Wednesday, May 21, 2008

अक्टोबर क्रान्तिको वास्तविकता

डा जुगल भूर्तेल

सोभियत संघको कम्युनिष्ट शासनलाई नजिकैबाट देखेकोले मलाई “वार्ता सफल भएन भने नेपालमा निश्चित रूपमा आफ्नै मौलिकताको अक्टोबर क्रान्ति हुनेछ, हामी त्यसको नेतृत्व गर्न तयार रहेका छौँ” भन्ने माओवादी अध्यक्ष प्रचण्डको र “वार्ताबाट समस्या समाधानको सम्भावना सिद्धिँदै गएको छ, लोकतान्त्रिक गणतन्त्रका लागि जनआन्दोलनको अर्को संस्करणको आयोजना गर्नुपर्छ” भन्ने माओवादी नेता डा. बाबुरामभट्टराईको अभिव्यक्तिले झस्क्याएको छ। देश सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणको असहज सँघारमा उभिएको बेला कामरेडद्वयका यस्ता भनाइलाई 'विजयको उन्माद' मात्र भनेर उपेक्षा गर्न मिल्दैन।
माओवादीले चाहेको स्वतःस्फूर्त क्रान्तिको वस्तुगत अवस्था यस्तै असहज परिस्थितिमै सृजना हुनसक्ने भएकोले त्यस्तो अवस्था सिर्जना गर्न उहाँहरू निकै हतारिएजस्तो देखिनुहुन्छ। सन् १९१७ को अक्टोबर क्रान्तिको पूर्वसन्ध्यामा रूसी कम्युनिष्ट नेता भ्लादिमिर लेनिनले पनि यसैगरी अधैर्यवश भनेका थिए, “सबै कामरेडहरूलाई म के कुरामा स्पष्ट हुन आग्रह गर्छु भने हामी जुन समस्याहरूले घेरिएका छौँ अब तिनको समाधान सभा र बैठकबाट हैन सशस्त्र जनसङ्घर्षबाट मात्र सम्भव छ। हामीले आजै र अहिल्यै आक्रमण गरेनौँ भने हाम्रो समाप्ति अवश्यम्भावी छ।”
इतिहास साक्षी छ, मुलुक जतिजति अन्योलको दलदलमा भासिँदै जान्छ साम्यवादीहरू उतिउति 'सशस्त्र जनसङ्घर्ष' को आवश्यकता टड्कारो देख्छन्। अहिले नेपाल अन्योलमा छ र कामरेड प्रचण्डसँग सशस्त्र समूह पनि छ। तसर्थ भावी 'क्रान्ति' को नेतृत्व गर्न आफू तयार रहेको भन्ने उहाँको घोषणामा कुनै अत्युक्ति छैन। तर, के नेपाल त्यस्तो 'क्रान्ति' का लागि तयार छ त? वास्तवमा समावेशीकरण, संघात्मक संरचना, स्वशासन, संविधानसभा जस्ता शब्दावली वरिपरि भट्किएको नेपालको अबको बाटो व्यापक राष्ट्रिय छलफल र सहमतिबाट मात्रै निर्धारित हुनसक्ने देखिन्छ। जारशाहीको अन्त्य नेपालमा माओवादी, सात दल र नागरिक समाजले झैँ तत्कालीन रूसमा पनि बोल्शेभिक कम्युनिष्ट, अन्य राजनीतिक दल र बुद्धिजीवीहरूले पहिलो विश्वयुद्ध (सन् १९१४–१८) को शुरुदेखि नै संविधानसभालाई आफ्नो प्रमुख राजनीतिक मागको रूपमा उठाएका थिए। सन् १९०५ को 'रसियाली क्रान्ति' मा जनतासमक्ष झुकेर नागरिक अधिकार, जननिर्वाचित संसद, दलीय स्वतन्त्रताको पक्षमा सम्झौता गर्न बाध्य भएका रूसी सम्राट जार निकोलास द्वितीय त्यसलगत्तै पुनः आफ्नै हातमा शक्ति केन्द्रीकरण र संसद विघटन गरेर राजनीतिक वृत्तमा अलोकप्रिय भएका थिए। जर्मनीसँगको युद्धमा एकपछि अर्को पराजयले गर्दा सेना र सर्वसाधारण जनतामा पनि राजसंस्थाको गरिमा घटेको थियो।
कट्टर गणतन्त्रवादीदेखि संवैधानिक राजतन्त्रवादीसम्मका राजनीतिक दलहरूमा आपसी एकता र सामुहिक एजेण्डाको अभाव थियो भने बोल्शेभिकहरूले राजधानी पेत्रोग्राद र मस्कोजस्ता ठूला शहरमा आफ्नो बहुमत रहेको 'मजदूर–सैनिक सोभियत' स्थापना गरेर श्रमिक र असन्तुष्ट सैनिकमाझ राम्रो प्रभाव पारेका थिए। लडाइँमा भइरहेको लज्जास्पद हारले जन–असन्तोष बढेको मात्र होइन, खाद्यान्न अभाव र सामाजिक विखण्डनको स्थिति समेत आएको थियो। गाउँतिर पनि अति सामन्ती भूमि व्यवस्था र पटक–पटकको अनिकालले किसानहरू आन्दोलित थिए।
यस्तो अवस्थामा फेब्रुअरी १९१७ मा जार निकोलास राजधानीदेखि टाढा युद्धमैदानमा भएका बेला पेत्रोग्रादका सडकमा जन–असन्तोष उर्लियो। खाद्यान्न अभाव विरुद्ध राजनीतिक दलका कार्यकर्ता, कारखाना मजदूर र सर्वसाधारण जनताले शुरु गरेको आन्दोलन लडाइँको मैदानबाट भागेका सैनिकको साथ पाएपछि राजतन्त्रविरुद्ध ठूलो सङ्घर्षमा परिणत भयो। चालु अधिवेशनलाई बन्द गर्नु भन्ने राजाको आदेशको अवज्ञा गर्दै संसद दुमाले केन्द्रमा उदारवादी–समाजवादीहरूको बहुमत रहेको अन्तरिम सरकार गठन गर्‍यो भने मुलुकभरि सबै ठूला शहरमा बोल्शेभिकहरूको कब्जामा रहेका मजदूर–सैनिक सोभियतहरूले स्थानीय सरकार कब्जा गरे। अन्ततः मार्च १९१७ मा केन्द्र र स्थानीय दुवैस्तरमा पकड गुमाएका जार निकोलासको गद्दीत्यागसँगै रूसको तीन सय वर्ष पुरानो रोमानोभ राजवंशको शासनको अन्त्य भयो। कम्युनिष्टहरूद्वारा सत्ता कब्जा '... जार भनेकै राज्य हो' भन्ने रूसको शक्तिशाली राजतन्त्र सानै विद्रोहले सहजै ढल्यो। तर, त्यसपछि शुरु भएको हिंसा र अराजकताबाट मुलुकलाई मुक्त गर्न भने ज्यादै गाह्रो पर्‍यो। बोल्शेभिक, मेन्शेभिक, प्रजातान्त्रिक समाजवादी, पूर्व राजावादी आदि सबै दलहरूमा नोभेम्बरमा हुने संविधानसभाको निर्वाचनमा आफ्नो पकड जमाउन भीषण प्रतिस्पर्धा हुन लाग्यो। अलेक्सान्द्र केरेन्स्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारको भन्दा मजदूर–सैनिक सोभियतहरूमार्फत् स्थानीय सरकार कब्जा गरेका बोल्शेभिकहरूको स्थिति मजबूत देखिन्थ्यो।
अन्तरिम भएकोले सरकारमा दूरगामी निर्णय गर्ने राजनीतिक साहसको अभाव थियो। बोल्शेभिकहरू चाहिँ मजदूरहरूका लागि प्रतिदिन आठ घण्टाको कार्यावधि, किसानलाई सामन्तीहरूको जमिन र जर्मनीसँग सन्धि गरी शान्ति स्थापना जस्ता आश्वासन बाँड्न व्यस्त थिए। केन्द्रीय सरकार न युद्ध अन्त्य गर्न समर्थ भयो, न क्रान्तिकारी भूमि र औद्योगिक सुधार गर्न सक्षम देखियो।
यस्तो परिस्थितिमा लेनिनले आफ्ना अनुयायीहरूलाई सशस्त्र सङ्घर्षका लागि प्रेरित गर्दै लिओन त्रोत्स्कीको सहयोगमा ७ नोभेम्बर १९१७ (तत्कालीन रूसमा प्रचलित पुरानो पात्रो अनुसार २५ अक्टोबर) मा अन्तरिम सरकार रहेको पेत्रोग्रादस्थित शितप्रासाद (विण्टर प्यालेस) कब्जा गरे। केरेन्स्की देश छोडेर भागे। धेरै मन्त्रीहरूलाई बोल्शेभिकको सेनाले पक्राउ गर्‍यो। मजदूर र सैनिक जनप्रतिनिधिहरूको सोभियतले केन्द्रीय सरकारको कार्यभार सम्हालेको, भूमि राष्ट्रियकरण गरिएको, क्रान्तिकारी न्यायको सिद्धान्तमा आधारित 'जनवादी ट्राइबुनल्स' स्थापना भएको आदि घोषणाहरू गरे। विश्वयुद्धमा हारेर उत्साहभङ्ग भएको राष्ट्रिय सेनालाई नियन्त्रणमा लिन थुप्रै कानूनहरू ल्याइयो। यही थियो रूसमा सम्पन्न भएको 'अक्टोबर क्रान्ति' जसमा कम्युनिष्टहरूले एकलौटी सत्ता कब्जा गरेर नयाँ खालको तानाशाही, सर्वहारा वर्गको अधिनायकवाद स्थापना गरेका थिए।
सर्वहारा अधिनायकवादका ७० वर्ष बोल्शेभिकहरूले चाहेको जस्तो क्रान्ति सम्पन्न भइसकेको भए पनि त्यसलाई कानूनी मान्यता दिलाउन उनीहरूले पूर्व घोषित संविधानसभाको निर्वाचनलाई उपयोग गर्ने भए। गरीब किसान र श्रमिकको पक्षमा क्रान्तिकारी कार्यक्रमहरू घोषणा गरेकोले संविधानसभाको निर्वाचनबाट आफ्नो शासनले अनुमोदन प्राप्त गर्ने कुरामा उनीहरूलाई कुनै सन्देह थिएन। तर आन्दोलनको आरम्भदेखि नै कम्युनिष्टहरूले किसानलाई 'सर्वहारा' नमानेका र उनीहरूको आन्दोलन मूलतः शहरी मजदूरको हितका लागि हो भन्ने छवि बनेकोले ग्रामीण क्षेत्रको मत पाउन नसकेका बोल्शेभिकले संविधानसभामा २५ प्रतिशत मत मात्र ल्याए भने प्रजातन्त्रवादी र उदारवादी–समाजवादीहरूले बहुमत प्राप्त गरे।
संविधानसभामा पराजित भएपनि बोल्शेभिक पार्टी सत्ता हस्तान्तरण गर्न तयार भएन। आफ्नो कब्जामा रहेका मजदूर–सैनिक सोभियतहरू नै सत्ताका वास्तविक हकदार भएकाले संविधानसभाको परिणामलाई अस्वीकार गर्ने निर्णय सुनाउँदै लेनिनले ऐतिहासिक घोषणा गरे– 'सम्पूर्ण सत्ता सोभियतमा!' युद्धले थकित र परिवर्तनले अपहेलित राष्ट्रिय सेनाले कुनै पक्ष लिन अस्वीकार गरेपछि बोल्शेभिक सेनाले संविधानसभालाई एक दिनको बैठकपछि नै भङ्ग गर्‍यो।
रूसमा कम्युनिष्ट पार्टीको नेतृत्वमा अभ्यास गरिएको सर्वहारा वर्गको ७० वर्षको अधिनायकवादी शासनमा लामो गृहकलह, विध्वंसकारी दोस्रो विश्वयुद्ध, स्टालिनकालीन अकल्पनीय दमन, ब्रेझ्नेभकालको आर्थिक गतिरोध, सर्वव्यापी गरीबी र अनिकाल तथा कम्युनिष्ट पार्टी र मुलुकको राज्य व्यवस्थामा आर्थिक एवं राजनीतिक सुधार गर्ने गर्बाच्योभको असफल प्रयास आदि धेरै कुराहरू भए। स्टालिनको अमानवीय शासनको पृष्ठभूमिमा रूसमा एउटा गहिरो पीडाले भरिएको भनाइ लोकप्रिय भएको थियो– 'फासिष्टले पराइलाई मारे, कम्युनिष्टले त आफ्नैलाई!' अन्ततः मानवीय मूल्य, मान्यता र प्रकृतिसँग साम्यवादको अनन्त विरोधाभास तथा कम्तीमा चार करोड जनताको लाशमुनि थिचिएर सन् १९९० मा त्यो कृत्रिम साम्राज्यको अन्त्य भयो। ९० वर्षपछि नेपाली जनताको लोकतान्त्रिक चेतनामाथि प्रहार गर्दै कमरेड प्रचण्डले त्यही सोभियत अधिनायकवादको रक्तरंजित इतिहासका डोबहरूलाई पछ्याउने चाहना व्यक्त गर्नु निश्चय नै दुर्भाग्यपूर्ण छ। रूस–नेपालः अनौठो संयोग तत्कालीन रूसका मजदूर–सैनिक सोभियतहरू झैँ नेपालका गाउँमा अहिले माओवादी जनसरकार छन्। 'सम्पूर्ण सत्ता क्रान्तिकारी जनपरिषदमा' भन्ने माओवादीका नाराले रूसको राजधानी पेत्रोग्रादमा ९० वर्षअघि गुञ्जिएको 'सम्पूर्ण सत्ता सोभियतमा' लाई सम्झाइरहेको छ। शान्ति प्रक्रिया पनि यतिवेला माओवादीहरूकै नियन्त्रणमा छ। उनीहरू फेरि जङ्गल पस्लान् र गृहयुद्ध चर्केला भन्ने त्रासले 'शान्ति आउँछ भने उनीहरूले जे मागे पनि दिनुपर्छ' भन्ने मानसिकता बढ्दै गएको छ। 'शान्तिका लागि खबरदारी आन्दोलन' गरिरहने नागरिक समाजको निर्णय पनि यही मनोविज्ञानबाट प्रेरित देखिन्छ।
१२ वर्षको प्रजातन्त्रकालमा राजनीतिक इच्छाशक्तिको अभावमा दलहरूले कार्यान्वयन गर्न नसकेका भूमिसुधारजस्ता कतिपय विषय अहिले माओवादीका 'आकर्षक एजेण्डा' बनेका छन्। प्रतिनिधिसभाले भूमिसुधार सम्बन्धी कानून ल्याएर आफ्नो सबैभन्दा प्रभावशाली हतियार खोसिदेला कि भन्ने भयले माओवादीहरू चर्को स्वरमा त्यसको विघटनको माग गरिरहेका छन्। गणतन्त्रोन्मुख मुलुकमा बसेर पनि मृतप्रायः राजतन्त्रप्रति अझै निश्चित धारणा बनाउन असमर्थ दलहरूको किंकर्तव्यविमूढताले पनि कामरेड प्रचण्डलाई अक्टोबर क्रान्तिको अवस्था सृजना भएको निष्कर्षमा पुग्न प्रेरित गरेको हुनुपर्छ। तर, बोल्शेभिकहरू झैँ माओवादीहरूको शहरी उपस्थिति मजबूत नभएकोले निकट भविष्यमै कामरेड प्रचण्डको भविष्यवाणी पूरा हुने अवस्था देखिँदैन। यद्यपि 'नागरिक समाज' को आन्दोलन र काठमाडौँमा बढ्दै गएको अराजकताले माओवादीलाई चाँडै त्यो 'प्लेटफर्म' प्रदान नगर्ला भन्न सकिँदैन। अक्टोबर १९१७ को रूससँग धेरै सामञ्जस्य हुँदाहुँदै पनि खासगरी नेपाली काङ्ग्रेस जस्तो माओवादी भन्दा धेरै पुरानो इतिहास र मुलुकभरि जनसाधारणमा पहुँच भएको दल रूसमा थिएन, जसले गर्दा बोल्शेभिकहरू बिना प्रतिस्पर्धा सहजै सत्ता कब्जा गर्न सफल भए। काङ्ग्रेसलाई नै आफ्नो यात्राको सबैभन्दा ठूलो तगारो मानेर दशवर्षे 'जनयुद्ध' को दौरानमा पनि माओवादीले यसैमाथि लगातार प्रहार गरे। अहिले पनि जति–जति काङ्ग्रेस एकीकरण अभियान अगाडि बढेको छ, उति–उति त्यसलाई भाँड्ने सम्भावना बढेको छ।
कामरेड प्रचण्डले अक्टोबर क्रान्तिको प्रबल चाहना गर्दा हेक्का राख्न नसकेको अर्को कुरा के हो भने नेपालको सेना भलै केही हच्केको होला, तर १९१७ को रूसमा झैँ युद्धमा हारेर छिन्नभिन्न र मनोबलहीन भइसकेको छैन। यस्तो अवस्थामा फेरि अर्को क्रान्तिको आह्वानले ठूलो रक्तपातको स्थिति निम्त्याउने निश्चित छ। अझै अर्को विप्लवको चाहना कामरेड प्रचण्डको क्रान्तिकारी चरित्रको उपज वा राजनीतिक बाध्यता हुनसक्छ। तर, लोकतान्त्रिक गणतन्त्रलाई मिलनविन्दु बनाएर दलहरूसँग सहकार्य गर्दै मुलुकलाई राजनीतिक निकास दिनसके रेडियो सगरमाथामा बसेर बीबीसी नेपाली सेवालाई दिनुभएको अन्तर्वार्तामा कामरेड प्रचण्डले भने झैँ नेपाललाई स्वीट्जरल्याण्डजस्तै बनाउने सपना साकार गर्न अर्को क्रान्ति गर्नुपर्ने थिएन।

(डा। भूर्तेल मस्कोमा कार्यरत हुनुहुन्छ।)

(साभार: हिमाल खबरपत्रिका, पूर्णाङ्क १८०, २-१७ अक्टोबर २००६)

ल्होत्साम्पाप्रतिको नेपाली दायित्व

डा. जुगल भूर्तेल

भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको 'निर्वासन' को दोस्रो संस्करण र नेल्सन मण्डेलाको 'लङ्ग वाक टु फ्रिडम' संयोगवश एकै पटक हात परे । पढ्दै जाँदा ती दुई व्यक्तिका जीवनमा भेटिने समानताले म चकित भएँ । विकसित, प्रजातान्त्रिक मुलुकहरूमा सहज जीवन बिताइरहेका हामीलाई असाध्यै प्रतिकूल परिस्थितिमा पनि आफ्नो भाषा, संस्कृति र जातीय स्वाभिमानप्रति मण्डेला र रिजालजस्ता योद्धाहरूले देखाएको प्रतिबद्धता बुझनिसक्नु लाग्छ । त्यति धेरै यातना, अपमान र कठिनाइसँग जुध्दै रिजालले आफ्नो सङ्र्घष्ालाई दिएको निरन्तरताले फेरि देखाएको छ- साँचो नेतामा आस्थाका लागि लड्ने अदम्य साहस हुन्छ । त्यस्ता नेताहरूले ठूल्ठूला तानाशाह, सैनिक शासकहरूलाई परास्त गरेका छन् । मण्डेला झैँ एक दिन रिजाल पनि विजयी हुनेमा कुनै सन्देह छैन ।
निर्वासन रिजालको व्यक्तिगत संघर्ष-कथा मात्र नभएर नेपाली मूलका भुटानी नागरिकहरूको क्षतविक्षत सपनाको दस्तावेज पनि हो । आफ्नो रगत-पसिनाले सिञ्चित मातृभूमिबाट अपमानजनकढङ्गले धपाइएका तथा आफ्नै देशभित्र निरीह जीवन बाँच्न विवश लाखौँ भुटानीहरूको कथा हो निर्वासन । वाङ्गचुक वंशको आगमनभन्दा धेरैअघि भुटान पुगेको, संभवतः सबैभन्दा पुरानो नेपाली डायास्पोराको संघर्षको अभिलेख भएकाले ल्होत्साम्पा (नेपाली मूलका भुटानी) को आन्दोलनमा आफ्नो दायित्वको अनुभूतिका लागि समेत संसारभरिका नेपालीले निर्वासन पढ्नु जरुरी छ ।
भुटानको एउटा अविकसित गाउँमा चुपचाप उदाएका रिजाललाई नियतिले अभूतपुर्व भूमिका सुम्पनुपर्ने रहेछ । शायद त्यही दायित्वबोधले नै बन्दी जीवनमा उनलाई मर्न दिएन, जेलमा भुटानी शासनले पटक-पटक आत्महत्या गर्ने सामान जुटाइदिँदा पनि । रिजाललाई मृत्युको मुखमा धकेल्ने अपराध भने हाम्रै पञ्चायती शासनले गरेको थियो । त्यसको उत्कर्षतर राज्यद्वारा घन्काइएको राष्ट्रवादको प्रायोजित सङ्गीतको पृष्ठभूमिमा झापा-बिर्तामोडबाट रिजाललाई अपहरण गरेर नेपाली प्रहरीले भुटान सरकारलाई बुझाएको थियो । 'शरणको मरण नगर्ने' जातिका रूपमा कहलिएका पुर्खाको माटोमा राहत खोज्दै आएको शरणार्थीलाई कसको प्रभावले भुटान फर्काइएको थियो त - भुटानी राजाविरुद्ध व्रि्रोह गरिरहेको आधारहीन आशङ्कामा पञ्चायती भारदारहरूले राजतन्त्रविरोधीलाई नेपालमा ठाउँ छैन भन्ने सन्देश दिन त्यसो गरेको अनुमान गर्न सकिन्छ ।
एक दशक लामो बन्दी-जीवनमा भोगेको अकल्पनीय यातनाले जर्जर भएको शरीर लिएर पुनः नेपाल आउँदा पञ्चायत ढलिसकेको र आफूजस्तै जेल-नेल भोगेका प्रजातन्त्रवादी नेताहरू सत्तामा पुगेको देखेर रिजाल शायद खुसी भए होलान् । तर नेपालमा हरेक क्रान्ति आंशिक रूपमा मात्र सफल हुने गरेको तथ्यसँग उनी अनभिज्ञ थिए । पञ्चायती व्यवस्थाको अन्त्य भएपनि सत्ताको करिडोरमा त्यसको पदचाप अझै तीखो थियो । रिजालले विदेश जाने अनुमतिपत्रका लागिसमेत लामो संघर्ष गर्नु पर्‍यो । अन्ततः बाध्य भएर सरकारले उनलाई एकवर्षे ट्राभल डकुमेन्ट दिएको थियो । त्यसको म्याद सकिएपछि उनले अर्को अनुमतिपत्र पाउन पुनः त्यस्तै परिश्रम गर्नुपर्ने निश्चित छ, किनकि जसले उनलाई भुटान फर्काएका थिए, मुलुकमा आज फेरि तिनैको हालिमुहाली छ ।
अहिले टेकनाथ रिजालसामु पुर्वी नेपालका विभिन्न क्याम्पमा रहेका एक लाखभन्दा बढी भुटानी शरणार्थीहरूको सङ्कटप्रति शीघ्रतापूर्वक विश्व जनमत जुटाउने चुनौती छ । गैरकानूनीढङ्गले धपाइएका भुटानीहरूको घर-खेत दरबारका आसेपासेहरूले बाँडीचुँडी खाइसकेका छन् । कुनै कागजपत्र नबोकी रातारात भागेर हिँडेका बृद्ध शरणार्थीहरूको अवसानसँगै ल्होत्साम्पाहरूको महत्त्वपूर्ण इतिहास पनि क्रमशः लोप हुने क्रममा छ । आफ्नो भूमि भएर नेपाल छिरेका शरणार्थीको मानवीय समस्याप्रति भारत सरकारले देखाउँदै आएको कपटपूर्ण उदासीनतालाई हेर्दा अन्तर्राष्ट्रिय समुदायको दृढ समर्थनबिना भुटानीहरूले स-सम्मान घर फर्कन पाउने सम्भावना एकदमै न्यून देखिन्छ । त्यो समर्थन जुटाउन सजिलो भने छैन । थिम्पुले कूटनीतिक युद्धका विभिन्न मोर्चामा काठमाडौँलाई परास्त गरिसकेको छ । शरणार्थीहरूलाई चार वर्गमा बाँड्न स्वीकार गरेर नेपालले भुटानलाई शरणार्थी-फिर्ती प्रक्रियामा विलम्ब गर्ने ठूलो हतियार दिएको छ । हरेक छ जनामा एक जना नागरिकलाई देशनिकाला गरिसक्दा पनि भुटानी दरबारले नयाँदिल्लीको आशिर्वाद यथावत् पाइरहेको छ । ल्होत्साम्पाको बढ्दो जनसङ्ख्याले भुटानको संस्कृति र परम्परा खतरामा पर्दै गएको भन्ने भुटानको जातिवादी तर्कप्रति सहानुभूतिशील देखिने पश्चिमी मुलुक र विभिन्न दातृसंस्थाहरू पनि भुटानको दोहोरो चरित्रप्रति अनभिज्ञ झैं देखिन्छन् । यसले भुटानमा भइरहेको जातीय विभेदबारे उनीहरूलाई पर्याप्त जानकारी छैन भन्ने जनाउँछ ।
अहिले टेकनाथ रिजालको काँधमा नेपाली मूलका भुटानीहरूको शान्तिपूर्ण संघर्षको सत्यतथ्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने ठूलो अभिभारा छ, जुन उनी एक्लैले पूरा गर्न सम्भव छैन । पुस्तकको भूमिकामा पुरुषोत्तम दाहालले "संसारमा छरिएर बसेका नेपालीहरूले भुटानी नेपालीहरूको पीडाबाट आफ्नो मुटु दुःखाउनुपर्ने बेला भएको" मार्मिक कुरा लेख्नुभएको छ । अब तिनै नेपालीले रिजालको काँधमा काँध थप्ने बेला आएको छ । तर विदेशका नेपालीहरूको ठूलो सङ्ख्या यो समस्याबारे या त अनभिज्ञ छ या यसलाई पनि 'फोहोरी राजनीति' मान्छ र सहयोग गर्न हिच्किचाइरहेको छ । त्यस्ता नेपालीले के बुझ्नु जरुरी छ भने भुटानी शरणार्थीहरूको अभियान आफ्नै माटोमा सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारका लागि हो । निर्वासन पढेपछि यो कुरा प्रस्ट हुन्छ ।
साहित्यकार अभि सुवेदीले भनेझैँ "आज हाम्रो बलेँसीमा आएर रोइरहेका" भुटानी दाजुभाइहरूसँग हाम्रो "साझा प्रेमका भावनाहरू साटासाट गरेको" प्राचीन सम्बन्ध छ । त्यसैले ल्होत्साम्पा समुदायमाथि भइरहेको अन्यायलाई विश्व समुदायसम्म पुर्‍याउनु प्रवासमा बस्ने हामी सबै नेपालीहरूको दायित्व हो । आ-आफ्ना डायास्पोराको आर्थिक, नैतिक र राजनीतिक समर्थन नभएको भए न त तामिल, प्यालेस्टिनी आदिको जातीय पहिचानको संघर्ष त्यति विश्वव्यापी हुनेथियो न कोसोभोका अल्बेनियनहरूको आर्तनादलाई युरोपले सुन्ने थियो । दक्षिण अफ्रिकाको रंगभेद नीतिविरुद्ध विश्वभरिका काला जातिले मण्डेलालाई दिएको अभूतपूर्ण समर्थन पनि यहाँ स्मरणीय छ । ल्होत्साम्पाविरुद्धको जातिभेदलाई हामी नेपालीले उपेक्षा गरिरहृयौँ भने भोलि दक्षिण एसियाभरिकै नेपाली जातिले त्यस्तै नियति भोग्नु नपर्ला भन्न सकिन्न । अब नैतिक समर्थनले मात्र पुग्दैन । रिजालको आन्दोलनलाई आर्थिक सहयोग जुटाउन तथा हामी बसोबास गरिरहेको देशका सरकार र नागरिक समाजसम्म उनका कुराहरू पुर्‍याउन पनि हाम्रो सक्रियता अपरिहार्य छ । विश्वभरिका नेपालीहरू एकजुट हुने हो भने भुटान नामक कल्पित साङ्ग्रिलाभित्र भइरहेको चरम अन्यायको सहजै पर्दाफास हुनेछ ।
(साभार: हिमाल खबरपत्रिका, पुर्णाङ्क १५०, ३० जुन-१५ जुलाइ, २००५ )

Tuesday, April 22, 2008

एउटै हाम्रो मातृभूमि, एउटै हामी जाति

॥१॥ एउटै हाम्रो मातृभूमि, एउटै हामी जाति
जहाँ जाऔं नेपाली हौं , हिमाल हाम्रो छाति
एउटै हामी जाति, हिमाल हाम्रो छाति, नेपाल कै साथी

॥२॥ जहाँ जान्छौं नेपाल पनि साथै हामी लान्छौं
नेपालको सुखदु:ख सवै आफ्नो ठान्छौं
नेपालीपन हाम्रो गर्व हाम्रो पहिचान
नेपाल कै सन्तति हौं पराई नठान
एउटै हामी जाति, हिमाल हाम्रो छाति, नेपाल कै साथी

॥३॥ मेचीकाली सीमाभित्र मात्र हामी छैनौं
हिमाल देखि तराईमा ‘नि सीमित हामी छैनौं
जहाँ जान्छौं बनाउँछौं आफ्नै परिवेश
नेपाल भन्दा प्यारो छैन कुनै अर्को देश

एउटै हामी जाति, हिमाल हाम्रो छाति, नेपाल कै साथी
स्वर : आनी छोइङ डोल्मा
संगीत : न्ह्यु बज्राचार्य
शव्द : जुगल भूर्तेल

Sunday, April 20, 2008

मन्त्री पाण्डेको झूटखेती

डा जुगल भूर्तेल

‘लोकप्रिय’ पत्रिकाको सम्पादनदेखि राजनीतिको जटिल खेलमा महारथ हासिल गरुन्जेल परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले एउटा इर्ष्यालाग्दो छवि बनाउनुभएको छ, झूट बोल्नमा उहाँलाई कसैले हराउन सक्दैन । वर्तमान सरकार अन्तर्राष्ट्रिय जगतबाट झन्झन् उपेक्षित हुँदै गएको तथ्य घामजत्तिकै छर्लङ्ग भइसक्दा पनि हरेक भ्रमणबाट फर्केलगत्तै मन्त्रीज्यू 'श्री ५ को सवल नेतृत्व तथा 'माघ १९' मा व्यक्त अवधारणाप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र सहानुभूति बढेको' दाबी गर्नुहुन्छ । भारत, बेलायत, अमेरिकाजस्ता पुराना मित्रराष्ट्रसँग सम्बन्ध चिसिँदै गएका बेला जर्जिया, ताजकिस्तानजस्ता नयाँ साथीहरूसँग विकसित दौत्य सम्बन्धले 'विश्वमा हामीले विश्वास गर्नसक्ने भरपर्दा मित्रहरूको सङ्ख्या निरन्तर बढ्दै गएको' उहाँको ठम्याइले हामीलाई ढाडस दिइरहन्छ । उहाँका विचारसँग असहमत हुनेलाई उहाँ सहजै 'नेपालको अन्तर्राष्ट्रिय छविलाई धुमिल पार्ने षड्यन्त्रमा लिप्त' अराष्ट्रिय तत्त्व घोषित गरिदिनुहुन्छ । पत्रकारदेखि मन्त्रीसम्मको लामो यात्रामा आफ्नो ढाँट्ने कलाको उहाँले कतिसम्म सदुपयोग गर्नुभएको छ भन्ने कुराको मन्त्रीज्यूको हालैको मस्को भ्रमणले राम्ररी उजागर गरेको छ ।

पञ्चायती युगका 'लोकप्रिय’ सम्पादक पाण्डे नेपालका लब्धप्रतिष्ठित 'वुद्धिजीवी' हुनुहुन्छ भन्ने कुरामा कम से कम उहाँ आफूलाई त कुनै शङ्का छैन । त्यसैले विदेश भ्रमणको अवसरमा त्यहाँका बुद्धिजीवीहरूसँग भेटघाट गरी नेपालको वस्तुस्थितिबारे अवगत गराउने इच्छा हुनु स्वाभाविक हो । त्यही आकांक्षाले प्रेरित भएर मस्को भ्रमणका क्रममा उहाँ रुसी विज्ञान प्रतिष्ठानको 'इन्स्टिट्युट फर ओरिएन्टल स्टडिज' का प्राज्ञहरूसँग भेट गर्न पुग्नुभएको थियो । रुसको 'थिङ्क ट्याङ्क' मानिने इन्स्टिट्युटका असाध्यै सुसूचित प्राध्यापकहरूको प्राज्ञिक क्षेत्रमा मात्र नभएर मुलुकका नीति-निर्माताहरू माझ पनि ठूलो आदर छ । नेपालका हिन्दू राजा र माओवादी विद्रोहबारे उनीहरूको ज्ञानमा कुनै कमी थियो भने यसपटक मन्त्रीज्यूसँगको अन्तरक्रियाले त्यसको राम्रै पूर्ति भएको हुनुपर्छ । "विष्णुको अवतारको रूपमा जन्मदा, मर्दा, श्राद्ध गर्दा पुजिने राजा हाम्रो संस्कृतिको यति अभिन्न अङ्ग होइबक्सन्छ कि नेपाली जनताले राजाबिनाको मुलुकको कल्पना पनि गर्न सक्दैनन् ।" गणतन्त्रका लागि द्वन्द्वरत माओवादीका बारेमा धेरै कुरा पढेका प्राज्ञहरू मन्त्री पाण्डेबाट यस्तो सुन्दा अचम्भित हुनु स्वाभाविक थियो । "के त्यसो भए माओवादीहरू एउटा असम्भव युद्ध लडिरहेका छन् ? हामीले त उनीहरूले ठूलो भूभाग कब्जा गरिसके भन्ने सुनेका छौँ नि ?" मन्त्रीज्यूको सहज उत्तर थियो, "हाम्रा राजा नेपालका हरेक कुनाकुनामा पुगिबक्सेको हुँदा मुलुकमा त्यस्तो कुनै ठाउँ छैन, जुन आतङ्कवादीको कब्जामा होस् । वास्तवमा हाम्रो सेनाले उनीहरूलाई नेपालको भूभागबाट खेदिसकेको हुँदा अहिले उनीहरू विदेशी भूमिबाट आतङ्ककारी क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।" काठमाडौँ फर्केपछि पाण्डेले 'उक्त 'इन्स्टिट्युटलाई नेपालको यथार्थ वस्तुस्थितिबारे अब राम्ररी अवगत भएको' दाबी गर्नुभयो ।

'नयाँ मोडेलको प्रजातन्त्र' लिएर अमेरिका जाँदा कन्डोलिजा राइस मात्र होइन, कोफी अन्नानबाट समेत दुत्कारिएर मस्को आइपुगेका पाण्डेलाई रुसका विदेशमन्त्री सेर्गेई लाभ्रोभले भने राम्रै स्वागत गर्नुभयो । नेपालमा झैँ यहाँ पनि घर आइसकेका पाहुनालाई जस्तै तुच्छ भए पनि तिरस्कार गर्ने चलन छैन । तर, भेट हुन नपाउँदै 'रेडिमेड' शैलीमा मस्कोस्थित शाही नेपाली राजदूतावासको नामबाट ज्यादै हतारमा 'महाराजाधिराजबाट चालिबक्सेको कदमप्रति रुसी सरकारले पूर्ण तथा स्पष्ट समर्थन जनाएको' विज्ञप्ति निकालियो । मन्त्रीज्यूको 'पूर्ण समर्थन' को मृगतृष्णा अन्ततः मस्कोमा आएर समाप्त भएकोमा हामीलाई खुसी नै लाग्यो । तर, भोलिपल्ट रुसी विदेश मन्त्रालयले भने, 'परम्परागत मैत्री सम्बन्धलाई सुदृढ गर्ने' जस्ता कूटनीतिक सक्षमताले भरिएको तर राजाको कदमको पूर्ण तथा स्पष्ट समर्थनको कुनै उल्लेख नै नभएको विज्ञप्ति निकालिदिएर पाण्डेलाई अप्ठ्यारोमा पारिदियो ।

मन्त्री पाण्डेको भ्रमणको अन्तिम दिन भने सबैभन्दा रोचक थियो । नेपाली राजदूतावासले उहाँको बिदाइ र नेपाली हस्तकला प्रदर्शनीको उद्घाटनलाई एकै दिन राखेर थुप्रै नेपालीलाई धर्मसङ्कटमा पारिदियो । विदेशमा नेपाली सामान देख्न पाउँदा पनि हामीलाई देशै पुगेको अनुभूति हुन्छ । त्यसैले मन्त्री पाण्डेलाई बिदाइ गर्न जान अनिच्छुक नेपालीहरू पनि नेपाली वस्तुको प्रदर्शनी भनेपछि मन लागीनलागी कार्यक्रममा सरिक भए । समारोहको अन्त्यतिर केही नेपालीहरूले हिम्मत गरेर उहाँलाई टेकनाथ रिजाल र उनको 'ट्राभल डकुमेन्ट' का बारेमा सोधे । "को टेकनाथ रिजाल ?" क्षुब्ध हुँदै मन्त्री पाण्डेले प्रतिप्रश्न गर्नुभयो । टेकनाथ रिजाल अन्तर्राष्ट्रिय समुदायमा समेत चिरपरिचित एक लाख भुटानी शरणार्थीहरूका सम्मानित नेता भएको तथा हामीले उहाँ र अन्य शरणार्थीहरूलाई नेपाली डायास्पोराको एउटा अङ्गको रूपमा माया गरेको जवाफ दिएपछि पाण्डेको क्षुब्धता झन् बढेर गयो, "तपाईंहरू भुटानी हो ? नेपाली राजदूतावासमा भुटानीहरूका बारेमा किन छलफल गर्नुहुन्छ ? टेकनाथ रिजाल राजनीतिक पार्टीका नेताहरूसँग नारिएर हिँडेका छन् । हामी पनि हेर्छौं तिनीहरूले उनका समस्या कसरी समाधान गर्छन् ? म त्यस्ता शरणार्थी नेतालाई चिन्दिनँ ।" अनि, गम्किँदै उहाँले थप्नुभयो, "हेर्नुस्, म साधारण मान्छे हुँ, तपाईंहरूजस्तो 'ब्रोड माइन्डेड' छैन, न त मलाई तपाईंहरूसँग भोट नै माग्नुपरेको छ !" म त्यस कार्यक्रममा थिइनँ तर आश्चर्यचकित र अपमानबोधले खिन्न भएका साथीहरूबाट त्यस अन्तरक्रियाका बारेमा थाहा पाएपछि मैले सोचेँ, आफू साधारण मान्छे भएको स्वीकारोक्ति उहाँको झूट बोल्ने सिलसिलाकै एउटा कडी हो । एउटा पनि आमचुनाव नजिती त्यति लामो समयसम्म सत्ता-राजनीतिको त्यस 'शिखर' मा साधारण मान्छे कसरी टिक्न सक्छ ? निश्चय पनि एउटा आममान्छेले टेकनाथ रिजाल तथा उहाँलाई बलात् भुटानलाई सुम्पेर एक दशक लामो दावानलमा झोक्नेहरूलाई राम्ररी चिनेको छ र अहिले सत्ताको मियोमा उनीहरूकै हालीमुहाली चलेको देखेर ऊ विचलित छ ।

रुसको एउटा सामान्य इन्स्टिट्युसको 'डक्टरेट' को उपाधिलाई ठूलै अन्तर्राष्ट्रिय 'रिकग्निसन' का रूपमा राजालाई ग्रहण गराउन सक्ने तथा संसारभरिबाट त्यसरी नै झूटको खेती गर्दै ल्याएको 'नयाँ लुगा' लगाइदिएर बादशाहलाई विस्तारै वस्त्रहीन पार्न सक्ने रमेशनाथ पाण्डे निश्चय पनि 'साधारण' मान्छे हुनुहुन्न । मैले उहाँलाई मस्कोमा भेटिनँ तर उहाँको 'करिअर ग्राफ' हेर्दा लाग्छ, दिमाग जति सङ्कुचित भयो, सायद माथि उक्लिन उति नै सजिलो हुन्छ ।


(साभार: नेपाल पाक्षिक, ११-१२-२००५)

माओवादी रक्तक्रान्तिको हरियो पाटो

डा. जुगल भूर्तेल
‘गरिबी निवारण नै एकमात्र सर्वोपरि उद्देश्य' राखेर बनाइएका नौवटा पञ्चवर्षीय योजनाको समाप्तिपछि तेस्रो सहस्राब्दीस“गै आएको दसौं पञ्चवर्षीय योजनाले त्यस उद्देश्यलाई 'अझै तीव्रतर रूपमा अगाडि बढाउने' परिकल्पना गरेको छ । तर, पश्चिमी पहाडको विकट भीरलाई अनवरत खोस्रेर पनि दुई छाक अन्न उमार्न असमर्थ किसानले उसको गरिबी निवारण गरिदिने अपेक्षा नगरे पनि परिकथाका राजकुमारझैं एकपछि अर्को गर्दै राजधानीमा प्रकट र अन्तर्ध्यान हुने सरकारहरूबाट एउटा अपेक्षा भने अवश्य गरेको हुनुपर्छ - उजाडिंदै गएको कर्मभूमिमा सुरु भएको हिंसा र प्रतिहिंसाको अन्तहीन खेललाई कसैले रोकिदिए हुन्थ्यो ।

समग्र मुलुकमा र विशेष गरी पश्चिमी पहाडमा व्याप्त गरिबी माओवादी विद्रोहको मुख्य कारण हो भन्ने कुरामा सबैको मतैक्य छ । तर, राजनीतिक चिन्तकहरूले गरिबी स्वयंको उद्‍गम कहाँ छ भनेर खोज्ने यथेष्ट चेष्टा गरेको पाइँदैन । भौतिक संरचनाको अभाव नै गरिबीको मूल कारण हो भनेर दुर्गम र विकट ठाउँमा सडक यातायात, बिजुली पुर्‍याउनुपर्ने असम्भव विकासवादी सपना बाँड्नेहरू किसानहरूलाई लागि तत्काल सडक होइन, सुक्तै गएका पानीका मुहानहरू र टाढिंदै गएको जङ्गलको बढी चिन्ता छ भन्ने ययार्थसँग अनभिज्ञ देखिन्छन् ।

द्वन्द्वव्यवस्थापनको क्षेत्रमा भएका पछिल्ला अध्ययनहरूले विश्वका धेरैजसो अविकसित राष्ट्रहरूमा भएका सशस्त्र संघर्षमा पर्यावरणीय ह्रासको महत्त्वपूर्ण भूमिका रहेको पुष्टि गर्छन् । मुलुकमा विद्यमान सामाजिक, आर्थिक, धार्मिक, लैङ्गिक र जातीय असमानता, सत्ता र अर्थतन्त्रमा विशेष वर्ग र स्थानको पहुँच नहुनुजस्ता विषयहरू सशस्त्र हिंसाका निम्ति आवश्यक भए पनि पर्याप्त छैनन् । वास्तवमा ती विद्रोहलाई चर्काउने सन्निकट (प्रोक्सिमेट) कारण मात्र हुन् । समकालीन वातावरणविद्हरूको के विश्वास छ भने वातावरणमा आएको क्रमिक ह्रास नै तेस्रो विश्वका मुलुकहरूमा घटिरहने सामाजिक विद्रोहको अन्तिम (अल्टिमेट) र अदृश्य स्रोत हो ।

पर्यावरणीय ह्रास र सामाजिक द्वन्द्वको अन्तरसम्बन्धमा मेक्सिको, फिलिपिन्स, भारतको बिहारजस्ता माओवादी प्रभावित क्षेत्रहरूको गहिरो अनुसन्धान गरेका क्यानाडाको टोरन्टो विश्वविद्यालयका प्राध्यापक होमर डिक्सनको दाबी छ- "पर्यावरणको क्रमिक क्षय हुने प्रक्रियाले प्राकृतिक स्रोतको अभाव सृजना गर्छ, जसको फलस्वरूप उत्पन्न भएको आर्थिक अभावले वातावरणको क्षय हुने प्रक्रियालाई झन् बढाउँछ । यस्तो दुष्चक्रमा फसिसकेपछि राज्यद्वारा स्थापित र नियन्त्रित सामाजिक व्यवस्थाहरू क्रमशः कमजोर हुँदै जान्छन् र अन्ततः गृहयुद्ध, सशस्त्र संघर्ष जस्ता अभावजन्य द्वन्द्व (डेप्रिभेसन कन्फ्लिक्ट) को आधार तयार हुन्छ ।" पर्यावरणीय ह्रासको कारण कृषि उत्पादनमा आएको कमीले अफ्रिकाको उप-सहारा क्षेत्रका थुप्रै हिंसात्मक विद्रोहमा केन्द्रीय भूमिका खेलेको कुरा पनि विभिन्न अध्ययनले इंगित गरिसकेका छन् ।

मान्छे र प्रकृतिको सम्बन्ध एवं वातावरणको क्षय हुने प्रक्रिया समथल भूभागको तुलनामा संवेदनशील भौगर्भिक बनावट भएको पहाडमा ज्यादा हुने गर्छ । वर्षायाममा जाने पहिरो र अत्यधिक भूक्षय त्यसका टड्कारो उदाहरण हुन् । पहाडी जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने वन, कृषियोग्य जमिनजस्ता प्राकृतिक स्रोतहरू सीमित हुन्छन् । अगम्य भएको कारण बाहिरी संसारसँगको सम्बन्ध पनि व्यापक हु“दैन । त्यसैले त्यही सीमित प्राकृतिक स्रोतलाई पटकपटक सघनापूर्वक प्रयोग गर्नु पर्ने बाध्यता हुन्छ । तर, कमजोर भौगर्भिक बनोट भएको पहाडको सघन प्रयोगले पुनः स्थापित हुन नसक्ने गरी त्यसलाई क्षति पुर्‍याउन सक्छ । जनसङ्ख्याको वृद्धिले त्यस प्रक्रियामा झन् तीव्रता आउँछ । परिणामस्वरूप प्राकृतिक स्रोत झन्झन् घट्तै जान्छ । त्यसपछि समाजका शक्तिशाली वर्गले धेरै उब्जनी हुने खेत आदिजस्ता प्राकृतिक रूपले समृद्ध स्रोत अधिग्रहण गर्न थाल्छन् भने गरिब र दुर्वल वर्गको हातमा पाखो, भिरालो र सजिलै ह्रास भएर जाने कमसल स्रोत पर्छन् । यसरी प्राकृतिक स्रोतको अभावले सीमान्त र शक्तिशाली वर्गबीच सामाजिक द्वन्द्वको स्थिति पैदा हुन्छ । उचित राजनीतिक प्रबन्धले संघर्षको स्थितिमा सुधार गर्न सकिने भए तापनि मूलधारको राजनीतिमा सुदूर पहाडका सीमान्त वर्गको प्रतिनिधित्व र पहुँच न्यून हुने हुँदा तिनीहरूको स्वर राजधानीका शक्तिकेन्द्रहरूमा गुञ्जदैन ।

यिनै आन्तरिक र बाह्य, सामाजिक र राजनीतिक कारणले पर्यावरणीय ह्रास हुने र प्राकृतिक स्रोत घट्तै जाने क्रम निरन्तर बढ्दै जान्छ । यस दुष्चक्रमा जेलिएर क्रमशः बाँच्ने आधार गुमाउँदै गएको, बाह्‍य समाजसँग सीमित सम्बन्ध भएको, मूलधारको राजनीतिबाट उपेक्षित, विकट र विषम ठाउँमा हिंसात्मक विद्रोहको अवस्था अथवा कमरेड प्रचण्डको शब्दमा 'क्रान्तिको वस्तुगत अवस्था' सृजना हुनुलाई अस्वाभाविक मान्न सकिन्न ।

सामुदायिक वन नीतिले विगत केही वर्षयता वनविनाशमा कमी आएको अनुमान गरिए पनि पहाडमा अझै पनि वनविनाशको दर २.३ प्रतिशत छ, जुन तराईको तुलनामा केही बढी छ । उपलब्ध तथ्याङ्कअनुसार, सन् १९७८ देखि १९९४ सम्म समग्रमा मुलुकको २४ प्रतिशत जङ्गल गुमाइएको छ भने मध्य र सुदूर पश्चिमाञ्चलमा त्यसको आँकडा क्रमशः २८ र ३१ प्रतिशत छ । टोकियोस्थित संयुक्त राष्ट्रसङ्घीय विश्वविद्यालयको एउटा अध्ययनले वन विनाशले पहाडी जनतामाथि पर्ने असरलाई राम्ररी चित्रण गरेको छ । वनविनाशले घाँस-दाउराको कमीजस्ता समुदायमा पर्ने प्रत्यक्ष असरको अलावा पानीका मुहानहरू क्रमशः सुक्तै गएर खानेपानी तथा सिञ्चाइको अभाव हुने तथा घाँस-दाउरा सङ्कलनमा अधिकांश समय खर्च गर्नुपर्ने बाध्यताले कृषिमा लगाउनुपर्ने समयमा कटौती भई अप्रत्यक्ष रूपमा खाद्यान्न उत्पादनमा समेत ह्रास आउँछ । ग्रामीण पहाडी समुदायका कतिपय परिवारका लागि जङ्गल एकमात्र मानवेत्तर स्रोत भएकोले घट्तै गएको वनले त्यस्ता परिवारमा पर्ने असर विशेष गरी खाद्यान्न सङ्कटको समयमा अत्यन्त नकारात्मक र दूरगामी हुन्छ ।

अत्यधिक मनसुनी वर्षाजस्तो प्राकृतिक कारणबाहेक वनलोप भएको पाखो र भिरालो जग्गामा खेतीको विस्तार, विगत एक दशकमा पहाडमा घरपालुवा पशुहरूको सङ्ख्यामा भएको उल्लेख्य वृद्धि आदि मानवजन्य कारणले पहाडलाई बढ्दो भूक्षयको समस्याले गाँज्दै लगेको छ । बगेर-उडेर जाने मलिलो माटोसँगै थोरै मात्रामा रहेका अमूल्य जैविक, खनिज र पौष्टिक पदार्थ पनि लोप भएर जाने हुँदा वर्सेनी हुने भूक्षयले खेतीको उर्वराशक्ति विस्तारै घट्तै गएर अन्ततः त्यसलाई परित्याग गर्नुपर्ने अवस्था आउँछ ।
यिनै सन्निकट कारणहरूले नेपालमा र विशेष गरी पहाडमा खाद्यान्न उत्पादनमा निकै ठूलो ह्रास आएको छ । सन् १९९०-९१ यताका वर्षरूमा नेपालमा जनसङ्ख्यालाई चाहिने मात्रामा खाद्यान्न उत्पादन हुन सकेको छैन । सबै हिमाली जिल्लामा खाद्यसङ्कट छ भने मकै, कोदोजस्ता पहाडी अन्नको प्रतिहेक्टर उत्पादकत्वमा लगातार गिरावट आएको देखिन्छ । चार-पाँच वर्षअघिको तुलनामा बाजुरा जिल्लामा ६० प्रतिशतले खाद्यान्न उत्पादनमा कमी आएको अनुमान गरिएको छ । अछाम, बझाङ, दैलेख, कालीकोट, मुगु, रोल्पा र जाजरकोटजस्ता माओवादी जनयुद्धबाट सबैभन्दा पीडित जिल्लाहरूमा त्यहाँका मानिसलाई बाँच्नका लागि आवश्यक खाद्यान्नको आधामात्र उत्पादन हुने गरेको तथ्याङ्क उपलब्ध छ । विभिन्न अध्ययनहरूले देखाएअनुसार पहाडमा ४० प्रतिशतभन्दा बढी परिवार छ महिनालाई पुग्ने अन्न उब्जाउन पनि अर्समर्थ छन् । पश्चिमी पहाडमा व्याप्त कुपोषण र धेरै ठूलो बालमृत्यु दरले पनि खाद्य समस्याको विकरालतालाई सङ्केत गर्छन् ।

खर्च भएको श्रमको अनुपातमा उपलब्ध प्राकृतिक स्रोतले दिने प्रतिफल कम भएपछि स्वभावतः नयाँ स्रोतको खोजी गरिन्छ । तर, क्रमशः ६२ र ५६ प्रतिशत भूमि ३० ड्रि्रीभन्दा भिरालो पहाडले ढाकेको मध्य र सुदूरपश्चिमका पहाडमा कृषि विस्तारका लागि उपयुक्त जग्गा उपलब्ध छैन । फलतः ९५ प्रतिशत कृषिमा आधारित जनसङ्ख्या भएका ती क्षेत्रहरूको सीमित कृषियोग्य भूमिमा जनसङ्ख्याको चाप बढ्दै गएको देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरूलाई छोडेर विश्लेषण गर्ने हो भने प्रतिवर्ग किलोमिटर कृषियोग्य भूमिमा सबैभन्दा ठूलो जनचाप मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा छ ।

स्रोतको दुर्लभताले विशिष्ट र सीमान्त वर्गको उदय हुने कुरा माथि नै उल्लेख भइसकेको छ । नेपालमा आधा हेक्टरभन्दा थोरै भूमि हुने सीमान्त कृषक परिवारको सङ्ख्या लगभग ४० प्रतिशत रहेको अनुमान गरिन्छ । मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा त्यसको अनुपात ५० र ६० प्रतिशत छ । अछाम, बझाङ, दैलेख, कालीकोट, रुकुम, रोल्पा, मुगु र जाजरकोटमा ५० देखि ८५ प्रतिशतसम्म सीमान्त कृषक परिवार भएको अनुमान गरिन्छ । झन् भिरालो र न्यूनतम उब्जनी हुने अनुत्पादक जमिनमा खेतीको विस्तार गर्दै जानु वा तराईतिर पलायन भएर सुकुम्बासी जीवन बिताउनुबाहेक त्यस्ता परिवारसँग अन्य कुनै विकल्प छैन । राज्यले आफ्नो उपस्थिति देखाउनेसमेत जाँगर नचलाएको अवस्थामा एउटा विकल्पको रूपमा त्यस क्षेत्रमा माओवादी आन्दोलनको उदय भएको विश्वास गर्ने प्रशस्त आधारहरू छन् ।

यसरी टुसाएको विद्रोहको बिरुवालाई जातिगत, धार्मिक, राजनीतिक असमानता आदि मध्यवर्ती तत्वरू (इन्टरभिनिङ् भेरिएवल्स) ले मलजल दिएर विकराल वृक्ष बनाइदिए । त्यसैले यिनै मध्यवर्ती कारणहरूमा केन्द्रित रहेर समस्याको समाधान खोज्दा वर्तमान विद्रोहीहरूबाट त राज्यले क्षणिक त्राण पाउला, तर विद्रोहजन्य प्रक्रिया भने नष्ट हुने छैन ।

हाम्रो सामुदायिक वन कार्यक्रमको आंशिक सफलताले प्राकृतिक स्रोत परिचालनको निर्णयागर्ने अधिकार राज्यले समुदायलाई दिएमा स्रोतको संरक्षण मात्र नभई न्यायसङ्गत वितरण र दिगो विकासमा समेत टेवा पुग्ने प्रमाणित भइसकेको छ । "स्थानीय स्रोतको सञ्चालन त्यसका प्रयोगकर्ता आफैंले दक्षतापूर्वक गर्न सक्छन्, त्यसका लागि राज्यजस्तो बाह्य शक्तिको नियन्त्रण आवश्यक छैन", यस भनाइका स्रष्टा प्रसिद्ध अर्थशास्त्री पार्थ दासगुप्ताका अनुसार, स्थानीय स्रोतको समुचित वितरण भए/नभएको तथा निर्णयप्रक्रियामा सबै वर्गले समान अवसर पाए/नपाएको अनुगमन गरेर राज्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ ।

प्रकृतिसँगको सम्बन्ध र प्राकृतिक स्रोतको खाँचो तुलनात्मक रूपले समुदायका महिलाहरूलाई धेरै हुने हुँदा स्रोत संरक्षणको आवश्यकता पनि उनीहरूलाई नै बढी हुन्छ । तसर्थ समुदायका हरेक क्रियाकलापमा महिलाहरूको विशिष्ट भूमिका र हकलाई सुनिश्चित गर्नु पनि राज्यको अर्को महत्वपूर्ण अभिभारा हो । समुदायको स्वायत्तता र प्रजातान्त्रीकरणमा नै द्वन्द्वविहीन समाज, दिगो विकास र अन्ततः गरिबी निवारणको रहस्य लुकेको हुँदा सरकार-माओवादी वार्ताको केन्द्रबिन्दुमा पनि यिनै दुई कुरा हुनुपर्छ ।

(साभार: नेपाल पाक्षिक, १८-८-२००३)

दक्षिणतिरका आतंकवादी

डा. जुगल भूर्तेल
पुर्खाहरुले नेपालीलाई अनुशासित, इमानदार र असाध्यै मेहेनती जातिको रुपमा संसार भरि चिनाइदिएका थिए । गोर्खा सेनाको बहादुरी र शेर्पाहरुको विलक्षण साहसका कथा सुनेका विदेशीहरु नेपालवाट आएको भन्नासाथ सुखद आश्चर्यले ओतप्रोत हुँदै आदर गरेजस्तो गर्थे । हङ्‍कङ्‍, जर्मनी लगायत धेरै देश जान नेपालीलाई भिसा नै चाहिँदैन थियो । स्वेच्छाले वा बाध्यताबस देश छोडेर हिँडेका नेपालीहरुको संख्या विदेशमा अहिले जति बढेको भएपनि तिनले शान्त र असल जातिको परिचयलाई अझै जीवन्त राखेका छन् तर विदेशीहरुको सहृदय व्यवहार अब बिरलै मात्र देख्‍न पाइन्छ । हालै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट भएर सिएनएन हङ्‍कङ्‍मा प्रड्युसरको जागिर पाएकी एउटी अक्सफोर्ड ग्य्राजुएट बहिनीलाई नेपाली भएकै कारण त्यहाँको श्रम स्विकृति लिन महिनौं संघर्ष गर्नु पर्‍यो । जर्मनीको भिसा पाउन झन् गाह्रो छ, दिए नै पनि नेपाल आएको दिन राजदुताबासमा ‘म फर्केर आएँ है’ भनेर रिपोर्ट गर्नु पर्ने । के जर्मनीको बिमानस्थलको रेकर्डले त्यो देश छोडेको देखाउँदैन र ? म पछिल्लो पटक ड्युसेलडर्फवाट सिधै मस्को उडेकोले काठमाण्डौ स्थित जर्मन दूतावासमा अझै हाजिर भएको छैन । हुन सक्छ त्यही कारणले मलाई फेरि भिसा नदिइयोस् ।

पहिलो पटक अमेरिका जाँदा काठमाण्डौंको अमेरिकी दूतावासकी महिलाले भनेकी थिई “तिमी ब्राउनवाट फर्कन्छौ भन्ने त मलाई विश्वास छैन तर पनि म तिमीलाई भिसा दिन बाध्य छु ।” ब्राउन अर्थात अमेरिकाको प्रतिष्ठित आइभी लिग युनिभर्सिटीमा प्रवेश गरेपछि एउटा साधारण नेपाली युवक फेरी घर फर्केर आउँदैन भन्ने अमेरिकी अनुमान आश्चर्यजनक नहोला तर म आफ्नो सम्पूर्ण परिबारलाई नेपाल मै त्यागेर अमेरिकी सपनाको खोजीमा उतै हराउँनेछु भन्ने उसको ठहर मलाई असाध्यै आपत्तिजनक लागेको थियो ।

आजकल नेपालीले कदाचित भिसा पाइहाले पनि हातले लेखेको नेपाली राहदानी देख्‍ने बित्तिकै पश्चिमी जुनसुकै मुलुकको अध्यागमन अधिकारीले अलिकति वक्रदृष्टिले हेरिहाल्छ “नक्‍कली पो हो की ?” बेलायतको गैरआवासीय नेपाली संघद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा भागलिन जाँदा लण्डनको हिथ्रो बिमानस्थलमा अंग्रेजी मूलको अधिकारीले त मलाई “तिमी लण्डन किन आउँछौ ?” भनेर नै सोध्यो । ‘तिम्रो आफ्नै देश छँदैछ नि किन घरिघरि मेरोमा आउँछौ’ भने झैं लाग्ने त्यस्तो अनौठो सोधाइवाट मैले के अनुमान लगाएँ भने म लण्डन आएको उसलाई मन परेको थिएन । शायद त्यसै आसयको प्रश्नले त्यही कार्यक्रममा भाग लिन जानु भएका रामचन्द्र पौडेल, आनन्द ढुङ्गाना, डा. मिनेन्द्र रिजाल, प्रदीप नेपाल, गगन थापा, कृष्ण बहादुर महरा, शशी श्रेष्ठ आदि नेतागणको पनि आनादर गरियो की भन्ने सम्झेर मलाई बडो असहज लागिरह्‍यो ।

कम्युनिष्टहरुले सत्तरी वर्ष सम्म अन्तर्राष्ट्रियवाद सिकाएको दावी गरे पनि रुसमा अहिले देखिएको उग्रराष्ट्रवाद र बढ्दो ‘जेनोफोबिया’ ले उनीहरुको शिक्षा कति कमजोर रहेछ सिद्ध भएकोछ । त्यसैले माथिका जस्ता घटनाहरु रुसमा घटि नै रहन्छन् । हुन त सवै विमानस्थलमा रुसीहरुको हामी जस्ता दक्षीण एसियाली विदेशीप्रति उस्तै व्यवहार हुन्छ तर त्यस मामलामा शेरेमेत्येभाको अलि विशेष स्थान छ । एक पटक अमेरिकामा बसोवासरत गैरआवासीय नेपालीहरुको सिकागो सम्मेलनमा भागलिन उड्ने क्रममा म त्यो विमानस्थल स्थित लुफ्थान्साको चेक-इन काउन्टरमा पुगें । “ए, नेपालवाट ! तपाईंको मुलुकलाई विशेष ध्यान दिने आदेश भएकोले तपाईंको कागजात जाँच गर्न एकछिन पर्खनु पर्छ ।” माओवादी द्वन्दले हाम्रो देशको प्रशिद्धिलाई शिखरमा पुर्‍याइदिएकोले अमेरिकालाई आजकल म जस्ता मान्छे संभावित आतंकवादी झैं लाग्छन् र त्यही आधारमा विमानस्थलमा पनि व्यवहार हुन्छ । लुफ्थान्साको एउटा कर्मचारीले ‘किन अमेरिका जाने ? अमेरिकामा कहाँ बस्छौ ? भिसा कसरी पायौ ?’ आदि यावत प्रश्नले धेरैबेर हायल-कायल पारेर अन्तमा मलाई बोर्डिङ् पास दिइयो ।

अध्यागमनको अर्को परिक्षावाट गुज्रिनु थियो त्यसैले गह्रौं पाइला चाल्दै अध्यागमन डेस्ककी युवतीको अगाडी पुगें । “नेपालवाट !” मानौं कुनै आतंकवादीलाई सशरीर अगाडि देखे जस्तो गरेर आत्तिँदै उसले हाकिमलाई फोन गरी “सेर्गेइ, मेरोमा नेपाल आयो, के गरुँ ?” जहाजमा बोर्डिङ् सुरुहुन केही मिनेट मात्र बाँकी रहेकोले मलाई अलि हतार थियो तर सेर्गेइ नआई युवतीले केही नगर्ने लक्षण देखाई । ऊ बल्ल-बल्ल आयो र सोध्यो “अमेरिकामा के गर्छौ ?” मैले आफू नेपाली डायास्पोराको सम्मेलनमा भागलिन जानलागेको बताएँ तर उसले मलाई नपत्याए झैं गरेर भन्यो “निमन्त्रण-पत्र छ ? अंग्रजी बोल्न जान्दछौ ?” मैले अंग्रजी मै जवाफ दिन थाले पछि ऊ तिर हेरेर युवती मुस्कुराई । जसवाट मैले के बुझेँ भने ऊ आफैंलाई अंग्रजी आउँदैन थियो तर मेरो मानमर्दन गर्न मात्र ती सवै कुरा सोधिरहेको थियो । उसको सोधाइ, हाव-भावमा सूचनाको चाहाना भन्दा हेपाइको इच्छा धेरै देखिन्थ्यो । लामो केरकार पछि द्विविधायुक्त मनले मलाई जान दिने आदेश दिएर सेर्गेइ हिँडे पछि युवतीले छाप लगाएर मेरो राहदानी फर्काउँदै टर्रो स्वरमा भनी “अव जान सक्नु हुन्छ ।” म पछि थुप्रै विदेशी गोराहरु थिए तर तिनीहरुलाई न केरकार गरियो न त डकुमेण्ट नै मागियो । लुफ्थान्सा विमानमा छिर्ने वित्तिकै जर्मन परिचारिकाले मधुर मुस्कानले स्वागत गरी तर त्यसको कृतिमताले मलाई वितृष्णा पैदा भयो ।

म जस्तो शिक्षित ठानिने नेपालीले त विदेशमा अवहेलनाको यस्तो विष पिइरहनु पर्छ भने अल्पकालीन रोजगारिमा जाने श्रमिक दाजुभाइहरु, शरणार्थी भएर विदेशिएका नेपालीले झन् कस्तो विकराल परिस्थितिको सामना गर्नु पर्दो हो ? पश्चिमी देशको के कुरा कराँची र दिल्ली विमानस्थलमा समेत सोझा-सरल नेपालीले अकल्पनीय उत्पीडन सहनु पर्छ । यिनै कुराले मन दुखाउँदा दुखाउँदै जहाज सिकागोको ओ’हारे बिमानस्थलमा ओर्लियो । अव फेरी ‘किन अमेरिका आएको, कहिले फर्कन्छस्, तेरो सम्मेलन त दुई दिन मात्र हो फेरि किन त्यति दिन यहाँ बस्ने’ आदि प्रश्नको प्रहार हुने निश्चित नै थियो । यी संसार भरि जुन सुकै बिमानस्थलमा सोधिने सामान्य प्रश्न हुन् भन्ने जान्दा जान्दै पनि प्रश्नकर्ताको शंकालु स्वरले मलाई संवेदनशील बनाउँछ र अपमानवोधले क्रुद्ध भइहाल्छु । जस्तो सुकै कठिनाई भए पनि नेपाली पासपोर्ट, पहिचान र राष्ट्रियता प्रति ठूलो गौरव महसुस गर्ने स्वभाव भएर पनि म अतिसंवेदनशील भएको हुँ कि ? लामो केरकार पछि बाहिर निस्कँदा गैरआवासीय नेपाली साथीहरु हाँस्दै स्वागतमा आएको देखेर मन गर्वले भारि भयो । आफ्नो जातिको महत्व त्यस्तो बेला मात्र थाहा हुने रहेछ ।

सम्मेलन भरि असाध्यै रमाइलो गरियो । धेरै वर्ष पछि थाइल्याण्डमा एआइटी पढ्दा ताकाका साथीहरु भेटिए । थाइल्याण्डमा भारतीयहरु प्रति अलि बढि नै पुर्वाग्रह भएकोले घुन पिसिए झैं हामीले पनि जातिविभेदका थुप्रै घटनाहरु सहेका थियौं । नेपालवाट उपचारकोलागि आएको मौका छोपेर सुशील कोइराला पनि सम्मेलनमा भाग लिन आउनु भएको थियो, रामचन्द्र पोखरेल पनि भेटिनु भयो । विदेशमा त्यति धेरै नेपालीलाई भेट्दा हामी सवै हर्षित हुन्छौं, उहाँहरुलाई पनि खुशी लाग्नु स्वाभाविक थियो । उहाँहरुसँगको अन्तरक्रियामा सवैले नेपालको द्वन्द र शान्ति कै कुरा गरे । त्यति बेला मैले भने बिमानस्थलका तिरस्कारहरुलाई घरिघरि सम्झिरहेँ । हामीले माओवादी विद्रोह जस्तो बृहत् समस्याको समाधान देखि केही किलोमिटर सडक बनाउन समेत विदेशीहरुको मुख ताक्ने प्रवृत्तिलाई नबदलेसम्म ‘आफैंले केही गर्न नसक्ने जाति’ को रुपमा तिनीहरुले हाम्रो आत्मसम्मानमा ठूलो चोट पुग्नेगरी अपमानित र लज्जित गर्ने क्रम जारी नै रहनेछ । दूर क्षितिजमा देखिँदैगरेको नयाँ नेपालको आलोकमा विश्वले हामीलाई नयाँ ढङ्गले मूल्यांकन गर्ने विश्वासले एकअर्कालाई आश्वस्त पार्दै हामी सम्मेलनवाट बिदा भयौं ।

मस्को फर्कने बेला बिदाईकालागि अमेरिकाबासी मेरो ठूलोदाइ बिमानस्थलमा आउनु भएको थियो । धेरै वर्ष पछि हाम्रो भेट भए पनि मैले व्यस्तताको कारण उहाँसँग लामो समय बिताउन नपाएकोले हामी विदाइको क्षणलाई जति सक्दो तन्काउन खोजिरहेका थियौं । प्लेन उड्न केही समय मात्र बाँकी हुँदा म मन नलागी नलागी उहाँसँग छुट्टिएर सुरक्षा जाँच तिर लागेँ । म भन्दा अगाडि धेरै यात्रीहरु सरासर पार गरिरहेको देखेर खासै समय नलाग्ने रहेछ भन्ने लागेको थियो । तर मलाई र मेरो पासपोर्टलाई निकै बेर नियाले पछि सुरक्षाकर्मीले शंकालु स्वरमा भन्यो “तपाईंलाई विशेष जाँचकालागि चुनिएकोछ, संकेत चिन्हलाई पच्याउँदै त्यहाँ गएर उभिनुस् ।” मैले दाइतिर हेरें, टाढैवाट पनि उहाँका आँखामा सहानुभूति देखिन्थ्यो । यस्ता ‘र्‍याण्डम सेक्युरिटि चेक’ मा नबिराई परिरहनु हामी जस्ता दक्षीण एसियाली यात्रुहरुको नियति नै हो । त्यसपछि यसरी विस्तारपूर्वक सुरक्षा जाँच भयो कि मेरो शरीरको कुनै अंग छामछुमवाट बँच्न सकेन । ह्‍याण्डब्यागको पनि थरिथरिका तरलपदार्थले लेपेर त्यस्तै हविगत गरियो । अन्तत: केही पनि आपत्तिजनक सामान नभेटिए पछि मैले जाने अनुमति पाएँ । विशेष जाँच गर्ने गोरा मानौ हात आइसकेको ‘टेररिष्ट’ छुटेकोमा निराश भए झैं देखिन्थ्यो । सिसा पछाडिवाट दाइ अझै चिन्तित भएर हेरिरहनु भएको रहेछ । मैले निरिहताले खिन्न हुँदै विदाको हात हल्लाएँ । म पछि २०-२५ जना आउन्जेल पनि कसैलाई फेरि विशेष जाँचकालागि चुनिएन । स्पष्टै थियो ती मध्ये कोही पनि म जस्तो वर्ण र क्षेत्रका मान्छे नभएकाले ‘आकास्मिक सुरक्षा जाँच’ मा परेनन् ।

नेपालवाट आएको भए रुसको विमानस्थलमा अझै अर्को सास्ति खेप्नु पर्थ्यो तर अमेरिकावाट फर्केकोले खासै जाँच भएन । आजकल सवै विकसित देशमा आतंकवादीहरु दक्षिण तिरवाट मात्रै आउँछन् भन्ने मान्यता छ । उत्तर-दक्षिणको यो असहज सम्वन्धलाई यस वर्ष साहित्यमा नोबेल पुरस्कार विजेता टर्कीका लेखक अरहान पामुकको ‘हिउँ’ भन्ने प्रसिद्ध पुस्तकको एउटा कुर्दिस पात्रले मार्मिक ढङ्गले व्यक्त गरेकोछ । युरोपियनका बारे उसका भावहरु मेरो मानसपटलमा अक्सर आइरहन्छन् “तिनीहरु कुनै एउटा गरीबप्रति सहानुभुति दर्शाउँछन् होला तर जब सिङ्गो मुलुक नै दरिद्र हुन्छ सम्पूर्ण विश्वले के सोच्छ भने त्यस देशमा बस्ने सवै मान्छे मुर्ख, दिमागहीन, अल्छी, फोहोरी र ढङ्ग नभएका छन् । सहानुभूति दर्शाउनु सट्टा संसार तिनीहरु माथि हाँस्छ । तिनीहरुका संस्कृति, परम्परा र रीतिरिवाजहरु सवै हाँसउठ्दा लाग्छन्....जब त्यो देशका प्रवासी जनताहरु उनीहरुको आँगन बढार्छन् वा सवै भन्दा तुच्छ काम गर्छन्, त्यतिखेर ती प्रवासीहरुले असन्तोष व्यक्त नगरुन् भनेर तिनीहरुको संस्कृतिको बारेमा सुनेको झैं अभिनय गर्छन् ....गरिव देशको कुनै मान्छेलाई देख्दा युरोपियनको अन्तरमनमा सवै भन्दा पहिले शंकाको भाव पैदा हुन्छ –यो मान्छेको दिमाग पनि त्यही मुर्खता र तुच्छताले भरिएको हुनु पर्छ जसले यसको सम्पूर्ण मुलुकलाई नै अकिंचन बनाएकोछ...” त्यो पुस्तक ऐले लेखिएको भए कुर्द ठिटोले थप्ने थियो “आजभोलि गरीब देशको मान्छेलाई आफ्नो मुलुकमा देख्दा उनीहरु अर्को एउटा शरणार्थी वा आतंकवादी नै पस्यो कि भनेर सशंकित हुँदै हतार-हतार मूल ढोका बन्द गर्छन् ।”

(साभार: कान्तिपुर दैनिक,१८-११-२००६)

म पहाडे-मधेसी-खस-नेपाली

डा. जुगल भुर्तेल
लहानको घटनाले एउटा राष्ट्रको रुपमा हाम्रो रुपान्तरण असहज हुने संकेत दिए पछि आफ्नो पहिचान पहिल्याउने प्रयत्‍न गर्दा माथिको शिर्षक तयार भयो, जुन मैले ठूलो गर्व गर्ने मेरो भावनात्मक परिचय हो । एसएलसी पास गरेर काठमाण्डौं जानु अघि सम्म मैले कहिल्यै नजीकबाट पहाड नदेखेको भए पनि हजूरबा भोजपुरवाट झर्नु भएकोले मेरो अनुहारमा ‘पहाडे’ को छाप लाउने असफल प्रयास गरिन्छ तर म जन्मे, हुर्के, बढे र पढेको ठाउँ मधेस भएकोले म ‘मधेसी’ हुँ । मेरो नाममा समेत पाहाडेपन छैन । भोजपुर भन्दा अघिको इतिहास हाम्रो परिबारलाई थाहा छैन । अज्ञानतावश खस राज्य कहाँ छ म अनभिज्ञ छु र ‘खस’ शव्दले भुगोल वा जाति केलाई बुझाउँछ मलाई थाहा छैन तर मधेसमा पनि बाहुन हुने भएकोले जातिय आन्दोलनका नेताहरुले मलाई ‘खस बाहुन’ बनाइदिएका हुनसक्छन् । त्यही नै मेरो पहिचान पनि होला तर काठमाण्डौंको सामन्ती शासनलाई बुझाउने क्रममा जातिय मानमर्दनकालगि त्यसको व्यापक दुरुपयोग हुनेगरेको मेरो अनुभूति छ। खैर जे होस्, मेरो सम्पूर्ण अस्तित्व जोडिएको मूलघर र मातृभूमी झापा भएकोले म ‘झापाली’ हुँ । मलाई मान्छे मात्र हैनन् हावा, पानी, माटो, रुख सवै त्यहीँका प्रिय लाग्छन् । तर म नेपालमा हुञ्‍जेल मात्र ‘झापाली’ हुँ । यहाँ विदेशमा त मेरा अरु सवै विशेषणहरु गौण हुन्छन् र म केवल ‘नेपाली’ हुन्छु । हिजो सम्म त्यही मेरो मौलिक पहिचान र जातिय स्वाभिमानको सर्वोच्चता थियो । तर आज सवै जातिले आ-आफ्नो ठाउँ खोज्न थाले पछि नेपाली मात्रको मेरो परिचय क्रमश: अमूर्त हुँदै गएकोछ र “म को हुँ” भनेर आफैंसँग अप्ठ्‍यारो प्रश्‍न सोध्न बाध्य भएकोछु ।

मैले आफ्नै आखाँ अघि सोभियत साम्राज्यलाई धरासयी भएको देखेकोछु अनि देश गुमाएर विक्षिप्त झैं भएका प्यालेष्‍टिनीहरुको संगतले जीवन-जगतलाई अलि नजिकबाट बुझ्ने प्रयास गरेकोछु । अन्तर्राष्ट्रिय वातावरणमा अध्ययन गर्नुको सवै भन्दा ठूलो फाइदा नै थरिथरिका विदेशी मित्रहरुको अनुभवमा उद्‍घाटित जीवनका नौला पाटासँगको साक्षात्कारमा हुने रहेछ । म सोभियत संघमा अध्ययन गर्दा मेरो कक्षामा एउटा प्यालेष्‍टिनी साथी थियो- अहमद । छात्राबासमा पनि ऊ मेरो छिमेकी भएकोले हामी प्राय: सँगै हुन्थ्यौं । उसको आफ्नो देश नभएकोले पढाइ सकेर फर्केर जाने उसको कुनै ठाउँ थिएन । निराशाको चरम उद्वेलनमा ऊ कहिलेकाँही अध्यारो कोठामा एक्लै बसेर रुने गर्थ्यो र मलाई भन्थ्यो “तँ कति भाग्यमानी, तेरो आफ्नै देश छ ।” त्यस्तो बेला मलाई आफ्नो देश भएको र उसको नभएकोमा अलिकति ग्लानीबोध पनि हुन्थ्यो । हरेक शनिबार मस्कोमा अध्ययनरत उसका थुप्रै साथीहरु उसलाई भेट्न आउँथे । उनीहरु राति अबेर सम्म यासेर अराफातका भाषणका क्यासेट सुनेर उत्तेजित हुन्थे, राष्ट्रप्रेमले ओतप्रोत गीत गाएर हामीलाई सुत्‍न दिँदैन थिए । ती सवै शरणार्थी थिए । कोही जोर्डनबाट आएका, कोही लेवनानबाट र कोही सिरियाबाट । अध्ययन पछि ऊ शायद जोर्डन फर्कियो र हाम्रो सम्पर्क पनि टुट्यो । तर स्वतन्त्रताको मूल्यलाई चिनाएर नेपाललाई माया गर्न सिकाएकोमा म जहिले पनि अहमदप्रति कृतज्ञ रहनेछु । तराईमा बढ्दो हिंसाले उसलाई फेरी सम्झाइदिएकोछ ।

के हामी अब नेपालको अस्तित्वलाई निमिट्यान्न पार्ने उद्योगमा लागिसकेका हौं ? झट्‍ट हेर्दा भयावह र लामो मानवीय संकट निम्त्याउने समस्या जस्तो देखिए पनि टुक्रिनु र फुट्नुको ‘डोमिनो’ असर हुन्छ – एक पटक सुरु भए पछि तीव्र गतिमा सबै ढलाउँदै लैजाने । नत्र अपराजेय ठानिने सोभियत संघ १५ टुक्रामा त्यति सहजै परिणत हुने थिएन । साम्प्रदायिक रक्तपातले एक समयको शक्तिशाली युगोस्लाभिया झन् झन् खुम्चिएर सर्बियामा मात्र सीमित हुँदा पनि कोसोभोको रुपमा अझै चोइटिने क्रम जारी छ । वातावरणमा जातिविद्वेषको बिष घोलिए पछि सामाजिक सद्‍भाव र निश्छलता सवै भन्दा पहिले घाइते हुन्छन् । मैले कोसोभोवाट ज्यान जोगाएर भागेको एउटा शरणार्थी सर्ब ट्‍याक्सी ड्राइभरलाई भेटेको थिएँ । हिजो सम्म आफन्त झैं लाग्ने अल्बेनियन छिमेकीहरुले उसको घरमा आगो लगाइदिएका थिए । नङ-मासुझैं रहेका छिमेकीहरु कसरी एक्‍कासी सर्ब र अल्बेनियनमा परिणत भएर एक-अर्कालाई समाप्‍त पार्ने घृणित खेलमा सामिल भए ? हातेमालो गरेर नयाँ नेपाल बनाउने बेला हामी पनि खस, जनजाति, मधेसी, पहाडी हुँदै टुक्रा-टुक्रामा बिभक्त हुँदैछौं । एक दशक लामो द्वन्दले जर्जर भइसकेको हाम्रो जस्तो देशलाई झर्‍याम-झुरुम हुन कति समय लाग्ला र ?

तराईका घटनाहरुले मलाई मात्र हैन कुनै समय थाइल्याण्डमा सँगै अध्ययन गरेकी एउटी श्रीलंकाली साथीलाई पनि छक्‍क पारेकोछ । माओवादी समस्यालाई राम्ररी बुझ्नु अघि नै त्यो समाधानको दिशातिर उन्मुख भएको देखेर उसले खुशी हुँदै इमेल पठाएकी थिई “हामीले पनि नेपालबाट शिक्षा लिन सकेको भए !” ऐले जातिय द्वन्दका संकेतहरु देखिएका छन् र उसले चिन्तित हुँदै फेरि लेखेकी छे “हिंसाले जातिय समस्यालाई बढाउने मात्र काम गर्छ भन्ने कुराको उदाहरण श्रीलंका भन्दा अर्को कुन देश हुन सक्छ ?” नेपालीले उसको देशबाट ठीक उल्टो शिक्षा लिइसकेको कुरा लेखेर मैले उसको आत्मसम्मानमा चोट पुर्‍याउन चाँहिन ।

संसदमा पुगेर अपराधीहरुसँग वार्ता गर्नु हुन्‍न, ती प्रतिगामी शक्ति हुन् भन्दै विजयको आत्मश्‍लाघामा लीन अर्काथरिलाई हतियारको भरमा टिकेको शक्ति कति क्षणभंगुर हुन्छ भन्‍ने कुराको यथेष्‍ट प्रमाण मधेसले दिइसकेको हुँदा उनीहरुको अहंकारी ध्वाँस हिजोको बन्दुकको गर्जन झैं कुरुप सुनिन्छ । राजाको निरंकुश शासनमा उग्रराष्ट्रवादीधारले प्रोत्साहन पाएर मधेसको सधैं उपेक्षा भएको सत्य हो । आज तराईका नागरिकले राज्य सञ्‍चालनमा समान अधिकार खोजे र संविधानसभामा सवैको न्यायोचित प्रतिनिधित्व होस् भने त्यो कसरी नाजायज भयो ? असंख्य विरोधाभासले भरिएको कागजको मुठोलाई अन्तरिम संविधान भनेर हतारहतार थोपर्दा अन्याय भएन तर त्यसमा आवश्यक संशोधन होस् भन्दा प्रतिगमन मानिने ? बरु देशभरि जातिय विखण्डनको अंकुरण गरेर र विध्वंसले मात्र नयाँ सृजना हुन सक्छ भन्‍ने भयानक पाठ सिकाएर माओवादीले जुन भुल गरेका छन् त्यसको सजाय मुलुकले हैन तिनले नै पाउनु पर्छ भन्ने मलाई लाग्छ तर उनीहरु झैं हतियार उठाउने हिंसाका कुरालाई भने म कहिल्यै समर्थन गर्दिन । संविधानसभाको निर्वाचनलाई मैले उनीहरुलाई दण्डित गर्ने एउटा माध्यमको रुपमा हेरेकोछु । तराईमा उर्लिएको जनचेतनाको भेलले प्रचण्डपथलाई बगाइदिएपछि पहाडमा समेत पथमा पहिरो जाने सम्भावना त उसै पनि बढेकै छ । हो, अहिले मधेसी आन्दोलनले चाहे झैं त्यो निर्वाचन समावेशी र न्यायपूर्ण हुनुपर्छ । 'पहाडे खस' भनेर जतिसुकै अलग्याउन खोजे पनि म मधेस कै अंग हुँ र त्यो मेरो पनि माग हो ।

अढाईसय वर्षको शाही सामन्तवादको जंजिरलाई विस्तारै तोडेर उन्मुक्तितिर लम्केको मुलुकका शोषित, पीडित सवै वर्गका नेपालीसँग अन्तत: आफ्नो पक्षमा शान्तिपूर्ण ढङ्गले राज्यको समावेशिकरण गर्न सक्ने एउटा अबसर आएकोछ । तर निरंकुश राजा र विद्रोही शक्तिको आतंकवाट मुक्तिको सास फेर्न नपाउँदै मुलुकमा फेरि अर्को डढेलो लाग्ने संकेत देखिएका छन् । संविधानको संशोधन गरेर त्यो आगोलाई बेलैमा नियन्त्रण गरिएन भने त्यसले सर्वनाश निम्त्याउने त निश्‍चितै छ । त्यसबेला म जस्ता पहाडे मधेसी मात्र हैन सम्पूर्ण नेपाली जाति कै पहिचान लोप हुन सक्छ । त्यसबेला म पनि पहाडे-मधेसी-खस-बाहुन-झापाली-नेपालीको समग्र परिचयवाट एकएक गरी मुक्त हुँदै मेरो प्यालेष्टिनी साथी झैं केवल ‘शरणार्थी’ हुनेछु । तर शायद एकचोटि गुमेको देश फेरि फिर्ता नहुने अहमदको जीवनवाट सिकेको पाठले नेपाली पहिचान बिनाको आफ्नो अस्तित्वको म कल्पना समेत गर्न सक्तिन ।

(साभार: कान्तिपुर दैनिक, ५-२-२००७)

बीपीको सपना र साम्यवादी रोमाञ्चकता

डा जुगल भूर्तेल
भर्खरै जनमतसङ्ग्रहको घोषणा भएको थियो । म त्यसबेला झापाको एउटा स्कुलमा कक्षा आठमा अध्ययनरत थिएँ । नक्सलवादी आन्दोलनले गर्दा जिल्लाको हावामा पहिलेदेखि नै क्रान्तिको तीखो गन्ध व्याप्त थियो, जसमा लटि्ठएर स्कुलका अधिकांश साथीहरू 'वामपन्थी' भइसकेका थिए । म उनीहरूको वर्गशत्रुको परिभाषाभित्र पर्थें कि पर्दिन थिएँ थाहा भएन तर व्यक्तिहत्याले समाजमा परिवर्तन हुन्छ भन्ने कुरामा कुन्नि किन मलाई विश्वास नै भएन । जसको निर्ममतापूर्वक हत्या गरियो, उनीहरूप्रतिको मानवीय समवेदनाले ममा त्यस्तो क्रान्तिप्रति वितृष्णा उत्पन्न भयो । उता राज्यले पनि बलपूर्वक 'पञ्चायत' विषय पढाउन खोज्थ्यो तर मलाई भने 'काङ्ग्रेस', 'बीपी', जस्ता शब्दले रोमाञ्चित गर्न थालेका थिए । प्रजातन्त्रको अर्थ अझै बुझ्न बाँकी नै थियो तर त्यसै विषयमा स्कुलमा अखिलकी एउटी नेतृसँग मेरो चर्को विवाद भइरहन्थ्यो । अहिले विद्यार्थी राजनीतिका नारा र सन्दर्भ परिवर्तित भएका छन् तर त्यसबेला नेपालको तत्कालीन राजनीतिजस्तै हाम्रो बहस पनि बीपीको व्यक्तित्व र उहाँको 'प्रजातन्त्र' को समर्थन या विरोधको वरिपरि केन्द्रित थियो । वामपन्थीहरू कुन्नि किन मुलुकका सामन्ती संस्थाहरू भन्दा उहाँप्रति धेरै पूर्वाग्रही थिए ।

अखिलकी नेतृको साम्यवादको बुझाइ मैले प्रजातन्त्र बुझेभन्दा गतिलो त थिएन तर उनको क्लिष्ट हुँदै गएको भाषाबाट म अनुमान लगाउँथेँ, माओको लिटल रेड बुक का केही पानाहरू भने उनले अवश्य पल्टाइसकेकी हुनुपर्छ । सचित्र चीन पत्रिका उनको मुख्य खुराक थियो । त्यसमा ङिंच्चच हाँसेका चिनियाँ मजदुरहरूको फोटो देखाएर उनी तर्क गर्थिन्, "हेर ! तिमीहरूले भनेजस्तो कम्युनिज्ममा स्वतन्त्रता नहुने भए मान्छे यसरी उन्मुक्त हाँस्न सक्थे ?" त्यो उनको निष्कपटता थियो कि बठ्याइँ, ठम्याउन नसकी म चकित हुन्थेँ । म पनि सरिता, दिनमान जस्ता हिन्दी पत्रिकाबाट \'चीनमा भन्दा बढी छन् भारतमा ट्रयाक्टरहरू' जस्ता शीर्षक खोजीखोजी ल्याउँथेँ र चिनियाँ 'साम्यवाद' भन्दा भारतीय 'प्रजातन्त्र' मै धेरै विकास भएको प्रमाणित गर्थें । उनको एउटा प्रश्नले भने मलाई असहज बनाउँथ्यो, "हामी त सर्वहाराको शासन ल्याउन लडेका छौँ । तिमीहरू नि ?" यसको मसँग कुनै तर्कसङ्गत जवाफ थिएन । तर, उनीहरू बीपीप्रति अलि बढी नै आक्रामक भएकाले उनलाई चिढ्याउने हेतुले म भन्ने गर्थें, "बीपीको सपना साकार पार्न ।" मलाई उनीहरूसँग रेड बुक भएकोमा ईर्ष्या लाग्थ्यो । हाम्रालागि कसैले त्यस्तो 'वेद' नलेखिदिएकाले मित्रवत् जुहारीमा धेरैपटक निरुत्तर हुनुपर्थ्यो ।

जनमतसङ्ग्रहमा बहुदलको हारले हामी ज्यादै खिन्न थियौँ । बीपीले अब के भन्नुहुन्छ भन्ने ठूलो प्रतीक्षा थियो । तर, उहाँले त्यही पुरानै साम्यवादको त्रास र राजासँग घाँटी जोडिएको तर्क दिएर हामीलाई ज्यादै निराश पार्नुभयो । अनेक प्रपञ्च गरेर पञ्चायतलाई जिताउने र दशकौं अघि ढालिनुपर्ने एउटा महासामन्ती संस्थासँग समाजवादी भनिएको दलको घाँटी कसरी जोडियो, म बुझ्न सक्तिन थिएँ । अखिलका साथीहरू यही विषयलाई लिएर मलाई लाजमर्दो स्थितिमा पारिरहन्थे । उनीहरूको 'कोसी, गण्डकी बेचुवा' को आरोपलाई त म जसोतसो प्रतिवाद गर्थें तर तिनले भेट्टाएको नयाँ नाराले मलाई असहज नै बनाउँथ्यो, "बीपीको सपना के हो, सक्रिय राजतन्त्र जे हो ।" त्यस्तो बेला स्कुलको तनाव घरसम्म आइपुग्थ्यो र म भावुक हुँदै आफ्नै दाइसँग बीपीले लिएको अडानको अर्थ खोज्ने प्रयास गर्थें । उहाँ शीतयुद्धले ग्रस्त तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति, अफगानिस्तानमा भएको साम्यवादको अतिक्रमण र त्यसबाट दक्षिण एसियामा उत्पन्न राजनीतिक उतार-चढाव आदि कुराले गर्दा नेपाल राष्ट्रको अक्षुणताका लागि राजतन्त्र अझै अपरिहार्य भए पनि नेपाली काङ्ग्रेसले त्यसको सक्रियतालाई कहिल्यै नस्वीकार्ने कुरा दोहोर्‍याइरहनु हुन्थ्यो तर संवैधानिक रूपमै भए पनि सामन्तवादको औचित्यमा म कसैगरी पनि सहमत हुन सक्तिन थिएँ । त्यसो भए नेपाली काङ्ग्रेसको अभीष्ट के हो भनेर सोद्धा दाइले संक्षिप्त जवाफ दिनुहुन्थ्यो, "आर्थिक समानता र राजनीतिक स्वतन्त्रता ।" जुनसुकै रङको भए पनि राजतन्त्र रहुन्जेल सबै सामन्ती संरचनाहरू यथावत् रहने हुँदा त्यस्तो व्यवस्थामा जनता आर्थिक रूपले समान हुन्छन् भन्ने कुरा मलाई विश्वसनीय लाग्दैनथ्यो । अखिलकी नेतृझैँ मलाई पनि कुनै दासत्व स्वीकार थिएन । म उन्मुक्ति चाहन्थेँ तर बीपीले मेलमिलाप भनेर मेरा हातखुट्टा कसेर बाँधिदिनुभयो । त्यसैले मलाई आफूभन्दा उनी नै बढी क्रान्तिकारी हुन् कि भन्ने आशङ्का हुन्थ्यो र म हीनताबोधले ग्रस्त हुन्थेँ । त्यसबेला बीपीप्रतिको आशक्तिपूर्ण सम्मानले मात्र म विद्रोही हुन सकिनँ तर मेरालागि उहाँको सपना झन्झन् अमूर्त हुँदै गयो ।

कलेज भर्ना हुन म काठमाडौँ आएपछि स्कुलका छेडछाड 'नस्टेल्जिक' स्मृति भए । राजनीतिमा ठूलो सम्भावना बोकेकी अखिलकी नेतृको त्यसलगत्तै बिहे भयो भन्ने सुनेँ । तर, नियतिले मलाई उनले बारम्बार दोहोर्‍याउने 'साम्यवादमा मात्रै मानिस पूर्ण रूपले स्वतन्त्र हुन्छ' भन्ने थेसिसको सत्यतालाई जाँच्ने मौका दियो उच्चशिक्षाका लागि रुस जाने छात्रवृत्तिमार्फत ।

सन् १९८८ मा म रुस पुग्दा ७० वर्ष पुरानो सोभियत सङ्घ धमिराले खाएको रूखझैँ ढल्न-ढल्न लागेको थियो । सन् '७० को मध्यदेखि नै सोभियत अर्थतन्त्रमा गहिरो सङ्कट देखिन थालिसकेको रहेछ । नाजीसँगको लडाइँमा दुई करोडभन्दा बढी जनता गुमाएको सोभियत सङ्घमा दोस्रो विश्वयुद्धपछि राष्ट्रवादको नौलो लहर आयो । तहस-नहस भएको मुलुक बनाउने जनताको तीव्र आकाङ्क्षाले गर्दा देशले औद्योगिक, सामरिक, अन्तरिक्ष र अन्य धेरै क्षेत्रमा ठूलो फड्को मार्नसकेको थियो । सामाजिक सुरक्षा, निःशुल्क शिक्षा र स्वास्थ्यसेवाजस्ता अवधारणाले मानव संशाधनको विकास भयो । तर, ब्रेझनेभको पालासम्म आइपुग्दा कम्युनिस्ट पार्टीभित्र बढेको भ्रष्टाचार, आफन्तवाद, चरम तानाशाही प्रवृत्ति आदिले त्यस आकाङ्क्षामा व्यापक ह्रास आयो र विकासको गति पनि घट्दै गयो । जमिनको राष्ट्रियकरण गर्ने निर्णय कालान्तरमा ज्यादै अदूरदर्शी सावित भयो । त्यसरी ल्याइएको ' कलेक्टिभ फार्मिङ्' र 'स्टेट फार्मिङ्' को असफलताले मुलुक खाद्य समस्याले ग्रस्त थियो । अमेरिकाभन्दा साढे चार गुणा बढी ट्रयाक्टर उत्पादन गरेर पनि उर्बर भूमिले भरिएको सोभियत सङ्घले क्यानाडा र अमेरिकाबाटै खाद्यान्न आयात गर्नुपर्थ्यो ।

बीपीले भन्नुहुन्थ्यो, "मार्क्सवादमा वस्तुको रूपमा मानिसको अवमूल्यन हुन्छ ।" साँच्चै, हरेक क्षेत्रमा राज्यको हस्तक्षेप भयो भने मान्छेको सिर्जनशीलता मर्ने रहेछ । उद्योगहरूको एक मात्र लक्ष्य सरकारी कोटा पूरा गर्न हुन थाल्यो । कोटा पूरा नगर्ने उद्योगको अनुदान रोकिने वा कोटालाई झन् बढाइने हुँदा कामदारहरू गुणभन्दा सङ्ख्यामा जोड दिन्थे । फलस्वरूप राम्रा र नयाँ कुराहरू बन्न छाडे । हतियारबाहेक अन्य कुनै क्षेत्रमा प्रविधिको राम्रो विकास हुन सकेन । कारखानाका पुराना मेसिनरीहरूले पश्चिमी मुलुकहरूको तुलनामा धेरै इन्धन खपत गर्ने हुँदा सोभियत उत्पादनले अन्तर्राष्ट्रिय बजारमा उनीहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति आयो र निर्यात ठप्पजस्तै भयो । झन्डै दुई दशक लामो ब्रेझनेभको शासनकालमा देखिएको प्रगतिरोधले साम्यवादी व्यवस्थाले एउटा निश्चित सीमासम्म मात्र आर्थिक विकास गर्नसक्ने रहेछ भन्ने तथ्यलाई छर्लङ्ग देखाइदियो । वास्तवमा रुसमा जतिसुकै अविवेकी ढङ्गले खर्च गरेर पनि नसकिने अथाह प्राकृतिक स्रोत भएर मात्र साम्यवादी व्यवस्था त्यति लामो समयसम्म टिक्न सकेको रहेछ । पार्टीको व्युरोक्रेसीबाहेक सबै साधारण मान्छे गरिब थिए, त्यसैले समान थिए । तर, जनताले त्यस्तो साम्यवाद चाहेका थिएनन् । अमेरिकी जिन्स र जापानी क्यासेट प्लेयर जस्ता पुँजीवादी उत्पादनले मानिसको सामाजिक प्रतिष्ठाको मापन गरिन्थ्यो । उता स्तालिनको शासनकालमा दोस्रो विश्वयुद्धमा भन्दा धेरै सोभियत जनताको नरसंहार भएको तथ्य खुल्दै गयो । संसारमा अन्य कुनै राज्यले आफ्नै देशका जनतालाई त्यति सङ्ख्यामा मारेको तथ्याङ्क छैन । सर्वहाराको अधिनायकवादमा समावेशी शब्द हात्तीको देखाउने दाँत मात्र रहेछ । स्तालिनले विरोधी भएको आशङ्कामा चेचेन जातिलाई नै आफ्नो पुर्खाको माटोबाट विस्थापित गरेर चेचेनियाबाट काजाखिस्तान लखेटेका थिए, जसको प्रतिफल चेचेन आतङ्कवादको रूपमा रुसले अहिलेसम्म बेहोरिरहेको छ । अन्य जनजातिले पनि साम्यवादी व्यवस्थामा त्यति नै दमन झेलेका घटनाले सोभियत इतिहास भरिएको छ ।

गोर्वाचोभले 'ग्लासनस्त' (खुलापन) र ' पेरेस्त्रोइका' (पुनर्निर्माण) को माध्यमबाट परिस्थितिमा सुधार ल्याउने प्रयास गरे पनि उनको प्रयास मूलतः साम्यवादी व्यवस्थालाई विस्तारै प्रजातान्त्रीकरण गर्दै सामाजिक स्वीकृति दिलाउनेतिर केन्द्रित थियो । लेख भालेन्साको शब्दमा, "उनी इन्जिन नै फेल हुन आँटेको एउटा ७० वर्ष पुरानो ट्रकलाई अक्करको भीरमा उकाल्ने असफल प्रयास गरिरहेका थिए ।" तर, सर्वहाराको अधिनायकवादसँग सोभियत जनताको मोहभङ्ग भइसकेको थियो र अब जस्तोसुकै सुधारिएको साम्यवादले पनि उनीहरूको स्वतन्त्रता र मुक्तिको तीव्र चाहनालाई पूरा गर्न सक्दैन थियो । सेना लगाएर दबाउन खोज्दाखोज्दै पनि मस्को, बाकु, तब्लिसी, ताल्लिनजस्ता शहरमा ठूल्ठूला जुलुस निस्किए । त्यसको केही समयपछि गोर्वाचोभलाई पदच्युत गर्न अतिवादी कम्युनिस्टहरूद्वारा गरिएको कू लाई तिनीहरूकै समर्थक ठानिएको सेनाले पनि अन्ततः साथ दिन अस्वीकार गर्‍यो । त्यही परिस्थितिमा निमित्त-नायकका रूपमा येल्तसिनको उदय भयो र उनीसँगै सोभियत साम्राज्यको पतन ।

रुसमा सन् १९१७ अघिको लामो सङ्घर्षमा लेनिनका अनुयायीले आत्मबलिदान गरेजस्तै अहिले नेपालका धेरै माओवादी युवाहरू पनि सर्वहाराको अधिनायकवादका लागि नै निष्ठापूर्वक लडिरहेका होलान् तर क्रान्तिको 'रोमान्टिसिज्म' बाट मुक्त भएको दिन सोभियत जनताझैँ उनीहरूको पनि मोहभङ्ग हुने निश्चित छ । त्यतिखेर स्तालिनवादको नेपाली संस्करणले ध्वस्त भइसकेको अभागी मुलुकको माटोमा उभिएर आफ्ना हजारौँ दाजुभाइको रगतले लतपतिएको बन्दुक हेर्दै पश्चात्ताप गर्नुबाहेक उनीहरूसँग अरू केही बाँकी रहने छैन । राष्ट्रकै अस्मिता पनि नजोगिन सक्छ । सशस्त्र क्रान्तिको जुनसुकै परिणाममा पनि अन्ततः मुलुककै हार हुने यथार्थलाई बुझेर नै होला, बाल्यावस्थाको कलिलो राजनीतिक अवचेतनमा विद्रोहको प्रथम आगो सल्काइदिएर पनि बीपीले हामीलाई बन्दुक बोक्न सिकाउनु भएन ।

सबैथरीका बन्दुकले विजयको गर्जन गरिरहेका बेला भावनात्मक कुरा अर्थहीनझैँ लाग्न सक्छन् तर रुसी जनताको बलिदानको इतिहासले मलाई के बुझाएको छ भने मान्छेमा स्वतन्त्रता भन्दा ठूलो कुनै अर्को आकाङ्क्षा हुन्न । आफ्नो सपना नबताई बीपी हामीलाई छोडेर जानुभएकाले आज मनीषा र प्रकाश कोइरालाहरू त्यसको आफूअनुकूल व्याख्या गरेर हिँडेका छन् । यस्तो लाग्छ, मानौँ प्रतिगमनलाई संस्थागत गर्न नै उहाँले 'राष्ट्रिय मेलमिलाप' को नीति प्रतिपादन गर्नुभएको थियो । तर, हामीलाई विश्वास छ, प्रचण्डपथ होस् वा राजहठ, कसैले पनि खोस्न नसक्ने नेपाली जनताको स्थायी स्वतन्त्रता नै बीपी कोइरालाको अन्तिम सपना थियो ।
(साभार: नेपाल पाक्षिक, २००६)