अग्रज लेखक खगेन्द्र संग्रौलाले भरखरै
अनुवाद गरेको ‘प्रथम गुरु’ लघु उपन्यास हात पर्दा म एक छिन त निकै भावुक
भएँ । करिब अढाई दशकअघि मस्कोमा एकवर्षे रुसी भाषा कक्षा सकेर विश्वविद्यालयमा
भर्ना हुन जाने बेला मेरी मातृतुल्य गुरुआमाले प्रसिद्ध किर्गिज–रुसी लेखक
चिङ्गिज तोरेकुलोभिच आइतमातोभद्वारा लेखिएको यही उपन्यासको मूल रुसी संस्करण ‘पेर्भिई
उछिचेल’ पढ्ने
सल्लाह दिँदै भन्नुभएको थियो, ‘यसले तिम्रो भाषा सपार्न त मद्दत गर्छ नै, मेरो सम्झना पनि दिलाइरहला ।’ बेलाबेला
पढिने रुसी पुस्तकहरूले भाषा त अझै बिर्सिहाल्न दिएका छैनन्, तर त्यही
भाषाका अक्षर चिनाउने प्रथम गुरुआमा निना फ्योदोरोभ्नालाई त्यसयता श्रद्धाले
सम्झनासमेत नगरेकोमा साह्रै ग्लानि भयो ।
मैलेजस्तै उपन्यासको केन्द्रभूमि कुरकुरेउ गाउँका बासिन्दाले पनि
बिर्सिसकेका छन् कि सयौं आँधीहुरी र हिमपातलाई जितेर विजयी मुद्रामा ठिङ्ग उभिएका
पहाडी पीपलका एक जोडी वृक्ष कसले रोपेको थियो ? समयले इतिहासका संघर्षहरूको पदचिन्ह मेटिदिएको हुँदा
कसैलाई थाहा छैन कुनै विद्यालयको नामोनिशान नभएको डाँडाको नाम ‘डुइसेनको
पाठशाला’ कसरी रहन
गयो ! तर के कुरकुरेउवासीजस्तो कथाकी एक प्रमुख पात्र आल्तिनाई सुलाइमानोभाले
आफ्ना प्रथम गुरुलाई बिर्सिन सम्भव छ ? उनैका स्मृतिका पत्रपत्रमा प्रेम, प्राप्ति
र पश्चात्तापको निकै गाढा मसीले लेखिएको
भावपूर्ण इतिहास हो, यो उपन्यास ।
सोभियत संघ स्थापना हुँदै गर्दाको समय किर्गिजिस्तानका लागि
अन्योल र अनिश्चितताको समय थियो । सोभियत संघभरि नयाँ सत्ता र पुरानो व्यवस्थाका
पक्षधरबीच गृहयुद्ध मच्चिएको थियो । निकै पिछडिएको पहाडी प्रदेश किर्गिजिस्तानसम्म
‘आधुनिक
सभ्यता’ को प्रकाश
अझै नपुगे पनि रक्तरञ्जित युद्धको छिटाचाहिँ पुगिसकेका थिए । बूढापाका र केटाकेटीले
जेनतेन धानिएका किर्गिज गाउँ निकै गरिबी र कष्टमा थिए । किर्गिजस्तानमा मात्र होइन
इतिहासको त्यो क्रूर काललाई सोभियत संघका प्राय: सबै ठाउँले उसैगरी बडो कठिनाइपूर्वक भोगेका
थिए । यही समयको सेरोफेरोमा आइतमातोभको उपन्यास सुरु हुन्छ ।
ईश्वरले समेत बिर्सिएको झैं लाग्ने सुदूर पहाडी किर्गिज
गाउँ कुरकुरेउमा सन् १९२४ को कुनै एक दिन हठात् एउटा अपरिचित ठिटो प्रकट भयो ।
रूपरङ्ग मैलोधैलो भए पनि उसको अठोट उसले लगाएको पोसाकजस्तै क्रान्तिकारी थियो ।
गृहयुद्ध समाप्त हुँदै जाँदा लालसेनाबाट अवकाश पाएका युवालाई
सरकारले विभिन्न काममा खटाएको थियो । त्यही लहरमा उत्साहित हुँदै थोत्रो सैन्य
ओभरकोट र ताराजडित टोपी ढल्काएर कुरकुरेउ गाउँ पुगेको डुइसेन त्यहाँ एउटा विद्यालय
खोल्न चाहन्थ्यो । विद्यालय के खोल्न चाहन्थ्यो, सदियौंदेखि अन्धकारमा बाँच्न अभ्यस्त भइसकेको
पहाडमा सानोतिनो क्रान्तिको आगो नै सल्काउन चाहन्थ्यो । घोडा त के कुरा जाडो
धान्ने गतिलो भुवादार ओभरकोट र एउटा भेडोधरि नभएको आफैं मुस्किलले साक्षर
अकिञ्चनका ठूला कुरा किन कसैले पत्याउने ! पढाउने काम त मुल्लाहरूको थियो, तँ
कहिलेदेखि मुल्ला भइस् ए ? भेडा पाल्ने हजुरबालाई नचाहिएको साक्षरता त्यही काम
गर्ने नातिलाई किन चाहियो ? अझ नातिनीहरूलाई ! कुरकुरेउवासीको यस्तो उपेक्षाभावले ऊ अवाक्
हुन्छ । तर, विश्वको जुनसुकै कुना, व्यवस्था र सभ्यता किन नहोस् जहाँ तर्कहरू
लाचार हुन्छन्, त्यहाँ सत्ताको लौरोले काम गर्छ । ऊ आफ्नो गोजीमा जतनसाथ
पट्याएको कागज देखाउँदै गर्जिन्छ, ‘यो सोभियत सरकारको आदेश हो । कसैको हिम्मत छ
यसको अवज्ञा गर्ने ?’ त्यसपछि
उसलाई कसैले प्रतिरोध त गर्दैन, तर डाँडाको परित्यक्त तबेलालाई कामचलाउ स्कुल
भवन बनाउने उसको एकल अभियानलाई स्थानीय बुज्रुगहरूले गिज्याउने क्रम भने रोकिँदैन
। एक्लो डुइसेनले त्यो स्कुल ठड्याएर मात्र छाड्दैन, दीनहीन बालबालिकाको हृदयमा आफूले देखेको र
सुनेको नौलो संसारसम्म पुग्ने अभिलाषापनि
जगाइदिन्छ । आल्तिनाईको सफलताको कथाले भन्छ– डुइसेनले अलिकति देखेको र धेरै सुनेको संसार
साँच्चै उज्यालो रहेछ । यसरी दायित्वबोध र अदम्य उत्साहले ओतप्रोत डुइसेनको समर्पण, संघर्ष र
बलिदानको मार्मिक गाथा हो ‘प्रथम गुरु’ ।
झट्ट हेर्दा सोभियत प्रोपोगन्डाका लागि सचेततापूर्वक उनिएको
कल्पनाजस्तो लागे पनि ‘प्रथम गुरु’ उपन्यास ‘उज्यालो समाजवादी भविष्य’ छ भन्ने
विश्वासमा साँच्चै नै जीवन उत्सर्ग गर्न तयार हजारौं सोभियत युवाको निजी कथा पनि
हुन सक्छ । शिक्षाबिना पार्टीको कार्यक्रमसमेत जनतालाई बुझाउन नसकिने र ऊर्जाबिना
औद्योगिकीकरण हुनै नसक्ने बुझेका लेनिनले सोभियत सरकारलाई सारक्षता र विद्युतीकरण
अभियानमा केन्द्रित गरेका थिए । युद्धको समाप्तिसँगै रेड आर्मीबाट निवृत्त भएका
जवानहरू, कोम्सोमोल
(योङ कम्युनिस्ट लिग) सँग
आवद्ध युवायुवती, कम्युनिस्ट पार्टीका कार्यकर्ता, सांस्कृतिक
संगठन आदिलाई यही अभियानमा व्यापक परिचालन गरिएको थियो । यो राष्ट्रव्यापी
अभियानले अर्को फाइदा के भयो भने यसले सोभियत सरकारलाई सुदूर गाउँसम्म पुग्न पनि
मद्दत पुर्यायो । यही पृष्ठभूमिमा युगौंदेखि मानिसको
जीवनलाई निर्देशित गरिरहेको पुरानो रूढिवादी सत्तालाई चुनौती दिन ग्रामीण किर्गिज
समाजमा आइपुगेको डुइसेन एउटा सामान्य युवक मात्र नभएर त्यो अनकण्टार भेगमा नयाँ
सोभियत सत्ताको उपस्थितिको प्रतीक पनि हो ।
लेनिनको महिमामण्डनले गर्दा ‘प्रथम गुरु’ लाई आलोचना गर्ने प्रशस्त ठाउँ छ । वास्तवमा
आइतमातोभका प्राय: सबै सिर्जनामा देखिने समाजवादी विचारधाराको
व्यापक प्रभावले तिनको रचनात्मक सौन्दर्यको अवमूल्यन नै भएको छ । तथापि, उनी
साहित्यिक संसारमा उदाउँदाको परिस्थिति र परिवेशलाई उपेक्षा गरियो भने उनको
न्यायोचित मूल्याङ्कन हुन सक्दैन । त्यो बेला किर्गिजिस्तानको कुनै गाउँमा जन्मेको
एउटा युवकले रुसी भाषामा कथा, उपन्यास लेखेर सोभियत संघमा छापिनु र स्थापित
हुनु ठूलै संघर्षको कुरा थियो । कम्युनिस्ट पार्टीका अर्ध पठित ब्युरोक्रयाटले सेन्सर नगरी कसैका पुस्तक प्रकाशित नहुने त्यो
नियन्त्रित समयमा पनि ३० वर्षे उमेरका आइतमातोभको ‘जमिल्या’ उपन्यास प्रकाशित भयो, जसलाई
सोभियत जनताले निकै मन पराए । त्यही उमेरमा उनका कथा र लघु उपन्यासहरू ‘अक्त्याबर’, ‘नोभिई
मीर’ जस्ता
प्रतिष्ठित राष्ट्रिय पत्रिकामा छापिन थालिसकेका थिए । ‘प्रथम
गुरु’ छापिँदा
पनि उनको उमेर ३४ वर्ष मात्रै थियो । यस्तो परिस्थितिमा एउटा किर्गिज ठिटोलाई
आफ्ना सिर्जनामा कहीं न कहीं सोभियत विचारधाराको उपस्थितिलाई देखाउनैपर्ने बाध्यता रहे
पनि आइतमातोभको मूल साहित्यिक प्रवृत्ति मानवता र प्रेमको श्रेष्ठता दर्साउनु नै
देखिन्छ । उनले बीचको बाटो समातेर सोभियत सत्तासँग नतमस्तक भएको आरोप लगाउँदा
बिर्सनै नहुने तथ्य के हो भने सन् १९३८ मा उनी दस वर्षको बालक छँदा उनका पिता
तोरेकुल आइतमातोभलाई स्तालिन सरकारले प्रतिक्रान्ति गतिविधिमा संलग्न रहेको आरोपमा
गोली हानेर हत्या गरेको थियो । त्यस बेला तोरेकुल किर्गिज कम्युनिस्ट पार्टीका
द्वितीय सचिव थिए । त्यसपछि उनकी आमाले ‘जनशत्रुकी पत्नी’ हुनुको
अमानवीय अपमान सहेर आफ्ना सन्तान हुर्काउन ठूलो संघर्ष गरेकी थिइन् । स्तालिनले हत्या
गराएका ‘जनशत्रु’ का छोराका
रचनाहरू स्तालिन जीवित हुँदै प्रकाशित हुनु आफैंमा अकल्पनीय घटना थियो । त्यसो त
सोभियत संघमा अल्पसंख्यक जातीय समुदायका लेखकहरूलाई योजनाबद्घ ढङ्गले अघि बढाउने
राजनीतिअन्तर्गत आइतमातोभले अतिरिक्त अवसर पाएका हुन् भन्ने आलोचक पनि नभएका
होइनन् । तर, उनका कृतिहरूले पाएको विश्वव्यापी लोकप्रियताले त्यो आरोप
पूर्वाग्रही सुनिन्छ ।
आइतमातोभका प्राय: सबै
रचनामा अभाव र पछौटेपनले रंगहीन बनेका किर्गिज पहाड तथा मध्यएसियाको आफ्नै
प्रकारको विशिष्ट इस्लामिक संस्कृतिले ओतप्रोत आञ्चलिकता पाइन्छ । थुप्रै अज्ञात
सम्भावना बोकेर हठात् छोप्न आइपुगेको नौलो सत्ता र युगौंदेखि जीवनलाई एक सुरमा
हिँडाइरहेको शक्तिशाली परम्पराबीच हुने द्वन्द्वको चित्रण पनि उनको साहित्यिक
पहिचान हो । वास्तवमा त्यही ‘एक्जोटिक’ आञ्चलिकताले नै आइतमातोभलाई विश्वप्रसिद्ध
बनाएको हो । र, त्यही नै आइतमातोभलाई अनुवाद गर्नेहरूका लागि सबैभन्दा कठिन
परीक्षा पनि हो । नेपाली भाषाको गहिरो पकड भएका संग्रौलाको अनुवादमा ‘प्रथम
गुरु’ ले त्यो
परिवेश टपक्कै टिपेको छ । नेपाली साहित्यको सबैभन्दा खट्किएको पक्ष विश्व
साहित्यका उत्कृष्ट रचनाको स्तरीय अनुवादको अभाव हो । 'प्रथम गुरु'जस्ता अनूदित पुस्तकले
त्यो अभावको पूर्ति गर्न मद्दत गर्नेछन् । यद्यपि अनुवादको क्रममा व्यक्ति, स्थान र
केही प्रसङ्गमा रुसीबाट अंग्रेजी हुँदै नेपालीसम्म आइपुग्दा भाषिक रूपान्तरणका
कारण त्रुटि भएका छन्, तर तिनले समग्र पाठको सौन्दर्यलाई घटाएको छैन
। सबैभन्दा कमजोर पक्ष पुस्तकको आवरण हो, जसले कथाको गम्भीरतालाई ठ्याम्मै उपेक्षा
गरेर यसको गरिमालाई घटाउने काम गरेको छ ।
यसअघि यो पुस्तक ‘प्रथम शिक्षक’ शीर्षकमा मस्कोबासी साहित्यसाधक कृष्णप्रकाश
श्रेष्ठले मूल रुसी भाषाबाटै अनुवाद गर्नुभएको रहेछ । रादुगा प्रकाशनबाट सन् १९९०
मा प्रकाशित उक्त पुस्तक अहिले उपलब्ध नभएकोले पढ्न पाएको छैन । हाम्रो अनुवाद साहित्यलाई
समृद्ध तुल्याउन कृष्ण दाइको उल्लेख्य योगदान छ ।
आइतमातोभका अनुसार साँचो पाठक त्यो हो, जसले
समानुभूति र मानवताजस्ता प्रकृतिले आफूलाई उपहारमा दिएको अनुपम गुणलाई किताबका
पानासँगै बिस्तारै खोल्दै जान्छ । कुनै पुस्तकले पाठकलाई यसरी प्रभावित गर्यो भने
त्यो पुस्तक स्वयं अरूको विचार, भावना, सपना र कर्ममा एकाकार हुन्छ । त्यसको अर्थ
असल सिर्जनाले धेरै मानिसलाई हाम्रो जीवन, समाज र विश्वमा सार्थक परिवर्तनका लागि
प्रयत्न गर्न उत्प्रेरित गर्छ । डुइसेनको संघर्षपूर्ण जीवनी सुनाएर आइतमातोभले
हामीलाई सकारात्मक परिवर्तनका लागि प्रेरित गरेका छन् । सरल भाषामा लेखिएको बाल–उपन्यास
भन्न मिल्ने यो छोटो पुस्तक पढिसकेपछि धेरैलाई लाग्नेछ– कुरकुरेउसँग
सुनाउनका लागि यस्तो कथा हुन सक्छ भने संसारका हरेक गाउँको आफ्नै कथा हुन सक्छ ।
मात्र आत्मसात् गरेर अभिव्यक्त गरिदिने आइतमातोभहरूको खाँचो छ ।
हामी कहाँ कथावाचनमा एउटै परिवेशलाई दोहोर्याइयो भनेर स्रष्टाको आलोचना गर्ने प्रवृत्ति छ
। तर, आइतमातोभले
पहाडी किर्गिजस्तानको त्यही सरल वातावरणलाई आफ्ना अधिकांश सिर्जनामा दोहोर्याएका छन्, जसलाई पढेर संसार अझै थाकेको छैन ।
युनेस्कोको अनुमानमा उनका कृतिहरू विश्वका १६० भन्दा बढी भाषामा अनूदित छन् र यो
क्रम जारी छ । अर्थात्, किर्गिजस्तानका पहाडको कथा भए पनि आइतमातोभले
यस्ता कथा लेखे, जसले संसारभरिका मानिसको हृदयलाई एकनासले तरंगित गर्छन् ।
उनले प्रकृतिसँग जोडिएका यस्ता ग्रामीण पात्रहरूको सिर्जना गरे, जसका नाम
उच्चारण गर्न अप्ठ्यारो भए पनि हामी तिनलाई सहजै चिन्न सक्छौं । आफ्नै देशका
प्रसिद्ध लेखकझैं विश्वभरि उनलाई माया गर्ने मान्छेको यस्तो भीँडले उनैको एउटा कथनको सम्झना गराउँछ । असी वर्षको उमेरमा
सन् २००८ मा आइतमातोभको मृत्यु भए पनि उनले कतै भनेका थिए कि कुनै पनि मानिसको
मृत्यु त्यस बेलासम्म हुँदैन जबसम्म उसलाई चिन्ने अरू मानिस हुनेछन् । संसारको
हरेक कुनामा आइतमातोभलाई चिन्ने मानिस छन् र तिनको संख्या निरन्तर बढ्दो छ । कृष्ण
दाइ र खगेन्द्र दाइजस्ता अग्रज साधकको
सत्प्रयासले उनका कलात्मक गुञ्जनमा रमाउनेहरूको संख्या नेपालमा पनि बढ्ने निश्चित
छ ।
कान्तिपुर दैनिक, चैत्र १३, २०७२ (26 March
2016)