Sunday, April 20, 2008

माओवादी रक्तक्रान्तिको हरियो पाटो

डा. जुगल भूर्तेल
‘गरिबी निवारण नै एकमात्र सर्वोपरि उद्देश्य' राखेर बनाइएका नौवटा पञ्चवर्षीय योजनाको समाप्तिपछि तेस्रो सहस्राब्दीस“गै आएको दसौं पञ्चवर्षीय योजनाले त्यस उद्देश्यलाई 'अझै तीव्रतर रूपमा अगाडि बढाउने' परिकल्पना गरेको छ । तर, पश्चिमी पहाडको विकट भीरलाई अनवरत खोस्रेर पनि दुई छाक अन्न उमार्न असमर्थ किसानले उसको गरिबी निवारण गरिदिने अपेक्षा नगरे पनि परिकथाका राजकुमारझैं एकपछि अर्को गर्दै राजधानीमा प्रकट र अन्तर्ध्यान हुने सरकारहरूबाट एउटा अपेक्षा भने अवश्य गरेको हुनुपर्छ - उजाडिंदै गएको कर्मभूमिमा सुरु भएको हिंसा र प्रतिहिंसाको अन्तहीन खेललाई कसैले रोकिदिए हुन्थ्यो ।

समग्र मुलुकमा र विशेष गरी पश्चिमी पहाडमा व्याप्त गरिबी माओवादी विद्रोहको मुख्य कारण हो भन्ने कुरामा सबैको मतैक्य छ । तर, राजनीतिक चिन्तकहरूले गरिबी स्वयंको उद्‍गम कहाँ छ भनेर खोज्ने यथेष्ट चेष्टा गरेको पाइँदैन । भौतिक संरचनाको अभाव नै गरिबीको मूल कारण हो भनेर दुर्गम र विकट ठाउँमा सडक यातायात, बिजुली पुर्‍याउनुपर्ने असम्भव विकासवादी सपना बाँड्नेहरू किसानहरूलाई लागि तत्काल सडक होइन, सुक्तै गएका पानीका मुहानहरू र टाढिंदै गएको जङ्गलको बढी चिन्ता छ भन्ने ययार्थसँग अनभिज्ञ देखिन्छन् ।

द्वन्द्वव्यवस्थापनको क्षेत्रमा भएका पछिल्ला अध्ययनहरूले विश्वका धेरैजसो अविकसित राष्ट्रहरूमा भएका सशस्त्र संघर्षमा पर्यावरणीय ह्रासको महत्त्वपूर्ण भूमिका रहेको पुष्टि गर्छन् । मुलुकमा विद्यमान सामाजिक, आर्थिक, धार्मिक, लैङ्गिक र जातीय असमानता, सत्ता र अर्थतन्त्रमा विशेष वर्ग र स्थानको पहुँच नहुनुजस्ता विषयहरू सशस्त्र हिंसाका निम्ति आवश्यक भए पनि पर्याप्त छैनन् । वास्तवमा ती विद्रोहलाई चर्काउने सन्निकट (प्रोक्सिमेट) कारण मात्र हुन् । समकालीन वातावरणविद्हरूको के विश्वास छ भने वातावरणमा आएको क्रमिक ह्रास नै तेस्रो विश्वका मुलुकहरूमा घटिरहने सामाजिक विद्रोहको अन्तिम (अल्टिमेट) र अदृश्य स्रोत हो ।

पर्यावरणीय ह्रास र सामाजिक द्वन्द्वको अन्तरसम्बन्धमा मेक्सिको, फिलिपिन्स, भारतको बिहारजस्ता माओवादी प्रभावित क्षेत्रहरूको गहिरो अनुसन्धान गरेका क्यानाडाको टोरन्टो विश्वविद्यालयका प्राध्यापक होमर डिक्सनको दाबी छ- "पर्यावरणको क्रमिक क्षय हुने प्रक्रियाले प्राकृतिक स्रोतको अभाव सृजना गर्छ, जसको फलस्वरूप उत्पन्न भएको आर्थिक अभावले वातावरणको क्षय हुने प्रक्रियालाई झन् बढाउँछ । यस्तो दुष्चक्रमा फसिसकेपछि राज्यद्वारा स्थापित र नियन्त्रित सामाजिक व्यवस्थाहरू क्रमशः कमजोर हुँदै जान्छन् र अन्ततः गृहयुद्ध, सशस्त्र संघर्ष जस्ता अभावजन्य द्वन्द्व (डेप्रिभेसन कन्फ्लिक्ट) को आधार तयार हुन्छ ।" पर्यावरणीय ह्रासको कारण कृषि उत्पादनमा आएको कमीले अफ्रिकाको उप-सहारा क्षेत्रका थुप्रै हिंसात्मक विद्रोहमा केन्द्रीय भूमिका खेलेको कुरा पनि विभिन्न अध्ययनले इंगित गरिसकेका छन् ।

मान्छे र प्रकृतिको सम्बन्ध एवं वातावरणको क्षय हुने प्रक्रिया समथल भूभागको तुलनामा संवेदनशील भौगर्भिक बनावट भएको पहाडमा ज्यादा हुने गर्छ । वर्षायाममा जाने पहिरो र अत्यधिक भूक्षय त्यसका टड्कारो उदाहरण हुन् । पहाडी जनताका आधारभूत आवश्यकताको परिपूर्ति गर्ने वन, कृषियोग्य जमिनजस्ता प्राकृतिक स्रोतहरू सीमित हुन्छन् । अगम्य भएको कारण बाहिरी संसारसँगको सम्बन्ध पनि व्यापक हु“दैन । त्यसैले त्यही सीमित प्राकृतिक स्रोतलाई पटकपटक सघनापूर्वक प्रयोग गर्नु पर्ने बाध्यता हुन्छ । तर, कमजोर भौगर्भिक बनोट भएको पहाडको सघन प्रयोगले पुनः स्थापित हुन नसक्ने गरी त्यसलाई क्षति पुर्‍याउन सक्छ । जनसङ्ख्याको वृद्धिले त्यस प्रक्रियामा झन् तीव्रता आउँछ । परिणामस्वरूप प्राकृतिक स्रोत झन्झन् घट्तै जान्छ । त्यसपछि समाजका शक्तिशाली वर्गले धेरै उब्जनी हुने खेत आदिजस्ता प्राकृतिक रूपले समृद्ध स्रोत अधिग्रहण गर्न थाल्छन् भने गरिब र दुर्वल वर्गको हातमा पाखो, भिरालो र सजिलै ह्रास भएर जाने कमसल स्रोत पर्छन् । यसरी प्राकृतिक स्रोतको अभावले सीमान्त र शक्तिशाली वर्गबीच सामाजिक द्वन्द्वको स्थिति पैदा हुन्छ । उचित राजनीतिक प्रबन्धले संघर्षको स्थितिमा सुधार गर्न सकिने भए तापनि मूलधारको राजनीतिमा सुदूर पहाडका सीमान्त वर्गको प्रतिनिधित्व र पहुँच न्यून हुने हुँदा तिनीहरूको स्वर राजधानीका शक्तिकेन्द्रहरूमा गुञ्जदैन ।

यिनै आन्तरिक र बाह्य, सामाजिक र राजनीतिक कारणले पर्यावरणीय ह्रास हुने र प्राकृतिक स्रोत घट्तै जाने क्रम निरन्तर बढ्दै जान्छ । यस दुष्चक्रमा जेलिएर क्रमशः बाँच्ने आधार गुमाउँदै गएको, बाह्‍य समाजसँग सीमित सम्बन्ध भएको, मूलधारको राजनीतिबाट उपेक्षित, विकट र विषम ठाउँमा हिंसात्मक विद्रोहको अवस्था अथवा कमरेड प्रचण्डको शब्दमा 'क्रान्तिको वस्तुगत अवस्था' सृजना हुनुलाई अस्वाभाविक मान्न सकिन्न ।

सामुदायिक वन नीतिले विगत केही वर्षयता वनविनाशमा कमी आएको अनुमान गरिए पनि पहाडमा अझै पनि वनविनाशको दर २.३ प्रतिशत छ, जुन तराईको तुलनामा केही बढी छ । उपलब्ध तथ्याङ्कअनुसार, सन् १९७८ देखि १९९४ सम्म समग्रमा मुलुकको २४ प्रतिशत जङ्गल गुमाइएको छ भने मध्य र सुदूर पश्चिमाञ्चलमा त्यसको आँकडा क्रमशः २८ र ३१ प्रतिशत छ । टोकियोस्थित संयुक्त राष्ट्रसङ्घीय विश्वविद्यालयको एउटा अध्ययनले वन विनाशले पहाडी जनतामाथि पर्ने असरलाई राम्ररी चित्रण गरेको छ । वनविनाशले घाँस-दाउराको कमीजस्ता समुदायमा पर्ने प्रत्यक्ष असरको अलावा पानीका मुहानहरू क्रमशः सुक्तै गएर खानेपानी तथा सिञ्चाइको अभाव हुने तथा घाँस-दाउरा सङ्कलनमा अधिकांश समय खर्च गर्नुपर्ने बाध्यताले कृषिमा लगाउनुपर्ने समयमा कटौती भई अप्रत्यक्ष रूपमा खाद्यान्न उत्पादनमा समेत ह्रास आउँछ । ग्रामीण पहाडी समुदायका कतिपय परिवारका लागि जङ्गल एकमात्र मानवेत्तर स्रोत भएकोले घट्तै गएको वनले त्यस्ता परिवारमा पर्ने असर विशेष गरी खाद्यान्न सङ्कटको समयमा अत्यन्त नकारात्मक र दूरगामी हुन्छ ।

अत्यधिक मनसुनी वर्षाजस्तो प्राकृतिक कारणबाहेक वनलोप भएको पाखो र भिरालो जग्गामा खेतीको विस्तार, विगत एक दशकमा पहाडमा घरपालुवा पशुहरूको सङ्ख्यामा भएको उल्लेख्य वृद्धि आदि मानवजन्य कारणले पहाडलाई बढ्दो भूक्षयको समस्याले गाँज्दै लगेको छ । बगेर-उडेर जाने मलिलो माटोसँगै थोरै मात्रामा रहेका अमूल्य जैविक, खनिज र पौष्टिक पदार्थ पनि लोप भएर जाने हुँदा वर्सेनी हुने भूक्षयले खेतीको उर्वराशक्ति विस्तारै घट्तै गएर अन्ततः त्यसलाई परित्याग गर्नुपर्ने अवस्था आउँछ ।
यिनै सन्निकट कारणहरूले नेपालमा र विशेष गरी पहाडमा खाद्यान्न उत्पादनमा निकै ठूलो ह्रास आएको छ । सन् १९९०-९१ यताका वर्षरूमा नेपालमा जनसङ्ख्यालाई चाहिने मात्रामा खाद्यान्न उत्पादन हुन सकेको छैन । सबै हिमाली जिल्लामा खाद्यसङ्कट छ भने मकै, कोदोजस्ता पहाडी अन्नको प्रतिहेक्टर उत्पादकत्वमा लगातार गिरावट आएको देखिन्छ । चार-पाँच वर्षअघिको तुलनामा बाजुरा जिल्लामा ६० प्रतिशतले खाद्यान्न उत्पादनमा कमी आएको अनुमान गरिएको छ । अछाम, बझाङ, दैलेख, कालीकोट, मुगु, रोल्पा र जाजरकोटजस्ता माओवादी जनयुद्धबाट सबैभन्दा पीडित जिल्लाहरूमा त्यहाँका मानिसलाई बाँच्नका लागि आवश्यक खाद्यान्नको आधामात्र उत्पादन हुने गरेको तथ्याङ्क उपलब्ध छ । विभिन्न अध्ययनहरूले देखाएअनुसार पहाडमा ४० प्रतिशतभन्दा बढी परिवार छ महिनालाई पुग्ने अन्न उब्जाउन पनि अर्समर्थ छन् । पश्चिमी पहाडमा व्याप्त कुपोषण र धेरै ठूलो बालमृत्यु दरले पनि खाद्य समस्याको विकरालतालाई सङ्केत गर्छन् ।

खर्च भएको श्रमको अनुपातमा उपलब्ध प्राकृतिक स्रोतले दिने प्रतिफल कम भएपछि स्वभावतः नयाँ स्रोतको खोजी गरिन्छ । तर, क्रमशः ६२ र ५६ प्रतिशत भूमि ३० ड्रि्रीभन्दा भिरालो पहाडले ढाकेको मध्य र सुदूरपश्चिमका पहाडमा कृषि विस्तारका लागि उपयुक्त जग्गा उपलब्ध छैन । फलतः ९५ प्रतिशत कृषिमा आधारित जनसङ्ख्या भएका ती क्षेत्रहरूको सीमित कृषियोग्य भूमिमा जनसङ्ख्याको चाप बढ्दै गएको देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्लाहरूलाई छोडेर विश्लेषण गर्ने हो भने प्रतिवर्ग किलोमिटर कृषियोग्य भूमिमा सबैभन्दा ठूलो जनचाप मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा छ ।

स्रोतको दुर्लभताले विशिष्ट र सीमान्त वर्गको उदय हुने कुरा माथि नै उल्लेख भइसकेको छ । नेपालमा आधा हेक्टरभन्दा थोरै भूमि हुने सीमान्त कृषक परिवारको सङ्ख्या लगभग ४० प्रतिशत रहेको अनुमान गरिन्छ । मध्य र सुदूर पश्चिमका पहाडी जिल्लामा त्यसको अनुपात ५० र ६० प्रतिशत छ । अछाम, बझाङ, दैलेख, कालीकोट, रुकुम, रोल्पा, मुगु र जाजरकोटमा ५० देखि ८५ प्रतिशतसम्म सीमान्त कृषक परिवार भएको अनुमान गरिन्छ । झन् भिरालो र न्यूनतम उब्जनी हुने अनुत्पादक जमिनमा खेतीको विस्तार गर्दै जानु वा तराईतिर पलायन भएर सुकुम्बासी जीवन बिताउनुबाहेक त्यस्ता परिवारसँग अन्य कुनै विकल्प छैन । राज्यले आफ्नो उपस्थिति देखाउनेसमेत जाँगर नचलाएको अवस्थामा एउटा विकल्पको रूपमा त्यस क्षेत्रमा माओवादी आन्दोलनको उदय भएको विश्वास गर्ने प्रशस्त आधारहरू छन् ।

यसरी टुसाएको विद्रोहको बिरुवालाई जातिगत, धार्मिक, राजनीतिक असमानता आदि मध्यवर्ती तत्वरू (इन्टरभिनिङ् भेरिएवल्स) ले मलजल दिएर विकराल वृक्ष बनाइदिए । त्यसैले यिनै मध्यवर्ती कारणहरूमा केन्द्रित रहेर समस्याको समाधान खोज्दा वर्तमान विद्रोहीहरूबाट त राज्यले क्षणिक त्राण पाउला, तर विद्रोहजन्य प्रक्रिया भने नष्ट हुने छैन ।

हाम्रो सामुदायिक वन कार्यक्रमको आंशिक सफलताले प्राकृतिक स्रोत परिचालनको निर्णयागर्ने अधिकार राज्यले समुदायलाई दिएमा स्रोतको संरक्षण मात्र नभई न्यायसङ्गत वितरण र दिगो विकासमा समेत टेवा पुग्ने प्रमाणित भइसकेको छ । "स्थानीय स्रोतको सञ्चालन त्यसका प्रयोगकर्ता आफैंले दक्षतापूर्वक गर्न सक्छन्, त्यसका लागि राज्यजस्तो बाह्य शक्तिको नियन्त्रण आवश्यक छैन", यस भनाइका स्रष्टा प्रसिद्ध अर्थशास्त्री पार्थ दासगुप्ताका अनुसार, स्थानीय स्रोतको समुचित वितरण भए/नभएको तथा निर्णयप्रक्रियामा सबै वर्गले समान अवसर पाए/नपाएको अनुगमन गरेर राज्यले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ ।

प्रकृतिसँगको सम्बन्ध र प्राकृतिक स्रोतको खाँचो तुलनात्मक रूपले समुदायका महिलाहरूलाई धेरै हुने हुँदा स्रोत संरक्षणको आवश्यकता पनि उनीहरूलाई नै बढी हुन्छ । तसर्थ समुदायका हरेक क्रियाकलापमा महिलाहरूको विशिष्ट भूमिका र हकलाई सुनिश्चित गर्नु पनि राज्यको अर्को महत्वपूर्ण अभिभारा हो । समुदायको स्वायत्तता र प्रजातान्त्रीकरणमा नै द्वन्द्वविहीन समाज, दिगो विकास र अन्ततः गरिबी निवारणको रहस्य लुकेको हुँदा सरकार-माओवादी वार्ताको केन्द्रबिन्दुमा पनि यिनै दुई कुरा हुनुपर्छ ।

(साभार: नेपाल पाक्षिक, १८-८-२००३)

No comments: