Wednesday, January 25, 2012

सोभियतकालीन ठट्टा

रुसी भाषाको परिहास परम्परा र रुसी जातिको सेन्स अफ ह्‍युमर विलक्षण छ भन्दा खासै अत्युक्ति हुँदैन । रुसी जातिको साहित्य र सँस्कृतिमा हास-परिहास, उखानटुक्का, चार लाइनका मुक्तक वा एक लाइनको एफरिज्मको ठूलो स्थान छ । अर्कादी राइकिन, मिखाइल झ्भानेच्की, मिखाइल जादोरनोभ, जस्ता रुसी हास्य कलाकारहरुको स्टेण्ड-अप कमेडी लाई भाषा र शब्द विन्यासको हिसावले उत्कृष्ट साहित्यको कोटीमा राख्‍न सकिन्छ। रुसी भाषाको समृद्धि नै त्यसको मुख्य कारण हुनसक्छ । रुसी भाषामा लेखिएका व्यङ्ग्यहरु विश्व साहित्यका उत्कृष्ट धरोहर मानिन्छन् । यति ठूलो सृजनशीलता भएको भाषा र जाति सन् १९१७ को अक्टोबर क्रान्ति पछि भने निकै कुण्ठित भयो । सोभियत संघमा कम्युनिष्ट पार्टीका ब्युरोक्र्याटहरुले सेन्सर गरेर पास भएका कितावहरु मात्र छापिने थाले, वाक् स्वतन्त्रता लगभग निषिद्ध भयो । त्यस्तो व्यवस्थासँग असहमत हुने धेरै सर्जक निर्वासित गरिए । सर्वहाराको अधिनायकवाद मा विचारमा एकरुपता भएको नयाँ सोभियत मान्छेको निर्माण गर्ने अभियान थालियो, साहित्य र सँस्कृतिका मानकहरु फेरिए । विचारमा विविधता नभएपछि सृजनामा निरसता आउँने रहेछ । रुसी साहित्यपनि अक्टोबर विप्लवको शिकार भयो । त्यो समयमा सोभियत व्यवस्थाका कुनै पनि अवयवमाथि ब्यङ्ग्य गर्नु वा त्यसो गरेको सुनेर पनि सम्वन्धित निकायलाई रिपोर्ट नगर्नुलाई रुसी पेनलकोडको दफा ५८ अनुसार सोभियत बिरुद्धको प्रोपोगण्डा अर्थात फौजदारी अभियोग मानिन्थ्यो । यो वातावरणमा पनि रुसको हास्य-ब्यङ्ग्य विधा भने आश्चर्यजनक ढङ्गले मौलाइरह्‍यो, रुसी जनताले सोभियत राजनीतिमाथि जोक, ठट्टा, चुट्किला, कविता, मुक्तक आदिका माध्यमबाट परिहास गर्न छाडेनन् । सोभियत व्यवस्था, सरकार, साम्यवाद, कम्युनिष्ट पार्टी र त्यसको नेतृत्ववर्गमाथि परिहास गर्न साहित्यकारहरु र सामान्य जनताले पनि नयाँ नयाँ तरिकाको आविष्कार गरे । सोभियतकालीन जोकका केही नमुनाहरु:

सबै भन्दा छोटो ठट्टा: कम्युनिज्म!

१) के मार्क्सवाद विज्ञान नै हो त ?

- खै, विज्ञान भएको भए त सुरुमा पशुहरुमाथि परीक्षण गर्थे होलान् नि !

) के साम्यवादमा टेलिफोन गरेर पैसै नतिरी खाद्यान्नको अर्डर गर्न मिल्छ भन्ने कुरा सत्य हो ?

- सत्य हो, तर त्यस बेला खाद्यान्न चाहीं टेलिभिजन मार्फत घरघरमा पुर्‍याइनेछ ।

) साम्यवादमा केजीबी (राष्ट्रिय सुरक्षा एजेन्सी) हुन्छ कि हुँदैन ?

- हुँदैन । त्यतिन्जेल सम्म मान्छेले आफैंले आफैंलाई गिरफ्तार गर्न सिकिसकेको हुनेछ ।

) साम्यवाद भनेको के हो ?

- त्यो यस्तो अवस्था हो, जब पसलहरु मान्छेलाई चाहिने सामानले भरिभाराउ हुनेछन् । अर्को शब्दमा भन्नु पर्दा जारशाही कै पालामा जस्तो अवस्था हो ।

) के एउटा मात्र मुलुकमा सामाजवादको निर्माण सम्भव छ?

- सम्भव त छ, तर बस्न चाहीँ अरु नै मुलुकमा बस्नु ।

) जर्मनीले मार्क्सबाट के पायो ?

- पूर्वले- कम्युनिष्ट पार्टीको घोषणापत्र र पश्चिमले –पूँजी

) शिक्षक: सोभियत जनता सारै खुशी छन् किनकि क्षीतिजमा साम्यवाद देखिइसकेको छ ।

विद्यार्थी: क्षीतिज भनेको के हो सर?

शिक्षक: यो आकाश र पृथ्वी जोडिएको जस्तो देखिने काल्पनिक रेखा हो । हामी जतिजति नजिक जान्छौं त्यो उतिउति हामीबाट टाढा हुन्छ ।

) ग्राम कम्युनिष्ट पार्टीको भेलामा छलफलका लागि दुई एजेण्डा राखिएका थिए- क) गाईगोठको निर्माण ख) साम्यवादको निर्माण । आवश्यक बजेटको अभावमा गाईगोठ निर्माणलाई हाल थाति राख्ने निर्णय गर्दै भेलाले सिधै दोस्रो एजेण्डामा प्रवेश गर्‍यो ।


संसारको सबैभन्दा स्वतन्त्र मुलुक: सोभियत संघ

१०) हाम्रो सोभियत समाजवादी अर्थतन्त्रको सबैभन्दा स्थायी विशेषता के हो?

- खाद्यान्नको ‘अस्थायी’ अभाव नै हाम्रो अर्थतन्त्रको सबैभन्दा स्थायी विशेषता हो ।

११) अमेरिकाले चन्द्रमामा मान्छे पुर्‍याइसक्दा पनि सोभियत सरकार आफ्ना नागरिकलाई त्यहाँ पुर्‍याउन किन नहतारिएको ?

- किनकि सरकारलाई थाहा छ, ती मध्ये अधिकांश फेरि सोभियत संघ फर्कन चाहाँदैनन् ।

१२) सोभियत संघ र अमेरिकाको संविधानमा के तात्विक भिन्नता छ ? दुवैले बोल्ने स्वतन्त्रताको ग्यारेन्टी गर्छन् ।

- हो, तर अमेरिकाको संविधानले बोले पछिको स्वतन्त्रताको पनि ग्यारेन्टी गर्छ ।

१३) सोभियत कम्युनिष्ट नेता जस्ता सर्वज्ञाता राजनितिज्ञहरुले पनि यो कठीन प्रश्नको उत्तर दिन सकेका छैनन् –

- विश्वका सबै मुलुक समाजवादी भए भने हामीले खाद्यान्न चाहीँ को सँग किन्ने होला ?

१४) सोभियत संघको सूर्य बिहानै देखि किन त्यस्तो प्रफुल्ल देखिन्छ ?

- किनकि उसलाई थाहा छ साँझ सम्म ऊ जसरी भएपनि पश्चिममा पुगिसकेको हुनेछ ।

१५) सोभियत संघले किन अफगानिस्तान मै आक्रमण गरेको होला ?

- पोलिटब्युरोले अ, आ, इ, ई... बाट सुरु गर्ने निर्णय गरेकोले ।

१६) सोभियत अखबारले गरेको मत सर्वेक्षण: तपाई के पढ्नु हुन्छ ? तपाईंको जीवन कसरी चलिरहेको छ?

एउटा उत्तर यस्तो आयो: सबै दैनिक अखबार पढ्छु । नत्र मलाई कसरी थाहा हुन्थ्यो मेरो जीवन सुखी छ ।

) दश कक्षाको परीक्षामा विद्यार्थीलाई स्वयंले निर्धारण गरेको मापदण्ड अनुसार सोभियत नागरिकको वर्गिकरण गर्न लगाइयो । एकजना विद्यार्थीको उत्तर यस्तो थियो:

सोभियत संघमा तीन प्रकारका नागरिकहरु छन् १) जेलको अनुभव हासिल गरिसकेका २) हाल जेलमा रहेका, र ३) भविष्यमा जेल जानेहरु ।

) कक्षा दशको नयाँ विषय- यौनशिक्षा- पढाउने शिक्षकको पहिलो पिरियड: प्रिय विद्यार्थीहरु, पुरुष र पुरुषबीच वा महिला र महिलाबीचको प्रेम अप्राकृतिक र अनैतिक भएकोले त्यसका बारे यो कक्षामा हामी चर्चा गर्नेछैनौं । पुरुष र महिला बीचको प्रेमका बारे तिमीहरु आफैं म भन्दा जानकार छौ । चौथो र पाँचौं प्रकारको प्रेम भनेको – कम्युनिष्ट पार्टीको जनतासँग र जनताको पार्टीसँगको प्रेम हो । तसर्थ, हामी यो पुरै साल पछिल्ला दुई प्रकारका प्रेमको बारेमा मात्र अध्ययन गर्नेछौं ।

) विद्यार्थीकालका दुई मित्रहरु अचानक बाटोमा भेटिए ।

तिमी कहाँ काम गर्छौ ?

म स्कुलमा पढाउँछु । तिमी नि ?

म केजीबीमा काम गर्छु ।

ए..अनि त्यहाँ के काम गर्छौ त?

हामी सोभियत व्यवस्थासँग असन्तुष्टहरुको पर्दाफास गर्छौं ।

मतलब, तिम्रो भनाइ अनुसार सोभियत व्यवस्थासँग सन्तुष्ट पनि यहाँ छन्?

, छन् नि । तर तिनको जिम्मेबारी भने समाजवादी सम्पत्ति दुरुपयोग निवारण विभागको हो ।

२०) विदेशी कम्युनिष्ट पार्टीको प्रतिनिधी मण्डललाई मस्कोको एउटा प्राथमिक विद्यालयमा लैजाने निर्णय गरियो । तिनीहरु आइपुग्नु अघि बच्चाहरुलाई हरेक प्रश्नको उत्तरमा यति मात्र भन्नु भनेर सिकाइयो -सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ ।

आगन्तुक- नानीहरु तिमीहरुलाई आफ्नो स्कुल कस्तो लाग्छ ?

बच्चाहरु- सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ

आगन्तुक- स्कुलमा तिमीहरुलाई खुवाइने खाना नि ?

बच्चाहरु- सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ

आगन्तुक- तिमीहरुका खेलौना ?

बच्चाहरु- सोभियत संघमा जे पनि संसारमा सबैभन्दा राम्रो छ

त्यसपछि कक्षाको सबैभन्दा सानो बालक डाको छाडेर रुन थाल्यो ।

शिक्षिका- भ्लादिमिर, के भयो तिमीलाई ?

सानो बालक (रुँदै)- मिस, म सोभियत संघ जान चाहान्छु ।

२१) सोभियत शासनका सात आश्चर्यहरु:

· बेरोजगारी छैन, तर कोही काम गर्दैन

· कोही काम गर्दैन, तर योजना पुरा हुन्छन्

· योजना पुरा हुन्छन्, तर किन्न केही पाइँदैन

· किन्न केही पाइँदैन, तर पसलमा जताततै लाइन छन्

· पसलमा जताततै लाइन छन्, तर ‘सवैसँग सबै थोक छ’

· ‘सवैसँग सबै थोक छ’, तर सबै असन्तुष्ट छन्

· सबै असन्तुष्ट छन्, तर सधैं सहमत छु भनेर भोट हाल्छन् ।

२२) कम्युनिष्ट पार्टीको सदस्यताको लागि आवेदन दिएका इभानोभसँग पार्टीको सदस्यता वितरण समितिको अन्तरवार्ता:

समिति- कामरेड इभानोभ, तपाईं धुम्रपान गर्नु हुन्छ ?

इभानोभ- कहिलेकाहीं गर्छु ।

समिति- तपाईलाई थाहा छैन कामरेड लेनिनले कहिल्यै चुरोट खानु भएन र अरु कम्युनिष्टलाई पनि नखान सल्लाह दिनु भएको थियो ?

इभानोभ- यदि महान कामरेडले त्यसो भन्नु भएकोछ भने, म धुम्रपान त्यागी दिन्छु ।

समिति- रक्सी ?

इभानोभ- यसो साथीभाइसँग मात्र... ।

समिति- तपाईंलाई कामरेड लेनिनले मद्यपानको कडा आलोचना गर्नु भएकोछ भन्ने जानकारी रहेनछ ।

इभानोभ- त्यसो हो भने म अब देखि रक्सीलाई हात पनि लाउँदिन ।

समिति- कामरेड इभानोभ, परस्त्रीगमन ... ?

इभानोभ- अँ..अँ....खासै त्यस्तो... ।

समिति- तपाईलाई थाहा छैन होला तर कामरेड लेनिनले कुनैपनि प्रकारको अनैतिक आचरणको निकै कठोर निन्दा गर्नु भएकोछ ।

इभानोभ - यदि प्रिय कामरेडले निन्दा गर्नु भएकोछ भने म अब देखि महिलाहरुलाई माया गर्दिन ।

समिति- कामरेड इभानोभ, के तपाई पार्टीका लागि जीवन बलिदान गर्न तयार हुनुहुन्छ ?

इभानोभ- अवश्य तयार छु । त्यस्तो निरस जीवनको मलाई के काम ?

२३) वाल्यकालमा एकदिन लेनिनले चुरोट खाँदैगर्दा उनकी आमाले देखिन् । उनले आमालाई ध्रुमपान त्याग्ने वचन दिए । पछि उनले श्रमिक र किसानलाई पनि अरु धेरै किसिमका वचन दिए, तर पालना भने पहिलो वचनको मात्र गरे ।

२४) अमेरिकी राष्ट्रपति निक्सन मस्को भ्रमणमा भएको बेला क्रेमलिनमा उनको र ख्रुश्चेवको दौड प्रतियोगिता राखियो, जसमा निक्सन विजयी भए । यस घटनाको सोभियत प्रेसले यसरी रिपोर्टिङ गर्‍यो - ‘अन्तर्राष्ट्रिय दौड प्रतियोगितमा कम्युनिष्ट पार्टीका कामरेड महासचिवले सम्मानित दोस्रो स्थान प्राप्त गर्नु भयो । त्यही प्रतियोगितामा मिष्टर निक्सन भने अन्तिम भन्दा एक स्थान अगाडि हुन सफल भएका थिए ।’

२५) स्तालिनले आफ्ना गृहमन्त्री बेरियालाई बोलाएर आफूलाई मन पर्ने टोपी हराएको कुरा सुनाए । तर, भोलि पल्ट टोपी कतै भेटियो । बेरियाले भने – तर कामरेड, मैले त यो आरोपमा २५ जनालाई समाइसकें र सबैले टोपी चोरेको स्विकार पनि गरिसकेका छन् ।

र, अन्त्यमा सोभियत संघको विघठन भइसकेपछि कम्युनिष्ट पार्टी निकै अलोकप्रिय भएको समयमा:

ग्राहक: कामरेड, तिम्रो पसलमा दारी काट्ने छुरा छ ?

बिक्रेता: छैन ।

बिक्रेताको साथी: तैलें किन छैन भनेको, हामीसँग त्यति धेरै छुराको स्टक छ ?

बिक्रेता: त्यसले मलाई कामरेड भनेर सम्वोधन गर्‍यो । जाओस् न हँसियाले दारी काटोस् !

संकलन: जुगल भूर्तेल

Nayapatrika, 24 January 2012

http://www.nayapatrika.com/inside-nepal/16731-%E0%A4%B8%E0%A5%8B%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%A4%E0%A4%95%E0%A4%BE%E0%A4%B2%E0%A5%80%E0%A4%A8-%E0%A4%A0%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A4%BE.html

2 comments:

mani said...

great ones dai!hope same things' no going to happen to us.

Prabhat said...

आशा गरौं नेपालमा यस्ता जोकको जन्म हुने छैन । तर खै भन्न चाहिँ सकिँदैन है सोभियतका नयाँ अनुयायीहरुको ताल हेर्दा । गजब जोक दाइ...