डा. जुगल भूर्तेल
भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको 'निर्वासन' को दोस्रो संस्करण र नेल्सन मण्डेलाको 'लङ्ग वाक टु फ्रिडम' संयोगवश एकै पटक हात परे । पढ्दै जाँदा ती दुई व्यक्तिका जीवनमा भेटिने समानताले म चकित भएँ । विकसित, प्रजातान्त्रिक मुलुकहरूमा सहज जीवन बिताइरहेका हामीलाई असाध्यै प्रतिकूल परिस्थितिमा पनि आफ्नो भाषा, संस्कृति र जातीय स्वाभिमानप्रति मण्डेला र रिजालजस्ता योद्धाहरूले देखाएको प्रतिबद्धता बुझनिसक्नु लाग्छ । त्यति धेरै यातना, अपमान र कठिनाइसँग जुध्दै रिजालले आफ्नो सङ्र्घष्ालाई दिएको निरन्तरताले फेरि देखाएको छ- साँचो नेतामा आस्थाका लागि लड्ने अदम्य साहस हुन्छ । त्यस्ता नेताहरूले ठूल्ठूला तानाशाह, सैनिक शासकहरूलाई परास्त गरेका छन् । मण्डेला झैँ एक दिन रिजाल पनि विजयी हुनेमा कुनै सन्देह छैन ।
निर्वासन रिजालको व्यक्तिगत संघर्ष-कथा मात्र नभएर नेपाली मूलका भुटानी नागरिकहरूको क्षतविक्षत सपनाको दस्तावेज पनि हो । आफ्नो रगत-पसिनाले सिञ्चित मातृभूमिबाट अपमानजनकढङ्गले धपाइएका तथा आफ्नै देशभित्र निरीह जीवन बाँच्न विवश लाखौँ भुटानीहरूको कथा हो निर्वासन । वाङ्गचुक वंशको आगमनभन्दा धेरैअघि भुटान पुगेको, संभवतः सबैभन्दा पुरानो नेपाली डायास्पोराको संघर्षको अभिलेख भएकाले ल्होत्साम्पा (नेपाली मूलका भुटानी) को आन्दोलनमा आफ्नो दायित्वको अनुभूतिका लागि समेत संसारभरिका नेपालीले निर्वासन पढ्नु जरुरी छ ।
भुटानको एउटा अविकसित गाउँमा चुपचाप उदाएका रिजाललाई नियतिले अभूतपुर्व भूमिका सुम्पनुपर्ने रहेछ । शायद त्यही दायित्वबोधले नै बन्दी जीवनमा उनलाई मर्न दिएन, जेलमा भुटानी शासनले पटक-पटक आत्महत्या गर्ने सामान जुटाइदिँदा पनि । रिजाललाई मृत्युको मुखमा धकेल्ने अपराध भने हाम्रै पञ्चायती शासनले गरेको थियो । त्यसको उत्कर्षतर राज्यद्वारा घन्काइएको राष्ट्रवादको प्रायोजित सङ्गीतको पृष्ठभूमिमा झापा-बिर्तामोडबाट रिजाललाई अपहरण गरेर नेपाली प्रहरीले भुटान सरकारलाई बुझाएको थियो । 'शरणको मरण नगर्ने' जातिका रूपमा कहलिएका पुर्खाको माटोमा राहत खोज्दै आएको शरणार्थीलाई कसको प्रभावले भुटान फर्काइएको थियो त - भुटानी राजाविरुद्ध व्रि्रोह गरिरहेको आधारहीन आशङ्कामा पञ्चायती भारदारहरूले राजतन्त्रविरोधीलाई नेपालमा ठाउँ छैन भन्ने सन्देश दिन त्यसो गरेको अनुमान गर्न सकिन्छ ।
एक दशक लामो बन्दी-जीवनमा भोगेको अकल्पनीय यातनाले जर्जर भएको शरीर लिएर पुनः नेपाल आउँदा पञ्चायत ढलिसकेको र आफूजस्तै जेल-नेल भोगेका प्रजातन्त्रवादी नेताहरू सत्तामा पुगेको देखेर रिजाल शायद खुसी भए होलान् । तर नेपालमा हरेक क्रान्ति आंशिक रूपमा मात्र सफल हुने गरेको तथ्यसँग उनी अनभिज्ञ थिए । पञ्चायती व्यवस्थाको अन्त्य भएपनि सत्ताको करिडोरमा त्यसको पदचाप अझै तीखो थियो । रिजालले विदेश जाने अनुमतिपत्रका लागिसमेत लामो संघर्ष गर्नु पर्यो । अन्ततः बाध्य भएर सरकारले उनलाई एकवर्षे ट्राभल डकुमेन्ट दिएको थियो । त्यसको म्याद सकिएपछि उनले अर्को अनुमतिपत्र पाउन पुनः त्यस्तै परिश्रम गर्नुपर्ने निश्चित छ, किनकि जसले उनलाई भुटान फर्काएका थिए, मुलुकमा आज फेरि तिनैको हालिमुहाली छ ।
अहिले टेकनाथ रिजालसामु पुर्वी नेपालका विभिन्न क्याम्पमा रहेका एक लाखभन्दा बढी भुटानी शरणार्थीहरूको सङ्कटप्रति शीघ्रतापूर्वक विश्व जनमत जुटाउने चुनौती छ । गैरकानूनीढङ्गले धपाइएका भुटानीहरूको घर-खेत दरबारका आसेपासेहरूले बाँडीचुँडी खाइसकेका छन् । कुनै कागजपत्र नबोकी रातारात भागेर हिँडेका बृद्ध शरणार्थीहरूको अवसानसँगै ल्होत्साम्पाहरूको महत्त्वपूर्ण इतिहास पनि क्रमशः लोप हुने क्रममा छ । आफ्नो भूमि भएर नेपाल छिरेका शरणार्थीको मानवीय समस्याप्रति भारत सरकारले देखाउँदै आएको कपटपूर्ण उदासीनतालाई हेर्दा अन्तर्राष्ट्रिय समुदायको दृढ समर्थनबिना भुटानीहरूले स-सम्मान घर फर्कन पाउने सम्भावना एकदमै न्यून देखिन्छ । त्यो समर्थन जुटाउन सजिलो भने छैन । थिम्पुले कूटनीतिक युद्धका विभिन्न मोर्चामा काठमाडौँलाई परास्त गरिसकेको छ । शरणार्थीहरूलाई चार वर्गमा बाँड्न स्वीकार गरेर नेपालले भुटानलाई शरणार्थी-फिर्ती प्रक्रियामा विलम्ब गर्ने ठूलो हतियार दिएको छ । हरेक छ जनामा एक जना नागरिकलाई देशनिकाला गरिसक्दा पनि भुटानी दरबारले नयाँदिल्लीको आशिर्वाद यथावत् पाइरहेको छ । ल्होत्साम्पाको बढ्दो जनसङ्ख्याले भुटानको संस्कृति र परम्परा खतरामा पर्दै गएको भन्ने भुटानको जातिवादी तर्कप्रति सहानुभूतिशील देखिने पश्चिमी मुलुक र विभिन्न दातृसंस्थाहरू पनि भुटानको दोहोरो चरित्रप्रति अनभिज्ञ झैं देखिन्छन् । यसले भुटानमा भइरहेको जातीय विभेदबारे उनीहरूलाई पर्याप्त जानकारी छैन भन्ने जनाउँछ ।
अहिले टेकनाथ रिजालको काँधमा नेपाली मूलका भुटानीहरूको शान्तिपूर्ण संघर्षको सत्यतथ्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने ठूलो अभिभारा छ, जुन उनी एक्लैले पूरा गर्न सम्भव छैन । पुस्तकको भूमिकामा पुरुषोत्तम दाहालले "संसारमा छरिएर बसेका नेपालीहरूले भुटानी नेपालीहरूको पीडाबाट आफ्नो मुटु दुःखाउनुपर्ने बेला भएको" मार्मिक कुरा लेख्नुभएको छ । अब तिनै नेपालीले रिजालको काँधमा काँध थप्ने बेला आएको छ । तर विदेशका नेपालीहरूको ठूलो सङ्ख्या यो समस्याबारे या त अनभिज्ञ छ या यसलाई पनि 'फोहोरी राजनीति' मान्छ र सहयोग गर्न हिच्किचाइरहेको छ । त्यस्ता नेपालीले के बुझ्नु जरुरी छ भने भुटानी शरणार्थीहरूको अभियान आफ्नै माटोमा सम्मानपूर्वक बाँच्न पाउने नैसर्गिक अधिकारका लागि हो । निर्वासन पढेपछि यो कुरा प्रस्ट हुन्छ ।
साहित्यकार अभि सुवेदीले भनेझैँ "आज हाम्रो बलेँसीमा आएर रोइरहेका" भुटानी दाजुभाइहरूसँग हाम्रो "साझा प्रेमका भावनाहरू साटासाट गरेको" प्राचीन सम्बन्ध छ । त्यसैले ल्होत्साम्पा समुदायमाथि भइरहेको अन्यायलाई विश्व समुदायसम्म पुर्याउनु प्रवासमा बस्ने हामी सबै नेपालीहरूको दायित्व हो । आ-आफ्ना डायास्पोराको आर्थिक, नैतिक र राजनीतिक समर्थन नभएको भए न त तामिल, प्यालेस्टिनी आदिको जातीय पहिचानको संघर्ष त्यति विश्वव्यापी हुनेथियो न कोसोभोका अल्बेनियनहरूको आर्तनादलाई युरोपले सुन्ने थियो । दक्षिण अफ्रिकाको रंगभेद नीतिविरुद्ध विश्वभरिका काला जातिले मण्डेलालाई दिएको अभूतपूर्ण समर्थन पनि यहाँ स्मरणीय छ । ल्होत्साम्पाविरुद्धको जातिभेदलाई हामी नेपालीले उपेक्षा गरिरहृयौँ भने भोलि दक्षिण एसियाभरिकै नेपाली जातिले त्यस्तै नियति भोग्नु नपर्ला भन्न सकिन्न । अब नैतिक समर्थनले मात्र पुग्दैन । रिजालको आन्दोलनलाई आर्थिक सहयोग जुटाउन तथा हामी बसोबास गरिरहेको देशका सरकार र नागरिक समाजसम्म उनका कुराहरू पुर्याउन पनि हाम्रो सक्रियता अपरिहार्य छ । विश्वभरिका नेपालीहरू एकजुट हुने हो भने भुटान नामक कल्पित साङ्ग्रिलाभित्र भइरहेको चरम अन्यायको सहजै पर्दाफास हुनेछ ।
(साभार: हिमाल खबरपत्रिका, पुर्णाङ्क १५०, ३० जुन-१५ जुलाइ, २००५ )
No comments:
Post a Comment