Saturday, February 24, 2018

कांग्रेस : तलकाले चाहँदैनन्, माथिकाले सक्दैनन्

दुई कम्युनिस्ट जोडिएर मात्र कांग्रेसको यो हबिगत भएको होइन


राज्यसत्ताका सन्दर्भमा क्रान्तिको बस्तुगत अवस्थालाई ठ्याक्कै बुझाउने बोल्सेभिक विप्लवका शिल्पकार भ्लादिमिर लेनिनको रुसी भाषामा एउटा रोचक वाक्य छ– ‘निजी निखाच्यात, भेर्खी निमोगुत।’ अर्थात् ‘तलकाले चाहँदैनन्, माथिकाले सक्दैनन्।’ भनाइको तात्पर्य तलका जनताले पुरानै ढर्राको जीवन बाँच्न अस्वीकार गरिसकेको र माथिको सत्तासीन वर्गले पनि अब पुरानै ढंगले शासन गर्न सम्भव नभएको अवस्थामा परिवर्तनको अंकुरण हुन्छ।
नेपाली कांग्रेस पार्टीका बारेमा विमर्श गर्न पनि लेनिनकै उद्धरणको सहारा लिँदा मुलुकको ‘वाम’मय वातावरणले अल्लि बढी नै प्रभावित भएको आरोप लाग्ने जोखिम छ। तर, कांग्रेसजनले माफ गरून्, संघर्ष र सत्ताको उचित/अनुचित सबै किसिमका अनुभवले थाकेर लखतरान तिनको संगठनभित्र विकसित हुन खोजिरहेको ‘माथि’ र ‘तल’बीचको द्वन्द्व र परिवर्तनको सम्भावनाबारे चर्चा गर्न झट्ट अरू सान्दर्भिक प्रसंग भेटिएन।      
प्रभावहीन प्रभावशालीहरू
देशको वयोवृद्ध पार्टीको सबैभन्दा माथि ‘शीर्ष नेता’को भारी मुकुट लगाएर आआफ्नो गुटको सर्वोच्च आसनमा सर्वाधिक शक्तिशाली पुरुषहरू विराजमान छन्। करिब सात दशक पुरानो पार्टीभन्दा अलिकति जेठा उनै गुटाधिपति ‘दाइ’हरूको सक्रियता र मार्गदर्शनबिना कांग्रेस पथभ्रष्ट हुने झूटो प्रशंसा गरेर पार्टीको जिल्ला र प्रदेशको राजनीतिमा राज गर्ने आशीर्वाद पाइरहेका दोस्रो तहका नेतालाई आमकार्यकर्ता र नेपाली मिडियाले ‘प्रभावशाली’ मान्ने गरेका छन्।
छन त शीर्ष र प्रभावशालीहरूको पहिलो र दोस्रो पुस्ताले बाटो छेकेर अगाडि बढ्न नसकेको अलि आसलाग्दो तेस्रो पुस्ता पनि छ। तर, निर्णय प्रक्रियामा नितान्त उपेक्षित त्यो समूहलाई कांग्रेसको स्थापित मान्यता र परम्पराअनुसारै सिँढी चढ्दै जाने हो भने नेतृत्वमा पुग्न अझै केही दशक कपाल फुलाउनुपर्नेछ। यसरी कांग्रेसको सत्ता र शक्तिमा जसको नियन्त्रण छ, त्यो नेतृत्व झन्झन् बूढो हुँदै गएको छ।
तथापि, यस पटकको निर्वाचनमा बीपीको विचारले मात्र जिते पनि अर्को चुनावमा पार्टीले सिंहदरबारको सिंहासन फिर्ता लिएर आफैंलाई सुम्पने शीर्ष दाइहरूको विश्वासलाई बढ्दो उमेरले थोरै पनि हल्लाउन सकेको छैन। त्यो अविचलित आत्मविश्वास प्रसंशनीय भए पनि अर्को निर्वाचनसम्म तिनको उमेर करिब आठ दशक पुग्नेछ। उमेर कटाएर मात्र कुनै देङ स्याओ पिङ वा ली कुआन युको उदय हुने भएको भए त देशले व्यग्रतापूर्वक त्यो ‘माइलस्टोन’ को पनि प्रतीक्षा गर्ने थियो होला।
संघर्षको समृद्ध इतिहास बोकेर सत्ताको सुखभोग गर्न आइपुगेका हाम्रा नेताले ‘माथि’ बसेर गर्ने राजनीतिमा शक्ति छ र शक्तिको आशक्ति हुन्छ। पार्टी र देश दुवैको सत्ता र शक्तिले असाध्यै लठ्ठिएका कांग्रेसका शीर्ष नेताका लागि यथास्थितिको निरन्तरता निर्विकल्प बाटो हो। तानाशाहले सम्भावित सजायको भयले र प्रजातन्त्रवादी नेताले चाहिँ ‘मैलेबाहेक यो लठिभद्रलाई कसैले सम्हाल्न सक्दैन’ भन्ने विशुद्ध आत्मरतिका कारण पदत्याग गर्न सक्दैन भन्ने धारणा छ। गुटका खम्बाजस्ता आश्रितहरू आफ्नो विचल्ली हुने त्रासले पनि हाम्रा नेतागणलाई सक्रिय सार्वजनिक जीवनबाट शिष्टतापूर्वक निवृत्त हुन दिँदैनन्।
बीपी, गणेशमान, गिरिजाप्रसाद, सुशील कोइरालाजस्ता स्वनामधन्य अग्रजहरू पनि जीवनको अन्तिमसम्मै सक्रिय राजनीतिमा रहेकोले अहिलेका शीर्ष नेताले मात्र किन अवकाश लिने भन्ने तर्क पनि उठ्ने गरेको छ। त्यसैले तिनको राजनीतिक जीवनको निरन्तरताका लागि आदरवश कुनै नेताले ‘पार्टी ‘एज’ले होइन ‘एजेन्डा’ले चल्छ’ भन्ने कूटनीतिक जिकिर गरिदिन्छ भने त्यसलाई पनि नाजायजै मानिहाल्नु हुँदैन। तर, त्यो तर्कमा निहित गम्भीर समस्यालाई उजागर गर्दै अर्का नेताले भनिसके– ‘नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुनाले एजेन्डा, विचार र क्षमताको दृष्टिले कांग्रेस जमेको पोखरीजस्तो भएको छ ।’ अर्थात् ‘एज’सँगै कांग्रेसमा एजेन्डाको अभाव पनि बढ्दै गएको छ। हिजो संघर्षको युगमा त्यागको बजार हुँदा कांग्रेसको एकाधिकार जस्तै थियो। आज समृद्धिको उडान भर्न आतुर नयाँ युगको नयाँ पुस्तालाई विकासको नवीन एजेन्डा चाहिएको छ, तर कांग्रेसको शीर्ष नेतृत्वसँग यो वर्गलाई उत्प्रेरित गर्ने उमेर, सन्देश र गतिशीलता केही पनि देखिँदैन।
आजको नेपाल तन्नेरीहरूको देश हो। देशको करिब आधा जनसंख्या १६ देखि ४० वर्ष उमेर समूहको छ। त्यो शिक्षित र सुसूचित ‘तन्नेरी नेपाल’ बाँकी विश्वको प्रगति र उन्नतिले बेचैन छ र आफ्नै जीवनकालमा विकास र समृद्धिको भरपूर उपभोग गर्न चाहन्छ। वृद्ध नेताहरूको त्याग, संघर्ष, जेल, आदिका कथाले ऊ द्रवित हुँदैन, बरु यो देश आज एसियाकै दरिद्रतम मुलुक हुनमा तिनै नेताको संकीर्ण कल्पनाशीलतालाई दोषी ठान्छ। ‘तन्नेरी नेपाल’ बीपीलाई चिन्दैन, त्यसैले उनको सपना र राजनीतिले जितेको दाबी उसका लागि बूढाहरूको निरर्थक गन्थनशिवाय अरू केही पनि होइन। लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधानको निर्माणले ऊ उत्साहित छ भने पनि अब राजनीतिक स्थायित्वले समुन्नत नेपाल बन्ने बाटो खुल्ला कि भनेर उत्साहित भएको हो। नेपालको जनसंख्याको यही स्वप्नशील विशाल तप्का नयाँ नेपालको निर्णायक शक्ति हो। तर ‘एजेन्डा, विचार र क्षमताको दृष्टिले जमेको पोखरीजस्तो कांग्रेस पार्टी’का नेतासँग न त युवालाई सुनाउने कुनै प्रेरणाप्रद सन्देश छ, न तिनको परिकल्पना सदृश्य व्यक्तित्व नै।
लाखौं जनताले हेरिरहेको एउटा लोकप्रिय टीभी कार्यक्रममा कांग्रेस सभापतिले निरन्तर प्रश्न गरिरहेको युवकलाई ‘बढ्ता बोल्दै हुनुहुन्छ’ भनेर हप्काए। उनैको शासनमा झाँगिएको बेथितिले आक्रान्त देशका युवाको व्याकुलतालाई बुझ्ने न उनमा क्षमता छ न त आश्वस्त पार्न सक्ने वाणी नै। त्यो क्षण देउवाले आफू जनताको अभिव्यक्ति स्वतन्त्रता र बहुलवादलाई सर्वोपरि ठान्ने र सामन्तवादविरुद्ध सबैभन्दा बढी लडेर आएको पार्टीको निर्वाचित सभापति हुँ भन्ने बिर्सिए। राजा र पञ्चायतको सत्तालाई उनले त्यसरी नै ‘बढ्ता बोल्दै’ चुनौती दिएर हल्लाइदिएको गर्विलो इतिहास एक क्षणको क्रोधले अर्थहीन बनाइदियो।
यो निर्वाचनमा ‘वाम’ गठबन्धनको निर्माणले स्तब्ध कांग्रेसका अधिकांश नेताले कम्युनिस्ट अधिनायकवादको उही पुरानो घिसेपिटे न्यारेटिभ दोहो¥याउनेबाहेक जनताको आशा जगाउने कुनै कथा सुनाउन सकेनन्। ‘कम्युनिस्ट सत्तामा आए भने रुन पनि पाइन्न’ भन्ने वैचारिक दरिद्रतालाई उजागर गर्ने वाक्य परिहासको विषय बनिरह्यो। इतर विचारको अस्तित्वलाई नै अस्वीकार गर्ने कम्युनिस्टहरू शक्तिशाली हुँदै गए भने अधिनायकवाद नआउला भन्न सकिन्न। तर, सत्तासुखका लागि संसदीय व्यवस्था नै असफल हुनेगरी माओवादी र एमालेसँग हजार लसपस गरेका कांग्रेसी नेताले ‘आधा जीवन अभिनय र बाँकी प्रायश्चितमा बिताउने’ तिनै नक्कली कम्युनिस्ट देखाएर तर्साएको जनताले कसरी पत्याउनु ? बरु ५० वर्ष ‘वाम’ गठबन्धनले देश चलाउने कांग्रेसी त्रासले जनतामा उल्टो लामो समयका लागि स्थायी सरकार बन्ने भ्रम छर्दियो।
निर्धारित समयभित्र तोकिएका सबै काम पूरा गरेको गत संविधानसभा/संसद् नेपालको संसदीय इतिहासमै सायद सबैभन्दा सफल विधायिका थियो। त्यहाँ कांग्रेसले बहुलवादमा आधारित लोकतान्त्रिक संविधान निर्माणको नेतृत्व मात्र गरेको थिएन, पहाडसँग सम्बन्धविच्छेद हुनेसम्मको उद्घोष गरिरहेका मधेसका आन्दोलनकारी शक्तिलाई समेत निर्वाचनमा सामिल गराएर सबैको सहभागितामा संविधानलाई कार्यान्वयनमा पनि लगेको थियो। त्यो चानचुने सफलता थिएन, तर कमजोर नेतृत्वका कारण पार्टीले त्यसको श्रेय लिन सकेन भनेर धेरै कांग्रेसजन चुकचुकाएको सुनिन्छ। कांग्रेसका शीर्ष नेताहरूमा जनतासँग संवाद गर्ने सीप त छैन नै, सिपालुलाई अगाडि बढाउने उदारताको पनि उत्तिकै अभाव रहेछ।
नवसामन्ती सत्ताको प्रतीकजस्तो बनेको बूढानीलकण्ठ दरबारको दाबी छ, ‘कांग्रेस पार्टीमा देउवा, कोइराला र पौडेल’ बाहेक अरूको ‘क्रेडिबिलिटी’ छैन। तर, उनै त्रिमूर्तिले तल्ला कमिटीको सुझावलाई लत्याएर आआफ्ना कोटरीका जुनजुन नेतालाई टिकट दिए, जनताले चुनावमा ती सबैलाई हराइदिएर ‘क्रेडिबिलिटी’वालाहरूको वास्तविकता उदांगो पारिदिए। बरु कांग्रेसका शक्ति केन्द्रहरूमा अझै आफ्नो हैसियत प्रमाणित गर्न बाँकी एक–दुई लोकप्रिय युवाले जितेर आएकोले कांग्रेसले ‘अनिकालको बीउ’ जोगाउन सकेको छ।
गत निर्वाचनमा पार्टी सभापति आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसारका लागि आइदेलान् कि भनेर कांग्रेसका जित्ने सम्भावना भएका धेरै उम्मेदवार भयभीत थिए। कतिले विभिन्न बहाना गरेर उनको आगमनलाई टारे। सरकारमा रहँदा गरेका थुप्रै गलत निर्णयका कारण कांग्रेसका ठूला नेता जनतासँग आँखा जुधाएर बोल्न सक्ने स्थितिमा छँदै थिएनन्। भूकम्पको त्रासदीबाट मुक्त हुन प्रयास गरिरहेका आफ्ना जनतामाथि क्रूरतापूर्वक लादिएको भारतीय नाकाबन्दीको प्रतिवाद त टाढाको कुरा उच्चारणसम्म गर्न नसक्ने पार्टीका निर्णयकर्ता कसरी लोकप्रिय हुन सक्थे ?
आफ्नै पार्टीको सात दशक लामो बलिदानले प्राप्त लोकतन्त्रलाई नै सिध्याएर समानान्तर सत्ता चलाउन हौसिएका लोकमानसँगको कांग्रेसी नेताको अनुचित साँठगाँठ कसलाई जँचेको थियो र ? धेरै कालपछि न्यायालयप्रति नागरिकको आस्थालाई जगाउन सफल सुशीला कार्कीलाई कदर गर्नुको सट्टा महाभियोग लगाउन कांग्रेसका नेताले देखाएको सक्रियताले जनताको चित्त दुखेको थियो। अहिलेको न्यायालयको अधोगति हेर्दा प्रस्टै बुझिन्छ, जनताको अप्रसन्नता कति जायज रहेछ। निर्वाचनको परिणामले देखायो, देशैभरिका मतदाता कांग्रेसलाई दण्डित गर्ने मौकाको प्रतीक्षामा रहेछन्। ‘प्रभावशाली’हरूले सफाइ दिएजस्तो दुई कम्युनिस्ट पार्टी जोडिएर मात्र कांग्रेसको यो हबिगत भएको होइन।
निर्वाचनको दयनीय प्रदर्शनले कांग्रेसका पुराना नेताहरूको अगाडि जोडिने ‘सर्वोच्च’, ‘शीर्ष’, ‘प्रभावशाली’आदि विशेषण कार्यकर्तालाई तर्साउने लौरोको रूपमा अझै केही उपयोगी भए पनि आम मतदातामा भने तिनको प्रभाव नगण्य भइसकेको देखाउँछ। पार्टीका गुटप्रमुखहरूप्रति जनताको यो स्तरको विकर्षण यसअघि कहिल्यै महसुस भएको थिएन। तसर्थ नेतृत्व कौशल, विचार र लोकप्रियता आदि सबै मापदण्डको कसीमा घोटेर हेर्दा कांग्रेसको सबैभन्दा ‘माथि’ रहेको वर्गले अब देश हाक्ने सामथ्र्य गुमाइसकेको छ। जनतामै चरम वितृष्णा पैदा गरेको नेतृत्वले चाहेर पनि पार्टीको पकडलाई कायम राख्न नसक्ने हुँदा लेनिनका शब्दलाई सापटी लिएर भन्ने हो भने कांग्रेसका ‘माथिकाले अब पार्टी चलाउन सक्दैनन्’। र, ‘माथिकाले नसक्ने’ अवस्था संगठनमा आमूल परिवर्तनको सबैभन्दा महत्वपूर्ण आधार हो।
निराश र रुष्ट आधार
‘तलकालै नचाहने’ अर्थात् पुरानै ढंगले चल्न अस्वीकार गर्ने अवस्था परिवर्तनको अर्को विशिष्ट पक्ष हो। अगाडि नै भनियो, गत निर्वाचनमा कांग्रेसका धेरै उम्मेदवारले पार्टी सभापतिलगायत नेतालाई आफ्नो निर्वाचन क्षेत्रमा सम्बोधन गराउन चाहेनन्। उम्मेदवार हुने अवसर पाएका भाग्यमानीलाई नेतृत्वले दुई भोट बढाउने अपेक्षाभन्दा हजारौं भोट घटाउने डर थियो। आम जनताको उदासीनता र कार्यकर्ताको असहयोगले डराएका ठूला नेता स्वयं आफ्नो निर्वाचन क्षेत्र छाडेर पार्टीको प्रचारमा हिँड्न सकेनन्।
सत्तासुखका लागि संसदीय व्यवस्था नै असफल हुनेगरी माओवादी र एमालेसँग हजार लसपस गरेका कांग्रेसी नेताले ‘आधा जीवन अभिनय र बाँकी प्रायश्चितमा बिताउने’ तिनै नक्कली कम्युनिस्ट देखाएर तर्साएको जनताले कसरी पत्याउनु ? बरु ५० वर्ष ‘वाम’ गठबन्धनले देश चलाउने कांग्रेसी त्रासले जनतामा उल्टो लामो समयका लागि स्थायी सरकार बन्ने भ्रम छर्दियो।
कांग्रेसभित्र अन्तर्घात संस्थागतजस्तै भएर पार्टीले एउटा सिंगो राजनीतिक संगठनको रूपमा परिचालित हुने क्षमता गुमाउँदै गएको धारणा बलियो हुँदै छ। अन्तर्घात अनैतिक र अवैधानिक कृत्य त हो, तर पार्टीका सबै तहमा गिरोहजस्तै कब्जा जमाएर बसेका गुटपतिका अपारदर्शी निर्णयविरुद्ध लड्ने कुनै हतियार नभएको अवस्थामा कांग्रेसका कार्यकर्ताले अन्तर्घातलाई प्रतिरोधको माध्यम बनाएजस्तो देखिन्छ। गुटहरूको निर्माण नेतृत्वसँग पार्टी लाइनमा वैचारिक संघर्ष गर्न वा स्वेच्छाचारितालाई रोक्न होइन पद, प्रतिष्ठा र सम्पत्तिमा बढीसे बढी भाग खोज्नका लागि हुने हो। गिरिजाप्रसाद कोइरालाको राजदेखि नै पार्टीले आर्जन गरेको शक्तिको बाँडफाँटको सहज फर्मुला छ, कांग्रेसमा : संस्थापनले ६० प्रतिशत लिने र बाँकी अरूको भागमा ४० प्रतिशत। मुख्य गुट र गुटभित्रका उपगुटको व्यवस्थापन गर्दागर्दै पूर्ण समर्पण र निष्ठाका साथ कांग्रेसको उत्थानका लागि जीवन बिताएका पार्टीका सिपाहीहरू अवसरबाट वञ्चित भइहाल्छन्।
पिछडिएको जाति र क्षेत्रमा वैकल्पिक नेतृत्व विकास होस् भनेर व्यवस्था गरिएको अत्यन्त प्रगतिशील समानुपातिक निर्वाचन प्रणालीलाई कांग्रेसका नेताले कसरी विकृत बनाइदिए, कार्यकर्ताबाट छिपेको छैन। नेताको वरिपरि घुमेर यिनै चोरबाटोलाई प्रयोग गर्दै घरिघरिअवसरबाट लाभान्वित भएको व्यक्तिका कारण पार्टीलाई कुनै लाभ भएको छैन भने कार्यकर्ताको तहबाट स्वाभाविक प्रतिवाद हुन्छ नै। नेतृत्वले विरोध गर्नेलाई गम्भीरतापूर्वक नलिने, नसुन्ने, हेप्ने र दलमा विरोध दर्ता गर्ने पद्धतिको विकास नभएकोले अन्तर्घात असन्तुष्ट कार्यकर्ताको अस्त्र बनेको छ। त्यही कारण आफ्नो पुस्तैनी जमिनदारीजस्तो जिल्ला र अझ प्रदेशकै एकलौटी ठेक्का लिएर उम्मेदवार तोक्ने र भोट हाल्न आदेश दिने शीर्ष नेतृत्वका प्रिय ‘प्रभावशाली भाइ’हरू प्रायः सबै अन्तर्घातको शिकार बने। कुनै पनि पार्टीभित्र अन्तर्घात हुनु भनेको नेतृत्वको प्राधिकारलाई कार्यकर्ताले चुनौती दिनु नै हो।
कम्युनिस्टहरूको एकता हुने सम्भावनाले आम कांग्रेसजनमा अनिश्चित भविष्यको आशंका त छँदै छ, सँगसँगै पार्टीलाई अहिलेको अत्यन्त कमजोर अवस्थामा नेतृत्वले नै पुर्‍याएको हो भन्ने तीव्र आक्रोश पनि छ। त्यसैले अघिल्ला निर्वाचनभन्दा यस पटक कांग्रेसका धेरै कार्यकर्ता मौन बसिदिए, अर्थात् नेतृत्वको आदेशलाई शिरोपर गरेर पार्टीलाई जिताउन कुनै उत्साह देखाएनन्। तिनले आफ्ना युवा सन्तानलाई कांग्रेसमा भोट हाल्न प्रेरित नै गरेनन्। फलस्वरूप : लोकतान्त्रिक खेमाको राम्रै भोट वैकल्पिक राजनीतिक शक्तिहरूतिर गयो। वरिष्ठ मानिएका कांग्रेसका केही नेताले ‘क्रियाशील सदस्यसँगै भोट माग्नुपर्‍यो’, ‘कार्यकर्ताले पैसाबिना परिचालित हुन मानेनन्’ भन्ने गुनासो गरेको सुनियो।
तर, नेतृत्वले सत्ताको चरम दुरुपयोग गरेर आर्थिक लाभ गरिरहेको र क्षमतावान् कार्यकर्ताको अवमूल्यन गर्दै सीमित मानिसलाई मात्र प्रवद्र्धन गरिरहेको देखेर आहत भएको क्रियाशील सदस्य कतिञ्जेल भावनामा बगेर पार्टीको लागि खट्न सक्छ ? सामाजिक सञ्जालमात्र अध्ययन गर्‍यो भने पनि नेतृत्वप्रति कार्यकर्ताको वितृष्णा बुझिन्छ। ओलीको महिमामण्डन र स्तुति गर्नेको फौज छ, तर देउवाको प्रतिरक्षा गर्नसमेत कसैले जाँगर चलाउँदैन। आफ्नै अधिकांश कार्यकर्ता, क्रियाशील सदस्य आदिलाई नियन्त्रण र परिचालन गर्ने सामथ्र्य गुमाउनुको अर्थ पार्टीको तल्लो तहले पुरानो नेतृत्वको अवज्ञा गरिसकेको बुझ्नुपर्छ। न्याय, स्नेह र उत्प्रेरणा प्रदान गर्न नसक्ने नेताले कार्यकर्ताको बफादारी कसरी पाउँछ ?
आम मतदाताको स्तरमा त स्थिति झनै विकराल छ। कांग्रेसको पुनर्जीवनका लागि पार्टीको क्रियाशील सदस्यमाझ एउटा बहसको सिर्जना होस् भन्ने हेतुले केही साताअघि गगन थापाले ‘देशले खोजेको कांग्रेस’ शीर्षकमा बडो गम्भीर लेख प्रकाशित गरेका थिए। थाहा पाएदेखि सधैं रूखमा मात्र मतदान गरेको मेरो साथीलाई ‘त्यो लेख पढ्यौ’ भनेर सोधे“। ‘पढिनँ, देशले कहाँ कांग्रेस खोजेको छ र’ भन्ने ठाडो जवाफ दिएर उसले मलाई स्तब्धै पारिदियो। ऊजस्तै धेरै मान्छेलाई अहिले कांग्रेस मनपरेको छैन, तर ‘किन मन परेको छैन’ भनेर सोध्यो भने त्यसको कुनै सटिक जवाफ आउँदैन। अर्थात् कांग्रेस कुनै खास कारणबिनै त्यसै मनपरेको छैन। कुनै पार्टीका लागि जनताको त्यस किसिमको विरक्तिभावभन्दा डरलाग्दो स्थिति के हुन सक्छ ? समाजमा ‘अब कांग्रेस नै किन चाहियो’ भन्ने किसिमको अचम्मको बहस सिर्जना हुनुले आम जनताको तहमा कांग्रेस नेतृत्वप्रति कुन स्तरको मोहभंग भएको छ अनुमान लगाउन सकिन्छ।
यस्तो स्थितिमा कांग्रेस पार्टी हिमाल, पहाड, तराई सबैतिर नराम्ररी पछारिँदा के ताज्जुब भयो र ? मुलुक संघीयतामा प्रवेश गर्दैगर्दा, अर्थात् राज्यको जरैदेखि पुनःसंरचना हुँदै गर्दा यस पटकको चुनाव भएको थियो। यस्तो ऐतिहासिक समयमा कांग्रेसको उपस्थिति र प्रस्तुतिले उसको अस्तित्वकै उपादेयतामा प्रश्न ते¥स्याएको छ। थुप्रै आशा र जिज्ञासा लिएर आएको संघीयतालाई जनमुखी बनाउन र उद्देश्यअनुरूप स्थापित गराउन अब केही कालसम्म मुलुकको समय र स्रोत खर्च हुनेछ। कांग्रेसको नेतृत्वदायी वा कुनै गम्भीर भूमिका बिनासंघीय नेपालले जतिजति जरो गाड्दै जान्छ, उतिउति कांग्रेसको अस्तित्व संकट बढ्दै जान्छ। ऊ नभई पनि देश चल्ने रहेछ भन्ने स्थापित हुँदै जान्छ र कालान्तरमा जनतालाई त्यसैमा बानी पर्छ।
इतिहास साक्षी छ, समयको गतिमा चल्न नसक्ने पार्टीहरू असान्दर्भिक हुँदै जान्छन्। परिवर्तनको बेगलाई रोकेर बसिराख्यो भने कांग्रेसले पनि त्यो नियति नभोग्ला भन्न सकिन्न। तर, माथि विस्तारमा चर्चा गरिएको अवस्थाले कांग्रेस पार्टीमा नवजीवनको सम्भावना भने प्रशस्तै देखाउँछ। शीर्ष तहले ‘एज’, एजेन्डा, कार्यकर्ता र जनताको उपेक्षा आदि सबै कारणले अब पार्टी सञ्चालन गर्ने क्षमता गुमाइसकेको छ। सबैभन्दा तल्लो तहमा मोहभंग र गहिरो निराशाको स्थिति छ। परिवर्तनको संघारमा उभिएको देशको सबैभन्दा पुरानो पार्टीमा अब पनि बदलाव आएन भने त्यो आन्तरिक कलहमा फँसेर दुर्घटनामा पर्नेछ।
अब के गर्ने त ?
तलका कांग्रेसीको नेतृत्वप्रतिको मोहभंग नयाँ नभए पनि शीर्ष तहले पार्टी हाँक्न नसक्ने परिस्थिति कांग्रेसका लागि नौलो हो। परिवर्तनको यो अंकुरण वास्तविक परिवर्तन बनेर टुसाउन कांग्रेस पार्टीको सचेत तप्काले संगठित प्रयत्नहरू गरेको देखिनुपर्छ, जसले डिलमा उभिएर हेरिरहेको ठूलो जमातलाई तल ओर्लिएर संघर्षको कठीन अभियानमा सरिक हुन प्रेरित गरोस्।
पार्टीमा विद्यमान विकृतिहरूलाई समूल नष्ट गरी संगठनको व्यापक पुनर्गठन गर्ने महत्वाकांक्षी ध्येय त छँदै छ। तर, त्यो टाढाको लक्ष्यलाई हासिल गर्न तगारो बनिरहेको पहिलो पुस्ताको बिदाइ पहिलो चरणको मिसन हुनुपर्छ। यति ठूलो हारपछि पनि नेतृत्वले नैतिक जिम्मेवारी लिँदै बिदा लिने परम्पराको सुरुवात भएन भने फेरि कहिले हुन्छ ? गुटको सहमतिमा विधानविपरीत गरिएका यावत निर्णय खारेज गराउने अभियान चालिनुपर्छ। सम्पूर्ण विकृतिको जड बनेर पार्टीलाई सिद्धान्तच्यूत पार्ने गुटतन्त्रविरुद्ध सानै र सीमित भए पनि प्रत्यक्ष आन्दोलन र विद्रोहको प्रयास देखिनुपर्छ। पार्टीका केही सचेत युवा नेताको देशव्यापी पुनर्जागरण अभियानलाई एउटा संगठित आरम्भ मान्न सकिए पनि त्यसको विस्तार केही समय सुस्त रहनेछ। अथवा भनौं, अन्यायमा परेको कार्यकर्ता अझै केही समय डिलबाट उत्रिन धकाउने छ, किनकि ऊ विद्रोहमा निस्किएपछि भोलि पार्टीभित्र आवश्यक पर्ने सुरक्षा र संरक्षणको सुनिश्चितता चाहन्छ।
त्यस्तो सुनिश्चितता दिन सक्ने हैसियतधारी नेताको खोजी हुँदा कांग्रेसको परम्पराले प्रभावित धेरै मान्छेले शशांक कोइरालातिर आशावादी नजर लाउने गरेका छन्। महान् पिताका पुत्रमा केही न केही वंशाणुगत विशेषता सरेको होला भनेर अपेक्षा रहन्छ नै। आखिर त्यही अपेक्षा गरेरै कांग्रेसजनले भरोसापूर्वक उनलाई सभापतिलाई चुनौती दिन सक्ने हैसियत र पार्टीलाई संकटमुक्त पार्ने दायित्व बोकेको जिम्मेवार पदमा निर्वाचित गरेका हुन्। उनले पिताको सपना र प्रेरक इतिहासमा गर्व गरिराखेको र घरिघरि कांग्रेसलाई बचाउने कुरा गरेको सुनिन्छ, तर त्यसका लागि महत्वपूर्ण नीतिगत हस्तक्षेप गरेर पार्टीको संकट समाधानमा चाहिँ पटक्कै अग्रसरता लिएको देखिन्न।
देशमा यत्रा राजनीतिक उथलपुथल हुँदा उनी कहीँकतै देखिन्नन्, मानौं कांग्रेसमा महामन्त्रीको पदै छैन। लाग्छ, उनी देउवासँग सम्झौताको सजिलो राजनीति गरेर आरामले विरासत धान्ने सुरमा छन्। तर, यही गतिमा कांग्रेस असान्दर्भिक र अस्वीकृत हुँदै जाने अनि आम कांग्रेसजन झन्झन् निराश र आत्मबलहीन हुँदै जाने हो भने स्वयं बीपी इतिहासको कुनै उपेक्षित ‘फुटनोट’मा हराउनेछन्, त्यो पनि कम्युनिस्टहरूले त्यति ठाउँ दिए भने। वास्तवमा, कांग्रेसजनको वर्तमान निराशाको ठूलो दोष त महामन्त्री शशांकको आश्चर्यजनक अकर्मण्यतालाई पनि जान्छ। उस्तै महान् बाबुका अर्का चर्चित छोरा अहिले नेतृत्वको दाबी त गरिरहेका छन्, तर उनी स्थानीय राजनीतिमा यसरी संकुचित भएका छन् कि कांग्रेस पार्टीको वास्तविक आकार र उदार परम्पराको मानौं उनलाई कुनै हेक्का नै छैन।
नेतृत्वसँग सम्झौताको राजनीतिक प्रबन्धमार्फत पद, प्रतिष्ठा र निरीह कार्यकर्तामाथि हैकमको अधिकार हासिल गरेर पार्टीमा प्रभावशाली बनेका दोस्रो तहका कुनै नेतामा पनि परिवर्तनको अग्रसरता लिने नैतिक धरातल छैन। माथिको आशीर्वाद नरहने बित्तिकै तिनको कथित प्रभाव पनि स्वत : धराशयी हुन्छ। त्यसैले निर्वाचन हारेका कांग्रेसका मध्यम कदका नेताहरूमा कहिलेकाहीँ देखिने असन्तोष पार्टी ‘एलिट’हरूको तहमा विकसित हुन खोजिरहेको अन्तर्विरोधको संकेत नभएर आसन्न महासमिति बैठकमा थपिन सक्ने पदाधिकारी पद हत्याउने घुर्की मात्र हो। महाधिवेशमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य बनेका शेखर कोइरालामा यदाकदा देखिने विद्रोह र नैतिक राजनीतिको झिल्को पनि शशांककहाँ बेलाबेला आयोजना गरिने कोइराला वंशको लन्च मिटिङमा निभ्ने गरेको छ।
विडम्बना नै भनौं, राजनीति असल मानिसका कामनाअनुसार सरल रेखामा हिँड्दैन। यावत कमीकमजोरीका बावजुद परिस्थितिले फेरि पनि यही दोस्रो पुस्ताका नेतालाई एउटा अवसर दिनेछ, देउवाको विद्रोही इतिहासबाट प्रेरणा लिएर सम्झौतापरस्त राजनीतिबाट मुक्त हुँदै नेतृत्वको दाबी गर्ने। कुनै ‘प्रभावशाली’ले त्यति आँट गरेर शीर्ष खुड्किलो उक्लिन पनि सक्ला, तर त्यो आवरणको रूपान्तरणमात्र हुनेछ, साँचो अर्थमा पार्टीले खोजेको पुनर्निर्माणको आरम्भ होइन। पार्टी आदर्शप्रति प्रतिबद्ध सक्षम, इमानदार र समर्पित मानिसहरू निर्णायक तहमा नपुगी कांग्रेसको पुनरुत्थान अब असम्भव छ। त्यस्तो नेतृत्व भएको कांग्रेस खोजी रहेको जनतासँग लोकतान्त्रिक फाँटमा अब थुप्रै विकल्प उपलब्ध छन्, जसरी चलेको भए पनि कांग्रेसै रोज्नुपर्ने बाध्यता समाप्त भइसकेको छ।
कसले गर्ला त उद्धार ?
देशैभरिका निष्ठावान् कांग्रेसजनको हृदयमा आक्रोश र असन्तोष भुसको आगोझैं सल्किएको छ। त्यो निभ्नुअघि नै तिनले फेरि एकचोटि बीपीलाई स्मरण गर्दै कांग्रेसलाई यो संकटबाट जोगाउने मिसनमा अग्रसर हुने समय आएको छ। बीपीले सायद यही दुर्दशाको पूर्वानुमान गरेर भनेका थिए- पार्टी सत्तामा आएपछि भुइँफुट्टाहरू हाबी हुनेछन्। त्यसबेला पार्टी शुद्धीकरणका लागि एकचोटि फेरि निष्ठावान् कांग्रेसजनले संघर्ष गर्नुपर्नेछ। हिजो पार्टीको स्थापनाकालदेखिको उद्देश्य बहुलवादमा आधारित लोकतन्त्रिक व्यवस्थाको प्राप्तिका लागि कांग्रेसजनले दलविहीन निरंकुश तानाशाहीदेखि उग्रवामपन्थी प्रवृत्तिजस्ता बाह्य शक्तिका विरुद्ध संघर्ष गर्नुपरेको थियो। पार्टीका समर्पित सिपाहीहरूले अब फेरि संगठनभित्रकै भुइँफुट्टा प्रवृत्तिलाई परास्त गर्ने अर्को लडाइँमा होमिनुपर्ने बेला आएको छ।
हिजो बाहिरका एक्ला राजाविरुद्धको संघर्षभन्दा पार्टीभित्र मौलाएको बहुआयामिक राजशाहीसँगको यो लडाइँ किञ्चित पनि सहज हुने छैन। तर, सच्चा कांग्रेसजनको हृदयको आगोले पार्टी पुनर्जागरणको अभियानमा हिँडेका युवा नेताहरूको अगाडि जाने बाटोलाई प्रज्जवलित गरेर लक्ष्यसम्म पुर्‍याउन सक्छ। तिनैबाट नयाँ नेतृत्व जन्माउन पनि सक्छ। हिजो गणतन्त्रको उद्घोष गर्दा पनि ती सानै थिए, आज पार्टीमा आमूल सुधारको माग गर्दा पनि तिनको हैसियत सानै लाग्छ।
तर, जसरी युवासुलभ एकोहोरो हठले तिनले पार्टीलाई गणतन्त्र स्वीकार्न बाध्य पारे, निरन्तरको प्रयत्नले कांग्रेसलाई पुनःजागृत गर्ने पनि तिनमा सामथ्र्य र सम्भावना छ भन्ने विश्वास किन नगर्ने ? आसन्न महासमिति बैठकमा आफ्नो त्यो भरोसालाई प्रकट गरेर कांग्रेसजनले पार्टीमा ऐतिहासिक हस्तक्षेप गर्न सक्छन्। महासमिति बैठकमा असन्तुष्ट देखिएका ‘प्रभावशाली’हरूको व्यवस्थापनका लागि केन्द्र र प्रदेश तहमा केही पद सिर्जना गरेर पार्टी पुनर्निर्माणको आम आकांक्षालाई समन गर्ने प्रयत्न हुन सक्छ, जसको कठोर प्रतिवाद गर्दै तिनले पार्टीलाई शीघ्र महाधिवेशनसम्म पुर्‍याउन सके भनेमात्र अपेक्षित परिवर्तनको जग खनिने छ।
‘माथि’का ठुल्ठूला नेताहरूले जतिसुकै अकिञ्चन ठाने पनि पार्टीमा कसैको हैसियत निर्धारण गर्ने अन्तिम अधिकार कसैसँग छ भने धरातलमा उभिएर पार्टीको उत्थानका लागि जीवन दिएका तिनै ‘तल’का कर्मठ कांग्रेसजनहरूसँग मात्र छ।
(अन्नपूर्ण पोस्ट, शनिवार, फागुन १२, २०७४ / 24 Feb, 2018)
http://annapurnapost.com/news-details/91764

Tuesday, May 30, 2017

के रुसी जनता युद्ध चाहान्छन् ?


इभ्गेनी एभ्तुसेन्को
के रुसी  जनता युद्ध चाहान्छन् ?
यो प्रश्न त्यो शान्तिलाई सोध
जुन व्याप्त छ खेत र चरनमा
भोजवृक्षको हरियो वनमा
चीरनिन्द्रामा सुतेका ती
वीर योद्धालाई सोध,
तिनका सन्तानले अवश्य भन्छन्
के रुसी जनता साँच्चै
युद्ध चाहान्छन् ? ।।१।।

आफ्नो देशका लागि मात्र
त्यो युद्धमा मरेका थिएनन् सिपाही
ती मरे, सुत्न सकून् शान्तिले भनी
यो विश्वभरि कै दाजुभाइ
मस्त निदाएको न्युयोर्क
ढुक्क सुतेको पेरिस
तिम्रा सपनाले दिऊन् 
जवाफ यो प्रश्नको 
के साँच्चै रुसी जनता 
युद्ध कै पक्षपाती हो ? ।।२।।

नजान्ने त कहाँ हौं लड्न
तर चाहान्नौ फेरि युद्ध चलोस्
चाहान्नौं अब कुनै जवान 
आफ्नै शोकाकुल माटोमा ढलोस्
सोध हाम्रा आमाहरूलाई
र, सोध मेरै पत्नीलाई
के साँच्चै रुसी जनता
अझै चाहान्छन् लडाईं ? ।।३।।

(१९६१) 
 के रुसी  जनता युद्ध चाहान्छन् ? (ХОТЯТ ЛИ РУССКИЕ ВОЙНЫ?) 
शीर्षकको मूल रुसी कविताको भावानुवाद: जुगल भुर्तेल  

Friday, June 17, 2016

‘कवि, तिमी काम चाहिं के गर्छौ ?’

सोभियत साहित्यको पानाबाटः

‘तिमी कवि त नभए पनि हुन्छ, तर नागरिक चाहिं हुनै पर्छ’
– निकोलाइ नेक्रासोभ, रूसी कवि


जोसेफ ब्रोद्स्कीको जन्म सन् १९४० मा रूसको लेनिनग्राद शहरको एउटा यहुदी परिवारमा भएको थियो । तत्कालीन सोभियत सत्ता नारा त ‘अन्तर्राष्ट्रिय जाति’ निर्माणको दिन्थ्यो तर आफ्ना नागरिकलाई हरेक पाइलामा ‘तिमी कुन जाति को’ भनेर सोधिरहन्थ्यो— पुस्तकालयको फारमदेखि स्कूलको हाजिरी कापीसम्म । जातपातका मामिलामा राज्य सत्ता स्वयं यसरी जिज्ञाशु बनेपछि समाजमा असहिष्णुताको अंकुरण त हुने नै भयो । परिणामतः ब्रोद्स्की सानै उमेरमा विभेदको शिकार बने । स्कूलमा सहपाठी मात्र होइन, शिक्षकहरूले समेत बारम्बार उनको आत्मसम्मानमा चोट पुर्‍याइरहेपछि उनी ‘अप्ठ्यारा’ विद्यार्थीमा परिणत हुँदै गए र अन्तत: सात कक्षापछि उनले स्कूलै त्यागिदिए । गरीबी र रोगले च्यापेका माता–पितालाई केही आर्थिक सहयोग गर्न सकिन्छ कि भनेर उनले स्थानीय कारखानामा मेशीन चालकको पदमा नोकरी शुरू गरेका थिए । तर सृजनाको अर्कै मुहान फुटाउने छटपटीले अधीर प्रतिभा स्थायी जागिरमा टिक्न सम्भव भएन । उनी कहिले डाक्टर बन्ने धुनमा स्थानीय जेलको मूर्दाघरमा शरीर विज्ञान विशेषज्ञसँग लाश चिरफार गर्न संलग्न भए त कहिले भूगर्भविद्को टोलीमा सहयोगी बनेर साइबेरिया पुगे । यो अस्वाभाविक भट्काइ (सन् १९५६–६३) को क्रममा उनले १३ ठाउँमा काम थाल्दै छोड्दै गरेका थिए ।

सोभियत स्कूलको औपचारिक शिक्षामा कुनै रुचि नभए पनि उनका डायरीका पानाहरू विस्तारै कवितात्मक भावनाले भरिंदै गएका थिए । त्यस जमानाकी प्रसिद्ध रूसी कवयित्री अन्ना अखमातोभाको संगतमा पुगेपछि उनको प्रतिभा झनै तिखारियो । अखमातोभाले सोभियत राजनीतिक दमनका क्रममा आफ्ना पहिला र दोस्रा पति क्रमशः कवि निकोलाइ गुमिलेभ र निकोलाइ पुनिन तथा कवि साथी ओसिप मान्देल्श्तामलाई गुमाइसकेकी थिइन् । उनका छोरा लेभ गुमिलेभले स्तालिनको श्रमशिविरमा धेरै वर्ष बिताएका थिए । त्यसैले उनका सृजनामा विद्रोहको स्वाभाविक प्रचूरता हुने नै भयो । अखमातोभा जस्ता विद्रोही कविका रचनाले ब्रोद्स्कीलाई कलिलै उमेरमा आकर्षित गर्न थालेका थिए । १७ वर्षको हुँदा नहुँदै स्वयं ब्रोद्स्कीका कविता सार्वजनिक भइसकेका थिए । त्यस बेलाको चलन अनुसार, युवा कविहरू विभिन्न सरकारी क्लब, साहित्यिक समूह आदिमा संलग्न भएर साहित्य सृजनाको तालीम लिने र अनुभव साटासाट गर्ने गर्थे । तर ‘साम्यवादी मापदण्ड अनुकूल’ को सृजना गर्न प्रेरित गर्ने त्यस्तो संकुचित वातावरण ब्रोद्स्कीको स्वभाव र प्रतिभा अनुकूल थिएन । अखमातोभाहरूकै हौसलाले लेनिनग्रादको ‘इन्टलेक्चुअल अण्डरग्राउण्ड’ मा ब्रोद्स्की भित्रको कविले एउटा हैसियत पायो । युवाहरूले निकै मन पराएकोले उनको ख्याति छिट्टै फैलिंदै गयो ।

(लेनिनग्रादमा युवा कवि ब्रोद्स्की) 


स्तालिनको मृत्युपछि सोभियत संघमा राजनीतिक दमनको चक्र केही खुकुलो भए पनि उनका उत्तराधिकारी निकिता ख्रुश्चेवको शासनकालमा ‘साम्यवाद ल्याएरै छाड्ने’ कटिबद्धता झन् घनीभूत भएर आएको थियो । त्यो अठोट पूरा गराउन तत्कालीन सर्वोच्च सोभियत (संसद्) ले ४ मई, १९६१ मा ‘समाज–उपयोगी कामबाट भाग्ने प्रवृत्ति भएका र परजीवी प्रकृतिको असामाजिक जीवन बिताइरहेका मानिस विरुद्धको अभियानलाई सशक्त पार्ने’ एउटा कानूनी आदेश जारी गर्‍यो । त्यस अनुसार कम्तीमा वर्षको चार महीना ‘काम’ नगर्ने मान्छे अबदेखि ‘अपराधी’ मानिने भयो । त्यस्ता ‘अपराधी’ लाई अधिकतम पाँच वर्ष सजाय तोकिएको त्यो कानून मूलतः केही कामै गर्न नचाहने आवारा, जँड्याहा, गुण्डा र असामाजिक चरित्रका मानिसप्रति लक्षित थियो । ब्रोद्स्कीको प्रभावमा परेर लेनिनग्रादका सम्पूर्ण युवा ‘बिग्रिने’ त्रासले आत्तिन थालिसकेको सोभियत सत्तालाई त्राण दिन यही कानूनको हतियार बोकेर अग्रसर भए– ब्रोद्स्कीका छिमेकी एवं सेवानिवृत्त गुप्तचर (केजीबी) अफिसर याकोब लेर्नेर । उनले ब्रोद्स्की जस्ता ‘आवारा’ टाइपका युवकबाट शहरलाई मुक्त पार्ने प्रण गरेका थिए ।

लेर्नेरले २९ नोभेम्बर सन् १९६३ को ‘सन्ध्याकालीन लेनिनग्राद’ मा ‘साहित्यिक सेरोफेरोका कामचोर’ शीर्षकमा ब्रोद्स्कीको चर्को निन्दा गर्दै लेख छपाए । त्यो लेखमा ब्रोद्स्कीले लेखेको ठानिएका केही कविता मात्र उद्धृत गरिएका थिएनन्, उनको लुवाइ (‘मखमली पाइण्ट लाउँछ, हिउँमा पनि टोपी लाउँदैन’), स्वभाव (‘अरू युवा साहित्यकारहरू भन्दा आफूलाई धेरै ज्ञानी ठान्छ’; ‘आफूलाई कविहरूको कवि ठान्ने घमण्डी छ’), साथी–संगीहरू (‘उन्मुक्त जीवनका लागि आफ्नी आमालाई त्यागेर हिंडेकी भोलन्यान्स्काया, आमाको तलबमा बाँचेको श्भेइगोल्च, अपराधी गेइखमान, आवारा स्लाभिन्स्की’) आदिका बारेमा तिखो आलोचना गरिएको थियो । ब्रोद्स्कीको ‘राष्ट्रद्रोही’ छवि निर्माण गर्न उनले उज्वेकिस्तानमा हवाइजहाज अपहरण गर्न खोजेको काल्पनिक घटना समेत त्यो लेखमा अटाएको थियो । ब्रोद्स्की मात्र होइन उनलाई संरक्षण दिनेहरूलाई समेत कारबाहीको माग गर्दै लेर्नेरको आक्रोशपूर्ण लेख यसरी टुङ्गिन्छ– “यति कुरूप छ यो मानिसको अनुहार ! ऊ अन्टसन्ट शिकायत, निराशा र अश्लीलताले भरिएका कविता मात्र लेख्दैन, देशद्रोहको योजना समेत बनाउँछ... कुरा प्रष्ट छ, साहित्यको सेरोफेरोमा पन्पिएको यस्तो परजीवीलाई हामीले पुल्पुल्याउन छाड्नुपर्छ... ब्रोद्स्की जस्ता मानिसका लागि लेनिनग्रादमा कुनै स्थान हुनुहुँदैन ।”

(२९ नोभेम्बर सन् १९६३ को ‘सन्ध्याकालीन लेनिनग्राद’ मा छापिएको लेर्नेरको लेख।  http://ttolk.ru/?p=23152)



त्यसपछिका केही दिनसम्म ‘सन्ध्याकालीन लेनिनग्राद’ मा ब्रोद्स्कीको चरित्रमा प्रश्न उठाउँदै उनलाई लेनिनग्रादबाटै धपाउनुपर्ने माग सहितका क्रूद्ध–पाठकका चिठ्ठीको बाढी नै आयो । शिक्षक, विद्यार्थी, योङ कम्युनिष्ट लिगका युवा, मजदूर वा साधारण श्रमजीवी जनताका नाममा लेखिएका ती पत्रमा ब्रोद्स्की–प्रवृत्तिप्रति गहिरो वितृष्णा व्यक्त गरिएको हुन्थ्यो । कम्युनिष्ट पार्टीको इतिहास विषयका प्रोफेसर स्मिर्नोभले दुःखी हुँदै लेखे, “एकातिर विलक्षण प्रतिभाशाली सोभियत युवा अन्तरिक्षमाथि विजय प्राप्त गर्दै, निस्वार्थ समर्पणका साथ कारखाना र खेतमा श्रम गरेर साम्यवाद निर्माणमा व्यावहारिक योगदान पुर्‍याइरहेका छन्; अर्कातिर अकर्मण्य जीवन बाँचिरहेका त्यस्ता केही युवापनि छन्, जसलाई आफू बाहेक अरू कसैको मतलब छैन ।”

त्रासजन्य मौनताको संस्कृतिले आक्रान्त समाजमा स्वतन्त्रताको कुरा गर्ने वा स्वतन्त्र जस्तो देखिने मानिसहरू ‘खतरनाक’ ठानिन्छन् । ख्रुश्चेवको कम्युनिष्ट सत्तालाई ब्रोद्स्की जस्ता ‘साम्यवाद निर्माण’ मा अवरोध सृजना गर्ने ‘सोभियत मापदण्ड’ विपरितका मान्छे चाहिएका थिएनन् । तर स्तालिनकालमा जस्तो ब्रोद्स्कीलाई ‘सिध्याउन’ लेर्नेरको त्यो लेख मात्र अलि पर्याप्त थिएन । त्यसैले पाठकका नाममा प्रायोजित प्रतिक्रियाहरू उत्पादन गरिए । अन्ततः नागरिक स्वयंसेवीहरूको दस्ताले उनलाई पक्रिएर प्रहरीलाई बुझायो । 

१३ मार्च १९६४ का दिन लेनिनग्राद शहरको देर्झिन्स्की अदालतमा २४ वर्षीय कवि ब्रोद्स्कीको मुद्दामा बहस हुँदै थियो । उनीमाथि युवावर्गमा नकारात्मक प्रभाव पार्ने कविता लेखेको, कामचोर र पराश्रित जीवन बिताएको आरोप थियो । इजलास बाहिरको सूचनापाटीमा टाँसिएको थियोः ‘परजीवी ब्रोद्स्कीसम्बन्धी मुद्दा’ ।

तत्कालीन रूसको लोकप्रिय साहित्यिक पत्रिका ‘लितेरातुरनाया गाजेता’ की पत्रकार एवं साहित्यकार फ्रिदा भिग्दोरोभाले इजलासमा भएको बहसको लुकीछिपी टिपोट गरेकी थिइन् । उनको हस्त–लिखित त्यो टिपोट भूमिगत ढंगले प्रकाशित हुँदै विश्वभरि चर्चित भयो र त्यो सोभियत साहित्यमा तत्कालीन कम्युनिष्ट सत्ताको प्रभाव, स्वतन्त्र बौद्धिक चिन्तनको संघर्ष, साहस र वेदनाको ऐतिहासिक दस्तावेज बन्न पुग्यो ।

(फ्रिदा भिग्दोरोभाले इजलासमा लुकीछिपी गरेको टिपोट । http://arzamas.academy/materials/710)

त्यही टिपोटको आंशिक भावानुवाद तल दिइएको छ:

***************
पहिलो पेशी (१८ फेब्रुअरी १९६४)

न्यायाधीश साभेल्येभाः तपाईं के काम गर्नुहुन्छ ?
ब्रोद्स्कीः कविता लेख्छु । अनुवाद गर्छु । मलाई लाग्छ...
न्यायाधीशः ‘लाग्छ, साग्छ’ का कुरा नगर्नुस् । ठाडो उभिनुस् ! भित्तामा अडेस नलाग्नुस् ! हामीतिर हेर्नुस् ! सीधा सीधा जवाफ दिनुस् ! तपाईंको कुनै स्थायी काम छ ?
ब्रोद्स्कीः मलाई त यो स्थायी काम नै हो जस्तो लाग्छ ।
न्यायाधीशः प्रष्ट जवाफ दिनूस् !
ब्रोद्स्कीः मैले कविता लेखेको छु । मलाई लाग्छ, तिनको प्रकाशन हुने छ । म ठान्छु...
न्यायाधीशः तपाईं के ‘ठान्नु हुन्छ’ हामीलाई कुनै सरोकार छैन । जवाफ दिनुस्, तपाईंले किन कहिल्यै काम गर्नु भएन ?
ब्रोद्स्कीः कामै त गरिराखेको थिएँ । म कविता लेख्थें ।
न्यायाधीशः हामीलाई कवितासँग कुनै मतलब छैन । हाम्रो सरोकार तपाईंले कुन–कुन संस्थामा आवद्ध भएर के कस्तो काम गर्नुभयो भन्ने हो ।
ब्रोद्स्कीः मैले प्रकाशकसँग सम्झौता गरेको छु ।
न्यायाधीशः त्यो सम्झौताबाट आउने पैसाले तपाईंलाई बाँच्न पुग्छ ? कुन मितिमा कति रकमका कस्ता सम्झौता भएका छन्, भन्नुस् त !
ब्रोद्स्कीः ठ्याक्कै सम्झ्ना छैन । सबै सम्झौता मेरा वकीलसँग छन् ।
न्यायाधीशः म तपाईंलाई सोध्दैछु ।
ब्रोद्स्कीः मस्कोमा मैले अनुवाद गरेका दुईवटा किताब निस्केका छन्... (नाम बताउँदै)
न्यायाधीशः तपाईंले कति वर्ष नोकरी गर्नुभयो ?
ब्रोद्स्कीः लगभग...
न्यायाधीशः हामीलाई ‘लगभग’सँग मतलब छैन !
ब्रोद्स्कीः पाँच वर्ष ।
न्यायाधीशः कहाँकहाँ काम गर्नुभयो ?
ब्रोद्स्कीः कारखानामा । भौगर्भिक अनुसन्धान टोलीमा सहयोगी...
न्यायाधीशः कारखानामा कति वर्ष काम गर्नुभयो ?
ब्रोद्स्कीः एक वर्ष ।
न्यायाधीशः के गर्नुभयो ?
ब्रोद्स्कीः मिलको मेशीन चालक ।
न्यायाधीशः तपाईंको विशेषज्ञता चाहिं के मा छ ?
ब्रोद्स्कीः म कवि हुँ । कवि–अनुवादक ।
न्यायाधीशः तपाईंलाई कविको मान्यता कसले दियो ? कविको श्रेणीमा कसले राख्यो ?
ब्रोद्स्कीः कसैले पनि होइन । मलाई मानव जातिको श्रेणीमा पनि कसले राखेको हो र ?
न्यायाधीशः तपाईंले कवि बन्न कहीं पढ्नु भएको छ ? ...तपाईंले कुनै अध्ययन संस्थानमा अध्ययन गर्नु भयो, जहाँ तालिम दिन्छन्... सिकाउँछन्... ?
ब्रोद्स्कीः पढेर–तालीम लिएर कविता लेख्न सिकिन्छ भन्ने ठान्दिन ।
न्यायाधीशः अनि के गरेर जानिन्छ त ?
ब्रोद्स्कीः मेरो विचारमा, यो... (अकमकाउँदै)... ईश्वरीय...
न्यायाधीशः अदालतसँग तपाईंको कुनै अनुरोध छ ?
ब्रोद्स्कीः म जान्न चाहन्छु, मलाई कुन अपराधमा गिरफ्तार गरिएको हो ?
न्यायाधीशः यो प्रश्न हो, अनुरोध होइन ।
ब्रोद्स्कीः त्यसो भए मेरो कुनै अनुरोध छैन ।

त्यसपछि ब्रोद्स्कीको पक्षबाट बहस गरिरहेकी वकील तोपोरोभाले अघिल्लो वर्ष ब्रोद्स्कीलाई मानसिक अस्पतालमा भर्ना गरेर केही दिन उपचार गरिएको; जेलमै राख्नुपर्ने गरी ब्रोद्स्कीले कुनै ठूलो अपराध नगरेको र लेनिनग्रादमा उनको स्थायी बसोबास भएकोले चाहिएको बेलामा हाजिर हुने गरी उनलाई रिहा गर्न अदालतसमक्ष दलिल गरिन् । ब्रोद्स्कीको अनुवादको स्तर मुल्याङ्कनका लागि सरकारी अनुवाद ब्यूरोमा पठाउन तथा प्रकाशकहरूसँग भएका सबै सम्झौता र तिनले ‘चाँडै काम सक्न’ ताकेता गरेका टेलिग्रामलाई समेत प्रमाणको रूपमा लिन पनि उनले अदालतसमक्ष अनुरोध गरिन् । 

त्यस दिनको कारबाही अन्त्य गर्दै अदालतले ब्रोद्स्कीलाई कुनै मानसिक रोग लागे–नलागेको र दुर्गम ठाउँमा अनिवार्य श्रम गर्न योग्य रहे नरहेको ठहर गर्न स्थानीय प्रहरीमार्फत स्वास्थ्य परीक्षण गराउने आदेश दिन्छ । 

न्यायाधीशः तपाईंलाई केही भन्नु छ ?
ब्रोद्स्कीः मेरो एउटा अनुरोध छ, मलाई जेलमा कागज र कलम उपलब्ध गराइयोस् ।
न्यायाधीशः त्यो त प्रहरी अधिकृतसँग माग्नुस् । 
ब्रोद्स्कीः मैले आग्रह गरेको हो, तर उहाँले अस्वीकार गर्नुभयो । मलाई कागज र कलम दिइयोस् ।
न्यायाधीश (अलि नरम हुँदै):  हुन्छ, म भन्दिउँला ।

न्यायाधीश साभिल्येभाले इजलासबाट बाहिर निस्कँदै गर्दा, करिडोर र भर्‍याङमा ठूलो भीड देखिन् । ब्रोद्स्कीको मुद्दाले शहरको साहित्यिक जगतमा राम्रै तरंग ल्याएकोले त्यहाँ ठूलो संख्यामा युवा जम्मा भएका थिए ।

न्यायाधीशः कति धेरै मान्छे ! यति धेरै आउलान् जस्तो त लागेको थिएन ! 
भीडबाट कोहीः कविलाई घरिघरि कठघरामा उभ्याउँदैनन् नि !
न्यायाधीशः हामीलाई के वास्ता–कवि होस् कि जो होस् !

दोस्रो पेशी (१३ मार्च १९६४)


(अदालतमा ब्रोद्स्कीको मुद्दामाथि बहस हुँदै । फोटो: एन. याकिमचुक, http://www.kommersant.ru/gallery/2394877)

अदालतमा पेश गरिएको स्वास्थ्य परीक्षणको निष्कर्षः मनोरोगका लक्षण देखिए पनि श्रमयोग्य भएको हुँदा प्रशासकीय कारबाही गर्न मिल्ने ।

बुझदै जाँदा ब्रोद्स्कीलाई आफ्नो मुद्दा सम्बन्धी कागजात दोस्रो पेशीसम्म पनि हेर्न दिइएको रहेनछ । दोहोर्‍याएर गरेको आग्रहपछि दिइएको आरोपपत्रमा उनले तत्काल पत्ता लगाउँछन्— पृष्ठ १४१, १४३, १५५, २०० र २३४ मा उल्लेख गरिएका कविता उनका होइनन् !

न्यायाधीशः नागरिक ब्रोद्स्की ! सन् १९५६ देखि अहिलेसम्म तपाईंले १३ ठाउँमा काम गरेको देखिन्छ । एक वर्ष कारखानामा काम गरेपछि फेरि ६ महीना त्यसै बस्नुभयो । गर्मी याममा भूगर्भविद्हरूको टोलीमा जानुभयो र फेरि चार महीना काम गर्नु भएन ... (यसैगरी अरू कामको पनि चर्चा गर्दै) अदालतलाई बुझउनुस् त यसरी हरेक पटक बीचबीचमा काम नगरी पराश्रित जीवन किन बिताउनुभयो ?
ब्रोद्स्कीः मैले बीचबीचमा पनि काम गरेको छु । म त्यसबेला पनि त्यही काम गर्थें, जुन अहिले गर्छु, म कविता लेख्थें ।
न्यायाधीशः अर्थात्, तथाकथित कविता लेख्नुभयो ! तर त्यति धेरै पटक काम गर्ने ठाउँ फेरेर तपाईंलाई फाइदा चाहिं के भयो ?
ब्रोद्स्कीः मैले १५ वर्षको उमेरदेखि काम गर्न थालेको हुँ । मलाई सबै चिज रोचक लाग्थे । मैले धेरै काम फेरें किनकि म जीवन र जगतका बारेमा धेरैभन्दा धेरै बुझन चाहन्थें । 
न्यायाधीशः अनि मातृभूमिका लागि उपयोगी काम चाहिं के गर्नुभयो ?
ब्रोद्स्कीः मैले कविता लेखें । यही नै मेरो काम हो । मलाई विश्वास छ... मैले जे लेखेको छु, त्यो आज मात्र होइन भविष्यको पिंढीलाई पनि उपयोगी हुनेछ ।
भीडबाट आवाज आउँछः हेर त ! कत्रो फुर्ती !
अर्को आवाजः ऊ कवि हो । उसले त्यसरी नै सोच्नुपर्छ !
न्यायाधीशः अर्थात्, तपाईंलाई आफ्ना तथाकथित कविताले जनताको हित गर्छ भन्ने लाग्छ?
ब्रोद्स्कीः तपाईं किन मेरा कवितालाई ‘तथाकथित’ भन्नुहुन्छ ? 
न्यायाधीशः किनकि त्यस बाहेक तिनका बारेमा हाम्रा अन्य कुनै धारणा छैनन् ।
सोरोकिन (सरकारी वकील): तपाईंले भावी पिंढीको कुरा गर्नुभयो । के तपाईं आफूलाई आजकाले बुझदैनन् भन्ने ठान्नुहुन्छ ?
ब्रोद्स्कीः मैले त्यसो भनिनँ । मेरा कविताहरू अझै अप्रकाशित छन् र मानिसलाई तिनका बारेमा धेरै थाहा छैन ।
सोरोकिनः तपाईं आफूलाई निकै जिज्ञाशु ठान्नुहुन्छ । तर सोभियत सेनामा चाहिं किन सेवा गर्न चाहनु भएन ? 
ब्रोद्स्कीः मलाई सैन्य सेवाबाट मुक्त गरिएको थियो । नचाहेको होइन, उन्मुक्ति दिइएको । यी फरक कुरा हुन् । मलाई दुई पटक उन्मुक्ति दिइएको थियो । पहिलो पटक पिताको स्वास्थ्यका कारण र अर्को पटक मेरो आफ्नै रोगले गर्दा । 
सोरोकिनः तपाईंको कमाइले जीवन निर्वाह हुन्छ ?
ब्रोद्स्कीः हुन्छ । जेलमा हुँदा मैले सधैं हरेक दिन मेरो खानपानमा ४० कोपेक (पैसा) खर्च भएको कागजमा हस्ताक्षर गरेको छु । तर म दैनिक ४० कोपेक भन्दा बढी नै कमाउँथें ।
सोरोकिनः लुगाफाटो, जुत्ता पनि त लगाउनु पर्छ नि, होइन ?
ब्रोद्स्कीः मसँग एउटा कोट छ । पुरानो छ, तर अब जस्तो छ त्यस्तै छ । मलाई अर्को चाहिएको छैन । 
तोपोरोभा (ब्रोद्स्कीकी वकील): विशेषज्ञहरूले तपाईंका कविताको मूल्याङ्कन गरेका छन् ?
ब्रोद्स्कीः छन् । चुकोभ्स्की र मार्शाकले मेरो अनुवादको धेरै प्रशंसा गरेका छन् । वास्तवमा, मेरो काम त्यति धेरै प्रशंसायोग्य छैन ।
न्यायाधीशः ल भैगो, ब्रोद्स्की, अदालतलाई बताउनुस्– एउटा नोकरी र अर्को नोकरीको बीचमा तपाईं केही काम नगरी किन बस्नुभयो ?   
ब्रोद्स्कीः मैले काम गरेको छु । कविता लेखें ।
न्यायाधीशः तर यसले तपाईंलाई काम गर्न त बाधा हुँदैनथ्यो नि... ! हेर्नुस्, अरू मान्छेहरू पनि त छन्, जो कारखानामा काम गर्छन् र कविता पनि लेख्छन् । तपाईंलाई त्यसो गर्न केले रोक्यो ? 
ब्रोद्स्कीः तर सबै मानिसहरू एकै किसिमका कहाँ हुन्छन् र ! तिनको कपालको रंग, अनुहारको भाव समेत फरक हुन्छ ।  
न्यायाधीशः यो तपाईंको आविष्कार होइन, सबैलाई थाहा भएको कुरा हो ! ल भैगो भन्नुस् त, साम्यवाद प्राप्तिको हाम्रो महान् अग्रगामी अभियानमा तपाईंको सहभागितालाई कसरी मूल्याङ्कन गर्ने ? 
ब्रोद्स्कीः साम्यवादको निर्माण गर्नु भनेको कारखानाको मेशीनका अगाडि उभिनु वा खेत जोत्नु मात्र होइन । यो बौद्धिक कर्म पनि हो, जसले...
न्यायाधीशः भयो, भयो..ठूल्ठूला गफ नछाँट्नुस् ! भविष्यमा जीविकोपार्जनका लागि तपाईंले के गर्ने सोच्नुभएको छ ?
ब्रोद्स्कीः म कविता लेख्न र अनुवाद गर्न चाहन्छु । अब यो कुनै परम्परागत मापदण्डको प्रतिकूल हुन्छ भने म स्थायी जागिरमा भर्ती त होऔंला, तर पनि कविता लेख्न त छाड्दिनँ ।
त्याग्ली (जुरी सदस्य): हाम्रो देशमा सबै काम गर्छन् । तपाईंले चाहिंं त्यति लामो समयसम्म कसरी आवारागर्दी गर्न सक्नुभयो हँ ? 
ब्रोद्स्कीः तपाईं मेरो कामलाई काम मान्नु हुन्न । मैले कविता लेखें र म यसलाई काम गरेको मान्छु ।
न्यायाधीशः पत्रिकामा छापिएको तपाईं सम्बन्धी लेख पढेर तपाईं कुनै निष्कर्षमा पुग्नुभयो ?
ब्रोद्स्कीः लेर्नेरको लेख पूर्णतः कपोलकल्पित छ । मेरो एकमात्र निष्कर्ष यही हो ।
तोपोरोभा (ब्रोद्स्कीकी वकील): तपाईंले ‘सन्ध्याकालीन लेनिनग्राद’ मा छापिएको लेख भ्रामक छ भन्नुभयो । किन ?
ब्रोद्स्कीः त्यसमा मेरो नाम र थर मात्र सही छ । उमेर पनि गलत लेखिएको छ । त्यहाँ उद्धृत गरिएका कविता समेत मेरा होइनन् । लेखमा जसलाई मेरा साथीहरू भनिएको छ, तिनलाई म राम्ररी चिन्दा पनि चिन्दिनँ । त्यस्तो झूटो लेखोटलाई सही मानेर कसरी म कुनै निष्कर्षमा पुग्न सक्छु ?
 
न्यायाधीशले मुद्दाको पहिलो साक्षी नाताल्या ग्रुदिनिनालाई बोलाउँछिन् । ११ वर्षभन्दा माथिका नवोदित कविहरूलाई तालिम दिने, तिनका सृजनाको संग्रह निकाल्न सहयोग गर्ने आदि काम गरिरहेकी ग्रुदिनिना शहरका प्रायः सबै युवा कविहरूको बारेमा आफूलाई राम्रो जानकारी रहेको दाबी गर्छिन् ।  

ग्रुदिनिनाः मैले ब्रोद्स्कीका १९५९ देखि १९६० सम्मका कविता पढेकी छु । ती अझै आलाकाँचै त थिए, तर तिनमा आकर्षक बिम्ब र कल्पनाको प्रयोग भएको भने देखिन्थ्यो । त्यसपछिका उनका सृजनाका बारेमा म अनभिज्ञ रहेकाले सन्ध्याकालीन लेनिनग्राद मा लेर्नेरको लेख छापिएपछि मैले ब्रोद्स्कीलाई बोलाएर उनका अनुवादहरूको पाण्डुलिपि मागेकी थिएँ । म साहित्य समालोचक र स्वयं कवि भएको नाताले के विश्वास दिलाउन चाहन्छु भने ब्रोद्स्कीले गरेका अनुवाद उच्च व्यावसायिक स्तरका छन् ।
न्यायाधीशः ल भैगो, ब्रोद्स्कीका कविताका बारेमा चाहिं तपाईंको धारणा के छ ?  
ग्रुदिनिनाः मेरो विचारमा, उनी अत्यन्त प्रतिभाशाली कवि हुन् र आफूलाई व्यावसायिक अनुवादक ठान्नेहरू भन्दा धेरै राम्रा अनुवादक हुन् ... युवा लेखकको मिहिनेतलाई उसले तत्काल कमाएको पैसामा जोख्नुहुँदैन । तरुण लेखक असफल पनि हुन सक्छ, उसले लामो समय लगाएर अर्को नयाँ सृजना गर्नुपर्ने हुन सक्छ । एउटा रमाइलो भनाइ छ– आवारा र युवा कविमा के फरक छ भने, ‘आवाराले काम गर्दैन तर खान्छ, युवा कवि काम चाहिं गर्छ तर सधैं नखान पनि सक्छ ।’
न्यायाधीशः तपाईंको यो भनाइ हामीलाई मन परेन । हाम्रो देशमा हरेक व्यक्तिले आफ्नो श्रमको उचित प्रतिफल पाउँछ । त्यसैले धेरै काम गरेर थोरै पाउने कुरा असम्भव छ । हामीले युवा कविहरूका लागि भनेर यति धेरै साधन–स्रोत छुट्याएका छौं, अनि तपाईं चाहिं ती भोकै रहन्छन् भन्नुहुन्छ । किन त्यसो भन्नुभयो ?
ग्रुदिनिनाः मैले त्यसो भन्न खोजेको होइन । मैले शुरूमै भनेकी थिएँ कि यो एउटा ठट्टा हो, तर यसमा सत्यको केही अंश अवश्य छ । युवा कविहरूको आम्दानी अत्यन्त अनियमित हुन्छ । 

एफिम एतकिन्द (लेखक संघका सदस्य, गेर्चेन स्मृति शिक्षा–विज्ञान इन्ष्टिट्यूटका अध्यापक): म अनुवाद क्षेत्रका नवप्रवेशीलाई तालिम दिने काम गर्छु । त्यसैले मैले धेरै युवा साहित्यकारहरूको अनुवाद पढेको र सुनेको छु । यसै क्रममा एक वर्ष अघि ब्रोद्स्कीले अनुवाद गरेको पोल्याण्डका प्रसिद्ध कवि गोजिन्स्कीका कविताहरूको अनुवाद हेर्ने मौका पाएको थिएँ । त्यसको शैलीगत स्पष्टता, गेयात्मकता, आवेग र छन्दको ऊर्जाले ममाथि निकै ठूलो प्रभाव पारे । ब्रोद्स्कीले कसैको सहयोग बिना आफ्नै प्रयत्नले पोलिस भाषा सिकेको थाहा पाउँदा म आश्चर्यचकित भएँ ... मैले तुरुन्तै बुझें, मेरो भेट निरन्तर काममा लागिरहने धैर्य भएको असाधारण प्रतिभाशाली व्यक्तिसँग भएको छ... मैले उनीसँग धेरै वार्तालाप गरेको छु र उनको अमेरिकी, बेलायती र पोलिस साहित्यको ज्ञानले मलाई चकित पारेको छ ... मिहिनेत, ज्ञान र प्रतिभाको संयोजन चाहिने हुँदा कविताको अनुवाद साह्रै कठिन काम हो । यो बाटोमा हिंड्ने लेखकले असंख्य असफलताबाट गुज्रिनु पर्छ । भौतिक प्रतिफल त निकै टाढाको विषय हो । कैयौं वर्ष अनुवाद गर्दा पनि एक रुबल (रुपैयाँ) कमाइ नहुन सक्छ । यसका लागि कविता र स्वयं कामप्रति निस्वार्थ लगाव चाहिन्छ । ब्रोद्स्कीलाई कवि–अनुवादकको हैसियतले काम गर्ने अवसर दिनुपर्छ । मलाई विश्वास छ यो क्षेत्रमा उनको ठूलो भविष्य छ... बाहिर टाँसिएको ‘परजीवी ब्रोद्स्कीसम्बन्धी मुद्दा’ भन्ने सूचनाले मलाई निकै विस्मित तुल्यायो.. अदालतमा त्यस्तो वाक्य स्वीकार्य हुन्छ भन्ने सोचेको थिइनँ... उनी जस्तो सिर्जनात्मक प्रतिभा भएको व्यक्तिले चाहँदा आँखामा छारो हाल्न केले रोक्थ्यो ? सहजतापूर्वक काम गर्ने वातावरण भएको भए उनले सयौं लाइन अनुवाद गर्न सक्थे । उनले थोरै पैसा कमाउनुको अर्थ उनी परिश्रमी छैनन् भन्ने होइन । 
  
स्मिर्नोभ (अभियोजन अर्थात् सरकारी पक्षका साक्षी, रक्षागृह प्रमुख): व्यक्तिगत रूपमा म ब्रोद्स्कीलाई चिन्दिनँ । तर सबै जनताले ब्रोद्स्कीकै जस्तो व्यवहार गर्न थाले भने हामीले धेरै कालसम्म साम्यवादको निर्माण गर्न सक्दैनौं । मान्छेको बुद्धि खतरनाक हतियार पनि हो । यहाँ धेरैले उनी अपूर्व प्रतिभाशाली छन् भने, तर कसैले भनेन उनी कस्ता मानिस हुन् । बौद्धिक परिवारमा हुर्किएर पनि उनको शैक्षिक योग्यता सात कक्षा मात्र छ । लौ, यहाँ उपस्थित मान्छेले भनुन्– के तिनीहरू सात कक्षा मात्रै पढेको छोरो चाहन्छन् ? ... उनी प्रतिभाशाली अनुवादक हुन् भनियो, तर किन कसैले भनेन कि उनको दिमाग गोलमाल छ ? फेरि ती सोभियत विरोधी कविताका लाइनहरू ? ... उनले आफ्ना थुप्रै विचार बदल्नुपर्छ.. अनिवार्य श्रम गर्न लगाएर उनको उपचार गरिनुपर्छ ।    
ब्रोद्स्कीः ...मेरो बारेमा तपाईंलाई यति धेरै कसरी थाहा भयो ?
स्मिर्नोभः मैले तपाईंको व्यक्तिगत डायरी पढेको छु ... कविता पढेको छु । 
वकील तोपोरोभाः यो मुद्दाका कागजातमा ब्रोद्स्कीले नलेखेका केही कविता पनि परेका छन् । तपाईं त अझ् अहिलेसम्म छापिंदै नछापिएका कविताका बारेमा कुरा गर्दै हुनुहुन्छ । तपाईंले पढेका कविता उनैले लेखेका हुन् भनेर कसरी विश्वस्त हुन सक्नुहुन्छ ? 
स्मिर्नोभः मलाई थाहा छ भनेपछि कुरै सकियो नि...

लोगुनोभ (सरकारी पक्षका साक्षी, हेर्मिटेज संग्रहालयका आर्थिक विभागका उपनिर्देशक): म ब्रोद्स्कीलाई चिन्दिनँ । मैले पहिलो पटक उनलाई यही अदालतमा देखेको हुँ । ब्रोद्स्कीको जस्तो जीवन अब स्वीकार्य छैन । उनी जस्तो सन्तान हुने बाबुआमाप्रति मेरो सहानुभूति छ.. म के भन्न चाहन्छु भने आफूले जानेको सांस्कृतिक सीपको पूर्ण सदुपयोग र कठोर श्रम गर्नुपर्छ । त्यसबेला मात्र उनले लेखेका कविता वास्तविक कविता हुनेछन् । ब्रोद्स्कीले आफ्नो जीवन फेरि शुरू गर्नुपर्छ ।

देनिसोभ (सरकारी पक्षका साक्षी, पाइप ओछ्याउने श्रमिक): म ब्रोद्स्कीलाई चिन्दिनँ । उनका बारेमा पत्रपत्रिकामा छापिएका समाचारबाट मैले उनलाई चिनेको हुँ । म यो देशको नागरिक र समाजको प्रतिनिधिको रूपमा यहाँ उपस्थित भएको हुँ । उनका बारेमा पढेर मलाई निकै रिस उठेको छ । उनको किताब पढौं भनेर पुस्तकालय गएँ– केही भेटिएन । परिचित साथीहरूलाई सोधें– अहँ, कसैले चिन्दैन । हेर्नुस्, म श्रमिक हुँ । मेरो सम्पूर्ण जीवनमा मैले जम्मा दुई पटक जागिर बदलेको छु । ब्रोद्स्कीलाई हेर्नुस् त !... के उनी द्वन्द्वात्मक भौतिकवादसँग सहमत छैनन् ? एङ्गेल्सका अनुसार– ‘श्रमले मानिसको निर्माण गरेको हो ।’ तर ब्रोद्स्की यो कथनसँग सहमत छैनन् । हुन सक्छ, उनी निकै प्रतिभाशाली होलान्, तर हाम्रै साहित्यमा आफ्नो बाटो किन पहिल्याउन सक्दैनन् ? एउटा श्रमिकको रूपमा म उनको कामगराइबाट पटक्कै सन्तुष्ट छैन । 

निकोलायभ (सेवानिवृत्त राष्ट्रसेवक): व्यक्तिगत रूपमा म ब्रोद्स्कीलाई चिन्दिनँ...म एउटा पिता हुँ र आफ्नो व्यक्तिगत अनुभवका आधारमा भन्न सक्छु, कुनै काम नगर्ने छोरो हुनु कति कठिन कुरा हो... मेरो छोरोले उनका कविताहरू पढेको धेरै चोटि देखेको छु... अहिले ब्रोद्स्कीलाई सुन्दै गर्दा आफ्नो छोरो भर्खरै चिनें जस्तो लाग्दैछ । मेरो छोरो पनि आफूलाई अपूर्व बुद्धि भएको मनुष्य ठान्छ...। कविताको ढाँचा हेर्दा ब्रोद्स्की कविता त लेख्न सक्छन् जस्तो लाग्छ । तर ती कविताले अनिष्ट सिवाय केही निम्त्याएनन् । ब्रोद्स्की परजीवी मात्र होइनन्, आक्रामक परजीवी हुन् ! उनी जस्ता मान्छेलाई कुनै सहानुभूति नदेखाइ कठोर दण्ड दिनुपर्छ । (हलमा ताली बज्छ) ।

रोमाशोभा (मुखिना विद्यालयमा मार्क्सवाद–लेनिनवादकी शिक्षक): म ब्रोद्स्कीलाई व्यक्तिगत रूपमा चिन्दिनँ । तर मलाई उनका कथित क्रियाकलापका बारेमा थाहा छ । पुश्किनले भनेका छन्– प्रतिभा भनेको मूलतः परिश्रम हो । तर ब्रोद्स्की ?  के उनले आफ्ना कवितालाई जनस्तरमा बोधगम्य बनाउन परिश्रम गरेका छन् ? ... यस्तो शायद सोभियत संघमा मात्र सम्भव छ कि न्यायालयले यति कृपापूर्वक कविसँग संवाद गरोस्, यति मित्रतापूर्वक उनलाई पढ भनेर सल्लाह देओस् ! म आफ्नो विद्यालयको पार्टी संगठनको सचिवका नाताले भन्न चाहन्छु, ब्रोद्स्की युवावर्गमा नकारात्मक प्रभाव छाड्दैछन् । 

अद्‍मोनी (गेर्चेनस्मृति इन्ष्टिट्यूटका प्रोफेसर, भाषाविद्, समालोचक, अनुवादक): ब्रोद्स्कीमाथि परजीवी भएको आरोपमा मुद्दा चलेको थाहा पाएपछि अदालतलाई केही भन्नु मैले आफ्नो दायित्व सम्झेको छु । तीस वर्ष युवाहरूसँग काम गरेको, उच्च शैक्षिक प्रतिष्ठानमा प्राध्यापन गरेको र धेरै समयदेखि अनुवादकर्ममा संलग्न भएको आधारमा मलाई यो अधिकार छ भन्ने ठान्छु । मेरो उनीसँग व्यक्तिगत चिनजान छैन भने पनि हुन्छ । हामी अभिवादन त गर्छौंं, तर आजसम्म दुई वाक्य पनि बोलेका छैनौं । तर विगत एक वर्षदेखि निकै नजिकबाट उनको अनुवादलाई नियालिरहेको छु, किनकि ती सुन्दर र प्रतिभापूर्ण छन् । गोजिन्स्की, फेर्नान्देज (क्युबाली कवि) को जुन अनुवाद उनले गरेका छन्, त्यसका आधारमा म विश्वासका साथ भन्न सक्छु, त्यसमा ठूलो मिहिनेत परेको छ । त्यसले अनुवादकको असाधारण सीप र संस्कृतिलाई प्रमाणित गर्छ ... जुन कानूनी व्यवस्थाका आधारमा उनी आरोपित भएका छन्, त्यो वास्तवमा थोरै काम गर्नेका विरुद्धमा लक्षित कानून हो, न कि थोरै कमाउनेका विरूद्ध ... त्यसैले ब्रोद्स्कीलाई परजीवीको आरोप लगाउनु हास्यास्पद छ । ब्रोद्स्की जस्तो कठोर र धेरै मिहिनेत गर्ने मानिस, जसले आफ्नो सीपलाई तिखार्न र उत्कृष्ट साहित्यिक कृतिको सृजना गर्न आफ्ना आवश्यकतालाई सीमित गरेको छ, त्यस्तो मानिसलाई पराश्रितको आरोप लगाउन मिल्दैन ।  
न्यायाधीशः तपाईंले के भन्न खोज्नुभएको ? के तपाईंले ४ मईको आदेश पढ्नुभएको छैन ? लाखौं मानिसले मिहिनेत गरे मात्र साम्यवादको निर्माण हुन सक्छ । 
अद्‍मोनी: समाजका लागि लाभदायक हरेक काम आदरणीय हुनु पर्छ । 
.
.
.
[अरु धेरै साक्षीहरुको यस्तै प्रकृतिका बयान यहाँ राखिएको छैन- लेखक]

सरकारी वकील सोरोकिनः (समापन टिप्पणी गर्दै) हाम्रा महान् जनता साम्यवाद निर्माणमा लागेका छन् । सोभियत संघका नागरिकमा समाज–उपयोगी श्रममा रमाउने विलक्षण विशिष्टता विकसित हुँदैछ । त्यो समाजको मात्र उन्नति हुन्छ, जहाँ अकर्मण्यता छैन । ब्रोद्स्कीमा राष्ट्रप्रेमको कुनै भाव नै छैन । ‘काम नगर्नेले खान पाउँदैन’ भन्ने मुख्य सिद्धान्तलाई उनले बिर्सेका छन् । ब्रोद्स्की विगत धेरै वर्षदेखि एउटा परजीवीको जीवन बाँचिरहेका छन्... । ब्रोद्स्की कवि नभएर कविता लेख्न प्रयास गरिरहेका मानिस हुन् । उनले भुलिसके कि हाम्रो देशमा हरेक व्यक्तिले काम गर्नु पर्छ, मेशीन, रोटी आदिको मूल्य सृजना गर्नुपर्छ । ब्रोद्स्कीलाई बल प्रयोग गरेर श्रम गर्न बाध्य बनाउनुपर्छ, शहरबाट बाहिर निकाल्नुपर्छ । उनी–परजीवी, असभ्य, आवारा र फोहोरी विचार भएका मानिस हुन् ... नेक्रासोभ (रूसी कवि) ले भनेकै छन्, ‘तिमी कवि त नभए पनि हुन्छ, तर नागरिक चाहिं हुनै पर्छ’ ।  

ब्रोद्स्की पक्षले प्रकाशकसँगको सम्झौता, सोभियत लेखक संघको सिफारिश, मानसिक रोगको इतिहास, अभियोजन पक्षले प्रस्तुत गरेका कविता उनका नभएको प्रमाण, विपक्षमा बोल्ने साक्षीहरूले उनलाई नचिनेको र उनका कविता खासै नपढेको, उनका केही ‘आपत्तिजनक’ ठानिएका कविता अझै अप्रकाशित रहेको र उनी १६ वर्ष हुनु अगावै लेखिएको आदिका आधारमा ब्रोद्स्कीलाई सजाय दिन नमिल्ने जिकिर गर्‍यो ।  

तर अदालतको फैसला अनपेक्षित थिएन । फैसलामा भनियो– ‘ब्रोद्स्कीले धेरै ठाउँ काम गर्दै छाड्दै गरेबाट उनले जानाजान सोभियत नागरिकको समृद्धि सृजना र व्यक्तिगत व्यवस्थापन गर्ने दायित्व पूरा नगरेको प्रमाणित हुन्छ । सन् १९६१ मा राष्ट्रिय सुरक्षा मन्त्रालय र १९६२ मा प्रहरीद्वारा चेतावनी दिए पनि उनले कुनै स्थिर काम नगरी आवारागर्दी र अनैतिक कविता लेख्न र सुनाउन नछाडेको देखिन्छ । युवा कविहरू सम्बन्धी समितिको रिपोर्ट अनुसार उनी कवि होइनन् । ‘सन्ध्याकालीन लेनिनग्राद’ का पाठकहरूले उनको निन्दा गरेका छन् । यिनै तथ्यहरूका आधारमा अदालत ब्रोद्स्कीलाई पाँच वर्षका लागि कुनै सुदूर स्थानमा आन्तरिक निर्वासनमा पठाएर अनिवार्य शारीरिक श्रम गराउने आदेश दिन्छ ।’

अदालतको सुरक्षा गार्ड (ब्रोद्स्कीको वकील छेउ गएर): के छ ? हारियो होइन त कामरेड वकील !

(यो बयानको मूल रूसी पाठ: सुदिलिश्ये, फ्रिदा भिग्दोरोभा, ओगोन्योक, नं ४९/१९८८ ।www.politnauka.org/library/russia/vigdorova.php वा http://polit.ru/article/2004/03/14/brodsky1/ मा उपलब्ध छ) 


(संध्याकालीन लेनिनग्रादमा प्रकाशित ब्रोद्स्कीको मुद्दाको फैसला सम्बन्धि समाचार)  



********** 

यावत प्रतिकूलताका बाबजूद रूसी सृजनात्मक परम्पराको गौरवलाई बचाइराख्न कटिबद्ध अखमातोभा, भिग्दोरोभा, दमित्री शोस्ताकोभिच, येभ्गेनी एभ्तुशेन्को, सामुइल मार्शाक, कोर्नेइ चुकोभ्सकी, नाताल्या ग्रुदिनिना जस्ता स्रष्टाहरूको अथक प्रयासले पाँच वर्षका लागि शहर निकाला गरिएका ब्रोद्स्की डेढ वर्षमै लेनिनग्राद फर्किएर आए । फ्रान्सेली दार्शनिक साहित्यकार जाँ–पल सार्त्रले पनि सोभियत सत्तासँगको आफ्नो निकटता ब्रोद्स्कीको रिहाइका लागि प्रयोग गरेका थिए । उनको न्यायिक संघर्षलाई लिपिबद्ध गरेर विश्व प्रसिद्ध गराइदिने भिग्दोरोभासँग उनको भेट हुन भने लेखिएको रहेनछ । सेप्टेम्बर १९६५ मा रिहा भएर ब्रोद्स्की आफ्नो शहर फर्कंदा त्यसको एक महीना अघि नै भिग्दोरोभाको क्यान्सरले मृत्यु भइसकेको थियो । 

(ब्रोद्स्कीको न्यायिक संघर्षलाई ठूलो साहसका साथ विश्वप्रसिद्ध गराइदिने रुसी पत्रकार, साहित्यकार फ्रिदा अब्रामोभ्ना भिग्दोरोभा)  

उनको पक्षमा बहस गर्ने ग्रुदिनिना, एतकिन्द, आद्‍मोनी आदि सबैका बारेमा अदालतले ‘उनीहरूमा वैचारिक जागरण र पार्टीका आदर्शप्रति लगाव नरहेको’ कठोर टिप्पणी गरेपछि तिनको जीवनमा ठूलै ग्रहण लाग्यो । ग्रुदिनिनालाई उनी आवद्ध सबै साहित्यिक संस्थाबाट हटाइयो, धेरै वर्षसम्म उनका कृतिहरू छापिएनन् । एतकिन्दलाई त कालान्तरमा लेखक संघबाट हटाइएन मात्र, प्रोफेसर पद खोसेर देशै निकाला गरियो ।

ब्रोद्स्की लेनिनग्राद फर्किंदा ख्रुश्चेभ सत्ताच्यूत भइसकेका थिए,  तर पहिले झैं उनका कविता छाप्ने अझै कोही थिएन । अनुवाद बापत पाइने अलिअलि पैसा र साथीभाइको सहयोगले गुजारा चलाइराखेका युवा कविका बिद्रोही कविता, तिखा भाषण, आक्रामक प्रस्तुतिहरू सोभियत शासकका लागि झन् झन् टाउको दुखाइको विषय बन्दै गए । अन्ततः उनलाई एकदिन अध्यागमन विभाग बोलाइएर रोज्न लगाइयोः साइबेरियाको श्रम शिविर वा नागरिकता त्यागेर विदेश निर्वासन !? यसरी सन् १९७२ मा विकल्पहीन बनेर ब्रोद्स्की मातृभूमि परित्याग गर्न बाध्य र निकै दुःखी हुँदै अमेरिका निर्वासित भए ।
 
निर्वासन हुनु अघि नै ब्रोद्स्की पश्चिमी विश्वमा चिनिइसकेका थिए । अमेरिकामा उनले मिशिगन, कोलम्बिया, येल विश्वविद्यालय, माउन्ट हलिओक कलेजलगायत थुप्रै उच्चशिक्षा दिने प्रतिष्ठानमा प्राध्यापन मात्र गरेनन् अंग्रेजी भाषामा पनि साहित्य सृजना गरे ।

(अमेरिकाको माउन्ट हलिओक कलेजका आफ्ना विद्यार्थीलाई ब्रोद्स्कीले पढ्नै पर्ने भनेर सुझाव दिएका पुस्तकको सूची । कम्तिमा यति पुस्तक नपढी कुनै सार्थक संवाद हुन नसक्ने उनको ठहर थियो ।  http://bookhaven.stanford.edu/2013/11/joseph-brodskys-reading-list-to-have-a-basic-conversation-plus-the-shorter-one-he-gave-to-me/)

पुश्किन र दोस्तोएभ्सकी जस्ता महान अग्रजहरूको शहरमा जन्मिएको र ‘असल नागरिक’ हुन नसकेको आरोपमा आफ्नै देशबाट निकालिएको ‘अप्ठ्यारो’ यहुदी केटो ‘परजीवी आवारा’, रूसी कवि, अंग्रेजी निबन्धकार हुँदै सन् १९८७ मा साहित्यको नोबेल पुरस्कार विजेता बन्यो । त्यस बेलासम्म उनका कविता विश्वका धेरै भाषामा अनुवाद भइसकेका थिए । 

(सन् १९८७ को साहित्यमा नोबेल पुरस्कार ग्रहण गर्दै ब्रोद्स्की । फोटो: ब्रोद्स्कीका मित्र र साहित्यकार  रेइनको व्यक्तिगत संकलनबाट,  http://www.kommersant.ru/doc/2300009)

सोभियत कालमा ब्रोद्स्कीले आफ्ना आमाबुबालाई अमेरिका बोलाउने निकै प्रयास गरेका थिए । अमेरिकी कंग्रेस र विदेश मन्त्रालयले समेत निरन्तर पहल गर्दा पनि सोभियत सरकारले उनका मातापितालाई अमेरिका जाने अनुमति दिएन । छोरासँग विछोडिएको ११ वर्षपछि आमाको देहावसान भयो र त्यसको एक वर्षपछि पिताले पनि संसार छाडे । सोभियत संघको पतनपछि सहृदयी मित्रहरूले उनलाई मातृभूमि फर्काउन निकैै प्रयास गरे तर उनले घर फर्कने उत्साह देखाएनन् । सन् १९९६ मा हृदयघातबाट स्वयं जोसेफ ब्रोद्स्कीको मृत्यु भयो । 

सृजनाको प्रारम्भिक कालमै उनको प्रतिभाको पहिचान गरेकी कवयित्री अन्ना अखमातोभाले भनेकी थिइन्, ‘एउटा युग पुश्किनको थियो, शायद अबको युगलाई हामी ब्रोद्स्कीको युग भनेर चिन्नेछौं ।’


(यो लेखको लामो अंश शिक्षक मासिकको असार, २०७३ अंकमा प्रकाशित छ)

अन्य सन्दर्भ सामाग्री:
Бродский не поэт - Документальное кино - Первый канал
(https://www.youtube.com/watch?v=AAhyBeWN4OY)

Иосиф Бродский. Вечный Скиталец 
http://www.litmir.me/br/?b=210090&p=1


Я.Гордин. Дело Бродского http://lib.ru/BRODSKIJ/gordin.txt