Thursday, October 18, 2012

रुसी पत्रकारिताको त्रासद इतिहास



कति विशाल छ मेरो मातृभूमि
धेरै छन् वन, खेत, खोला यहाँ
यो देशमा झैं यति उन्मुक्त भइ
सासफेर्ने मान्छे अरू होला हाँ
-       भासिलि लेवेदेभ-कुमाचद्वारा लिखित सोभियतकालिन लोकप्रिय गीत (अनु. लेखक)

'जनतालाई सूसुचित गर्नु भनेको न्यायपूर्ण र लोकतान्त्रिक समाज निर्माणको आधारशीला खडा गर्नु हो ।  सकेसम्म कसैको हानी नगरी दायित्वबोधका साथ स्वतन्त्र ढङ्गले कर्म गर्दै सत्यको खोजी गर्नु, त्यसको सम्मान गर्नु र त्यसलाई जन समक्ष पुर्‍याउनु पत्रकारको सबैभन्दा मुख्य कर्त्तव्य हो ।' संसारभरि नै यी आदर्श वाक्यहरु पत्रकारिता पेशाका मार्गदर्शक  सिद्धान्त हुन् । राज्यको चौथो अंग भनेर दिइने सम्मानले इमानदार, निर्भिक र स्वतन्त्र पत्रकारिताको महत्वलाई उजागर गर्छ । जस्तो सुकै प्रतिकुल परिस्थितिमा पनि एउटा पत्रकार आफ्नो धर्मबाट च्युत हुन हुन्न भन्ने मान्यता छ । आज भन्दा करिव तीन सय वर्ष अघि पत्रिका प्रकाशन गरेर सुनौलो इतिहास बनाएको रुसका अग्रज पत्रकारहरुले पनि मुलुकमा शायद यस्तै आदर्श पत्रकारिताको आधार खडा गर्ने सपना देखेका थिए के तिनको सपनाले शिक्षित, बौद्धिक र अध्ययनशील जनताले भरिएको देशमा मूर्तता पायो ?
पुरानो इतिहास
रुसी राजकीय पुस्तकालयका अनुसार रुसी जार पिटर द ग्रेटको आदेशानुसार १३ जनवरी १७०३ मा 'भेदोमोस्ती'  नामक पत्रिकाको पहिलो अंक प्रकाशित भएको थियो ।  सन् १९१४ सम्म आइपुग्दा मुलुकमा हुने नियमित प्रकाशनको संख्या ३००० भन्दा बढि पुगेको अनुमान छ । सन् २००८ को अन्त्य सम्ममा रुसमा करिव २७ हजार दैनिक र साप्ताहिक एवं २० हजार जति म्यागाजिनहरुको प्रकाशन भएको तथ्याङ्क उपलब्ध छ । दर्ता भएका दैनिक समचारपत्रको संख्या मात्र ३५,००० भन्दा बढि हुनुले रुसलाई पत्रकारिताको व्यवसायिकरणमा विश्व कै अग्रणी मुलुक बनाउनु पर्ने हो तर यथार्थ भने त्यति उत्साहजनक छैन
रुसमा पत्रकारहरुको छाता संगठनको स्थापना बोल्शेभिकहरुले सत्ता कब्जा गर्ने बित्तिकै सन् १९१८ भएको थियो । त्यस बेला यसको नाम सोभियत पत्रकारहरुको रुसी संघ भन्ने राखिएको थियो । संघको पहिलो महाधिवेशनमा मानार्थ अध्यक्षको रुपमा क्रान्तिकारी नेताद्वय भ्लादिमिर लेनिन र लेभ त्रोत्स्की (लियोन ट्रट्स्की) लाई चुनिएको थियो । त्यही नै शायद सोभियत सत्ताद्वारा पत्रकारिताको स्वतन्त्रता हरणको सुरुआत थियो । केही भ्रम बाँकी थियो भनेपनि सन् १९१९ मा संघको नाम परिवर्तन पछि सबै स्पष्ट भयो- पत्रकारहरुको कम्युनिष्ट संघ ।   
सोभियतकालमा सबै मिडिया राज्यनियन्त्रित रहेकाले व्यवसायिक पत्रकारिताका मुल्यमान्यताको चेतनाको विकास हुने वातावरण थिएन । प्राय: सबै मिडियाको मुख्य काम नै सरकारी वा भनौं कम्युनिष्ट पार्टीको प्रोपोगण्डालाई प्रकाशित र प्रसारित गर्नु थियो । कतिपय परिस्थितिमा त सोभियत अखबारले कम्युनिष्ट पार्टीको नारा समेत मास्टहेडमा छाप्ने गरेको उदाहरण छन् । जस्तो कि लेनिनले सत्तारोहण गर्ने बित्तिकै कथित प्रतिक्रान्तिलाई निस्तेज गर्ने नाममा व्यापक दमनका सरकारी कार्यक्रमहरु ल्याइएका थिए । त्यसै समयमा सोभियत संघको ठूलो पत्रिका प्राभ्दाले हरेक अङकमा 'अब उप्रान्त श्रमजीवी जनताको उद्‍घोष घृणा र प्रतिशोध हुनेछ' भन्ने उत्तेजक नारा प्रकाशित गर्थ्यो, जसले 'विश्व क्रान्तिलाई मूर्तरुप दिएर संसारको मुहार बदल्न' हिँडेका अति उत्साही कम्युनिष्ट कार्यकर्तालाई कथित प्रतिक्रान्तिकारीहरु माथि दमनका लागि अतिरिक्त उर्जा दिएको सहजै अनुमान गर्न सकिन्छ सोभियत सरकारका उपलब्धिलाई अतिरञ्जित ढङ्गले प्रस्तुत गर्नु हरेक सोभियत प्रकाशनगृहको मुख्य कर्तव्य नै थियो । यसमा एउटा घतलाग्दो सोभियतकालीन परिहास छ:
कुनै दैनिकले एउटा राष्ट्रिय सर्वेक्षण गर्‍यो, जसमा सोधिएको थियो "तपाई के पढ्नु हुन्छ ? तपाईको जीवन कसरी चलिरहेको छ ?" एउटा जवाफ यस्तो आयो "म मुलुकमा निस्कने सबै राष्ट्रिय दैनिक पढ्छु । नत्र मलाई कसरी थाहा हुन्थ्यो कि मेरो जीवन सुखी छ ?" 

लेनिन, स्तालिन हुँदै ब्रेझनेभकाल सम्मपनि स्वतन्त्र अभिव्यक्तिलाई कठोर दमन गरिने परम्परा रहेको परिस्थितिमा रुसको साहित्य, कला, पत्रकारिता जस्ता सृजनशील क्षेत्रहरु फष्टाउन सम्भव थिएन । आज पर्यन्त रुसी साहित्यको प्रतिनिधित्व सन् १९१७ को अक्टोबर विप्लव अघिक सृजनाले नै गर्छन् । अक्टोबर १९१७ पछि विचारमा एकरुपता भएको नयाँ सोभियत मान्छे बनाउने अभियानले सबैप्रकारका विविधतालाई निर्मम दमन गरेर मान्छेको सृजनशीलतालाई कुण्ठित गर्‍यो । विचारको विविधता नभएको समाजमा सृजनाले मौलाउने वातावरण नहुनु स्वभाविक पनि हो । वैकल्पिक विचारलाई छाप्ने कल्पनापनि गर्न नसकिने परिवेशमा पार्टीले 'दिएका' समाचार प्रकाशित गर्नु वा स्वतन्त्रतापूर्वक तयार सामाग्रीलाई ‘माथि’को अनुमोदनपछि मात्र छाप्नुलाई नै 'पत्रकारिता' भनिन्थ्यो ।   यसरी तीन शताब्दी लामो इतिहास भएर पनि रुसको पत्रकारिता कहिले जासशाहीको त कहिले कम्युनिष्ट पार्टीको प्रोपोगण्डा मेसिन बनेर खुम्चिन बाध्य गराइयो । जारहरुको होस् या ‘सर्वहारा’को सोभियत शासन, माथिको लोकप्रिय गीतको ‘उन्मुक्त भइ सासफेर्ने' रुसी जनता गीत कै पात्रको रुपमा मात्र सीमित रहे । 

गोर्वाचोभकालीन ग्लासनोस्त
आर्थिक र राजनैतिक गतिरोधले लगभग ठप्प भएको सोभियत समाजमा परिवर्तनको आकांक्षा चुलिँदै गएपछि त्यो अग्रगामी परिवर्तनलाई नेतृत्व गर्ने ऐतिहासिक दायित्वका साथ तात्कालिन सोभियत कम्युनिष्ट पार्टीको महासचिव मिखाइल गोर्वाचोभ राजनैतिक क्षीतिजमा उदाए । स्वतन्त्रता कुण्ठित भयो भने भ्रष्टाचारको नियन्त्रण र समाजको बहुआयामिक विकास हुन नसक्ने रहेछ भन्ने बोध गरेर उनले 'ग्लासनोस्त' अर्थात 'खुलापन' को नारा दिए । सूचनाको पारदर्शिता, शासनको जवाफदेहिता आदि सोभियत समाजका लागि नौला विषय थिए, जसले रुसी जनताको जीवनमा आश्चर्यजनक उत्साहको संचार गरिदियो । यद्यपि त्यही अतिउत्साहमा कतिपय संचार माध्यमले इतिहासको पुनर्लेखन समेत गरेको आरोप छ । यसरी गोर्वाचोभको शासनकालमा आएर मात्र रुसमा व्यवसायिक पत्रकारिताको आशिंक सुरुआत भयो । आशिंक यस अर्थमा कि सूचनामा पहुँच र त्यसको सम्प्रेषणमा पत्रकार जगतलाई विगतमा भन्दा तुलनात्मक रुपले स्वतन्त्रता प्राप्त भएपनि सम्पूर्ण मिडिया अझैपनि राज्यनियन्त्रित नै थियो । त्यो नियन्त्रणबाट मुक्त हुन मिडियालाई सोभियत संघ कै पतन हुन्जेल पर्खनु पर्‍यो ।      
त्यसैले पत्रकारिताको त्यति लामो इतिहास बोकेको रुसमा व्यवसायिक पत्रकारिताको वास्तविक विकास भने सन् १९९० पछि मात्र भएको तथ्य निराशाजनक भएपनि आश्चर्यजनक छैन । पत्रकारितासँग सम्वन्धित पहिलो कानून नै सन् १९९० मा मात्र लेखियो । त्यसभन्दा अगाडि त कम्युनिष्ट पार्टीको सहर, जिल्ला, प्रदेश र केन्द्रीय समितिमा रहेका विचार विभागको निर्देशन नै प्रेसका लागि कानून सरह थियो । लोकतान्त्रिक आन्दोलनको बलमा स्थापित रुसका प्रथम राष्ट्रपति बोरिस यल्तसिनको शासनकालमा मिडिया स्वतन्त्रतालाई स्वभाविक रुपमा राज्यले उच्च महत्व दिएको थियो । सन् १९९१ मा जारी भएको 'रुस महासंघको सूचना सम्बन्धि कानून'ले नागरिक र मिडिया दुबैलाई सूचनाको निर्बाध हक दिएको थियो । सन् १९९ मा जनमत संग्रहद्वारा अनुमोदन गरिएको रुस महासंघको संविधानको 'नागरिकको कर्त्तव्य र अधिकार' अध्यायको धारा २९ ले सबै रुसी नागरिकलाई जुनसुकै कानून तरिकाबाट सूचनाको प्रकाशन र वितरण गर्ने अधिकार प्रदान गर्दै मिडिया स्वतन्त्रताको ग्यारेण्टी एवं कुनै किसिमको सेन्सर र नियन्त्रणलाई पूर्णत: निषेध गरेको छ ।         
यही खुलापनको वातावरणमा रुसी पत्रकारजगतमा पत्रकारिताका मुल्यमान्यता माथि व्यापक बहस हुन थाले । विगतमा मिडियाको भूमिकाको विषयमा पनि आत्मआलोचना गरिन थालियो । सन् १९९२ मा पत्रकारहरुको सोभियत ढाँचाको संगठनलाई परिवर्तन गरेर रुसी पत्रकार महासंघको स्थापना गरियो । घटनाको वस्तुपरक प्रकाशन र प्रशारण गर्दै नागरिकको सूचनाको हक र सूचनामा सर्वसाधारणको पहुँचलाई सुनिश्चित गर्ने  पत्रकारको सामाजिक दायित्वलाई आत्मसात गर्दै सन् सोभियत संघको अवसान पछि सन् १९९४ मा आयोजित रुसी पत्रकारहरुको काग्रेसले ‘व्यवसायिक पत्रकारको आचारसंहिता’ जारी गरेको छ (हेर्नुस् बक्स)। अहिले रुसी पत्रकारहरुको छाता संगठन रुसी पत्रकार महासंघ (सैयुज झुर्नालिस्तोभ रोसीई) को सदस्य हुन हरेक पत्रकारले त्यही आचारसंहिताप्रति प्रतिवद्धता जनाउनु जरुरी छ । रुसी पत्रकार महासंघ अहिले रुसी पत्काररहरुको सबैभन्दा ठूलो छाता संगठन हो, जसमा करिव एक लाख पत्रकारहरु र ८५ क्षेत्रिय संगठनहरु आवद्ध छन्  ।
तर रुसी पत्रकारिताको यस्तो व्यवसायिकरण र स्वतन्त्रता क्षणिक रह्‍यो । सन् १९९४ देखि सुरु भएको चेचेन्याको बिखण्डनकारी गृहयुद्धमा रुसी सेनाको लगातार अपमानजनक हार र अर्थतन्त्रमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक जस्ता पुँजीवादका आक्रामक प्रवर्द्धकहरु हावी हुन थालेपछि यल्तसिनको शासन अत्यन्त अलोकप्रिय र कमजोर भयो । इभान द टेरिबल, पिटर द ग्रेट, स्तालिन आदिको कठोर शासनमा अभ्यस्त बनेको पुरानो पिढीमा ‘दृढनिश्चयी शासक’ प्रति आकर्षण र विगतप्रति नोष्टाल्जिया प्रकट हुनु अस्वभाविक थिएन । यिनै विविध कारण र कमजोर स्वास्थ्यले निराश बनेका यल्तसिनले सन् १९९९ मा राजिनामा दिए र संविधान अनुसार तात्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन कार्यबाहक राष्ट्रपति बने । चिचेन युद्धलाई तुरन्त समाप्त गर्ने उनको प्रतिवद्धता रुसी समाजमा तत्काल लोकप्रिय बन्यो र केही महिना पछि भएको निर्वाचनमा उनी अत्याधिक मतले विजयी भए । त्यही लोकप्रियताको घोडामा सबार पुटिनले क्रमश: सम्पूर्ण सत्ता आफूमा केन्द्रित गर्दै लगे र स्वाभाविक थियो- त्यस्तो शासनलाई प्रेस स्वतन्त्रता आवश्यक थिएन । 
घुमिफिरी रुम्जाटार
भ्लादिमिर पुटिन राष्ट्रपति निर्वाचित भएदेखि नै राज्यका सबै अंगलाई नियन्त्रणमा लिने रणनीतिले अहिले रुसमा मुर्तता पाएको छ । नियन्त्रित लोकतन्त्रको आवरणमा रुसमा जुन राजनीतिक संरचनाको विकास गरिएको छ, त्यसलाई पुटिनका सहयोगीहरु ‘स्वाधिन लोकतन्त्र’ भन्न रुचाउँछन् । लेनिनले सुरुआत गरेको एउटा पार्टीको शासनले आज पर्यन्त निरन्तरता पाएकै छ भन्दा अत्युक्ति हुँदैन । पुटिनको नियन्त्रणमा रहेको निर्वाचन आयोग, सुरक्षा संयन्त्र र अदालतले अहिलेपनि रुसमा निरन्तर एउटा पार्टी हावी हुने 'बहुदलीय' व्यवस्थालाई संस्थागत गरेका छन् । यस्तो ‘स्वाधिन लोकतन्त्र’ भएको रुसमा, पुटिनको प्रतिपक्षी पत्रिका ‘नोभाया गाजेता’ (नयाँ पत्रिका) की पत्रकार एलेना मिलाशिनाका अनुसार रुसमा अहिले प्रेस स्वतन्त्रताको बारेमा चर्चा गर्न असम्भव छ किनकि त्यस्तो बहस गर्ने स्वतन्त्र माध्यम नै मुलुकमा छैन । रुसमा प्राय: मानिस टेलेभिजनबाट सूचना प्राप्त गर्छन् र यो मिडिया पूर्ण सरकारी नियन्त्रणमा छ । पत्रपत्रिका पनि या त सरकारी लगानीमा संचालित छन्, या पुटिनका नजिकका व्यापारीद्वारा संचालित । स्वतन्त्र झैं देखिने एउटा रेडियो च्यानल (इको मस्कभा) मा पनि सरकारी ग्यास कम्पनीको बहुमत लगानी रहेको छ । गत राष्ट्रपति निर्वाचनको केही अगाडी पुटिनले इको मस्कभा रेडियोले आफूमाथि ‘विहान देखि बेलुका सम्म ‘डाइरिया’ खन्याइरहेको’ आरोप लगाएका थिए । त्यस लगत्तै रेडियोको संचालन समितिमा व्यापक फेरबदल गरियो । मिलाशिना भन्छिन पुटिनको शासन, भ्रष्टाचार, मानव अधिकार, चिच्न्याको युद्ध र युद्ध पछिको पुनर्निर्माण आदि विषयहरु रुसी मिडियाका लागि बर्जित झैं छन् । लोकतान्त्रिक आन्दोलनका अगुवा बिद्रोही पत्रकार सेर्गेइ पार्खोमेन्कोका अनुसार "रुसमा यदि कुनै चिज अझैपनि सरकारी नियन्त्रणमा छैन भने सरकारले अहिले सम्म त्यसलाई नियन्त्रणमा लिनुपर्छ भन्ने ठानेको छैन ।"
रुसमा भनिन्छ पत्रकारको पेशा प्रहरी, खानीमा काम गर्ने श्रमिक पछि तेस्रो सबैभन्दा जोखिमपूर्ण पेशा हो । जोखिमपूर्ण पत्रकारिता अध्ययन केन्द्रका निर्देशक ओलेग पान्फिलोभका अनुसार संसारका प्राय: सबै ठाऊँमा झैं रुसमा पनिराजनीतिक र अपराधको सम्वन्धमा खोज पत्रकारिता गर्ने, सत्ता र अपराधको सम्वन्ध वा सत्तामा पुगेको अपराधीको पर्दाफास गर्ने जस्ता गम्भीर विषयमा केन्द्रित भएर काम गर्ने पत्रकारहरु सबैभन्दा जोखिममा छन् । ‘स्वाधिन लोकतन्त्र’को विशेषता भन्नु नै सत्ताको वरिपरि बस्नेले गर्ने भ्रष्टाचार हो । स्वभाविक छ, त्यस्तो भ्रष्टाचारको अनुसन्धान र खोजीको अर्थ पुलिस, प्रशासन र सत्ताका अन्य अंगहरुसँग सिधा टकराव हुनु हो । अहिले रुसमा चिच्न्याको युद्ध र भ्रष्टाचारको खोजी गर्ने पत्रकारहरु नै सबैभन्दा बढि मारिएका छन् । जस्तो कि उदाहरणको लागि वर्ष अघि मस्कोमा निर्मम हत्या गरिएकी आन्ना पोलितकोभ्स्कायाको पत्रिका ‘नोभाया गाजेता’ कै उदाहरण लिउँ । गत ९ वर्षमा यो पत्रिकाका पोलितकोभ्स्काया लगायत जना निर्दोष पत्रकारहरुले आफ्नो व्यवसायिक पेशाका कारण जीवन गुमाइसकेका छन् भने अरु ३ जना सांगातिक आक्रमण भएको छ । सन् २००९ मा पोलितकोभ्स्काया कै सहकर्मी नाताल्या एस्तेमिरोभालाई इगुंसेतियामा अपहरण गरी निर्मम हत्या गरिएको थियो । रुसी पत्रकार महासंघको वेव साइटमा दिइएको जानकारी अनुसार सन् १९९३ देखि अहिले सम्म रुसमा पेशाजन्य कारणले ३०० भन्दा बढि पत्रकारको रहस्यमय परिस्थितिमा मृत्यु वा हत्या भइसकेको भएपनि आज सम्म एउटा घटनाको पनि अनुसन्धानले पूर्णता पाएको छैन । संलग्न व्यक्तिहरुका बारेमा यथेष्ट थाहा भएरपनि सुरक्षा अंगहरुले रहस्यमय मौनता साधेका छन् । स्थिति कति खतरनाक छ भन्ने कुरालाई रुसी पत्रकार आन्द्रेइ गुसेभले यसरी व्यक्त गर्छन् जीवनभरि बगैंचा र तरकारी बारी, वा एक्वारियममा पाल्ने माछाका बारेमा लेख्दापनि पूर्ण सुरक्षा हुन्छ भन्ने ग्यारेण्टी छैन । निश्चय नै माछा त तपाईसँग रिसाउँदैनन्, तर जानी नजानी कसैको व्यापारिक स्वार्थमा भने ठेस पुगेको हुनसक्छ ।” व्यापारिक स्वार्थमा ठेस पुग्नुको अर्थ कुनै न कुनै दिन आफूलाई जोखिममा पुर्‍याउनु हो भन्ने रुसमा पत्रकारिता गर्ने सबैले राम्ररी आत्मसात गरेको तथ्य हो । फलस्वरुप, रुसी मिडिया अहिले या त कठोर सेन्सरसीपको मारमा छ, या स्व-नियन्त्रणलाई आत्मसात गर्न बाध्य छ । 

पान्फिलोभले भने झैं ठूला ठूला अखवारहरु प्राय: क्रेमलिनसँग नजिक व्यापारी व्यवसायीका समस्याका बारेमा छलफल गर्छन्, सत्ताको सेरोफेरोका समाचारले भरिन्छन् । टेलेभिजन पनि नवधनाड्यको ग्ल्यामरस जीवन पद्दतिको चकाचौध, फोस्रा हास्य कार्यक्रमहरु, उपभोग संस्कृतिको प्रवर्धनमा आधारित कार्यक्रमहरुले भरिएका छन् । क्रेमलिन निकट बुद्धिजीवीहरुको एकतर्फी विश्लेषणले सत्ताको वरिपरि निर्माण भएको नवसंभ्रान्त वर्गको स्वार्थलाई पृष्टपोषण गरिरहेको देखिन्छ । गरिवी, भ्रष्टाचार, महँगी, वेरोजगारी आदि जस्ता सर्वसाधारणका दैनन्दिनका समस्या रुसी मिडियाको चासोका विषय रहेनन् झैं भान हुन्छ ।  

सात दशकको कम्युनिष्ट शासन पछिको छोटो यल्तसिनकालको तुलनात्मक स्वतन्त्रता बाहेक स्वाधिन, स्वावलम्बी र स्वतन्त्र मिडिया रुसमा कहिल्यै भएन । पुटिनको पटक पटकको सत्तामा त्यही परम्परालाई अझ सुदृढ बनाइएको छ । ‘स्वाधिन लोकतन्त्र‘ र स्वतन्त्र प्रेस शायद एक अर्काका परिपुरकपनि होइनन् ।  
   
आशाको किरण
करिव ९०% रुसीहरुका लागि टेलेभिजन सूचनाको मुख्य श्रोत हो । तर मुलुकका पेर्भिइ कानाल (फर्स्ट च्यानल), फ्तारोइ कानाल (सेकेण्ड च्यानल), एनटेभे जस्ता प्रमुख टीभी च्यानलहरु सरकारी लगानी र नियन्त्रणमा छन् । सूचनामा यस्तो बर्बर नियन्त्रण भएपछि जनताहरु वैकल्पिक माध्यम खोज्न विवश हुने रहेछन् । सोभियतकालमा हाते पत्रिका, भुमिगत छापाले दिने गरेको विकल्पलाई अहिले इन्टरनेटले प्रतिस्थापन गरेको छ । यसरी आएको सूचनाको नयाँ स्रोत भने रुसी शासकहरुका लागि टाउको दुखाइको विषय बनेकोछ । तिनले नसोचेको गतिमा रुसमा इन्टरनेट प्रयोगकर्ताको विस्तार भयो । रुस अहिले युरोपमा सबैभन्दा बढि इन्टरनेट प्रयोगकर्ता भएको देश हो । देशको करिव ४०% जनसंख्या सम्म इन्टरनेटको पहुँच छ । वैकल्पिक सूचना प्रवाह गर्ने माध्यमको खडेरी परेको अवस्थामा शिक्षित जनसंख्याको बाहुल्यता भएको मुलुकमा इन्टरनेटको लोकप्रियतामा बृद्धि हुनु स्वभाविक पनि हो । त्यसले एउटा नयाँ पुस्ताको निर्माणलाई बल पुर्‍याएकोछ,  विश्लेषकहरूले तिनको वर्ग छुट्याइदिएका छन्- 'क्रियातिभ्निई क्लास' अर्थात् गरिखाने सिर्जनशील वर्ग । कुनै राजनीतिक दलको छहारी नरुचाउने तर भ्रष्टाचार विरुद्ध र आत्मसम्मानको लडाइँमा संलग्न हुन इच्छुक यस्तो मध्यमवर्गीय जमातलाई इन्टरनेट सञ्जालले संगठित हुने अवसर दिएको छ । टीभी, रेडियो वा अखबारमा विरलै अवसर पाउने रूसको विद्रोही शक्तिले साइवर सञ्जाललाई प्रदर्शनका लागि चन्दा उठाउनेदेखि सम्बोधन गर्ने वक्ताको चयन गर्नसमेत व्यापक प्रयोग गरेर अनौठो लोकतन्त्रको अभ्यास गरिरहेका छन् ।

यद्यपि सूचनाको यो स्रोतमा पनि ‘स्वाधिन लोकतन्त्र‘का अभियन्ताहरुले नियन्त्रणका उपाय खोज्न थालिसकेका छन् । पुटिनको पार्टी ‘इदिनाया रोसिया’ (युनाइटेड रसिया) पार्टीको पूर्ण बहुमत रहेको संसदले हालै एउटा कानुन पारित गरेकोछ, जस अनुसार सरकारले कुनैपनि इन्टरनेट प्रयोगकर्ताको आइपी एड्रेसलाई अदालतको आदेश बिना नै ‘ब्लक’ गर्न सक्छ । रुसी विश्लेषकहरुले यसलाई ‘मुलुकको चीनीयाँकरण गर्ने’ प्रयासको रुपमा हेरेका छन् । त्यसैगरी संसदले ‘मानहानी’ को दफालाई पनि क्रिमिनल कोडेक्समा फिर्ता गरेकोछ, जस अनुसार कुनैपनि पत्रिकालाई अधिकतम ५० लाख रुबल (करिव एक करोड पचास लाख रुपैंयाँ) सम्मको सजाय गर्न सकिन्छ । स्पष्टै छ, न्यायपालिका र विधायिकाका माध्यमबाट पुटिनको सरकार आफ्नो आलोचनाका सबै माध्यमहरुलाई निर्ममतापूर्वक बन्द गरेर अनौठो लोकतन्त्रको निर्माण गर्न उद्दत छ ।

अन्त्यमा,
सुरुको प्रोपोगण्डा गीतले जे भने पनि रुसी जनताको ‘उन्मुक्त सासफेर्ने’ चाहना पुटिनको पुनर्निर्वाचनसँगै अझै केही दशकका लागि निकै पर धकेलिएको छ यसरी ‘घुमिफिरि रुम्जाटार पुगेको’ रुसी पत्रकार जगतलाई पुन: स्वतन्त्रताको लामो लडाईं लड्ने बाध्यताको सृजना भएकोछ । वाक् स्वतन्त्रताले मात्र अन्य सबै मानव अधिकारको ग्यारेण्टी गर्छ भन्ने महसुस गरेको नयाँ पिढीको 'क्रियातिभ्निई क्लास' नै स्वभाविक मित्र शक्तिको रुपमा ऊ सँगै यो संघर्षमा उभिएको छ । विश्वभरिका लोकतन्त्र, न्याय र स्वतन्त्रताप्रेमी जनतापनि निकै चासो र महत्वका साथ यो रोचक संघर्षलाई हेरिरहेका छन् ।

बक्स
२३ जुन १९९४ मा मस्कोमा आयोजित रुसी पत्रकारहरुको काग्रेसले जारी गरेको ‘रुसी पत्रकारको व्यवसायिक आचारसंहिता’ का केही मुख्य बुँदाहरु यस्ता छन् :
·        पत्रकारले आफ्नो मुलुकको कानून पालना गर्छ, तर आफ्नो व्यवसायिक दायित्वको पालना गर्नेक्रममा सरकार वा अन्य कसैको पनि दवाव र हस्तक्षेपलाई अस्विकार गर्छ ।
·        पत्रकारले त्यस्तो समाचार मात्र प्रकाशित गर्छ, जसको सत्यता र श्रोतका बारेमा ऊ विश्वस्त हुन सक्छ । असत्य वा अपुष्ट समाचारले कसैलाई हानी नपुगोस्, समाजले थाहा पाउनै पर्ने सूचना नलुकोस् तर असत्य सूचनापनि नफैलियोस् भन्ने कुराप्रति ऊ सचेत हुनु पर्छ ।  
·        आफूले दिने सूचनामा घटना र त्यसका बारेमा उसले प्रकट गर्ने विचार, विश्लेषण वा अनुमानका बीचमा फरक छ भन्ने कुरा पत्रकारलाई थाहा हुनुपर्छ, तर त्यसको अर्थ ऊ आफ्नो व्यवसायको पालना गर्दा तटस्थ रहन बाध्य छ भन्ने होइन । 
·        आफ्नो व्यवसायिक दायित्वको पालना गर्नेक्रममा सूचना प्राप्तिका लागि पत्रकारले गैरकानूनी र अनूचित तरिका अपनाउने छैन । कानूनले तोकेको परिस्थितिमा बाहेक सूचना र सोधिएका प्रश्नहरुको जवाफ नदिने हरेक व्यक्ति वा संस्थाको अधिकार छ भन्ने कुराप्रति पत्रकार सचेत छ । 
·        बदनितपूर्ण ढङ्गले घटनालाई बङ्ग्याएर प्रस्तुत गर्नु, कसैलाई बदनाम गर्नु, जस्तो सुकै अवस्थामा पनि असत्य समाचार प्रकाशित गर्नु वा सत्यलाई लुकाए बापत कसैबाट आर्थिक लाभ लिनुलाई पत्रकार गम्भिर व्यवसायिक अपराध ठान्दछ।  
·        आफूबाट असत्य वा अपुष्ट समाचार प्रकाशित भएको कुरामा विश्वस्त भएमा जुन माध्यमको प्रयोग गरेर त्यस्तो समाचार प्रकाशित भएको हो त्यसैको प्रयोग गरी आफ्नो भूलसुधार गर्नु पत्रकारको कर्तव्य हो । आवश्यक परेमा उसले आफ्नै प्रकाशन मार्फत क्षमायाचना गर्नु पर्छ । 
·        आफ्नो नाममा वा आफ्नो स्विकृतिमा निस्केको बेनामी सूचनाको विश्वासनीयता र हरेक किसिमका मुल्यांकनको निष्पक्षताका लागि पत्रकारको जवाफदेयिता उसको नाम र प्रतिष्ठासँग जोडिएको हुन्छ ।
·        विश्वासनीय ढङ्गबाट प्राप्त सूचनाको स्रोतका प्रति व्यवसायिक गोप्यता कायम राख्‍नु पत्रकारको धर्म हो । कसैले पनि उसलाई आफ्नो स्रोतको रहस्योद्‍घाटन गर्न बाध्य पार्न सक्दैन । स्रोतले नियतवश यथार्थलाई बङ्ग्याएको थाहा भएमा वा ठूलो जनधनको क्षतिलाई टाल्ने एक मात्र उपाय स्रोतको रहस्योद्‍घाटन हुने अवस्थामा भने त्यस्तो गोप्यतालाई भंग गर्न सकिने छ ।
·        आफूले अन्तरवार्ता लिएका व्यक्तिले आधिकारिक तवरमा सूचनालाई प्रकाशित नगर्न अनुरोध गरेमा त्यसलाई आदर गर्न पत्रकार बाध्य हुनेछ ।  
·        आफ्नो व्यवसायिक दायित्व निर्बाह गर्ने क्रममा पत्रकारले कुनै पनि किसिमको अतिवाद एवं लिंग, नश्ल, भाषा, धर्म, राजनीतिक वा अन्य कुनै दृष्टिकोण वा सामाजिक र जातीय आधारमा कसैको नागरिक अधिकारको कटौति गरिने कुराको बिरुद्ध आवाज उठाउने छ ।   
·        आफ्नो समाचारको केन्द्रमा रहेका व्यक्तिको आत्मसम्मानलाई पत्रकारले आदर गर्छ । कुनैपनि अवस्थामा पत्रकारले व्यक्तिको सारीरिक र मानसिक स्वास्थलाई हानी पुर्‍याउन सक्ने अपमानजनक अभिव्यक्तिको प्रयोग गर्न मिल्दैन ।   
·        न्यायालयले अन्यथा प्रमाणित नगरुञ्जेल जुनसुकै व्यक्तिपनि निर्दोष हो भन्ने सिद्धान्तप्रति पत्रकार प्रतिवद्ध छ । आरोपित वा अपराध गरेको ठहर भएका व्यक्तिको बारेमा समाचार दिँदा पत्रकारले वस्तुगत अवस्थामा बाहेक भरसक त्यस्ता व्यक्तिका आफन्त र मित्रहरुको नाम प्रकाशित गर्दैन ।  
·        बृहत्तर समाजको हीत हुने अवस्थामा मात्र पत्रकारले कुनै व्यक्तिको नीजी जीवनमा हस्तक्षेप गरेको कुरालाई न्यायोचित मान्न सकिन्छ ।
·        कार्यपालिका, न्यायपालिका जस्ता राज्यको कुनैपनि निकायमा, राजनीतिक दलसँग सम्बन्धित र राजनैतिक दृष्टिकोण भएका कुनैपनि संघ संस्थाहरुको नेतृत्वतहमा बसेर काम गर्नुलाई पत्रकार आफ्नो व्यवसायिक मर्यादासँग असंगत ठान्दछ ।  
·        पत्रकारलाई थाहा छ उसले हातमा हतियार लिएको क्षण उसको व्यवसायिक क्रियाकलाप समाप्त हुन्छ ।
·        आफ्नो प्रतिष्ठा, प्रभाव तथा व्यवसायिक अधिकार र संभावनाको प्रयोग विज्ञापन वा व्यापारिक प्रकृतिको सूचना प्रवाह गर्न प्रयोग हुने कुरालाई पत्रकार अनुचित ठान्दछ । वास्तवमा, पत्रकारिता पेशा र विज्ञापन सम्बन्धी क्रियाकलापको संयोग आफैंमा नैतिकरुपले अवांछित मानिन्छ । 
·     पत्रकार भएका कारण प्राप्त हुन सक्ने गोप्य सूचनालाई ऊ आफ्नो वा आफ्ना नातेदारहरुको स्वार्थका लागि प्रयोग गर्दैन । 
·        पत्रकार आफ्ना सहकर्मी साथीहरुको व्यवसायिक हक-अधिकारको सम्मान गर्छ र इमानदार प्रतिस्पर्धाप्रति सचेत छ ।  
·        कुनैपनि मौलिक कामबाट निस्कने सृजनाको कपिराइटलाई पत्रकार आफू मात्र होइन अरुलाई पनि सम्मान गर्न बाध्य पार्छ । साहित्यिक चोरी अवैध मानिन्छ ।
·        आफूलाई दिइएको काम गर्दा माथि उल्लेखित आचारसंहिता उल्लङघन हुने अवस्थामा पत्रकारले त्यस्तो काम गर्न अस्विकार गर्नेछ ।


jugal_bhurtel@yahoo.com

No comments:

Post a Comment