कहाँबाट सुरु हुन्छ मातृभूमि ?
-मिखाइल मातुसोभ्सकी 
कहाँबाट
सुरु हुन्छ मातृभूमि ?
हुन्छ
कि बर्णमालाको चित्रबाट 
या
असल र विश्वासिला 
चोकका
पुराना मित्रबाट ? 
कि
सुरु हुन्छ मातृभूमि 
आमाले
गाएको गानबाट 
या जस्तै कठीनाइमा पनि
नझुक्ने
स्वाभिमानबाट ?    
सुरु हुन्छ कि मातृभूमि 
चौतारीको
दौंतरी भेटबाट ?
या
हुन्छ बतासमा झुल्दै हुर्कने
ती
बर-पीपलको बोटबाट ?  
कि
सुरु हुन्छ मातृभूमि 
मैनाको
वासन्ती स्वरबाट 
या
सुदूरसम्म तन्किएको
गाऊँको
बाटो र घरबाट ?  
कहाँबाट
सुरु हुन्छ मातृभूमि ?
हुन्छ
कि क्षितिजको ज्योतिबाट
या
हुन्छ कन्तुरमा भेटिएको
बुवाको
सिपाही टोपीबाट ?
कि
सुरु हुन्छ मातृभूमि 
छुकछुक
रेलको धुनबाट  
या पहिलो
बाचा मायाको 
साँचेको
तिम्रो मनबाट ?! 
साँच्चै,
कहाँबाट सुरु हुन्छ मातृभूमि ?
(सन्
१९६८ मा प्रकाशित रुसी कविताको भावानुवाद: जुगल भूर्तेल)
(नेपाल साप्ताहिक, २९ चैत्र २०७१)