- इओसिफ उत्कीन
रिसाउँदै, ठुस्किँदै
छुट्टिँदैथ्यो एक जोडी
गर्दै थिए भनाभन
बाँकि केही नछोडी
‘तिमी त्यस्ती’,
‘तिमी नै त्यस्तो’
‘तिमी खराब’,
‘तिमी झन् खराब’
‘त्यसो भए लौ,
म हिँडें लेनिनग्राद...
...आनन्दै हुन्छ!’
‘मलाई झन् हुन्छ!’
यही गृष्म ऋतुमा
यो विवाद देखियो
स्टेशनको आँगनमै
तिनको संवाद सुनियो
भन्ने कुरा सबै भने
भयो वारपार
टिकटपनि काटिवरी
हिँड्नलाई तयार
बाफ फाल्यो इन्जिनले
चक्का बज्न थाल्यो
अगाडिको मालगाडी
लिक फेर्न लाग्यो
‘त्यसो भए लौ,
म हिँडे लेनिनग्राद...
...आनन्दै हुन्छ!’
‘मलाई झन् हुन्छ!’
तर स्टेशन मास्टरले,
जब झण्डा हल्लायो
रेलले फाल्यो सेतो मुस्लो
संकेत लाइट झल्मलायो
बाह्र बजेर बीस मिनेट
जब घडीले बजायो...
बिछोडको क्षण आयो
लौ! वियोगको क्षण आयो...
‘प्रिया...’
‘प्रिय...’
‘मै त्यस्ती...’
‘हैन,
मै त्यस्तो...’
‘म खराब’
‘हैन,
म नै खराब’
‘भयो,
म..जान्न लेनिनग्राद...
...कस्तो आनन्द!’
‘मलाई झन् आनन्द!’
(सन् १९३५ मा रुसी भाषामा लेखिएको कविताको भावानुवाद- जुगल भूर्तेल)
कान्तिपुर, कोशेली, १२.०७.२०१५
http://www.ekantipur.com/kantipur/2072/3/25/full-story/350135.html