Friday, August 13, 2010

वाम एकताको गीत र कांग्रेसको समाजवाद

जुगल भूर्तेल

एकथरी राजनीतिक शक्तिहरू नेपालका लागि संसदीय लोकतन्त्र उपयुक्त व्यवस्था होइन भन्ने प्रमाणित गर्न योजनाबद्ध ढंगले लागेका छन् । व्यवस्थापिका संसदभित्र अहिले मञ्चन भइरहेको कलाहीन नाटकले सबैभन्दा बढी फाइदा माओवादी र राजावादीलाई भइरहेको बुझ्न ठूलै विश्लेषक हुनु जरुरी छैन । तिनको अभीष्ट स्पष्ट छ- संसद्लाई अनिर्णयको बन्दी बनाइरहेर त्यसको औचित्य नै समाप्त पार्नु । चारचारपटक प्रयास गरेर पनि प्रधानमन्त्री चयन गर्न नसक्ने संसद्प्रति जनतामा स्वाभाविक वितृष्णा पैदा भएको छ । प्रधानमन्त्री त छान्न नसक्ने विधायकहरूले जातीय, क्षेत्रीय र वर्गीय द्वन्द्वले आक्रान्त मुलुकको संविधान झन् के बनाउलान् ? त्यसमाथि 'संसदीय भासमा जाकिएका' भनेर अन्य दललाई धारेहात लगाएर नथाक्ने माओवादीले छोटै समयमा त्यो भासमा पौडिन सक्ने विलक्षण प्रतिभा देखाएर जनतालाई अवाक् बनाएको छ । अहिले त नेकपा -माले) मात्र फुटाइएको छ । यो सफल प्रयोगलाई अब मधेसी दलहरूमाथि दोहोर्यानइनेछ । त्यसपछि पनि केही भोट नपुगेमा मन्त्री पद, आर्थिक प्रलोभन वा वाम एकताको नाराले सम्मोहित 'तटस्थ' एमालेका क्रान्तिकारी मित्रहरू फ्लोर क्रस गर्न तयार बसेका छन् । 'संसद्को फोहोरी खेल' मा माओवादीले यति चाँडै हासिल गरेको यो स्तरको निपुणताले भोलि उसको सरकार त बन्ला तर मुलुकको लोकतन्त्रका लागि यस्तो अभ्यास निकै घातक हुनेछ, संसद् साँच्चै नै 'फोहोरको रास' बन्नेछ ।

जनताको राजनीतिक दलहरूप्रति वितृष्णा यसरी नै बढ्दै गयो भने संसदीय व्यवस्थाको विकल्पको खोजी हुन सक्छ र त्यसबेला उग्रवामपन्थी वा दक्षिणपन्थी सर्वत्तावाद तम्तयार छँदै छ । माओवादीले 'धार्मिक वा सांस्कृतिक राजा' राख्‍न सहमति दिएको पछिल्लो रहस्योद्घाटनले सर्वत्तावादको स्वरूप उग्रवामपन्थी तथा दक्षिणपन्थी मिश्रित हुन सक्ने पनि सम्भावना बढेको छ । आखिर दुवैको रूप मात्र फरक हो, राजनीतिक सार एउटै हो । दुवै आवधिक निर्वाचनलाई मन पराउँदैनन्, सेनाको शक्ति र शासनको बागडोर एउटा मात्र व्यक्तिको हातमा केन्द्रित हुनुपर्छ भन्ने मान्यता राख्छन्, बहुलवाद र स्वतन्त्र न्यायपालिकाको सिद्धान्तमा विश्वास राख्दैनन्, दलहरूलाई घृणा गरेर र संसदीय व्यवस्था नेपालमा काम लाग्दैन भनेर जीवन बिताइदिन्छन् । संसद्को यो स्तरको अवमूल्यनमा उग्रवामपन्थी तथा दक्षिणपन्थीहरू त लागेकै छन्, संसदीय भाँडभैलो सिर्जना गर्न एमालेका 'माइकालालहरुको चट्टान जस्तो त्याग र तटस्थता' ले पनि निकै सहयोग पुर्‍याइरहेको अब प्रस्ट भइसकेको छ ।

वाम एकताको गीत गाएर कहिल्यै नथाक्ने एमालेका एकथरी नेताहरूको संसदीय व्यवस्थाप्रतिको आस्था सधैं शंकास्पद रहँदै आएको छ । कुनै जमानामा 'सुधारिएको' निर्दलीय व्यवस्थालाई जिताउन महत्त्वपूर्ण भूमिका खेलेका ती नेताहरूले संसदीय लोकतन्त्रलाई आलोचनात्मक समर्थन मात्र गरेको कुरा बारम्बार गर्दै आएका हुन् । स्वर्गीय मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवादसमेत स्वीकार गर्न नसक्नेहरूबाट लोकतान्त्रिक संसदीय व्यवस्थाको सुदृढीकरणमा योगदान हुन्छ भनेर सोच्नु नै गलत थियो । अहिले सहमतिको एकोहोरो राग र एमाले नेतृत्वले अख्तियार गरेको तटस्थताको बठ्याइँ अरू केही नभएर सिरकले छोपेको बिरालोले म्याउँ गरेको मात्र हो ।

यद्यपि यसको सकारात्मक पाटो पनि छ । एउटा वर्ग र एउटा पार्टीलाई मात्र हतियारको बलमा अनन्तकालसम्म शासन गर्न नैसर्गिक अधिकार छ भन्ने लेनिनवादी दर्शनमा विश्वास गर्ने एकथरी कम्युनिस्टहरूको लामो सयमसम्म भर गर्न मिल्दैन भन्ने दिव्यज्ञान नेपाली कांग्रेसलाई मिलेको हुनुपर्छ । यथार्थमा उसको लडाइँ मूलतः त्यही प्रवृत्तिका विरुद्धमा लक्षित हुनुपर्ने हो तर एमालेमा माक्र्सवादी-लेनिनवादी दर्शनको धङधङीबाट मुक्त भइसकेका थुप्रै प्रगतिशील वामपन्थी मान्छेहरू छन् जससँगको सहकार्यलाई भने नेपाली कांग्रेसले थप सुदृढ बनाउन जरुरी छ । संसदीय व्यवस्थालाई झन्झन् निरीह बनाएर 'हेर हामीले त भनेकै थियौं यो व्यवस्थाले जनताको कल्याण हुँदैन' भन्ने अवसरको सिर्जना गर्न माओवादी र एमालेको हठवादी तप्काको प्रयासमा थाहै नपाई त्यो प्रगतिशील समूहले समेत सहयोग गरिरहेको छ । कतिलाई दलगत बाध्यता हुन सक्छ भने कतिलाई तटस्थता नै उत्तम उपाय हो भन्ने इमानदार विश्वास पनि होला । यस्तोमा 'मित्र शक्ति र शत्रु शक्ति' को पहिचान गर्ने कार्लमार्क्स कै सूत्रलाई अब कांग्रेसले पनि किन प्रयोग नगर्ने ? प्रगतिशील र वामपन्थी शब्दहरूसँग कांग्रेसको निकै लामो नाता छ जसलाई क्रमशः बिर्सिंदै गएकाले मुलुकका थुप्रै प्रगतिशील लोकतान्त्रिक शक्तिहरूलाई एकीकृत गर्दै शक्तिशाली मोर्चा निर्माण गरेर नेपाली कांग्रेसले सर्वसत्तावादी प्रवृत्तिको प्रभावशाली ढंगले प्रतिरोध गर्न सकेको छैन । एमालेभित्रका लेनिनपन्थी कम्युनिस्टहरू र माओवादीले कांग्रेस दक्षिणपन्थी पुँजीवादी शक्ति हो भन्ने प्रोपोगन्डा फैलाएर लगातार वाम एकताको भ्रम छरिरहँदा कांग्रेसमा भने आफ्नै घोषणापत्र पल्टाएर त्यसको प्रतिवाद गर्ने जाँगर देखाउने नेतृत्व छैन । कस्तो आलस्य ?

एमाले र माओवादीका स्वनामधन्य लेनिनवादी कम्युनिस्टहरूलाई वाम एकताको आलापले नेपाली जनतालाई दिग्भ्रमित बनाउन हाम्रो भाषाले पनि निकै ठूलो सहयोग पुर्‍याइरहेको छ । कम्युनिस्ट शब्दलाई नेपाली भाषामा सामान्यतयाः वामपन्थी वा साम्यवादी भनेर अनुवाद गरिन्छ भने कम्युनिज्मलाई साम्यवाद । त्यसको सिधा अर्थ हो- कम्युनिस्ट मात्र वामपन्थी हुन् बाँकी सबै दक्षिणपन्थी तर के साम्यवाद कथित कम्युनिस्टको मात्र अभीष्ट हो ? नेपाली कांग्रेसको प्रथम घोषणापत्रको आरम्भमा लेखिएको छ- 'सर्व भवन्तु सुखिनः सर्व सन्तु निरामया ...' अर्थात् समाजमा सबै सुखी होऊन्, सबै रोगमुक्त रहून्, सबै मंगलमय घटनाहरूको साक्षी बनून् र कसैले पनि दुःखको भागी बन्नु नपरोस् । यस्तो उन्नत आदर्शलोकको अवधारणा साम्यवाद होइन भने साम्यवाद भनेको के हो ? एउटा प्रगतिशील विचारधारा बोकेको दलले मात्र यति उदात्त मानवीय भावनाको पक्षपोषण गर्न सक्छ । त्यसैले नेपाली कांग्रेस प्रगतिशील पार्टी हो तर नेपालमा प्रगतिशील भनेका कम्युनिस्ट मात्र हुन्, अरू सबै प्रतिगामी यथास्थितिवादी भन्ने ठूलो भ्रान्ति फैलाइएको छ । गणतन्त्र, संविधानसभाजस्ता नेपालका प्रायः सबै ठूला परिवर्तनका लागि भएका हरेक क्रान्तिको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टीका नेताहरू समेत आफूलाई 'प्रोग्रेसिभ' भन्न अनकनाउँछन् ।

सोभियत संघको अवसानपछि संसारका धेरै अल्पविकसित मुलुकहरू अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व बैंकको 'मार्केट फन्डामेन्टालिज्म' ले आक्रान्त थिए । यसैकालमा बनेका कांग्रेसका सरकारहरू पनि तिनै संस्थाको ऋण र अनुदानमा भर पर्न बाध्य भए । फलस्वरूप समाजका कमजोर वर्गको उत्थानप्रति कांग्रेसको परम्परागत प्रतिबद्धता केही खस्कियो तर यो कांग्रेसको मात्र नभएर सबै अल्पविकसित मुलुकका समाजवादी दलहरूले पुँजीवादी उन्मादको त्यस कालमा भोगेको समस्या हो । नेपाली कांग्रेसले आफ्नो समाजवादी सैद्धान्तिक अडानलाई संशोधन गरेको छैन, प्रतिबद्धतामा आएको कमीलाई भने सुधार गर्न आवश्यक छ तर हाम्रो देशमा वामपन्थी भनेको कम्युनिस्ट भन्ने शाब्दिक भ्रमले गर्दा त्यो शब्द कांग्रेसजनका लागि अमान्यजस्तै छ । त्यसको निरूपणका लागि अंग्रेजी भाषाको सहयोग लिन सकिन्छ । नेपाली भाषाको शुद्धतालाई जीवनमरणको विषय ठानेर केही समयअघि मात्र कान्तिपुर दैनिकका पानामा युद्ध गर्न उत्रिएका विद्वान् भाषाप्रहरीहरूसँग क्षमायाचना गर्दै नेपाली कांग्रेसलाई 'प्रोग्रेसिभ लेफ्ट' पार्टी भन्दा अतिशयोक्ति हुँदैन । 'प्रोग्रेसिभ लेफ्ट' को एकता अभियानमा कांग्रेसले आफूबाहेक अन्य धेरै शक्तिलाई आकषिर्त गर्न सक्छ । समाजवादीहरू त त्यसमा पर्छन् नै आफूलाई समाजवादी वा लेफ्टिस्ट भनाउन नचाहने तर मुलुकको संरचना बहुलवादी, लोकतान्त्रिक, लोककल्याणकारी, समतामूलक र सामाजिक न्यायमा आधारित होस् भन्ने चाहना राख्ने समेतलाई 'प्रोग्रेसिभ लेफ्ट' को परिभाषाले समाहित गर्न सक्छ । त्यसो भनियो भने जनमानसमा भ्रम उत्पन्न गराउन वामपन्थी, प्रगतिशील, कम्युनिस्टजस्ता शाब्दिक क्षेप्यास्त्र प्रयोग गर्दै नेपाली कांग्रेसलाई यथास्थितिवादी दक्षिणपन्थी दलमा सीमित गराउन कसरत गरिरहेका र आफ्नै दललाई पटकपटक घोका दिएर पनि ६२ प्रतिशत वाम एकताको हास्यास्पद गफ हाँकिरहने एमालेका कामरेड एवं आफूलाई मात्र 'शुद्ध' कम्युनिस्ट ठान्ने माओवादीका झन् महान् कामरेडविरुद्धको मोर्चालाई व्यापक र मजबुत पार्न सकिन्छ ।

कांग्रेसका केही ठूला नेतालाई वाईसीएल वा युथफोर्स जस्ता आक्रामक संगठन नभएर नै कांग्रेस खस्किएको हो, त्यसैले तरुण दस्ता खोलेर माओवादीलाई तह लगाइयो भने सबै ठीक हुन्छ भन्ने गहिरो भ्रम छ तर नेपाली कांग्रेस कुनै दस्ताको अभावले होइन, वैचारिक आस्थाको चरम विचलनले खिइएको हो । युवालाई आकषिर्त गर्न दस्ता खोलेर तिनको हातमा हतियार थमाउनु पर्दैन भन्ने कुराको प्रमाण कांग्रेसको गाउँ र नगरस्तरमा भर्खरै सम्पन्न अधिवेशनले दिई नै सकेको छ । गिरिजाप्रसाद कोइरालाको स्वर्गारोहणपछि नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा लिएको अडानले ठूलो संख्यामा युवाहरू पार्टीमा आबद्ध हुन आएका छन् । ती हतियारले होइन विचारले मात्र बाँध्न सकिने तरुण हुन् । आजको राजनीतिक गतिहीनताको स्थितिमा कांग्रेसले कस्तो नीति अख्तियार गरेमा मुलुकले निकास पाउँछ ? वर्तमान सन्दर्भमा नेपाली कांग्रेसको राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई कसरी पुनः परिभाषित गर्न सकिन्छ ? आजको परिवर्तित विश्व परिवेशमा कांग्रेसको समाजवादका एजेन्डा के हुन् ? सीमान्तकृत समुदाय र गरिबीको रेखामुनि बाँचिरहेका नेपालका ६५ प्रतिशत जनतालाई लक्षित गर्ने गरी पार्टीले कस्ता राजनीतिक र आर्थिक नीतिलाई अंगीकार गर्नुपर्छ ? यी र यस्ता धेरै अप्ठेरा प्रश्नहरूमा नेपाली कांग्रेसको थकित, गलित र वयोवृद्ध नेतृत्व मौन रहेको धेरै वर्ष भइसकेको छ । नेतृत्वको दाबी लिएर युवाहरूको ठूलो पंक्ति आगामी राष्ट्रिय महाधिवेशनमा उपस्थित हुनेछ भन्ने यथार्थले आत्तिएर विभिन्न जिल्लामा तिनले थुप्रै प्रभावशाली तरुण नेतालाई वडा वा क्षेत्रीयस्तरमै हराउने असफल प्रयास गरिसकेका छन् तर यो अनुदार प्रवृत्तिलाई पराजित गरेर नेतृत्व तहमा नेपाली कांग्रेसको समाजवादी विगतको गौरवलाई पुनस्र्थापित गर्न सक्ने उत्साही युवाहरूको उपस्थितिलाई सुदृढ तुल्याउँदै पार्टीलाई नवजीवन दिने जुन मौका आगामी राष्ट्रिय महाधिवेशनसँग छ, त्यसको सदुपयोग कांग्रेसजनले गर्लान् कि नगर्लान् हेर्न बाँकी नै छ ।

साभार: कान्तिपुर दैनिक,११ अगष्ट, २०१०
http://www.ekantipur.com/np/2067/4/26/full-news/316030/