Sunday, April 20, 2008

मन्त्री पाण्डेको झूटखेती

डा जुगल भूर्तेल

‘लोकप्रिय’ पत्रिकाको सम्पादनदेखि राजनीतिको जटिल खेलमा महारथ हासिल गरुन्जेल परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले एउटा इर्ष्यालाग्दो छवि बनाउनुभएको छ, झूट बोल्नमा उहाँलाई कसैले हराउन सक्दैन । वर्तमान सरकार अन्तर्राष्ट्रिय जगतबाट झन्झन् उपेक्षित हुँदै गएको तथ्य घामजत्तिकै छर्लङ्ग भइसक्दा पनि हरेक भ्रमणबाट फर्केलगत्तै मन्त्रीज्यू 'श्री ५ को सवल नेतृत्व तथा 'माघ १९' मा व्यक्त अवधारणाप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहानुभूति बढेको' दाबी गर्नुहुन्छ । भारत, बेलायत, अमेरिकाजस्ता पुराना मित्रराष्ट्रसँग सम्बन्ध चिसिँदै गएका बेला जर्जिया, ताजकिस्तानजस्ता नयाँ साथीहरूसँग विकसित दौत्य सम्बन्धले 'विश्वमा हामीले विश्वास गर्नसक्ने भरपर्दा मित्रहरूको सङ्ख्या निरन्तर बढ्दै गएको' उहाँको ठम्याइले हामीलाई ढाडस दिइरहन्छ । उहाँका विचारसँग असहमत हुनेलाई उहाँ सहजै 'नेपालको अन्तर्राष्ट्रिय छविलाई धुमिल पार्ने षड्यन्त्रमा लिप्त' अराष्ट्रिय तत्त्व घोषित गरिदिनुहुन्छ । पत्रकारदेखि मन्त्रीसम्मको लामो यात्रामा आफ्नो ढाँट्ने कलाको उहाँले कतिसम्म सदुपयोग गर्नुभएको छ भन्ने कुराको मन्त्रीज्यूको हालैको मस्को भ्रमणले राम्ररी उजागर गरेको छ ।

पञ्चायती युगका 'लोकप्रिय’ सम्पादक पाण्डे नेपालका लब्धप्रतिष्ठित 'वुद्धिजीवी' हुनुहुन्छ भन्ने कुरामा कम से कम उहाँ आफूलाई त कुनै शङ्का छैन । त्यसैले विदेश भ्रमणको अवसरमा त्यहाँका बुद्धिजीवीहरूसँग भेटघाट गरी नेपालको वस्तुस्थितिबारे अवगत गराउने इच्छा हुनु स्वाभाविक हो । त्यही आकांक्षाले प्रेरित भएर मस्को भ्रमणका क्रममा उहाँ रुसी विज्ञान प्रतिष्ठानको 'इन्स्टिट्युट फर ओरिएन्टल स्टडिज' का प्राज्ञहरूसँग भेट गर्न पुग्नुभएको थियो । रुसको 'थिङ्क ट्याङ्क' मानिने इन्स्टिट्युटका असाध्यै सुसूचित प्राध्यापकहरूको प्राज्ञिक क्षेत्रमा मात्र नभएर मुलुकका नीति-निर्माताहरू माझ पनि ठूलो आदर छ । नेपालका हिन्दू राजा र माओवादी विद्रोहबारे उनीहरूको ज्ञानमा कुनै कमी थियो भने यसपटक मन्त्रीज्यूसँगको अन्तरक्रियाले त्यसको राम्रै पूर्ति भएको हुनुपर्छ । "विष्णुको अवतारको रूपमा जन्मदा, मर्दा, श्राद्ध गर्दा पुजिने राजा हाम्रो संस्कृतिको यति अभिन्न अङ्ग होइबक्सन्छ कि नेपाली जनताले राजाबिनाको मुलुकको कल्पना पनि गर्न सक्दैनन् ।" गणतन्त्रका लागि द्वन्द्वरत माओवादीका बारेमा धेरै कुरा पढेका प्राज्ञहरू मन्त्री पाण्डेबाट यस्तो सुन्दा अचम्भित हुनु स्वाभाविक थियो । "के त्यसो भए माओवादीहरू एउटा असम्भव युद्ध लडिरहेका छन् ? हामीले त उनीहरूले ठूलो भूभाग कब्जा गरिसके भन्ने सुनेका छौँ नि ?" मन्त्रीज्यूको सहज उत्तर थियो, "हाम्रा राजा नेपालका हरेक कुनाकुनामा पुगिबक्सेको हुँदा मुलुकमा त्यस्तो कुनै ठाउँ छैन, जुन आतङ्कवादीको कब्जामा होस् । वास्तवमा हाम्रो सेनाले उनीहरूलाई नेपालको भूभागबाट खेदिसकेको हुँदा अहिले उनीहरू विदेशी भूमिबाट आतङ्ककारी क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।" काठमाडौँ फर्केपछि पाण्डेले 'उक्त 'इन्स्टिट्युटलाई नेपालको यथार्थ वस्तुस्थितिबारे अब राम्ररी अवगत भएको' दाबी गर्नुभयो ।

'नयाँ मोडेलको प्रजातन्त्र' लिएर अमेरिका जाँदा कन्डोलिजा राइस मात्र होइन, कोफी अन्नानबाट समेत दुत्कारिएर मस्को आइपुगेका पाण्डेलाई रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले भने राम्रै स्वागत गर्नुभयो । नेपालमा झैँ यहाँ पनि घर आइसकेका पाहुनालाई जस्तै तुच्छ भए पनि तिरस्कार गर्ने चलन छैन । तर, भेट हुन नपाउँदै 'रेडिमेड' शैलीमा मस्कोस्थित शाही नेपाली राजदूतावासको नामबाट ज्यादै हतारमा 'महाराजाधिराजबाट चालिबक्सेको कदमप्रति रुसी सरकारले पूर्ण तथा स्पष्ट समर्थन जनाएको' विज्ञप्ति निकालियो । मन्त्रीज्यूको 'पूर्ण समर्थन' को मृगतृष्णा अन्ततः मस्कोमा आएर समाप्त भएकोमा हामीलाई खुसी नै लाग्यो । तर, भोलिपल्ट रुसी विदेश मन्त्रालयले भने, 'परम्परागत मैत्री सम्बन्धलाई सुदृढ गर्ने' जस्ता कूटनीतिक सक्षमताले भरिएको तर राजाको कदमको पूर्ण तथा स्पष्ट समर्थनको कुनै उल्लेख नै नभएको विज्ञप्ति निकालिदिएर पाण्डेलाई अप्ठ्यारोमा पारिदियो ।

मन्त्री पाण्डेको भ्रमणको अन्तिम दिन भने सबैभन्दा रोचक थियो । नेपाली राजदूतावासले उहाँको बिदाइ र नेपाली हस्तकला प्रदर्शनीको उद्घाटनलाई एकै दिन राखेर थुप्रै नेपालीलाई धर्मसङ्कटमा पारिदियो । विदेशमा नेपाली सामान देख्न पाउँदा पनि हामीलाई देशै पुगेको अनुभूति हुन्छ । त्यसैले मन्त्री पाण्डेलाई बिदाइ गर्न जान अनिच्छुक नेपालीहरू पनि नेपाली वस्तुको प्रदर्शनी भनेपछि मन लागीनलागी कार्यक्रममा सरिक भए । समारोहको अन्त्यतिर केही नेपालीहरूले हिम्मत गरेर उहाँलाई टेकनाथ रिजाल र उनको 'ट्राभल डकुमेन्ट' का बारेमा सोधे । "को टेकनाथ रिजाल ?" क्षुब्ध हुँदै मन्त्री पाण्डेले प्रतिप्रश्न गर्नुभयो । टेकनाथ रिजाल अन्तर्राष्ट्रिय समुदायमा समेत चिरपरिचित एक लाख भुटानी शरणार्थीहरूका सम्मानित नेता भएको तथा हामीले उहाँ र अन्य शरणार्थीहरूलाई नेपाली डायास्पोराको एउटा अङ्गको रूपमा माया गरेको जवाफ दिएपछि पाण्डेको क्षुब्धता झन् बढेर गयो, "तपाईंहरू भुटानी हो ? नेपाली राजदूतावासमा भुटानीहरूका बारेमा किन छलफल गर्नुहुन्छ ? टेकनाथ रिजाल राजनीतिक पार्टीका नेताहरूसँग नारिएर हिँडेका छन् । हामी पनि हेर्छौं तिनीहरूले उनका समस्या कसरी समाधान गर्छन् ? म त्यस्ता शरणार्थी नेतालाई चिन्दिनँ ।" अनि, गम्किँदै उहाँले थप्नुभयो, "हेर्नुस्, म साधारण मान्छे हुँ, तपाईंहरूजस्तो 'ब्रोड माइन्डेड' छैन, न त मलाई तपाईंहरूसँग भोट नै माग्नुपरेको छ !" म त्यस कार्यक्रममा थिइनँ तर आश्चर्यचकित र अपमानबोधले खिन्न भएका साथीहरूबाट त्यस अन्तरक्रियाका बारेमा थाहा पाएपछि मैले सोचेँ, आफू साधारण मान्छे भएको स्वीकारोक्ति उहाँको झूट बोल्ने सिलसिलाकै एउटा कडी हो । एउटा पनि आमचुनाव नजिती त्यति लामो समयसम्म सत्ता-राजनीतिको त्यस 'शिखर' मा साधारण मान्छे कसरी टिक्न सक्छ ? निश्चय पनि एउटा आममान्छेले टेकनाथ रिजाल तथा उहाँलाई बलात् भुटानलाई सुम्पेर एक दशक लामो दावानलमा झोक्नेहरूलाई राम्ररी चिनेको छ र अहिले सत्ताको मियोमा उनीहरूकै हालीमुहाली चलेको देखेर ऊ विचलित छ ।

रुसको एउटा सामान्य इन्स्टिट्युसको 'डक्टरेट' को उपाधिलाई ठूलै अन्तर्राष्ट्रिय 'रिकग्निसन' का रूपमा राजालाई ग्रहण गराउन सक्ने तथा संसारभरिबाट त्यसरी नै झूटको खेती गर्दै ल्याएको 'नयाँ लुगा' लगाइदिएर बादशाहलाई विस्तारै वस्त्रहीन पार्न सक्ने रमेशनाथ पाण्डे निश्चय पनि 'साधारण' मान्छे हुनुहुन्न । मैले उहाँलाई मस्कोमा भेटिनँ तर उहाँको 'करिअर ग्राफ' हेर्दा लाग्छ, दिमाग जति सङ्कुचित भयो, सायद माथि उक्लिन उति नै सजिलो हुन्छ ।


(साभार: नेपाल पाक्षिक, ११-१२-२००५)

No comments: