Saturday, March 26, 2011

भूमध्यरेखा: परिवर्तनको आँधीमा सन्तुलनको खोजि

बिबिसी रेडियोका अन्तरवार्ताहरुमा तीखा प्रश्न सोधेर नेताहरुलाई र्‍याखर्‍याख पार्ने लोकप्रिय पत्रकार रवीन्द्र मिश्र जसरी बोल्छन्, पत्रपत्रिकाका पानाहरुमा पनि त्यही शैलिको प्रयोग गर्छन् । शक्ति, सत्ता र सम्पत्ति वरिपरिका व्यक्तिलाई ठाडो चुनौति दिँदै कठघरामा उभ्याउने स्पष्टवादी शैलि र खरो विचारका धनी मिश्रका आलोचक भन्दा प्रसंशकहरु कै संख्या धेरै हुनुपर्छ । उनको तर्कसँग सहमत वा असमत जे भएपनि उनको निर्भिक र विचारोत्तेजक लेखनले समाजमा तरङ्ग उत्पन्न गराउने हुनाले एउटा स्तम्भकारका रुपमा उनी निकै सफल छन् ।

हालै ‘भूमध्यरेखा: अर्थहीनता भित्र अर्थ खोज्दा’ नामक मिश्रको विभिन्न समयमा छापिएका ६८ बटा स्तम्भहरुको संग्रह प्रकाशित भएकोछ । प्राय: समयसामयिक घटनामा लेखिने हुँदा अधिकांश स्तम्भहरु कालान्तरमा असान्दर्भिक हुन्छन्, केही त अस्वभाविक नै सुनिन्छन् । त्यसैले तिनको संग्रहले लेखकको पुस्तक प्रकाशित गर्ने अहम् लाई तुष्टी त गर्ला, तर एउटा विशेष सन्दर्भमा महत्वपूर्ण लाग्ने लेख पछि संग्रहित रुप मै प्रकाशित हुँदा पनि खासै प्रभावकारी हुँदैन । पाँच महिना भित्रै चौथो संस्करणको तयारीमा रहेको मिश्रको भूमध्यरेखा संग्रहले मेरो संशयलाई गलत सावित गरेको छ । यो संग्रह भित्रका धेरै पुराना लेखहरु आजपनि उत्तिकै प्रासंगिक लाग्छन् । यद्यपि हाम्रो मुलुक ‘नयाँ नेपाल’ नामक चक्रपथमा फनफनी घुमिरहँदा घटना र सन्दर्भहरु दोहोरिरहने कारणले पनि त्यस्तो भएको हुन सक्छ ।

“सबैका इमानदार मुल्यमान्यताको सम्मान गर्ने अनि गुणदोषको आधारमा आफ्नो समर्थन बदल्न नहिच्किचाउने सच्चा प्रजातन्त्रवादी” भएको घोषणा गरिसकेपछि मिश्रका विचारहरुमा एकरुपता नहुनु स्वभाविक नै हो, जसलाई उनले भूमध्यरेखामा उभिएको बिम्ब प्रदान गरेका छन् । हुन पनि पुस्तकको आवरण चित्रमा देखाए झैं पातलो डोरीमा सन्तुलन मिलाएर हिँड्नेलाई नलडियोस् भनेर हात अगाडी जुन आधार भेटिन्छ त्यसैलाई समाउने वाध्यता हुन्छ । उनी “राष्ट्रवादलाई सर्वोपरिवाद मान्ने हो भने राजनैतिक कार्यकर्ता बाहेक अरु मतदाता कोहीपनि कुनै निश्चित दल वा ‘वाद’ को समर्थक हुन नहुने” र “चलायमान मतदाता रहिरहनु पर्ने” आश्चर्यपूर्ण तर्क गर्छन्, जसको परोक्ष अर्थ त्यस्ता मतदाताको समर्थन हासिल नगर्ने राजनैतिक कार्यकर्ता चाहीँ राष्ट्रवादी हुन सक्दैनन् भन्ने लाग्छ ।

पत्रकार हरदम निरपेक्ष र निस्पक्ष रहनुपर्छ भन्ने मान्यतामा आफू अडिग रहेको दावी गरेपनि मिश्रले राजसंस्थाको निकै प्रतिरक्षा गरेका छन्, विशेषगरी ‘हामी नेपाली’ स्तम्भमा । तर त्यो सेवानिष्ठ राजावादीको अतिरंजित सम्मोहन जस्तो नभएर अर्को संस्थाको विकास नभइ भएकोलाई भत्काइहाल्नु हुँदैन नत्र मुलुकमा विदेशी शक्ति हावी भएर ठूलो राजनैतिक संकट आउँछ भन्ने इमानदार भावनामा आधारित देखिन्छ । राजसंस्थाको समाप्ति सँगै त्यो ठाऊँ बाह्य शक्तिले लिन्छ भन्ने निकै आक्रामक ढङ्गले व्यक्त भएको आफ्नो आशंका अहिले यथार्थ सावित हुँदै गएको मिश्रले दावी गर्न सक्छन् । गणतन्त्रको नाममा “नारायणहिटी दरबार भत्काएर त्यसको ठाऊँमा दिल्ली दरबार निर्माण गर्ने” षडयन्त्र र “हाम्रा नेतालाई दिल्लीले गरिरहेको राजनीतिक करणी” का विरुद्ध मौन रहेको नागरिक समाजप्रति उनको तीव्र आक्रोश छ । वास्तवमा सम्पूर्ण पुस्तकभरि नै मुलुकको स्थायित्वको चिन्ता कुनै न कुनै आवरणमा पटक-पटक प्रकट भएको छ । त्यही स्थायित्वका निम्ति एकचोटि समाप्त भइसकेको राजसंस्था अब पुन: फर्काउन नहुने धारणा व्यक्त गर्दै उनले ज्ञानेन्द्रलाई त्यस्तो प्रयास नगर्न सल्लाह समेत दिएका छन्, जसको चर्चा नगरे उनीमाथि अन्याय हुन्छ । नहुनु भइहाल्यो अब वर्तमानमा जे छ त्यसैको संरक्षण र सम्वर्धन गर्दै अगाडि बढौं भन्ने उनको सुझाव अनुचित लाग्दैन ।

राष्ट्रियता संकटमा परेको बेलामा “राष्ट्रियताकै बलियो खम्बा राजतन्त्रलाई ढालिदिँदा परिणाम सुखद नहुने” भनेर मिश्रले सचेत गराएपनि “राष्ट्रियताको रित्तो ढ्वाङ” (उनकै शब्दमा) बनेका राजा ज्ञानेन्द्रको अपरिपक्व राजकीय कौशलमा निर्भर रहेको त्यो संस्थाले हाम्रो राष्ट्रियतालाई कसरी जोगाउन सक्ने थियो त्यसको चर्चा भने पुस्तकमा छैन । संवैधानिक राजतन्त्रलाई बोकेर हिँडेको नेपाली काँग्रेसमाथिको निरन्तर प्रहारको कुरै छाडौं, राप्रपा जस्तो राजावादी दललाई समेत फुटाउन भ्याउने राजा कुनै पनि कोणबाट ‘राष्ट्रिय एकताको प्रतिक’ थिएनन् र उनीबाट नेपालको राष्ट्रियता सुदृढ हुन सम्भव थिएन । राजा वीरेन्द्रको वंशनाश सँगै पतनको बाटोमा हिँडेको राजसंस्थाले ज्ञानेन्द्र जस्तो ‘दुरदर्शी’ नेतृत्व पाएपछि एक न एक दिन पराजित हुनुनै थियो भन्ने तर्कसँग शायद मिश्र सहमत छैनन् । खैर, राजसंस्थाप्रतिको उनको धारणालाई आलोचना वा समर्थन जे गरेपनि त्यसले पत्रकारपनि समाज कै एउटा अंग भएकोले मुलुकको राजनीतिप्रति ऊ कहिल्यै पनि ‘भूमध्यरेखामा’ निरपेक्ष रहन सक्दैन भन्ने नै प्रमाणित हुन्छ । हुन त मिश्रलाई राजा ज्ञानेन्द्रले नेतृत्व गरेको राजसंस्था नै त्यस कालखण्डको ‘भूमध्यरेखा’ हो भन्ने लागेको हुनसक्छ ।

उनले ‘अधिनायवादको वस्तुपरक बचाउ’ गर्दा “कसैकोपनि हित नगर्ने प्रजातन्त्र भन्दा बहुसंख्यक जनताको भलो गर्ने अधिनायकवाद नै बेस” भनेर गरेको ठोकुवाले राजा महेन्द्रका ‘महावाणी’ हरुको सम्झना गराउँछ । “अधिनायकवादले नागरिकका कैयौं अधिकार खोसेपनि राष्ट्र र बहुसंख्यक जनताको हित गरेका कैयौं उदाहरण” भएकोले उनीजस्ता “एक-दुई प्रतिशत शब्दाडम्बरीहरुको कलममा बिर्को लागेर रोल्पा र रुकुमले राहत पाउँछ भने प्रजातन्त्रको प्राण गयो भनेर कसैले आँसु नझारे हुन्छ” भन्ने मिश्रको आग्रहले घरिघरि विद्रोहको हुँकार गरिरहने कामरेडहरुलाई निकै उत्साहित गरेको हुनुपर्छ । तर, के उनले पत्रपत्रिकामा लेख्नेर ‘एक-दुई प्रतिशत’सँग मात्र स्वतन्त्र विचार छ भन्ने ठानेका छन् ? यतिविधि राजनैतिक चेतनाले जुर्मुराएको मुलुकमा अधिनायवादलाई टिकाउन ‘शब्दाडम्बरीहरु’को मात्र होइन लाखौं सर्वसाधारणको कलम र मुख बन्द गर्नु पर्छ भन्ने हेक्का मिश्रले नराखेपनि सम्भावित अधिनायकहरुले पक्कै राखेका छन् । त्यसैले, जसरीपनि नेपालमा जनवाद ल्याइछाड्ने धम्की दिनेहरुबाट हुनसक्ने दुस्साहस बाहेक गम्भिर अधिनायक हुने चाहना राखेको व्यक्ति गणतान्त्रिक नेपालमा अहिलेसम्म देखिएको छैन । अधिनायवादले स्वतन्त्र विचारकहरुको कलममा मात्रै बिर्को लगाएर आराम गर्ला कि ‘सियो चोर्नेले घर फोर्ने’ भने झैं तिनको मुख थुनेर सासै बन्द गर्न उद्दत होला ? अधिनायवादमा विचारको स्वतन्त्रता मात्र होइन स्वतन्त्र विचार बोक्नेहरुको पनि अकाल मृत्यु भएको संसारभरि हामीले देखेका छौं । जनकल्याण र मानवतामा गहिरो आस्था भएका मिश्र जस्ता बुद्धिजीवीले रोल्पा र रुकुमले राहत पाउँछ भने एक-दुई प्रतिशत शब्दाडम्बरीको अवसान नै भएपनि केही फरक नपर्ने त पक्कै ठानेका छैनन् होला ।

अधिनायकवादले आर्थिक विकासलाई बढावा दिन्छ भन्ने भ्रमलाई हाम्रो आफ्नै पञ्चायती प्रयोगले चिर्न नसकेको भए पछिल्लो समयमा खाडीको मरुभूमिमा चलिरहेको स्वतन्त्रताको आँधिले त अवश्य उडाइदिएको हुनुपर्छ । मुबारकको इजिप्टले आर्थिक विकास त अवश्य गर्यो तर स्वयं मुबारक र उनका आसेपासे मात्र त्यसबाट लाभांवित भए । सोभियत सर्वहाराको अधिनाकवादमा दुब्ला जनतामाझ असहज ढङ्गले मोटाएका कम्युनिष्ट ब्युरोक्र्याटहरुले अन्तत: मुलुक नै ध्वस्त पारेको इतिहास कति नै पुरानो भयो र ? गरिव राष्ट्रमा प्रजातन्त्रको यात्रा चुनौतिपूर्ण हुने तर्क मिश्रको पुस्तकमा उद्दरण गरिएका अमेरिकी प्राध्यापक प्रेजवसर्कीले मात्र होइन राजा महेन्द्रले पनि गरेका थिए । तर, उनकै शासनमा नेपाली जनताको जीवन स्तर कति माथि उक्लियो, त्यसको लेखाजोखा गर्न सामान्य तथ्याङ्क नै पर्याप्त छ । अधिनायकवादले मुलुकमा शान्ति र स्थायित्व ल्याउने भए पाकिस्तान र अफगानिस्तानको त्यो हालत हुने थिएन, न त साउदी अरेबिया र इजिप्ट जस्ता मुलुकहरु अन्तरराष्ट्रिय आतंकवादी संजालको आश्रयस्थल नै हुने थिए । यिनै देशको उदाहरणले पनि संसारभरिका बदनाम तानाशाहलाई निरन्तर आर्थिक र सैन्य सहयोग गर्ने अमेरिकी प्रशासनको ‘अधिनायवाद नै स्थायित्व’ ठान्ने डक्ट्रिन पनि फेल भएको प्रमाणित हुन्छ ।

अधिकांश अधिनायकवादी मुलुकमा तानाशाहहरु ‘राष्ट्र र बहुसंख्यक जनताको हित गर्ने उद्धेश्यले नै आफूले सत्ता कब्जा गरेको’ र ‘मुलुक प्रजातन्त्रका लागि तयार हुने बित्तिकै जनतालाई सत्ता हस्तान्तरण गर्ने’ प्रतिवद्धता व्यक्त गर्छन् । तर त्यस्तो हुने भए न मुबारकलाई इजिप्टका र बेन अलीलाई ट्युनिसियाका जनताले ३० वर्ष पछि विद्रोह गरेर निकाल्नु पर्ने थियो, न त गत ४० वर्ष देखि आफूले ‘भातृतुल्य नायक एवं सेप्टम्बर क्रान्तिका महान मार्गदर्शक’ ठानेका गद्दाफीको बम बर्षाले लिबियाका जनताको त्यसरी ज्यान जाने थियो । हुन त, २०६४ मा ‘अधिनायकवादको वस्तुपरक बचाउ’ गरेका मिश्रले बेलायतको प्रेस स्वतन्त्रताको उदाहरण दिँदै २०५९ सालमा ‘प्रजातन्त्रको सौन्दर्य’ शिर्षकको लेखमा “प्रजातन्त्रलाई मार्छु भन्ने आवाजलाई पनि प्रजातन्त्रले निकास दिन्छ” भनेर लेखेका थिए । यसरी बिचारको बतासले मच्चिएको डोरीमा हिँडिरहेका मिश्रको सन्तुलनले पाठकलाई चकित बनाइरहन्छ ।

आफू ‘मनुज चौधरी’ नामधारी छद्मभेष धारण गरेर अरुलाई ‘खुला’ पत्र लेख्नें रवीन्द्र मिश्रको हिम्मतले झन् अवाक् बनाउँछ । उद्योगपति डा. उपेन्द्र महतोलाई लेखेको पत्रमा उनले महतोलाई चूनौति दिएका छन् “एक दिन शान्त र शून्य रातमा छातीमा हात राखेर आफूले आफैंलाई प्रश्न गर्नूस् त, के तपाईं आफ्नो जीवनलाई सार्थक सम्झनु हुन्छ?” आफ्नो जीवनको सार्थकता मै प्रश्न उठाइए पनि महतोले जवाफ (संग्रहमै समाविष्ट) मा मिश्रले छद्मभेष धारण गर्नु पर्ने वाध्यताप्रति देखाएको सहानुभूति निकै घतलाग्दो छ । उनी भन्छन् “अग्रगामी र नयाँ भनिएको नेपालमा अझै पनि तपाईंजस्ता राष्ट्रप्रेमी व्यक्तिले लुकीलुकी हिँड्नुपर्ने बाध्यताले मलाई निकै उद्वेलित तुल्याएको छ । जबसम्म हामी सबै मिलेर तिनको निराकरण गर्न सक्दैनौं नयाँ नेपालको हाम्रो सपना फगत राष्ट्रिय गीतमा सीमित हुनेछ ।” छद्मभेषी मित्रको ‘खुला’ चुनौतिको दोहोरीमा अल्झिनुको सट्टा महतोले उनलाई “पहिले आफ्नो मुखुण्डो त खोल मित्र, अनि आँखा जुधाउँदै केही बात पनि मारौंला” भनेर मात्र लेखिदिएको भए पर्याप्त हुने थियो ।

समग्रमा, मिश्रका लेखहरुमा पोखिएका भावनाहरु विवादास्पद हुन सक्लान् तर ती ‘अर्थहीन’ अवश्य छैनन् । उनको लेखनीको सौन्दर्य भने निश्चयपनि निर्विवादित छ । लेखकस्व विपन्न चेपाङ समुदायको सहयोगार्थ खर्च गर्ने घोषणा गरिएको यस पुस्तकमा राष्ट्रप्रेम, राजनैतिक दलहरुले देखाएको अकर्मण्यताप्रतिको निराशा, लोककल्याणको आह्वान, आदि सबै सुन्दर ढङ्गले व्यक्त भएका छन् । उनको पुस्तकका हरेक पेजमा पाठकलाई या त खुसी पार्ने खुराक छ, या क्रुद्ध बनाउने । कसैलाई मन परे परोस् मन नपरे नपरोस् तर आफ्नो ‍कुरा निर्भिक भएर व्यक्त गर्ने उनको स्वतन्त्रतालाई उनैले प्रतिरक्षा गरेको कुनै अधिनायकवादले कुण्ठित गरेन भने उनको कलमबाट यस्तै तार्किक रचनाहरु नि:सृत भइरहनेछन् र हाम्रो बहस जारि रहनेछ। निश्चयपनि रुकुम र रोल्पाले राहत पाउनु पर्छ तर त्यसका लागि उनको कलममा बिर्को भने कहिल्यै लाग्न हुन्न ।

साभार: नागरिक दैनिक, २६ मार्च, २०११
http://nagarikplus.nagariknews.com/component/flippingbook/book/502-nagarik-26-march-2011/2-nagarik.html