प्रिय युग,
तिमीले प्रेमपूर्वक दिएको ‘उर्गेनको घोडा’ पढिसकेपछि सुन्दर साहित्य सृजनाका लागि वधाई दिन चाहान्छु । प्रखर राजनैतिक विश्लेषकको रुपमा तिमीलाई चिन्नेहरुले अब पहिलो प्रयास मै एउटा सशक्त उपन्यासको सृजना गरेर ठूलो संभावना देखाएको युवा साहित्यकार भनेर थप आदर गर्नेछन् । समाज परिवर्तनको चाहानामा मतैक्य भएपनि त्यसकालागि तिमीले पछ्याएको ‘पथ’ र मैले हिँड्ने गोरेटोमा जुन गम्भिर भिन्नताहरु छन्, त्यसलाई यो उपन्यास पढ्दै जाँदा झन् टड्कारो रुपमा महसुस गरेँ । माओवादी ‘जनयुद्ध’माथि लेखिएको कथा भएकोले यो लेखकको कल्पना हो भन्ने बिर्सिएर मैले उपन्यासका कतिपय प्रसंगलाई ‘जनयुद्ध’काल मा नेपाली समाजले भोगेका त्यस्तै त्रासद घटनाहरुसित घरिघरि तुलना गरिरहें । धेरै जसो स्रष्टालाई ‘मैले त समाजका किम्वदन्तीहरु, घटना, सपना, आकांक्षा, दु:ख र संघर्षलाई लय मिलाएर बर्णन मात्र गरिदिएको हुँ’ जस्तो लाग्छ, तर आफूले स्थापित गराउन चाहेको मान्यता र ‘देखेको सत्य’लाई तिनले कुनै न कुनै ढङ्गले स्थापित गराइ छाड्छन् । विशेष गरी ‘क्रान्तिको चेतना वाहिरबाट भरिदिनु पर्छ’ भन्ने दर्शनसँग सहमत हुने सर्जकहरुमा ‘सत्य’ लाई स्थापित गराउने आंकाक्षा निकै तीव्र हुने गर्छ । उर्गेनको घोडाको हिनहिनाइमा त्यस्तै ‘सत्य’को एकोहोरो गुञ्जन सुनिन्छ ।
साहित्यको सृजना त धेरैले गर्छन् तर शक्तिशाली बिम्वको प्रयोगले कल्पनाको उडानलाई पनि यही धर्तीको विचरण जस्तो देखाएर पाठकलाई बाँधिराख्नल सक्ने साहित्यकारहरुको संख्या उति ठूलो हुँदैन, किनकि त्यसकालागि सही बिम्वको निर्माण र त्यसको सुक्ष्म प्रयोग गर्न सक्ने विलक्षण प्रतिभाको खाँचो हुन्छ । यसमा तिम्रो सफलता प्रसंसनीय छ । इतिहासको कुनै पनि कालखण्डमा न उर्गेन थियो, न उसको घोडा । हो, उर्गेनको जाति त्यहाँ सधैं थियो र अन्य धेरै उपेक्षित समुदाय झैं निरंकुश सामन्ति सत्ताको शोषणले पीडीत त्यो समुदायमा पनि आकांक्षा, आक्रोश र विद्रोहको चेतना थियो । तर उपन्यासमा एउटा महत्वपूर्ण पक्षलाई तिमीले उपेक्षा गर्यौत कि भन्ने मलाई लाग्छ । के उर्गेनको जातिभित्र वर्गीय विभेद र शोषण थिएन ? यो प्रश्न किन महत्वपूर्ण छ भने यदि उर्गेनको समुदाय आफैंमा शोषणविहिन हो भने उसको आत्मसम्मानको संघर्षलाई स्थापित गराउन अर्को सिङ्गो जातिलाई ‘शोषक, अपराधी र विभेदकारी’ देखाउनु जरुरी हुन्छ । त्यसमाथि अलिकति ‘षडयन्त्र’ पनि थपिदिँदा त झनै रोमाञ्चक । त्यसकालागि तिमीले उर्गेन र खस राजाको युद्धको किम्वदन्तीलाई रोजेका छौ । खस र त्यसमाथि राजा पनि भएपछि त ‘कुटिल षडयन्त्र’ हुने नै भयो, जसको परिणाम स्वरुप एउटा सिंगो जाति आत्मसम्मानविहिन बन्छ । कथा सुन्दर छ तर उन्मत्त जातीय चेतनाको बिगबिगिले सामाजिक सद्भा व खल्वलिएको नयाँ नेपालमा सन्देहास्पद किम्वदन्तीको आधारमा संवेदनशील जातीय विषयमाथि नयाँ इतिहास रचेको तिमीलाई आरोप पनि लाग्न सक्छ । खसहरुलाई अहिले इतिहासका कल्पित र यथार्थ सबै ‘अन्याय’ का लागि कठघरामा उभ्याउने लहर नै चलेकोछ । हाम्रो सामाजिक र राजनैतिक विभेदको मूल जड कुनै जातीय रुप-रङ्ग नभएको सामन्तवाद हो भन्ने स्वभाविक यथार्थलाई पूर्णत उपेक्षा गर्दै सम्पूर्ण खस जाति नै विगतका अपराधी हुन् भनेर औंला ठड्याउने आपत्तिजनक प्रवृत्तिको विकास भएकोछ । र, त्यो प्रवृत्तिलाई ‘अग्रगमन’ को नाम दिइएकोछ । जाजरकोटमा जीवनजल नपाएर छट्पटाउँदै अपमानजनक मृत्यवरण गर्ने पनि धेरैजसो खस नै थिए । तिनले इतिहासमा अरु जातिमाथि कस्तो अमानवीय शोषण गर्ने ‘अपराध’ गरेको थिए होलान् ? तर ‘दक्षिणपन्थी’, ‘प्रतिगमनकारी’, ‘सामन्तवादको पृष्ठपोषक’ आदि उपमाहरुको परवाह नगरी इतिहासको यस्तो विकृत व्याख्याको विपक्षमा उभिने साहस देखाउने नेपालीको संख्या आशलाग्दो ढङ्गले बढिरहेको छ । उपन्यासमा एकठाउँमा संघर्ष जातीय हो कि वर्गीय भन्ने द्वन्दको सृजना त भएकोछ तर समग्र प्लटमा त्यो प्रसंग कमजोर छ । गम्भीर लेखक सतहमा बग्दैन, किनकि आफ्नो चेतनाको स्तरले ऊ समाजलाई बाटो देखाउने अगुवा हो, उसले आम मान्छे भन्दा बढि बुझेको हुन्छ वा हुनुपर्छ र त्यसलाई व्यक्त गर्ने माध्यममा उसको पकड हुन्छ । आजको ‘क्रान्तिकारी’ जमातले खोजेको ‘सत्य’लाई उपन्यासमा पस्किएर अलि धेरै नै ‘अग्रगमनवादी’ देखिने सहज बाटो त तिमीले खोजेका छैनौ ? उपन्यास पढुञ्जेल घरिघरि यो भावले मनलाई विचलित गरिरहन्छ ।
उपन्यासका क्रान्तिकारीहरुमा परिवर्तनको चाहना र त्यसकालागि युद्धप्रतिको समर्पण मार्मिक लाग्छ । तर पनि युद्धलाई उपन्यासमा उत्सवको रुपमा प्रस्तुत गरिएको छ । ‘क्रान्तिकारी’ हरु मानौ लडाईंमा गइहाल्नु पर्ने अस्वभाविक आतुरीले उत्तेजित छन् । सबैलाई बन्दुक चलाउने हतार मात्र छ । धेरै भएको छैन ग्रामिण नेपालले अकल्पनीय पीडादायी यस्तै एउटा युद्ध भोगेको । कसैले त्यसलाई ‘जनयुद्ध’ भने, अनि कसैले गृहयुद्ध । त्यसमा दुवै पक्षबाट निकै क्रुर अपराध भएका छन् । माडीको बस दुर्घटना एउटा त्यस्तै घटना थियो, जसलाई उपन्यासको ‘क्रान्तिकारी’ जस्तै समुहले घटाएको थियो । समाज रुपान्तरणकालागि युद्ध नै चाहिन्छ भन्नेकालागि त त्यस्ता घटना सामान्य होलान् तर कथित ‘जनयुद्ध’ को विभीषिकामा जलेर तहसनहस भएको बृहत नेपाली समाज फेरि त्यस्तो दुर्भाग्य सहन सक्ने अवस्थामा छैन । त्यसैले आम नेपाली जनताका लागि कुनै पनि खाले युद्ध अब उत्सव हुन सक्दैन । उपन्यासमा पनि माडीको जस्तै घटना घटित हुन्छ र एउटा पात्रले निकै भावुक प्रतिकृया व्यक्त गर्छ । उसको प्रतिकृयाले मलाई उत्साहित बनायो र सोचें “अब उपन्यासमा हिंसाको औचित्यमाथि प्रश्न उठ्नेछ, युद्ध कुनै उत्सव हैन भन्ने मानवीय भावना घनिभूत हुनेछ” । तर भोलि विहानै हिंसामाथि वितृष्णा उत्पन्न भएको त्यो भावुक पात्र युद्धको मैदान छोडेर पलायन हुन्छ, याम्बु हान्न हतारिएकाहरु भने गीत गाउँदै अगाडि बढछन् । अर्थात हिंसाको विजय हुन्छ ।
उपन्यासमा मनमोहक आञ्चलिकता छ । उपन्यास भित्र बगेको समानान्तर उपन्यासले कथा सुनाउने शैलिमा नयाँपन थपेकोछ । रुपचन्द्र बिष्टका प्रसंगहरुमा यथार्थ र फिक्सनको सुन्दर संमिश्रण छ । उपन्यास भित्र अन्याय विरुद्धको आक्रोश, समतामूलक समाजको खोजी र त्यसकालागि क्रान्तिको तीव्र चाहना छ । तर त्यस्तो चाहना अति गहन भयो भने ‘जीवनको कठोर यथार्थले हिंसालाई अपरिहार्य बनाउँछ’ भन्ने भावको प्रस्फुटन हुन्छ र उपन्यासमा झैं “फेरि जनता मर्न तयार छन्” भन्ने जस्ता उद्घो्ष गराउँछ । “गाउँलेहरुलाई हलिगोठालो बनाउने ….मुखिया ठालुहरु गाउँ छाडेर भागे, गाउँहरु मुक्त भएका छन्” भनेर उपन्यासको एउटा ‘क्रान्तिकारी’ पात्रले गर्व गरिरहँदा सक्कली माओवादीले आफ्नो घर जग्गा कब्जा गरेका कारण जिल्लाका सदरमुकाममा सुकुम्वासीको जीवन जिउन अभिशप्त हजारौं नेपाली नागरिकको सम्झना आउँछ । के ती सबै मुखिया-ठालु नै हुन् त ? थातथलो छोडेर भागेका ती नेपालीहरुका कारण थुप्रै गाउँहरु उपन्यासमा जस्तो मुक्त भएका नभइ आतंकको साम्रज्यमा हरेक दिन अलिअलि गरेर मर्न विवश छन् । चल्तिका माओवादी ‘जार्गन’ प्रयोग गर्ने पात्रहरुले भरिएको यो उपन्यासमा ‘क्रान्तिकारी’ शव्दको सट्टा ‘माओवादी’ राखेपनि फरक नपर्नेगरी वर्तमान राजनीतिको प्रभाव परेकोछ । घरिघरि माओवादी ‘जनयुद्ध’ को प्रसंगलाई अघि सारेर उपन्यासको मुल्याङ्कन गरेकोमा तिमी मसँग प्रतिवाद गर्न सक्छौ तर ‘जनयुद्ध’ को आधारभूमिमा उभिएकोले त्यसको चर्चा नगरी यो उपन्यासको मुल्याङ्कन गर्न सम्भव छैन । खासमा उर्गेनको घोडा यथार्थ जस्तो फिक्सन र फिक्सन जस्तो यथार्थ बनेकोछ । नवोदित उपन्यासकारको रुपमा त्यही नै तिम्रो सफलता हो भन्ने मेरो ठहर छ ।
समग्रमा उर्गेनको घोडाले मभित्र मिश्रित भावहरु जन्माएकोछ । द्वन्दको सशक्त प्रस्तुतिका कारण लामो समय सम्म यसको चर्चा हुने कुरामा कुनै संदेह छैन तर पछिल्लो समयमा मभित्र पनि सघन हुँदै गएको जातिय प्रतिक्रियाले हुन सक्छ उपन्यासको संदेशले भने मलाई अलिकति असहज बनाएको छ । किम्वदन्तीका धमिला पात्रहरु इतिहासका स्पष्ट प्रतिनिधि हुन सक्छन् कि सक्दैनन् भन्ने विवादमा नपरी अहिलेलाई यत्ति भन्छु “उर्गेनको घोडा कति दौडेला थाहा छैन तर शक्तिशाली कलम बोकेर यसरी उपस्थित भएका युवा साहित्यकार युग पाठक भने नेपाली साहित्य संसारमा निकै लामो रेसको घोडा सावित हुनेछन्” ।
तिम्रो मित्र
जुगल भूर्तेल
Jugal_bhurtel@yahoo.com
युग पाठकको प्रतिक्रिया
आदरणीय जुगल दाई,
तपाईंको इमेल पढिसकेपछि मलाई नेपालमा भैरहेका व्यापक सांस्कृतिक उथलपुथलहरुको व्यवस्थापन कति जरुरी छ भन्ने गहिरो अनुभूति भयो । मेरो उपन्यास 'उर्गेनको घोडा'का सर्न्दर्भमा तपाईंका प्रश्नहरु, सन्देहहरु कति बलवान छन् भने तिनले हाम्रो समग्र सांस्कृतिक समस्याहरुकै बारेमा व्यापक बहसका निम्ति रिक्तस्थानहरु बनाएका छन् । उत्तरआधुनिकताजस्ता प्राज्ञिक विषयमा बहस गर्न हामीले जति दिमाग खर्च गर्यौं, त्यो भन्दा शक्तिशाली बहसहरु हाम्रा वास्तविक सांस्कृतिक धरातलमा सिर्जना हुनु पर्छ । एउटा र्सार्थक बहसको उठानका निम्ति तीन विशिष्ट सवालहरुमा यहाँ केही लेख्न खोजेको छु ।
पहिलो: औपन्यासिक 'सत्य'का सर्न्दर्भमा ।
शास्वत सत्यको आध्यात्मिक व्याख्यालाई मार्क्सले उन्नाइसौं शताब्दीमै खारेज गरिदिएका थिए । अबोधगम्य शास्वत सत्यलाई अस्विकार गर्दै मार्क्स, एंगेल्स र पछिका कैयौं मार्क्सवादीहरुले सापेक्ष सत्यको वैज्ञानिक व्याख्या अघि सारे । समाज विज्ञानको सर्न्दर्भमा त्यसैलाई वर्गीय सत्य भन्न सकिन्छ । लेनीन, ट्रटस्की, जर्ज लुकास, ग्राम्स्की हुँदै फ्रेड्रिक जेमिसन र टेरी इगलटनसम्म आइपुग्दा सत्य निर्माणका निम्ति आर्थिक राजनीतिक सामाजिक एवम् सांस्कृतिक हैसियतले भूमिका निर्वाह गर्ने तर्कहरु स्थापित भएका छन् । पिछडिएको कुनै जातिको गरिब मान्छे र उच्च जातको एलिटको सत्य फरक हुन्छन् ।
केन्द्रिय सत्ताको उत्पादन काठमाण्डुको कुरा गरौं । काठमाण्डुको हेजिमनी सम्भ्रान्तहरुको हातमा छ । मालपोत कार्यालय र महानरपालिकाका ढड्डा पल्टाएर हेर्न सकिन्छ । राजनीति, सेना, पुलिस, कर्मचारीतन्त्र इत्यादी सबै सत्ताका अंगहरुले उत्पादन गरेका धनाढ्य र नवधनाढ्यहरुका महलहरु काठमाण्डुमा अवश्य छन् । त्यसैले काठमाण्डुको हेजिमनी स्वयंले गरिबी, जातीयता, नश्लवाद, वर्णवाद इत्यादीको उत्पादन गर्दछ । अहिले आफैंले उत्पादन गरेको जातीयता, गरिबी र नश्लवादले काठमाण्डुलाई पिरोलेको छ ।
काठमाण्डु सत्ताले विभेदका अनेक संस्करणहरुको सिर्जना गरेको छ । त्यसैले मेरो उपन्यासका प्रमुख पात्रहरु काठमाण्डु (याम्बु) कब्जा गर्ने सपना बोकेर युद्धमैदानमा भिड्छन् । के यो सिर्जित सत्य हो - अथवा काठमाण्डु सत्ताले नबुझ्ने अर्को सत्य हो - सत्यको वर्गीय स्वरुपमा म विश्वास गर्दछु, त्यसैले मैले उत्पीडित र गरिबहरुको भाषा बुझ्ने कोशिस गरेँ, त्यो पक्षको सत्य रोजेँ । उपन्यासमा सिर्जित सत्य उत्पीडितहरुको सत्यको पुनर्सिजना मात्र हो ।
नेपाली भुखण्डमा सल्किएको जनयुद्धको आगो बाहिरबाट आरोपित थियो - अथवा त्यो आगो सल्काउन शोषणयुक्त, विभेदयुक्त सत्ता संरचना जिम्मेवार थियो - उपन्यासमा म्हेन्दो लगायतका पात्रहरु शोषणयुक्त समाजको अन्त्यका लागि हिंसात्मक युद्धमा समाहित भएका छन् । म्हेन्दो, पल्लवी, दोर्जेहरु शोषणको जगमा बनेको सत्ताका उत्पादनहरु हुन् । जनयुद्ध यस्तै मानिसहरुले लडेका थिए । यसका पक्ष विपक्षका सत्यहरु खोतल्ने प्रयत्नहरु भएका छन् तर उनीहरुले लडेको सत्य त सत्य हो नि । उनीहरुलाई सदैव रुख्याएर राखियो, त्यसैले उनीहरुको भाषा रुखो भयो, बन्दुकको भाषा उनीहरुको भाषा बन्न पुग्यो । जनयुद्धले यस्ता कथाहरु उब्जायो । मृत्युलाई उत्सवसरह स्विकार गर्नेहरु यही माटोमा उमे्रका थिए । जनयुद्धको पक्ष विपक्षमा कुरा गर्न सकिन्छ तर उनीहरुले लडेको लर्डाईं नै थिएन भन्न त सकिन्न नि, होइन र ?
दोस्रो: जातीयताको सर्न्दर्भमा
मनासिब होः इतिहासमा न उर्गेन थियो, न उर्गेनको घोडा नै । तामाङ किम्वदन्तीहरुमा तामाङ राजाहरु र राज्यहरुको पराजयको कथा पाइन्छ । उर्गेन मैले कल्पना गरेको पात्र हो र उपन्यासमा मायावी ढंगले आउने उर्गेनको घोडा इतिहास चेतको बिम्ब हो । तर तामाङ जातिको रगतमा बग्ने किंवदन्तीहरुबाट कथा उत्खनन् गरिएको पक्कै हो । के किम्वदन्तीहरु शुन्यबाट जन्मिन्छन् ? अवश्य पनि किम्बदन्तीहरु बन्नका लागि ऐतिहासिक धरातल हुन्छ । तामाङ जातिको अलिखित इतिहासमा जातीय उत्पीडन, विस्थापन र हिन्दु संस्कृतिको हिंसात्मक आरोपण मनग्य पाइन्छ । तामाङलाई निरिह परिचयसहितको खास 'जाति' (इस्पिसिज) बनाएको राजतन्त्र, राणातन्त्र हुँदै संस्थागत भएको राज्यसत्ताले थियो । आफैंले उत्पादन गरेको जातिलाई अहिले स्वीकार्न धेरैलाई हम्मे परेको छ । जातीयताको प्रश्न पक्कै संवेदनशील छ तर यसलाई दुत्कारेर अघि बढ्न सकिन्न ।
नेपाली इतिहास बाहुन र क्षेत्रीहरु शासक रहेको जातिवादी र नश्लवादी इतिहास थियो । राजनीति, सेना, प्रहरी, कर्मचारीतन्त्र जताततै यिनै जातिका मान्छेहरुको हालिमुहाली अहिले पनि देख्न सकिन्छ । उनीहरु शासक जाति भैरहनकै लागि अन्य कैयौं जातिहरुको निश्चित परिभाषा निर्धारण गरे । अन्य जातिहरुलाई निश्चित इस्पिसिज बनाए । म भन्छुः ताम्सालिङ, खम्बुवान, लिम्बुवान, थरुहट, मिथिला, नेवाः, भोजपुरा, तमुवान इत्यादि जातीय भावनायुक्त वैचारिक सत्ताहरु सबै इतिहासको रचना हो, केन्द्रिय राज्यसत्ताको रचना । शताब्दियौं लगाएर निर्माण गरिएको जातिलाई पन्छाउन सकिन्न तर यसको सांस्कृतिक र राजनीतिक व्यवस्थापनमा हामीले योगदान गर्नैपर्छ । तपाईंले ठीक कुरा उठाउनु भयो, हरेक जातिभित्र पनि वैचारिक 'बाहुन'हरु छन्, जातिभित्र वर्ग छ । जातीयताका आधारमा गरिएको उत्पीडनलाई जातीय पहिचानकै हतियारले सुल्टाउन सकिन्छ । तर जातीवादका आधारमा होइन, जातीय पहिचानसहितको वर्गीय व्यवस्थापनले ।
यो उपन्यासमा तामाङ जातिका पात्रहरुमार्फ जातिय उत्पीडन विरोधी आन्दोलनलाई प्रतिबिम्बन गर्ने मेरो कोशिस रहृयो । नेपाली समाजले भोगेका यी चीजहरुबाट हामी हाम्रो अन्तराष्ट्रिय साहित्य सिर्जना गर्नसक्छौं भन्ने बाक्लो विश्वास मलाई छ । हाम्रा समस्याहरु हाम्रा मौलिक र अन्तराष्ट्रिर्य विषयहरु हुन् । त्यसकारण मैले तामाङ जातिका मान्छेहरुले भोगेका पीडा, अत्याचार र उनीहरुको आत्माबाट उठेको विद्रोहलाई अनुसन्धान गरेँ । सत्यको यो पाटोलाई सदैव उपेक्षित राख्न सकिन्न । साथै समाजको यो घाउलाई जातीयताको इन्फेक्सन हुनबाट बचाउन पनि हाम्रो कोशिस हुनै पर्छ । तपाईंले भने झैं प्लटमा वर्गसंर्घष कमजोर भए जस्तो मलाई लाग्दैन । संवाद र घटनाहरुका आधारमा वर्गको कुरा कम आएको भएपनि सम्पूर्ण कथा नै वर्गीय धरातलमा उभिएको हुनाले म्हेन्दो जातिवादी नभएकी हो । जातिवादले जन्माएको समस्या अर्को जातिवादको दलदलमा फँसेर समाधान हुनसक्दैन भन्नेमा दाईको र मेरो कुरा मिल्छ ।
तेस्रो: जनयुद्धको प्रतिबिम्बनका सर्न्दर्भमा
समाज रुपान्तरणको खास चरणमा हिंसात्मक आन्दोलनहरु अपरिहार्य रुपमा उठ्ने गरेका छन् । अहिंसा सबैलाई प्रिय हुन्छ तर मानव समाज कहिल्यै हिंसामुक्त रहेन । हिंसाका अनेक प्रकारहरु हुन्छन् । त्यसकारण हिंसालाई गाली गरेर मात्र अहिंसाको उत्पति हुनेवाला छैन । संसारमा अन्तिम हतियार रहेसम्म अहिंसाको आलापले कुण्ठित हुनर्ुपर्छ । तर हिंसाका स्रोतहरुको पहिचान गरेर विभेदयुक्त राज्यसत्तालाई विवेकयुक्त बनाउने कोशिस हामीले गर्नैपर्छ । स्वार्थले ग्रसित समाजमा यस्तो कोशिस कहिलेकाहीं अनिवार्यरुपमा हिंसात्मक हुने गर्छ ।
जुली गुथम्यानले पछिल्लो समय निकालेको निस्कर्ष थियो: वनबिनास वास्तवमा राज्यसत्ताकै कारणले हुन्छ । प्राकृतिक स्रोतहरुमाथि हस्तक्षेप, भ्रष्टाचार र संस्थागत लुटका अनेक संस्करणहरुले काठमाण्डुमा केन्द्रित गरेको वैभवमा प्रत्यक्ष अप्रत्यक्ष ८५ प्रतिशत गरिबहरुको रगत थुप्रिएको छ । राज्यसत्ताले गरिबीको उत्पादन गरिरहेको छ । तल्लो जाति, दलित, महिला भएकै कारण अधिकांश नेपालीले पाएको कष्टको मूल्य अनन्त छ । पाँच छ वर्षअगाडि सर्वोच्च न्यायालयभित्रै आफ्नो जीउमा मटितेल र्छर्किएर आगो लगाउने एउटी बुढी आमाको कथा दोहोरिन छाडेका छैनन् ।
जब बहुसंख्यक मानिसहरुप्रति सत्ता र सत्ता निसृत वैचारिक हतियारले निरन्तर हिंसा थोपर्छ, तब सत्ताले जनतासँग संवाद गर्ने भाषा गुमाउँछ । अनि सत्ताको एउटै बुझिने भाषा बन्दुकको भाषा बन्नपुग्छ । तत्पश्चात बन्दुकको भाषा र्सवभौम भाषा बन्नजान्छ र हिंसात्मक ब्रि्रोहको नयाँ भाषाको रचना हुन्छ । यो समाज विज्ञानको कुरा हो, कसैले सिद्धान्त आरोपित गर्दैमा जन्मिने कुरा होइन । हामीलाई चित्त बुझे पनि नबुझे पनि ज्वालामुखीहरु जन्मन्छन् किनभने भुगर्भको भाषा त्यस्तै हुन्छ ।
उर्गेनको घोडाको कथा त्यस्तै ज्वालामुखीबाट टिपिएको हो । कथा भन्ने शिल्प पक्षले बनाएका केही कल्पित चीजहरुका अलावा यो उपन्यासका एक एक घटनाहरु यथार्थकै पुनर्रचना हुन् । तपाईंले भन्नुभएको छ, 'खासमा उर्गेनको घोडा यथार्थ जस्तो फिक्सन र फिक्सन जस्तो यथार्थ बनेको छ ।' तपाईंको यो बुझाईलाई मेरो सलाम । समाज परिवर्तनका लागि ज्यान फाल्न प्रतियोगिता गर्नेहरुको कथा हराएर जानु हुँदैन भन्ने मेरो दृढ विश्वास रहृयो । हामीले संसारलाई सुनाउनुपर्ने कथा उनीहरुले रचना गरेका छन् ।
अन्त्यमा,
यो देशलाई नौलो संसारतिर पदार्पण गराउने क्रान्ति ००७ सालमा पनि भयो । त्यो क्रान्तिमा हामी सबैको मुक्तिका लागि लड्ने मुक्तिसेना थियो । तर उनीहरुको उदात्त कथा कसैले लेखिदिएन । सायद, कसैले लेखेको भए उसलाई उतिबेला काँग्रेसी भनिन्थ्यो होला । मलाई सदैव लागिरहन्थ्यो, यो संकिर्णताको डरले हाम्रो समाजका कैयौं महान् कथाहरु गर्भमै तुहिए । तर हाम्रो पुस्ताको कथा हामीले लैख्नै पर्छ ।
दाजु, तपाईंका सन्देहहरु इतिहास निर्मित सन्देहहरु हुन् । यिनीहरुको व्यवस्थापन हामी दुवैथरी मिलेर गर्नसक्छौं भन्ने मलाई पूर्ण विश्वास छ । धन्यवाद ।
स्नेही,
युग पाठक
yugnew@gmail.com
युग पाठकको प्रतिक्रियामा पुन: जुगल भूर्तेल
प्रिय युग,
तिम्रो गम्भिर जवाफको दार्शनिक पक्षलाई सहजै नकार्न सकिन्न । तर मार्क्सको श्वेत-श्याम दर्शनको चश्माले मात्र हेरियो भने जीवनका अनेकौं सुन्दर रंगहरु नदेखिने रहेछन् । राज्यसत्ताको दमन व्यापक हुँदै गयो भने इतिहासको कुनै कालखण्डमा उत्पीडीतहरुले हिंसाको सहारा लिएर सत्ता हत्याउँछन् भन्ने सिद्धान्तसँग केही हद सम्म सहमत हुँदाहुँदै पनि त्यसरी प्राप्त सत्ताको निरन्तरताका लागि नयाँ शासकहरुले पनि हिंसा कै सहारा लिनु पर्छ भन्ने लेनिनवादी हठसँग भने मेरो पूर्ण असहमति छ । गाँउ-गाँउमा कुटिइरहेका शिक्षकहरु, गाविस सचिवहरु, पत्रकार एवं संसदवादी दलका कार्यकर्ताहरुको कथाले ‘नयाँ नेपाल’ बनाउन उद्दतहरुको लेनिनवादी हठलाई प्रतिविम्वित गर्छ । नेपालको इतिहासलाई जातिवादी र नश्लवादी इतिहास भन्यो भने विकराल वर्गीय असमानताको पीडाबाट मुक्त हुन सुदूर पहाडको थातथलो छाडेर जीवनको अर्थ खोज्दै भारत वा मधेश झरेका त्यही ‘शासक’ जातिका असंख्य मान्छे माथि ठूलो अन्याय हुँदैन र ? राजसंस्थालाई जोगाउन ढाल बनेर उभिएका केही खसहरुको उदाहरण दिएर तिनलाई शासक जातिको उपमा दिँदै गर्दा पशुपतिभक्त महर्जन वा परशुनारायण चौधरीहरु जस्ता गैर खस राजावादीहरुलाई विर्सन मिल्दैन । वास्तवमा, नेपालको इतिहास भनेको एउटा वंश र परिवारको इतिहास हो । हाम्रा सबै सामाजिक संरचनाहरुको निर्माण वाहुन वा क्षेत्रीको नश्लवादले भएको नभइ त्यही विशेष परिवारको लहडमा भएकोछ । भीँड, बन्दुक र जातिवादी आकांक्षाको बुई चढेर ल्याइएको परिवर्तन क्षणिक त हुन्छ नै त्यसले मुलुक बिखण्डनको आधार पनि खडा गर्छ भन्ने बुझ्न तासको घर झैं गर्ल्याम्म ढलेको सोभियत साम्राज्यलाई हेरे पुग्छ । वस्तुगत अवस्था सृजना नभइ आवेशको भरमा गरिने कथित क्रान्ति अन्तत: जातीयता, क्षेत्रियता, प्रतिहिंसा, गुण्डागर्दी जस्ता अनन्त विसंगतिले आफैं जेलिएर विकृत हुने रहेछ । आज हाम्रो मुलुक त्यही खतरनाक पथमा हिँडेकोछ । सोभियत उदाहरणले हामीलाई भन्छ, जीवन थुप्रै रंगहरुको सुन्दर संरचना हो भन्ने बुझ्न मार्क्स, लेनिन, ट्रोट्स्की र ग्राम्स्कीलाई बुझेर मात्र नहुने रहेछ । काउत्स्की, बर्नस्टेइन, लक्जेम्वर्ग, गान्धी, मिलिब्याण्ड, बीपी देखि प्रदीप गिरी समेतलाई बुझ्ने प्रयास गर्यो भने समाज परिवर्तन गर्न बन्दुकको चमत्कार चाहिँदैन भन्ने प्रष्ट हुन्छ ।
तिम्रो मित्र
जुगल भूर्तेल
(साभार: नागरिक दैनिक, शनिबार, २४ जुलाई, २०१०)
No comments:
Post a Comment