपयुक्त छन् । यद्यपि वहावमा आधारित हुने भएकोले खोलामा धेरै पानी हुँदा धेरै र थोरै हुँदा थोरै बिजुली उत्पादन हुने समस्या छ । अर्थात, देशमा 'रन-अफ-रिभर' प्रविधिका जलविद्युत परियोजना धेरै भएभने वर्षामा माग भन्दा धेरै बढि उर्जा उत्पादन भएर उपयोग नहुने र हिउँदमा अत्यन्त कम उपलब्ध हुने समस्या आउँछ । यसको दीर्घकालीन समाधन त निश्चित संख्यामा बहुद्देश्यिय जलाशाययुक्त आयोजना नै हुन् । मुलुकको औद्योगिक विकास हुँदैजाँदा अतिरिक्त उर्जाको खपत देशभित्रै बढ्दै जाने छ । हाललाई भने क्षेत्रिय बजार यो समस्याको उपयुक्त समाधान हो ।
विश्व रंगमञ्चमा राजनीतिक र आर्थिक प्रभाव बिस्तार गर्दै गएको छिमेकी भारत नै हाम्रो उर्जाको आधारभूत क्षेत्रिय बजार हो । त्यहाँको एक चौथाइ जनसंख्या अझैपनि बिजुली उपभोग गर्नबाट बञ्चित छ । मानव विकास सूचकांकमा १३५ औं स्थानमा रहेको भारतलाई गरिवी निवारणको लक्ष्यप्राप्तिका लागि निरन्तर आठ प्रतिशत माथिको आर्थिक बृद्धि दर चाहिएको छ, जसका लागि उल्लेख्य उर्जाको आवश्यकता पर्नेछ । हाल भारतको जडित विद्युत क्षमता करिव २६०,००० मे.वा. छ, जुन अहिले नै आवश्यकता भन्दा कम छ । विकासको सम्भावना देखाएर अभूतपूर्व विजय हासिल गरेको भारतीय जनता पार्टीको सरकारले आक्रामक बृद्धिको प्रयास गर्ने निश्चितै छ । यद्यपि अर्थतन्त्र हाल कै गतिमा दौडिएपनि आगामी तीन दशकभित्र भारतमा उर्जाको मागमा तीन गुणा बृद्धि हुने अनुमान छ र उपलब्ध स्रोतको दोहनले त्यसको आपूर्ति हुनै नसक्ने देखिन्छ । त्यस माथि, त्यहाँ करिव ६०% उर्जा कोइलाबाट उत्पादन गरिन्छ ।  तर विभिन्न अध्ययनले देखाए अनुसार यही दरमा उत्खखन गरिरहने हो भने भारतका कोइला खानी आगामी तीन-चार दशकमा खाली हुनेछन् । तसर्थ स्वच्छ उर्जाका लागि कोइलामाथिको निर्भरतालाई घटाउनु पर्ने बाध्यताका कारण भारतले उपलब्ध सबै विकल्पमा ध्यान दिन थालिसकेको छ । छिमेकी देशहरुसँग बढ्दो सहकार्य र नविकरणीय उर्जामा पनि बढिरहेको लगानी त्यसका संकेत हुन् ।
हालै नेपालसँग भएको विद्युत व्यापार सम्झौता त्यही दिशाको एउटा प्रयास हो, जसले हाम्रालागि ठूलो भारतीय बजार खोलिदिएको छ । अब हामी त्यहाँका विभिन्न विद्युत प्रदायक कम्पनीसँग सिधै सम्पर्क गरी देशमा आवश्यकता भन्दा बढि हुने बिजुली निर्यात गर्न सक्छौं, जसमा सरकारको सहजिकरण अपेक्षित छ । नेपाली उर्जाले भारतीय बजार पाउने बित्तिकै यहाँका हाइड्रो प्रोजेक्टमा वैदेशिक लगानी स्वत: आकर्षित हुनेछ । भारतमा करिव ५० प्रतिशत उर्जाको उपयोग उद्योग र व्यवसायिक क्षेत्रले गर्ने भएकोले र राष्ट्रिय ग्रिडको व्यापकताले गर्दा हामीकहाँ जस्तो वर्षामा विद्युत 'खेर' जाने समस्या छैन, जुन हाम्रा 'रन-अफ-रिभर' प्रविधिका जलविद्युत परियोजनाका लागि महत्वपूर्ण अवसर हो ।  हामी जस्तै उर्जाको संकटले ग्रस्त बाङ्लादेशपनि अर्को महत्वपूर्ण क्षेत्रिय बजार हो, जसले उच्च तहबाटै नेपालका विद्युत आयोजनामा लगानी गर्ने अभिरुची देखाइसकेको छ । दक्षिण एसियाली मुलकबीच विद्युत विकासलाई उत्प्रेरित गर्न क्षेत्रिय उर्जा बजार, प्रसारण लाइन लगायत द्विपक्षीय, उप-क्षेत्रिय र क्षेत्रिय स्तरका संरचना निमार्ण र नीतिगत सामंजस्यताका लागि सार्कस्तरीय फ्रेमवर्क एग्रिमेण्ट फर रिजनल इनर्जी कोअपरेसन, नीतिनिर्माता सम्मिलित एक्स्पर्ट ग्रुप,  साउथ एसिया इनर्जी भिजन समूह जस्ता प्रभावशाली मञ्चमा व्यापक छलफल भइरहेका छन् । हाम्रो राजनीतिक अग्रसरता र इच्छाशक्तिले नै यो अभूतपूर्व क्षेत्रिय जागरणबाट हुने लाभको मात्रा निर्धारण गर्नेछ ।
नेपालको माग थोरै भएकोले 'खेर' जाने बिजुली निकाल्नु हुँदैन भन्ने मान्यताले सरकारी संयन्त्रमा घर गरेकोछ । तर प्राधिकरणले प्रक्षेपण गर्ने विद्युत मागले हाम्रो औद्योगिक विकासको सम्भावनालाई न्युनिकरण गर्छ । संविधान बनेर देश विकासमा केन्द्रीत हुने बित्तिकै माग ह्वात्तै बढ्ने अवश्यंभावी छ । लोडसेडिङमुक्त गुणस्तरीय उर्जाको निर्बाध आपूर्तीले उद्योगधन्धा मात्र होइन जनताको घरमै पनि बढि विद्युत खपत हुनेछ । आपूर्तीलाई सहज तुल्याउन विभिन्न प्रसारण लाइन निर्माणका लागि वैदेशिक ऋण आइरहेको छ । ढल्केबर-मुजफ्फरपुर ४०० केभी द्विदेशीय प्रसारण लाइन बाहेक ४०० केभी कै हेटौंडा-ढल्केबर-दुहवी र देशैभरि विभिन्न स्थानमा २२०, १३२ केभीका प्रसारण लाइन बनिरहेका छन् । अन्य दुई स्थानमा नेपाल-भारत प्रसारण लाइन निर्माणको प्रारम्भिक सर्वेक्षण भएको छ । यो अपर्याप्त भएपनि आशलाग्दो विस्तार हो । जमीन अधिग्रहणको मुद्दालाई गम्भिरतापूर्वक समाधान गर्ने हो भने ग्रिड बिस्तारले निकट भविष्यमा राष्ट्रिय स्वरुप हासिल गर्ने छ ।
अन्त्यमा,
हाम्रो उर्जा संकट चूनौति मात्र नभएर एउटा अवसरपनि हो, जहाँ निजी क्षेत्र, सरकार र सर्वसाधारण सबैको सहभागिताका लागि उत्तिकै ठाउँ छ । समग्र राजनीति नसुध्री एउटा मात्र क्षेत्रमा आश्चर्यजनक प्रगतिको अपेक्षा राख्नु युक्तिसंगत नभएपनि अब जनता विकासको मूल कहिले फुट्ला भनेर अनन्तकाल सम्म कुर्न तयार देखिँदैनन् । र, विकासको मूलको पहिलो सर्त पर्याप्त उर्जा उपलब्धता हो । यो पृष्ठभूमिमा ढिलै र जनदवाव कै कारणले भएपनि राजनीतिक दलमा देखिएको रुपान्तरणले केही आशा अवश्य जगाएको छ । दलभित्रका युवा नेतृत्वले घोषणापत्र लेखनमा क्रमश: भूमिका पाउँदै गएकाले हुन सक्छ २०६३ अघि बिजुलीको खासै वास्ता नगर्ने दलहरुका चुनावी मेनिफेस्टोमा विद्युत विकासको लक्ष्य सहितका हासिल गर्न सकिने प्रतिबद्धता पढ्न पाइन्छ । दलहरुले ती प्रतिबद्धतालाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने दिशातिर पाइला चाले भने सरकार र निजी क्षेत्रको सहकार्यमा नेपालमा विद्युत विकासले अवश्य महत्वपूर्ण फड्को मार्ने छ ।

डा. भूर्तेल तमोर सानिमा इनर्जी प्रा.ली. सँग आवद्ध छन् ।
(नयाँ पत्रिका दैनिक, बैशाख १, २०७२) 

Saturday, April 11, 2015

कहाँबाट सुरु हुन्छ मातृभूमि ?


-मिखाइल मातुसोभ्सकी 

कहाँबाट सुरु हुन्छ मातृभूमि ?
हुन्छ कि बर्णमालाको चित्रबाट
या असल र विश्वासिला
चोकका पुराना मित्रबाट ?
कि सुरु हुन्छ मातृभूमि
आमाले गाएको गानबाट
या जस्तै कठीनाइमा पनि
नझुक्ने स्वाभिमानबाट ?   

सुरु हुन्छ कि मातृभूमि 
चौतारीको दौंतरी भेटबाट ?
या हुन्छ बतासमा झुल्दै हुर्कने
ती बर-पीपलको बोटबाट ? 
कि सुरु हुन्छ मातृभूमि
मैनाको वासन्ती स्वरबाट
या सुदूरसम्म तन्किएको
गाऊँको बाटो र घरबाट ? 

कहाँबाट सुरु हुन्छ मातृभूमि ?
हुन्छ कि क्षितिजको ज्योतिबाट
या हुन्छ कन्तुरमा भेटिएको
बुवाको सिपाही टोपीबाट ?
कि सुरु हुन्छ मातृभूमि
छुकछुक रेलको धुनबाट 
या पहिलो बाचा मायाको
साँचेको तिम्रो मनबाट ?!

साँच्चै, कहाँबाट सुरु हुन्छ मातृभूमि ?

(सन् १९६८ मा प्रकाशित रुसी कविताको भावानुवाद: जुगल भूर्तेल)

(नेपाल साप्ताहिक, २९ चैत्र २०७१)

Wednesday, November 26, 2014

सुधारिएको 'गुटतान्त्रिक' संसदीय व्यवस्था


मानव जातिले आफ्नो जीवनलाई व्यवस्थित, सहज र सुखी तुल्याउन विज्ञान र प्रविधिका आश्चर्यजनक आविष्कारहरू, सामाजिक व्यवस्था, मानवतावादी दर्शन आदिको विकास गरेको छ। नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसका 'प्रभावशाली' शीर्षस्थ नेताका लागि मानवजातिको उर्वर दिमागका यस्ता अद्वितीय सिर्जनामध्ये संसदीय व्यवस्था सबैभन्दा उत्कृष्ट आविष्कार हो। पद, प्रतिष्ठा र शक्तिको मोहमा निरन्तर गुटगत कलह गरेर मुलुकलाई नै विखण्डनको संघारमा पुर्‍याएपनि पार्टी शीर्ष नेतामा संसदीय लोकतन्त्रको 'सुन्दरता र अपरिहार्यता'मा चाहिँ गहिरो मतैक्य छ। सर्वोत्कृष्ट नै मानिसकेपछि त्यसको विकल्पको त के कुरा, त्यसमा कमा र फुलस्टपसमेत परिवर्तन गर्न नसकिनेमा कांग्रेस नेतृत्वले आफ्नो अडान प्रस्ट पारिसकेको छ। यद्यपि नेपालमा ठूलै परिवर्तन भएको यथार्थलाई अन्यमनस्क ढंगले स्वीकार्दै अब उप्रान्त त्यस्तो व्यवस्थालाई 'सुधारिएको' संसदीय व्यवस्था भनिने प्रस्ताव गरिएको छ। कमा र फुलस्टप नै नचलाई अनिर्वाचित माओवादीलाई संसदमा एमालेसरह स्थान दिलाउन सम्भव थियो कि थिएन; विपक्षी दलको निर्वाचित सरकारलाई हटाएर प्रधानन्यायाधीशको नेतृत्वमा निर्वाचन गराउँदा संसदीय व्यवस्थासम्मत भयो कि भएन; न्यायालयमा त्यसपछि चुलिएको महत्त्वाकांक्षाले शक्ति पृथकीकरणको सिद्धान्तलाई पुर्‍याएको क्षतिबारे पार्टी कहिल्यै विमर्श भएको थाहा छैन।
मुलुकका लागि गलपासोझैं बनेको संघीय संरचनाको निर्धारण वा शासकीय स्वरुपजस्ता विषयमा प्रदीप गिरी, नरहरि आचार्य, गगन थापा लगायतका सभासदले वर्षौंदेखि पार्टी लागि निकै उपयोगी मत प्रस्तुत गरिनै रहेका छन्। राष्ट्रिय महत्त्वका यस्ता कुनै विषयमा पार्टीभित्र गम्भीर चर्चा चलाइँदैन, किनकि नेपालका सबै पार्टी 'प्रभावशाली' नेताहरूमा जस्तै कांग्रेसमा पनि छलफल संस्कृतिप्रति गहिरो अनास्था छ। संविधानसभामा बहुमतको आधारमा प्रक्रिया अगाडि बढाउन प्रयासरत कांग्रेस पार्टीभित्र अर्कै परम्परामा स्थापित छ गुटका शीर्ष र वरिष्ठ नेतृत्वले नस्वीकारुन्जेल जस्तै सुन्दर र स्वीकारयोग्य विचार पनि फरक मतको उपेक्षित कुना हुँदै अन्ततः रद्दीको टोकरीमा पुग्छन्।
कार्यकर्ताको मिहेनत र योगदानले सानेपामा कांग्रेसको ठूलै केन्द्रीय कार्यालय भवन खडा छ। तर राणाशाही, शाहकाल, पञ्चायत आदि सबै किसिमका सामन्तवादलाई परास्त गरेर नेपाललाई लोकतान्त्रिक राष्ट्र बनाउन सधैं नेतृत्वदायी भूमिका खेलेको पार्टी सत्तारोहणपछि प्रायः सबै निर्णय सीमित ठूला र प्रभावशाली नेताहरूको बैठक कोठामा लिँदै आएको छ। यस्तो प्रवृत्ति न्युनतम लोकतान्त्रिक आचरण, संसदीय व्यवस्थाका मूल्य, मान्यता र परम्पराअनुरुप त छैन नै, पार्टी विधानसम्मत पनि छैन भनेर बेला-बेलामा झिनो प्रतिवाद हुने गरे पनि लोकतान्त्रिक पार्टीमा राणाकालीन परम्परा निर्वाध चलेकै छ।
धेरै दार्शनिकको ठहर छ विजेताले जसका विरुद्ध लडेर सत्ता हासिल गरेको हो, त्यसैको नक्कल गर्छ। कांग्रेसले पनि सधैं राजाविरुद्ध लडेको हुँदा यसको सर्वोच्च नेतृत्वमा राजकीय स्वभाव आउनु त्यति असंगत नहोला। 'प्रभावशाली' नेता र नाथे कार्यकर्ताको विभाजन गाउँदेखि केन्द्रसम्म समान रूपले स्थापित भइसकेको छ। शक्तिको विकेन्द्रीकरणप्रति ठूलो सैद्धान्तिक 'आस्था' रहेको बताउने 'विशिष्ट' कांग्रेसीहरूमा क्रियाशील सदस्यता वितरणदेखि पार्टीको वडास्तर हुँदै अन्तर्राष्ट्रिय स्तरसम्मको राजनीतिलाई आफ्नो वरिपरि केन्द्रित गर्ने विलक्षण प्रतिभा छ। पार्टी प्रभावशाली र प्रभावहीनको विभाजनप्रति असन्तुष्टि व्यक्त गर्नेहरू गिरिजाप्रसाद कोइरालाकै समयदेखि चरम सिमान्तकरणमा पर्ने गरेको इतिहास भएकोले छोटेनेताहरू लोकतान्त्रिक अभ्यास गर्दा शिर्ष नेतृत्वको अत्यन्त संवेदनशील चित्त नदुखाउने कुरामा आवश्यकताभन्दा बढी नै सचेत छन्। फलस्वरुप केही अघिसम्म निकै आशलाग्दा देखिएका दोस्रो तहका नेता पनि अब आफ्नै गौरवशाली विगतको लाचार छायाजस्ता देखिन्छन्। गाउँका कार्यकर्तामा नेतृत्वको गुटबन्दी र सत्ता कलहप्रति असन्तोष त छ, तर चुनौती दिने सबै प्लेटर्फममा तिनै 'प्रभुत्वशाली' नेताका घरमा बिहान पाँच बजे नै मर्निङवाक गर्दै चिया खान पुग्नेहरूकै हालिमुहाली छ। आफूले यसरी उपभोग गरिरहेको 'सामुहिक गुटगत तानाशाही'ले पार्टीको लोकतन्त्रको चिरहरण भइरहे पनि 'प्रत्यक्ष निर्वाचित तानाशाह' जन्माउने व्यवस्थाको विरोधमा सतिसालजस्तो उभिइदिएकोमा आफूप्रति सम्पूर्ण पार्टी कृतज्ञ हुनुपर्छ भन्ने 'प्रभावशाली' नेताहरूको ठहर छ।
जनवादी केन्द्रीयतामा विश्वास राख्ने कम्युनिष्ट पार्टी मात्र तानाशाही नेतृत्व जन्मन्छ, कांग्रेसजस्तो लोकतान्त्रिक दलमा नेतृत्वको अधिनायकवाद सम्भव छैन भन्ने दाबी गरिरहेका पार्टी एकाधिपतिहरूमा दलीय विधि र प्रक्रियाप्रति लेशमात्र पनि आदरभाव देखिँदैन। 'सदनमा पार्टीको सिद्धान्त, नीति र निर्णयनुरुप कार्य गराउन' 'जनप्रतिनिधिमूलक शासनलाई सबल बनाउन' भूमिका खेल्नुपर्ने कांग्रेस संसदीय दलको कार्यसमितिको गठन संसदको निर्वाचन भएको एक वर्षछि पनि हुनसकेको छैन। जबकि संसद चालु रहेको अवस्थामा हरेक १५ दिनमा समितिको बैठक बस्नैपर्ने बाध्यात्मक व्यवस्था छ। एक वर्षघि गुटगत भागबन्डा नमिलेपछि समितिको निर्वाचन गर्ने निर्णय त गरियो, तर भोट हाल्न लाइन बसेका सांसदहरू सहमति गर्ने नाममा फिर्ता बोलाइए। तिनले आजसम्म फेरि त्यो लाइनमा बस्ने झन्झट मोल्नुपरेको छैन। संसदीय दलले गर्नुपर्ने निर्णय नेताहरूको 'पञ्चायत'ले गर्ने र सांसदगणलाई सञ्चार माध्यमद्वारा नियमित जानकारी गराउने पद्धति कांग्रेसद्वारा प्रस्तावित 'सुधारिएको' संसदीय व्यवस्थाको महत्त्वपूर्ण विशिष्टता हुने प्रस्टै छ।
संसदीय पद्धतिमा दलहरू राजनीतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण अंग हुन्। त्यसैले दलहरूलाई जीवन्त, वैधानिक र गतिशील राख्न विधानतः थुप्रै व्यवस्था गरिएको हुन्छ। कांग्रेसको विधानले हरेक चार वर्षा निर्वाचित हुनेगरी इकाइदेखि केन्द्रीय स्तरसम्म कार्यसमितिहरूको व्यवस्था गरेको छ। असाधारण अवस्थामा केन्द्रीय समितिले आफ्नो कार्यकाल अरु एक वर्षथप्नसक्ने प्रावधान राखिएकोले कांग्रेसले सधैंझैं यसपटक पनि विशेष बहानामा कार्यसमितिको आयु एक वर्षबढायो। वर्तमान सभापतिको कार्यकाल सकिन ६ दिनमात्र बाँकी रहँदा चार वर्षघि नै गर्नुपर्ने केन्द्रीय सदस्यहरूको मनोनयन भएको छ। दलका महत्त्वपूर्ण निर्णय केन्द्रीय समितिको बैठकबाट लिनुपर्ने प्रावधानका बाबजुद 'प्रभावशाली' नेताहरूको 'पञ्चायत'ले गरेको निर्णय केन्द्रीय समितिबाट अनुमोदन गराउने परम्परा नै बसिकेको छ। केन्द्रीय समितिको बैठक हत्तपत्त डाकिँदैन, बस्यो नै भने पनि झारा टार्ने ढंगले अधुरो, अपुरो अवस्थामा 'बैठक जारी छ' भन्ने हास्यास्पद निर्णय गरेर समाप्त हुने गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक नभएको अवस्थामा त्यसको काम गर्ने केन्द्रीय कार्यसम्पादन समितिको पनि आजसम्म गठन भएको छैन। विधान अनुसार हरेक वर्षगरिनुपर्ने पार्टीको महत्त्वपूर्ण महासमिति बैठक १२ औं महाधिवेशन सकिएको साढे दुई वर्षछि जम्मा एकपटक बोलाइएको छ। पार्टीको महाधिवेशन सरहको शक्तिशाली अधिकार प्राप्त महासमितिलाई 'प्रभावशाली' नेतागणले यसरी एउटा ठट्टामा परिणत गरिदिएका छन्।
पार्टी सबैले उचित भूमिका पाउन्, नीति निर्माणमा सहयोग होस्, कार्यकर्ताको प्रतिभाको कदर र संगठनको विकास होेस् भन्ने अभ्रि्रायले कांग्रेस विधानमा केन्द्रीय स्तरमा विभागहरूको गठन गर्ने व्यवस्था गरिएको छ। चार वर्षो कार्यकालको तीन चौथाइ अवधि समाप्त भएपछि अन्ततः विभागहरूको गठन त गरियो, तर विभागीय प्रमुखसँग परामर्शै नगरी पार्टीभापतिले आफ्ना अनुकूल सदस्य मनोनीत गरेपछि 'प्रभावशाली' महानुभावहरू बीचमा उब्जिएको भागबन्डा विवादले अहिले सबै विभागको पुनर्गठन अलपत्र परेको छ।
युवा ऊर्जाको निषेचन र नयाँ नेतृत्वको विकासले नै पार्टीलाई गतिशील र जीवन्त बनाउने हो। यसका लागि कांग्रेस पार्टी आफ्नो आन्तरिक संरचनाबाहेक भ्रातृ संगठनहरूको पनि व्यवस्था गरेको छ। 'नेपाली कांग्रेसको उद्देश्य र सिद्धान्तलाई मान्ने वर्गीय र अन्य रचनात्मक क्रियाकलापमा संलग्न संस्था' भनेर पार्टीको विधानले परिभाषित गरेका भ्रातृ संस्थाहरूले पार्टींगठनको विस्तार र नेतृत्वको विकासमा ठूलो भूमिका खेलेका छन्। अहिलेका सबै 'प्रभावशाली' नेताहरू मूलतः भ्रातृ संस्थाको राजनीतिका उपज हुन्। तर आफू स्थापित भइसकेपछि नयाँ नेतृत्वको उदयलाई प्रतिबन्ध नै लगाउने हिसाबले पार्टीको एकीकरणपछि मूल र प्रभावकारी भ्रातृ संगठन मानिने नेवि संघ, तरुण दल र महिला संघ लगायतको अधिवेशन सम्पन्न हुनसकेको छैन। ती लगभग निष्क्रिय अवस्थामा रहनु मुलुकको सबैभन्दा पुरानो दलका लागि लज्जा र संकोचको विषय हुनुपर्ने हो। हालै सबै प्रतिनिधिहरू काठमाडौंमा भेला भइसकेपछि नेवि संघको महाधिवेशन हुन तीन दिन अघिमात्र स्थगित भएको घोषणा गरियो। संघ महाधिवेशनको मुखैमा पूर्वनियोजित स्थगन सूचना टाँस्ने यस्तो प्रहसन मञ्चन भएको यो सातौंपटक हो। चार वर्षघि संघमा उत्पन्न भद्रगोललाई व्यवस्थित गरी 'ट्रयाकमा ल्याउन' ६ महिनाभित्र अधिवेशन गर्नेगरी पार्टीले संघको निर्वाचित कार्यसमितिलाई विघटन गर्ने क्रान्तिकारी प्रस्ताव पारित गरेको थियो। क्याम्पस इकाइको विधिवतः निर्वाचन हुन नसकी प्रतिनिधि चुन्न गाह्रो भएको हास्यास्पद तर्क दिने कांग्रेसको नेतृत्वले भविष्यमा मुलुककै चुनाव त गराउन सक्ला? अदालतले निर्वाचन गराउने परम्परा स्वीकारिसकेको पार्टी आफ्ना भातृ संगठनको निर्वाचन गराई 'ट्रयाकमा ल्याइदिन' एकदिन उतै गुहारे भने विस्मात नमाने हुन्छ। गुटका 'प्रभावशाली' नेताबीच बाँडफाँडका आधारमा पार्टी भ्रातृ संगठनको सञ्चालन गर्ने पद्धति 'सुधारिएको' संसदीय व्यवस्थाको खास चरित्र हुनेछ भन्ने कुराको संकेत नेवि संघ प्रकरणमा देखिएको छ।
संसदीय मूल्य, मान्यताप्रति कांग्रेसको निष्ठाका बारेमा हरेक प्रभावशाली नेताहरूको प्रवचनमा बेलायत देखि भारतसम्मका गौरवगाथाहरू एकनासले आइरहन्छन्। ती देशमा देखिएका समस्या, आर्थिक विभेद, सामाजिक द्वन्द तथा पछिल्लो समयमा मोदीको उदय र स्कटल्यान्डको जनमत संग्रहले परम्परागत संसदीय प्रणालीले भोगिरहेको परिवर्तनलाई संकेत गर्छन्। शासकीय स्वरुपको निर्धारणमा २०४६ पछिको हाम्रै अनुभव र विश्वका समकालीन 'वेस्टमिन्स्टर' प्रणालीमा क्रमशः बढ्दै गएको संकटले यो व्यवस्था अब पहिलेजस्तो नरहने प्रस्ट छ। संसारको सबैभन्दा ठूलो मानिने संसदीय लोकतन्त्र छिमेकी भारतमा नरेन्द्र मोदीले रूपमा संसदीय प्रधानमन्त्री भए पनि सारमा निर्वाचनदेखि सरकार सञ्चालनसम्म प्रत्यक्ष निर्वाचित कार्यकारीकै हैसियतमा काम गरिरहेका छन्। अब सबैतिरका जनतालाई कृष्णप्रसाद देखाएर गिरिजाप्रसादले शासन गर्नेजस्तो प्रणाली स्वीकार्य नभएको प्रतीत हुन्छ। जहाँसम्म मुलुकको विविधतालाई सम्बोधन गर्न संसदीय व्यवस्था नै चाहिने तर्क छ, त्यसलाई पनि बेलायतबाट छुट्टएिर जान निरन्तर संघर्षरत स्कटल्यान्डको उदाहरणले खण्डित गरिसकेको छ।
राजनीतिक नेता र नोकरशाहीद्वारा नियन्त्रित र्सवाधिक मुनाफाको उद्योग बनेको यही व्यवस्था नै हाम्रालागि सर्वोत्कृष्ट थियो भने मुलुक अवश्य यति असहाय हुने थिएन। तर कांग्रेसका प्राधिकारीहरू परम्परागत संसदीय व्यवस्थाको चरित्रमा आउन थालेका यी परिवर्तनलाई आत्मसात  गर्न तयार छैनन्, किनकि त्यसले पार्टी स्थपित भइसकेको सामुहिक गुटगत बर्चस्वलाई ध्वस्त बनाउनेछ। चालु संसदीय व्यवस्थाको आकर्षण नै के हो भने यसले गुटलाई संस्थाभन्दा शक्तिशाली बनाइदिएको छ र भागबन्डाको संस्कृतिलाई संस्थागत गरेको छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी हुने अवस्थामा यस्तो सहज राजनीति धराशायी हुने भएकोले यावत अन्तरविरोधका बाबजुद 'प्रत्यक्ष निर्वाचित तानाशाह' नबनाउने विषयमा कांग्रेसका सबै गुटाधीशहरूको एकमत छ।
अन्त्यमा, 'प्रभावशाली' दाइहरूको 'दर्शन' गर्न बिहानै घर-घर पुग्ने संस्कृतिले नगाँजिसकेका गाउँ-गाउँका समर्पित कांग्रेसजनले आगामी महाधिवेशनमा सचेत हस्तक्षेप गरेर अझै पनि पार्टीई बचाउन सक्छन्। वास्तवमा आफ्ना निर्णयात्र थोपरिरहने 'प्रभावशाली'हरू नै वीपीले पूर्वानुमान गरेको भुइँफुट्टा वर्गका प्रतिनिधि हुन्, जसलाई पार्टीको आन्तरिक लोकतन्त्रप्रति कुनै निष्ठा छैन। लोकतान्त्रिक संस्कृतिलाई निषेध गरी जनतालाई संगठित होइन, धूर्ततापूर्वक परिचालनमात्र गर्ने त्यस्तो चतुर वर्गलाई विस्थापित नगरी नेपाली कांग्रेस पार्टी आफ्नो घोषित लक्ष्य अनुरुपको 'न्यायपूर्ण, गतिशील, स्वतन्त्र र समतामूलक समाज निर्माण गर्ने' माध्यम बन्न कदापि सम्भव छैन। निष्ठावान कांग्रेसजनलाई आगामी १३ औं महाधिवेशनले त्यही रचनात्मक हस्तक्षेपको अवसर दिनेछ।

साभार: कान्तिपुर दैनिक (21.11.2014)

http://www.ekantipur.com/np/2071/8/5/full-story/398963.html