Wednesday, June 25, 2008

दक्षिणतिरका आतंकवादी

डा. जुगल भूर्तेल
पुर्खाहरुले नेपालीलाई अनुशासित, इमानदार र असाध्यै मेहेनती जातिको रुपमा संसार भरि चिनाइदिएका थिए । गोर्खा सेनाको बहादुरी र शेर्पाहरुको विलक्षण साहसका कथा सुनेका विदेशीहरु नेपालवाट आएको भन्नासाथ सुखद आश्चर्यले ओतप्रोत हुँदै आदर गरेजस्तो गर्थे । हङ्‍कङ्‍, जर्मनी लगायत धेरै देश जान नेपालीलाई भिसा नै चाहिँदैन थियो । स्वेच्छाले वा बाध्यताबस देश छोडेर हिँडेका नेपालीहरुको संख्या विदेशमा अहिले जति बढेको भएपनि तिनले शान्त र असल जातिको परिचयलाई अझै जीवन्त राखेका छन् तर विदेशीहरुको सहृदय व्यवहार अब बिरलै मात्र देख्‍न पाइन्छ । हालै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट भएर सिएनएन हङ्‍कङ्‍मा प्रड्युसरको जागिर पाएकी एउटी अक्सफोर्ड ग्य्राजुएट बहिनीलाई नेपाली भएकै कारण त्यहाँको श्रम स्विकृति लिन महिनौं संघर्ष गर्नु पर्‍यो । जर्मनीको भिसा पाउन झन् गाह्रो छ, दिए नै पनि नेपाल आएको दिन राजदुताबासमा ‘म फर्केर आएँ है’ भनेर रिपोर्ट गर्नु पर्ने । के जर्मनीको बिमानस्थलको रेकर्डले त्यो देश छोडेको देखाउँदैन र ? म पछिल्लो पटक ड्युसेलडर्फवाट सिधै मस्को उडेकोले काठमाण्डौ स्थित जर्मन दूतावासमा अझै हाजिर भएको छैन । हुन सक्छ त्यही कारणले मलाई फेरि भिसा नदिइयोस् ।

पहिलो पटक अमेरिका जाँदा काठमाण्डौंको अमेरिकी दूतावासकी महिलाले भनेकी थिई “तिमी ब्राउनवाट फर्कन्छौ भन्ने त मलाई विश्वास छैन तर पनि म तिमीलाई भिसा दिन बाध्य छु ।” ब्राउन अर्थात अमेरिकाको प्रतिष्ठित आइभी लिग युनिभर्सिटीमा प्रवेश गरेपछि एउटा साधारण नेपाली युवक फेरी घर फर्केर आउँदैन भन्ने अमेरिकी अनुमान आश्चर्यजनक नहोला तर म आफ्नो सम्पूर्ण परिबारलाई नेपाल मै त्यागेर अमेरिकी सपनाको खोजीमा उतै हराउँनेछु भन्ने उसको ठहर मलाई असाध्यै आपत्तिजनक लागेको थियो ।

आजकल नेपालीले कदाचित भिसा पाइहाले पनि हातले लेखेको नेपाली राहदानी देख्‍ने बित्तिकै पश्चिमी जुनसुकै मुलुकको अध्यागमन अधिकारीले अलिकति वक्रदृष्टिले हेरिहाल्छ “नक्‍कली पो हो की ?” बेलायतको गैरआवासीय नेपाली संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भागलिन जाँदा लण्डनको हिथ्रो बिमानस्थलमा अंग्रेजी मूलको अधिकारीले त मलाई “तिमी लण्डन किन आउँछौ ?” भनेर नै सोध्यो । ‘तिम्रो आफ्नै देश छँदैछ नि किन घरिघरि मेरोमा आउँछौ’ भने झैं लाग्ने त्यस्तो अनौठो सोधाइवाट मैले के अनुमान लगाएँ भने म लण्डन आएको उसलाई मन परेको थिएन । शायद त्यसै आसयको प्रश्नले त्यही कार्यक्रममा भाग लिन जानु भएका रामचन्द्र पौडेल, आनन्द ढुङ्गाना, डा. मिनेन्द्र रिजाल, प्रदीप नेपाल, गगन थापा, कृष्ण बहादुर महरा, शशी श्रेष्ठ आदि नेतागणको पनि आनादर गरियो की भन्ने सम्झेर मलाई बडो असहज लागिरह्‍यो ।

कम्युनिष्टहरुले सत्तरी वर्ष सम्म अन्तर्राष्ट्रियवाद सिकाएको दावी गरे पनि रुसमा अहिले देखिएको उग्रराष्ट्रवाद र बढ्दो ‘जेनोफोबिया’ ले उनीहरुको शिक्षा कति कमजोर रहेछ सिद्ध भएकोछ । त्यसैले माथिका जस्ता घटनाहरु रुसमा घटि नै रहन्छन् । हुन त सवै विमानस्थलमा रुसीहरुको हामी जस्ता दक्षीण एसियाली विदेशीप्रति उस्तै व्यवहार हुन्छ तर त्यस मामलामा शेरेमेत्येभाको अलि विशेष स्थान छ । एक पटक अमेरिकामा बसोवासरत गैरआवासीय नेपालीहरुको सिकागो सम्मेलनमा भागलिन उड्ने क्रममा म त्यो विमानस्थल स्थित लुफ्थान्साको चेक-इन काउन्टरमा पुगें । “ए, नेपालवाट ! तपाईंको मुलुकलाई विशेष ध्यान दिने आदेश भएकोले तपाईंको कागजात जाँच गर्न एकछिन पर्खनु पर्छ ।” माओवादी द्वन्दले हाम्रो देशको प्रशिद्धिलाई शिखरमा पुर्‍याइदिएकोले अमेरिकालाई आजकल म जस्ता मान्छे संभावित आतंकवादी झैं लाग्छन् र त्यही आधारमा विमानस्थलमा पनि व्यवहार हुन्छ । लुफ्थान्साको एउटा कर्मचारीले ‘किन अमेरिका जाने ? अमेरिकामा कहाँ बस्छौ ? भिसा कसरी पायौ ?’ आदि यावत प्रश्नले धेरैबेर हायल-कायल पारेर अन्तमा मलाई बोर्डिङ् पास दिइयो ।

अध्यागमनको अर्को परिक्षावाट गुज्रिनु थियो त्यसैले गह्रौं पाइला चाल्दै अध्यागमन डेस्ककी युवतीको अगाडी पुगें । “नेपालवाट !” मानौं कुनै आतंकवादीलाई सशरीर अगाडि देखे जस्तो गरेर आत्तिँदै उसले हाकिमलाई फोन गरी “सेर्गेइ, मेरोमा नेपाल आयो, के गरुँ ?” जहाजमा बोर्डिङ् सुरुहुन केही मिनेट मात्र बाँकी रहेकोले मलाई अलि हतार थियो तर सेर्गेइ नआई युवतीले केही नगर्ने लक्षण देखाई । ऊ बल्ल-बल्ल आयो र सोध्यो “अमेरिकामा के गर्छौ ?” मैले आफू नेपाली डायास्पोराको सम्मेलनमा भागलिन जानलागेको बताएँ तर उसले मलाई नपत्याए झैं गरेर भन्यो “निमन्त्रण-पत्र छ ? अंग्रजी बोल्न जान्दछौ ?” मैले अंग्रजी मै जवाफ दिन थाले पछि ऊ तिर हेरेर युवती मुस्कुराई । जसवाट मैले के बुझेँ भने ऊ आफैंलाई अंग्रजी आउँदैन थियो तर मेरो मानमर्दन गर्न मात्र ती सवै कुरा सोधिरहेको थियो । उसको सोधाइ, हाव-भावमा सूचनाको चाहाना भन्दा हेपाइको इच्छा धेरै देखिन्थ्यो । लामो केरकार पछि द्विविधायुक्त मनले मलाई जान दिने आदेश दिएर सेर्गेइ हिँडे पछि युवतीले छाप लगाएर मेरो राहदानी फर्काउँदै टर्रो स्वरमा भनी “अव जान सक्नु हुन्छ ।” म पछि थुप्रै विदेशी गोराहरु थिए तर तिनीहरुलाई न केरकार गरियो न त डकुमेण्ट नै मागियो । लुफ्थान्सा विमानमा छिर्ने वित्तिकै जर्मन परिचारिकाले मधुर मुस्कानले स्वागत गरी तर त्यसको कृतिमताले मलाई वितृष्णा पैदा भयो ।

म जस्तो शिक्षित ठानिने नेपालीले त विदेशमा अवहेलनाको यस्तो विष पिइरहनु पर्छ भने अल्पकालीन रोजगारिमा जाने श्रमिक दाजुभाइहरु, शरणार्थी भएर विदेशिएका नेपालीले झन् कस्तो विकराल परिस्थितिको सामना गर्नु पर्दो हो ? पश्चिमी देशको के कुरा कराँची र दिल्ली विमानस्थलमा समेत सोझा-सरल नेपालीले अकल्पनीय उत्पीडन सहनु पर्छ । यिनै कुराले मन दुखाउँदा दुखाउँदै जहाज सिकागोको ओ’हारे बिमानस्थलमा ओर्लियो । अव फेरी ‘किन अमेरिका आएको, कहिले फर्कन्छस्, तेरो सम्मेलन त दुई दिन मात्र हो फेरि किन त्यति दिन यहाँ बस्ने’ आदि प्रश्नको प्रहार हुने निश्चित नै थियो । यी संसार भरि जुन सुकै बिमानस्थलमा सोधिने सामान्य प्रश्न हुन् भन्ने जान्दा जान्दै पनि प्रश्नकर्ताको शंकालु स्वरले मलाई संवेदनशील बनाउँछ र अपमानवोधले क्रुद्ध भइहाल्छु । जस्तो सुकै कठिनाई भए पनि नेपाली पासपोर्ट, पहिचान र राष्ट्रियता प्रति ठूलो गौरव महसुस गर्ने स्वभाव भएर पनि म अतिसंवेदनशील भएको हुँ कि ? लामो केरकार पछि बाहिर निस्कँदा गैरआवासीय नेपाली साथीहरु हाँस्दै स्वागतमा आएको देखेर मन गर्वले भारि भयो । आफ्नो जातिको महत्व त्यस्तो बेला मात्र थाहा हुने रहेछ ।

सम्मेलन भरि असाध्यै रमाइलो गरियो । धेरै वर्ष पछि थाइल्याण्डमा एआइटी पढ्दा ताकाका साथीहरु भेटिए । थाइल्याण्डमा भारतीयहरु प्रति अलि बढि नै पुर्वाग्रह भएकोले घुन पिसिए झैं हामीले पनि जातिविभेदका थुप्रै घटनाहरु सहेका थियौं । नेपालवाट उपचारकोलागि आएको मौका छोपेर सुशील कोइराला पनि सम्मेलनमा भाग लिन आउनु भएको थियो, रामचन्द्र पोखरेल पनि भेटिनु भयो । विदेशमा त्यति धेरै नेपालीलाई भेट्दा हामी सवै हर्षित हुन्छौं, उहाँहरुलाई पनि खुशी लाग्नु स्वाभाविक थियो । उहाँहरुसँगको अन्तरक्रियामा सवैले नेपालको द्वन्द र शान्ति कै कुरा गरे । त्यति बेला मैले भने बिमानस्थलका तिरस्कारहरुलाई घरिघरि सम्झिरहेँ । हामीले माओवादी विद्रोह जस्तो बृहत् समस्याको समाधान देखि केही किलोमिटर सडक बनाउन समेत विदेशीहरुको मुख ताक्ने प्रवृत्तिलाई नबदलेसम्म ‘आफैंले केही गर्न नसक्ने जाति’ को रुपमा तिनीहरुले हाम्रो आत्मसम्मानमा ठूलो चोट पुग्नेगरी अपमानित र लज्जित गर्ने क्रम जारी नै रहनेछ । दूर क्षितिजमा देखिँदैगरेको नयाँ नेपालको आलोकमा विश्वले हामीलाई नयाँ ढङ्गले मूल्यांकन गर्ने विश्वासले एकअर्कालाई आश्वस्त पार्दै हामी सम्मेलनवाट बिदा भयौं ।

मस्को फर्कने बेला बिदाईकालागि अमेरिकाबासी मेरो ठूलोदाइ बिमानस्थलमा आउनु भएको थियो । धेरै वर्ष पछि हाम्रो भेट भए पनि मैले व्यस्तताको कारण उहाँसँग लामो समय बिताउन नपाएकोले हामी विदाइको क्षणलाई जति सक्दो तन्काउन खोजिरहेका थियौं । प्लेन उड्न केही समय मात्र बाँकी हुँदा म मन नलागी नलागी उहाँसँग छुट्टिएर सुरक्षा जाँच तिर लागेँ । म भन्दा अगाडि धेरै यात्रीहरु सरासर पार गरिरहेको देखेर खासै समय नलाग्ने रहेछ भन्ने लागेको थियो । तर मलाई र मेरो पासपोर्टलाई निकै बेर नियाले पछि सुरक्षाकर्मीले शंकालु स्वरमा भन्यो “तपाईंलाई विशेष जाँचकालागि चुनिएकोछ, संकेत चिन्हलाई पच्याउँदै त्यहाँ गएर उभिनुस् ।” मैले दाइतिर हेरें, टाढैवाट पनि उहाँका आँखामा सहानुभूति देखिन्थ्यो । यस्ता ‘र्‍याण्डम सेक्युरिटि चेक’ मा नबिराई परिरहनु हामी जस्ता दक्षीण एसियाली यात्रुहरुको नियति नै हो । त्यसपछि यसरी विस्तारपूर्वक सुरक्षा जाँच भयो कि मेरो शरीरको कुनै अंग छामछुमवाट बँच्न सकेन । ह्‍याण्डब्यागको पनि थरिथरिका ‘लिक्विड’ ले लेपेर त्यस्तै हविगत गरियो । अन्तत: केही पनि आपत्तिजनक सामान नभेटिए पछि मैले जाने अनुमति पाएँ । विशेष जाँच गर्ने गोरा मानौ हात आइसकेको ‘टेररिष्ट’ छुटेकोमा निराश भए झैं देखिन्थ्यो । सिसा पछाडिवाट दाइ अझै चिन्तित भएर हेरिरहनु भएको रहेछ । मैले निरिहताले खिन्न हुँदै विदाको हात हल्लाएँ । म पछि २०-२५ जना आउन्जेल पनि कसैलाई फेरि विशेष जाँचकालागि चुनिएन । स्पष्टै थियो ती मध्ये कोही पनि म जस्तो वर्ण र क्षेत्रका मान्छे नभएकाले ‘आकास्मिक सुरक्षा जाँच’ मा परेनन् ।

नेपालवाट आएको भए रुसको विमानस्थलमा अझै अर्को सास्ति खेप्नु पर्थ्यो तर अमेरिकावाट फर्केकोले खासै जाँच भएन । आजकल सवै विकसित देशमा आतंकवादीहरु दक्षिण तिरवाट मात्रै आउँछन् भन्ने मान्यता छ । उत्तर-दक्षिणको यो असहज सम्वन्धलाई यस वर्ष साहित्यमा नोबेल पुरस्कार विजेता टर्कीका लेखक अरहान पामुकको ‘हिउँ’ भन्ने प्रसिद्ध पुस्तकको एउटा कुर्दिस पात्रले मार्मिक ढङ्गले व्यक्त गरेकोछ । युरोपियनका बारे उसका भावहरु मेरो मानसपटलमा अक्सर आइरहन्छन् “तिनीहरु कुनै एउटा गरीबप्रति सहानुभुति दर्शाउँछन् होला तर जब सिङ्गो मुलुक नै दरिद्र हुन्छ सम्पूर्ण विश्वले के सोच्छ भने त्यस देशमा बस्ने सवै मान्छे मुर्ख, दिमागहीन, अल्छी, फोहोरी र ढङ्ग नभएका छन् । सहानुभूति दर्शाउनु सट्टा संसार तिनीहरु माथि हाँस्छ । तिनीहरुका संस्कृति, परम्परा र रीतिरिवाजहरु सवै हाँसउठ्दा लाग्छन्....जब त्यो देशका प्रवासी जनताहरु उनीहरुको आँगन बढार्छन् वा सवै भन्दा तुच्छ काम गर्छन्, त्यतिखेर ती प्रवासीहरुले असन्तोष व्यक्त नगरुन् भनेर तिनीहरुको संस्कृतिको बारेमा सुनेको झैं अभिनय गर्छन् ....गरिव देशको कुनै मान्छेलाई देख्दा युरोपियनको अन्तरमनमा सवै भन्दा पहिले शंकाको भाव पैदा हुन्छ –यो मान्छेको दिमाग पनि त्यही मुर्खता र तुच्छताले भरिएको हुनु पर्छ जसले यसको सम्पूर्ण मुलुकलाई नै अकिंचन बनाएकोछ...” त्यो पुस्तक ऐले लेखिएको भए कुर्द ठिटोले थप्ने थियो “आजभोलि गरीब देशको मान्छेलाई आफ्नो मुलुकमा देख्दा उनीहरु अर्को एउटा शरणार्थी वा आतंकवादी नै पस्यो कि भनेर सशंकित हुँदै हतार-हतार मूल ढोका बन्द गर्छन् ।”
(रुसमा बसोवासरत लेखक गैरआवासीय नेपाली संघका प्रवक्ता हुन् )
(साभार: कान्तिपुर दैनिक)

2 comments:

mani said...

ho dai,
yo sarai marmik awastha ho hami le bhognu pareko. Sarai chitta bujhyo.

nepali citizen said...

even we faced the same scenario while traveling abroad.....its really sad. Hope things will change as was before.