Tuesday, July 7, 2009

समाजवादको डिलमा

जुगल भूर्तेल
अन्तत: कांग्रेसको नेतृत्व विविध कारणले संसदीय दलको नेताको निर्वाचन मार्फत पार्टीमा लोकतान्त्रिक पद्धतिको अभ्यास गर्न बाध्य भएकोछ । रामचन्द्र पौडेलको विजयले काँग्रेसजनलाई कोइराला-देउवा भागवण्डाको दुष्चक्रबाट पार्टीलाई मुक्त गर्न सकिन्छ भन्ने झीनो आत्मविश्वास दिलाएको हुनु पर्छ । नेपाली काँग्रेसमा शेरबहादुर देउवालाई गिरिजाप्रसाद कोइरालापछि पार्टी नेतृत्वको स्वाभाविक दावेदार ठानिन्छ । तर पौडेल र उनका समर्थकहरुले कोइरालाको समेत समर्थन पाएका देउवालाई निर्वाचनमा पराजित गरेर त्यो दावीलाई निकै ठूलो चूनौति दिएका छन् । उनको विजयसँगै काँग्रेसमा देखिएको नयाँ ध्रुविकरणका कारण परिवारवादलाई स्थापित गर्ने कोइरालाका प्रयासहरु समेत अस्विकृत हुने स्पष्ट लक्षण देखिएका छन् । जुन गतिमा मुलुकका पारम्परिक संस्था र मान्यताहरु धरासयी भएका छन्, त्यसको प्रभाव काँग्रेस पार्टी जस्तो नेपाली राजनीतिको केन्द्रमा पर्नु स्वभाविक नै थियो । सुजाता प्रकरणपछि पार्टीभित्र देखिएको तीव्र विरोधलाई सुरुमा वरिष्ट नेताहरुले आफूलाई सरकारको नेतृत्वमा नपठाएर प्रकट गरेको सत्ताको हानाथापको रुपमा बुझिएपनि त्यसले वास्तवमा नेपाली समाजमा आएको सामन्तवाद विरोधी चेतनाले काँग्रेसभित्र बिस्तारै प्रवेश गर्दै गएको इंगित गर्छ । नेपाली काँग्रेस जस्तो गहन राष्ट्रिय जिम्मेबारी बोकेको लोकतान्त्रिक दललाई अब तदर्थवादी ढङ्गले चलाउन दिँदैनौं भन्ने विद्रोही नवचेतना काँग्रेसजनमा आएको हो भने त्यो मुलुककालागि निकै उत्साहजनक सङ्केत हो ।

मूलत: समाजवादी चिन्तन र अपेक्षाकृत स्वच्छ छवि भएका पौडेल कुनै जमानामा बीपी कोइरालाले निकै आशा र विश्वास गरेका युवामध्ये एक थिए । आज त्यो जोशिलो उमेर नरहेपनि वैकल्पिक नेतृत्वको रुपमा आफूलाई स्थापित गर्न उनले गम्भीर भएर बीपीका कस्ता आदर्शहरुले नेपाली काँग्रेसलाई जनप्रिय बनाएका थिए र बीपीको उहाँ जस्ता तात्कालिन युवा कार्यकर्ताबाट कति अपेक्षा थियो भन्ने स्मरण गर्न जरुरी छ । काँग्रेस नेपाली समाजमा गहिरो जरा गाडेको रुख भएपनि विगत दुई दशकदेखि पार्टीभित्र क्रमश: भित्रिएको यावत बेथितीरुपी धमिराले खोक्रिएकोछ । ‘बीपीको सपना पुरा गर्न’ हजारौं युवालाई क्रान्ति र समाज परिवर्तनको संवाहक बन्न प्रेरित गर्ने त्यो काँग्रेस र हरदम राजधानीको फोहोरी सत्ता समिकरणमा अल्झेको यो काँग्रेसमा आधारभूत भिन्नता छन् । ‘लोकतन्त्र, समाजवाद र राष्ट्रियता’ को सवालमा पुरानो काँग्रेसले कहिल्यै सम्झौता गरेन । बीपी जस्ता सिद्धान्त भन्दा निकै अग्ला देखिने नेता भएरपनि त्यसभित्र विचारको तीव्र बेग थियो, अहिलेको जस्तो नेताको निर्णयलाई शिरोपर गर्ने चलन थिएन । ऊ जनतासँग जोडिएको क्रान्तिकारी पार्टी थियो । तर सत्ता र शक्तिको खेलमा निरन्तर अल्झिएर जनसंपर्कको काँग्रेसी इतिहास क्रमश: भंग हुँदैगयो ।

बीपीको प्राय: सबै सम्वोधनमा युवापुस्तामाथि उहाँको अथाह विश्वास झल्कन्थ्यो । जीवनपर्यन्त उहाँले युवाहरुलाई प्रजातन्त्रको वास्तविक महत्व र राष्ट्रप्रतिको दायित्ववोध गराइ रहनु भयो । बीपीले तिनको विद्रोही उत्साहलाई अहिंसाको मार्ग देखाउनु भयो । जीवनभरिको संघर्षपछि पुन: एकपटक जनमत संग्रहमा पराजय बेहोर्दापनि उहाँको स्वरमा कहिल्यै पश्चातापको कम्पन सुनिएन । जनतालाई प्रीतिकर नलागे पनि कालान्तरमा मुलुकको हित हुन्छ भने जस्तोसुकै अलोकप्रिय निर्णय लिएर जोखिम उठाउन तयार राष्ट्रवादी नेता नै अन्तत: राजनेता बन्छ भन्ने प्रमाणित गर्दै उहाँले सहजतापूर्वक बहुदलको हारलाई स्विकारेर मुलुकमा विदेशी चलखेलको सम्भावनालाई पूर्णत: परास्त गरिदिनु भयो । बरु मुलुक टुक्राटुक्रामा विखण्डित होस् तर आफूले मात्र कुर्सीको सुख पाउनु पर्छ भन्ने मान्यता बोकेर आफ्नो पक्षमा ‘कुरा मिलाइ माग्न’ विदेशी दुतावास धाउने अहिलेका कथित ‘राष्ट्रवादी’ जमातको घिनलाग्दो ताण्डव हेर्दा बीपीको त्यो दूरदर्शिताको महत्व राम्ररी बुझ्न सकिन्छ । अहिले मुलुकमा जुन विदेशी सलबलाहट छ, त्यही हुन नदिन बीपीले नेपाल फर्किएर आफ्नो जीवन उत्सर्ग गर्नु भएको थियो । काँग्रेसी युवाहरु बहुदलको अप्रत्यासित हारले निराश त थिए नै उहाँको जनमतसंग्रहको परिणामलाई स्विकार्ने अचम्मको निर्णयले निकै क्रुद्ध पनि भए । तर आफ्ना हजारौं राजनैतिक सहयात्रीहरुलाई त्यसरी निराश भएर भड्किन नदिइ विद्रोहको आगोलाई निरन्तर प्रज्वलित राखेर बीपीले विलक्षण राजनैतिक क्षमताको प्रदर्शन गर्नु भयो ।

उहाँको सपना पुरा गर्नुलाई असंख्य युवाले ठूलो उत्साह र अठोटकासाथ आफ्नो जीवनको अभीष्ट बनाए । पञ्चायती अधिनायकवादको त्यो आतंकपूर्ण समयमा उहाँको अनुशरण गर्दा कुनै पदले पुरस्कृत हुने सम्भावना थिएन, बरु अराष्ट्रिय तत्वको बिल्ला भिरेर भविष्यमा जागिर खान अयोग्य ठहरिनु वा कारागारको जीवन बिताउनु पर्ने जोखिम थियो । तरपनि बीपीको त्याग, समर्पण र निष्ठाको शक्तिले योग्य युवाहरुको ठूलो जमातलाई कठीन संघर्ष गर्दै क्रान्तिको मशाल निभ्न नदिन प्रेरित गरिरह्‍यो । कालान्तरमा त्यही ज्वालाले नेपालमा ठूलाठूला लोकतान्त्रिक परिवर्तन गरायो र हरेक पटक काँग्रेस नै पुरस्कृत भइरह्यो ।

अहिले इतिहास अश्रुपुरित नेत्रले काँग्रेसजनतिर हेरिरहेकोछ । त्यही महान मान्छेको संघर्ष र योगदानको ब्याज खाएर बाँचेको पार्टीका सभापति आज मुलुकका हरेक सानाठूला समस्याको समाधानकालागि विदेशी गुहार्नु पर्ने त्रासद समयका दयनीय नायक भएका छन् । बीपीको राष्ट्रिय मेलमिलापको दर्शनभित्रको ‘राष्ट्रियता’ अहिले काँग्रेसमा असान्दर्भिक देखिएकोछ । पार्टीमा गिरिजाप्रसादको मात्र हैन बीपीले स्नेह र विश्वास गरेको उसबेलाको युवापुस्ताकोपनि हालीमुहाली छ । तर संघर्षको कठीन कालखण्डमा तिनमा रहेको समर्पण र जुझारुपन अब सुदूर अतीतको अपत्यारिलो गफ जस्तो लाग्छ । बीपीको सपना र समाजवादको कथालाई चुनावमा यदाकदा सम्झना गरेपनि हिजोको क्रान्तिकारी युगसँग अब तिनको कुनै सरोकार छैन । सत्तामा पुगेपछि क्रान्तिका आदर्शहरु क्रमश: क्षय हुँदै जान्छन् तर काँग्रेसमा अकल्पनीय तीव्रताकासाथ तिनको ह्रास भयो । आफ्ना मान्छेलाई लाभको पदमा पुर्‍याउन दलभित्र ६० र ४० को अव्यक्त भागवण्डा छ । फलस्वरुप कोइराला र देउवाको परिक्रमा गरे पुग्ने संस्कारमा एउटा विचारशून्य जमात हुर्किएकोछ, जसमा आम काँग्रेसजन र पार्टीलाई श्रद्धा गर्ने लाखौं जनताको सम्वेदनालाई बुझ्ने क्षमता छैन ।

विगत दुई दशक देखि कांग्रेस भित्र न कुनै लोकतान्त्रिक पद्धतिको बिकास हुन सकेकोछ न पार्टीलाई वैचारिक रुपमा अघि बढाउने अभियान नै छ । कोइरालाको खल्तिबाट जुन कागज निस्कन्छ त्यही नै नियम हुन्छ, उहाँले छानेको मान्छे नै सबै भन्दा योग्य मानिन्छ । उहाँले माओवादीसँग मिल्नु पर्छ भन्दा सबै आलिङ्गन गर्न दौडन्छन्, भिड्नु पर्छ भन्दा सुरक्षाको कवच समेत नलगाई फेरि भिड्न तयार हुन्छन । ‘गिरिजाबाबु हामी सहमत हुन सकेनौ, सर्वमान्य तपाईं कै निर्णय हामीलाई शिरोपर छ’ भनेर बारम्बार आग्रह गरिरहनु र उहाँ आफ्नो पक्षमा नदेखिए मात्र पद्धतिको कुरा उठाउनु दोस्रो पुस्ताका नेताहरुको नियति बनेकोछ । र, त्यही नै लोकतान्त्रिक आचरणको रुपमा पार्टीमा स्विकृत छ । नरहरी आचार्य र गगन थापाहरुको ‘गणतन्त्र’ दण्डनीय ठहरिन्छ, कोइरालाले उच्चारण गरेपछि ‘काँग्रेस स्थापनाकाल देखि नै गणतन्त्रवादी दल’ भएको ऐतिहासिक तथ्यको स्मरण गराइन्छ । विचार प्रवाह गर्नेलाई पुरस्कृत गर्नु सट्टा उपेक्षा र अझ मानमर्दन नै गर्ने प्रचलनले काँग्रेसमा केही अपवादलाई छाडेर सबै पुस्ताका नेता कार्यकर्तामा मौन रहेर आज्ञाकारी देखिन चाहाने संस्कृति बिकसित भएकोले काँग्रेसमा बौद्धिक चिन्तनको कहाली लाग्दो दरिद्रता देखिन्छ । निष्ठाको राजनीति गर्नेहरु पलायन र उपेक्षित भएर शैलजा दिदी जस्तो आवाजहीन मृत्युवरण गर्न बाध्य छन् । मुलुकको कार्यसूची निर्धारण गर्ने नेतृत्वदायी भूमिकाको त कुरै छाडौं राष्ट्रिय महत्वका विषयमा समेत या त पार्टीको आफ्नो कुनै ठोस धारणा छैन या त्यो सबैभन्दा पछि र निकै यथास्थितिवादी देखिने ढङ्गले प्रकट हुने गरेकोछ । तदर्थवाद र नातावादले खोक्रो पारेर हिंङ बाधेको टालो जस्तो भएको काँग्रेस ऐले पराइको एजेण्डामा नाच्न अभिसप्त देखिन्छ ।

संसदीय दलको मात्र हैन समग्र काँग्रेसजन एवं लोकतन्त्रमा आस्था राख्‍ने आम नेपालीको नेता हुनलाई पौडेलले दृढतापूर्वक पार्टीप्रातिको यो वितृष्णालाई पखालेर परिवर्तनको आभास दिन सक्नु पर्छ । प्रचण्डपथमा बेतोडले दौडिएको काँग्रेस पार्टीलाई सुजाता प्रकरणपछि टक्क अडिएर आत्ममुल्याङ्कन गर्ने मौका मिलेकोछ र पौडेलले यही स्थितिको फाइदा उठाउनु पर्छ । सत्तारोहणकालागि जनसम्पर्क भन्दा स्वदेशी विदेशी राजधानी मै अन्य सहज माध्यमहरु उपलव्ध हुन थालेपछि विगत एकदशक देखि गाउँगाउँमा माओवादीको प्रताडना सहेर बसेका वा विस्थापित भएका काँग्रेस कार्यकर्ताको घाउमा स्नेहलेप लगाउन नेतृत्ववर्ग पुगेको छैन । कोइरालालाई अहिले शक्तिले अलिकति दिग्भ्रमित तुल्याएको भएपनि उहाँले युवा अवस्थामा जनतामाझ बिताएको समयले उहाँलाई काँग्रेसका अन्य नेता भन्दा अग्लो बनाएको यथार्थलाई मनन गर्दै पौडेलले काँग्रेसमा रहेको सानो तर आशलाग्दो जुझारु युवाको जमातलाई साथ लिएर जनजागरणको अभियान थाल्ने हो भने स्वतन्त्रताप्रेमी नेपाली जनताले अन्तत: बीपीको पार्टी फेरि आफ्नो घरदैलोमा फर्केकोमा हर्षित भएर आलिङ्गन गर्नेमा संदेह छैन ।

नेपाली काँग्रेसले अब सत्ता एवं शक्तिको आशा र अग्रगमनको नाममा पपुलिष्ट बनेर र्‍याडिकलहरुलाई कर्णप्रिय लाग्ने हरेक जायज-नाजायज विषयमा सम्झौता गर्दै अरुका एजेण्डालाई पच्छ्याउन छोड्नु पर्छ । यो कुरालाई विशेषगरी काँग्रेसका नयाँ पुस्ताका युवा नेताहरुले राम्ररी मनन गर्नु आवश्यक छ । दातृसमुदायको दवाव र प्रलोभनमा पार्टीले आफ्नो समाजवादी धरातललाई छोडेकोलेपनि केही मात्रामा नेपाली समाजको उग्रबामपंथीकरणलाई सहयोग पुगेको हो । बीपीको सम्झना गर्नुको अर्थ पार्टीको प्रजातान्त्रिक समाजवादी धारलाई पुन: मुलधारमा परिणत गर्नु पनि हो, जसले समग्र संविधान र संघीयताको सवालमा काँग्रेसका स्पष्ट धारणा सार्वजनीक गर्न मद्दत गर्नेछ । त्यसरी मात्र पार्टीलाई साँचो अर्थमा जनमुखी बनाउन र मुलुकको सार्वभौमिकता र जातीय सद्‍भावलाई अक्षुण राख्‍ने आजको प्रमुख चुनौतिलाई दृढतापूर्वक सामना गर्न सकिन्छ । समाजवादी चिन्तन बोकेका बीपीका अनुयायी रामचन्द्र पौडेलकालागि त्यही नै सबैभन्दा स्वभाविक बाटोपनि हो ।

जतिसुकै कम्युनिष्ट बढेको कोलाहल गरेपनि छिमेकी भारतमा हालै भएको निर्वाचन परिणामले पनि पुष्टी गर्छ हाम्रो जस्तो समाजमा उदार लोकतन्त्रप्रति समर्पित मध्यमार्गी दलको सान्दर्भिकता कहिल्यै समाप्त हुँदैन । तर त्यहाँ जस्तै नेपाली काँग्रेसको नवजीवनकालागि पनि पार्टीको वर्तमान नेतृत्वप्रति मोहभङ्ग भएको तर उदार लोकतन्त्रप्रति समर्पित नेपाली जनताको ठूलो समुहलाई फर्काएर ल्याउने क्षमतावान नयाँ नेतृत्वको खाँचो छ । यही आवश्यकताबोध भइरहेको समयमा काँग्रेसलाई खियाइरहेको कोइराला-देउवा गोलचक्करलाई तोडेर पौडेलले मुलुकमा ठूलै तरंग ल्याएका छन् । आउँदा दिनमा नेपाली समाजले निकै अपेक्षाकासाथ उनको नेतृत्वको सुक्ष्म परिक्षण गर्नेछ ।

साभार: हिमाल, पूर्णाङ्क २४४