डा. जुगल भूर्तेल
म धेरै बर्ष भयो विदेशिएको, तर नेपाली माटोमा खै कस्तो आकर्षण छ कुन्नि त्योसँग छुट्टिने बेला सँधैं मलाई नरमाइलो पीडाले गाँजेर ल्याउँछ । यस पटक त झन् म हिँड्ने क्षण त्रिभूवन विमान स्थलमा झलमल्ल लागेको पुषको न्यानो घामले मुलुक र परिवारसँग बिछोडिनुको पीडालाई ज्यादै चर्काइदियो । मस्कोमा अझै तीन-चार महिना ‘घामका पाइलाहरु’ देखिने छैनन् भन्ने मलाई राम्ररी थाहा थियो । नोभेम्वर वाट नै आक्कल-झुक्कल देखिने सूर्य भगवानको दर्शन डिसेम्वर तिर आइपुग्दा दुर्लभ घटना नै बन्छ । आकाशवाट एकनाशले फुस-फुस झर्ने हिउँले ढाकेर सेतै फूलेको दृष्टिभ्रम दिने बृक्षहरुले अनौठो सौन्दर्यको आभाष दिलाए पनि निरन्तर हिमपात हुन थालेपछि सहरको कुरुपता बढ्दै जान्छ । सडकवाट हिउँ सफा गर्दा गर्दा आजित भएको नगरपालिकालाई एक्कासि बढ्ने सडक दुर्घटनाले झन् ठूलो समस्या थपिदिन्छ । बाक्ला लुगा लगाएर मरुभूमीको बालुवा झैं असरल्ल थुप्रिएको हिउँमा हिँड्नु पर्ने वाध्यताले साधारण मान्छे पनि लखतरान परिसकेको हुन्छ । जमेको हिउँमा चिप्लेटी खेलेर रमाउने बालक पनि त्यो पग्लिएर हरियाली छाउने दिन गन्न थाल्छ । सवै गृष्म ऋतुको आगमनको ब्यघ्रतापूर्वक प्रतीक्षा गर्न थाल्छन् । हिउँ सुक्दै गएपछि रुखमा पलाउने टुसाहरुले जीवनको निरन्तरताको संदेश दिन्छन् । शरीरमा लगाएका लुगाहरु क्रमश: घट्दै जान्छन्, मानिस छिटो-छरितो हुन्छ र सहर बिस्तारै शीतनिष्क्रयतावाट मुक्त हुँदै आउँछ । मस्को गए पछि मलाई बोध भयो हरियाली वास्तवमै जीवनको प्रतिक रहेछ ।
तर ऐले त म काठमाण्डौ वरिपरिका हरिया डाँडाहरु र न्यानो घामलाई छोडेर हिँउको सेतो मरुभूमीमा फर्कदै थिएँ । त्यसैले शरीर उडेर मस्को गइरहेको भएपनि मन भने घरिघरि नेपाल नै फर्किरहेको थियो । मन र शरीरको यही उहापोहबीच आएको सूचनाले म झसंग भएँ “विमान मस्कोमा अवतरण गर्न लागेकोछ । ऐले स्थानीय समय अनुसार बिहानको आठ बजेकोछ । वायुको तापक्रम माइनस ३२ डिग्रिसेन्टिग्रेड भएकोले जाडोवाट बँच्नु होला । तपाईंको मस्को यात्रा सुखद रहोस् ।” “माइनस ३२!?” मेरो आतंक र विस्मय मिश्रित प्रश्न सुनेर रुसी परीचारिकाले मुस्कुराउँदै भनिन् “दा, भ’एतम गादु ओचिन खोलद्ना (हो, यो बर्ष धेरै जाडो छ)।” तर त्यो क्षण म उनको मुस्कानको सौन्दर्यले मुग्ध हुने मनस्थितिमा थिइन । आफ्नो शरीरको एकसरो लुगालाई छामेर म ज्यादै त्रसित भएको थिएँ । रुसको जाडो विश्व प्रशिद्ध भए पनि मस्कोमा विरलै यति चिसो हुने गर्छ । जसोतसो आफूलाई विमानस्थलमा लिन आएको गाडीमा चढेर सहरतिर गुड्दा पन्ध्र वर्ष अघि एक पटक यसरी नै माइनस ३५ डिग्रिसेन्टिग्रेडलाई झेलेको सम्झना आयो ।
म त्यस बेला गरीव बिद्यार्थी थिएँ र मस्कोको एउटा थोत्रो छात्रावासमा बस्थेँ । भरखरै सोभियत संघको अस्त भएर स्वतन्त्र राष्ट्रको रुपमा उदाएको रुस महासंघको हालत त्यो अकिञ्चन छात्रावास भन्दा गतिलो थिएन । एउटा राज्य-ब्यवस्थाको पतन भएर अर्को बनिनसकेको हुँदा सम्पूर्ण आर्थिक र सामाजिक संयन्त्रहरु तासको घर झैं एक पछि अर्को गर्दै धरासायी हुँदै थिए । हिजो सम्म बेच्ने सामानले खचाखच भरिने पसलहरु अचानक खाली भएका थिए । हामी भिँडसँग कुस्ति खेलेर पाउरोटी किन्थ्यौं र चामल पाएको दिन साथीहरु बोलाएर भोज खान्थ्यौं । सरकारले बजेट दिन छाडेर छात्रावासको आवश्यक मरमत संभार हुनसकेको थिएन । पानीको पाइप फुटेर ट्वाइलेट, बाथरुम हुँदै करिडोर नै छताछुल्ल हुने घटनासँग हामी अभ्यस्त भइसकेका थियौं । कोठाहरु तताउन प्रयोग हुने तातोपानी युक्त केन्द्रीय हिटिङ् प्रणालीको मरमत नभएको पनि शायद बर्षौं भएको थियो, तर त्यसले अझै आफ्नो धर्म नछाडेको हुँदा कोठामा चाहीँ जनवरी महिनामा पनि न्यानो नै हुन्थ्यो । तर एकदिन हठात् थर्मामिटरले माइनस ३५ देखायो । हिटिङ् पाइपको मनतातो पानी नै जमिदियो र सम्पूर्ण प्रणाली काम नलाग्ने भइदियो । सवैले इलेक्ट्रिक हिटर बाल्न थालेपछि एक्कासी ह्वात्तै बढेको मागलाई धान्न नसकेर होस्टलको बिजुली पनि बन्द भयो, हाहाकार नै मच्चियो । केही दिन सम्म हामी यस्तै अस्तब्यस्तता बीच बाँच्न बाध्य भयौं । एयरपोर्टवाट घरतिर फर्कंदा पुन: त्यस्तै अवस्था झेल्नु पर्ने सम्भावना भएको बेला नेपाल छोडेर आएकोमा म आफूलाई धिक्कारी रहेको थिएँ ।
तर मेरो गाडी जति जति मस्को सहर भित्र छिर्दै गयो उति उति म सुखद आश्चर्यले ओतप्रोत हुँदै गएँ । सहरमा कतै पनि हिउँ थुप्रिएर आवागमनमा असुविधा भएको थिएन । सहर सफा गर्ने संयत्रले आफ्नो काम चुस्तरुपले गरिरहेको संकेत थियो त्यो । मानिसको चहल-पहलमा कुनै कमी देखिएन । न स्कुल बन्द थिए, न त कार्यालयहरु नै । जीवन त्यति नै ब्यस्त थियो जति डेढ करोड जनसंख्या भएको सहरमा हुनु पर्छ । पन्ध्र बर्ष अघि झैं अपार्टमेन्टमा बिजुली गएको र हिटिङ् सिस्टम जमेर घरै हिउँमय भएकोछ कि भनेर म डराइ डराइ भित्र छिरे । तर अचम्म ! पुर्ण क्षमतामा काम गरिरहेको हिटरले गर्दा कोठामा गर्मी पो रहेछ । मैले अलिकति झ्याल खोलेर चिसो हावा पस्न दिएँ ।
एक हप्ता सम्म जाडोले घट्नै मानेन । स्वभाविक रुपले विद्युत खपत झन्-झन् बढ्दै गयो । एक दिन टीभीमा सुने मस्को सहरको विद्युत आपुर्ति दोब्बर बढेर १६ हजार मेगावाट पुगेछ । “सोह्र हज्जार मेगावाट!!” फेरि अर्को संख्याले मलाई विस्मित बनायो । छ सय मेगावाट बिजुली उत्पादन गर्न नसकेर लोडसेडिङ् झेलिरहेको मुलुकवाट भरखरै आएको हुँदा मलाई एउटा सहरको त्यो अजंङ्गको विद्युत आपुर्ति र माग दोब्बर हुञ्जेल पनि सहजै धान्न सकिरहेको विद्युत प्रणालीले आश्चर्यचकित बनाउनु स्वभाविक थियो । नेपालका १८% जनताले मात्र बिजुलीको उपयोग गर्न पाएका छन् । त्यो पनि सवै भन्दा अत्यावश्यक क्षणमा घरि-घरि निभ्ने गर्छ । बिकसित मुलुकमा बिजुली विनाको राष्ट्रिय जीवनको कल्पना पनि गर्न सकिन्न । विद्युत र बिकासको अन्योन्याश्रित सम्वन्धलाई विचार गरेर नै लेनिनले रुसको विद्युतिकरणलाई योजनाबद्ध बिकासमा मुख्य प्राथमिकता दिएका थिए । विद्युतिकरण कार्यक्रमको अभूतपूर्व सफलताले ठूला ठूला कारखानाहरुको निर्माणमा सहयोग पुग्यो, राष्ट्रिय उत्पादनमा ब्यापक बृद्धिभयो र देश विस्तारै बिकसित भयो । हाम्रो देश जलश्रोतमा त्यति धनी भएर पनि हामीले असाध्यै महँगो बिजुली उपयोग गर्नु परिरहेकोछ । रुसमा झैं झण्डै नि:शुल्क र सर्वसुलभ भए नेपालमा पनि उद्योग धन्दा खुल्थे होलान्, रोजगारीका अवसर बढ्थे होलान् । केही नभए पनि जाडोमा मान्छेले निर्धक्क भएर हिटर ताप्न त पाउँथे । अब त द्वन्दले गर्दा नयाँ सृजना अवरुद्ध मात्र भएको छैन भएका संरचनाहरु पनि क्रमश: ध्वस्त हुँदै छन् । मुलुकको बिकास यति पर धकेलिएकोछ की अझैं केही दशक सम्म हरेक पुष-माघमा हाम्रा मुटुहरु यसरी नै कामिरहने निश्चित छ ।
पन्ध्र बर्ष अघि म विद्यार्थी छँदाको र ऐलेको मस्कोमा आएको अन्तरलाई यस पटकको जाडोले राम्रैसित उजागर गरिदियो । रुस र नेपालमा लगभग एकै समयमा प्रजातन्त्र आएको थियो । प्राकृतिक श्रोतमा तुलना गर्न नमिले पनि अधिनायकिय ब्यवस्थाको प्रहारले निस्तेज भएको अर्थतन्त्र तथा राजनैतिक अन्योलले दिशाहीन भएका दुवै मुलुकमा भरखर आएको प्रजातन्त्रका चुनौतिहरु समान थिए । भ्रष्टाचार, आतंकबाद, बेरोजगारी, जनताका असीमित आकांक्षाहरु र सर्वब्यापी ‘मिसम्यानेजमेण्ट’ रुसका प्रथम राष्ट्रपति बरिश यल्तसिनले पुश्तैनी सम्पतिको रुपमा पाएका थिए । टाटउल्टिसकेको साम्यवादी अर्थतन्त्रलाई पुँजीवादी अर्थतन्त्रमा परिवर्तन गर्ने इतिहासमा कहिल्यै नभएको नौलो प्रयोग गर्नु पर्ने ठूलो चुनौति थियो उनलाई । पुँजीवादको सुक्षमतासँग अनभीज्ञ रुसीहरुलाई विश्व बैंक र विशेषगरी अन्तर्राष्ट्रिय मुद्रा कोषका ‘कन्सल्ट्याण्ट’ ले जे सिकाए त्यही गर्दै जाने बाध्यता थियो । त्यसमाथि पटक-पटक लिएको ऋणले रुसलाई तिनीहरुको दाश जस्तै बनाइ सकेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषले ‘सफ्ट लोन’ रुपी हतियारले विकासोन्मुख देशको सार्वभौमसत्ता कै घाँटी रेट्ने गरेको हामी आफैंले पनि अनुभव गरेका छौं । मुद्रा कोषका हारवार्ड ‘ट्रेण्ड’ बिशेषज्ञहरुलाई निजिकरणको मन्त्रले ब्रेजनेभको पालादेखि गतिहीन भएको अर्थतन्त्रका सम्पूर्ण रोगहरुको निवारण हुने भ्रम थियो । उनीहरु येल्त्शिनलाई दशकौं देखि सरकारी स्वमित्वमा रहेका उद्योग-धन्दाहरु निजी क्षेत्रलाई नदिए पश्चिमी विश्ववाट पुँजी र राजनैतिक समर्थन नआउने त्रास देखाइरहन्थे । फलस्वरुप राष्ट्रिय सम्पतिलाई रातारात निजिकरण गर्ने अत्यन्तै अदूरदर्शी निर्णयहरु भए । मुलुकका गौरवको रुपमा चिनिने कल-कारखानाहरु या त बन्द गरिए या ब्रम्हलुटमा परे । तर राष्ट्रिय सम्पतिको असमान बितरणले आर्थिक बृद्धि हुनुको सट्टा राजनैतिक र सामाजिक द्वन्दको स्थिति आयो । अन्तर्राष्ट्रिय मुद्रा कोषको दबावमा अर्बौं डलर ऋण लिएर रुवलको भाउलाई स्थिर राख्न गरिएको प्रयासको असफलताले अन्तत १९९८ मा रुवल सँगै रुसको अर्थतन्त्र पनि धरासायी भयो । नोवेल पुरस्कार बिजेता अर्थशाष्त्री जोसेफ स्टिगलिट्जले आफ्नो ‘ग्लोवलाइजेशन एण्ड इट्स डिसकन्टेन्टस्’ भन्ने पुस्तकमा अन्तर्राष्ट्रिय मुद्रा कोषले रुसमा गरेका रुपान्तरणका प्रयासहरुलाई यस शताब्दी कै सबै भन्दा असफल आर्थिक प्रयोग भन्दै “मार्कसिज्मलाई प्रतिस्थापन गर्न अघि सारिएको ‘मार्केट फण्डामेन्टलिज्म’ पनि पूर्णरुपले असफल सिद्ध” भएको घोषणा नै गरिदिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अर्थशाष्त्रीहरुले रुसले आर्थिक सुधार मात्र हैन सामाजिक रुपान्तरण पनि खोजेकोछ भन्ने कुराको भेउ पाउनु अगावै राष्ट्रिय बैभव तहसनहस भएर देश आर्थिक र सामाजिक दुवै क्षेत्रमा अत्यन्त कमजोर भइसकेको थियो । मार्कसिज्मलाई समाप्त गर्ने एकोहोरो प्रयासले ‘सबैका लागि शिक्षा र स्वास्थ्य’ जस्ता सकारात्मक समाजवादी अवधारणाहरु पनि क्षतिग्रस्त भए । भरखरै सर्वहाराको अधिनायकवादबाट मुक्त भए पनि कम्युनिष्टहरुको जनतामा अझै राम्रै पकड रहेकोले स्वतन्त्र रुसको संसदमा उनीहरुकै बोलवाला थियो । उनीहरुले यल्तसिनको सरकारलाई असहयोग मात्र गरिरहे, कामै गर्न दिएनन् । घरि-घरि प्रधानमन्त्री फेरिइरहन्थे । संसद भवनमा तोपले हानेर बिद्रोहलाई दबाउने आपराधिक काम पनि भयो । यल्तसिनको दोस्रो कार्यकालमा सामाजिक असन्तुष्टी झन् बढ्दै गयो । राजनैतिक दलहरु एकअर्कालाई ‘प्रजातन्त्रवादी’ भनेर गाली गर्थे । सामाजिक असन्तुष्टी, राजनैतिक बिरोध, चिचेन आतंक, क्षेत्रिय बिखण्डन, संसदको महाभियोग, अर्थतन्त्रको गहिरिँदो संकट आदिलाई झेल्दा झेल्दा एकातिर यल्तसिनको स्वास्थ्य बिग्रन थाल्यो भने अर्कातिर उनको ब्यक्तिगत लोकप्रियता लगभग शुन्यमा झर्न पुग्यो । अनि एक दिन उनले आफ्ना सवै असफलताकोलागि रुसी जनतासँग क्षमा याचना गर्दै आफ्नो पदवाट राजिनामा दिने ऐतिहासिक घोषणा गरे । मृत्यु भएर वा अपदस्त गरिएर मात्र राष्ट्र प्रमुखहरु परिवर्तन हुने परम्परामा बानी परेका रुसी जनताको लागि त्यो एउटा अनौठो घटना थियो । भरखरै ७५ औं जन्मदिवस मनाएका यल्तसिनको राजनैतिक ‘लिगेसी’ को मुल्याङ्कन गर्दा सामाजिक र आर्थिक संकटका जम्मै प्रहारलाई साहसपूर्वक सामना गरेर उनले आफ्ना उत्तराधिकारीको निम्ति मुलुक चलाउन सहज स्थितिको सृजना गरिदिएको कुरालाई ठूलो महत्व दिइएकोछ । यस अर्थमा यल्तसिनले स्वतन्त्रतालाई रुसी जनताको जीवन पद्धति र मुलुकलाई बिखण्डनको संघारवाट जोगाउँदै पुन: एउटा समृद्ध महाशक्ती राष्ट्र बनाउने दिशा तिर डोहोर्याएर इतिहासले आफूलाई सुम्पेको भूमिकालाई इमान्दारिपूर्वक निभाएको मानिनेछ ।
यल्तसिनको तुलनामा २०४६ पछिको प्रजातान्त्रिक नेपालका प्रथम प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाका समस्याहरु थोरै र सहजै समाधान गर्नसकिने खालका देखिन्थे । उहाँले पनि प्रजातन्त्रको पहिल्यै चरणमा यल्तसिनले झैं विश्व बैंक जस्ता संस्थाहरुको दबावमा पार्टीको समाजवादी एजेण्डालाई परित्याग गरेर अलोकप्रिय आर्थिक निर्णय गर्नु पर्यो, बामपन्थीहरुको जगजगी भएको संसदलाई झेल्नु भयो । उहाँ प्रधानमन्त्री हुन नपाउँदै कर्मचारीहरु भद्रकालीमा भोकहडताल भनेर लम्पसार परिदिन्थे, पचास-पचास दिन सम्म संसदको कार्यवाही ठप्प हुन्थ्यो । तर यल्तसिनसँग उहाँको तुलना त्यहीँ समाप्त हुन्छ । मुलुकका समस्याको त कुरै छोडौं गिरिजा बाबुले आफ्नै दलको व्यवस्थापन पनि गर्न सक्नु भएन । थुप्रै पुस्ताको बलिदानको गौरबशाली इतिहास बोकेको र ‘बीपीको सपनाले’ बाँधिएको नेपाली काँग्रेसले दु:खदायी बिभाजनलाई भोग्नु पर्यो, जुन कालान्तरमा प्रजातन्त्र खोसिने एउटा प्रमुख कारण बन्यो । आफू अलोकप्रियताको शिखरमा भएर पनि परिवारका चाटुकारहरु र भ्रष्ट कार्यकर्ताको साँघुरो घेरावाट बाहिर निस्किएर गिरिजा बाबुले येल्त्शिनले झैं राजनीतिवाट सन्यास लिएर आफू भन्दा सबल नेतालाई नेतृत्व हस्तान्तरण गर्ने साहस देखाउन सक्नु भएन । फलस्वरुप शेर बहादुरले ‘बिद्रोही युवा नेता’ बन्ने मौका पाए र प्रजातन्त्रको ‘टर्च’ लाई उहाँको हातवाट खोसेर दरबारमा बुझाइ दिए । त्यो अब कति पुस्ताको बलिदानले फिर्ता हुने हो कसलाई थाहा ?
हामी भन्दा ठूला-ठूला राजनैतिक घटना र सामाजिक उतार-चढाव भोगेर रुस ऐले कहाँ पुगेकोछ । तेलको भाउ बढेर अर्थतन्त्रले अनपेक्षित नयाँ श्रोत पाएको भए पनि देशलाई हाँकेर लैजान सक्ने आत्मविश्वास, चिन्तन र इतिहासको विवेक भएका राजनेताहरु नभएका भए रुसमा सबै क्षेत्रमा यति चाँडै बिकासका सकारात्मक संकेत देखिने थिएनन् । भरिँदै गएको राष्ट्रिय ढुकुटी र ६.५% को आर्थिक बृद्धि दरले देशको आत्मविश्वास बढेकोछ । अन्तर्राष्ट्रिय मुद्रा कोषको मात्र हैन बिदेशी ऋणबाट नै मुक्त हुन आँटेको रुसले विश्व मञ्चमा आफ्नो पुरानो प्रतिष्ठा हाँसिल गर्दै गएको यथार्थ कसैवाट लुकेको छैन । इस्लामिक संसारसँगको अन्तरक्रियामा पश्चिमले अब रुसलाई समावेश नगरी नहुने स्थिति छ ।
डेढ दशक पछि हाम्रा समस्याहरु भने झन् बिकराल भएर गएका छन्, मुलुक गरीवी, द्वन्द र प्रतिगमनको दलदलमा नराम्ररी फँसेकोछ । सपना त हामीले पनि शान्ति र समृद्धी कै देखेका थियौं तर खै कहाँ के गडबड भयो ? यस पटक जाडो भरि मस्कोको मेरो कोठामा त न्यानो नै हुनेछ तर मातृभूमीले भोगिरहेको पीडाले आहत भएर मन भने यसरी नै घरि-घरि कठ्याङरिरहने छ ।
(वातावरणविद डा. भूर्तेल मस्कोमा बसोबास गर्छन् )
साभार: कान्तिपुर दैनिक
Wednesday, June 25, 2008
अनुभूतिको छालमा रुसको जाडो, यल्तसिन र गिरिजा बाबु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment