Wednesday, November 6, 2013

'लिलाम'को उचाइ


'अन्तर्मनको यात्रा' ले जगदीशलाई बहुचर्चित बनाइदिएपनि उहाँको साहित्यिक उचाइ स्थापित गर्ने कृति चाहीँ त्यही ‘लिलाम नै हो  

मृत्युचेतना भएको मानिस जीवनको नाममा हरदम भय, पश्चाताप र बिलौनाले भरिएको अत्यन्त दु:खी अस्तित्व लिएर बाँच्छ भन्ने आमधारणाका विपरित विगत आठ वर्ष देखि निरन्तर ढोका ढक्ढक्याइ रहेको काललाई चूनौति दिएर जगदीश दाइले वडो सृजनशील र सार्थक जीवन बाँचे । जीवन रेखाको लम्बाई थाहा भएको सचेत स्रष्टा भएकोले होला उनमा यो देश शान्त र समृद्ध भएको देखेर मर्ने एक किसिमको अधैर्यता र ब्यग्रता देखिन्यो । तर लेखक त फगत अँध्यारोमा टुकी बालिदिने मान्छे न हो । जसले मुलुकलाई हाँकेर लैजानु पर्ने हो, तिनको चरम अन्योल, गतिहीनता, पथभ्रष्ट र अनैतिक राजनीतिका कारण देश आफू जस्तै झन् झन् थला पर्दै गएको देखेर जगदिश दाइभित्रको लेखक पछिल्लो कालखण्डमा निकै आक्रोशित हुँदै गएको थियो । उनको त्यो आक्रोश 'अन्तर्मनको यात्रा' देखि 'सकस' सम्मै कतै सौम्यतापूर्वक  र कतै सघन ढंगले पोखिएको छ । हुन त २०२७ सालमा छापिएको लिलाम उपन्यासपनि मूलत: अन्याय र शोषण बिरुद्धको आक्रोश कै प्रखर अभिव्यक्ति हो भन्दा अत्युक्ति हुँदैन । 'अन्तर्मनको यात्रा' ले उनलाई ठूलो लेखक बनाइ दिएपनि मेरो लागि जगदीश घिमिरेको साहित्यिक उचाइ स्थापित गर्ने कृति चाहीँ त्यही ‘लिलाम नै हो । चित्रकारले बृहत क्यानभसमा जीवन कै सर्बाधिक महत्वाकांक्षी चित्र कोरेझैं धिमिरेले ‘सकस’ उपन्यास लेखे, तर सानो आकारको लिलामको सौन्दर्यलाई त्यसले जित्न सकेको छैन भन्ने लाग्छ, मलाई

अन्तर्मनको यात्रा भरखरै प्रकाशित भएर जगदीश दाइको चर्चा उँचाइमा रहेको बेला म भने 'लिलाम' दोहोर्‍याएर पढ्दै र प्रभावित हुँदै थिएँ । पारिजातले त्यो उपन्यासलाई प्रसिद्ध भारतीय लेखक फणिश्वरनाथ रेणुको आंचलिक कृतिहरुसँग तुलना गरेकी छिन् । नेपाली साहित्यका बिभिन्न विधामाथि विमर्श हुँदा अर्का ठूला लेखक खगेन्द्र संग्रौलाले मलाई भनेको सम्झन्छु ‘सामाजिक न्यायको कलात्मक प्रतिविम्वनका दृष्टिले लिलाम नेपाली आख्यान साहित्यको एउटा मानक कृति हो ।’ त्यति प्रभावशाली भएरपनि लिलामले उचित प्रतिष्ठा हासिल गर्न नसकेको भने सत्य हो । प्रकाशित भएपछि राम्रै तरंग ल्याए तापनि केही समय उहाँ स्वयं साहित्यबाट अलि टाढिएर वा उहाँको राजनीतिक आस्थाका कारणले हुन सक्छ धेरै समय जगदिश दाइको त्यो उपन्यास नेपाली साहित्यको कुडाकर्कले थिचिएर निसास्सिइ रह्‍यो । ‘अन्तर्मनको यात्रा’ सँगै स्रष्टाको साहित्यिक यात्राप्रति चासो बढ्दै जाँदा त्यसले पनि पुनर्जीवन पाएको आभास हुन्छ  ।

लेखक स्वयंले भुइँमान्छेहरुलाई समर्पण गरेको लिलाम सबै ‘शान्तिप्रिय नेपाली’ झैं बाँच्ने हक भएको, तर बाँच्ने आधार नभएको अत्यन्त सीमान्त वर्गको मर्मस्पर्शी कथा हो । सामन्ती समाजमा एकथरि मानिस शक्तिशाली हुँदैगर्दा अर्काथरि झन् झन् सिमान्तकृत हुँदै जान्छन् । पुर्खाले लिएको ऋणको नाममा होस् या अन्य कुनै सामाजिक परिवन्दमा पारेर त्यस्ता भुईंमान्छेहरुको बाँच्ने आधार खोसिएको, चरम शोषण भएको र थालथलोबाट विस्थापित गराइएको कथा नेपाली साहित्यमा नौलो होइन । तर त्यही पुरानो कथावस्तु लिलाममा शक्तिशाली ढंगले प्रस्तुत भएको छ । करीव चार दशक अघि छापिएको उपन्यासमा जगदिश घिमिरेले 'भोलि सर्वस्व लिलाम' भएर आफू समूल समाप्त हुने क्रूर संभावनाले विक्षिप्त झैं बनेको बहादुरे माझीभित्र क्रमशः विकसित हुँदै जाने आक्रोश र विद्रोही मनोदशाको विलक्षण चित्रणमा भावी नेपालको आँधीलाई इंगित गरेका छन् । बहादुरेकी पत्नी सेतीको भय अझ कहाली लाग्दो छ- रिन तिर्न नसक्नेको जेथा मात्र लिलाम हुन्छ कि मान्छेलाई पनि लिलाम गर्छन् ?  

अन्य केही लेखकले पनि कोशीनदीको परिवेशमा त्यस्तै माझी समुदायका अकिञ्चन पात्रहरूको कथा सुनाएका छन्, तर ती सबैको तुलनामा धेरै बढि यथार्थपरक, प्रभावशालि र प्रगतिशील भएरपनि लिलाम जस्तो नेपाली माटोको सुगंध र सामाजिक परिवर्तनको प्रखर संदेश बोकेको उपन्यासलाई हाम्रो मुलुकमा प्रगतिशील ठानिएन र सदैव उपेक्षाको शिकार बनाइयो । स्वघोषित प्रगतिशील दलको चौतारीमा विश्राम गर्ने भाग्यमानीहरुमा मात्र प्रगतिवादी साहित्य सृजना गर्न सक्ने बुद्धत्व प्राप्त हुन्छ भन्ने नितान्त हास्यास्पद एवं असहिष्णु मान्यताले कसरी नेपाली साहित्यको समग्र विकासलाई कुण्ठित बनाएको छ भन्ने कुराको सबैभन्दा ठूलो प्रमाण हो, यो पुस्तक ।

जगदीश दाइ राष्ट्रवादी स्रष्टा र असल मान्छे हुनुहुन्थ्यो । उहाँको उपन्यास, कथा, कविता आदिमा मात्र होइन नियमित अखवारी लेखनमा समेत देखिने असन्तुष्टी, व्यग्रता, छटपटी, आवेश, आदिले रुसी साहित्यकार माक्सिम गोर्कीले परिभाषित गरेको क्रान्तिकारी बुद्धिजीवीलाई सम्झाउथ्यो, जो ‘आफ्ना भावना र विचारको समग्रतामा जुनसुकै सामाजिक संरचनामा पनि जीवनभरि असन्तुष्ट नै रहन अभिशप्त छ, किनकि उसलाई विश्वास छ मानवजातिमा राम्रो बाट झन् राम्रो सृजना गर्ने अपरिमित सामर्थ्य छ ।' मुलुकमा भने राम्रो बाट झन् राम्रो सृजना हुनुको सट्टा हिंसा र प्रतिहिंसाको गोलचक्कर कोरिएको छ । २०२७ साल मै मचक्क लठ्ठी अँठ्याएर मान्छे काटेको गौंडोतिर लम्किएको बहादुरे माझीको पदचाप सुनेर आसन्न संकटप्रति सावधान गर्ने जगदीश दाइ जस्ता बुद्धिजीवीको निधन जुन सुकै समाजका लागि पनि अपुरणीय क्षति हो ।


बिदा जगदीश दाइ ! 

Monday, August 26, 2013

एक पाइला अगाडि, दुई पाइला पछाडि


मस्को स्थित क्रेमलिन दरवारको आँगनमा एउटा सानो घर छ, जहाँ सन् १९२४ मै निर्जीव बनेको लेनिनको शवलाई सार्वजनिक प्रदर्शनीका लागि राखिएको छ । त्यसरी लामो समयदेखि मानवोचित मृत्युसंस्कारको प्रतीक्षामा कठ्याँग्रिएर विश्वभर छरिएका आफ्ना असंख्य अनुयायीको क्रान्तिकारी उत्थान र चरम पतनको ज्वारभाटा झेल्न बाध्य कामरेडको बेचैन आत्माले माफ गरोस्, वर्तमान नेपालको वास्तविकतालाई केही शब्दमा व्यक्त गर्न उनको एउटा प्रसिद्ध लेखको यो शीर्षक जति सटीक अरु केही भेटिएन । सबै किसिमका रंगीबिरंगी लेनिनवादी-माओवादी दल भित्रको पदलोलुप भाँडभैलोलाई द्वन्द्वात्मक भौतिकवादी सिद्धान्तका आधारमा अणु र परमाणुसँग जोडेर 'वैज्ञानिक' व्याख्या गर्न सिद्धहस्त 'वाम' बुद्धिजीवीका लागि त्यो लेख अहिले निकै सान्दर्भिक र उपयोगी हुनसक्छ । हामी भने लेनिनवादलगायत थरीथरीका उग्र विचारधारा र स्वार्थको चेपुवामा परेर निरन्तर दुई पाइला पछाडि फर्किन बाध्य बनाइएको मुलुकको दुर्दशाको बारेमा अलिकति चिन्तन गरौँ।
'जस्ता जनता, उस्तै नेता' भत्रे उखान हाम्रो हकमा असान्दर्भिक जस्तो सुनिन्छ । आफू सधैँ अशिक्षा, गरिबी र उत्पीडनले पिल्सिएर पनि नेपाली जनताले यस देशलाई कहिल्यै पराधीन हुन नदिएर अग्रगमनका गौरवशाली पाइला चाल्दैआएका छन् । तर कहिले सुनियोजत ढङ्गले त कहिले लज्जास्पद पदलोलुपतावश किस्ता किस्तामा मुलुकको स्वाधीनताको सौदा गर्दै कुनै अमूर्त 'बाध्यता' को मुखुण्डोले अनुहार छोपेर शासन गर्ने नेताले मुलुकलाई जहिल्यै दुई पाइला पछाडि सार्दा जनताको बलिदानको अपमान हुँदै आएको छ । तिनै जनताको वर्षौं लामो संघर्षद्वारा आर्जित शक्ति पृथकीकरण र बहुदलीयताको सिद्धान्तजस्ता लोकतन्त्रका आधारभूत मान्यतालाई नै तिलाञ्जली दिएर निर्वाचन प्रयोजनको नाममा प्रधान न्यायाधीशको नेतृत्वमा गैरदलीय सरकार गठन गर्ने चार दलीय शक्तिकेन्द्रको प्रतिगामी कदमले मुलुकलाई कति पाइला पछाडि सार्‍यो, त्यसको हिसाबकिताब हुन अझै बाँकी छ ।
ठूलो संघर्षपश्चात् जहानियाँ राणा शासनबाट मुक्त भएर वास्तविक अग्रगमनको ऐतिहासिक पाइला चाल्न नपाउँदै २०१७ सालको प्रतिगामी कदमले मुलुकलाई तीस वर्ष लगातार उल्टो दिशामा दौडायो । विसं २०४६ मा प्रजातन्त्रको पुनर्स्थापनासँगै देश शान्ति र समृद्धिको दिशामा पुनः एक कदम अगाडि हिँड्नमात्र के लागेको थियो विदेशीको आश्रयबाट रक्ताम्य पारेर कथित परिवर्तनकारी शक्तिले घुँडा टेकाई हाले । घिस्रिनसमेत नसक्ने गरी घाइते देशलाई २०६३ को ऐतिहासिक जनआन्दोलनले पुनर्जीवन दिलायो र नेपाली जनताले आफ्नो संविधान बनाउने अधिकार पाए । त्यो हामीले अगाडि बढाएको अर्को ऐतिहासिक पाइला थियो । तर राजसंस्थाको अवसानसँगै विपरीत सिद्धान्तले निर्देशित राजनीतिक पार्टीलाई एकजुट बनाइदिने शक्तिशाली प्रतिद्वन्द्वी पनि मैदानमा रहेन । त्यसपछि जाति, नस्ल, सम्प्रदाय आदि मान्छेका आदिम भावनालाई ब्युँझाएर सत्ताप्राप्तिको चोर बाटोलाई राजनीतिको मूलधार बनाउने चेष्टा भइरहेको छ । त्यसले स्वयं राजनीतिक सिद्धान्तको अवसान भएको आभास हुन्छ । मुलुकको बहुभाषिक र बहुसांस्कृतिक विशेषता एवं विलक्षण भौगोलिक विविधतालाई पूर्णतया खारेज गर्दै एकल जातीय संघीयताको साम्प्रदायिक द्वन्द्व खडा गर्नु एवं एक मधेस प्रदेश जस्तो अत्यन्त बदनियतपूर्ण अडान राखेर संविधानसभालाई पंगु बनाउनु र अन्ततः 'क्रान्तिकारी' हातबाट त्यसको निर्मम हत्या हुनु मुलुकका लागि दुई पाइला पछि सर्नुजस्तै हो । यसरी समाजका अतिवादी आकाक्षांहरुलाई गिजोलेर एउटा संविधानसभालाई जातीय द्वन्द्वको खतरनाक केन्द्र बनाएका 'प्रगतिशील' राजनीतिक दलहरुले मुलुकलाई धेरै पाइला पछाडि धकेलिसकेका छन् । निर्वाचनको नाममा अब फेरि त्यस्तै संविधानसभाको निर्माण भयो वा चार दलीय दम्भका कारण भाग लिने र बहिष्कार गर्नेमा मुलुक विभाजित भयो भने अझ पछाडि सर्दा पाइला टेक्न नेपाली भूमि नहुन पनि सक्छ ।
केही 'विद्वान'ले यस्तो चिन्तालाई 'गणतन्त्रप्रति अविश्वास सिर्जना गर्ने राजावादी वा प्रतिक्रयावादीको षड्यन्त्र', 'पुरानो सत्ताबाट लाभान्वित कुलीनको प्रलाप' आदि यस्तै थोत्रा आरोप लगाएर प्रतिकार गर्ने निश्चितै छ । तर 'प्रतिक्रयावादीहरुको षड्यन्त्र' भत्रे शब्दावलीको टालो प्रयोग हुँदाहुँदा यसरी धुजा परिसक्यो कि त्यसले अब अतिक्रान्तिकारी प्रयोगकर्ताको नक्कली आँसुसमेत सोस्न सक्दैन । नयाँ सत्ताका कुलीनहरुको तुलनामा पुरानो सत्ताका कुलीनहरु नर्सरीका बालकजस्ता निरीह लाग्छन्, जसलाई देखाएर जनतालाई तर्साउन पनि अब सम्भव छैन । जहाँसम्म राजावादीको कुरा छ, विद्वत्वर्गलाई बताइदिउँ अपदस्थ राजा, रानी तथा तिनका पाँच सन्तानको क्रुर हत्या र हरेक किसिमका वैकल्पिक विचारलाई पूर्णतः दमन गरेर बोल्सेभिकहरुले सात दशक निरंकुश सत्ता सञ्चालन गर्दा पनि सोभियत संघ ढलेको दिन रुसमा राजतन्त्रका पक्षधरहरु अझै बाँकी नै थिए । राजतन्त्र समाप्त भएको आधा दशक पनि नभएको हाम्रो बहुलवादी समाजमा राजावादी रहनु कुनै आश्चर्यको कुरा होइन । यथार्थमा राजा वीरेन्द्रको वंशनाश भएकै दिन नेपालको राजतन्त्र कहिल्यै मौलाउन नसक्ने गरी मरिसकेको हो । यद्यपि, वाह्यशक्तिको साथ र सहयोगले आफू प्रधानमन्त्री हुनुपर्ने देशका नेतालाई पूर्वराजाले पनि त्यही कार्ड प्रयोग गर्लान् भत्रे भयले घरीघरी चर्को ज्वरो आउनु अस्वाभाविक भने होइन ।
यावत् कमजोरी हुँदाहुँदै पनि नेतृत्ववर्गलाई सधैं शंकाको लाभ दिइरहने लोकतन्त्रवादी नागरिक अहिले 'निर्वाचनमा हराउनै पर्ने नेताहरुको सुची' तयार पार्दैछन् । बहुदलीय व्यवस्थामा दलीय राजनीति र त्यसको नेतृत्वप्रति यो स्तरको वितृष्णाको परिणाम के हुन सक्छ ? ठ्याक्कै हाम्रै बारेमा जस्तो गरी रुसी विश्लेषक एमिल पाइनले लेखेका छन्, 'कुनैपनि मुलुकका जनतालाई आफ्नो वर्तमान कुरुप र भविष्य निराशाजनक लाग्छ भने त्यो वैचारिक गतिहीनताको लक्षण हो । यस्तो अवस्थामा 'पपुलिज्म' र जनविद्वेषी जातिवादको मिश्रण नयाँ विचारको रुपमा समाजमा स्थापित हुन्छ ।' कथित परिवर्तनकारी र क्षेत्रीय शक्तिहरुको जनविद्वेषी राजनीतिले नयाँ राष्ट्र निर्माणको मधुर लय होइन विखण्डनवादी र विदेशी शक्तिको चरम चलखेल मात्र सिर्जना गरिरहेको हाम्रो भद्दा वर्तमानले पनि आगामी दिनप्रति आशावादी हुने कुनै आधार दिएको छैन । यसैले पनि नेपाली समाजको व्याकुलता बढ्दै गएको हो । दिल्लीका जासुसी संस्थाको बुई चढेर काठमाडौंको टाउकोमा एक दशक लगातार गरिएको सुनियोजित 'क्रान्तिकारी' प्रहारले जातीय द्वन्द्वका चतुर अभियन्ताको अग्राधिकार सुनिश्चित गरेपनि देशले भने स्थापनाकाल देखि अविच्छित्र रहेको आत्मनिर्णयको अधिकार गुमाउँदै गएको छ । लेनिनवादीका लागि 'प्रगतिशील' शब्द सबै पाप पखाल्ने गहुँतजस्तै रहेछ । त्यसैले यो स्तरको लम्पसारवाद अब 'प्रगतिशील' जस्तो भारिभरकम विशेषण जोडिएको राष्ट्रवाद हो रे' र हामीलाई बताइएअनुसार यो अंगुर निकै गुलियो छ । त्यही स्वादिष्ट अंगुरको अत्याधिक सेवनले मातेको सुरमा हाम्रा 'प्रगतिशील राष्ट्रवादीहरु'ले राजासँग खोसेर लिएको जनताको अधिकार, अथवा कामरेड बाबुरामका शब्दमा 'देशको चाबी', बाह्य शक्तिलाई उदारतापूर्वक सुम्पिदिएका छन् । यसबीचमा खेर गएको अवसर, समय, हजारौं निर्दोष ज्यान र धेरै पिँढीको अन्धकार भविष्यप्रति अपराधबोधजस्तो 'निम्न पुँजीवादी' भावनाको तिनमा कुनै गुञ्जायस छैन ।
नेपाली राष्ट्रियताका हरेक पक्षमाथि सुनियोजित प्रहार गर्नुलाई अहिले परिवर्तन मानिन्छ । न्याय र समानताको नाममा विश्वभर लाखौं निर्दोष मानिसको हत्या र दुर्भाग्यको कारण बनेका लेनिनको सालिक सुदूर युरोपमा उखेलिँदा यहाँ अरण्यरोदन गर्ने 'वामपन्थी'हरु लेनिन जन्मनुभन्दा दुई वर्ष अघि नै मरेका भानुभक्तले 'वधुशिक्षा' लेखेर समाजमा सामन्ती पितृसत्तालाई जरो गाड्न सघाएको आरोपमा उनका सालिक फुट्न सक्ने घुर्की लाउँछन् । किनभने, तिनलाई राम्ररी थाहा छ, भानुभक्त वा पृथ्वीनारायणको सालिक नफुटाई यहाँ 'साम्यवाद' आउँदैन । मुलुकलाई पश्चिमी दाताको हरेक किसिमको सनकको प्रयोग स्थल बनाइएको छ । हाम्रो देशमा यही संविधानमा छुट्टिएर जानेसम्मको जातीय आत्मनिर्णयको अधिकार चाहिने बेलायतीहरु आफ्नो देशका स्कटल्यान्ड र उत्तर आयरल्यान्डका जनताको आत्मनिर्णयको आकांक्षालाई किन उपेक्षा गर्छन् ? जातीय संघीयताले टुक्रा टुक्रामा आफैँ विभक्त हुँदै गएर सामाजिक विष्फोटका लागि तयार भएको भारतलाई गोर्खाल्यान्ड त चाहिएको छैन तर नेपालमा कति र कुन आकारको प्रदेश चाहिन्छ भत्रे उसलाई कण्ठै थाहा छ ।
'परिवर्तकारी' क्षेत्रीय शक्तिहरुमा 'आन्तरिक उपनिवेश'बाट मुक्त भएर यो देशैलाई उपनिवेश बनाइदिने प्रतिशोधको भावना ति तीव्र छ कि उनीहरु थोकका भाउमा गैरनागरिकलाई नागरिकता दिलाउन लागेका लाग्यै छन् । त्यसरी थपिएको कृत्रिम नागरिकता र मुलुकको भौगोलिक विविधता, बाध्यता र भावी संघीयतालाई पूर्णतः अस्विकार गर्ने गरी सधैँ निर्वाचन क्षेत्र बढाउनु पर्ने मागको अन्तर्य बुझ्न कठीन छैन । त्यसो गर्दा आफ्नै स्थानीय मधेसी जनता अल्पमतमा परी दीर्घकालीन पीडा र द्वन्द्वको स्थिति उत्पन्न हुने चिन्तामात्र व्यक्त गरियो भने पनि 'फिजीकरणको सिजोफ्रेनिया' प्रदर्शन गरेको आरोप लगाएर विवेकशील आवाजलाई अरिंगाल झैं डस्न प्रखर बुद्धिजीवीको गोलो नै तयार छ । तिनलाई कसैले राष्ट्रियता, सामाजिक सद्भाव, जातीय सहिष्णुताजस्ता शब्द उच्चारण गरेमात्र पनि 'पुरानो एकात्मवादी शासनका सुकिलामुकिला भुईफुट्टाहरुको शब्दजाल' जस्तो लागिहाल्छ ।
उता ठूलाठूला 'प्रगतिशील राष्ट्रवादी' कामरेडहरु अहिले मधेसप्रतिको 'लभ' मा यति लठ्ठ छन् कि तिनलाई नागरिकता जस्तो झिनामसिना कुरामा लागेर नयाँ नेपाल निर्माणको महान् यात्रामा तगारो हाल्ने कुनै चाहना छैन । एउटा भयंकर लेनिनवादी दलमा प्रेम र करुणा जस्ता कोमल मानवीय भावनाको प्रष्फुटन हुनुमात्र पनि समाजका लागि निकै सकारात्मक कुरा हो । तर सत्ता स्वार्थको अन्धो प्रेममा व्याकुल भएर प्रणय याचना गरिरहेको माओवादीका लागि गैरनागरिकको हातहातमा पुगेको नेपाली नागरिकता होइन कि गणतन्त्र दिवस मनाउन बानेश्वरमा भेला भएका नागरिक सबैभन्दा ठूलो समस्या भएका छन् । तिनले संविधानसभाको निर्वाचनमा सबै दललाई समेट्नुपर्छ भत्रे अडान राखेर वैद्यलाई भाग लिने वातावरण बनाइदेलान् भत्रे पीरले माओवादीको निदहराम भएको छ । त्यसैले घरीघरी रुक्माङ्गत कटवालको स्मरण गराएर लोकतन्त्रमा विश्वास गर्ने नागरिकको आस्थामाथि संदेह गर्नु अहिलेको नयाँ 'वामपन्थी' प्रवृत्ति बनेको छ । आफ्नो दलको निजी लडाकु दस्तालाई कायमै राखी राष्ट्रिय सेनालाई ध्वस्त बनाएर सत्ताकब्जा गर्ने षडयन्त्रअनुरूप कटवाल काण्ड गराएको कुरा लाल मसी नहालेका सबै कलमले लेखी नै सकेका छन् । तर पनि जरसा'बले साम्यवादसम्म पुग्ने बाटै छेकिदिएको भ्रम फैलाउन माओवादीले असफल प्रयत्न गरेकोगर्‍यै छ र त्यसलाई समर्थन नगरेकोमा 'कुलीन नागरिक समाज'प्रति ऊ असाध्यै क्रोधित छ । त्यो दुर्वासा क्रोधलाई लालित्यपूर्ण वाणी दिन 'प्रगतिशील' बुद्धिजीवीमा तँछाडमछाड छ, जसका लागि यतिखेर 'कुलीन' शब्दको प्रयोग 'वाम' बौद्धिकताको मौसमी मानक बनेको छ । उत्तराखण्डमा कुल्ली बनेर 'इतिहासमा उत्पीडन गरेको ऋण तिरिरहेका' कालिकोटका शासक जातिको मानमर्दनको सिजन अब सायद सकियो ।
नेपाली समाजमा क्रमशः विकसित हुँदैगएको यस व्यग्रताले सबै राजनीतिक दलको कार्यशैली र आचरणमा आमूल परिवर्तनको माग गरेको छ । सले पार्टीभित्र नयाँ नेतृत्वको खोजीलाई उत्प्रेरित गर्नेछ । पार्टीका युवा नेताहरु र सचेत कार्यकर्ताका लागि यो एउटा सुनौलो अवसर पनि हो । हुनसक्छ, सबै शक्तिहरु सहभागी भएको निष्पक्ष संविधानसभाको निर्वाचनमै त्यो नयाँ नेतृत्व प्रकट होस् । तर माथि भनिए झैँ पुरानै संविधानसभाको भाग दुईको आयोजना उपचार नभएर झन् ठूलो संकटको निमन्त्रणामात्र हुनेछ । कामरेड रामबहादुर थापा 'बादल'ले यसको सानो ट्रेलर खुल्ला मञ्चमा ब्यालेट बक्समाथि अजंगको घनले ठोकेर देखाइसके । हुन त काल्पनिक नै भए पनि जनताको मतको त्यो स्तरको अनादर सभ्य समाजका लागि स्वीकार्य हुँदैन तर कुनै पनि उग्र वामपन्थी दलबाट सभ्यताको अपेक्षा गर्नु झन् वस्तुगत हुँदैन । किनभने, अराजक भइरहनु र समाजलाई अशान्त पारिरहनु तिनको सैद्धान्तिक वाध्यता हो । विडम्बना के छ भने जो नम्र र भद्रजस्ता देखिन्छन्, तिनका अडानपनि वैद्यका मागभन्दा कम अतिवादी छैनन् । रेग्मी सरकारको विघठन सम्भव छैन भत्रे मानेपनि प्रधान न्यायाधीशको पदबाट उनले राजीनामा गर्न नहुने कारण के हो ? शक्ति पृथकीकरणका लागि आन्दोलनरत नागरिक समाज, बार एसोसिएसन, ३३ दल, अशोक राईलगायतको तीव्र असन्तुष्टिको सिकार गर्न सक्ने यो तीर चलाउँदा वा चार दलीय संयन्त्रजस्तो गैरसंवैधानिक शक्तिकेन्द्रलाई विघटन गर्दा कस्तो प्रलय जान्छ ? लिने र दिने दुवै ठाउँमा लेनिनवादी कामरेडहरुको हालिमुहाली भएकाले वार्तामा कांग्रेस र एमालेको उपस्थिति प्रभावकारी देखिएको छैन । कुनामा पारेर चुट्दा कमजोरजस्तो लाग्ने बिरालोले त आक्रमण गर्छ भने पार्टी फुट्दा 'खोलाले बगाएका' थुप्रै हतियार र 'अयोग्य' लडाकुको समूह लिएर हिँडेका वैद्यलाई निरीह कामरेड ठान्नु निकै घातक हुने यथार्थलाई मनन गरेर राष्ट्रपति स्वयंले मध्यस्थता गर्न अविलम्ब अघि सर्नु आवश्यक भइसकेको छ । दशक अघि एकथरी 'क्रान्तिकारी'लाई तुच्छ ठान्दा विदेशी आलिंगनमा पुगेर उनीहरुले आफ्नो सिद्धान्तअनुसार मुलुकलाई अर्धऔपनिवेशिक बनाई छाडे । अब फेरि अर्कोलाई दुत्कार्दा तिनले पूर्णऔपनिवेशिक नबनाई देलान् भन्ने विश्वासको आधार के छ र ?

अन्त्यमा,
आफ्ना १९ वर्षीय छोरा कृष्णप्रसादको हत्यामा मुछिएका माओवादी कार्यकर्तालाई कारबाहीको माग गर्दै गोरखाका नन्दप्रसाद र गंगामाया अधिकारी अहिले आमरण अनशनमा छन् । उज्जनको हत्यामा संलग्नहरूलाई उन्मुक्त देखेर दिदी सावित्री श्रेष्ठ पनि न्यायको लागि विक्षिप्त झैं दौडिरहेकी भेटिन्छिन् । डेकेन्द्र थापा, मुक्तिनाथ अधिकारी, माडी वा दोरम्बाका निर्दोष आत्माका आफन्तजनको आँसु अझै सुक्न सकेको छैन । यद्यपि, यी सबै अमानवीय घटनाको एउटा सुन्दर पक्ष पनि छ । न्यायको मन्दिरबाट दोषीलाई सजाय हुने सम्भावना न्यून भइसक्दा पनि मृतकका प्रियजन अझै कानुनी लडाइँ नै लडिरहेका छन् । माओवादीलाई हिंसा अत्यधिक फापेको देख्दादेख्दै पनि तीमध्ये कसैले पनि कानुनलाई आफ्नो हातमा लिने आशयसमेत व्यक्त गरेको सुनिएको छैन । तर दोषीलाई कानुनअनुसार सजाय हुनुपर्छ भनेर आग्रह गरिरहेको पीडित पक्ष र तिनलाई सहयोग गरिरहेका मानव अधिकारवादी संघसंस्थाको यति संयमित प्रतिक्रियाप्रति जननेताको उचाइमा उठेर सहानुभूति र सहिष्णुता देखाउनुको साटो 'विद्वान्' माओवादी नेता तिनमाथि उल्टो व्यंग्य गर्छन्, 'रगत नचुहाईकन मासु काटेर खान खोज्ने मध्यमवर्गीय आदर्शवादीहरु !' जीवनजगतको बुझाई लेनिनवादी भएर हुनसक्छ रगत चुहाउने र मासु खाने कुरा गर्दा कामरेडले मान्छे र पशुबीच फरक नछुट्याएको प्रष्टै देखियो । मुलुक अझै कामरेडले चाहेको 'साम्यवाद' सम्म पुगेको छैन, जहाँ आमाबाबु, छोराछोरी, लोग्नेस्वास्नी, विवाह, आदि जस्ता 'रुढिवादी सम्बन्धका पुराना साङ्लाहरु' तोडिएर व्यक्ति शोषणमुक्त हुनेछ । अहिले त हामी बडो प्रारम्भिक चरणको 'असभ्य' पुँजीवादी समाजमा छौँ, जहाँ सत्ताको अनुहार नयाँ र पुरानो हुनसक्ला तर व्यक्तिका प्रियजनसँगको आत्मीय सम्बन्ध भने त्यसरी नफेरिने रहेछ । 'पुरानो सत्तामा पो डेकेन्द्र थापा तिम्रा पति थिए, अब नयाँ सत्तामा केको पुरानो सम्बन्धलाई सम्झेर रुवाबासी गरिरहेको' भनेर सम्झायो, तर लक्ष्मी थापाले माने पो ! 'पुरानो सत्तामा मात्र मैना सुनार तिम्री छोरी थिई, अब नयाँ सत्तामा त्यो सम्बन्ध सिद्धियो' भनेर जति बुझाएपनि मैनाकी आमाले बुझ्न सकेकी छैनन् । 'मध्यमवर्गीय आदर्शवादी' अधिकारी दम्पतिको 'मार्क्सवादी' चेतनाको स्तर कमजोर भएकाले होला पुरानो सत्तामा सफाया गरिएको आफ्नो छोरो 'सुराकी' भएकाले 'महान् क्रान्ति'का क्रममा उसमाथि भएको सजायकाप्रति तिनले गर्व गर्नुपर्छ भन्ने मात्र तयारै छैनन् । 'विद्वान्' कामरेडको साथ र सहयोगले हामी 'साम्यवाद'सम्म पुग्न अवश्य मेहनत गरौंला, तर त्यतिन्जेलसम्म सत्ताको रुप जस्तोसुकै भएपनि लक्ष्मी थापा, सावित्री श्रेष्ठ, अधिकारी दम्पति वा राज्यपक्षको अमानवीय दमनमा परेका पीडितका असंख्य साहसी प्रियजनहरु न्यायपूर्ण समाज निर्माणको दिशामा मुलुकलाई एक पाइला अघि बढाउन 'नयाँ' सत्तासँग निरन्तर लडिरहने छन् । मान्छेको रगत चुहाएर लेनिनका अनुयायीहरुले रुसमा सात दशक निष्कण्टक शासन गरेको 'नोस्टाल्जिया'मा बाँचेका कामरेडहरुलाई सुन्दा अप्रिय लाग्ला तर क्रेमलिन दरबारको आँगनमा कठ्याँग्रिएको लेनिनको शवजस्तै लेनिनवादको आश र त्रासपनि अब इतिहासको कुनै चिसो कुनामा कठ्याँग्री सकेको छ ।

साभार: नागरिक दैनिक, १८ अगष्ट २०१३
http://nagariknews.com/opinion/story/5999/5999#sthash.lgU5Lygl.dpuf

Tuesday, May 28, 2013

अनुवाद: शाश्वत क्रान्तिकारी र अस्थायी क्रान्तिकारी


(विश्वप्रसिद्ध रुसी साहित्यकार माक्सिम गोर्कीले ‘आमा’ जस्तो प्रेरक आख्यान लेखेर संसारभरिका धेरै युवालाई कम्युनिष्ट बनाएका छन् । तर अधिकांश पाठक उनको लेखनिसँग त्यतिमात्र परिचित छन् जति सोभियत सत्ताले चिनाउन चाहेको थियो । सन् १९१७ को अक्टुबर ‘कू’ पछि बोल्शेभिकहरुले रुसका कुनाकाप्चामा मञ्चन गरेको अद्भूत ‘क्रान्तिकारिता’ले विस्मित र क्रुद्ध गोर्की हामीले जानेबुझेको भन्दा नितान्त भिन्न लेखकको रुपमा देखिन्छन् । अक्टुबर ‘क्रान्ति’का नायकहरु सहज सत्ताकब्जा पछि जुन प्रचण्ड स्वरुपमा प्रकट भए त्यसले अत्यन्त मोहभंग भएका गोर्कीले रुसको तात्कालीन राजधानी पेत्रोग्रादबाट प्रकाशित हुने साहित्यिक पत्रिका नयाँ जीवन (नोभाया झ्ज्नि) मा सन् १९१७-१८ तिर नियमित स्तम्भ मार्फत कठोर आलोचना गरेका छन् । लोकतन्त्र, समानता, सामाजिक न्याय जस्ता समाजवादी विचारधारालाई आत्मसात गरेको एउटा बामबुद्धिजीवीले क्रान्तिका नाममा हिंस्रक र सर्वसत्तावादी चरित्र देखाइरहेको बोल्शेभिक सत्ताको तीव्र प्रतिवाद गर्दै आफ्नो समयको विवेक बोल्नु स्वभाविक नै थियो । उनको तिखो आलोचनालाई थेग्न नसकेर बोल्शेभिकहरुले नयाँ जीवन पत्रिका नै बन्द गराइ दिए  । सन् १९६८ मा पहिलो पटक अनटाइमली थट्स् (निस्भाइयोभ्रेमेन्निय म्विस्ली) नाममा तिनै स्तम्भलाई संकलित र अनुदित रुपमा अमेरिकामा प्रकाशित गरियो । ‘क्रान्तिकारी’ उन्मादमा नुहाइरहेको वर्तमान नेपालमा समेत सान्दर्भिक उक्त संग्रहको एउटा निबन्धको मूल रुसीबाट जुगल भूर्तेलद्वारा गरिएको नुवाद तल प्रस्तुत छ ।)

*************

हाम्रो समयका क्रान्तिकारीहरुको कामलाई अवलोकन गर्दा तिनलाई स्पष्टत: दुई वर्गमा विभाजन गर्न सकिन्छ: एउटा शाश्वत (इटरनल) क्रान्तिकारी र अर्को – अस्थायी (प्रो टेम्पोरे) अर्थात आजको लागि क्रान्तिकारी । 

पहिलो, आफूभित्र प्रमिथियसको जस्तो क्रान्तिकारीदर्शलाई समाहित गरेको, मानवजातिलाई पूर्णतातिर लैजाने यावत ज्ञानहरुको आत्मिक (स्पिरिचुअल)  उत्तराधिकारी हो । यी विचारहरुले उसको चेतना मात्र होइन, भावना र अझ अवचेतनकै तहपनि ओतप्रोत ऊ गतिशील विचारहरुको अनन्त श्रृङ्खलालाई जोड्ने जीवन्त र कोमल कडी हो । आफ्ना भावना र विचारको समग्रतामा ऊ जुनसुकै सामाजिक संरचनामा पनि जीवनभरि असन्तुष्ट नै रहन अभिशप्त छ, किनकि उसलाई थाहा छ र विश्वास पनि छ कि मानवजातिमा राम्रो बाट झन् राम्रो सृजना गर्ने अपरिमित सामर्थ्य छ ।

सदैव तरुण सत्यप्रति उसको उत्कट प्रेम छ, तर यति दैहिक र वासनाशिक्त पनि होइन कि त्यो सत्यलाई मुड्कीको बलमा ती मान्छेहरुको हृदय र शिरमा घुसाओस्, जो अतीतमै मरेको सत्यले वसिभूत छन् वा विगतलाई असाध्यै माया गर्छन् । सामान्यतया उसका लागि मान्छे अविनाशी, जीवन्त र बेचैन शक्ति हो, जसले हरदम नयाँ संवेदना, चिन्तन, धारणा, वस्तु र जीवनका संरचनाहरुको सृजना गर्छ ।  ऊ संसारभरिका मानवका टाउका भित्र रहेको समग्र मस्तिष्कलाई नै सजीव र उत्प्रेरित तुल्याउन चाहान्छ, तर आफ्नो य अद्वितीय एवं वास्तवमै क्रान्तिकारी लक्ष्यलाई पच्छ्याउने क्रममा पनि ऊ मान्छेमाथि कुनैपनि प्रकारको हिंसात्मक विधिको सहारा लिन असमर्थ छ र अपवादजन्य विशिष्ट अवस्था आएमा पनि ऊ हरेक प्रकारको हिंसाप्रति जैविक घृणाभावका साथ मात्र त्यसलाई प्रयोग गर्छ । 

एक महान रुसी चिन्तकको सत्यवाणीमा भनिए झैं उसलाई स्पष्ट थाहा छ कि ‘इतिहासको त्रासदी र बृहत्तम दुर्भाग्य नै के हो भने मानिसलाई क्रुरतापूर्वक अपमानित गरिएको छ ।’ ऊ अपमानित भएको छ प्रकृतिबाट, जसले उसलाई सृजना गरेर बंजर धरतिमा एउटा पशु झैं अन्य पशुहरुको माझमा फ्याँकि दिएको छ र आफ्नो विकास र पूर्णताका लागि उसलाई त्यही वातावरण दिइएको छ, जुन कुनै अर्को पशुलाई प्राप्त छ । ऊ अपमानित भएको छ ईश्वरहरुबाट, जसलाई प्रकृतिको शक्तिका अगाडि हर्ष र बिस्मातवश आफैंले अत्यन्त हतारमा र भद्दा ढंगले 'आफ्नै बिम्ब र प्रतिरुप' जस्तै देखिने गरी रचना गरेको छ । धुर्त वा शक्तिशाली छिमेकीबाट ऊ सधैं अपमानित भएको छ र, सबैभन्दा कटु चाहीं, अपमानित भएको छ ऊ स्वयं भित्रको आदिम पशुत्व र नयाँ मान्छेबीचको अनिर्णयबाट  ।  

तर शाश्वत क्रान्तिकारीको हृदयमा मानिसका प्रति कुनै व्यक्तिगत विद्वेष हुँदैन । ऊ सधैं आफ्नो अहं भन्दा माथि उठेर विगतमा आफूलाई दिइएको यातना र कष्टको बदला लिने दुष्ट र संकीर्ण चाहनाको प्रतिरोध गर्न सक्छ ।

उसको आदर्श हो मान्छे, शारिरिक शक्ति र सुन्दरताले युक्त प्राणी तर यो बाह्य सौन्दर्य आत्माको शक्ति सौन्दर्यसँग पूर्णरुपले लयबद्ध मानवीय भनेको त्यो आत्मकुरा हो, जुन चैतन्यले निर्माण गर्छ । चैतन्य बाटै सृजित हुन्छ -विज्ञा, कला क्रमश: धेरै भन्दा धेरै मान्छेहरुले महसुस गर्दैगएको लक्ष्य हितको एकत्वबोध । शाश्वत क्रान्तिकारी आफ्नो आत्माको सम्पूर्ण शक्ति लगाएर यही ज्ञानलाई गहिर्‍याउन र फैल्याउन प्रयत्न गर्छ ता कि त्यसले सम्पूर्ण मानवजातिलाई नै प्रभावित गरोस् । यसरी फैलँदै र बढ्दै जाँदा त्यो चेतनाले मानिसलाई नश्ल, जाति र वर्गमा विभाजन गर्ने सबैकुरालाई ध्वस्त पार्दै आफ्ना लागि जीवनका यावत सम्पन्नता र सुखको सृजना गर्ने श्रमिक-मालिकहरुको विश्वमा एउटै परिवारको निर्माण गरोस् ।

सामाजिक अवस्थामा सुधार गर्ने कुरा शाश्वत क्रान्तिकारीका लागि मानवजातिलाई उचित शिखरमा पुर्‍याउने अन्तहीन सिढीको एउटा खुट्किलो मात्र हो । र, यसैमा त्यो ऐतिहासिक प्रक्रियाको महत्व छ र स्वयं ऊ त्यस प्रक्रियाको असंख्य आवश्यकताको एउटा अंश मात्र हुँ भन्ने कुरा बिर्सिंदैन । 

शाश्वत क्रान्तिकारी मानिसको दिमाग र स्नायु प्रणालीलाई उत्तेजित गरिरहने मर्चा जस्तै हो । अथवा ऊ त्यस्तो प्रतिभा हो, जो आफू भन्दा अघि सृजना गरिएका सबै सत्यलाई भत्काएर नयाँ सत्यको निर्माण गर्छ; वा, आफ्नो सामर्थ्यमा धैर्यतापूर्वक विश्वस्त एवं मन्द र यदाकदा झण्डै अदृष्य ज्वालामा प्रज्जवलित हुँदै भविष्यतिरको बाटोलाई प्रकाशित गरिरहेको ऊ विनीत मानव हो

अस्थायी अर्थात आजको लागि क्रान्तिकारी त्यस्तो व्यक्ति हो, जो मान्छेहरुले दिएको सामाजिक तिरस्कारदुर्व्यवहारमा तीक्ष्ण पीडाबोध गर्छ । समयले प्रभावि क्रान्तिकारी विचारलाई दिमागमा ग्रहण गरेकोले ऊ आफ्नो भावनाका सम्पूर्ण बनोट बाट नै अनुदार छ । उदास र प्राय: दया र प्रहसनको पात्र झैं लाग्ने,क्रान्तिकारी विचारको सांस्कृतिक, मानवतावादी र सम्पूर्ण मानवीय अन्तर्वस्तुलाई नै विकृत, बदनाम, र हास्यास्पद, अश्लिल र अनर्थ लाग्ने किसिमले कमजोर बनाउने उद्धेश्यले नै मान्छेहरुको माझमा आएको झैं प्रतित हुन्छ

प्रथमत: ऊ आफ्नैलागि दु:खी छ, किनकि ऊ प्रतिभाशाली छैन, शक्तिशाली छैन, किनकि उसलाई अपमानित गरिएको छ । ऊ यस कारणपनि आहत छ कि कुनैबेला जेल परेको थियो, निर्वासित भएको थियो, परदेशको कष्टकर जीवनलाई भोगेको थियो । प्रतिशोधको भावनाले उसको कणकण व्याप्त छ र आफूलाई दु:खी बनाउनेलाई ऊ सयगुना बढि दु:ख दिन चाहान्छ । दिमागले मात्र स्विकारेका तर आत्मामा नगढेका विचारहरु उसको कृत्यसँग सिधै र मिल्नै नसक्ने गरी विरोधाभासपूर्ण छन् । शत्रुसँग लड्ने उसको तरिका तिनै छन्, जुन उसका शत्रुले उसमाथि प्रयोग गरेका थिए । उसभित्र अरु तरिकाका लागि कुनै स्थान छैन ।  

दण्ड र प्रतिशोधको ईश्वरको अस्थायी दास बनेकोले ऊ परोपकार, क्षमा र खुशीको श्वरको सौन्दर्यलाई महसुस गर्न सक्दैन । संसारको विगतसँगको स्वभाविक सम्वन्धको होश नगरी ऊ आफूलाई पूर्णत: उन्मुक्त भएको त ठान्दछ, तर उसको अन्तरात्मा पशुवृत्तिको गहिरो रुढिवादले ग्रस्त छ । क्षुद्र र उद्विग्न अनुभवको सघन जालोमा ऊ यसरी जेलिएको छ कि त्यसबाट मुक्त हुन उसँग कुनै उर्जा छैन । आफ्नो चिन्तनको प्रवृत्तिले उसलाई जीवन र मान्छेहरुमा मुख्यत: नकारात्मक तथ्य र विशेषतालाई मात्र खोज्न लाचार बनाउँछ । उसको आत्माको गहिराई तिनै मान्छेका प्रति घृणाको भावले भरिएको छ, जसका खातिर उसले एक वा सयौं पटक कष्ट उठाएको थियो । तर ऊ आफ्नै पीडाले यति पीडित छ कि अरुका पीडालाई देख्न वा महसुस गर्न असमर्थ छ । सामाजिक जीवनको बाह्य स्वरुपलाई परिवर्तन गर्ने प्रयत्नमा नयाँ आवरणभित्र नयाँ अवयव (कन्टेन्ट) भर्ने क्षमता नभएकोले आजको दिनको क्रान्तिकारी तिनमा उही पुराना भावनालाई भर्दै जान्छ, जसका बिरुद्ध विगतमा ऊ लडेको थियो । कुनै चमत्कार वा हिंसाको बलमा यदि ऊ नयाँ जीवनपद्धतिको निर्माण गर्न सफल भयो नै भनेपनि त्यहाँको नयाँ वातावरणमा अरु भन्दा पहिले ऊ आफैंले पराई र एकाकी महसुस गर्नेछ किनकि आफ्नो अस्तित्वको सारमा ऊ समाजवादी (सोसलिस्ट) त होइन नै, पूर्वसमाजवादी (प्रिसोसलिस्ट) पनि होइन । ऊ व्यक्तिवादी (इन्डिभिजुवलिस्ट) हो ।

ऊ मान्छेप्रति त्यस्तै व्यवहार गर्छ, जस्तो व्यवहार एउटा प्रतिभाहीन वैज्ञानिक क्रुर प्रयोगको लागि तयार गरिएका कुकुर र भ्यागुतोमाथि गर्छ । यद्यपि एउटा फरक के छ भने प्रतिभाहीन वैज्ञानिकले मान्छेकै भलाईका लागि जनावरहरुलाई त्यसरी व्यर्थको सास्ती दिएको हो, जबकि मान्छेमाथि गरिने आफ्ना प्रयोगमा आजको क्रान्तिकारी सधैं इमानदार नै हुन्छ भन्ने छैन ।  

उसका लागि मान्छे भनेको चेतनाको मात्रा जति कम भयो त्यति नै उपयोगी हुने वस्तु मात्र हो । यदि मान्छेको व्यक्तिगत र सामाजिक चेतनाको स्तर विशुद्ध आवरणको, औपचारिक क्रान्तिकारिताका बिरुद्ध बिद्रोह गर्ने तह सम्म पुग्यो भने आजको लागि क्रान्तिकारी निर्लज्जतापूर्वक बिद्रोहीहरुलाई सजाय दिने चेतावनी दिन्छ । माथि व्याख्या गरिएका जस्ता पात्रहरुले पहिले पनि यस्तै गरेका थिए र अहिले पनि गरिरहेकै छन् ।  

रुखो उन्मादवैरागी स्वभावको भएकोले उसले क्रान्तिकारी विचारको सृजनात्मक उर्जालाई निस्तेज तुल्याइदिन्छ । निश्चय नै नयाँ इतिहासको निर्माता घोषित हुने छैन र त्यसको आदर्श नायक पनि ऊ हुने छैन ।

शायद उसको योगदान नै यही होला कि आदिम हिंस्रक पशुलाई मानवको भिँडमा बिउँझाइदिएर उसले पाशविकताको मृत्युलाई अलिक वर ल्याइदियो ? 

हिंसाले थकाउँछ र अन्तत: आफ्नै बिरुद्धमा नैसर्गिक घृणाको भाव जगाउन सक्छ । यही घृणाभावमा नै त्यसको विनाश सुनिश्चित हुन्छ ।

यस्तो लाग्छ, सबै खूनी, बर्बर, भ्रष्ट कुराहरु प्रति हामी आफूभित्र यही शारीरिक घृणाको भाव विकसित गर्न थालेका छौं । यो घृणा बढ्नु पर्छ र बहुसंख्यक मान्छेको विशिष्टता बन्नु पर्छ ।


(नोभाया झिज्न, नं १०९ (३२४), मइ २४, १९१८) 
(नेपाली अनुवाद साभार: हिमाल खबर साप्ताहिक पत्रिका, अप्रिल २०१३)