Wednesday, June 25, 2008

बरिस यल्तसिनको ‘लिगेसी’


डा∙ जुगल भूर्तेल
रुसका प्रथम राष्ट्रपति बरिस निकोलाइभिच यल्तसिनको निधन पछि संसारभरि उनको देनबारे छलफल हुँदैछ। गएको शताव्दीमा संसार कै राजनैतिक दिशालाई प्रभावित गर्ने खालका दुईवटा ठूला-ठूला आर्थिक प्रयोग भए । संयोगवश परस्पर विपरित ध्रुवका ती दुवै प्रयोगलाई रुसी जनताले नै झेल्नु पर्‍यो- एउटा भ्लादिमिर लेनिनको समयमा सन् १९१७ मा सुरु भएको मार्क्सवादी अर्थतन्त्रको निर्माण र अर्को त्यसको सात दशक पछि यल्तसिनको पालामा भएको त्यस व्यवस्थाको पुँजिवादी रुपान्तरण । अक्टोबर क्रान्तिले स्थापित गरेको रुसको त्रासद इतिहासमाथि धेरै चर्चा भइसकेकोछ तर यल्तसिनको कदमको अझै वस्तुगत विश्लेषण हुन बाँकी छ।
राष्ट्रपति यल्तसिनले अर्थतन्त्रको ‘शक थेरापी’ गर्दा घाइते भएकाहरुको घाउ अझै आलै छ यल्तसिनबिना पनि आर्थिकरुपले जर्जर भइसकेको सोभियत अधिनायकवादको अन्त्य अवष्यम्भावी जस्तै थियो तर उनले त्यसको गतिलाई भने ह्वातै बढाइदिए । एकथरि रुसीकालागि त्यो ठूलो योगदान हो भने अर्काथरिकालागि गहन अपराध । त्यसैले रूस तथा पूर्व सोभियत गणराज्यहरूमा उनलाई 'सोभियत संघ धरासायी पार्ने राष्ट्रद्रोही' र 'सोभियत दासत्वबाट स्वतन्त्रता दिलाउने मुक्तिदाता' भनेर दुवै किसिमको सम्बोधन गर्नेहरू प्रशस्त भेटिन्छन्। वास्तवमा आधुनिक रूसको इतिहासमा यल्तसिनजस्तो जनतालाई अपार आशा र विश्वास दिलाउने अनि त्यत्तिकै निराश पनि बनाउने अर्को राजनेता शायद जन्मिएको छैन। त्यसैले मृत्युपरान्त उनलाई दिइएको राजकीय सम्मान र उनको शवलाई अन्तिम दर्शन गर्न ओइरिएको भिँड धेरैकालागि अनपेक्षित थियो ।
कठोर व्यक्तित्व भएको राजनेताले मात्र संक्रमणकालीन मुलुकको नेतृत्व गर्न सक्छ भन्ने तथ्यको पछिल्लो उदाहरण हुन् यल्तसिन । जनतालाई मन नपरे पनि देशकालागि आफूले आवश्यक ठानेको निर्णय लिन सक्ने र त्यसको सारा अपजसपनि आफैंले लिने साहस नै उनको राजनैतिक व्यक्तित्वको सवै भन्दा प्रखर पक्ष थियो । सन् १९९१ मा राजनैतिक अन्योलले दिशाहीन भएको रुसको प्रथम राष्ट्रपतिमा निर्वाचित हुँदा बरिस यल्तसिनले कमजोर अर्थतन्त्र, खाद्यान्नको चरम अभाव, भ्रष्टाचार, बेरोजगारी, र सवै भन्दा माथि जनताका असीमित आकांक्षाहरुलाई तुरन्तै पुरागर्ने चुनौति पाएका थिए । केन्द्रिकृत साम्यवादी अर्थतन्त्रबाट रुस जस्तो विशाल मुलुकलाई सुहाउँदो पुँजीवादी बजार व्यवस्थामा रुपान्तर गर्ने कुनै पूर्वस्थापित बाटो नभएकोले आफ्ना त्रुटीहरुवाट शिक्षा लिँदै अगाडि बढ्नु बाहेक उनीसँग अर्को उपाय थिएन । आफू जस्तै गहिरो राजनैतिक आत्मविश्वास भएका अनुभवी सहयोगीहरु नभेटिनु पनि उनको ठूलो दुर्भाग्य रह्‍यो । घरिघरि नयाँ प्रधानमन्त्री नियुक्त गरेर उनले राष्ट्रपतिकालको अन्तिम दिन सम्म त्यो खोजी जारी राखे । अथवा हुन सक्छ राज्य सञ्चालनको कुनै निश्चित दर्शनको अभावमा आफ्ना वरिपरिका मान्छेलाई उनले सही मार्गदर्शन गर्न सकेनन् । त्यसैले उनका प्रधानमन्त्रीहरु, मन्त्रीहरुवाट एकपछि अर्का नीतिगत गल्तिहरु भइरहे । उनका वरिपरि पनि ब्रेझनेभकालमा योङ कम्युनिष्ट लिगका सदस्य बनेका र गोर्वाचोवको पेरेस्त्रोइका युगमा हठात् सुधारवादी बनेका अवसरवादी मान्छेहरुको भिँड लाग्यो, जसको एकमात्र उद्देश्य थियो जसरी पनि चाँडो भन्दा चाँडो राज्यको सम्पत्तिमाथि कब्जा जमाउनु ।
सोभियत संघको अवसान पछि टाटपल्टिएको रुसको अर्थतन्त्रको पुँजीवादी रुपान्तरण विश्व बैंक र विशेषगरी अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण र सल्लाहमाथि निर्भर हुन बाध्य भयो । उनीहरु यल्तसिनलाई सरकारी स्वमित्वमा रहेका उद्योग-धन्दाहरु निजी क्षेत्रलाई नदिए पश्चिमी विश्ववाट पुँजी र राजनैतिक समर्थन आउँदैन भनेर तर्साइरहन्थे । फलस्वरुप ठूलो मात्रामा अवमुल्यन गरेर देशका उद्योग धन्दाहरु निजी क्षेत्रलाई बेच्ने अत्यन्तै अदूरदर्शी निर्णय गरियो । रातारात पुँजीवाद ल्याउने लक्ष राखेर गरिएको अति महत्वकांक्षी निजिकरणले भ्रष्टाचारलाई संस्थागत मात्र गरेन धेरै पुस्ताको वलिदानले जोडेको राज्यको सम्पत्तिमा मुलत: पुरानै कम्युनिष्टहरुको त्यही आकस्मिक सानो वर्गको कव्जा जम्यो । नवधनाढ्य त्यो वर्गलाई बुझाउन रुसी भाषामा नौलो शव्द आयो – अलिगार्क । अर्को तिर पेन्सनको भरमा बाँचेका बृद्धहरु, भुतपूर्व सैनिकहरु र साधारण जनताको आर्थिक हैसियतमा भने ठूलो ह्रास आयो । अकस्मात् आएको अविश्वासनीय गरिवीले जनतामा राजनैतिक परिवर्तनप्रति गहिरो मोहभंग हुनु स्वाभाविक थियो । राष्ट्रिय सम्पतिको असमान बितरणले सामाजिक फुट र द्वन्दको स्थिति आयो । मुद्राकोषको निजिकरण थेरापीले रुसको आर्थिक रोग त निको भएन तर ‘लोकतन्त्र’, ‘उदारवाद’ जस्ता शव्दहरु जनताले शासक वर्गलाई गर्ने गाली बने र उदारवादीहरु स्वयं जनताका नयाँ शत्रु । सोभियत संघका राष्ट्रपति मिखाइल गोर्वाचोव झैं यल्तसिनको बौद्धिक छबी थिएन । साधारण जनतासँग तिनकै भाषामा सिधा संवाद गर्न सक्ने प्रतिभाले उनलाई राजनीतिको त्यो शिखरमा पुर्‍याएको थियो । तर साधारण मानवोचित उनका कमजोरी पनि थुप्रै थिए । उनको भोद्काप्रतिको लगाव, प्रोटोकललाई ख्यालै नगरी अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रपतिलाई नसुहाउने आचरण गर्ने बानि, आदि कमजोरिमाथि रुसमा थुप्रै चुट्किला बनेका छन् । प्रथम चिचेन युद्धको असफलता, सन् १९९३ मा आफ्नै संसद भवनमा तोप पड्काउने अनुचित निर्णय, सन् १९९६ मा दोस्रो राष्ट्रपतिकालको निर्वाचनमा भएको धाँधलीको आरोप जस्ता घटनाले उनको प्रजातान्त्रिक प्रतिष्ठामा प्रश्नचिन्ह लागेको छ । कुनै यस्तो समय पनि आयो की लगातार राजनैतिक बिरोध, बढ्दो चिचेन आतंक र अर्थतन्त्रको झन्-झन् गहिरिँदो संकटलाई सामना गर्दागर्दा रोगी बनेका यल्तसिनले देश चलाएको महसुस नै हुन छाड्यो ।
बिद्रोही र संघर्षशील स्वभावका यल्तसिन अन्तर्ज्ञानले शासन गर्थे, उनको कुनै निश्चित राजनैतिक लाइन थिएन । रुसका एकजना वरिष्ठ पत्रकारले सन् १९९० तिर उनलाई “के तपाईं लोकतन्त्रवादी हो” भनेर सोध्‍दा उनले इमानदारीपूर्वक भनेका थिए “हिजो सम्म कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेको मैले आफूलाई कसरी लोकतन्त्रवादी भन्न सक्छु ? म लोकतन्त्र बुझ्ने प्रयास गरिरहेको एउटा विद्यार्थी मात्र हुँ ।” तर उदारवादी व्यवस्थाप्रतिको उनको विश्वास इमानदार थियो । गोर्वाचोवको बिरुद्धमा गरिएको ‘कु’ असफल भएपछि त्यसलाई खुलेर सहयोग गर्ने रुसको कम्युनिष्ट पार्टीमाथि सदाकालागि प्रतिबन्ध लगाउने जनसमर्थन तथा प्रसस्त नैतिक र कानूनी आधारहरु थिए । सैनिक बिद्रोह गरेर उनको भौतिक सफाया गर्न उद्दत आफ्नै उप-राष्ट्रपति अलेक्सान्द्र रुच्कोईलाई पनि आजीवन बन्दी बनाइदिन सक्थे । तर साँचो राजनेतालाई अनुदारता सुहाउँदैन भन्ने उखानलाई चरितार्थ गर्दै उनले कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्धलाई तुरन्तै फुकाइदिए । रुच्कोईलगायतका बिद्रोहीहरुलाई उनले आममाफी मात्र हैन नयाँ राजनैतिक करियर बनाउने अवसर समेत दिए । तर सात दशकको एकछत्र शासन पछि यल्तसिनकालमा हठात् सत्ताच्युत भएका कम्युनिष्ट पार्टीका सासंदहरुले उनको जीवनभरि रचनात्मक प्रतिपक्षको भूमिका त निर्बाह गर्न सकेनन् नै उनको मृत्यु पछि पनि संसदको मौनधारण कार्यक्रममा कुर्सीवाट उठ्न नमानेर सभ्य समाजलाई नसुहाउने विद्वेषको लज्जास्पद प्रदर्शन गरे । उनको आठ वर्षे शासनकालमा रुसमा एकजना पनि राजनैतिक बन्दी थिएन । त्यहाँको इतिहासमा त्यस्तो कहिलै भएको थिएन । लोकतन्त्र बिना रुस एउटा समृद्ध युरोपेली मुलुक बन्न सक्दैन भन्ने कुरामा उनको दृढ विश्वास थियो । त्यसैले उनले आफ्नो सक्रिय राजनैतिक जीवनको उत्तरार्धलाई एउटा महत्वपूर्ण लक्ष्य प्राप्तिकालागि समर्पित गरेका थिए- रुसमा अधिनायकवादको जरालाई यसरी काटिदिने की त्यो फेरी कहिल्यै मौलाउन नसकोस् । त्यस उद्देश्यमा भने उनी सफल भएको मेरो ठहर छ । संक्रमणकालका असीमित चूनौतिको सामना गर्दै एउटा राष्ट्रको रुपमा स्थापित, सुदृढ र बिकसित हुँदै गएको रुस नै राष्ट्रपति यल्तसिनको ‘लिगेसी’ हो । उनले बनाएको लोकतान्त्रिक संविधानले पहिलो पटक व्यक्तिको आर्थिक र राजनैतिक स्वतन्त्रतालाई संस्थागत गर्‍यो र मास मिडियालाई स्वतन्त्र र स्वावलम्बी बनायो । रुसको ऐलेको द्रुत आर्थिक प्रगतिको आधार अर्थात बजार अर्थतन्त्रको विकासका पहिला साह्रै अप्ठ्यारा पाइलाहरु यल्तसिन कै कार्यकालमा चालिए । लाखौं जनताले आफू बसिरहेको सरकारी अपार्टमेण्टलाई सस्तो मूल्यमा निजिकरण गर्ने मौका पाए । सोभियत संघको अन्तिम समयमा देखिएको खाद्यान्नको अभाव पूर्णरुपले समाप्त भयो, खालि भएका पसलहरु सामानले भरिए । पश्चिमसँगको सम्बन्धमा आएको सुधारले रुसको सैन्य खर्चमा कटौती संभव भयो । इगोर गैदार देखि भ्लादिमिर पुटिन सम्म थुप्रै युवानेताहरुलाई राज्यसंचालनमा संलग्न गराएर उनले नयापुस्तालाई राजनीतिमा आकर्षित गरे, जसको सकारात्मक असर अहिले देखिएकोछ । राष्ट्रप्रमुखहरु कुर्सी मै मर्ने वा अपदस्त गरिने सोभियत परम्परालाई तोड्दै अस्वस्थ भएपछि आफ्ना सवै असफलताकोलागि जनतासँग क्षमा याचना गर्दै आफू भन्दा सक्षम युवालाई स्वेच्छाले सत्ता हस्तान्तरण गरेर उनले नौलो इतिहासको सुरुआत गरे । सोभियत संघको विखण्डन पछि रुस महासंघका स-साना जातिय गणराज्यमा देखिएको विखण्डनको लहरलाई प्रजातान्त्रिक ढङ्गले समाधान गर्दै रुसलाई अर्को युगोस्लाभिया बन्नवाट बचाएर पुन: एक पटक शान्त, समृद्ध तर लोकतान्त्रिक ढाँचाको महाशक्ति राष्ट्रको रुपमा विकसित हुने आधारको निर्माण नै बरिस यल्तसिनको सवै भन्दा ठूलो योगदान हो । अझै इतिहासको धङ्धङिमा बाँचिरहेको रुसले जुन दिन आफूलाई सोभियत साम्राज्यको भग्नावशेष नभएर युरोपेली सभ्यताको एउटा विशाल अंगको रुपमा ग्रहण गर्न सक्छ त्यसै दिन मात्र बरिस यल्तसिन जस्ता राजनेताको सही मुल्याङ्कन हुनेछ ।
(लेखक मस्कोमा कार्यरत छन्)
(यसको प्रमुख अंश हिमाल पाक्षिक, पूर्णाङ्क १९५ मा प्रकाशित भएकोछ)

No comments: