Thursday, August 23, 2012

भारत, चीन र हामी


नेपाली कांग्रेसका एकजना परिचित दाइले एकदिन मलाई गुरुमन्त्र दिएका थिए, 'लैनचौर दरबारको दुबो चर्न तयार भएमात्र नेपाली राजनीतिमा आउनु ।' मुलुकमा विकसित पछिल्ला घटनाक्रममा आफ्नो पार्टीको अस्वाभाविक मौनताले माओवादी 'जनयुद्ध'ले यस राष्ट्रका सबै 'सामन्त'को सफाया गरेर 'दास'हरूमात्र जीवित छाडेको जस्तो अनुभूतिले आक्रोशित छन् उनी । राष्ट्रियता, प्रजातन्त्र र समाजवादका खातिर यौवन न्योछावर गर्ने ती दाइजस्ता जुझारू योद्धाहरू पार्टीको हठात् बदलिएको आदर्शलाई आत्मसात गर्न नसकेर गौरवशाली इतिहासको न्यानोमा बाँच्न विवश पार्टीका अघोषित 'अयोग्य लडाकु' बनेका छन् ।

नयाँ नेपालमा बन्दुक चलाउन अभ्यस्त माओवादीका 'अयोग्य' त नेतालाई कुर्सीले हानेर पनि आफ्ना कुरा सुनाउने 'योग्यता' राख्छन्, तर अग्रजको सम्मान र आदर गर्ने पुरानो नेपालको 'रूढिवादी' परम्पराले थिचिएका ती दाइजस्ता बीपीका अनुयायीहरू समयले अनुकूल कोल्टो फेर्ने दिनको प्रतीक्षामा छन् । समयले भने झन् अप्ठ्यारो कोल्टो फेरेको छ । अब नयाँ नेपालको राजनीतिमा स्थापित हुन लैनचौरको मात्र होइन, दिल्लीका असंख्य दरबारको दुबो चर्नसक्ने योग्यताको प्रमाण पेस गर्नुपर्ने दिन आएको छ । माओवादी कामरेडहरूले स्थापित गरेको नजिरअनुसार त्यसका लागि अब मौखिक आश्वासनले काम चल्दैन, तमसुक नै लेखेर दिनुपर्छ ।
भारतीय बुद्धिजीवी वर्ग र विदेश सम्बन्धका बाबुहरूको एउटा 'सिकायत' के छ भने 'नेपालमा 'भारतीय षडयन्त्रलाई पर्दाफास गर्ने' उद्योग निकै फस्टाएको छ, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतको कुनै नीति छैन, नेपालको लोकतन्त्र, शान्ति र समृद्धिका लागि निरन्तर योगदान दिइरहँदा पनि सबै कुरामा भारतको षडयन्त्रमात्र देख्ने नेपाली बुद्धिजीवीको व्यवहारले भारत दुःखी छ' आदि । तिनका धेरै कुरा जायज छन् । नेपाललाई अनन्त अस्थिरताको दावानलमा झोंकेर स्वार्थको रोटी सेकिरहने अभीष्ट भारतको राजनीतिक नेतृत्वमा छ भन्ने आशंका अनुचित हो । सुदूर भविष्यको आँकलन गर्नसक्ने दूरदर्शी राजनेताको बाक्लो उपस्थिति भएकै कारण असंख्य विरोधाभासका बाबजुद भारतको लोकतन्त्रका आधारभूत स्तम्भहरू हल्लिएका छैनन् । भारत हाम्रो नजिकको छिमेकीमात्र नभएर आर्थिक, सांस्कृतिक र भावनात्मक धागोले बाँधिएको अभिन्न मित्र पनि हो । नयाँ आर्थिक शक्तिको रूपमा विश्व रंगमञ्चमा उदाउँदो लोकतान्त्रिक भारतको खुल्ला सिमाना भएको निकटतम छिमेकी हुनुको हामीलाई गौरव छ र भारत एवं चीन बीचको सेतुका रूपमा हामी यो क्षेत्रकै प्रगतिबाट लाभान्वित हुन चाहन्छौं । हाम्रो मानव संसाधन, आर्थिक विकास र आधुनिकीकरणमा गरिएको अतुलनीय योगदानका कारण के अनुमान गर्न सकिन्छ भने भारतीय नेतृत्व वर्गको चाहना नेपाल एउटा शान्त र समृद्ध छिमेकी बनोस् नै भन्ने हुनुपर्छ । तर पनि हाम्रो मातृभूमिको हरेक थोपा आँसुमा भारतको प्रतिविम्ब देख्ने नेपालीको संख्या धेरै ठूलो छ । केही न केही समस्या त जरूर छ ।
भारत क्षेत्रीय दलहरूको वर्चस्वको युगमा प्रवेश गरेको छ । तिनको सहयोग र सद्भाव नभई दिल्लीमा सरकार निर्माण हुनछाडेको निकै भयो । क्षेत्रीय दलका धम्की र घुर्कीले दिल्लीमा मात्र होइन, भारत सरकारले संयुक्त राष्ट्रसंघमा लिने अडानसमेत प्रभावित हुन्छन् । उत्तर प्रदेश लगायत केही ठूला राज्यमा भएको निर्वाचनमा सत्ताधारी कंग्रेस र प्रमुख प्रतिपक्षी भारतीय जनता पार्टीको लज्जास्पद पराजयले राष्ट्रिय दलहरू असान्दर्भिक हुँदैजाने खतरा पैदा भएको छ । माओवादी समस्या, अन्ना हजारेको आन्दोलन, अकल्पनीय भ्रष्टाचार, पर्यावरणको ह्रास, गरिव र धनी बीचको फैलंदो खाडल तथा बढ्दो जनसंख्यासंगै तीव्र आर्थिक विकास कायम राख्ने आदि चुनौतीले घेरिएको दिल्लीको उच्च नेतृत्वले नेपालको राजनीतिमा चासो राख्ला भन्ने सोच्नु हाम्रो अतिरञ्जित आकांक्षा सिवाय केही होइन ।
नेपाली नेताहरूको भारतीय शीर्ष नेतृत्वसंग कुनै सिधा सम्बन्ध नभएको वर्षौं भइसक्यो । 'बिमारी भएर उपचार गर्न' दिल्ली पुगेको नेताहरू त्यहाँका लुप्तप्रायः पुरातात्विक समकक्षीलाई भेटेर 'भारतको नेतृत्व तहसंग नेपालको राजनीतिक वस्तुस्थितिबारे गम्भीर समसामयिक वार्ता गरेको' झुट बोल्छन् । दिल्ली दौडन लालायित हुने हाम्रा प्रधानमन्त्रीहरूका विपरीत भारतका प्रधानमन्त्रीले गत १५ वर्षदेखि नेपाल भ्रमण गरेका छैनन् । यसरी राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद अवरूद्ध भएपछि दुई देशबीचको सम्वन्धमा भारतीय गुप्तचर संस्था र विदेश मन्त्रालयका बाबुहरू, जवाहरलाल नेहरू विश्वविद्यालयका अति उत्साही गुरुहरू, सेनाका पूर्वअधिकृत र अवाञ्छित एजेन्टहरू माध्यमको रूपमा प्रभावशाली हुँदै गएका हुन् । त्यसैले निरन्तर तिनै तत्वको शंकास्पद चलखेलबाट पीडित भएकाले त्यसको पर्दाफास गरिरहने हाम्रो विवशतालाई भारतीय बुद्धिजीवी वर्गले देशकै विरोधको रूपमा बुझ्नु हुँदैन । त्यस्तै एकजना पात्र, एसडी मुनीको आजभोलि सहरमा व्यापक चर्चा छ ।
नेपाली राजनीतिका प्रायः सबै ठूला मान्छेका र विशेषगरी प्रधानमन्त्री भट्टराईका प्रिय भारतीय गुरु एसडी मुनी नेपालको इतिहासलाई गम्भीर मोड दिने कुरामा विशेष दक्षता राख्छन् । पेसाले प्राध्यापक मुनी पढाउँदा-पढाउँदा 'बोर' भएको बेला भारतको प्रधानमन्त्री कार्यालय, विदेश मन्त्रालय, विभिन्न गुप्तचर संस्थासंग नेपालको राजनीतिमा नौला-नौला प्रयोग गर्न घनिभूत मन्त्रणा गरिरहन्छन् । 'हाम्रो देशको मायाले हरदम चिन्तित भइरहनु' उनको खास विशेषता हो । यद्यपि द्वन्द्व र अभावले पीडित हामी नेपालीको आँसुले द्रवित भएर त्यो प्रेमको प्रस्फुटन हुने होइन । हिजोसम्म अलिकति अनुमान र अलिकति सूचनाको आधारमा निर्मित उनको यो धमिलो चित्र उनैको एउटा लेख संग्रहित 'नेपाल इन ट्रान्जिसन' नामक पुस्तकको प्रकाशनपछि हाम्रो अदूरदर्शी शीर्ष नेतृत्व र वाम एवं मधेसी बुद्धिजीवी गणले समेत हेर्न चाहेमा छर्लङ्ग देख्न सक्नेगरी टड्कारो बनेको छ ।
माओवादीले दिल्लीमा आफ्ना कुरा राख्ने अवसरका लागि बारम्बार गरेको अनुनयलाई भारतीय प्रधानमन्त्रीको कार्यालयले अन्ततः स्विकार गरेपछि माओवादीले सन् २००२ जून महिनामा आफूमार्फत गोप्य पत्र लेखेर भारत सरकारलाई आश्वस्त पारेको रहस्योद्घाटन गर्दै मुनीले लेखेका छन्, 'पत्रमा माओवादी नेताद्वय प्रचण्ड र बाबुराम भट्टराईले भारतसंग उत्कृष्ट सम्बन्ध राख्न चाहेको तथा भारतको हितमा गम्भीर असर पर्ने कुनै काम नगर्ने कुरामा भारतीय नेताहरूलाई आश्वस्त पारेका थिए । यो पत्रको जवाफ केही महिनापछि आयो: माओवादीमाथि भारतमा हुँदै आएको गुप्तचरहरूको निगरानी र आवत-जावतमा बन्देज खुकुलो पारियो ।'
यतिले नपुगेर माओवादीहरूले पुनः भारतीय गुप्तचर ब्युरोलाई छुट्टै पत्र लेखेको पनि खुलासा गर्दै मुनी अगाडि लेख्छन्, 'यसपछि माओवादी र रअका बीचमा बढी सम्पर्क र बैठकहरूको क्रम चल्यो ।'  मुनीकै दाबीअनुसार 'रअका नयाँ प्रमुख हर्मिस थाराकान र बाबुराम भट्टराईको व्यक्तिगत सम्बन्धले माओवादी र रअबीच अझ उन्नत समझदारी विकास गर्न सघाउ पुर्‍यायो र रअले माओवादी नेतृत्वसँग नियमित सम्पर्क जारी राख्यो ।' भारतका आपmनै माओवादीको संघर्षलाई लोकतन्त्र विरुद्धको आतंकवाद ठहर गरी तिनको जरै उखेल्न झारखण्डदेखि आन्ध्र प्रदेशसम्मको जंगलमा आगो लगाइरहेका थाराकान साहब नेपालका माओवादीले भने यहाँको सामाजिक-आर्थिक परिवर्तनका लागि जायज संघर्ष गरिरहेको ठान्दारहेछन् ।
त्यसबेला 'समानान्तर सत्ताको हैसियतमा भारत लगायत चीन, अमेरिका, संयुक्त राष्ट्रसंघ सबैसंग खुला र पारदर्शी ढंगले' पत्राचार गरेको प्रधानमन्त्रीको दाबी सत्य नै होला । तर मुनीको प्रकाशनपछि भारतमा बसेर नेपालमा 'जनयुद्ध' सञ्चालन गर्न पाउने अवसरका लागि दिल्लीलाई अन्य थुप्रै गोप्य पत्र पनि लेखिएको प्रष्ट हुन्छ । ती तमसुकको फेहरिस्त त मुनी आफैंले फेरि कुनै दिन सप्रमाण देखाउलान्, तर अहिले नै प्राप्त संकेतले एउटा स्वतन्त्र राष्ट्रको रूपमा हाम्रा चुनौतीहरू विकराल बनिसकेकोतर्फ इङ्गति गर्छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई १९५० को सन्धि खारेजी, नेपाल-भारत खुला सिमानाको नियन्त्रण आदि 'विस्तारवादी' भारत विरोधी माग थमाएर 'जनयुद्ध' गर्न हिंडेको माओवादी पार्टीको सरकार लोकतान्त्रिक शक्तिको नियन्त्रणबाट मुक्त हुने बित्तिकै नेपाललाई प्रतिकूल र भारतलाई अनुकूल हुने दूरगामी निर्णय लिन अग्रसर देखियो । मुलुक गहिरो राजनीतिक र आर्थिक संक्रमणमा फसेको बेला संसदीय दलहरू हच्किएको बिप्पा सम्झौता, त्रिभुवन विमानस्थल लगायत नेपालका प्रायः सबै पहाडी विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने समझदारी आदि माओवादी सरकारका पछिल्ला निर्णयले विगतका भारतकेन्दि्रत तिनका सबै माग अव्यावहारिकमात्र नभएर घातक रणनीति थियो भन्ने प्रमाणित हुन्छ । आज 'चरम गरिबी र अल्पविकासको दुश्चक्रमा फसिरहेसम्म हामीले जतिसुकै बाह्य राष्ट्रियताको थोत्रो मुख बजाए पनि त्यो अरण्यरोदन मात्र हुने' आदर्श छाँट्ने माओवादी नेतालाई हिजै त्यो तत्वबोध भएको भए यो मुलुकमा १७,००० निर्दोषले अकालमा मृत्युवरण गरेको रक्तरञ्जित इतिहास बन्ने थिएन ।
धेरै माओवादी कामरेडहरू नै प्रधानमन्त्रीबाट राष्ट्रियताको विषयमा गम्भीर त्रुटि भएको आरोप लगाइरहेका छन् । यस्तै ताल हो भने नेपाल कतै 'मर्ज वा सबमर्ज'समेत हुनसक्ने भविष्यवाणी गरेका प्रधानमन्त्रीले हरेक कोणबाट मुलुक लथालिंग भएपछि सजिलै 'केही गर्न सकिन, चाबी त अन्तै रहेछ' भनिदिए । मुनीमार्फत पठाइएको अनुमति पत्रसँग 'जनयुद्धकाल'मै साटिएको त्यो चाबी अब सामान्य लेनदेनले फिर्ता हुनेवाला छैन ।
निदाएको अभिनयलाई जीवन्त देखाउन कनिकनि घुरिरहेका वाम बुद्धिजीवी बाहेकका मानिसहरू यस्तै रहस्योद्घाटनपछि उग्रराष्ट्रवादको भड्किलो रंगले लिपेर भारतको प्रवासबाट सञ्चालन गरिएको माओवादी युद्धका बारेमा क्रमशः भ्रममुक्त हुँदै जानेछन् । यसका लागि प्रोफेसर मुनीलाई धन्यवाद दिएर मात्र पुग्दैन, क्रान्तिकारी समर्पणवादलाई यसरी ह्वाङ्ग देखाएर सचेत गरिदिए बापत काठमाडौको कुनै ब्यस्त चोकमा उनको अर्धकदको सालिक नै स्थापना गरिदिए हुन्छ ।
ऋषिपञ्चमीको अवसर पारेर राजधानीमा प्रकट भएका मुनीको आवरणमा देखिएको कार्य त्यही किताबको सार्वजनिकीकरण भए पनि उनको भ्रमणको वास्तविक उद्देश्य निश्चय नै पुस्तक विमोचनजस्तो ऋषिमुनीतुल्य थिएन । मुनीको लेख प्रकाशित भएपछि उनका प्रियपात्रहरूलाई काठमाडौमा निकै अप्ठ्यारो परेको छ । बीपी कोइरालाको मेलमिलापको राष्ट्रवादी अडानलाई अवमूल्यन गर्ने किसिमले उनले विगतमा नेपाली कांग्रेसले पनि यस्तै सहयोग चाहेको भ्रम छर्ने र राजा त्रिभुवनले त अझ देशै जिम्मा लगाउन खोजेको आधारहीन आरोप लगाएर नेपाली जनताको ध्यान अन्यत्रै मोड्ने असफल प्रयास गरेका छन् । केही दिनअघि मुनीकै लेखमा दिल्लीमा समेत खास तामझामका साथ चर्चा चलाइएको थियो, जसमा १२ बुँदे दिल्ली सम्झौताका मुख्य आर्किटेक्ट मध्येका तत्कालीन भारतीय राजदूत श्यामशरणले रूकमाङ्गद कट्वाललाई भारतले बचाइदिएको दम्भपूर्ण उद्घोष गरेर नेपाली राजनीतिमा क्रमशः लोकप्रिय र स्थापित बन्दै गरेको राष्ट्रपतिको संस्थालाई बदनाम र न्युनीकरण गर्ने प्रयास गरेका थिए । टोपी लगाएर एकीकृत नेपालको गीत गाइरहने राष्ट्रपतिका कारण दिल्लीका 'किङमेकर'हरूको निद हराम भएकोले उनलाई साइजमा ल्याउन अहिले शरणहरू स्वयं मैदानमा उत्रिने निर्णयमा पुगेका हुनसक्छन् । मुनीको काठमाडौं अवतरणको अर्को उद्देश्य अब 'खुल्लमखुल्ला प्यार करेंगे' स्टाइलमा नेपालमा सबै कुरा देखाइ-देखाइ गरेर नेपाललाई जातीय टुक्रामा विभक्त र कमजोर पार्ने रणनीतिको विरूद्धमा स्पष्ट देखिएको उत्तरी छिमेकी चीनलाई 'आफ्नो प्रभाव क्षेत्रमा अतिक्रमण नगर्न' ठाडो सन्देश दिने पनि हुनसक्छ । तर हाम्रो र भारत दुवैको दुर्भाग्य के भने लगभग महाशक्ति बनिसकेको चीन अब त्यस्तो चुनौती स्विकार गरेर अखडामा उत्रिएको छ ।
केही वर्षअघि एमालेका एकजना भद्र नेतालाई 'तपाईंहरूले १२ बुँदे सम्झौता किन दिल्लीमा गर्नुभएको' भनेर सोध्दा उनले 'हिमाल चढेर चीन जान नसकिने रहेछ' भनेर बडो निरीह जवाफ दिएका थिए । ठाउँ-कुठाउँको भोजले पेट बढेपछि उकालो चढ्न हरेस खाएका नेतागणको कठिनाइलाई ध्यानमा राखेर चीन स्वयं हिमाल छिचोल्दै बढो दृढताका साथ नेपाल पसेको छ । संविधानसभाको दुःखद अवसानलगत्तै राजधानी आएका बेइजिङबाट दक्षिण एसिया हेर्ने नेता आई पिङले 'जातीय संघीयता'का दुष्परिणामबारे हामीलाई सचेत गराउँदा सायद तिब्बतको विखण्डनवादी आन्दोलनमा यसबाट पर्ने प्रभावका बारेमा उनी चिन्तित थिए । पछि माओवादीबाट फुटेर हिंडेको वैद्य समूहका अध्यक्ष स्वयंलाई चीन यात्राको निम्तो दिएर बेइजिङले प्रष्ट सन्देश दियो कि नेपालका लागि संघीय संरचना नै अनुपयुक्त छ । दक्षिणका प्राध्यापक मुनीजस्तै उत्तरका प्रोफेसर वाङ छन्, जसले सोझै एक मधेस प्रदेशको माग नेपाललाई कमजोर बनाउन आएको आशंका व्यक्त गरेका थिए । यसरी हिमाली आगनमा आ-आपmनो स्वार्थका लागि हुनथालेको छिमेकी शक्तिको साँढे जुधाइले सानो नेपाली बाछाको नराम्रो मिचाइ हुने निश्चितै छ । ओलम्पिक खेलमा जम्मा एउटा रजत पदक पाउने भारतसँगको कुश्ती नै यति चर्को छ भने पदक तालिकामा पहिलो-दोस्रो भइरहने चीनको मल्लयुद्धलाई पनि झेल्नुपर्‍यो भने यो अकिञ्चन मुलुकको हालत के होला ? भारतका ऋषिमुनीको शरण र आशिर्वादमा माओवादीद्वारा आरम्भ गरिएको 'नयाँ नेपाल' नामक रोमाञ्चक अग्रगामी यात्राले हामीलाई पुर्‍याएको अन्तिम स्टेसन यही हो । यहाँभन्दा उता त विदेशी ट्याङ्कहरू निर्वाध विचरण गर्ने अफगान भूमि सुरू हुन्छ ।  
बिप्पा, विमानस्थल आदि प्रकरण जस्तै प्रोफेसर मुनीले फ्याँकेको लेटरबमको परीक्षणलाई पनि सहजै पचाउन सक्यो भने बाबुराम-मधेसी गठबन्धन सरकारको आयु अनन्तकालसम्म लम्बिने कुराको कांग्रेस नेतृत्वलाई कुनै आभास नभएको प्रतीत हुन्छ, अन्यथा तिनले यसरी मूकदर्शक भएर नबस्नुपर्ने हो । भारतको आश्रय र सहयोगमा सञ्चालित माओवादी 'जनयुद्ध'बापत ऋण तिर्दातिर्दै मुलुकलाई हिन्द महासागरमा 'सबमर्ज' हुन वा दक्षिण र उत्तरका महाबलीहरूको भीषण भिडन्तको अखडा बन्न नदिने हो भने प्रमुख दलहरूले इमानदारीपूर्वक राष्ट्रिय स्वार्थका मुद्दामा साझा दृष्टिकोण र सन्तुलित परराष्ट्र नीति बनाउनुपर्छ । सबै दलमा स्वाभिमानी नेताहरू छन्, जसले यस्तो अभियानको नेतृत्व गर्न अघिसर्नु पर्छ । भारत र चीन दुवैलाई नेपाली भूमि तिनका विरूद्ध कुनै हालतमा प्रयोग हुन नदिने दृढता प्रदर्शन गर्दै दुई देशको सम्बन्धजस्तो संवेदनशील विषयमा प्राध्यापक मुनी वा प्रोफेसर वाङजस्ता रहस्यमय पात्रहरूको सन्देहास्पद मध्यस्थमा भर नपरी त्यहाँको नेतृत्व तहमै प्रत्यक्ष र पारदर्शी संवाद अविलम्ब स्थापित गर्न आवश्यक छ ।

 साभार: कान्तिपुर दैनिक, ३०-४-२०६९ 

Saturday, July 28, 2012

पर्खिनू है मलाई, म फर्किनेछु


पर्खिनू है मलाई, म फर्किनेछु

- कन्स्तान्तिन सिमोनोभ


पर्खिनू है मलाई, म फर्किनेछु
प्रिय, मलाई अवश्य पर्खिनू
एकोहोरो झरीले उदास बनाउला
तर प्रतीक्षाले तिमी नतर्सिनू ।

पर्खिनू चिसो हिमपातको याममा
गर्मीको रापमा पनि पर्खिनू
बिर्सेलान् विगतका पल अरूले
तर तिमीले कहिल्यै नबिर्सिनू ।

पर्खिनू है प्रिय तिमी मलाई
टाढाबाट चिट्ठी नआए पनि
प्रतीक्षाले सबै थाक्लान् तर
पर्खिनू तिमी दिन गनीगनी ।

पर्खिनू मलाई, म फर्किनेछु
ननिभाई विश्वासको दियो
नसुन्नू तिनलाई, जो भन्छन्
'अब त बिर्सिने बेला भयो ।'

मेरी आमा र छोराले पनि
भलै म मरिसकेकै ठानून्
इष्टमित्र पनि दुःखी हुँदै
मलाई स्वर्गको कामना गरून् ।

तीसँगै मेरो आत्माका लागि
प्रार्थना गर्न अघि नसर्नू
विश्वास गर म फर्किनेछु
प्रिय, तिमी मलाई पर्खिनू ।

पर्खिनू है, म पक्कै फर्किनेछु
मृत्युका हरेक पललाई झुक्याउँदै
'अहो कस्तो भाग्य' भन्नेछन् सबै,
जसले हरेस खाए पर्खंदापर्खंदै

पर्खाइले थाक्नेलाई के थाहा
कसरी युद्धको दावानलमा
बचायौ मलाई तिमीले प्रिय
अनन्त प्रतीक्षाको बलमा ।

कसरी जीवितै फर्किएँ म
बुझ्नेछौँ केवल तिमी र मैले
वास्तवमा तपस्याझैँ प्रतीक्षा गर्न
जानेन तिमी जति अरू कसैले ।

(सन् १९४१ मा दोस्रो विश्वयुद्धमा रेड स्टार पत्रिकाको संवाददाताका रूपमा खटाइएका रुसी कवि सिमोनोभले युद्ध मैदानबाट आफ्नी भावी पत्नीलाई लेखेको 'झ्दी मेन्या इ या भेर्नुस' शीर्षकको लोकप्रिय रुसी कविताको भावानुवाद। अनुवादक : जुगल भूर्तेल)

कठोर समयका कोमल कवि: एसेनिन


सोभियत इतिहासको पानाबाट
कठोर समयका कोमल कवि: सेर्गेइ एसेनिन  

'आत्महत्याको मामलामा सन् १९२५ असामान्य रूपले समृद्ध थियो । लेनिनग्रादमा दिनको १० देखि १५ वटा आत्महत्या भइरहेका थिए... सबैथरीका सोभियत नागरिकहरूलाई चरम निराशाले छोपेको थियो.. निर्माण गर्ने श्रमिकहरू गोली हानेर मरिरहेका थिए.. बेरोजगारहरू त्यसैगरी आफैंलाई मारिरहेका थिए.. विशेष उद्वेलित अवस्थामा विघटित लालसेनाका जवान थिए, जसले गृहयुद्धको समाप्तिपछि कुनै काम पाएका थिएनन्..।' सन् १९१७ को अक्टोबर विप्लवपछि सुरु भएको भयानक गृहयुद्धबाट मुक्त भएर तंग्रिंदै गरेको रुसको तत्कालीन सामाजिक अवस्थालाई इतिहासकार निकोलाई स्भानिद्जेले आफ्नो 'इतिहासको वृत्तान्त' नामक डकुमेन्ट्रीमा यसरी चित्रण गरेका छन् ।  'क्रान्ति'पछि सोभियत कम्युनिस्ट पार्टीमा नोकरशाहीले बिस्तारै घर जमाउँदै जाँदा पार्टीमा नवप्रवेशी कम्युनिस्टहरू हावी भएर पुराना कमरेडमा पनि निराशाको स्थिति थियो । आत्महत्या गर्नेहरूमा ती पनि थिए र स्भानिद्जेका अनुसार 'गृहयुद्धमा तिनले प्रयोग गरेको हतियार अझै बुझाई नसकेको हुँदा तिनलाई आत्महत्या कसरी गर्ने भन्ने द्विविधा थिएन ।' यो आफैंलाईं सिध्याउने आममान्छेको भीडमा एउटा असाधारण मान्छे पनि मिसिन आइपुग्यो­- त्यो जमानाको सम्भवतः सबैभन्दा ठूलो रुसी कवि सेर्गेई अलेक्सान्द्रोभिच एसेनिन ।

सन् १८९५ मा रुसको किसान परिवारमा जन्मिएका एसेनिन युवा उमेरमै शक्तिशाली कविता लेखेर लोकप्रिय बनिसकेका थिए । लयात्मक शैलीमा लेखिएका उनका रचनाले 'रुसी' आत्मालाई उजागर गरेर अलेक्सान्द्र पुस्किनको परम्परालाई निरन्तरता दिएको मानिन्छ । एकपटक दरबारमा कविता सुनाउँदा रानीले 'तपाईंका कविताहरू सुन्दर भए पनि सारै उदास छन्' भनेर टिप्पणी गर्दा उनले 'अहिले सारा रुस नै त्यस्तै छ' भन्ने जवाफ दिएका थिए रे । सन् १९१७ मा लेनिन र अर्का बोल्सेभिक लेभ त्रोत्स्की (लियोन ट्रट्स्की) को नेतृत्वमा भएको अक्टोबर 'क्रान्ति' प्रति निकै आशावादी देखिएका कविले ६ वर्षपछि सोभियत सत्ताबाट मोहभंग भएको झैं लाग्ने गरी 'दुष्टहरूको देश' जस्तो सिर्जना गरेर 'मार्क्सको नाममा बोसो बढाउने' माथि आफ्नो तिखो आक्रोश पोखे । त्यसैले केही समय उनीमाथि सत्ताको निगरानीसमेत बढेको थियो । आफू मर्नु एक वर्षअघि लेनिनको मृत्युले द्रवित बनेर उनैप्रति समर्पित 'लेनिन' शीर्षकको कविता कोरे पनि एसेनिनभित्रको भावुक स्रष्टा 'क्रान्तिकारी' थिएन । रोगले उनी निकै थला परेपछि सोभियत कम्युनिस्ट पार्टीका नेता ख्रिस्तिआन राकोभ्स्कीले तत्कालीन क्रान्तिकारी सरकारका गृहमन्त्रीलाई 'सोभियत संघको निःसन्देह सबैभन्दा प्रतिभाशाली कवि एसेनिनको प्राणरक्षा गर्न' अनुरोध गर्दै पत्र लेखेका थिए । गृहमन्त्रीले त्यसमा आवश्यक कारबाही गर्न आदेश पनि दिएका रहेछन्, तर जीवनसँगै विद्रोह गर्दै हिँडेका कविलाई प्रहरीले भेट्न नसकेको दस्ताबेजमा उल्लेख छ ।

धेरै 'सेलेब्रिटी' कविझैं एसेनिनको व्यक्तिगत जीवन पनि निकै अराजक र अस्तव्यस्त थियो । सुनौलो कपाल भएको आकर्षक व्यक्तित्वका युवा कवि एकपछि अर्को गर्दै तीनपटकसम्म विवाह र थुप्रै अन्तरंग सम्बन्धहरूले बाँधिएर पनि जीवनपर्यन्त कुनै अमूर्त खुसीको खोजीमा भट्की नै रहे । पत्रपत्रिकामा उनलाई मद्यपान, व्यभिचार, झगडाजस्ता असामाजिक क्रियाकलापमा संलग्न रहेको आरोप लाग्नु सामान्यजस्तै थियो । अत्यधिक मद्यपानले उनको मानसिक र शारीरिक स्वास्थ्यमा घातक असर पार्न थालेपछि सहृदयी साथीभाइले उनलाई कहिले मस्को त कहिले लेनिनग्रादका मानसिक अस्पतालमा भर्ती गराइदिने गर्थे । अन्ततः सन् १९२५ मा तीस वर्षको अल्पायुमै लेनिनग्रादको एउटा होटेलमा उनको अत्यन्त हृदयविदारक मृत्यु भयो । एसेनिनको निधन रहस्यमय भए पनि औपचारिक दस्ताबेजमा जीवन र कविता दुवैबाट थाकेर चरम डिप्रेसनको अवस्थामा उनले आत्महत्या गरेको उल्लेख छ । मृत्युको एक दिनअघि बाँच्नु र मर्नु दुवै कुनै नौला कुरा होइनन् भन्ने आशयको 'फेरि भेटौंला मित्र..' शीर्षकको अन्तिम कविता उनले आफ्नै रगतले कोरेका थिए । मृत्युको प्रथम पुण्यतिथिमा एसेनिनकी एक प्रेमिकाले पनि उनको चिहानमै गएर आत्महत्या गरेकी थिइन् ।
 
**
एसेनिनले निकै महिनाको अमेरिका यात्रापछि सन् १९२४ मा रोचक संस्मरण लेखेका छन्, जसले उनी गद्यमा पनि समान रूपले दक्ष रहेको प्रमाणित गर्छ । त्यो यात्रा संस्मरणमा रुसी जनताको अमेरिकाप्रतिको जुन मानसिकता प्रतिविम्बित भएको छ, त्यो आजपर्यन्त सान्दर्भिक छ  । उनी भ्रमणमा निस्कँदा अक्टोबर विप्लवका नायक त्रोत्स्कीले 'अब एसोनिन अर्कै मान्छे भएर र्फकनेछन्' भनेर लेखेका रहेछन् । सायद उनी पुँजीवादी समाजको अतिरिक्त प्रभाव बोकेर आउलान् कि भन्ने आशंका थियो । तर अमेरिकाको भौतिक प्रगति र विशेषगरी बिजुलीको झिलिमिलीमा नुहाएको न्युयोर्कको ब्रोडवेबाट किञ्चित प्रभावित भए पनि त्यहाँको सांस्कृतिक दरिद्रतामाथि उनले तिखो व्यङ्ग्य गरेका छन् । उनको मूल्यांकनमा 'कंक्रिटको शक्ति र विशाल अट्टालिकाले अमेरिकी मान्छेको दिमागलाई थिचेको र दृष्टिलाई संकीर्ण बनाएको छ ।' त्यसैमा एउटा रोचक प्रसंग उल्लेख गर्दै उनी अगाडि लेख्छन्, "मलाई एउटा अमेरिकीले भन्यो­ 'मलाई पनि युरोपका बारेमा धेरै थाहा छ । म इटाली र ग्रिस घुमेको छु । र, 'पार्थेनन (प्राचीन ग्रिक मन्दिर)' पनि देखेको छु । यो मेरो लागि कुनै नौलो कुरा होइन । तपाईलाई थाहा छ, हाम्रो टेनेसी राज्यमा पनि पार्थेनन छ, जुन युरोपको भन्दा धेरै नयाँ र राम्रो छ ?' यस्ता शब्दले एकैचोटि रुन र हाँस्न मन लाग्छ । यी शब्दहरू अमेरिकाको सांस्कृतिक चरित्रलाई सम्पूर्णतामा वर्णन गर्न पर्याप्त छन् । युरोपले धूमपान गरेर जुन ठुटाहरू फ्याँक्छ, अमेरिका तिनलाई टिपेर जम्मा गर्छ । तर ती ठुटाबाट कुनै भव्य चिजको निर्माण भइरहेको छ ।" पुस्किन, दोस्तोएभ्सकी, तोल्स्तोई, चेखवजस्ता महान् साहित्यकार, चाइकोभ्स्की, सोस्ताकोभिच प्रभिति संगीत शिल्पी र बोल्सोई थिएटरजस्तो कलाको विलक्षण केन्द्र भएको रुसको भूमिपुत्रले साहित्य, कला र संस्कृतिको कुरा आउँदा वास्तविक युरोपमाथि त नाक खुम्च्याउन पछि पर्दैन भने युरोपको नक्कल गरेर, अर्थात् ठुटा टिपेर, भरखर भरखर देश बन्न लागिपरेको उ बेलाको अमेरिकाको कृत्रिम तडकभडकले एउटा प्रसिद्ध कविलाई कहाँ प्रभावित पार्न सक्थ्यो र ?
**

एसेनिनको अत्यन्त असामयिक अवसानले आहत हुँदै तिनै त्रोत्स्कीले यसरी आफ्नो श्रद्धाञ्जलि व्यक्त गरेका छन्, 'हामीले एउटा उत्कृष्ट, निर्मल र मौलिक कविलाई गुमायौं.... हाम्रो समय कठोर समय हो । हुन सक्छ कथित सभ्य मानव जातिको इतिहासको सबैभन्दा कष्टकर समय हो, यो । यी दशकहरूका लागि जन्मिएको एउटा क्रान्तिकारी आफ्नो कालखण्ड र पितृभूमिप्रतिको प्रखर समर्पणका कारण समयको कठोरतामाथि विजय प्राप्त गर्न सक्छ । एसेनिन भने क्रान्तिकारी थिएनन्, मधुर काव्यका श्रष्टा थिए । तर हाम्रो समय काव्यात्मक समय होइन । एसेनिनले हामी र आफ्नो समयलाई स्वेच्छाले यति चाँडै छाड्नुको प्रमुख कारण यही नै हो । द्वन्द होइन मित्रता, प्रेम र कोमलताको साम्राज्य भएको मैत्रीपूर्ण, सुखी र गीतसँगै वाँच्ने समाजमा मात्र एसेनिनको काव्यात्मक प्रतिभाले उत्कर्षता पाउन सक्थ्यो ।'

विडम्बना के भने मान्छेको स्वतन्त्रता निसास्सिएको सोभियत संघमा 'यो देशमा झैं यति उन्मुक्त भई, सास फेर्ने मान्छे अरू होला कहाँ' टाइपका प्रोपोगन्डा गीत त धेरै रचिए र गाइए, तर लेनिन, त्रोत्स्की आदि बोल्सेभिकहरूले मञ्चन गरेको अक्टुबर विप्लवले हृदयका 'गीतसँगै बाँच्ने' कोमल समाज भने कहिल्यै निर्माण हुन दिएन । स्तालिनकालसम्म आइसक्दा रुसको समय झन् कठोर र अनुदार बन्दै गयो, साहित्यिक सिर्जनाका मुहानहरू सुक्दै गए । 'सर्वहारा'ले ठूला ठूला स्रष्टाका पुस्तकलाई 'सेन्सर' गर्ने जिम्मेवारी पाए र 'सोभियत जीवनको यथार्थ'मा भिज्न नसक्ने लेखकहरू 'परजीवी आवारा' भएको आरोपमा श्रम शिविर पठाइए । 'उन्मुक्त सास फेर्न चाहने' धेरै साहित्यकार, कलाकारलाई स्वेच्छाले वा बलात् निर्वासनमा पठाइयो, जो बाँकी रहे ती पनि सत्ता र स्व­नियन्त्रणको सिकार भएर कुण्ठित बने वा सुदूर साइबेरियाको श्रम सिविरको दुरुह जीवन बाँच्न बाध्य बनाइए । एसेनिनको मृत्युमा शोकगीत गाउने स्तालिनका प्रमुख राजनीतिक प्रतिद्वन्द्वी त्रोत्स्की र उनको सिर्जनात्मक प्रतिभालाई सम्मान गर्ने राकोभ्स्कीजस्ता कम्युनिस्ट नेताको समेत षड्यन्त्रकारी ढङ्गले स्तालिनद्वारा निर्मम हत्या गरियो । उनको पहिलो विवाहबाट जन्मिएका छोरा युरीलाई पनि स्तालिनको हत्याको योजनामा संलग्न भएको आरोपमा गोली हानेर मारियो । मरिसकेका कवि स्वयं यो दमनबाट अछुतो रहेनन् । उनका सिर्जनाविरुद्ध स्तालिन शासनले अभियान नै चलायो ।

सन् १९२७ मा सोभियत कम्युनिस्ट पार्टीमा त्यसबेला स्तालिन खेमाका पोलिटब्युरो सदस्य निकोलाई बुखारिनले एसेनिन एउटा कविमात्र नभएर व्यक्तिको पतन हुने प्रवृत्तिका प्रतिनिधि पात्र भएको दाबी गर्दै लेखे 'एसेनिन प्रवृत्तिले रुसी ग्रामीण समाज र कथित 'राष्ट्रिय चरित्र'का सर्वाधिक नकारात्मक विशेषताको प्रतिनिधित्व गर्छः झगडा, अनुशासनहीनता र सामाजिक जीवनका सबैभन्दा पिछडिएका परम्पराको देवत्वकरण ।' उनी यसरी पार्टीको गुटगत द्वन्दमा आफ्ना तत्कालीन शत्रु तथा एसेनिनको मृत्युले भावविह्वल त्रोत्स्कीलाई कविको सिर्जनामा होइन उनको व्यक्तित्वमाथि प्रहार गरेर जवाफ दिन चाहन्थे । सर्वशक्तिमान् कम्युनिस्ट पार्टीको जिम्मेवार नेताले यस्तो फैसला सुनाएपछि एसेनिनका पुस्तकहरू बुक स्टोर र पुस्तकालयबाट 'हराउनु' स्वाभाविक थियो । पछि १९६० को दशकमा मात्र तिनको पुनर्मुद्रण भयो । नियतिले बुखारिनसँग भने भद्दा मजाक गर्‍यो । पुँजीवादलाई पुनर्स्थापना गर्ने दक्षिणपन्थी षड्यन्त्रमा सहभागी भएको आरोपमा स्तालिनले उनको पनि गोली हानेर हत्या गराए ।

'मलाई स्वर्ग होइन मातृभूमि देऊ' भनेर ईश्वरसँग अनुनय गर्ने राष्ट्रवादी कविको लोकप्रियतालाई सोभियत अवरोधले कसरी छेक्न सक्थ्यो ? मृत्युपश्चात् उनको प्रसिद्धि झन् बढेर गयो । पछि १९६५ मा कविको जन्मभूमिमा स्थापना गरिएको संग्रहालयमा रहेको स्मृति पुस्तकमा उनका केही प्रशंसकहरूले यस्तो लेखेका छन्, 'हामी निर्माण गर्ने श्रमिक हौं र नयाँ उद्योग, कारखाना, स्कुल आदि बनाउँछौं.... र एसेनिनले श्रम गर्दा प्रयोग गरेको भन्दा नितान्त फरक सामान प्रयोग गर्छौं । तर हामी दुवैलाई जोड्ने चिज के हो भने उनी जनतालाई चाहिएको नयाँ लयको निर्माण गर्छन् र हामी निर्माण गर्छौं­ भोलिको नयाँ र सुखी संसार, जसको नाम साम्यवाद हो । एसेनिनको आत्माको शुद्धताले हामीलाई विज्ञान र निर्माणमा अपूर्व साहसका लागि प्रेरित गर्छ ।'

**
सन् १९२४ मा आफ्नो थकित र दयनीय जिन्दगीको अन्तिम समयतिर सेर्गेइ एसेनिनले लेखेको ‘आमालाई पत्र’ शिर्षकको लोकप्रिय कविताको नेपाली भावानुवाद ।

आमालाई पत्र
सेर्गेइ एसेनिन  

जिउँदै त हौली, मेरी बुढी आमा ?
नियास्रोले तिम्रो, लगाउँछ कहाली
झुपडीको तिम्रो, आकाशमा हरदम
संध्यामा छाओस्, अद्‍भुत लाली 

सँगालेको चिन्ताले, हृदय जलाई
सुकेकी छौ रे', भइ जीर्ण बोट  
मेरो बाटो हेर्छौं रे', घरबाट निस्की 
लगाएर थोत्रो, त्यही ओभरकोट  

घरिघरि संध्याको, उदास पलमा
सपना झैं देख्छौ रे', एउटै कुरा
भट्टीको अप्रिय, झगडामा मेरो
छाती मै कसैले, हानेको छुरा 

व्याकुल नहोऊ, त्यो तुच्छ भ्रमले
पतित भइ के, म त्यसरी गिरुँला
पिएपनि त्यस्तो, कपुत कहाँ हुँ 
नभेटी तिमीलाई, कसरी मरुँला?

अझैपनि उस्तै, म विनम्र नै छु
अब मात्र एउटा, सपना छ बाँकी
त्यही न्यानो घरमा, चाँडै म फर्कौं
अतिरेक यस्तो, उदासीलाई त्यागी  

म फर्कनेछु, जब आउला बसन्त
बगैंचालाई ढाक्लान्, फूल र पात
तर प्रात:काल, अब झिस्मिसेमा
नजगाउनु फेरि, मलाई निँदबाट

बितेका कुरालाई, नसम्झाऊ फेरि
अप्राप्तलाई सोचेर, नजलाऊ प्राण
यौवनका थुप्रै, विफलताहरु लाई
भोगेर जीवन, छ लखतरान

नसिकाऊ गर्न, देवस्तुति भो'
अब फर्कंदैन, भएको हरण
तिमी मात्र मेरो, सहारा र चैन 
तिमी मात्र मेरो, अद्वीतीय किरण

त्यसैले भुलाऊ, सबै फिक्रि चिन्ता
अकारण हृदयमा, नलगाऊ चोट
ननिस्किनू धेरै, मेरो बाटो हेर्दै 
लगाएर थोत्रो, त्यही ओभरकोट

(अनु. जुगल भूर्तेल)

साभार: कान्तिपुर दैनिक, २०६९ श्रावण १३ (28 July 2012) 
http://kantipuronline.com/kantipur/news/news-detail.php?news_id=275993