जुगल भूर्तेल
व्रतबन्धको एक वर्षजति मैले जनैको निकै निष्ठापूर्वक ख्याल राखेँ र त्यसको औचित्य प्रमाणित गर्न नसकेपछि उतारेर देउनिया खोलामा बगाइदिएको थिएँ । त्यसपछि जनै नलाई नहुने श्राद्धादि धार्मिक अनुष्ठानमा केही घण्टा असहजतापूर्वक झुण्ड्याउनु बाहेक स्वेच्छाले कहिल्यै भिरेको छैन । यस पटक पशुपतिका ब्राह्मण पुजारीहरूको बलपूर्वक जनै चुँडाइएको घटनाले भने मलाई फेरि जनै लगाउन प्रेरित गरेको छ।
व्रतबन्धको एक वर्षजति मैले जनैको निकै निष्ठापूर्वक ख्याल राखेँ र त्यसको औचित्य प्रमाणित गर्न नसकेपछि उतारेर देउनिया खोलामा बगाइदिएको थिएँ । त्यसपछि जनै नलाई नहुने श्राद्धादि धार्मिक अनुष्ठानमा केही घण्टा असहजतापूर्वक झुण्ड्याउनु बाहेक स्वेच्छाले कहिल्यै भिरेको छैन । यस पटक पशुपतिका ब्राह्मण पुजारीहरूको बलपूर्वक जनै चुँडाइएको घटनाले भने मलाई फेरि जनै लगाउन प्रेरित गरेको छ।
जनै कुनै पनि अर्थमा मेरो पहिचान होइन। म नेपालमा हुँदा झापाली र नेपाल बाहिर हुँदा नेपाली हुन्छु। नेपाल बाहिर बस्ने हुनाले गैरआवासीय नेपाली पनि भनिन्छ। वातावरणमा रुचि राख्नेहरूमाझ म वातावरणविद् र राजनीतिमा रुचि राख्नेहरूबीच लोकतन्त्रवादी पनि हुँ। मेरो आफ्नै परिश्रमले आर्जेका यी परिचयमा जनैको कुनै भूमिका छैन । तर मुलुकको जातीय राजनीतिका मसिहाहरू मलाई आफ्ना तमाम परिचय बिर्सेर जबरजस्ती हिन्दू तागाधारी पुरुष ब्राह्मण भएको स्मरण गराइरहन चाहन्छन् । यसरी मभित्र साम्प्रदायिक भावना भड्काउने तिनको प्रयासलाई मैले निकै समयदेखि नसुने वा नदेखे झैं गर्दै आएकोछु । तर मेरो यो मौन प्रतिवाद क्रमशः कमजोर र क्षीण हुँदै गएको छ।
मेरो घर विश्वका करोडौँ हिन्दूहरूको तीर्थस्थल पशुपतिनाथ नजिकै भए पनि विदेश बसाइँको कारण मलाई पशुपतिको दर्शन गर्ने मौका कहिलेकाहीँ छोटो समयकालागि नेपाल जाँदा मात्रै मिल्छ। तर समयको अभावले त्यही अवसर पनि पूर्ण उपयोग गर्न सक्तिन र नजिकको तीर्थलाई हेलाँ गर्ने सनातन परम्परालाई निरन्तरता दिँदै आएकोछु । हुन त केही महिनाअघिसम्म मैले दर्शन गर्नु र नगर्नुले पशुपतिनाथको महत्ता एवं गरिमामा कुनै फरक परे जस्तो मलाई लाग्दैनथ्यो। सायद यस्तै भ्रमवश म जस्ता अरू लाखौं हिन्दू पनि पशुपतिनाथको दर्शन गर्न जाँदैनन्। त्यसैले निरीह धर्मभीरु वृद्ध-वृद्धाको भीडले भरिने पशुपति अहिले धर्मलाई अफिम ठान्ने बलिष्ठहरूको ताण्डवले आक्रान्त छ। ती नित्यपूजामा व्यवधान पुर्याउँछन्, भक्तहरूको आवागमनमा अवरोध सिर्जना गर्छन्, गुप्तवास बसेका पुजारीहरूलाई लछारपछार गर्दै जनै चुँडाइदिन्छन्। धर्मप्रति कुनै आस्था एवं सरोकार नभएकाहरूको नेतृत्वमा सञ्चालित यो डरलाग्दो भीड अहिले पशुपतिका पुजारीको योग्यता निर्धारण गर्ने खतरनाक भूमिका निर्वाह गर्न उद्दत देखिन्छ।
पशुपतिमा भारतीयको सट्टा नेपाली नै पुजारी होउन् भन्ने चाहना कुन नेपालीलाई नहोला? तर के त्यो हाम्रो मुलुकको अहिलेको प्रमुख अजेण्डा हो? त्यसबाहेक यो मुलुकमा गर्न बाँकी कुनै काम थिएन? यो मुलुकमा भीडले जे चाह्यो त्यही मात्र हुने परिस्थिति सृजना भएकोछ र केही मान्छेहरू यसलाई ‘नागरिक सर्वोच्चता’को सुकिलो आवरणले ढाक्ने असफल चेष्टा गरिरहेका छन्। राज्यले सबै कुराको संरक्षण गरिदिने परम्परामा हुर्किएकाले हुन सक्छ, नेपालका हिन्दूहरू आफ्ना आराध्यदेवको त्यो स्तरको हुर्मत लिइँदा पनि मौन छन्।
पुजारीको जनै चुँडाइएको अपराधमा मिडियामा पनि बहस भएन, बरु गुप्तवास पूरा नगरेको र जनै चुँडिएको ब्राह्मणले पूजा-अर्चना गर्न मिल्छ कि मिल्दैन भन्ने अनौठो छलफल चलाइयो। ठूला-ठूला हिंसा पचाएको मुलुकमा ब्राह्मणलाई पिटेर जनै चुँडाइनुलाई गम्भीर घटना नठानिनु स्वाभाविकै होला! आधुनिक लेनिनहरू र आफूलाई मात्र भूमिपुत्र-पुत्री ठान्ने जातीय राजनीतिका सामन्ती ठेकेदारहरू हाबी भएका हाम्रो मुलुकमा ब्राह्मणले ‘दलाल, पूँजीपति र साम्राज्यवादी’को पृष्ठपोषण गर्छ भन्ने ठानिन्छ र तिनको सार्वजनिक मानमर्दनलाई कथित क्रान्तिकै एक अङ्ग मानिन्छ। जाजरकोटमा जीवनजल नपाएर मरणासन्न बाहुनलाई पनि सामन्ती वर्गको प्रतिनिधिपात्र मानिन्छ, किनकि ऊ धर्म जस्तो ‘अप्रगतिशील’ कुरामा विश्वास गर्छ, थोत्रो कर्मकाण्डका कुरा गरेर ‘शोषण’को संस्कारलाई निरन्तरता दिन्छ। त्यो लिखुरे बाहुनको छातीमा सगर्व बाँधिएको जनै यथास्थितिको यस्तो बिम्व हो, जसलाई धुजाधुजा नपारी नयाँ नेपालको प्रलयकारी यात्रा पूरा हुनै सक्दैन। मुलुकमा अहिले नागरिक सर्वोच्चताको यस्तो बिगबिगी छ, ठूला-ठूला दलका नेता नै हिम्मत भए जेल हालेर देखा भनेर राज्यलाई चुनौती दिन्छन्। राज्यले नै त्यो स्तरको निरीहता प्रदर्शन गरिरहेको अवस्थामा म जस्तो एउटा सामान्य मानिसले विरोधस्वरुप जे गर्न सक्थ्यो त्यही गरेँ― हो, मैले जनै लगाएँ!
पशुपतिका पुजारी पिटिएको, तिनको जनै चुँडाइएको घटनाले म जस्तो धर्मप्रति खासै आसक्ति नभएको मान्छेले समेत यति मर्माहत हुनुपर्यो भने जो धर्मविनाको जीवनको कल्पनासम्म गर्न सक्दैन, पशुपतिलाई आफ्नो नाथ ठान्छ, नित्यपूजामा व्यवधान पुगेर भगवान् भोकै सुत्दा निराहार मौन व्रत बसेर प्रभुसँग क्षमा माग्छ र सर्वे भवन्तु सुखिनः को गीत गाएर परमात्मासँग विश्व कल्याणको याचना गर्छ, उसलाई कति पीडा भएको होला? यो आस्थाको कुरा हो र विधिको शासन भएको सभ्य मान्छे बस्ने मुलुकमा कसैको धर्म, सम्प्रदाय र पहिचानमाथि यस किसिमको जघन्य खेलबाड कदापि हुँदैन। तर बाहुन झापाली, नेपाली हुँदै मानिसको पहिचान बनाएको मलाई पुनः बाहुन बनाउन भइरहेको षड्यन्त्रलाई रोक्ला कसैले!
साभार: हिमाल पाक्षिक, पूर्णाङ्क २५१, २०६६ (नोभेम्वर, २००९)