'अन्तर्मनको यात्रा' ले जगदीशलाई बहुचर्चित बनाइदिएपनि उहाँको साहित्यिक उचाइ स्थापित गर्ने कृति चाहीँ त्यही ‘लिलाम’ नै हो
मृत्युचेतना भएको मानिस जीवनको नाममा हरदम भय, पश्चाताप र बिलौनाले भरिएको
अत्यन्त दु:खी अस्तित्व लिएर बाँच्छ भन्ने आमधारणाका विपरित विगत आठ वर्ष देखि
निरन्तर ढोका ढक्ढक्याइ रहेको काललाई चूनौति दिएर जगदीश दाइले वडो सृजनशील र
सार्थक जीवन बाँचे । जीवन रेखाको लम्बाई थाहा भएको सचेत स्रष्टा भएकोले होला उनमा यो देश शान्त र समृद्ध भएको
देखेर मर्ने एक किसिमको अधैर्यता र ब्यग्रता देखिन्यो । तर लेखक त फगत अँध्यारोमा
टुकी बालिदिने मान्छे न हो । जसले मुलुकलाई हाँकेर लैजानु पर्ने हो, तिनको चरम अन्योल,
गतिहीनता, पथभ्रष्ट र अनैतिक राजनीतिका कारण देश आफू जस्तै झन् झन् थला पर्दै गएको देखेर
जगदिश दाइभित्रको लेखक पछिल्लो कालखण्डमा निकै आक्रोशित हुँदै गएको थियो । उनको
त्यो आक्रोश 'अन्तर्मनको यात्रा' देखि 'सकस' सम्मै कतै सौम्यतापूर्वक र कतै
सघन ढंगले पोखिएको छ । हुन त २०२७ सालमा छापिएको लिलाम
उपन्यासपनि मूलत: अन्याय र शोषण
बिरुद्धको आक्रोश कै प्रखर अभिव्यक्ति हो भन्दा अत्युक्ति हुँदैन । 'अन्तर्मनको
यात्रा' ले उनलाई ठूलो लेखक बनाइ दिएपनि मेरो लागि जगदीश घिमिरेको साहित्यिक उचाइ
स्थापित गर्ने कृति चाहीँ त्यही ‘लिलाम’ नै हो । चित्रकारले बृहत क्यानभसमा जीवन कै सर्बाधिक महत्वाकांक्षी चित्र कोरेझैं धिमिरेले
‘सकस’ उपन्यास लेखे, तर सानो आकारको लिलामको सौन्दर्यलाई त्यसले जित्न
सकेको छैन भन्ने लाग्छ, मलाई ।
‘अन्तर्मनको यात्रा’ भरखरै प्रकाशित भएर जगदीश दाइको चर्चा उँचाइमा रहेको बेला म भने 'लिलाम' दोहोर्याएर पढ्दै र प्रभावित हुँदै थिएँ । पारिजातले त्यो उपन्यासलाई प्रसिद्ध भारतीय लेखक
फणिश्वरनाथ रेणुको आंचलिक कृतिहरुसँग तुलना गरेकी छिन् । नेपाली साहित्यका बिभिन्न विधामाथि विमर्श
हुँदा अर्का ठूला लेखक खगेन्द्र संग्रौलाले मलाई भनेको सम्झन्छु ‘सामाजिक न्यायको कलात्मक प्रतिविम्वनका दृष्टिले लिलाम नेपाली आख्यान साहित्यको एउटा मानक कृति हो ।’ त्यति प्रभावशाली भएरपनि लिलामले उचित प्रतिष्ठा हासिल गर्न नसकेको भने सत्य हो । प्रकाशित
भएपछि राम्रै तरंग ल्याए तापनि केही समय उहाँ स्वयं साहित्यबाट अलि टाढिएर वा उहाँको
राजनीतिक आस्थाका कारणले हुन सक्छ धेरै समय जगदिश दाइको त्यो उपन्यास नेपाली
साहित्यको कुडाकर्कटले थिचिएर निसास्सिइ रह्यो । ‘अन्तर्मनको यात्रा’ सँगै स्रष्टाको साहित्यिक यात्राप्रति चासो बढ्दै जाँदा त्यसले पनि
पुनर्जीवन पाएको आभास हुन्छ ।
लेखक स्वयंले भुइँमान्छेहरुलाई समर्पण गरेको लिलाम सबै ‘शान्तिप्रिय नेपाली’
झैं बाँच्ने हक भएको, तर बाँच्ने आधार नभएको अत्यन्त सीमान्त वर्गको
मर्मस्पर्शी कथा हो । सामन्ती समाजमा
एकथरि मानिस शक्तिशाली हुँदैगर्दा अर्काथरि झन् झन् सिमान्तकृत हुँदै जान्छन् ।
पुर्खाले लिएको ऋणको नाममा होस् या अन्य कुनै सामाजिक परिवन्दमा पारेर त्यस्ता
भुईंमान्छेहरुको बाँच्ने आधार खोसिएको, चरम शोषण भएको र थालथलोबाट विस्थापित गराइएको
कथा नेपाली साहित्यमा नौलो होइन । तर त्यही पुरानो कथावस्तु लिलाममा शक्तिशाली
ढंगले प्रस्तुत भएको छ । करीव चार दशक अघि छापिएको
उपन्यासमा जगदिश घिमिरेले 'भोलि सर्वस्व लिलाम' भएर आफू समूल समाप्त हुने क्रूर संभावनाले
विक्षिप्त झैं बनेको बहादुरे माझीभित्र क्रमशः विकसित हुँदै जाने आक्रोश र विद्रोही
मनोदशाको विलक्षण चित्रणमा भावी नेपालको आँधीलाई इंगित गरेका छन् । बहादुरेकी
पत्नी सेतीको भय अझ कहाली लाग्दो छ- रिन तिर्न नसक्नेको जेथा मात्र लिलाम हुन्छ कि
मान्छेलाई पनि लिलाम गर्छन् ?
अन्य केही लेखकले पनि कोशीनदीको परिवेशमा त्यस्तै माझी समुदायका अकिञ्चन पात्रहरूको
कथा सुनाएका छन्, तर ती सबैको तुलनामा धेरै बढि यथार्थपरक, प्रभावशालि र प्रगतिशील भएरपनि लिलाम जस्तो नेपाली माटोको सुगंध र सामाजिक परिवर्तनको प्रखर संदेश बोकेको उपन्यासलाई हाम्रो मुलुकमा प्रगतिशील
ठानिएन र सदैव उपेक्षाको शिकार बनाइयो । स्वघोषित प्रगतिशील दलको चौतारीमा विश्राम गर्ने भाग्यमानीहरुमा मात्र प्रगतिवादी साहित्य सृजना गर्न सक्ने बुद्धत्व प्राप्त हुन्छ भन्ने नितान्त हास्यास्पद एवं असहिष्णु मान्यताले कसरी नेपाली
साहित्यको समग्र विकासलाई कुण्ठित बनाएको छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण हो,
यो पुस्तक ।
जगदीश दाइ राष्ट्रवादी स्रष्टा र असल मान्छे हुनुहुन्थ्यो । उहाँको उपन्यास, कथा, कविता आदिमा मात्र होइन नियमित अखवारी लेखनमा समेत देखिने असन्तुष्टी,
व्यग्रता, छटपटी, आवेश, आदिले रुसी साहित्यकार माक्सिम गोर्कीले परिभाषित गरेको क्रान्तिकारी बुद्धिजीवीलाई सम्झाउथ्यो, जो ‘आफ्ना भावना र विचारको समग्रतामा जुनसुकै
सामाजिक संरचनामा पनि जीवनभरि असन्तुष्ट नै रहन अभिशप्त छ, किनकि उसलाई विश्वास
छ मानवजातिमा राम्रो बाट झन् राम्रो सृजना गर्ने अपरिमित सामर्थ्य छ ।' मुलुकमा भने राम्रो बाट झन् राम्रो सृजना हुनुको सट्टा हिंसा र प्रतिहिंसाको गोलचक्कर कोरिएको
छ । २०२७ साल मै मचक्क लठ्ठी अँठ्याएर मान्छे काटेको गौंडोतिर लम्किएको बहादुरे
माझीको पदचाप सुनेर आसन्न संकटप्रति सावधान गर्ने जगदीश दाइ
जस्ता बुद्धिजीवीको निधन जुन सुकै समाजका लागि पनि अपुरणीय क्षति हो ।
बिदा जगदीश दाइ !
No comments:
Post a Comment