Thursday, November 17, 2011

डायास्पोरा र मूलदेश: पारस्परिक सम्बन्धका आयामहरु

डा. जुगल भूर्तेल

विदेशी समाजमा जति घुलमिल हुन सक्यो विदेशमा उति नै संभावनाका ढोका खुल्दै जान्छन्, प्रगतिको बाटो चौडा हुँदै जान्छ र अन्तत: विदेशिनुको मुख्य कारण--परिवारिक समृद्धि--को प्राप्ति पनि सहज हुन्छ । तर ती सबै आकर्षणका वावजुद प्रवासी समुदायले ‘मेल्टिङ पट’ मा पग्लिएर पराई जीवनलाई पूर्णरुपले आत्मसात गर्न नसक्ने नै रहेछ । त्यसैले भूमण्डलिकरणको तीव्रताले राष्ट्रका सीमाहरु कमजोर हुने संभावना बढे पनि आफ्नो छुट्टै परिचयलाई जीवन्त राख्‍ने मान्छेको चाहानालाई भने आश्चर्यजनकरुपले झन् उजागर गरिदिएकोछ । डायास्पोराहरुको अस्तित्व र परिचयको सर्वोच्च स्वरुप तिनको मूलदेश हो । त्यसैले आफ्नो देश नभएका आइरिस, यहुदी, कोसोभो आदि डायास्पोराले देश बनाउने संघर्षमा सघाएका उदाहरण छन् । आज पनि प्यालेष्टिनी डायास्पोरा त्यसैकोलागि लडिरहेकोछ । आफ्नो मूलदेश भएका डायास्पोरा भने ती देशलाई समृद्ध र सुदृढ बनाउने अभियानमा लागेका छन् । किनकी मूलदेशको समग्र उन्नतिका आधारमा विदेशमा उनीहरुको मुल्याङ्कन हुन्छ । टर्कीका नोवेल पुरस्कार विजेता लेखक अरहान पामुकले आफ्नो ‘हिउँ’ भन्ने प्रसिद्ध उपन्यासमा एउटा कुर्द पात्रले युरोपमा प्रवासी जीवन बिताइरहेका आफ्ना दाजुभाइ दिदीबहिनीको अवस्थाका बारेमा यस्तो मार्मिक कुरा भन्छ तिनीहरु कुनै एउटा गरीबप्रति सहानुभुति दर्शाउँछन् होला तर जब सिङ्गो मुलुक नै दरिद्र हुन्छ सम्पूर्ण विश्वले के सोच्छ भने त्यस देशमा बस्ने सवै मान्छे मुर्ख, दिमागहीन, अल्छी, फोहोरी र ढङ्ग नभएका छन् । सहानुभूति दर्शाउनु सट्टा संसार तिनीहरु माथि हाँस्छ । तिनीहरुका संस्कृति, परम्परा र रीतिरिवाजहरु सवै हाँसउठ्दा लाग्छन्....जब त्यो देशका प्रवासी जनताहरु उनीहरुको आँगन बढार्छन् वा सवै भन्दा तुच्छ काम गर्छन्, त्यतिखेर ती प्रवासीहरुले असन्तोष व्यक्त नगरुन् भनेर तिनीहरुको संस्कृतिको बारेमा सुनेको झैं अभिनय गर्छन् ....गरिव देशको कुनै मान्छेलाई देख्दा युरोपियनको अन्तरमनमा सवै भन्दा पहिले शंकाको भाव पैदा हुन्छ यो मान्छेको दिमाग पनि त्यही मुर्खता र तुच्छताले भरिएको हुनु पर्छ जसले यसको सम्पूर्ण मुलुकलाई नै अकिंचन बनाएकोछ... विभिन्न देशमा यस्तै अवस्था भोगेको हुँदा हामीले मातृभूमिको समृद्धिमा डायास्पोराको इज्जत, सम्मान र सुरक्षा आधारित हुन्छ भन्ने राम्ररी बुझेका छौं ।

मातृभूमि छाडेर विदेशिने प्रवृत्ति जति बढ्दैछ उति नै संसारभरि आ-आफ्ना मातृभूमिलाई समृद्ध र सुदृढ पार्न सहयोग गर्ने उद्धेश्यले, विशेषगरी अल्पविकसित मुलुकका, डायास्पोराहरुको राष्ट्रिय र अन्तर्राष्ट्रिय संजाल बन्ने प्रक्रिया झन्-झन् व्यापक हुँदै गएकोछ । पछिल्लो दशकमा सूचना-प्रविधिमा भएको क्रान्तिले संजाल निर्माणको प्रक्रियालाई सहज र सर्वसुलभ बनाइदिए पछि त संसारका प्राय: सवै डायास्पोराहरु कुनै न कुनै रुपमा संगठित हुने क्रम एक्कासी बढेकोछ । ल्याटिन अमेरिकी राष्ट्रका डायास्पोराहरु मूलत: ‘होमटाउन एसोसिएसन’, ‘रिटर्नी एसोसाएसन’ जस्ता कुनै स्थानीय क्षेत्रविशेषको विकासलाई सहयोग गर्ने संस्थाहरु मार्फत संगठित भएका छन् भने अफ्रिकी मुलुकका डायास्पोरा बृहत् अफ्रिकी परिचयको सेरोफेरोमा आवद्ध हुँदै गएका देखिन्छन् । गैरआवासीय नेपाली अभियान पनि विश्व डायास्पोरिक चेतनामा आएको त्यही जागरणको परिणाम हो । अरु डायास्पोरालाई झैं हामीलाई पनि द्वन्द, गरिवी र अस्थिरता मुक्त सुन्दर, शान्त र समृद्ध मातृभूमि चाहिएकोछ ।

जब सम्म यतातिरको पुस फ्याक्टर (गरिवी, बेरोजगारी, असुरक्षा, राजनैतिक अस्थिरता, आदि) ले ढकेली रहन्छ र उतातिरको पुल फ्याक्टर (रोजगारी, उच्च जीवनस्तर, शान्ति र स्थिरता) ले तानिरहन्छ, दक्षिणबाट उत्तरतिर मान्छेको बसाइँसराई भइ नै रहनेछ । अल्पविकसित मुलुकहरुबाट हरेक वर्ष २० देखि ३० लाख मान्छे प्रवासिने गरेको अनुमान गरिन्छ । अधिकांशको गन्तव्य अमेरिका, जर्मनी, क्यानडा, अष्ट्रेलिया र खाडी मुलुक रहेकोछ । तिनले वार्षिक घर पठाउने रेमिटेन्स कूल अन्तर्राष्ट्रिय वैदेशिक अनुदानको भन्दा निकै नै बढि छ । तेस्रो विश्वका धेरै मुलुकमा रेमिटेन्स प्रमुख आयस्रोत नै बनेकोछ । रेमिटेन्स अन्य सवै पूँजी प्रवाह, वैदेशिक सहायता भन्दा स्थिर र भारतको सन् १९९० को दशकको अनुभवलाई हेर्दा कठिन समयमा अझ बढ्ने देखिएको हुँदा यसलाई विकासको भरपर्दो साधनको रुपमा हेर्ने प्रचलन बढेकोछ ।

नेपालको सन्दर्भमा राजनैतिक अस्थिरता, द्वन्द र बेरोजगारी धेरै ठूला पुस फ्याक्टर हुन्, जसका कारण अत्याधिक संख्यामा नेपाली युवा विदेशिएका छन् । आजपनि हरेक दिन १००० भन्दा बढिको संख्यामा नेपाली युवाहरु नयाँ जीवनको खोजिमा विदेशिने क्रम जारी छ । गैरआवासीय नेपाली संघको अनुमानित तथ्याङ्क अनुसार सार्क मुलुक बाहिर मात्र ३० लाखको हाराहारीमा नेपालीहरु छन् र यो संख्या निरन्तर बढ्दो छ । तिनले पठाएको रेमिटेन्सले ठूलो राजनैतिक अस्थिरता र औद्योगिक निराशाको स्थितिमा पनि नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्‍याउँदै आएकोछ । रेमिटेन्सका कारण समग्र मुलुक कै र विशेषगरी ग्रामीण क्षेत्रको गरिवी घटेको तथ्यांक सार्वजनिक भइरहँदा गैरआवासीय नेपाली समुदायको यो योगदानका प्रति हामी जति गर्व गर्नसक्छौं त्यति नै विदेशवाट त्यस्तो दु:ख गरेर पठाएको कमाइ मूलत: उपभोगजन्य क्रियाकलापमा प्रयोग हुनेगरेको अर्को किसिमको तथ्यांकले चिन्ताजनक छ । रेमिटेन्सको रचनात्मक उपयोगका लागि ल्याटिन अमेरिकी र फिलिपिन्स जस्ता मुलुकको लामो अनुभवबाट हामीले शिक्षा लिन सक्छौं ।

युरोप र विशेषगरी अमेरिकामा एउटै गाउँ जिल्ला आदिबाट अल्पकालीन रोजगारीमा आएका प्रवासीहरु आफ्नो ठाउँसँगको सम्वन्धलाई अक्ष्क्षुण राख्न र त्यहाँ लोककल्याणका काम गर्ने उद्धेश्यले होमटाउन एसोसिएसन (एचटीए) खोल्ने प्रबृत्तिको विकास भएकोछ । मेक्सिकनहरुको मात्रै ३००० त्यस्ता संस्था भएको अनुमान गरिन्छ भने फिलिपिनोहरुका पनि अनुमानित हजार भन्दा बढि त्यस्तै प्रकृतिका संगठनहरु सक्रिय छन् । त्यस्ता संस्थालाई उत्साहित गर्ने उद्धेश्यले मेक्सिकोका केही प्रान्तीय सरकारले त्रेस पोर उनो (एक वापत तीन) कार्यक्रमको संचालन गरेका छन्, जस अनुसार एचटीएले स्थानीय बिकासमा लगाएको एक डलर बराबर राष्ट्रिय, प्रान्तर स्थानीय सरकारले एक-एक गरी थप तीन डलर लगानी गर्छन् । सन् २००५ बाट विश्वव्यापी मनी ट्रान्सफर कम्पनी वेष्टर्न युनियनले अरु एक डलर थपेर कार्यक्रमलाई ‘एक-वापत-चार’ बनाएकोछ । एल साल्भाडोर सरकारको ‘ऐक्यवद्धता’ र बान्को एग्रिकोलाको ‘संयुक्त हात’ कार्यक्रम पनि लोककल्याणकारी योजनामा डायास्पोरा संगठनहरुको संलग्नतालाई बढाउने उद्धेश्यले संचालन गरिएका हुन् । अन्तराष्ट्रिय दातृ संस्थाहरुले पनि केही अफ्रिकी र ल्याटिन अमेरिकी मुलुकमा डायास्पोरा संगठनद्वारा संचालित विकास निर्माणका योजनामा साझेदारका रुपमा लगानी गर्न थालेको उदाहरण छन् । लस एन्जेलस, डालास, सिकागो जस्ता सहरमा रहेका मेक्सिकन डायास्पोराका धेरै जसो एचटीएहरुले मेक्सिकोको आ-आफ्नो क्षेत्रमा लोककल्याणकारी कार्यक्रममा लगानी गर्नुका अलावा खानेपानी, सरसफाइ, बाटो निर्माण, ग्रामीण विद्युतिकरण र साना तथा मझौला उद्योगको संचानलमा जस्ता परियोजनामा निमाणमा समेत संलग्न छन् । कतिपय गाऊँका लागि यी आधारभूत आवश्कता हुन्, जसमाथि स्थानीय सरकारको ध्यान पुग्न सकेको हुँदैन ।

अर्को महत्वपूर्ण अन्तरराष्ट्रिय उदाहरण व्यवसायमा सफलता प्राप्त गरेका स्कटिस डायास्पोराका सानो समुहको ‘ग्लोबल स्कोट’ नेटवर्क हो । त्यसको उद्धेश्य व्यवसायिक ट्रेड सिक्न चाहाने र अवसरको खोजिमा रहेका विश्वभरिका स्कटिस नागरिकलाई नेटवर्कका सदस्यको अनुभव र सल्लाहबाट लाभान्वित तुल्याउनु रहेकोछ । यस बाहेक अन्तरराष्ट्रिय व्यापार विस्तार गर्न चाहाने स्कटल्याण्डका कम्पनीहरुलाई त्यसको वातावरण निर्माणका लागि नेटवर्कका सदस्यहरु स्वयंले आवश्यक निशुल्क परामर्श दिनुपनि ‘ग्लोबल स्कोट’ स्थापनाको अर्को महत्वपूर्ण उद्धेश्य हो । स्कटल्याण्डका नेटवर्कका सदस्यहरुले स्कटल्याण्ड बाहिर रहेका आफ्ना गैरआवासीय नागरिकलाई तिनको रुची र अध्ययन मुताबिक मातृभूमि भित्र अल्पकालीन रोजगारी, इन्टर्नसिप, ट्रेनिङको अबसर खोजिदिने र स्कटल्याण्डका युवा व्यवसायीलाई विदेशमा अध्ययन, लगानी आदिको व्यवस्था गर्न सहयोग गर्ने गरेका छन् । स्कटिस डायास्पोरालाई देशसँग जोड्ने र त्यो सुदृढ सम्वन्धको धरातलमा मुलुकमा सक्षम व्यवसायिक वर्गको उत्थान र अन्तत: मातृभूमिको विकासमा योगदान गर्ने ग्लोबल स्कट नेटवर्कको यो अनुभवबाट हामीपनि लाभान्वित हुनसक्छौं । अर्को सानो नेटवर्क ‘ग्लोबल चिली’ पनि यस्तै उद्धेश्यले स्थापित संस्था हो । चिलियन मूलका नागरिक वा चिलीसँग कुनै सम्बन्ध भएका युरोप, अमेरिका र क्यानडामा बस्ने व्यवसायिकरुपमा सक्षम सदस्यहरु रहेको यो सानो संस्थाले चिलीमा मानवीय संसाधनको विकास र व्यवसायको सृजनामा सहयोग पुर्‍याउँदै आएकोछ । ‘ग्लोबल चिली’ र ‘ग्लोबल स्कोट’ नेटवर्कको महत्वपूर्ण शिक्षा के हो भने प्रत्यक्ष उपलब्धि हासिल गर्न ठूलै संगठन नचाहिने रहेछ ।

यद्यपि हाम्रो अन्तिम चाहना त कुनै पनि नेपालीले कामको खोजिमा बिदेशिनु नपरोस्, देश भित्रै रोजगारी मिलोस् भन्ने नै हुनु पर्छ, तर जब सम्म त्यस्तो हुन सक्दैन आदर्शका कुरा गरेर मात्र समय खेर फाल्नु हुन्न । विकसित राष्ट्रमा गएर राम्रा विश्वविद्यालयमा अध्ययन गरेका, राम्रो ओहोदामा काम गरिरहेका नेपालीहरु दुर्भाग्यवश अहिले नै घर फर्कन सक्ने परिस्थित देखिँदैन । विकसित मुलुकमा पुगे पछि भरसक उतै बस्न चाहाने नेपालीको संख्या बढिरहेकोछ । पछि मुलुकमा राजनैतिक स्थायित्व आएर आर्थिक एजेण्डाले प्रमूखता पाउन थालेपछि गैरआवासीय भारतीयहरु मातृभूमि फर्के जस्तो हाम्रा प्रवासी दाजुभाइ दिदीबहिनीहरु पनि नेपाल फर्केलान् । तर अमेरिका, क्यानडा, अष्ट्रेलिया वा युरोपका बिभिन्न मुलुकमा विद्यार्थीकाल बिताएर उतै काम खोजी बसोबास गर्ने ग्लोबल एक्सपोजर पाएका नेपालीहरु स्वेच्छाले वा वाध्यतावश समयक्रममा विदेशी नागरिक हुने सम्भावना धेरै रहन्छ । बिकसित मुलुकमा त्यहाँका नागरिकले माध्यमिक तह सम्मको नि:शुल्क शिक्षा, उच्च शिक्षामा ठूलो सहुलियत, बालबच्चालाई नि:शुल्क औषधोपचार, बृद्धावस्थामा रेखदेख, निबृत्तिभरण आदि सामाजिक सुरक्षा सम्वन्धी विविध सुविधा पाइरहेका हुन्छन् । कतिलाई राम्रो रोजगारी पाउन पनि अर्को देशको नागरिक हुनुपर्ने बाध्यता छ । तिनै देशलाई कर्मभूमि बनाएर, कर तिरेर पनि नागरिकता नभए यावत सुबिधावाट बञ्चित हुनु पर्ने भएकोले नचाहाँदा-नचाहाँदै पनि धेरै नेपालीहरुले बिदेशी नागरिकता लिएका छन् । हामी भावनात्मक अपिल त गर्न सकौंला तर त्यसलाई अहिले रोकिहाल्न सक्दैनौ । त्यसैले त्यस्तो ‘ब्रेन ड्रेन’लाई रोक्न सकिन्न भने त्यसलाई मुलुकको विकासमा कसरी रचनात्मक उपयोग गर्न सकिन्छ त्यता तिर सोच्न आवश्यक छ । ‘ब्रेन ड्रेन’ को बहस जारी नै छ र विकासोन्मुख मुलुकहरुको चिन्ताको विषय पनि हो । तर विदेशमा स्थापित हुन सक्ने प्रतिभाले त्यहाँ आफूलाई स्थापित गराइसकेपछि मूलदेशमा ज्ञान, प्रविधी र पूँजी लगेर व्यवसाय संचालन गर्न थालेका उदाहरण बढ्‍दै गएपछि अहिले ‘ब्रेन गेन’ र ‘ब्रेन सर्कुलेशन’ को चर्चा हुन थालेकोछ । छिमेकी भारत नै त्यसको सबैभन्दा ठूलो उदाहरण हो । विदेशिएको प्रतिभालाई घर फर्काउन सकिन्न तर मातृभूमिमा विभिन्न परियोजनामा तिनलाई संलग्न गराएर त्यसबाट फाइदा लिन सकिन्छ

डायास्पोरालाई मूलदेशसँग जोड्ने कडी भनेको भावनात्मक सम्वन्धको सुदृढिकरण हो । नेपाली डायास्पोरा मूलत: पहिलो पुस्ताको भएकोले अझैपनि हाम्रा सम्वन्धका जराहरु नेपालमा गहिरोसँग गाढिएका छन् । तर डायास्पोरामा पुस्तान्तर हुँदै जाँदा, त्यो सम्वन्ध त्यति नै स्थिर नरहन पनि सक्छ । पहिलो पुस्ताको जीवन विदेशमा स्थायित्वको खोजीमा नै वित्‍ने गर्छ । त्यसैले नेपालको आर्थिक र सामाजिक रुपान्तरणमा साँच्चै योगदान गर्न सक्ने भनेको डायास्पोराको दोस्रो पुस्ता नै हो । त्यो पुस्ताका अधिकांश युवा नेपाली मूलका विदेशी नागरिक हुने निश्चित छ । त्यसैले तिनलाई नेपालसँग जोडेर राख्‍न नागरिकताको सवालमा मुलकका नीतिनिर्माताहरु उदार हुन जरुरी छ । विश्वभरिको अनुभवबाट शिक्षा लिएर दोहोरो नागरिकतालाई राष्ट्रोपयोगी बनाउन सकिन्छ । अमेरिका, क्यानडा, स्विटजरल्याण्ड, फ्रान्स, इटाली, रुस जस्ता विकसित देश मात्र हैन छिमेकी भारत, पाकिस्तान, बंगलादेश श्रीलंका, माल्दिभ्स वा सार्क बाहिरका फिलिपिन्स, मेक्सिको, मोरक्को, घाना, बुर्किना फासो, जोर्डन, लेबनान, केन्या लगायत विश्वका थुप्रै मुलुकले कुनै न कुनै प्रकारले दोहोरो नागरिकताको प्रश्नलाई संवोधन गरेर बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा आफूलाई उदार प्रमाणित गरिसकेका छन् । नेपालले पनि ‘एक पटकको नेपाली सधैंको नेपाली’ रहने उदार संवैधानिक व्यवस्था गर्न आवश्यक छ । सधैंको नेपाली रहने नागरिकताको प्रावधानले विदेशमा बस्ने नेपालीहरुलाई नेपालसँगको सम्वन्धलाई अक्षुण राख्दै विदेशी नागरिकता लिने र त्यहाँको राज्यवाट प्राप्त हुने सुविधा उपभोग गर्दै आफ्नो आर्थिक स्थितिमा सुधार गर्नसक्ने एवं आफ्ना संततिलाई नेपाल देश र नेपाली संस्कृतिसँग जोडेर राखिरहन सक्ने परिस्थितिको सृजना गरिदिनेछ । माथि भने झैं विदेशमा स्थापित हुन संघर्षरत पहिलो पुस्ताको डायास्पोरा भएकोले नेपाली मूलका विदेशी नागरिकहरुको ठूलो आर्थिक लगानी गर्ने हैसियत अझै बनिसकेको छैन । तर भावी पुस्ता भने त्यसरी संघर्षरत रहने बाध्यताबाट मुक्त हुनेछ । त्यो आर्थिक र बौद्धिक रुपले वर्तमान पुस्ता भन्दा सक्षम हुनेछ । भावनात्मक स्तरमा नेपालसँग जोडिएर रहेको खण्डमा त्यसले नेपालको विकासमा निकै ठूलो भूमिका खेल्ने निश्चित छ ।

गैरआवासीय नेपाली संघले आफ्ना विश्व, क्षेत्रीय र विभिन्न देशमा हुने राष्ट्रीय अधिवेशन मार्फत थुप्रै घोषणा गर्ने गरेकोछ । वास्तवमा घोषणा-पत्रहरु हाम्रा सम्मेलनका अविभाज्य अंग बनिसकेका छन् । ती ऐतिहासिक दस्ताबेजमा हाम्रा ठूलाठूला भावना व्यक्त भएका छन् । तर भावनाको आवेग अनुरुप तिनको कार्यान्वयन हुन नसकिराखेको परिस्थिति छ । हामीलाई ‘कुरा गर्न अघि सर्ने काम गर्न अल्छि मान्ने’ समुदायको रुपमा पनि यदाकदा चित्रित गर्न थालिएकोछ । यसमा केही सत्यता भएपनि सबैले मनन गर्नै पर्ने मुल कुरा चाहीँ के हो भने नेपाली डायास्पोरामा देखिएको हलचल एउटा ठूलो अभियान हो । गैरआवासीय नेपाली संघको निर्माण, सम्मेलनहरुको आयोजना, त्यहाँ व्यक्त विचारहरु, मातृभूमिसँगको हाम्रो अन्तरक्रिया, आदि सबै समग्रमा त्यही अभियानका अंग हुन् । त्यसैले यसको उपादेयता र उपलब्धिको मुल्याङ्कन यही ८ वर्षको छोटो अवधिमा गर्न सम्भव छैन । नेपालमा गैरआवासीय नेपालीका जतिपनि क्रियाकलाप, बौद्धिक र आर्थिक लगानी भएका छन् ती आफैंमा दूरगामी महत्वका छन्, जसले डायास्पोराको भावी पुस्तालाई नेपालसँगको सम्वन्धलाई निरन्तरता दिने एउटा आधार खडा गरेकोछ । नेपाली डायास्पोरामा ‘जसरी भएपनि नेपालमा केही न केही त गर्नै पर्छ’ भन्ने उत्साह देखिनु सानो उपलब्धी होइन । तर पनि मातृभूमिको हामीप्रति ठूलो अपेक्षा छ र हामीले त्यस अनुरुपको योगदान गर्न सकेका छैनौं । त्यसको समीक्षा हुन जरुरी छ । ‘ग्लोबल चिली’ र ‘ग्लोबल स्कोट’ नेटवर्कहरुले आफ्नो मुलदेशमा जे गरिरहेका छन् गैरआवासीय नेपाली संघले पनि त्यस्तै प्रकृतिको ‘नलेज बैंक’को अवधारणा अगाडि सारेको थियो, तर विविध कारणले त्यो प्रभावकारी हुनसकेन । स्वयंसेवी संस्थाहरुले एजेण्डाहरुमा निरन्तर काम गर्न नसक्ने रहेछन् भन्ने यो एउटा शिक्षाप्रद उदाहरण हो । ‘ग्लोबल चिली’ र ‘ग्लोबल स्कोट’ नेटवर्कहरुले आफ्नो मुलदेशमा योजनालाई कार्यान्वयन गर्न एक एकवटा स्थानीय गैरसरकारी संस्थासँग सहकार्य गर्ने गरेको देखियो । हामीले पनि आफ्ना घोषणालाई कार्यान्वयन गर्न स्थानीय संस्थाहरुको सहयोग लिँदा बढि उपयुक्त र प्रभावकारी हुने सम्भावना छ ।

आरम्भमा देखिने अतिउत्साहलाई एउटा स्वयंसेवी संस्थाले सधैं कायम राख् नसकेका प्रसस्त उदाहरणहरु छन् गैरआवासीय नेपाली संघको अभूतपूर्व विश्वव्यापी विस्तार दुई वर्षमा काठमाण्डौमा जम्मा हुने बृहत् भेलाले हामीमा अझै त्यो उत्साह कायमै भन्ने देखाउँछ त्यो घट्नु अगावै गैरआवासीय नेपाली संघको घोषित उद्धेश्य अनुरुप नेपालको आर्थिक-सामाजिक रुपान्तरणमा अझ सक्रिय भएर लागि हाल्ने चूनौति हाम्रो सामु हाम्रा हरेक पहल, घोषणा योजनाको कार्यान्वन गर्न कम्तिमा एकजना प्रोजेक्ट च्याम्पयिन नेपालमा सहयोगका लागि सक्षम स्थानीय संस्थाको आवश्यकता देखिन्छ विश्वका अरु डायास्पोराको अनुभवलाई हेर्दा कुनै पनि डायास्पोराको उचित प्रभावकारी उपयोग गर्न त्यसको मुलदेशमा सहकार्य गर्न सक्षम संस्थाहरु हुनु आवश्यक रहेछ

बृहत् नेपाली समाज र नेपालको राजनीतिक वर्गले अन्तत: डायास्पोराको सामुहिक सम्भावनालाई बुझेको देखिन्छ । हामीसँग पनि संसारमा संभवत: अरु कुनै डायास्पोरासँग नभएको गर्व गर्नलायक विश्वव्यापी संगठन एवं संख्यात्मक र गुणात्मक रुपले संसारभरि निरन्तर फैलिरहेको नेपाली समुदायको अनन्त उत्साह छ । हाम्रा विविध कानुनी आवश्यकताहरु त छन् तर तिनको क्रमश: निरुपण हुँदै जानेछ । यो सकारात्मक वातावरणलाई गैरआवासीय नेपाली संघ र नेपाल सरकार दुवैले उपयोग गरेर डायास्पोरा र मातृभूमिबीचको पारस्परिक हित हुने प्रभावकारी सम्बन्धको विकासलाई अझ तीव्र पार्न सक्नु पर्छ । अन्यथा नेपाली समाजको हामीप्रतिको सद्‍भाव र डायास्पोराको गैरआवासीय नेपाली संघप्रतिको विश्वासपनि क्रमश: घट्दै जानेछ ।

लेखक गैरआवासीय नेपाली संघका सल्लाहकार एवं पूर्वप्रवक्ता हुन्

साभार: ऐक्यवद्धता मासिक, अक्टोबर, २०११

No comments: