Sunday, September 15, 2019

प्रदीप दाइ, विकल्प छ !

 
प्रिय प्रदीप दाइ,
 
तपाईंले करिब ५० वर्षअघि जेलबाट भीमबहादुर तामाङ दाइलाई लेखेको पत्र नेपालखबरले खोजेर प्रकाशित गरेपछि निकै खुसी हुँदै मलाई देखाउनुभएको थियो
। युवा अवस्थामा पार्टीमा व्याप्त निराशा र अकर्मण्यता चिर्न आफूले गरेको एउटा बौद्धिक प्रयत्नको रहस्योद्घाटनले तपाईंलाई रोमाञ्चित बनाएको प्रस्टै देखिन्थ्यो। गुटग्रस्त प्रतिस्पर्धाको भयंकर भासमा फसेको वर्तमान कांग्रेसको प्राथमिकतामा स्वर्गीय भीमबहादुर तामाङजस्तो असल र सिद्धान्तनिष्ठ मानिसको स्मृति नपर्नुलाई म उति अस्वाभाविक ठान्दिनँ

यस्तो वेला गम्भीर आग्रहका साथ तपाईंले उहाँलाई लेखेको पुरानो पत्रले धेरै कांग्रेसजनलाई कति क्षमतावान् मानिसलाई गुमाइएछ भन्ने अभाव महसुस गराएको हुनुपर्छ। समर्पण, सदाचार र विद्वताका प्रतिमूर्ति भीमबहादुर दाइलाई ४६ सालपछि कांग्रेस पार्टीको नैतिक क्षयीकरणको निरीह साक्षी हुनुपर्दा कुन स्तरको पीडा भयो होला ? थुप्रै चुनौती झेलेर उहाँले जोगाएको पार्टीप्रतिको अटुट आस्था र पार्टी बचाउन उहाँले गरेको त्यागका कथा नयाँ पुस्ताका निम्ति एउटा किंवदन्तीजस्तो प्रेरणाको स्रोत हुने नै छ। मैले तपाईंलाई भनेको थिएँ, त्यो पत्रले हजारौँ समर्पित कांग्रेसजनलाई तपाईंकै नाममा खुला पत्र लेख्न प्रेरित ग-यो भने भीमबहादुर दाइप्रति सच्चा श्रद्धाञ्जली हुनेछ। यो सार्वजनिक संवाद त्यही प्रेरणाको परिणाम हो

तपाईंको भ्रातृत्वपूर्ण सद्भाव र सैद्धान्तिक बहसलाई प्रोत्साहित गर्ने उदार स्वभावका कारण निसंकोच आफ्ना भावना व्यक्त गर्न न मलाई अप्ठ्यारो छ, न अवसरको कमी। समाजवादप्रति तपाईंको अटल आस्था र विलक्षण ज्ञानको बौद्धिक प्रकाशमा आफ्नो अध्ययन र सूचनाको सीमितताले मलाई सधैँ असहज बनाउँछ। त्यसका बाबजुद मार्क्सवाद ­लेनिनवादसँग अविच्छिन्न बन्धनमा बाँधिएको समाजवादले घोषित समुन्नत समाजको निर्माण होइन, समाजलाई उल्टो हिंसा­प्रतिहिंसा र दमनको चक्रमा फसाउँछ भन्ने आफ्ना अनुभवजन्य संशयलाई प्रस्ट राख्ने गरेकै छु

पार्टी जीवनका विविध आयाममाथि खरो छलफल पनि भएकै छन्। त्यसैले यी गन्थनमन्थनलाई सार्वजनिक गर्नुको सट्टा व्यक्तिगत भेटमै टुंग्याउन पनि सकिन्थ्यो। तर, माफ गर्नुहोला, म आफ्ना भावना आमनेपाली र विशेषगरी चरम निराशाको जीवन बाँचिरहेका लाखौँ कांग्रेसजनले पनि सुनून् र तपाईंसँग यस्तै आग्रह गरिरहून् भन्ने चाहन्छु

तपाईंले भीमबहादुर दाइसँग परिवर्तनको आवेगका साथ कांग्रेस पार्टीमा आबद्ध युवाहरू हद निराशा र किंकर्तव्यविमूढता, दिशाहीनता र व्यामोहबाट गुज्रेर शनैःशनैः आत्मघातको बाटोमा लाग्न सक्नेजुन उदास मनोदशाको मार्मिक चित्रण गर्नुभएको छ, के आजका कांग्रेसी युवाको मनस्थिति त्यसभन्दा भिन्न छ र ? हिजो आत्मघातको मार्ग संघर्षशील राजनीतिबाट पलायन वा पञ्चायती प्रलोभनजस्तै केही हुन सक्थ्यो

हाम्रै दाइ पुस्ताले त्यही बाटो समाउँदा कांग्रेसलाई पुगेको अपुरणीय क्षतिको तपाईं प्रत्यक्षदर्शी मात्र हुनुहुन्न, तिनको हाताशाको मर्मलाई बुझ्न सक्ने सायद एक मात्र नेता पनि हुनुहुन्छ। आजको परिवर्तित सन्दर्भमा त्यो आत्मघातले राजनीतिलाई समाज सेवाको माध्यम होइन, भद्दा व्यक्तिगत लाभको पेसा बनाइरहेको देखेर आमनेपालीझैँ तपाईं पनि दुःखी हुनुहुन्छ

पार्टीमा आबद्ध युवामा फेरि पनि राजनीतिको मूल उद्देश्य समाज परिवर्तनका लागि भीमबहादुर दाइले जस्तै जीवन समर्पण गर्ने उत्प्रेरणा कसले भर्ने ? तपाईंकै शब्द सापटी लिएर भन्नुपर्दा सतही र छिपछिपे बहसमा, छोटा र साना कलह र व्यक्तिगत लाभबाट हटेर आधारभूत समस्यासँग इमानदारीपूर्वक परिचय गरेर तदनुरूप कदम चाल्ने प्रयत्नकसले गर्ने ?त्यो गहन भूमिकाका लागि पार्टीप्रति बफादार देशैभरिका लाखौँ कांग्रेसजनको नजरमा कांग्रेसको धमिलो क्षितिजमा प्रदीप गिरिबाहेक अन्य कुनै पात्र देखिँदैन। तर, पार्टीको संघर्षमय इतिहासले पटकपटक अद्वितीय र ऐतिहासिक भूमिकाको अवसर दिँदा वा अपेक्षा गर्दा पनि प्रचुर सम्भावनाका बाबजुद तपाईं भने अचम्मसँग असंलग्न बसिरहनुभएको छ

गत संसदीय निर्वाचनलगत्तै कांग्रेस कार्यकर्ता र शुभचिन्तकमा व्याप्त पराजित मानसिकताले उत्पन्न गरेको चरम बेचैनीको क्षणमै यो पत्र लेखिनुपथ्र्यो। तर, पार्टीका निर्वाचित सभापति, महामन्त्रीलगायत पदाधिकारीले कांग्रेसलाई बचाउनेवा कांग्रेसजनको आत्मबल बढाउने जिम्मा लिइहाल्लान् कि भन्ने झिनो आशा गर्दागर्दै यति विलम्ब भयो

कांग्रेसको पुनर्जागरणको प्रस्थान बिन्दु पराजयको निर्मम समीक्षा र नेतृत्वले त्यसको नैतिक जिम्मेवारी लिएर हुन सक्थ्यो। तर, त्यसो हुन त सकेन नै, पार्टीलाई धमिराजस्तो खाइरहेका गुटाधीशहरूले रहे÷सहेको सत्ताको लुछाचुँडी गर्ने प्रतिस्पर्धामा समेत लगाम लगाउन सकेनन्यदि कुनै कांग्रेसजन अझै पार्टीको शीर्षासनमा विराजमानहरूबाटै कांग्रेसले पुनर्जीवन पाउने आशा गरिरहेको छ भने ऊ बिपीको अवसानअघि नै निदाएको कुम्भकर्ण मात्र हुन सक्छ यद्यपि मेरो तर्क कुनै अमुक पदाधिकारी, शीर्ष, मध्यम वा छोटा कदका नेताभन्दा पनि पार्टीमा मौलाएको विचारशून्यता र मूल्यहीनताको राजनीतिमाथि लक्षित छ

आधा दशकअघि तात्कालीन राजनीतिक दुर्दशाको निदान गर्दै तपाईंले भीमबहादुर दाइलाई लेख्नुभएको छ, ‘एसिया र अफ्रिका सम्पूर्णको नै मौजुदा दुर्दशाको मुख्य जिम्मेवारी त्यहाँको नेतृत्व र बुद्धिजीवी वर्गको टाउकोमा छ। ती सब यति काहिल, कमजोर र चरित्रहीन नभएका भए सायद हाम्रो अनुहार नै अर्को हुने थियोदुर्भाग्यवश यी कठोर वाक्यहरू नेपालका सन्दर्भमा आजपर्यन्त कालजयी छन्

विचार गर्नुस् त, त्यो वेला नेपाली राजनीतिको र विशेषगरी कांग्रेसको शिखरमा आफैँ अत्यन्त अध्ययनशील बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहजस्ता स्वनामधन्य राजनेता एवं उहाँहरूको बौद्धिक प्रखरतासँग प्रतिस्पर्धा गर्न सक्ने ईश्वर बराल, केदारमान व्यथित, बालकृष्ण सम, महेशचन्द्र रेग्मी, गणेशराज शर्माप्रभृत्ति निर्भीक बौद्धिकहरू थिए। लोकतन्त्र स्थापनाको क्रान्तिकारी लक्ष्यले जस्तोसुकै अँध्यारोमा पनि अगाडि बढ्ने ऊर्जा दिएको थियो र राजनीतिकर्मीका लागि समाजमा स्नेह, सहानुभूति र प्रतिष्ठा थियो। त्यसवेला त नेतृत्वप्रति तपाईंजस्ता प्रखर युवामा त्यो स्तरको वितृष्णा रहेछ

आज कांग्रेसको भव्य केन्द्रीय कार्यालयमा बिपीको उदास फोटो त झुन्डिएको छ, तर गन्तव्यको होस हराएर पथभ्रष्ट भएको पार्टीलाई बाटो देखाउने जिउँदो मानिस छैन। वर्तमान राजनीतिका नायकहरूको असंगत व्यवहार र उद्गारलाई महान् सिद्धान्त बनाइदिन हरदम आतुर दलतन्त्रका सिपाहीजस्ता बुद्धिजीवीबाट त नेपाली समाजले नै आशा गर्न छाडेकै धेरै भयो

यो अभाव र त्रासदीलाई झेलिरहेको पार्टीभित्रको आजको पुस्ता कति निरास होला ? त्यो निराशा पार्टीका तल्ला फोरमहरूमा समेत थाम्नै नसकिनेआक्रोश बनेर पोखिइरहेको धेरै नेताले आफैँ अनुभव नगरेका होइनन्, तर काठमाडौं फर्केपछि पुनः आआफ्ना गुट सुदृढीकरणमै लागिरहनु तिनको बाध्यता र व्यसन दुवै बनेको छ। सिंगो पार्टीका बारेमा फिटिक्कै नसोची एउटा सानो गुट चलाएर बस्दा पनि पार्टीको सभापति र देशकै प्रधानमन्त्री हुन सक्ने सत्तामुखी राजनीतिमा त्यसलाई अनुचितभन्दा सायद अव्यावहारिक ठहरिन्छ

लोकतान्त्रिक संस्थाहरूमा विचारको विविधता हुन्छ र त्यसैअनुरूप गतिशील वैचारिक समूह हुन सक्छन्, जसले पार्टीलाई जीवन्त बनाइराख्छ। तर थाहै छ, दलभित्र स्थापित गुटहरू कुर्सी र सत्ताका खातिर जोडिएका व्यक्तिहरूको स्वार्थसमूह र देशका सबै पार्टीमा भित्रिएको यावत् विकृतिका जड हुन्। तपाईंकै शब्दमा ती गुट पनि होइनन्, ‘गिरोहहुन्। तिनको असर वडादेखि सिंहदरबारसम्म, निर्वाचन आयोगदेखि अदालतसम्म जताततै देख्न सकिन्छ। तपाईंसमेतको संघर्षले पार्टी र देशमा राजनीतिक व्यवस्थाको आवरणमा यो के लिएर आयो ? राजनीतिमा त्यो गिरोहतन्त्रलाई भित्र्याउन र स्थापित गर्नमा के तपाईंहरूको कुनै भूमिका छैन र प्रदीप दाइ ?

आफ्ना भावना, व्यवहार, पार्टीभित्रको सर्वस्वीकार्यता एवं सार्वजनिक वृत्तमा स्वतन्त्र समाजवादी पहिचान र पार्टीइतर तप्कामा समेत ठूलो लोकप्रियता हुँदाहुँदै तपाईं स्वयं कुनै अज्ञात परिबन्दवश गुटरूपी गिरोहमा अझै बाँधिइरहनु असोचनीय विषय हो। के तपाईंलाई त्यस्तो लाग्दैन ? विगतमा गिरिजाप्रसाद कोइरालाको अहंकार, महत्वाकांक्षा र अन्यायका विरुद्ध भिड्दै गर्दाका बखत एउटा छुट्टै समूहको निर्माण गर्नु न्यायोचित राजनीतिक लडाइँ थियो

त्यो आन्दोलन अन्ततः जसरी विसर्जित भए पनि त्यसवेला आत्मसम्मान र न्यायका लागि जस्तोसुकै शक्तिशाली सत्ताविरुद्ध पनि नैतिक लडाइँ लड्न सकिन्छ भन्ने साहस देखाएर तपाईंहरूले कांग्रेसको एउटा सिंगो पुस्तालाई प्रोत्साहित गरेकै हो। कालान्तरमा उद्देश्यच्युत भएर थुप्रै विकृतिको जननी बनेको त्यो आन्दोलन नै पार्टीमा स्थायी गुटहरू ठड्याउने कारक बन्यो। त्यसैले आफ्ना सारा प्रतिभा, ममता र प्रज्ञालाई कतै केन्द्रित नगरी कम्तीमा अब त तपाईं गुटगत राजनीतिको गौणताबाट माथि उठेर सबैको अभिभावक नेता हुनुपर्ने होइन र ?

कांग्रेस पार्टीमा तपाईं अकल्पनीय स्वतन्त्रताको उपभोग गरिरहनुभएको छ। तपाईं स्वयंका शब्दमा पार्टीले तपाईंलाई निर्बाध रूपले अराजक हुनसमेत अधिकार दिएको छतपाईंले भोटसमेत नमागी निरन्तर केन्द्रीय समितिमा निर्वाचित गरिरहने स्नेही कार्यकर्ताको कुनै ठूलो अपेक्षा हुँदैन। ती चाहन्छन्, तिनले मुखरित गर्न नसक्ने विद्रोही आवाज पार्टीका विभिन्न फोरममा उठाइदिएर तपाईंले आफ्नो अराजकताको सदुपयोग गरिदिनुहोस्

हिजो पञ्चायतविरुद्धको कठोर संघर्षका वेला पार्टी संगठनलाई जुझारू र स्वच्छ बनाइराख्न सिर्जना गरिएको क्रियाशील सदस्यताअब सुरुमा आफ्ना भोटर आफैँले छान्ने र पछि तिनैबाट निर्वाचित भएर आउनेअलोकतान्त्रिक र अनैतिक व्यवस्थामा रूपान्तरित भइसकेको छ। यो राजनीतिक सिन्डिकेटले नौला विचार लिएर आउने नयाँ मानिसका लागि कुनै स्थान नै नदिएर कांग्रेसलाई उही पुरानो वृत्तमा फनफनी घुमाइरहेको तपाईंले देख्नुभएकै छ

पार्टीमा कुनै नवीन विचार दिने मानिस नै छैनन् भनेर तपाईंले सिकायत गरेको त धेरै सुनिन्छ, तर सिर्जनात्मक विचार प्रवाहित हुन नदिने गिरोहतन्त्रको तगारोलाई भत्काउन पनि कुनै सार्थक कोसिस गरेको देखिएको छैनक्रियाशील सदस्यताको वितरणमा हुने गुटबन्दी र मनपरीतन्त्रलाई जरैदेखि उखेल्ने प्रयासस्वरूप तलैदेखि ठूलो आवाज उठेपछि विधान संशोधन गर्ने प्रपञ्च त भयो, तर अन्ततः गुट निर्माण हुने संरचना धराशयी हुन सकेन

त्यही क्रममा पार्टीको नेतृत्व, संगठन र राजनीतिलाई नै फरक पार्ने अरू कैयन् व्यवस्थाका लागि देशैभरिबाट आएका रचनात्मक सुझावलाई रद्दीको टोकरीमा फ्याँकियो। धेरै केन्द्रीय सदस्यले सुधारको एजेन्डामा एकजुट भएर लामै लडाइँ लडेका थिए। तिनको प्रस्तावसँग सैद्धान्तिक रूपले सहमत रहँदारहँदै ठूलो अपेक्षाविपरीत तपाईंले केन्द्रीय समितिबाट त्यस्तो प्रस्तावको पक्षमा निर्णय गराउने पहल गर्नुभएन

राजादेखि इन्दिरा गान्धीसम्मबाट चौतर्फी घेरिएर थाकेका, तर निष्ठाको राजनीति नहारेका कांग्रेसजनका नायक बिपीलाई समेत प्रश्न गर्ने साहस र प्रतिभा भएको प्रदीप गिरि कर्पोरेट हाउसजस्तै बनेको आजको कांग्रेसमाथि औँलो ठड्याउन यति उदासीन किन ? पार्टीको वास्तविक रूपान्तरणका सवालमा आजसम्म उपयोग गर्न नसकिएको तपाईंको अराजकतासामाजिक प्रियतावादमा भने भरपुर प्रयोग भइरहेको देख्दा अस्वाभाविक लाग्ने रहेछ

विगत धेरै वर्षदेखि नेपाली कांग्रेसलाई सबैभन्दा अलमल्याएको विषय समाजवाद हो। कांग्रेसको समाजवाद के हो, कसैले आजसम्म जनताले बुझ्ने भाषामा व्याख्या गरेको छैन। बिपीको छिटपुट लेखनीमा देखिने गन्तव्य पनि धमिलो र अस्पष्ट छ। प्रतिस्पर्धी दल नेपाल कम्युनिस्ट पार्टीलाई आफ्नो सिद्धान्त र रणनीतिमा कुनै द्विविधा छैनवर्तमान व्यवस्थाबाट यथाशक्य लाभ लिँदै मार्क्सले देखाएको असम्भव सपनालाई पच्छ्याइरहने वा पच्छ्याएको भ्रम छरिरहने

मार्क्सको दुई सयौँ जन्म दिवसको सन्दर्भमा कम्युनिस्ट पार्टीद्वारा एउटा अभियानकै रूपमा मार्क्सवादमाथि व्यापक बहस र स्कुल सञ्चालन भइरहेको छ, जसको उद्देश्य छकम्तीमा १० हजारजनालाई मार्क्सवादको प्रशिक्षण दिएर कम्युनिस्ट पार्टीको नयाँ क्याडर सिर्जना गर्ने ती कार्यक्रममा प्रवचन दिन तपाईंलाई पनि आमन्त्रित गरिन्छपुँजीवादी लोकतन्त्रका ससाना त्रुटिलाई पनि पहाड बनाइदिने, तर अमूर्त सिद्धान्तका नाममा भएका जतिसुकै ठूला अपराधलाई पनि सहजै पचाइदिनेमार्क्सवादी बौद्धिक परम्पराबाहिरको तपाईंजस्तो व्यक्तिले मार्क्स र उनको दर्शनका बारेमा के बोल्नुभयो होला भन्ने जिज्ञासा अझै अनुत्तरित छ

मार्क्सको देवत्वकरण गरिरहँदा लेनिनले हाइज्याक गरेको मार्क्सवादी दर्शनका नाममा मारिएका करोडौँ मानिसका बारेमा कमसे कम तपाईंले श्रद्धाञ्जलीका दुई शब्द बोल्नुभयो होला नै। अत्यन्त मानवतावादी दाबी गरिएको त्यही दर्शन नै संसारका दुर्दान्त तानाशाहरूको हातमा अमानवीय दमन गर्ने दुईधारे हतियार कसरी बन्यो ? तपाईंले कम्युनिस्ट पार्टीको भावी क्याडरलाई, मार्क्सवादी दर्शनलाई कुनै धर्मजस्तो अन्धविश्वास बनाएर हिंसाको बलमा सत्ताको कब्जा र हिंसाकै सहारा लिएर नयाँ मान्छेबनाउने रोमाञ्चकतामा नफस्न दीक्षित तुल्याउनु भयो होला नै

खैर, फ्रेन्च विचारक रेमन्ड आरोनले बौद्धिकहरूको अफिमठहर गरेको मार्क्सवादका बारेमा फेरि छुट्टै आलेखमा तर्कवितर्क गरौँला, अहिलेलाई कांग्रेसको समाजवादमै केन्द्रित होऔँ। माथि नै भनियो, यो कांग्रेसलाई घोर अलमलमा फसाउने विषय बनेको छ। कांग्रेसको परिकल्पनाको समाजवादका बारेमा हाम्रा नेता वा बौद्धिकले अर्थपूर्ण बहस नै गरेका छैनन्। आजसम्म भएका छिपछिपे विमर्श तपाईंले भीमबहादुर दाइलाई लेखेझैँ समाजवाद भन्ने शब्दको गिल्लामात्र साबित भएको छ। त्यसैले समाजवादको उच्चारण गर्नेबित्तिकै कुरो घुमिफिरी उनै मार्क्समा गएर ठोकिन्छ

हामीलाई सधैँ के भ्रम रह्यो भने बिपीले हाम्रा लागि प्रशस्त लेखपढ गरिदिनुभएको छ। तर, पछि बुझ्दै गएँ, एउटा क्रियाशील राजनीतिज्ञका नाताले उहाँसँग समयको अभाव त थियो नै, सन्दर्भअनुसार सिद्धान्तको व्याख्या गर्ने दबाब पनि थियो। फलस्वरूप उहाँको चिन्तनको तीव्र्र गतिशीलताले ठाउँठाउँमा हामीलाई अवाक् बनाउँछ। सुरुआतमा बिपी मार्क्सवाद र सोभियत मोडेलसँग प्रभावित देखिनुहुन्छ। उहाँ सरकारी पुँजीवाद र वितरणको कुरा गर्नुहुन्छ। फेरि गरिबीको वितरण गरेर केही हुन्न, उत्पादनमा जोड दिनुपर्छ भन्ने निष्कर्षमा पुग्नुहुन्छस्मल इज ब्युटिफुलका पक्षधर बिपी नै हामीले सबैभन्दा चिनेका बिपी हुनुहुन्छ

तानाशाही व्यवस्थामा गान्धीवादको न्यून उपादेयता देख्ने बिपी कालान्तरमा गान्धीको ठूलो प्रशंसक बन्नुहुन्छ। राष्ट्रियताका बारेमा उहाँका धारणा तीन दशकमा तीनपटक फेरिएका छन्। राजतन्त्रका बारेमा पनि उहाँका परस्परविरोधी विचारले आजपर्यन्त हाम्रो समाजलाई उद्वेलित गरिरहेको छ

तथापि बिपीले जति चिन्तन गर्न भ्याउनुभयो, त्यसले हामीलाई मूलतः लोकतन्त्र र अहिंसाको बाटो समातेर यहाँसम्म आउन समर्थ बनायो। आज समय, सन्दर्भ र आवश्यकता फेरिएका छन्। आज पार्टीको ध्येय स्थापनाकालीन होइन, आजको समाजतिर मुखरित हुनुपर्छ। न्यायपूर्ण र लोकतान्त्रिक समाज निर्माणको बिपीकालीन अभिलाषा त उस्तै छ, तर समय बदलिएको छ र त्यो लक्ष्य प्राप्तिका लागि नयाँ सैद्धान्तिक अन्वेषणको माग गरिरहेको छ

यो गहिरो चासो र चिन्तनको विषय भए पनि कांग्रेसमा कुनै हलचल छैन। यद्यपि विचारका सन्दर्भमा कुरा गर्दा तपाईंले भीमबहादुर दाइसँग उही वेला स्विकारिसक्नुभएकै छ– ‘मुलुकबाट राजनीति र राजनीतिबाट चिन्तनको निष्काशनको दोहोरो चाल सफल भएको छपाँच दशकअघि नै सफल भएको त्यो षड्यन्त्रले पार्टीको वैचारिक फाँटलाई बन्जर धर्तीमा परिणत गरिदिएको छ

तपाईंकै शब्दमा विचारको विनाशभएको छ। यस्तो संकटकालमा पार्टीको सबैभन्दा विचारवान् ठानिएको समाजवादी चिन्तक प्रदीप गिरिचाहिँ १० हजार कम्युनिस्ट क्याडर जन्माउन यति व्यस्त हुनुहुन्छ कि पार्टीको वैचारिक पुनरुत्थानका लागि उहाँलाई फुर्सदै छैन। कांग्रेसमा विचारको पालुवा लागेन भने पार्टीका युवाले ती १० हजार नवकमरेडहरूको कसरी सामना गर्लान् ?

मुलुकको सबैभन्दा प्रखर समाजवादी चिन्तक लगभग ६ दशकदेखि पार्टीको सक्रिय राजनीतिमा हुनु, तर पार्टी स्वयं भने आफ्नो समाजवादी गन्तव्यकै बारेमा यसरी अलमलमा रहनु आश्चर्य र विडम्बनाको विषय हो। तपाईं गिरोह सञ्चालनमा लिप्त पुरानो नेतृत्व वैचारिक ब्यांक्रप्ट्सीमा गइसकेको ठहर गर्नुहुन्छ, तर फेरि केही न केही बौद्धिक कर्मबाट सिर्जित नयाँ आवाजलाई पनि विचारविहीन कोलाहल मात्र हो भन्ने निष्कर्ष निकाल्नुहुन्छ

माओवादीले हिंसाको भरमा समाज परिवर्तन गर्न गरेको असफल र कतिपय अवस्थामा अमानवीय प्रयत्नको तपाईं यदाकदा प्रशंसा गर्नुहुन्छ, तर बन्दुक नबोकी संघर्षरत आफ्नै पार्टीभित्रको उदाउँदो नेतृत्वलाई विचारहीन जमात ठह-याउँदै डिसमिसगर्नुहुन्छ। पार्टीमा पाएको सर्वोच्च बौद्धिक स्थानबाट तिनको वैचारिक यात्रालाई आलोकित गर्नु र सत्य चिन्ने क्षमतालाई नष्ट हुन नदिनु के तपाईंको कर्तव्य होइन र ? तिनलाई उत्साहित तुल्याउँदै क्रमशः अर्थपूर्ण भविष्यको नेतृत्व गर्ने दिशातिर तपाईंबाहेक अरू कसले डोहो-याउन सक्छ ?

तपाईंले धेरै वर्षदेखि आर्थिक वृद्धि र वितरण सँगसँगै जान नसक्ने तथा नेपालको आर्थिक उत्थान कृषिमा आधारित उद्यमशीलताको विकासबाट मात्र सम्भव हुने तर्क गर्दै आउनुभएको छ। यी विचारमा प्रशस्त छलफल गर्न नसकिने होइन, तर तिनलाई कांग्रेसको घोषणापत्र वा कुनै आधिकारिक दस्ताबेजमा प्रवेश गराएर बहस सिर्जना गर्ने प्रयास तपाईंले कहिल्यै गर्नुभएन

दुर्भाग्यवश कांग्रेसको घोषणापत्रमा तपाईंको परिश्रमी किसानका सपनाको प्रतिविम्ब होइन, समृद्धिको त्यही भद्दा रेल नै देखिन्छ। तपाईंले बिपीसम्बन्धी थुप्रै पुस्तकको सम्पादन र संकलन गरेर अतुलनीय योगदान गरे पनि समकालीन नेपालका लागि सान्दर्भिक प्रदीप गिरिका विचारहरूको सँगालोबाट कांग्रेसजन कहिल्यै लाभान्वित हुन पाएनन्। अपार सम्भावनाको यस्तो भीषण अपव्यय बुझेर बुझिनसक्नु छ
सारांशमा, कांग्रेस पार्टीमा विचारको संकट छ भन्ने विषयमा हाम्रो मतैक्य छ। सधैँ एकपछि अर्को संक्रमणबाट गुज्रिरहन अभिशप्त अनेक विविधताको नेपाली समाजका लागि कांग्रेसजस्तो उदार लोकतन्त्रमा विश्वास गर्ने पार्टीको उपादेयता तत्काल समाप्त हुँदैन भन्ने कुरामा पनि सायद हाम्रो विमति छैन। तर, हाम्रो नेतृत्वको दुर्बलताले सिर्जित जटिलताका अलावा मोदी, ट्रम्प र बोल्सोनारो प्रवृत्तिको उत्थानको यो विश्वव्यापी दक्षिणपन्थी आँधीमा उदार लोकतन्त्रको आफ्नै अस्तित्व निकै संकटग्रस्त छ

निरन्तर उग्रवामपन्थी प्रहार त छँदै छ, पछिल्लो समय फरक पहिचानप्रति आशंका, जातीय विद्वेष र उग्र राष्ट्रवादको बढ्दो लोकप्रियताले उदारवादी दलहरूमा द्विविधा उत्पन्न गरिदिएको छझन् जुझारू प्रगतिशील बाटोमा लाग्ने कि अरूले झैँ जनरञ्जनको सजिलो राजनीतिलाई अँगाल्ने! यो द्विविधाको असर अहिल्यै कांग्रेसमा देखिइसकेको छ
आगामी महाधिवेशनसम्म भारतमा घनीभूत हुँदै गएको धार्मिक उन्मादको रोग कांग्रेस पार्टीमा पनि सर्ने सम्भावना प्रबल छ। यस्तो वेला पार्टीभित्र र बाहिर पनि मानवतावादी उदार लोकतन्त्रको प्राण जोगाउन कांग्रेसका युवालाई एउटा बौद्धिक हस्तक्षेप चाहिएको छ, जसले तिनको हृदयमा परिवर्तनको आगो सल्काओस्, उग्रवामपन्थी रोमाञ्चकता र दक्षिणपन्थी फासिवादसँग जुध्ने शक्ति सञ्चार गरोस्

तसर्थ कांग्रेसले हिँड्ने अबको बाटो पहिल्याउन वैचारिक पुनर्जागरण र पुनर्चिन्तनको महाअभियानको खाँचो छ। के तपाईं समूह, गुट र गिरोहभन्दा माथि उठेर सबैका प्रति न्याय र समभावका साथ पार्टीलाई समेट्दै त्यो महान् अभियानको नेतृत्व गर्ने सर्वमान्य नेता बन्न सक्नुहुन्छ ?

स्वभावतः यस्तो बृहत् अभियानको नेतृत्वककर्ता पार्टीको सभापति नै हुनुपर्ने हो। तर, आफ्नो युवावयमा समेत नखोजेको वा नचाहेको कुनै कार्यकारी पद लिन तपाईंलाई उक्साउनु अर्थहीन छ। त्यस्तो दायित्व तपाईंको उमेर, स्वभाव र रुचिअनुकूल त छैन नै अनिवार्यजस्तो बनेको पैसा र शक्तिको त्यो डरलाग्दो संयोजन तपाईंको बौद्धिकताका लागि खतरनाक पनि छ

तर, पार्टीमा व्याप्त निराशालाई चिर्दै उग्रवामपन्थी र दक्षिणपन्थी धावालाई सामना गर्न जुन स्तरको वैचारिक जागरणको पार्टीमा खाँचो छ, त्यो तपाईंको क्षेत्र, क्षमता र दायित्वभित्रै पर्छ। तपाईंले आफूमा थप आत्मविश्वास भर्नुपर्दैन, खालि आफ्नो पार्टी र राष्ट्रिय राजनीतिले निर्धारण गरेको कर्मबोध मात्र गरे हुन्छ

प्रदीप दाइ, कांग्रेसका तमाम ठूला पदाधिकारीभन्दा कता हो कता धेरै बौद्धिकता, कांग्रेस पार्टीको ऐतिहासिक भूमिकाको बोध एवं पार्टीभित्र र बाहिरको लोकप्रियता र आमस्वीकार्यता तपाईंको पुँजी हो। आफ्नो यो लोभलाग्दो कदका बारेमा तपाईं अनभिज्ञ हुनुहुन्न, तर सबै किसिमका दायित्वबाट मुक्त निर्लिप्त जोगीभइरहन बुझ पचाइरहनुभएको छ। दायित्वमुक्त भइरहने तपाईंको नितान्त निजी रुचिको सम्मान गर्दागर्दै इतिहासमै सायद सबैभन्दा संकटग्रस्त अवस्थामा रहेको पार्टीको वैचारिक पुनर्जागरण र पुनरोत्थानको गहन जिम्मेवारी अब तपाईंले कर्तव्यबोधका साथ स्विकार्नैपर्छ

अन्यथा अटुट निष्ठाका साथ पार्टीको सेवामा समर्पित लाखौँ कांग्रेसजनका प्रति असाध्यै ठूलो अन्याय हुनेछ। कुनै दिन पार्टीले तपाईंबाट अपेक्षा गरेको थियो होला, तर आज तपाईंको समन्वयकारी बौद्धिक भूमिका अपेक्षित होइन, अपरिहार्य भइसकेको छ। तपाईंले गम्भीरतापूर्वक यो विकल्पलाई आत्मसात् गर्नुभयो भने निश्चय पनि पार्टीको टिना’ (देयर इज नो अल्टरनेटिभ) युगको अन्त्य हुनेछ

अन्त्यमा, तपाईंले भीमबहादुर दाइलाई लेखेकै शब्द सापटी लिएर यो लामो गन्थन टुंग्याउँछु, ‘साँच्चै भन्नुहुन्छ भने मेरो यो आग्रह र आतुरताको मूलमा एउटै कारण छत्यो हो, तपाईंको व्यक्तित्व, जसलाई मैले अति नै महत्व दिएको छु। तपाईंले विकल्प सोचेर जे गर्नोस्, तर आफ्ना सम्भावनाको पूर्ण उपयोग गर्नुस् भन्ने मेरो मनसाय हो

प्रकाशित: नयाँ पत्रिका, २०७६ भदौ २४ मंगलबार (September 10, 2019)

Tuesday, December 18, 2018

दल सुधारौँ, माथिबाटै



·      दोस्रो संविधानसभा चुनावको उत्कर्षमा एमालेबाट प्रतिस्पर्धारत एक नेतालाई हालचाल सोध्न फोन गरेँ । निर्वाचन क्षेत्र फरक परेकाले म उहाँको मतदाता त थिइनँ । तर उहाँजस्ता निष्ठावान मानिसले जित्नुपर्छ भन्ने कामना थियो । निराशाले थाकेको स्वरमा उहाँले भन्नुभयो, ‘जुगल भाइ, संसदीय निर्वाचन मजस्ता मानिसका लागि होइन रहेछ । कार्यकर्तालाई घरदैलो गराउन मात्र दैनिक कम्तीमा ५० हजार रुपैयाँ खर्च हुन्छ । कसरी पु‍र्‍याउनु, कहाँबाट ल्याउनु ? भूमिगतकालमा पार्टीको आदर्शका लागि आफू कार्यकर्ता भएर कसरी उत्साह र समर्पणका साथ लडिएको थियो भन्ने सम्झनाले उहाँको स्वर द्रवित थियो । उ जमानाको रुमानी क्रान्तिगाथाले आजका कार्यकर्ता परिचालित हुने कुरा थिएन, अर्थोकको जोरजाम सायद हुन सकेन । उहाँले चुनाव हार्नुभयो ।
·    गत संसदीय चुनावमा पराजयपछि शेखर कोइरालाले आफ्नो र समग्र नेपाली कांग्रेसको हारको कारण केलाउँदै पार्टी परिचालन पटक्कै नभएको र क्रियाशील सदस्यसँगै भोट माग्नुपर्ने दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको मार्मिक चित्रण गर्नुभयो । अर्थात्, क्रियाशील सदस्य आफूले खेल्नुपर्ने भूमिकाविपरीत निष्क्रिय भएर बसिदिए । बीपीको विराट व्यक्तित्वको आलोकमा कठिन संघर्षको यात्रालाई सहजै झेलेर आएको कोइराला परिवारका सदस्यलाई पार्टीका लागि सबैभन्दा चुनौतीपूर्ण क्षणमा क्रियाशील सदस्यले आफ्नो क्रियाशीलताको मूल्य यसरी तोक्लान् भन्ने कल्पना थिएन, सायद ।

यी दुई प्रतिनिधि घटना मात्रले पनि ठूला पार्टीका कार्यकर्ताको वर्तमान मनस्थिति सहजै अनुमान गर्न सकिन्छ । हिजोका क्रान्तिकथा कलिलो उमेरको नयाँ कम्युनिस्ट जन्माउन अझै काम लाग्न सक्लान् तर पार्टीको फोहोरी राजनीतिमा अभ्यस्त कार्यकर्तालाई त्यसले उत्प्रेरित र परिचालित गर्न सक्दैन । आजका कांग्रेसी कार्यकर्तालाई बीपीको सपनाको गन्थन पदलोलुप बूढाहरूको ढोङसिवाय अरू केही लाग्दैन । तर कार्यकर्तामा नेतृत्वको प्रतिविम्ब हुन्छ । त्यसैले इतिहासको कठघरामा उसलाई उभ्याउँदा नेतृत्वकर्ताले पनि सँगै उभिनुपर्छ । कार्यकर्तामाथि मात्र केन्द्रित भएर गरिएको विश्लेषणले दलहरूका कमजोरीको निदान हुँदैन ।
यदाकदा दलका नेताकार्यकर्तामा विकसित यस्तो विसंगतिको विश्लेषणले सुकिलामुकिलाकै दृष्टिकोणलाई पृष्ठपोषण गरेर यो शिशु गणतन्त्रलाई कमजोर पार्ने हुँदा त्यस्तो विमर्श आधारभूत रूपमै घातक छ भन्ने तर्क गरेको सुनिन्छ, तर त्यो न्यायोचित छैन । यो पुरानै माओवादीभित्र मौलाएको विसंगतिविरुद्ध केही बोल्दा शान्ति प्रक्रिया खल्बलिने चेतावनीभन्दा किञ्चित भिन्न छैन । बरु दललाई थला पारिरहेको रुग्णताको अविलम्ब उपचार नगरे यसैले हाम्रो शिशु गणतन्त्रलाई सिध्याइदिनेछ । नेपालले थालेको कार्यकर्ता बहस मा विष्णु सापकोटाले यी रोगका सारा लक्षण छर्लंगै देखाइसक्नुभएको छ । त्यस्तो विचार सम्प्रेषणले स्थापित दलहरूप्रति जनतामा वितृष्णा उत्पन्न भएर वैकल्पिक शक्तिहरू लाभान्वित हुन्छन् भन्ने आशंका निराधारै त छैन तर विकल्पको रूपमा सधैँ राजा महेन्द्रकै नयाँ अवतार आउने भय वितरण गर्दा नेपाली जनताको विवेकको अपमान हुन्छ । बरु पुरानै शक्तिभित्र घनीभूत हुँदै गएका थुप्रै विकृतिले तिनलाई झन्झन् अलोकतान्त्रिक, उग्र राष्ट्रवादी र दक्षिणपन्थी बनाइरहेको छ । महेन्द्रका विरुद्ध वर्षौं कालकोठरीमा बिताएका नेताको अशोभनीय आत्मश्लाघामा तिनै महेन्द्रको कारुणिक प्रतिविम्ब छैन र ? मानव जातिमा आजभन्दा राम्रो गर्ने अपरिमित क्षमता छ र नयाँनयाँ विकल्पको खोजी मानवोचित रुझान हो । यद्यपि जनोत्तेजनाका लागि पुरानालाई सत्तोसराप गरेर तिनैका नेता बटुल्दै र तिनकै सांगठनिक मोडेलको नक्कल गर्दै विभिन्न भ्रातृ संगठनमार्फत राज्यका निकायहरूको पार्टीकरण गरेर बन्ने संरचना कुनै व्यावहारिक विकल्प नभएर पुरानैको भद्दा नक्कल मात्र हुनेछ । यसको यथेष्ट संकेत अहिले नै देखिइसकेको छ ।
जारी बहसलाई अघि बढाउँदै नेपालको अघिल्लो अंकमा भास्कर गौतमले एउटा गहन निष्कर्ष निकाल्नुभएको छहामीले गरेको अपेक्षाविपरीत दलहरू समाज रूपान्तरणको संवाहक हुन सकेनन्न परिवर्तनकारी शक्ति नै भए। राजनीतिक दलका नेताकार्यकर्ताले हिजोकै शासकीय संस्कारलाई मलजल गरेको उहाँको ठम्याइमा असहमत हुने कुनै कारण छैन । राजनीतिक संरचनामा परिवर्तन भए पनि आधारभूत मूल्यमान्यतामा खासै परिवर्तन हुन नसकेको पीडा उहाँलगायत धेरै विद्वान्ले पटकपटक व्यक्त गरिसकेका छन् । तर मूल प्रश्न त्यस्तो किन छभन्दा पनि त्यस्तो किन भयोभन्ने नै हो ।
हामीले सबै प्रश्नको जवाफ मार्क्सवादमा मात्र छभन्दै दुनियाँ ढाँटेर आफ्नो दुनो सोझ्याएका थुप्रै कामरेड देखिइसकेको हुँदा घरिघरि मार्क्सतिर फर्किनु औचित्यहीनजस्तो लाग्छ । यद्यपि गरिब देशमा एकै समयमा सर्वहाराको मसिहा बनेर सामाजिक सहानुभूति र प्रतिष्ठा बटुलिरहने तर फेरि पुँजीवादी वैभवप्रति पनि उति नै लुब्ध पात्रको पाखण्डलाई हेर्दै संसार कति विडम्बनाले भरिएको छ भनेर रमाइलो दार्शनिक चिन्तन गर्न पनि बेलाबेला मार्क्सका ठेली पल्टाउनुपर्ने हुन्छ ।
निश्चय नै मार्क्ससँग सबै मानवीय जिज्ञासाको उत्तर छैन । उनका धैरै उत्तर सन्देहको घेरामा पनि छन् । तर उनले पुरानो संसार ध्वस्त पार्ने ऊर्जाले भकभकी उम्लिएको आवेग बोकेर हिँड्ने आफ्ना विप्लवी अनुयायीलाई दिएको एउटा मन्त्र भने अत्यन्त दूरदर्शी थियो, जुन हाम्रो विमर्शमा पनि निकै सान्दर्भिक छ । सर्वहारा स्वयंकै गुणात्मक विकास नभई क्रान्तिका लागि अधीर नहुन श्रमिक वर्गलाई सचेत गर्दै मार्क्सले लेखेका छन्– ‘१५, २०, ५० वर्षको लडाइँ र संघर्ष समाजलाई परिवर्तन गर्न मात्र होइन कि आफू स्वयंलाई परिवर्तन गर्दै राजनीतिक शक्तिलाई अभ्यास गर्न सक्ने क्षमताको विकासका लागि पनि प्रयोग गर्नुपर्छ ।क्रान्ति लामो प्रक्रिया हो, जसमा अगाडि बढ्दै जाँदा क्रान्तिकारीहरूमा सबै किसिमको दक्षता वृद्धि हुँदै जान्छ र क्रान्तिको भोलिपल्ट विगतका मालिकहरूको नक्कल नगरी सहजतापूर्वक शासनसत्ता सञ्चालन गर्न सकिन्छ भन्ने गहन भाव बोकेको मार्क्सको यही सन्देशलाई उपेक्षा गरेकाले नै सबै मार्क्सवादी पार्टीहरूमा विचलन देखिएको हो । सत्ताबाहेक अरू सबै भ्रमठान्ने उन्मादमा सञ्चालन गर्ने कौशलबिना जितिएको सत्ताको सिंहासनमा बसेकै भोलिपल्ट परराष्ट्र सम्बन्धका सूक्ष्मतालाई बुझ्नउनै रमेशनाथ पाण्डेको शरणमा पुगेको दयनीय दृश्यका हामी प्रत्यक्षदर्शी हौँ । यसको अर्थ निश्चित परिपक्वता हासिल नहुन्जेल राजनीतिक परिवर्तनका लागि अतिरिक्त प्रयत्न गर्नै हुन्न भन्ने कदापि होइन । यसको आशय लामो क्रान्तियात्रामा सत्ता सञ्चालनको परिपक्वता हासिल गर्ने प्रयत्न आफैँ पनि क्रान्तिको एउटा अभिन्न अंग हो, जसको उपेक्षा घातक हुन्छ ।
पूर्वसोभियत संघमा लेनिनदेखि स्टालिनसम्म पुगुन्जेल प्रमाणित नै भयो कि हिंसाको बलमा हठात कब्जा गरिएको सत्ताले राज्य सञ्चालनका लागि हिंसालाई नै सबैभन्दा सजिलो साधन बनाउने रहेछ । अरू सीप विकास गर्न धेरै समय लाग्छ तर हतियारको प्रयोग त मानिसले आदिकालदेखि गरिआएकै छ । सन् १९१७ को बोल्सेभिक सत्ताकब्जापछि गाउँगाउँमा शासन गर्न पुगेका पात्रहरूद्वारा क्रान्तिका नाममा देखाइरहेको सर्वसत्तावादी ताण्डवले असाध्य पीडित बनेका माक्सिम गोर्कीले आफ्नो नोभाया झिज्न पत्रिकाको नियमित स्तम्भमा नयाँ शासकहरूको तिखो आलोचना गर्दै तिनलाई क्रान्तिकारी विचारको सिर्जनात्मक ऊर्जानिस्तेज तुल्याइदिने हिंस्रक पात्रका रूपमा चित्रण गरेका छन् । सोभियतकालजस्तो आज हतियारको बलमा सत्ता टिकाउन सम्भव छैन । त्यसैले हतियारको ठाउँ पैसाले लिएको छ र मूलत: त्यही नै यावत विकृतिको उद्‍गम बनेको छ । 
माथि कम्युनिस्ट आन्दोलनको कुरा गरिए पनि सत्तारोहणपछिको नेपाली कांग्रेसको मूल चरित्र पनि त्यसभन्दा भिन्न छैन । ०४६ को परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाले मार्क्सको आशंकालाई फेरि एकचोटि प्रमाणित गरे । सत्ता त हासिल गरे तर त्यसको सञ्चालन गर्ने दक्षताको अभावमा उनले उही पुरानो सहज बाटो समाते पैसा, पुलिस र भारत मिलाउने। कोइरालाविरुद्ध विद्रोह गरेर नयाँ प्रजातान्त्रिक संस्कार देखाउने अपेक्षा गरिएका शेरबहादुर देउवा कोइरालाका स्वनामधन्य अनुयायी मात्र बनेनन्, उनीभन्दा एक कदम अगाडि बढेर संसदीय व्यवस्थालाई सबैभन्दा बदनाम र असफल साबित गर्ने कर्ता नै बने । माओवादी आन्दोलनले मुलुकको राजनीतिमा मौलिक परिवर्तन ल्याउने आशा राख्नेहरूलाई गिरिजाप्रसादाका सबैभन्दा ठूला प्रशंसक पुष्पकमल दाहालले त झनै निराश तुल्याइदिए । कथित संसदीय भासमा प्रचण्ड र देउवाले देखाएको सजिलै तैरिने क्षमता विलक्षण र लोमहर्षक छ । माथिका शीर्ष नेताहरूको यही चारित्रिक विशेषता विस्तारित हुँदैहुँदै तल गाउँतहका कार्यकर्तासम्म पुगेको छ । मुलुकमा नवउदारवादी अर्थव्यवस्थाले दाबी गरेको आर्थिक वृद्धिको ट्रिकल डाउनत खासै प्रभावकारी देखिएन तर त्यसका सबै विसंगति भने बग्दैबग्दै सर्वव्यापी भइसकेको छ । पार्टीभित्र संरक्षक नेता र केही सीमित संरक्षित कार्यकर्ताको सानो घेरामा समग्र दलगत राजनीति घुमेको हुँदा पार्टीको समाजसँगको सम्बन्ध अत्यन्त कमजोर भएको छ । यिनै प्रवृत्तिका कारण हुन सक्छ, देशमा भास्कर गौतमले भनेजस्तो जतिसुकै राजनीतिक परिवर्तन भए पनि समाजको वास्तविक रूपान्तरण हुन सकेको छैन ।
राजनीतिक दल र जनताबीचमा हुने संवादको कडी दलका कार्यकर्ता नै हुन् । तर आजका कार्यकर्ता दिग्भ्रमित छन् । पार्टीको लक्ष्यलाई आत्मसात गर्दै त्यसको प्राप्तिलाई जीवनकै उद्देश्य बनाएर जस्तै कठिन संघर्षसँग पनि जुध्ने आत्मविश्वासका साथ पार्टीसँग जोडिन आएको व्यक्ति कार्यकर्ता हो । पञ्चायतीकालको संघर्षमय युगमा पार्टीको कार्यकर्ता लोकतन्त्र प्राप्तिको उद्देश्यले प्रेरित र परिचालित थियो । त्यसअघि राणाकालीन दासत्वबाट मुक्तिका खातिर ऊ पार्टीसँग जोडिएको थियो । त्यसबेला पार्टीको कार्यकर्ता हुनु निकै जोखिमपूर्ण भए पनि त्यसले सामाजिक सम्मान र प्रतिष्ठा दिलाउँथ्यो । यसरी विगतमा पार्टी र कार्यकर्तालाई तानाशाहीविरुद्धको लडाइँले जोडेको थियो । अब त्यसरी लड्नुपर्ने शक्ति छैन । आज पार्टीहरूले गाउने अमूर्त समाजवाद र समृद्धिको गीत कार्यकर्तालाई प्रेरित गर्ने स्पष्ट ध्येय बन्न सकेको छैन । पार्टीसँग जोडिइरहेको क्रियाशीलकार्यकर्ताको कुनै मिसननभएर ऊ दिशाहीनजस्तो भएको छ । ऊ फगत अरू कुनै वृत्ति नभएर मात्र पार्टीमा सक्रिय छ । र, उसलाई थाहा छअब त्यसबाट सामाजिक सम्मान र प्रतिष्ठा आर्जन हुँदैन । त्यसैले उसले आफ्नो सक्रियताको मूल्य निर्धारण गरेको छ । ऊ आहत छ किनकि नेतृत्वले सत्ताको चरम दुरुपयोग गरेर आर्थिक लाभ गरिरहेको देखेको छ । ऊ क्रुद्ध छ किनकि नेतागणले क्षमतावान कार्यकर्ताको अवमूल्यन गर्दै सीमित मानिसलाई मात्र प्रवद्र्धन गरिरहेको उसले भोगेको छ । 
त्यसैले पार्टीको कार्यकर्ता अब भावनामा बगेर तिनका लागि क्रियाशील हुन चाहँदैन । संसद्को समानुपातिक सिट बेचेर आफ्नो साम्राज्य चलाइरहेको नेतृत्वले पार्टीलाई त्यही सिट दिलाउन कार्यकर्ताले निर्वाचनमा नि:स्वार्थ सक्रियता देखाओस् भन्नु अत्यन्त क्रूर आग्रह हो । कार्यकर्तालाई निरन्तर गुटअनुकूल उपयोग मात्र गरिरहने तथा न्याय, स्नेह र उत्प्रेरणा प्रदान गर्न नसक्ने नेताले आम कार्यकर्ताको वफादारी नपाउने हुनाले नै विभिन्न पार्टीमा अन्तर्घात संस्थागत भएको छ । त्यो अराजक र अनैतिक हतियार हो तर पार्टीलाई वर्षौंदेखि कब्जा गरिरहेका गुटाधीशहरूविरुद्धको विद्रोहको रूपमा त्यसलाई बुझे मात्र समाधान निस्कन्छ ।
यी विकृति र विसंगतिबीच विश्वभरि नै लोकतन्त्रमा राजनीतिक दलहरू राज्यलाई जनतासँग जोड्ने पुल हुन् । राजनीतिक दलबिनाको लोकतन्त्र सम्भव नहुने हुँदा अन्य योग्य र नितान्त नयाँ मोडेलको लोकतान्त्रिक विकल्प नभेटिउन्जेल जुन दल उपलब्ध छन्, तिनैलाई सुधारेर जानेबाहेक अरू बाटो छैन । सुधारचाहिँ तलबाट होइन, माथिबाटै हुनुपर्छ किनकि पार्टीहरू टाउकोदेखि नै रोगाएका छन् । 
ठूलो संख्यामा साधारण सदस्यता वितरण गर्दा पार्टीभित्र जरा गाडेको संरक्षक र संरक्षित मोडेलको सक्रिय वा क्रियाशील सदस्यता प्रणाली कमजोर हुन सक्छ र पार्टीलाई अझ लोकतान्त्रिक बनाउन मद्दत पुग्छ । साधारण सदस्य बृहत् आदर्शका कारण पार्टीमा आबद्ध हुन्छ तर पार्टीका निश्चित नेतासंरक्षकमा आश्रित हुँदैन । संगठनलाई सामाजिक आन्दोलनको रूपमा प्रयोग गर्न सक्दा साधारण सदस्यको स्वत:स्फूर्त सक्रियतामा वृद्धि भई पार्टी समाज रूपान्तरणको माध्यम बन्न सक्छ । पार्टीको साधारण सदस्यलाई आफ्नो भूमिका आफैँ निर्धारण गर्ने मौका दिइन्छ । समय र स्रोत उपलब्ध छ भने आफ्नो रुचिअनुसार कसैले आमसभामा भाग लिएर पार्टीलाई सघाउँछ, कसैले बैठकमा उपस्थिति जनाएर वा आफ्नो क्षेत्रको निर्वाचनमा उम्मेदवारलाई समर्थन गरेर वा सक्रिय रूपले सघाएर । अनि कसैले पत्रपत्रिकामा लेखेर वा आर्थिक सहयोग गरेर पार्टीलाई समर्थन गर्ने प्रतिवद्धता व्यक्त गर्छ । ती हरेक बिहान सकीनसकी अभिवादनवा जय नेपालटक्र्याउन नेताको आँगनमा पुग्दैनन् । आफ्नै पेसाव्यवसायमा व्यस्त पार्टीका स्वावलम्बी सदस्यलाई पार्टीबाट मुलुकको शान्ति र प्रगतिबाहेक अन्य कुनै अपेक्षा छैन । आफ्ना सदस्यको त्यो अपेक्षालाई पूरा गर्ने इमानदार प्रयत्नबाहेक पार्टीका नेतालाई पनि सदस्यप्रति कुनै अतिरिक्त दायित्व छैन । आफ्ना विचार र कार्यक्रमलाई जनतामा सम्प्रेषण गर्न पार्टीले सामाजिक सन्जाललगायतका आधुनिक मिडियाको व्यापक र प्रभावकारी प्रयोग गर्ने गरेकाले चुनावमा घरदैलोजस्तो खर्चालु माध्यमको जरुरत छैन । पार्टीमा विशेष सक्रियता देखाउनुपर्ने वा माथिल्लो नेतृत्वमा जान सक्ने क्षमतावान क्रियाशीलसदस्यको छनोट तिनै साधारण सदस्यबाट हुन्छ । तर ती क्रियाशील पनि पार्टीमा अहोरात्र क्रियाशीलर आर्थिक रूपले आश्रित हुँदैनन् । क्रियाशीलसदस्यको बौद्धिक उत्थान र नेतृत्व क्षमता विकासका लागि पार्टीले निरन्तर तालिमको व्यवस्था गरेको छ । त्यसरी आफ्नो व्यक्तित्व विकासको अवसर पाएर तयार हुँदै जाँदा एक दिन पार्टी र देशै हाँक्ने ठाउँमा पुग्न सकिन्छ भन्ने विश्वासले कार्यकर्तालाई पनि उत्प्रेरित गर्छ । सुन्दा अनौठो लाग्छ तर रुसमा करिब २० लाख सदस्य भएको भ्लादिमिर पुटिनको युनाइटेड रसियापार्टीको जीवन यसैगरी चलेको छ ।
हामी पनि यस्तै मोडेलको संगठनमा किन नजाने ? अत्यन्त पिछडिएको हिजोको नेपालमा सान्दर्भिक हुने गरी बनाइएका पार्टी संगठनको ढाँचालाई आजको आर्थिक, सामाजिक आधारमा आएको परिवर्तन र प्राविधिक विकासअनुकूल बनाए पनि धेरै विकृतिको अन्त्य हुन सक्छ । अहिले कांग्रेसको महासमिति बैठकलाई पार्टीभित्र यस्तो आमूल सुधार गर्ने अवसर छ, समयक्रममा अरू दललाई पनि यस्तो मौका आउने नै छ । प्रभावशालीनेतागणको पदाकांक्षाको सम्बोधन हुन सक्यो भने कांग्रेस बैठकले एकछिन संगठनबारे पनि केही चिन्तन गर्ला भन्ने आशा गर्दा आदर्शवादी बुद्धिविलास ठानिने जोखिम त छ । तर यस्तो बेला बेलायती समाजवादी विचारक राल्फ मिलिव्यान्डको एउटा भनाइले सधैँ मलाई सान्त्वना दिने गरेको छ । आजको तुलनामा कता हो कता आदर्श समाजको निर्माण सम्भव छ भन्दा प्रमाण खोज्नेहरूलाई उनले भनेका छन्– ‘त्यस्तो प्रमाण नहुनुलाई नै निष्कर्ष ठान्ने हो भने अहिले उपलब्धभन्दा अझ उत्कृष्ट वस्तुको प्राप्ति मानव जातिको क्षमताभन्दा बाहिरको कुरा हो भन्ने मान्नुपर्छ ।
नेपाल साप्ताहिक, पुस ३, २०७५ (December 18, 2018)