Tuesday, February 22, 2011

अक्टोबर विप्लवका अभागी सन्तान

जुगल भूर्तेल

"बोल्शेभिकहरुले रुसमा विजय हासिल गरेको दिन समाजवाद पराजित भएको थियो"

पालुङटार भेलामा डा. बाबुराम भट्टराईले आफूले ख्रुश्चेभले जस्तो स्तालिनको मृत्यु पछि नेतृत्वको आलोचना नगरेर अहिले नै असहमति प्रकट गर्ने आसयको वक्तव्य दिनु भएको थियो । उहिले माओवादी ‘जनयुद्ध’ कालमा पार्टी नियन्त्रित क्षेत्रको अधिनायकवादी संरचनामा “जनसेनाको घेरा भित्र सुरक्षित बस्न पाउँदा आफूलाई गर्व लागेको” कुरा त उहाँले लेखी नै सक्नु भएकोछ । हिजो पार्टी भित्र नेतृत्वको प्रतिवाद गर्दा उहाँलाई त्यसरी श्रम सिविरमा ‘सुरक्षित’ बस्नु पर्ने बाध्यता थियो, तर आज त्यही नेतृत्वको सार्वजनीक आलोचना गर्दा पनि उहाँ उन्मुक्त हुनुहुन्छ । यी दुई तथ्यले उहाँलाई राजनीतिमा बहुलवाद कति अपरिहार्य रहेछ भन्ने महसुस गरायो कि गराएन ? स्तालिनको क्रुरतालाई वर्गसंघर्षको सैद्धान्तिक जामा लगाइदिएर लोकप्रिय बनाउने अभियानका एक प्रमुख पात्र कामरेड भट्टराईले ख्रुश्चेभ जस्तो कायर नहुने दावी गर्दा आफ्नो पार्टी कार्यालयमा साधिकार झुण्डिएको स्तालिनको तस्विरलाई शायद सम्झिनु भएन । ख्रुश्चेभको द्विविधाप्रति संवेदनशील भएको भए हिंसाका सम्पूर्ण आधारलाई समाप्त गर्दै मुलुकलाई शान्तिको बाटोमा हिँडाउने पूर्वनिर्धारित सहमति अनुसार माओवादी लडाकुलाई विशेष समिति मातहत लैजाने हालै भएको निर्णयको डा. भट्टराईबाट त्यसरी विरोध हुने थिएन ।

स्तालिनको मृत्युपछि सन् १९५६ मा आयोजित सोभियत कम्युनिष्ट पार्टीको बीसौं महाधिवेशनलाई संवोधन गर्ने क्रममा तात्कालीन महासचिव निकिता ख्रुश्चेभले स्तालिन शासनको अत्यन्त अमानवीय पाटोलाई प्रथम पटक सार्वजनिक गरेर सोभियत समाजलाई स्तब्ध वनाएका थिए । स्तालिनको जीवनकालमा उनको मौनताको कारण जान्न अलिकति इतिहासको स्मरण गर्न जरुरी छ । सर्वसत्तावादी कम्युनिष्ट पार्टीको शासनमा महासचिवको आलोचनाको अर्थ सामान्य अवस्थामा राजनीतिक जीवनको समाप्ति हुन्छ । यदि व्यक्तिहत्यालाई राजनैतिक अभीष्ट प्राप्तिका लागि प्रोत्साहित गर्ने स्तालिन जस्तो शासक भए त्यस्तो आलोचनाको सिधा अर्थ हुन्छ जीवन कै समाप्ति । सन् १९१७ को अक्टुबर ‘कू’पछि लेनिनले सत्तारोहण गर्दा बोल्शेभिक पार्टीको महत्वपूर्ण पदमा रहेका ‘लेनिनका पहरेदार’ ठानिने धेरै सदस्यको स्तालिनले आफ्नो कार्यकालमा सफाया गरेका थिए । अक्टुबर विप्लवमा लेनिनका सबै भन्दा नजिकका सहयोगी लेभ त्रोत्स्की (लियोन ट्रट्स्की) देखि लेनिनले आफ्नो उत्कृष्ट शिष्य ठानेका एवं स्तालिन आफैंले १९३६ को संविधान लेख्ने जिम्मेबारी सुम्पेका निकोलाइ बुखारिन सम्म स्तालिनको रक्तरंजित शासनको सिकार भए । हुन त स्तालिनको क्रुरताका अगाडि निरिहपात्र लागेपनि बुखारिनले लेनिनको सत्तारोहण पछिका केही वर्ष सोभियत सरकारले मञ्चन गरेको ‘लाल आतंक’ को अवधिमा "सर्वहारा वर्गद्वारा प्रयोग भइरहेका मृत्युदण्डदेखि बाध्यात्मक श्रमदान जस्ता सबै किसिमका बल प्रयोग वास्तवमा पूँजीवादी समयको मान्छेको पदार्थबाट कम्युनिष्ट मान्छेको निर्माण गर्ने प्रयास हुन्" भनेर न्यायसंगत ठहर गरेका थिए । स्तालिनले भने बुखारिन आफैं कम्युनिष्ट भइसकेको पत्याएनन् ।

विश्व सर्वहारा क्रान्तिलाई मूर्तरुप दिएर ‘सबै जाति र समयको महानायक’ बन्ने अतिमहत्वकांक्षाले प्रेरित लेनिनले मार्क्सवादको अपव्याख्या गरेर सर्वहाराको नाम र बन्दूकको बलमा शासन गर्न पाइने नयाँ व्यवस्थाको सुत्रपात गरे । ‘जसको शक्ति उसको भक्ति’ हुने यस्तो व्यवस्थामा स्वाभाविक थियो, उनका सबै अनुयायी त्यही बन्दूक कब्जा गर्ने दाउपेचमा एक अर्कालाई सिध्याउन लागिरहे । खुश्चेभको कायरता निन्दायोग्य हुन सक्ला तर स्तालिनकालीन सोभियत संघमा भएका मानवता विरोधी अपराधको रहस्योद्घाुटन गर्दै मार्क्सवाद-लेनिनवाद कहालिलाग्दो सर्वसत्तावादी दर्शन हो, जसलाई आफूअनुकुल व्याख्या गरेर स्तालिन जस्ता तानाशाहहरुले आफ्नै जनताको रगतको होली खेल्ने र निष्कंटक शासन गर्ने वैधता पाइरहन्छन् भन्ने बुझाइदिएर उनले दुनियाँलाई ठूलो गुन लगाएका छन् । यद्यपि साधारण सर्वहाराको पीडाले खुश्चेभलाई द्रवित बनाएको थिएन । उनको मनोदशालाई बुझ्न स्तालिनकालीन सोभियत कम्युनिष्ट पार्टीको अन्तरद्वन्दलाई अलि नजिकबाट नियाल्न जरुरी छ ।

आफैंद्वारा स्थापित क्रान्तिकारी ट्रिब्युनलले मृत्युदण्डको घोषणा गरेपछि फ्रान्सेली विद्रोहका नायक दान्तोनले भनेका थिए “क्रान्तिले आफ्नै सन्तानको भक्षण गर्छ” । क्रान्तिका सन्ततिहरुमा राज्यको पुरानो आवरणलाई धुजा धुजा पार्ने उत्तेजना हुन्छ । तर क्रान्ति वस्तुत: भत्काउन होइन नवनिर्माणका लागि गरिन्छ । अरु कसैले फेरि आफ्नो अनुकरण गर्लान भन्ने भयवश क्रान्तिकारीहरु नयाँ मुलुकमा सुरक्षा र अंश खोज्न थाल्छन्, तर सबैलाई भाग नपुग्न पनि सक्छ । त्यस बेला परिस्थितिको सही आकलन गर्न नसक्नेहरुलाई क्रान्तिले विस्तारै ‘निल्दै’ जान्छ । अक्टोबर ‘कू’ का अतिउत्साही सन्ततिहरुको नियति पनि खासै भिन्न रहेन । सत्तामा पुगेपछि क्रान्तिका आदर्शहरु क्रमश: क्षय हुँदै जानु अस्वभाविक होइन तर विश्व सर्वहारा क्रान्तिको अतिरंजित सपना देखाएर सत्ता कब्जा गरेका बोल्शेभिकहरुमा अकल्पनीय तीव्रताकासाथ तिनको ह्रास भयो । शायद थेग्न नसक्ने ठूलो सपनाले ठूलै विरोधाभास निम्त्याउँछ ।

लेनिनको अवसानपछि बोल्शेभिकहरु माझ सोभियत सत्ता हत्याउने स्वभाविक दाउपेच सुरु भयो । अक्टोबर विप्लवका एक मुख्य नायक त्रोत्स्की कम्युनिष्ट पार्टीको महासचिव पदका प्रमुख दावेदार मानिन्थे । तर ग्रिगोरी जिनोभिएभलाई क्रान्तिकाल भरि लेनिनसँग नजिक रहेर काम गरेकोले आफू नै ‘विशुद्ध’ लेनिनवादी भएको घमण्ड थियो । उनले त्रोत्स्कीका विरुद्ध स्तालिन र लेभ कामेनेभसँग गठवन्धन गरे । त्रोत्स्कीको ‘मेन्शेभिक’ विगत र अक्टोबर ‘कू’ अघि लेनिनसँग रहेका असमझदारीलाई बढाइ चढाइ प्रस्तुत गरियो । उसै पनि कम्युनिष्टहरु माझ ‘को विशुद्ध’ भन्ने विवाद विश्वव्यापी प्रवृत्ति नै हो, जसको संक्रमणको श्रेय पनि उनै ‘महानायक’ लेनिनलाई नै जान्छ । उनले ‘गद्दार’ कार्ल काउत्स्की र रोजा लक्जेम्बर्गको आलोचनमा खर्चेका शव्दहरुमा त्यसको प्रसस्त झल्को पाइन्छ ।

उता त्रोत्स्कीले पनि ‘अक्टोबरको शिक्षा’ नामक पुस्तक नै प्रकाशित गरेर जिनोभिएभ-कामेनेभलाई अक्टोबर ‘कू’ को समयमा “क्रान्तिको शक्ति र जनताको संघर्षप्रतिको चाहानालाई अवमूल्यन गरेको”, “किसानहरुको क्रान्तिकारी संभावनालाई नबुझेको”, “लेनिनले पटक पटक तिनलाई पार्टीबाट निकाल्न खोजेको” अर्थात साराशंमा कम्युनिष्टका लागि अत्यन्त अपमानजनक ‘मार्क्सवाद नबुझेको’ आरोप लगाए । लेनिनको मृत्यु पछि भएको पहिलो पार्टी अधिवेशनमा (१३औं काँग्रेस, १९२४) त्रोत्स्कीलाई रोक्नका लागि कामेनेभ समेतको प्रस्तावद्वारा महासचिव पदमा स्तालिन निर्वाचित भए । तर कामेनेभ र जिनोभिएभले ‘सरल जर्जियन’ ठानेका स्तालिन निकै चलाख निस्किए । स्तालिनको सत्ता झन् झन् सुदृढ हुँदै गएपछि जिनोभिएभ-कामेनेभको त्रोत्स्कीसँग पुनर्मिलन भयो र ‘संयुक्त प्रतिपक्ष’ को स्थापना गरियो । त्यसमा रादेक, सेरेब्र्याकोभ, प्यातकोभ, आन्तोनोभ-अभ्सिएन्को, मुरालोभ, श्ल्यापनिकोभ, एभ्दाकिमोभ, बाकाएभ, तेर-भागान्यान लगायतका बोल्शेभिकहरु मिसिन आइपुगे ।

स्तालिनको सत्तामाथिको पकड कस्सिँदै गएपछि ‘संयुक्त प्रतिपक्ष’ का धेरैजसोलाई पार्टीबाट निस्काशन र ‘त्रोत्स्की-जिनोभिएभ केन्द्रको रुपमा सोभियत सत्ता विरुद्ध’ अपराध गरेको आरोपमा गिरफ्तार गरियो । तिनले अदालतमा जीवनको याचना गर्दै अन्य बोल्शेभिक र स्तालिन विरोधी तोम्स्की, बुखारिन आदिले आफूलाई पथभ्रष्ट गरेको आरोप लगाए । यहाँ उल्लेखित प्राय: सबै पार्टीको माथिल्लो पदमा रहेर काम गरिरहेका बोल्शेभिक कम्युनिष्ट थिए र ती मध्ये धेरैले अक्टोबर ‘कू’ हुँदा लेनिनको सहयोगीको रुपमा निर्णायक भूमिका खेलेका थिए । राजतन्त्र विरुद्धको संघर्षमा सहज विजय हासिल गरेका ती सबै स्तालिनसँगको लडाईंमा भने नराम्ररी पराजित भए । परिणामत: माथिका सबै कम्युनिष्ट नेताहरुलाई सन् १९३६ देखि ३८ बीच विभिन्न समयमा गोली हानेर मृत्युदण्ड दिइयो । त्यसैगरी र्या कोभ, मिल्युतिन, सिमेनोभ, स्क्रोपनिक, इयोफ्फे आदि धेरैको दुखद अवसान भयो । यी मध्ये धेरै जसो हिजो सम्म क्रेमलिन भित्रको सुविधा सम्पन्न सरकारी अपार्टमेण्टका बासिन्दा थिए ।

पछिल्ला धेरै वर्ष सम्म स्तालिनले सन् १९२० को दशकमा पार्टी भित्र देखिएका विभिन्न धारलाई ‘पार्टी विरोधी समुह’, अर्थात ‘प्रतिक्रान्तिकारी’ को रुपमा परिभाषित गरेर आतंकवादी गतिविधिको आरोपमा बोल्शेभिक नेताहरुको हत्या गरिरहे । तिनका परिवारका सदस्यहरु पनि मृत्युदण्ड, आन्तरिक निर्वासन आदि क्रुर दमनको शिकार भए । उदाहरणका लागि बुखारिनकी पत्नीड आन्ना लारिना, र्यारकोभकी पक्षाघात भएकी पत्नी र छोरी नाताल्यालाई साइबेरियाको कठोर श्रमसिविरमा पठाइयो । कामेनेभकी पत्नीत तात्याना ग्लेबोभाको पनि गोली हानी हत्या गरियो ।

‘त्रोत्स्की-जिनोभिएभ केन्द्र’ लाई ध्वस्त बनाउन स्तालिनले तात्कालीन 'एनकाभेदे' भनिने सोभियत गृहमन्त्रालयका जनकमिसार गेनरिख यागदाको भरपुर प्रयोग गरेका थिए । जिनोभिएभ र कामेनेभको टाउकोमा आफैंले हानेको गोली निकालेर घर लैजाने यागदाको क्रुरता विचित्रको थियो । तर आफ्नो योजना पुरा हुने बित्तिकै स्तालिनले उनलाई तत्काल ‘आर्थिक भ्रष्टाचार गरेको’ आरोपमा पदमुक्त गराए र उनका विरुद्ध नयाँ एनकाभेदे प्रमुख निकोलाइ एझोभलाई छानविन गर्ने आदेश दिइयो । लेनिन कै पाला देखि निरन्तर संकटकालीन समिति हुँदै एनकाभेदे सम्मको नेतृत्व गरेका यागदाको घरको तलासी लिँदा थुप्रै बहुमुल्य बस्तु सहित जिनोभिएभ र कामेनेभलाई हानेका गोलीहरु पनि भेटिएका थिए । यागदा लेनिनकालका सरकार प्रमुख याकोभ स्भेर्दलोभका भान्जे-ज्वाईं थिए । यी तिनै स्भेर्दलोभ थिए, जसले अपदस्त गरिएका जार निकोलाइका नावालक छोरा सहित सम्पूर्ण परिवारलाई गोली हान्ने आदेशमा सही गरेका थिए । तर स्भेर्दलोभ कै बहिनी पनि दुई दशकको श्रमसिविर भोग्न वाध्य भइन् ।

सन् १९३७-३८ मा एनकाभेदे प्रमुखको रुपमा एझोभको १५ महिने कार्यकाल सोभियत संघको इतिहासमा सबै भन्दा रक्तरंजित मानिन्छ । तत्कालीन पोलिटब्युरोले गरेको 'सोभियत व्यवस्था विरोधी र अपराधी तत्वलाई सफाया गर्ने' निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिँदै ३० जुलाई १९३७ मा एनकाभेदे प्रमुख एझोभले आफ्ना मातहतका कर्मचारीलाई लेखेका थिए (आदेश नं. ००४४७) “यो अभियानमा केही हजार निर्दोष मान्छे मरे भने खासै पीडित हुनु पर्दैन” ।” स्वभाविक थियो सोभियत व्यवस्थाको विरोध गरेको आरोपमा लाखौं निरपराध मान्छे मारिए । कम्युनिष्ट कार्यकर्ता कै जीवनपनि निरापद रहेन । ख्रुश्चेभले विसौं महाधिवेशनलाई सूचित गर्दै भनेका थिए यस अवधिमा सोभियत कम्युनिष्ट पार्टीका १३९ जना पूर्ण र वैकल्पिक केन्द्रीय सदस्य मध्ये ९८ जनालाई गोली हानी हत्या गरियो भने ‘सोभियत संघमा समाजवादको विजय भएको’ संवैधानिक घोषणा गरिएको सन् १९३४ को सत्रौं महाअधिवेशनका १९६६ प्रतिनिधि मध्ये ११०८ जना अर्थात आधा भन्दा बढि प्रतिक्रान्तिको आरोपमा कठोर दमनको शिकार भए । मतदान अधिकार भएका साठी प्रतिशत प्रतिनिधि श्रमिक थिए ।

स्तालिनको विरोधलाई समाप्त पार्ने अभियान सकिएपछि थुप्रै गोप्य तथ्यसँग परिचित एझोभ उनका लागि खतरनाक सावित भए । उनलाई पनि स्तालिनको हत्या गर्ने षडयन्त्र रचेको आरोपमा मृत्युदण्ड दिइयो । उनको ठाऊँमा आएका लाभरेन्तिई बेरिया, जसले मेक्सिको सम्म एजेण्ट पठाएर निर्वासित जीवन विताइरहेका त्रोत्स्कीको हत्या गराएका थिए, पनि स्तालिनको अवसान पछि आतंकको आरोपमा मृत्युदण्ड कै सिकार भए । सोभियत संघको इतिहासमा रगतले लतपतिएको हात नभएको कम्युनिष्ट नेता भेट्टाउन निकै गाह्रो छ । बोल्शेभिक इतिहासले देखायो हिंसात्मक क्रान्ति र त्यसका संततिहरुको अन्त्य त्रासद हुन्छ, क्रान्तिले सबै भन्दा माथि पुर्‍याएकाहरु नै एक अर्कालाई लुछ्न थाल्छन् ।

तर पनि आतंकको सबै दोष स्तालिनलाई मात्र दिनु न्यायोचित हुँदैन । उनले त लेनिनको पदचिन्हलाई पच्छ्याएका मात्र थिए । लेनिनले सत्तारोहण गर्ने बित्तिकै बोल्शेभिक शासनका विरोधीलाई तह लगाउन ‘लाल आतंक’ नामै राखेर सोभियत सरकारले दमनको औपचारिक घोषणा गरेको थियो । फरक यति मात्र थियो कि लेनिनको आतंक मूलत: धार्मिक संस्था, राजावादी र कथित सोभियत सत्ता विरोधि माथि लक्षित थियो । स्तालिनले भने पार्टी भित्र र बाहिर भन्ने विभेद नराखी समावेशी चरित्र देखाए । लेनिनको ‘लाल आतंक’ (क्रास्निइ तेरोर, १९१८-१९२३) र स्तालिनको ‘भयानक आतंक’ (बाल्शोइ तेरोर, १९३६-१९३८) कालमा सोभियत कम्युनिष्ट शासनको गोलीको सिकार भएका निरपराध मान्छेको सुचिमा बोल्शेभिकहरुले भूस्वर्गको सपना देखाएका साधारण किसान र श्रमिक सर्वहारा देखि राष्ट्रले गर्व गर्नु पर्ने उत्कृष्ट वैज्ञानिक, इन्जिनियर, पाइलट, लाल सेनाका अधिकारी, बुद्धिजीवी, लेखक, कलाकार, विभिन्न जाति-जनजाति र ती सबैका परिवार परेका छन् । स्तालिनका असंख्य पीडितको नाम र फोटो समेत रुसका विभिन्न अभिलेखमा अझै सुरक्षित भेटिन्छन् ।

अक्टोबर ‘कू’ नभएको भए पुँजीवादको अनुहार यति पनि मानवीय हुने थिएन भनेर प्रतिरक्षा गर्ने स्वनामधन्य मार्क्सवादीहरु छ्यासछ्यास्ति भेटिन्छन् । तर त्यति धेरै निरपराध जनताको हत्या गरेर भूस्वर्ग नै निर्माण गर्न सकिन्छ भने पनि के त्यो न्यायोचित छ ? मार्क्सले सूदूर भविष्यको उन्नत साम्यवादी समाजको रोमान्टिक परिकल्पना गर्दा कुनै दिन स्तालिन जस्तो रक्तपिपासु तानाशाहले उनको वर्गसंघर्षको थेसिसलाई निर्दोष जनता र आफ्नै कम्युनिष्ट कामरेडहरुलाई सखाप पार्ने सहज हतियार बनाउलान् भनेर शायदै अनुमान गरेका थिए । काउत्स्कीले भने झैं बोल्शेभिकहरुले रुसमा विजय हासिल गरेपनि समाजवाद भने पराजित भएको थियो । बन्दूकको बलमा व्यक्तिको आत्मनिर्णयको अधिकार र समाजको बहुलवादी चरित्रलाई निषेध गरेर ल्याइएको व्यवस्थामा मात्र स्तालिनकालीन मानवीय त्रासदी सम्भव छ । ख्रुश्चेभले दुनियाँलाई बुझाएको यत्ति कुरा डा. भट्टराईले पनि बुझिदिए नेपालको सुन्दर भविष्य अलिकति सुनिश्चित हुनेछ ।

साभार: नयाँ पत्रिका, १८ फेब्रुअरी २०११

No comments:

Post a Comment